Thursday, September 22, 2011

स्वस्थ्य जीवनको आधार


                 
                                                               
       शाकाहार कि मांसाहार भन्ने विषय अब केवल धर्म-सँस्कृतिसँग मात्र सम्बन्धित छ भन्ने सम्झ्यौँ भने गलत हुन्छ। अब यो मानवता, नैतिकता, स्वास्थ्य र स्वस्थ ब्रह्माण्डसँग पनि त्यत्तिकै सरोकार राख्ने विषय बनिसकेको छ। कुनै बेला यो धर्म र धर्मशास्त्रको विषय थियो होला तर अब ब्रह्माण्डको समग्र बचाउको विषयसँग जोडिएर दिनानुदिन अनेक अध्ययन, अनुसन्धान र खोज भइरहेकोले सबैको ध्यान यसतर्फ गम्भीर रूपले जानु पर्ने देखिन्छ।
शाकाहारा र मांसाहारको विषय युगौँ-युगदेखिको चर्चाको विषय बन्दै आएको छ। जहाँसम्म विभिन्न धर्मका धर्मशास्त्रहरूमा लेखिएका विषयहरू छन् त्यहाँ (१) असल कुरा पनि छन् अर्थात् अमृतवाणी पनि छन् (२) नकारात्मक लाग्ने कुराहरू पनि छन् अर्थात् विष पनि छन्। त्यसमध्ये आजको संसारलाई चाहिने के हो? अमृत हो कि विष? त्यसलाई दृष्टिगत गरी व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्वलाई बनाउनेतिर गयौँ भने सबैभन्दा बढी बुध्दिमानी हुन्छ। विष कोही पनि चाँहदैन।
अर्को कुरा धर्मसँग सम्बन्धित पुराना साहित्य जति छन् तिनले भनेका सबै सत्य हुन् भन्ने सम्झ्यौँ भने हामी घोर अन्धकारमा फस्न पुग्छौँ। ती इतिहासका पाना जरुर हुन् तिनबाट पाठ सिक्नुपर्छ तर समयानुसार आवश्यकता के छ? मनुष्यता केले बढाउँछ, मानवीयताको संरक्षण कसरी गर्न सकिन्छ? जताततै अन्धाधुन्ध बढ्दै गइरहेको हिंसा, अशान्ति र द्वन्द्वलाई कसरी अहिंसा, शान्ति र निर्द्वन्द्वमा रूपान्तरण गर्न सकिन्छ त्यसमा विचार गर्दै वर्तमानलाई महान् बनाउनुका साथै भविष्यलाई पनि कसरी गौरवशाली तुल्याउन सकिन्छ भन्ने विचारले आज हामीले गर्ने गरेका कार्यहरूको अर्थ रहने भएकोले त्यसलाई हेक्का राख्नु आवश्यक छ।
हिंसाले अशान्ति ल्याउँछ त्यसैले हिंसा र अशान्ति दुईबीच अन्योन्याश्रित सम्बन्ध छ। त्यसैगरी अहिंसाले शान्ति ल्याउँछ यो सबैले थाहा पाएकै कुरा हो। तैपनि यो शाश्वत चिन्तनलाई स्वीकार्न मानिस हिच्किचाउँछ।