Monday, April 11, 2011

माथि उठ्न सक्नुपर्छ


                         
                                                     
              धेरैजसो मानिसहरूमा एउटा गलतफहमी छ त्यो हो परम्पराको नाउँमा अनेक कुडाकङ्कडहरूलाई समेटेर त्यसैलाई सर्वोत्तम ठानी जञ्जिरमा जकडिएर बस्ने कामै नलाग्ने बानी। यो संस्कृतिको नाममा पनि हुन सक्छ, धर्मको नाउँमा पनि हुन सक्छ, राजनैतिक वाद वा कुनै पनि दर्शनमा पनि यो लागू हुन सक्छ। केवल घर वा कोठाको चौघेरामा यो सीमित छैन। यो त यस्तो हो कि  जस्तो एकथरी मानिसहरू हुन्छन् घरमा जे-जति वस्तुहरू थुप्रिएर रहेको छ त्यसलाई काम लागे पनि काम नलागे पनि कहीँ न कहीँ थुपारेर राखिराख्ने कुनै वेला जरुर काममा आउँछ भनेर। यो ठीक हो तिनीहरूमध्ये कुनै वस्तु कुनै दिन काममा पनि आउला तर त्यसैको कारणले फोहर स्याहारेर स्याहारिनसक्नु भएको छ वा ठाउँ ओगटिरहेको छ भने बुध्दिमानी ती थुप्रिएर डङ्गुर बनेका सामानहरूमध्ये काम लाग्नेलाई राख्ने र नलाग्नेलाई मिल्काइहाल्ने वा बाँड्नु पर्नेलाई बाँडिदिइहाल्ने। यसो नगर्दा वर्षौ-वर्षदेखिका काम लाग्ने, काम नलाग्ने सामानहरू कुनै कुनामा थुप्रिएर बेकारमा ठाउँ ओगटिरहेका हुन्छन्। काम लाग्ने सामानहरू छन् भने कुनै फोहरको रासमा मिल्काइराख्नु यसै पनि त ठीक होइन। होइन र? धेरै मानिसको जीवनमा यस्तै भएको छ हामी त्यसलाई बुझ्नै प्रयास गरिरहेका हुँदैनौँ । त्यस्तै कुडाकङ्कटलाई नै मानौ सबैथोक हो, सर्वस्व हो भन्ने सम्झी त्यसैमा आसक्त भइरहेका हुन्छौँ मानौँ त्यसविना संसार चल्दैन, जीवनै चल्दैन र त्यसैको अनुसरण नै जीवनको लक्ष्य हो।
करिव-करिव यस्तै हो परम्परा भन्ने कुरा। जबसम्म राम्रोलाई चिनेर जोगाड गर्नेतिर लाग्दैनौँ र कसिङ्गरस्वरूपका विकृतिलाई पनि परम्पराको नाउँमा टिकाइराख्न प्रयत्न गरिरह्यौँ भने संस्कृति धमिलिन थाल्छ। संस्कृति धमिलिनुको अर्थ हुन्छ विकृतिले जरो गाड्दै जानु। विकृतिले स्थान पाउनुको अर्थ हुन्छ मानवीयताको पतन हुनु वा ह्रासोन्मुख स्थितिले टाउको उठाउनु।
धर्म, संस्कृति, परम्पराका नामका जति पनि पर्व-उत्सवहरू छन् के तिनलाई तपाईँले गहिराइपूर्वक कहिल्यै हेर्न प्रयास गर्नुभएको छ? छ भने पनि त्यसको विश्लेषण गर्न कत्तिको भ्याउनुभएको छ थाहा छैन। यदि छैन भने शान्तचित्तले ऊहापोह गर्नु होस् तलदेखि माथिसम्म, सुरुवातदेखि अन्तसम्म। त्यहाँ मात्र मानिसको सुख, सुविधा, मोजमज्जाको विचार गरिएको छ र पशुप्राणीमाथि अत्याचार, अन्याय, पीडा र उनीहरूको आँशु बहाएर मानिसले खुसी लिन खोजेका छन् भने सम्झनु होस् त्यो संस्कृति होइन त्यो त विकृति हो। जबसम्म कुनै पशुप्राणीको आँशु र मासुमा मानिसको जीवन खुसी हुने हो भने मानिसले प्राकृतिक खुसी र आनन्दको रसास्वादन गर्न पाएकै छैन भने हुन्छ। प्राकृतिक खुसीको के वयान गर्ने? मानिसको लागि