Saturday, July 2, 2011

आफू नै शत्रु आफू नै मित्रु


                              
                                                        
                 संसारमा शान्ति नखोज्ने को होला? सुख नचाहने को होला? आनन्दको लागि नभड्किने को होला? त्यत्ति मात्र कहाँ हो र ! पशुपक्षी, कीरा-फट्याङ्ग्रा, हुँदा-हुँदा वनस्पति जगत्‌समेत सुख र आनन्दकै लागि तडपिरहेका हुन्छन्। यसैगरी मानिस शान्तिप्राप्तिको लागि पनि अत्यन्त प्यासा रहेको पाइन्छ। पशुपक्षी पनि सुख र शान्तिकै लागि यताउता भौतारिएको पाइन्छ। सुख, शान्ति, आनन्दको प्राप्ति यसर्थ सबैको अभीष्ट हो। यसो हो तापनि सबैका लागि यो सम्भव हुँदैन। आहार, निद्रा, भय, सन्तानोपत्ति पशु र मानवमा उस्तै भए पनि मानिसमा बुध्दि र विवेकसहित धर्ममा अभिमुख हुन सक्ने क्षमता छ। सामान्य पशुले जुन गर्न सक्तैन मानिसले गर्न र प्राप्त गर्न सक्छ। यसो भएता पनि सुख, शान्ति र आनन्द प्राप्तिका लागि  जेजस्तो प्रयास आवश्यक हुन्छ त्यसलाई पाउनको लागि दृढता र धैर्यताको अभावका  साथै मार्गदर्शन गर्ने गुरु, आचार्य र असल सङ्गतको अभाव यसमा खटकिएको सर्वत्र देखिन्छ। स्मरणीय कुरा के छ भने ईश्वरले सबैलाई समान अवसर प्रदान गर्नुभएको छ सुख, शान्ति र आनन्दप्राप्तिमा। तर नजानेर कता अलमलिन्छौँ कता! पत्तै नपाई जीवन बितिसकेको हुन्छ। जति बेला थाहा पाउँछौँ त्यत्तिखेर अबेला भइसकेको हुन्छ। ईश्वरको कृपामा पटक्कै पनपक्ष छैन मानिसको व्यवहारमा जस्तो। ईश्वरलाई नमान्नेहरूले ईश्वर छैन भने पनि केही छैन। कसैले ढोका थुनेर सधैँ अध्यारोमात्र पारि दे भनेर सूर्यलाई गाल गरे जस्तै हो यो कुरा। त्यसको कुनै अर्थ छैन। ढोका खोलेर सूर्यको अस्तित्वलाई स्वीकारे तत्काल सूर्यको प्रकाश पाउन सकिहाल्छ। तर के गर्ने प्राप्त अवसरहरूलाई जानी नजानी गुमाइरहेका हुन्छौँ र तथानाम गालिगलौज गर्छौँ गजब छैन त मानिस, मानिसका कल्पनाहरू र उसका ढिपीहरू!
कुनै स्थानविशेषले पो सुख, शान्ति र आनन्दको प्राप्ति हुन्छ कि भनी मानिस जन्मेको ठाउँ छोडेर बसाइँ सरिरहेको हुन्छ।कहाँ त्यत्तिमात्र हो र ? कता हो कताको पराइ मुलुक वा परदेशमा पुगिरहेको हुन्छ। कोही पद-प्रतिष्ठाले पो पाइने हो कि भनी त्यसको पछि दौडिरहेका हुन्छन्।  कोही व्यक्तिको सम्पर्कले पो सुख-शान्ति पाइने हो कि भनी अनेक व्यक्तिहरूसँग सम्बन्ध विस्तार र सम्पर्क बढाइरहेको हुन्छ। कोही समयले पो ती वस्तु पाइने हुन् कि भनी समयको पट्यारलाग्दो प्रतिक्षामा बसिरहेका हुन्छन्। स्थान , व्यक्ति, सम्बन्ध, समयको पर्खाइमा भलै जिन्दगी बितोस् तापनि गणितमा २+ = भएजस्तो व्यावहारिक जीवनमा कहिल्यै पनि गणितीय सूत्र मिल्न जाँदैन । कहिले त्यो दुई मात्र हुन्छ, कहिले तीन मात्र ! चार त विरलै मात्रको हातमा लाग्छ।
