Friday, April 22, 2011

नेतृत्व गर्ने नेताको गुण कस्तो हुनुपर्छ?


                                                                                                                                  
                   यसमा कुनै अत्युक्ति छैन कि समाजमा परिवर्तन ल्याउने वाहक भनेकै समाजले मानेको व्यक्तिविशेष वा नेतृत्वदायी भूमिकामा बस्नेहरू नै हुन्। हिजो यसका संवाहक राजा, महाराजा, गुरु, आचार्य, पण्डित, पूजाहारीहरू तथा सुधारकहरू हुन्थे भने अहिले त्यसमा केही परिवर्तनसाथ नयाँ शव्द, नयाँ शैली, नयाँ व्यक्तित्व र चेहराहरू फेरिएका छन्।वस्तुत: नाम फेरिएको छ; हुन सक्छ केही काम फेरिएको किन नहोस्। यो यसैगरी चल्दै जान्छ र यसको प्रवृत्ति यस्तै हो। कहिलेकाहीँ लाग्न सक्छ कि धार परिवर्तन हुँदा वा नयाँ स्वरूप देखिँदा के-के न हुने हो कि भन्ने नलाग्ने होइन तर समयको गतिसँगै त्यसलाई आत्मसात् गर्नेहरूको जमात बढ्दै जाने स्वाभाविक प्रवृत्तिले कालान्तरमा त्यो नियमित बन्न पुग्छ त्यसमा कुनै शङ्का छैन। कसैको व्यक्तिगत जीवनमा वा रोजी-रोटीलाई वाधा नपरुञ्जेल वा त्यसमा अप्ठेरो नहुने हो भने परिवर्तनको प्रवृत्तिमा खास कसैले चासो पनि लिएका हुँदैनन्। यही प्रवृत्तिले यसैगरी नयाँपनलाई, नवीन आदर्शलाई स्वीकार्दै जान्छ। धर्मलाई नै लिऔँ न! हिजो धर्मको नाममा अनेक क्रियाकलापहरू भए हुनन् जुन आज सम्झदा धर्म विपरीतको कर्म लाग्छ। उदाहरणको लागि हिन्दुधर्मको नाममा हिजो सतीप्रथाले स्थान पाएको थियो। मरेको लोग्नेसँग जिउदै स्त्रीले चितामा भएका गरगहना सबै नजिकको मन्दिरमा चढाइ सामान्य स्वेत वस्त्र धारण गरी लाससँग बाँधिएर जल्नुपर्थ्यो। हजारौँ-हजार वर्षमात्र होइन लाखौँ वर्ष यसैगरी चल्यो, बित्यो। कैयन् हाम्रा मातृशक्तिहरूले त्यस्तो कहरलाई बेहोरे र जीवनलाई उत्सर्गित तुल्याए। उसवेला त्यसको विरोध गर्नुको अर्थ हुन्थ्यो धर्मको विरोध गर्नु। समाजका सबैको मान्यता हुन्थ्यो कि त्यसको विपरीतमा जानै हुन्न त्यसले अप्ठेरो पर्छ। राज्यको कानुन पनि त्यसैगरी बनाइएको हुन्थ्यो। विस्तार-विस्तार चेतना जाग्दै गयो कि यसले त संसारमा नारीको सङ्ख्यामा ह्रास आउँछ। सृष्टीचक्रलाई प्रभाव पार्छ। नारीविनाको संसार चल्न सक्तैन भन्ने जस्ता अनगिन्ती तर्क एवं कसैलाई जिउँदै आगोमा जलाउनु धर्म हुन सक्तैन भन्ने चेतनाले, मान्यताले गलत प्रवृत्तिलाई निरुत्साहित मात्र होइन त्यसलाई उन्मूलनै गर्न सहयोग पु-यायो। हिजो धर्म सम्झिएको त्यही कुरा आज कसैले अवलम्वन ग-यो भने वा सतीप्रथाको पक्षमा बोल्यो भने दिमाग ठीक छ या छैन भनेर सोध्न बेर छैन! चेतनाको स्तरमा परिवर्तन यसैगरी आइरहन्छ, यसै गरी भइरहन्छ। रूपान्तरणको अर्थ मात्र हिजोको विषयमा आज नयाँ प्रवृत्ति आउनु हुन सक्तैन त्यसले मानिसको अन्तर मनमा के सुधार ल्यायो वा त्यसले मानवीयताको विकासमा के सहयोग पु-यायो भन्ने कुरालाई जबसम्म ध्यान दिइदैन तबसम्म त्यो साँचो रूपको रूपान्तरण होइन भनिदिए केही फरक पर्दैन। यस्तै-यस्तै चल्दा-मिल्दा कुराहरू  संसारका विभिन्न धर्म, संस्कृतिको नाममा चलिरहेका होलान् र नजानेर स्वीकारी रहेको अवस्था पनि हुन सक्छ।
नेता वा मार्गदर्शकको भूमिका चाहाने वा त्यस स्थितिमा पुगेकाहरूले समाजबाट खोजी-खोजी विकृतिलाई, कुप्रवृत्तिलाई सबैभन्दा पहिले निरुत्साहित गर्नतिर ध्यान दिन सके संसारमा धेरैभन्दा धेरै यस्ता कार्यहरू गर्न सकिन्छ कि के भनौँ! त्यसले मानवताको जिउँदो-जाग्दो स्वरूप संसारसामु ल्याउन सकिन्छ तर दु:खको कुरा हिजो यसैगरी चल्यो आज पनि त्यसैगरी चल्छ किन टाउको दु:खाउने भन्ने प्रवृत्ति यत्र-तत्र हावी भएको कारण चलाचलीका मेला यसै गरी चल्दै जाला भन्ने जस्तो भइरहेको जुन छ त्यो दुर्भाग्यपूर्ण छ। किन हामी समाजमा देखिएका विकृति, विसङ्गतिहरू हुन् भन्ने जान्दा-जान्दै पनि त्यसलाई सच्याउन र परिस्कार गर्न पछि पर्छौ? यो हरेकले मनन गर्नु पर्ने विषय छ भन्ने तपाईँलाई लाग्दैन?  