यसैको परिणति हो आजको विश्वको दारुण र सन्त्रस्त अवस्था ! मलाई काटे, पिटे दु:ख्छ त्यसैले अरूलाई पनि दु:ख्छ, पीडा हुन्छ, कष्ट हुन्छ भन्ने भावलाई बिर्सदै जानु नै हिंसा बढ्नुको मूल कारण हो। हिंसा र अहिंसाको कुरा गर्दै जाँदा मानिसहरू आफूले गर्ने गरेको वा खाने गरेको कुराको बचाउ गर्न बोट-विरुवाहरूमा पनि त आखिर चेतनतत्त्व नै छ त्यो किन खाएको नि भनी प्रतिप्रश्न राख्न पनि पछि पर्दैनन्। त्यत्तिखेर उनीहरूले बुझ पचाउँछन् वा बुझ्न कोशिशै गर्दैनन् कि सागपात, वनस्पतिमा चेतनता छ तर इन्द्रिय, हृदय, मस्तिष्कसहितको संवेदना हुँदैन त्यसैले उनीहरूलाई पीडाको अनुभूति हुँदैन, पशुपक्षीमा जस्तो छटपटी हुँदैन, ऐय्या र आत्था हुँदैन। साथै मानिसको शरीर बचाउन तिनको भोजन आवश्यक छ।अर्को शव्दमा भन्नु पर्दा सागसब्जी, फलफूल, अन्न मानिस र प्राणीहरूकै निमित्त हो। यसको विपरीत मांसाहारविना पनि मानिस बाँच्न सक्छ। मानिस मांसाहारी प्राणी होइन उसको लागि मांसाहार प्राकृतिक खाना हुँदै होइन यसैले उसको लागि यो बाध्यकारी छैन। जन्मजात मांसाहार नगरेर वा पछि छोडेर जीवनभर मांसाहार नगरेका कत्ति मानिस विश्वमा थिए र अझै छन्। वंशानुगत रूपमै आजसम्म मांसाहार नगर्ने परिवार, समुदाय पनि विश्वमा मौजुद छन्।वर्षैभरी हिमपात हुने ठाउँ र सामुन्द्रिक क्षेत्रमा बाहेक अन्यत्र अन्न, सागसब्जी, फलफूल नहुने ठाउँ नै छैन भने हुन्छ संसारमा।यातायातको सुविधा विकसित हुँदै गइसकेकोले अब त अन्न, फलफूल, सागसब्जीको प्राप्ति कहीँ पनि दुर्लभ र दुष्कर छैन भने हुने अवस्था छ।
भन्न त मांसाहारका हिमायतिहरू भनिदिने गर्छन् कि पशुपक्षीलाई मारिएदिएपछि पुण्य प्राप्त गर्छन्।कस्तो विडम्वना ? तिनले पुण्य प्राप्त गरेको कुरा कसले देख्यो? के मानिस कसैलाई मारेर पुण्य गराउने क्षमता राख्छ? दु:ख-कष्ट, प्रताडना दिएर पुण्य दिने अधिकारी के मानिस हो? जसले उसको सृष्टि ग-यो उसलाई बाहेक अरूको प्राण हर्ने अधिकार कसैलाई छैन। मानिसको दण्डविधानमा कुनै बेला राखिएको मृत्यदण्डयसैकारण संसारका कैयन् देशहरूमा हट्दै गएको होइन? यदि पशुप्राणीलाई मारेर, काटेर, पुण्यप्राप्ति हुने भए आफू र आफ्ना सन्तानमाथि के त्यस्तो दया, माया, देखाउन कोही तयार हुन्छ होला? असम्भव! यस्तो यथार्थता हुँदा-हुँदै पनि मानिसहरू किन अरूको आँशु र मासुमा आसक्त हुन्छन् बुझ्न सकिँदैन।