नभई नहुने खुसी, आनन्द त प्राकृतिक हुनु पर्ने हो कसैलाई दु:ख नदिएर प्राप्त गरिने स्वाभाविक किसिमको। तर त्यसलाई पाउनेतिर मानिस कमैमात्र लागेको देख्छु। किन यस्तो भइरहेको छ देख्दा, सुन्दा अति दु:ख लाग्छ। संसारका सबैजसो धर्म-संस्कृतिमा यस्ता विषयहरूलाई सुरुमा महत्त्व दिइएको थिएन तर विस्तारै-विस्तार त्यहाँ पनि विकृति पसेर सरोबर हुने अवस्था आइरहेको जताततै देखिन्छ। जुन धर्म-संस्कृतिमा दया, माया, करुणा, परोपकार, अहिंसा छैन त्यस्तो धर्म-संस्कृतिलाई कसरी राम्रोको विशेषण दिन सकिएला! कसरी उत्कृष्ट भन्न सकिएला? यही व्यक्ति-व्यक्तिमा लागू हुन्छ।धर्म-संस्कृतिको नाममा पशुपक्षीमाथि हुने घोर अत्याचार, अनाचारप्रति कहीँ बोलिदैन, कहीँ सोचिदैन भने म त भन्छु त्यहाँ केही कमजोरी छ, स्वार्थ छ, मत्स्यन्याय लागू छ।
केहीलाई छोडेर संसारको जुनसुकै ठाउँमा होस् पर्व-उत्सव भन्नासाथ पशुप्राणीको दर्द, पीडा र तिनको मारकाट र उनीहरूको दशालाई नै मनोरञ्जन भनी जबसम्म बुझिरहिन्छ, सम्झिरहिन्छ  तबसम्म संसारमा चाहेको सुख,शान्ति र आनन्द प्राप्त हुँदैन भन्ने मेरो अन्तर्हृदयदेखिकै ठम्याइ छ। पशुहत्या र मारकाटको शैली फरक होला त्यत्ति न हो ! त्यसमा कोही रमून्, त्यसैलाई धर्म सम्झियून् र मोजमज्जा सम्झियून्, त्यसैलाई सुख किन नसम्झियून्। तर कोही ब्यूझिनै पर्छ। मानवताको खिल्ली उडिरहेको छैन? बुध्दि-विवेकसम्पन्न मानिसको लागि के त्यस्ता कार्य सुहाउँदा छन्? जबसम्म जसरी मलाई काट्दा दु:ख्छ भने अरूलाई कत्ति दु:ख्छ होला, पीडा हुन्छ होला भन्ने मनमा भाव आउँदैन र करुणा, दया, मायाको अनुभूति जाग्दैन तबसम्म बुध्दि-विवेकले काम गरिरहेको छ भन्न मिल्ला? तपाईँ के भन्नु हुन्छ? बहाना नबनाउनुस्। आत्मालाई साक्षी राखेर हृदयको आवाज बोल्नु हुन्छ भने तपाईँले भन्नै सक्नु हुन्न कि अर्कालाई दु:ख दिनु ठीक हो, मार्नु ठीक हो। आखिर तपाईँको हृदयको कुनै कुनामा ईश्वरको बास त छ नि!
कत्तिको मनमा परेको होला तिनको जन्म त मानिसको आहाराकै लागि भएको हो। पशुपक्षी मानिसको आहारा हुँदै होइन किनभने मानिस प्राकृतिक रूपले शाकाहारी प्राणी हो भन्ने कुराका अनेक प्रमाणहरू वैज्ञानिकहरूले दिनानुदिन प्रस्तुत गर्दै गइरहेका छन्।तपाईँ स्वयं पनि अनुभूति  गर्न सक्नु हुन्छ आफ्नै-अङ्गप्रत्यङ्ग, पाचनप्रक्रिया, सञ्चो-विसञ्चोका अनेक अनुभवहरूबाट। भोजनको आधारमा मानिस फ्रुगीबोरसभित्र पर्दछ।आउँदा दिनमा यस विषयमा अझ अनेक प्रमाणहरू आउने छन्। मासु खाएकै कारण अनेक किसिमका रोगहरूको शिकार मानिस भइरहेको प्रमाण पनि मानिसको लागि मांसाहार प्राकृतिक खाना होइन भन्ने प्रमाण हुन सक्तैन? कत्ति मानिसमा मासु र सागपात खानुमा के फरक छ भन्ने भ्रम छ। फल खानु र फुल (Egg) खानुमा जे भिन्नता छ त्यत्तिकै भिन्नता ती दुईबीचमा छ। सागपातमा चेतना त छ तर इन्द्रिय, मस्तिष्क र हृदयको अभावमा संवेदना छैन। सागपात नखाए मानिसलाई बाँच्न गाह्रो हुन्छ। बाँच्नकै लागि पनि खानु परेकोले आफूलाई चाहिने मात्राअनुसार स्वास्थ्यलाई हेरेर सागपात, फलफूल, अन्न खानु पाप होइन। फेरि कतिपय वनस्पतिको एक हाँगा छिमले त्यसैबाट अर्को हाँगा पलाउँछ, विरुवा मर्दैन। माछा-मासु खान नपाउँदा कोही मर्दैनन!  