जीवनयात्राको दौडमा कहिलेकाहीँ सुखका आभास या भनौँ आनन्दको झिल्काझिल्कीजस्तो नपाइने होइन, पाइन्छ। तर के गर्ने त्यसको बसाइ हामीमा लामो समयसम्म हुँदै हुँदैन। अत्यन्त क्षणिक, अति छोटो समयका लागि भइदिन्छ। चाहेको जस्तो वस्तुको प्राप्ति हुँदा, खोजेको जस्तो कुरा पाउँदा, चिताएको जस्तो सामाग्री भेटिँदा यदाकदा सुखानुभूति जरुर हुन्छ। त्यत्ति वेला लाग्छ म जस्तो भाग्यमानी को छ र ! मैलेजस्तो सबैले पाउन सकेका होलान र! भनेजस्तो नहुने होइन, हुन्छ। गर्मीको बेला पानी नपाउञ्जेल कतिखेर तिर्खा मेटाऊजस्तो हुन्छ। एक-दुई गिलास पानी पिउँदा के-के न पाएजस्तो हुन्छ। तेस्रो-चौथो गिलासको प्रयास गरे पहिले पिएकै पानी बाहिर आउन बेर छैन। पाकेको आँप देख्दा खाऊ-खाऊ लाग्छ। खायो, एक-दुइटा खान पाएको छैन वाक्क लागि हाल्छ। अर्थशास्त्रको यो डिमिनिसिङ रिटर्न सूत्र जीवनव्यवहारका सबैतिर लागू हुन्छ। पहिलो पटक खाएको जस्तो दोस्रो पटक खाएको हुँदैन, दोस्रो पटकजस्तो तेस्रो पटकको हुँदैन। आफूसँग नहुँदा जुन वस्तु के-के जस्तो लाग्छ त्यही वस्तु प्राप्त भएपछि अर्को वस्तुको प्राप्तिमा मन दौडन सुरु गरिहाल्छ। भएको वस्तुको अवमूल्यन हुन थाल्छ र मूल्यहीन बन्न बेर छैन। एकैछिनका लागि भरिएका जस्तो, टन्न भएका जस्तो, अघाएको जस्तो लाग्छ तर एकैछिनपछि भोकाएका जस्ता, रित्तिएका जस्ता हुन थालिहाल्छौँ। एक वस्तुको प्राप्तिपछि अर्को वस्तुमा, अर्को विकल्पमा कामना हुन थाल्छ। यस प्रकार सदैव हामी नपुगेका, नअघाएका, नभरिएका वा भनौँ न अपूर्णतामा जीवन व्यतीत गर्न पुगेका हुन्छौँ। यो स्थिति अधिकांश मानिसहरूको दैनन्दिनी हो भन्दा फरक पर्दैन। मात्र वस्तु फरक होला, प्राप्ति फरक होला, सामाग्री भिन्न-भिन्न होला तर कामनाको शैलीमा त्यत्तिविधि भिन्नता हुँदैन।
थोरैले मात्र यस्तो परिस्थिति किन आउँछ, यसबाट कसरी त्राण पाउने हो, कसरी परिस्थितिलाई कावुमा लिने हो भन्ने विषयमा चिन्तन गरेका हुन्छन् अन्यथा भीडमा आफूअगाडिकोले जे गरेको छ त्यहीअनुसार पछाडिकोले कदम चालिरहेको हुन्छ त्यसमा खास कुनै फरकपन पाइन्न। भनौँ न भेँडाको हुलमा अगाडिको भेँडा भीरबाट हाम फाल्यो भने पछाडिकाले पनि भकाभक हामफालेजस्तै हामी पनि त्यसैगरी पिछा गरिरहेका हुन्छौँ। यस्तो किन हुन्छ भने हामीले आफूभित्रको क्षमतालाई वा भनौँ न आफूलाई नै चिनेका हुँदैनौँ जसको कारण जीवनमा अल्मलमा पर्छौँ। यसैगरी आजसम्म संसार चलिरहेको छ त के गर्ने? भन्ने प्रश्न र जिज्ञासा बराबर आउँछन्, जान्छन् सबैको मनमा तर यसको रहस्यको पत्ता लगाइ गोता खान थोरै मात्र तम्सिन्छन्, कमैमात्र लागेका हुन्छन्।