यस्ता मानिसहरू दया, माया, करुणाजस्ता मानवीय गुणहरूभन्दा भिन्न क्रियाकलापमा रमाइरहेको र त्यस्तो परम्परालाई बढाउन, टिकाउन लालायित भएको देख्दा आश्चर्य लाग्छ। यस्तै करुणाविहीन एवं दयाहीन कृत्यहरूले मानिसको सौन्दर्यलाई समाप्त पार्न लागिरहेको छ भन्ने तपाईँलाई लाग्दैन? यस्तै  हिंसाजन्य व्यवहारका कारण मानिसको मानवीय संवेदनामै ह्रास आएकोले समाजमा अनेक किसिमका आपराधिक गतिविधि, हिंस्रक मानसिक प्रवृत्ति, बर्बरता एवं क्रूरतापूर्ण घटनाक्रमहरू बढदै गइरहेको प्रति विश्व अनभिज्ञ छैन तर यसको मूल जड पत्ता लगाउन उनीहरू असफल छन्। कारण स्पष्ट छ जस्तो आहार उस्तै विचार र चिन्तन भन्ने गूढ रहस्यको भेउ पाउन अझै मानिसले सकिरहेको छैन।
मुखले मात्र शान्ति चाहियो भनेर शान्ति प्राप्त हुने होइन। त्यसको प्राप्तिमा के के काम ग-यौँ त्यसमा भर पर्ने कुरा हो। अशान्ति हुने काम गर्ने अनि शान्ति खोज्ने? के सम्भव होला? अहं कदापि हुँदैन। रोग लाग्ने आहारलाई ग्रहण गर्दै जाने अनि निरोगी हुन खोज्ने? यो कतै सम्भव होला? पटक्कै हुँदैन। वर्तमान विश्वको परिस्थिति यस्तै छ।बिषको फल रोपेर अमृतको चाहना गर्ने आम मानसिकता सर्वत्र हावी हुँदै गइरहेकोले नै यसको बाधक बनेको छ भन्ने लाग्छ। 
मानिसको लागि मांसाहार हुँदै होइन। ऊ त प्राकृतिक रूपले शाकाहारी प्राणी हो। त्यसमा पनि बुध्दि-विवेकले युक्त सर्वोत्कृष्ट प्राणी हो। त्यसको दुरुपयोग भयो भने हिंसा, प्रतिहिंसा, बर्बरता कस्तो हुने होला? अप्राकृतिक आहार-विहारले  रोगव्याधी नबढे केचाहिँ बढ्ला!
अलबर्ट आइन्सटाइन जो बीसौँ शताव्दीका सबैभन्दा प्रसिध्द वैज्ञानिक हुन् उनले भनेका छन् कि विश्वब्रह्माण्डलाई बचेको हेर्न चाहने हो भने मानिस मांसाहारीबाट शाकाहारीमा रूपान्तरित हुनै पर्छ।यस भनाइमा केवल आहारको कुरा छैन बरु आहारबाट मानिसमा तरङ्गित र उव्जने भाव, विचार र कर्ममा पनि उनले सङ्केत गरिरहेका छन्। त्यसलाई हामीले बुझ्न सकिरहेका छैनौँ जस्तो लाग्छ। मानिसको आहारअनुसार  विचार र चिन्तन बन्छ। आहारले नै मानिसलाई सज्जनबाट दुर्जन र गुणीबाट अवगुणी एवं असलबाट खराब  बनाउँछ। मद्य-मांसको लागि मानिस के गर्दैन र कहाँ-कहाँ पुग्दैन एकछिन सोचौँ त उदेक लागेर आउँछ। सुर (Rhythm) मा हुनुपर्ने मानिस यसै कारण असुरको तहमा पुगेजस्तो लाग्दैन?