यसैले मानिसको लागि ती मूल आहार होइनन्। एकादेशको कथा सुनेर अब काम छैन।
ईश्वर! कस्तो अन्धकार!घोर अन्धकार! कसैलाई मारेर सुख प्राप्त भएको सम्झने कस्तो विचार! अझ कहीँ त त्यसैलाई धर्म सम्झने! यदि कसैलाई मारेर धर्म हुने भए पुण्य के होला? धर्म के होला? के कहिल्यै तपाईँले सोच्नुभएको छ? अरूलाई सोध्नुभन्दा पहिले गम्भीरतापूर्वक आफैले आफैलाई सोध्नु होस्।
हरेक समाजमा यही दशा छ। कुनै वेला कसरी जन्म्यो यस्तो कुपरम्परा थाहा छैन। त्यस्तो कर्म पाप होइन भन्न एउटा न एउटा आधार निकालिहाल्छन्। कर्मकाण्डमा पल्केकाहरू, उनीहरूको आसेपासे तथा व्यवसाय-व्यापार चलाउनेहरूको समूह यस्तो कृत्यलाई चोख्याउन र निरन्तरताको लागि पछि पर्दैपर्दैन। महावीरलाई गाह्रो भयो, गौतम बुध्दलाई गाह्रो भयो। रामानुजाचार्य, मध्वाचार्य, निम्वार्काचार्यलाई गाह्रो भयो। यस्तैगरी अरू धेरैलाई गाह्रो भयो। नसकेपछि एउटा सीमित मत, वाद र दर्शनमा सीमित भइदियो।  त्यस्तो कुपरम्परालाई साथ दिनेहरूले धर्मग्रन्थकै उदाहरण दिन बेर छैन। शास्त्र रच्ने को? मानिसै होइनन्? त्यसवेलाको आवश्यकतालाई हेर्दा त्यो ठीक थियो होला। अज्ञानता र अन्धकारमा अलमल्लिएको समाजमा तथा सत्तास्वार्थको लोभमा मद्य-मांसमा जनतालाई अल्मलाएर आफ्नो शासनसत्तालाई टिकाउन सबैभन्दा भरपर्दो तौरतरिका यही थियो। कुनै बखतका लागि तयार गरिएको व्यवस्था सधैँका लागि त्यही नै हुन्छ भनेर सोच्नु हुन्छ? कदापि हुँदैन। मानिस चलाख मात्र छैन धूर्त पनि छ।  ईश्वरलाई ढाल बनाएर, जसले सृष्टि ग-यो उसैलाई साक्षी राखेर विकृत परम्परालाई संसारभर प्रोत्साहन दिइएको छ। गहनतापूर्वक विचारै नगरी त्यसलाई हुबहु चलिरहेको यदि हेर्न चाहनेहरूको जमात बढिरहन्छ भने सम्झे हुन्छ विकृतिलाई अगाँलो हाल्न हामी लालायीत छौँ। यसरी संसार कति दिन चल्ला? ईश्वर त खान्छन् भने हामी त के भन्दाभन्दै मांसाहारीहरूको जमात बढ्दा विश्वमा द्वन्द्व, हिंसा, काटमार, असहनशीलता बढदैगएको प्रति हामी कत्तिको सचेत छौँ? जस्तो आहार उस्तै व्यवहार र विचार भन्ने कुरामा रहेको वैज्ञानिकतालाई नबुझेजस्तो गर्न हुने वेला छैन। आज विश्वमा देखिदैगएको संवेदनहीनताको  पराकाष्ठा त्यसैको प्रतिफल हो भन्न कत्ति हिच्किचाउनु पर्दैन। कुपरम्परासँग जोडिएको आर्थिक लाभले कुनै पनि सरकार र राष्ट्रलाई लोभको जालमा फसाइदिएको छ। फलत: तैँचुप-मैचुपको स्थिति देखिएको होइन? यही लोभले विश्वब्रह्माण्ड खतरामा पर्न गइरहेको छ। ब्रह्माण्डीय उष्णता त्यसैको परिणति हो। संसारमा देखिदैगएका अनेक थरी घातक रोगहरूको कारक तत्त्व नै माछा-मासु हो भन्ने बताउने कैयन् वैज्ञानिक शोधहरू साक्षीस्वरूप छन्।  