                    सुख,शान्ति, आनन्दको स्रोत हामी आफूसँगै छ भन्ने कुरा थोरैलाई मात्र थाहा छ। साच्चै भन्ने हो भने कस्तुरीमृगको जस्तै स्थिति छ। आफैसँग सुगन्धको स्रोत छ तर ऊ भडकिरहेको हुन्छ त्यसको परिप्राप्तिमा जङ्गल-जङ्गल र कुना-कन्दरामा! अन्तमा गलित भएर शिकारीको फन्दामा पर्छ। यसैगरी मानिस पनि आफैसँग भएको सुख, शान्ति र आनन्दको स्रोतलाई नजान्दा पल-पल छटपटिएको हुन्छ। आफूमा भएको अहिंसा, प्रेम, स्नेह, आत्मीयता, सहानुभूति, सौहार्द्र, सदभाव, विनय, इमानदारी, सत्य, न्याय, निष्ठाको भण्डारलाई फुकाउने हो भने यति धेरै सुख, शान्ति र आनन्दको स्रोतलाई आफ्नो बनाउन पुग्छौँ कि के भन्ने यत्रतत्र सर्वत्र त्यसको महक फैलन सुरु हुन्छ। गल्ती कहाँनिर हुन्छ भने आफूसँग भएका ती अमूल्य गुणहरूलाई प्रकट हुन कञ्जुसाइ गर्दा हामी उदार, विशाल र विराट हुनुबाट वञ्चित हुन पुग्छौँ। जसको अभावमा सङ्कीर्णताको घेरामा अझ भनौँ सानो पोखरीलाई नै महासागर सम्झेर पौरख गरेको सम्झने पोखरीको भ्यागुतोको जस्तो लघुतामा जीवन बिताइरहेका हुन्छौँ।
                    यस्तो किन भइरहेको छ? यसको प्रमुख कारण हो मानिस वाह्य संसारको भ्रमणमा अत्यन्त रुचि राखेर विभिन्न ठाउँमा पुग्न आतुर हुन्छ तर आफ्नै आत्माको अन्तर यात्रामा भने कहिल्यै ध्यान दिँदैन जसको कारण बराबर गल्ती भइरहेको हुन्छ मात्र होइन गल्तीमाथि गल्ती गरिरहेका हुन्छौँ। म संसारमा किन आएँ? यहाँ आउनुको सार्थकता के? यहाँ के गर्दा सर्वोत्कृष्ट बन्न पाइन्छ? अहिले जे जीवन बाँचिरहेको छु के त्यहीमात्र जीवन हो कि त्यसभन्दा अर्को कुनै आनन्ददायी जीवन छ? आफ्नै सुख-शान्तिका लागि मात्रै जीवन हो कि परहितको लागि, प्राणीमात्रको लागि पनि जीवन हो जस्ता विषयमा जबसम्म उसले ध्यानकेन्द्रित गरेको हुँदैन तबसम्म जीवनको लक्ष्य र गन्तव्यलाई बुझ्यौँ भन्न मिल्दैन।
संसारमा रहेर सांसारिक नबनी सुखीभन्दा सुखी, आनन्दभन्दा आनन्द, शान्तभन्दा शान्त जीवन व्यतीत गर्न चाहेमा मानिसको लागि पूरा सम्भव छ। तर एउटा कुरा छ चाहानेले चाहानु प-यो। तिर्खा लागेको छैन भने नजिकबाट हिरहेको पानी जत्ति नै स्वच्छ, कञ्चन र पवित्र होस् त्यो गिरहन्छ, गिरहन्छ त्यसैगरी युगयुगान्तरसम्म गिरहन्छ जसरी आजसम्म गिरहेको छ।
वाह्य वस्तुमा, भौतिकतामा क्षणिक सुख, शान्ति, आनन्दको झलक पाइन सकिन्छ। तर त्यो चिरस्थायी हुन सक्तैन। साँचो सुख, शान्ति र आनन्द त जीवनको गन्तव्यलाई चिनेर अनासक्त भई जीवनलाई सुकर्ममा लगाउनुमा हुन्छ; मन, वचन, कर्मले कुनै पनि अवस्थामा कसैलाई दु:ख, पीर-पिराउ, प्रताडना नगर्नुमा छ। हिंसा नगर्नुमा छ। विशाल, विराट, बृहत् बन्नुमा छ। संकीर्णताबाट मुक्त हुनुमा छ। वाह्य वस्तुमा होइन सुख, शान्ति, आनन्द निर्भर गर्दछ अन्तरको  विशालतामा। त्यो कुरा नजान्दा, नबुझ्दा अलमलिइरहेका छौ बाहिर-बाहिर र खोजिरहेका छौँ नखोज्नु पर्ने ठाउँमा, गइरहेका छौ जानु नपर्ने ठाउँमा। जानु पर्ने ठाउँमा चाहिँ गइरहेका छैनौँ, ग्रहण गर्नु पर्ने विषयलाई चाहिँ त्यागी रहेका छौँ। भनौँ न उल्टो बाटो हिँडेर गन्त्व्यमा पुग्न खोजिरहेका छौँ। अनि कसरी सम्भव हुन्छ लक्ष्यको प्राप्ति?  