विश्वमा देखिएका असङ्ख्य रोगहरूको उद्‍गम स्रोत मांसाहार भएकोतर्फ शिक्षित, चेतनशील मानिसहरू अनभिज्ञ छैनन् जसको प्रत्यक्ष प्रमाण हो कि यूरोप, अमेरिकाजस्ता देशहरू कुनै बेला मानिस मांसाहारविना बाँच्नै सक्तैन भन्ने विचार राख्ने ठाउँमा अहिले शाकाहारी अझ त्यसमा पनि भेगन (दुग्धजन्य पदार्थसमेत नखाने)हरूको सङ्ख्या यसरी बढ्दै गइरहेको छ कि थाहा पाउँदा ताज्जुब लाग्न सक्छ। अमेरिकामा १७%, बेलायतमा १२% मानिसहरू शाकाहारी बनिसके केही वर्षको अन्तरालमै।ताइवान, सिङ्गापुर, मलेसियाजस्ता देश जहाँ चारखुट्टेमा पलङ्ग, उड्नेमा चङ्गा खाँदैनौँ अरू जे पनि खान्छौँ भन्ने ठाउँमा पनि शाकाहारी चेतना यसरी उत्कर्षमा पुगेको छ कि जो कोहीका लागि आश्चर्य लाग्न सक्छ। विश्वमै यो अझ बढ्दै जाँदो छ।
क्यान्सर, मुटुरोग, पक्षघात, उच्च रक्तचाप, मधुमेह, मोटोपनका विभिन्न कारणहरूमा मांसाहार प्रमुख भएको तर्फ अनेक खोज-अनुसन्धान भइसकेको र भइरहेको स्थितिले मांसाहारबाट बँच्न सबैलाई प्रेरणा दिइरहेको छ। मासुमा कोलोस्ट्रोल र कार्सिनोजिन्स जस्ता तत्त्वको बाहुल्यताले त्यस्ता घातक रोगहरूलाई निम्त्याउँछ। पशुपक्षीबाट सङ्क्रमित हुने रोगहरूले मानवीय स्वास्थ्य र सभ्यतालाई अनेकौँ पटक चुनौति दिइसकेको छ। बर्डफ्लू, स्पेनिस बर्डफ्लू,  एभियन इनफ्लून्जाले लाखौँ मानिसहरूको विगतमा ज्यान लिइसकेको इतिहास छ।यसैगरी सास, म्याडकाउ डिजिज, स्वाइनफ्लू आदिको आतङ्क वर्तमान समयमा कसरी बढेको छ त्यसबारे आजका मानिसहरू अनभिज्ञ छैनन जस्तो लाग्छ। मांसाहारका कारण मानव शरीरमा हुने रासायनिक असन्तुलनले चिन्ता, आत्महत्या, आपराधिक प्रवृत्ति, डिप्रेशनजस्ता मनोविकृतिहरू बढदो क्रममा छन्।  
मांसाहारप्रति अभिमत प्रकट गर्नेहरू भन्ने गर्छन् कि यदि मानिसले उनीहरूलाई नखाइदिने हो भने तिनीहरूको यसरी जनसङ्ख्या बढ्ने छ कि अन्ततोगत्वा त्यसले नै मानिसलाई खाइदिनेछ। यो भनाइमा बिल्कुलै सत्यता छैन। यदि मानिसले मासु नखाइदिने हो भने तिनको पालन हुन छोड्छ र त्यसले मानिसको लागि नभई विश्वब्रह्माण्डकै लागि ठूलो हित गर्नेछ। मांसाहारी मानिसले सामान्यतया नखाने गरेका पशुप्राणीहरू – बिरालो, कुकुर, बाघ, भालु, गैँडा, गिध्द, स्याल, व्वासो, हायना आदिको सङ्ख्या यसरी बढ्नु पर्थ्यो कि तिनीहरूको वृध्दिको कारण विश्वका मानिसहरू तोबा-तोबा हुनुपर्ने होइन? तर उनीहरूको जनसङ्ख्या यसरी घटिरहेको छ कि ती कतिपय जनावरहरूको अस्तित्व नै सङ्कटमा छ। यसो किन भइरहेको छ कहिल्यै विचार गरेका छौँ? यसको प्रमुख कारण हो तिनको व्यावसायिक उत्पादन हुँदैन। यसको व्यवसायमा लाग्नेहरूलाई केही कमाइरहेका छौँ जस्तो लाग्छ होला; मासु खानेहरूलाई बिनसित्तैमा यस विषयमा केको चर्चा गर्नु मानिसका लागि पशुपक्षी सागबराबर भन्ने लाग्दो हो तर यस कर्मभित्र विश्वब्रह्माण्डकै लागि आघात पार्ने अनेक विकृत कुराहरू अन्तर्निहित छन् जुन मानवताकै लागि नसुहाउने कुरा छ।