                      ईश्वर कसैको रगतको पिपासु छैनन् न उनी कुनै पशुपक्षीको भागल र वलिले नै खुसी हुने हुन्। ईश्वरलाई  खुसी तुल्याउने हो भने सद्कर्ममय, परसेवामा समर्पित, सात्विक जीवन जत्तिको उपयुक्त जीवन अरू छँदै छैन। सद्कर्म नै ईश्वरको साँचो अर्चना हो, पूजा हो। परसेवा नै यज्ञ हो भन्ने दृष्टिकोणले जीवनलाई अगाडि बढाउन सक्यौँ भने जीवनमा महकता आउन थाल्दछ। जीवनमा प्राप्त हुने प्राकृतिक एवं स्वाभाविक खुसी र आनन्दको रसास्वादन तब खिल्न थाल्दछ। आफ्नो तर्फबाट प्राणीमात्रप्रति मन,वचन, कर्म कुनै पनि दृष्टिकोणले कत्ति पनि दु:ख, कष्ट नपु-याएर आफू पनि बाँचौँ, अरू पनि बाँचून् भन्ने सिध्दान्तलाई आत्मसात् गर्न सकियो भने त्यो जत्तिको सर्वोत्कृष्ट जीवन कुनै हुनै सक्तैन। यही जीवनको पूर्णता हो। सम्पूर्ण सद्शास्त्र, आचार्य, गुरु, साधु, सन्त, महात्मा, असल धार्मिक व्यक्तित्वहरूको जीवनको निष्कर्ष नै त्यही हो तर यसलाई जति समाजमा प्रचार-प्रसार गर्नुपर्थ्यो त्यो हुन नसक्दा संसार अन्धकारमा अलमलिएको छ। साँचो कुरा गर्दा कोही रिसाउँछन् कि भन्ने कसैलाई पीर छ, कसैलाई आउने भेटी अन्यत्र पो जान्छ कि भन्ने डर छ, कसैलाई आफ्नो शिष्यको जमात अरूतिर पो गइदिन्छन् कि भन्ने भय छ। राजनीतिमा लाग्नेहरूमा त अझ आफ्नो भोट काटिएला कि भन्ने चिन्ता पनि हुन्छ जसले गर्दा जीवन यसरी नै चल्ने मेला हो चल्दै जाओस् के फरक पर्छ भन्ने विचारको कारण पनि विश्वमै विकृतिहरू फैलिँदा पनि त्यसप्रति बोल्नेहरूको साहसमा कमी देखिन्छ। तर साँचो जीवनलाई आत्मसात् गर्ने हो, शान्ति, सुख, समृध्दि, अहिंसाको प्रतिष्ठापन गर्ने हो र आनन्दलाई प्राप्त गर्ने हो भने अहिले जहाँ छौँ त्यसबाट माथि उठ्नै पर्छ नउठी त्यो सम्भवै छैन। अझ आश्चर्यको साथै दु:ख त कहाँनिर लाग्छ भने पशुपक्षीको वलि, भागल गर्दै पनि रहने, आहार-विहारमा कुनै शुध्दाशुध्दिको ख्याल पनि नगर्ने अनि मठ-मन्दिर, तीर्थ, व्रत गर्नेहरूको भीड बढ्दा धार्मिक व्यक्तिहरूको बढोत्तरी हुँदैछ भन्ने जस्ता विचार, धारणा र खबरहरू आउँदा यथार्थताभन्दा आजको समाज सतही कुरामा अल्मलिन लागेकोमा चिन्ता लाग्छ। हिंसक पशुपक्षीबाट भन्दा पनि मानिसबाट मानिसै डराउनु पर्ने अवस्थाको सूत्रपातको जड कतै यसैभित्र नजानिदो तवरले छिपेको त छैन खोज्नुपर्ने समय आइसकेको छ। यसैले अन्धकार, अज्ञानता, मोहान्धताबाट माथि उठ्न आजैदेखि प्रयत्न गरौँ सम्भव छ, जरुर सम्भव छ, उठौँ, जागौँ। सबैमा यस्तो ऊर्जाशक्ति छ कि आँटेदेखि सम्भव नहुने कुनै कुरा छैन। अन्धकारबाट प्रकाशतिर अभिमुख होऔँ।
                                 ************




No comments:

Post a Comment