जो आफैमा रम्न सक्छ, जो अन्तरको यात्रा गर्न सक्छ, जो आत्मसंयममा रमाउन सक्छ, जो इन्द्रियनिग्रहमा खुल्न सक्छ, जो भक्ष्याभक्षको विचार पु-याउन सक्छ, जो गन्तव्यागन्तव्यको ख्याल गर्न सक्छ उसैलाई नै सुख, शान्ति र आनन्दको प्राप्ति हुन्छ। हरेक मनुष्यको अस्तित्व बाहिर होइन भित्र छ। अझ भनौँ अन्तरहृदयमा प्रस्फुटित हुन्छ। नबिराउनु नडराउनु मा पनि धेरै शक्ति लुकेको हुन्छ। जो आन्तरिकरूपले आफैमा रमाउन सक्छ ऊ वाह्य संसारमा स्वत: रम्न सक्छ, शान्ति प्राप्त गर्न सक्छ र आनन्दको अनुभूति गर्न सक्छ।
भनिन्छ, मानिसको शत्रु पनि आफै हो मित्र पनि आफै हो। आफैमा विरोधाभाषजस्तो लाग्ने भनाइ भएता पनि यो यथार्थ कुरा हो। सत्य हो। यसको विरोध गर्नुको कुनै तुकै छैन भन्छु म।  यसको सोझो, सिधा अर्थ छ मनको लहै-लहेमा लागेर कुकर्म र दुष्कर्म  गर्नेले आफूले आफैलाई शत्रु बनाइरहेको हुन्छ भने बुध्दि र विवेकले युक्त भएर सुकर्म गर्नेले आफूले आफैलाई मित्र बनाइरहेको हुन्छ। अशान्ति अरूको कारणले भन्दा पनि ज्यादात्तर आफ्नै कारणले, दु:खी अरूको कारणले भन्दा पनि आफ्नै कारणले गर्दा हुन पुगिरहेको हुन्छ जसको ख्याल कमैले गर्न भ्याउँछन्। कस्तो दुर्भाग्य ! हुँदा-हुँदा म किन दु:खी भएमा त्यत्ति चिन्ता लिँदैन मानिस तर अर्कोले कसरी सुख पायो, कसरी सम्पत्ति आर्जन ग-यो भन्नेमा बढी दु:खित, बढी चिन्तित बन्न थाल्यो र पो अनर्थ हुने स्थिति देखिदै छ जताततै। यस्तै प्रकारको ईर्ष्या, जलन, डाह, रिसले मानिस स्वयंमा भित्र-भित्रै जलिरहेको भान पर्दछ जसलाई हेरे पनि। साधु, महात्मा भन्नेहरूमा रिसराग, विद्वान्-विदुषी भन्नेहरूमा रिसराग, सन्न्यस्त भन्नेहरूमा होडबाजी, सम्पन्न-सम्पन्न भन्नेहरूमा खिचातानी  हुने अवस्था जहाँ गयो त्यही देखिन्छ भने सिक्नेले के सिक्ने? आदर्श केलाई बनाउने? परिस्थिति जटिल बन्दैगएको जस्तो के तपाईँ महसुस गर्नु हुन्न?
साराशंमा जोसँग जे छ सामान्यत: उसले त्यही दिने हो। यसैले हामी स्वयं पहिले आफै सुखी, शान्त र आनन्दको अनुभूति नगरीकन अरूलाई दिन सक्दैनौँ। यहाँ सुखी, शान्त र आनन्द भन्ने कुरा बाहिरी भौतिकतासँग त्यत्ति सरोकार राख्दैन। स्वयं सुखी बन्ने, आनन्दित बन्ने कुराको महामन्त्र हो पहिले त्यो कुरा स्वयं आफैमा लागू गर्ने अर्थात् बुध्दि, विवेक र बोधपूर्वकको जीवनलाई आत्मसात् गर्ने अनि हेरौँ सर्वत्र आनन्दै-आनन्द, शान्ति नै शान्ति।  
drgovinda.tandon@gmail.com

                                  -*********-