मासु उत्पादनको लागि विश्वमा पालिएका अरवौँ-अरव पशुपक्षीको कारण वातावरणमा कार्वनडाइअक्साइड, मिथेनजस्ता घातक ग्यासहरू वायुमण्डलमा फैलिएर ओजोन तहलाई प्वाल पार्ने काम भइरहेको छ जसको कारण सूर्यबाट अनपेक्षित ताप पृथ्वीमा आउने गरेकोले मानिसलगायत यावत् पशुपक्षी, वनस्पतिहरूमा सङ्कटको अवस्था दिनानु दिन बढ्दै गइरहेको छ।उष्णता बढ्दै गइरहेको छ र ब्रह्माण्ड नै सङ्कटको सङ्घारमा जाँदो छ, विपत्तिको घोर अनधकारमा जाँदैछ। 
हेर्दा मांसाहारको कुरा सानो जस्तो लाग्छ तर यसभित्र विश्वब्रह्माण्डकै अस्तित्वको कुरा समेटिएकोलाई आँखा चिम्लनु हुने अवस्था छैन। जति वेला विश्वमा मानिसहरूका लागि खाद्यान्नको हाहाकार थियो, उब्जाउ कम थियो, अनेक प्रविधिहरूको विकास भइसकेको थिएन, मानवता, स्वास्थ्यप्रतिको चेतनाको अभाव थियो त्यसवेला कतिपय देश, जाति र समूहहरूमा मांसाहार चलेको भए पनि अहिले यस विषयमा अनेक खोज तथा अनुसन्धान भइसकेका छन् जसले मानिसलाई सचेत गराइरहेको छ कि मांसाहार अनेक दृष्टिकोणले प्रत्युपादक छ, अहितकर छ, नोक्सानदायक छ। लाभभन्दा बढी बेफाइदै-बेफाइदा छ।रोगव्याधिको त मुख्य कारक तत्त्व नै हो।
हालसालै नेपालमा डाक्टरहरूलाई बिरामीले खान हुने खानेकुराको विषयमा कत्तिको जानकारी छ भनेर सर्वेक्षण लिइएको थियो त्यसमा केवल पाँच प्रतिशतलाई मात्र कस्ता बिरामीले के खानु हुन्छ, के खान हुन्न भन्ने विषयमा जानकारी भएको अरू पन्चानब्बे प्रतिशतलाई यस विषयमा थाहा नभएको समाचार आएको थियो। यसबाट के देखिन्छ भने नेपालमा कोही व्यक्ति बिरामी भयो वा कमजोर भयो भने डाक्टरहरूले माछा-मासु खानूस् भनेर जुन सल्लाह दिन्छन् त्यो नै बेतुकको भएको तर्फ यसले सङ्केत गर्दछ।विज्ञानको आँखामा माछा-मासुमा अप्राकृतिक केही प्रोटिन छ जब कि मानिसको लागि प्राकृतिक प्रोटिनको जरुरी पर्छ जुन माछा, मासुबाट होइन साग-सब्जी, फलफूल, अन्नलगायतको सन्तुलित आहारबाट मात्र प्राप्त हुन्छ। एक जना शाकाहारी बढ्नु भनेको विश्वब्रह्माण्डलाई जोगाउने एक जना हिस्सेदारको प्रकटीकरण हुनु हो भन्ने सम्झी यसउसले जति शाकाहारीको सङ्ख्या बढ्छ त्यत्ति नै ब्रह्माण्डको आयु लम्बिन्छ भन्ने यथार्थतालाई बुझी यस क्षेत्रमा केही सकारात्मकता ल्याउन सकियो भने नै सबैको हित, कल्याण सम्भव छ।रोगव्याधिबाट आफू पनि बचौँ, विश्वब्रह्माण्डलाई पनि सबै मिलेर बचाऔँ।

                                    *************