मानिसको हरेक क्रियाकलापको प्रवृत्ति मनुष्यताको उचाइलाई छुने, मानवीय संवेदनालाई प्राप्त गर्ने तथा पशुताको स्थितिबाट मुक्ति पाउने हुन सक्नुपर्छ। यसमा हामी सफल भयौँ कि भएनौँ त्यो हेरिएन र मात्र काम चलाउने प्रवृत्ति र भावनाले ग्रस्त भएर सोच्यौँ वा सोच्छौँ भने नेतृत्वमा कमी छ भन्ने कुरालाई मान्नै पर्छ। यो जीवनको हरेक क्षेत्रमा लागू हुन्छ। चाहे हामी सामाजिक, धार्मिक, आध्यात्मिक, राजनीतिक, शैक्षिक, प्रशासनिक  जुनसुकै क्षेत्रको कुरा गरौँ त्यहाँ यो कुरा यहाँ  लागू हुने त्यहाँ  नहुने भन्ने नै छैन। धेरैजसो हामी यस दिशातर्फ ध्यान दिइराखेका हुँदैनौँ जसको कारण हामी अन्धकार, गरिबी, अभाव एवं चेतनाहीनताको अवस्थालाई प्राप्त गर्न वाध्य हुन्छौँ र सधैँ शून्यको स्थितिबाट माथि उठ्न खोज्छौँ। प्राप्त भइसकेको वा प्राप्त हुन सक्ने अवस्थालाई इन्कारेर वा नजरअन्दाज गरेर अन्यत्र दृष्टि दिनुको अर्थ हो लक्ष्यलाई चाँडो प्राप्त गर्न सक्ने अवस्थाबाट बिमुख हुनु।
हिजोआज संसारको कुनै पनि भागमा कुनै पनि क्षेत्रमा नेताहरूको कमी छैन। तर त्यहाँ सबैभन्दा ठूलो कमी छ सत्यताको, इमान्दारी र प्रवृत्तिको। समुदायको हित, समाजको कल्याण, राष्ट्र र विश्वको उपकार वा मानवमात्रको हित-कल्याणभन्दा पनि निजी स्वार्थ, एकदेशीय हितको प्रवृत्तिले व्यापकता पाएको हुन्छ यत्र-तत्र सर्वत्र! उदारता, महानताभन्दा सङ्कीर्णतामा, लघुतामा, सीमिततामा अलमलिन पुगेको देख्नुपर्दा दु:ख लाग्छ। यिनै कारणले गर्दा  कैयौँ महत्त्वपूर्ण अवसरहरू तुहिदै गइरहेका छन् त्यसको पत्तो नै हुँदैन उनीहरूलाई। समय बितिसकेपछि पछुतो गर्ने बानी परिसकेको भान पर्छ। एउटा अवसर गुम्नुको अर्थ हो पट्यारलाग्दा धेरै दिनहरूको प्रतिक्षा गर्नु पर्ने अवस्थाको सूत्रपात स्वयं आफैले गर्नु। फेरि यो पनि छ कि त्यस्तो अवसर पुन: आउने हो कि होइन के पत्तो?
दूरदर्शिता नेतृत्व गर्न चाहनेहरूको गुण हुन सक्नुपर्छ। भावना, आवेश र इच्छामा होइन उदेश्य र लक्ष्यनिर्दिष्ट भएर अगाडि बढ्न सके मात्र सफलता हात पर्न सक्छ भन्ने कुरा बुझ्न उनीहरू पछि परे भने जितबाट उनीहरू कोसौकोस टाढा हुने कुरा घाम जत्तिकै टड्कारो छ। सबैप्रति समान व्यवहारका साथै  मेरो,  उसको, हाम्रो होइन ‘राम्रो र असल भन्ने आत्मीय भावनाको अनुभूति नेतृत्व गर्नेहरूको आस गरेर बस्नेहरूले पाउन सके भने मात्र नेतृत्वको वाहवाहती हुन्छ अन्यथा त्यो केहीछिनको पानीको फोकाजस्तो हुन पुग्छ। नेतृत्व गर्न चाहनेले सधैँ ध्यान दिनु पर्ने कुरा के छ भने उसको कार्यकाल वा समयको साक्षी कोही न कोही निश्चित रूपले हुने भएकोले भविष्यमा उसको नाम कसरी लियूँन भन्ने चाहने? मानिसले स्वीकारून् वा दुत्कारुन् के चाहने? कोही नेता वा नेतृत्व गर्न चाहनेले उसलाई स्वीकारून् भन्ने चाहने हो भने आजैदेखि त्यस्तो कर्म वा सुकर्ममा आफूलाई लगाउन कम्मर कस्नुपर्छ जसले इतिहासमा स्वर्णाक्षरले उसको नाम लेखियोस् र अनेकौँको लागि उदाहरणीय व्यक्तित्व बन्न सकियोस्। असल नेताले, समाजको हित, राष्ट्रको कल्याण र विश्वको वर्चस्व चाहने व्यक्तिले छान्ने नै यही हो। अरू त इतिहासको कालखण्डमा कति आए कति गए तिनको गन्तीको के साधी! यसैले सधैँ आवश्यकता असल नेताको, असल नेतृत्वको हुन्छ कसैले बुझ्नु नबुझ्नु आर्कै कुरा हो।

                                     *******
  



No comments:

Post a Comment