Saturday, January 21, 2012

वास्तविक मुक्ति


                      
                                         
             सूचनाको सङ्ग्रहलाई नै हिजोआज हामी ज्ञान भन्न थालेका छौँ। चाहे त्यो इतिहासको होस्, चाहे त्यो भूगोलको होस्, चाहे विज्ञानको होस् या कम्प्युटरको नै किन नहोस्। सामान्य ज्ञानको लागि सूचनासङ्ग्रह पनि जरुरी छ तर त्यसैलाई मात्र ज्ञान भन्न थाल्यौँ, शिक्षा भन्न थाल्यौँ भने त्यो विडम्वनापूर्ण हुन्छ।साक्षरताको कसी त्यो केही रूपमा हुन सक्ला तर त्यही नै साध्य होइन।अमेरिका कहाँ छ? अफ्रिका कहाँ छ त्यसको अवस्थिति जानेर के गर्ने? बोट-बिरुवा कसरी रोप्ने वा बीऊ कसरी छर्ने कुरा वाह्य रूपमा जानेर मात्र पुग्दैन जबसम्म तिनबाट चेतनताको अभिवृध्दिको लागि जीवनमा आवश्यक पर्ने कुरा लिन सक्दैनौँ त्यतिबेलासम्म त्यो मात्र कोरा सिकाइ हुन्छ। त्यसले उव्जनी बढाउन केही काम लाग्ला वा कुनै हाजिरीजवाफ प्रतियोगिताको लागि केही भरथेग होला। तर समग्रमा भन्ने हो भने जीवनदर्शनमा तिनको थोरै उपादेयता रहन्छ।सृष्टिलाई बुझेर मात्र पुग्दैन जबसम्म स्रष्टालाई बुझ्न सकेका हुँदैनौँ।किताबको कुरा पढ्ने, भाषण वा प्रवचनबाट केही सिक्ने-बुझ्ने अनवरत चलिरहने विषय हो।यसबाट पनि केही सिकाइ-बुझाइ हुन्छ। त्यसमा पनि व्यवहारबाट सिक्ने कुरा अव्वल दर्जाको हुन्छ।आफूलाई परेर वा अर्कालाई परेको देखेर सिक्न पनि छोड्नु हुँदैन।यही नजान्दा गल्तीमाथि गल्ती दोहोरिरहेको हुन्छ।
अनुभव सबै कुराको हुनुपर्छ भन्ने भ्रमले वा सतही बुझाइको कारण अमूल्य जीवनलाई राम्ररी बुझ्न नपाउँदै, जान्न नपाउँदै कैयन् व्यक्तिहरू कुलतको, व्यसनको चक्रव्यूहमा फस्न पुग्छन् कि के भन्ने त्यसबाट लाख प्रयत्न गर्दा पनि मुक्ति पाउन गाह्रो बइरहेको हुन्छ र अनमोल जीवनलाई व्यर्थमा गुमाइरहेकै नै धेरै पाउँछौँ।थोरै भाग्यमानी आत्मचेतनाले, आत्मजागरणले, सत्सङ्गतले, सद्साहित्यको स्वाध्ययनले, विवेकको प्रयोगले, साधना र अनवरत प्रयत्नको कारणले अनेक भ्रमबाट उन्मुक्ति पाउन सक्लान् तर सबैमा त्यो अवस्था कहाँ आउँछ!
चुरोट, खैनी, गुड्खा, पराग, पानपराग जे-जे भनौँ ती सबै मानिसको स्वास्थ्यको लागि एकदमै हानीकारक छ, रक्सी त्यत्तिकै विषाक्त छ जीवनको लागि सबैले महसुस गरेका छन् तर सबै कुरा जान्दा-जान्दै पनि त्यसलाई पूर्णरूपले वाइकट गर्न अघि सर्ने संसारमा कुनै राष्ट्र कुनै सरकार नै भेट्टाइदैन किनभने राज्यकोषमा आउने राजस्व र त्यस्ता उद्योग चलाउने उद्योगपतिहरूको दवाव यस्तो छ कि सरकारको कुर्सी हल्लाउने क्षमता राख्छन् उनीहरू।यसको कारण निरीह जनता अनेक कुलत र दुर्व्यसनमा फसिरहेका हुन्छन्। उनीहरूमा भ्रम हुन्छ कि यदि खान नहुने, प्युन नहुने चीज भएको भए यसको उत्पादन नै किन हुन्थ्यो। त्यसमा पनि उपभोक्तावादी वर्तमान संसारको चरित्रले गर्दा अनेक आकर्षक विज्ञापनको लहै-लहैमा मानिस फस्न पुग्छ।  सके उनीहरूले सरकारी संयन्त्रका सम्बन्धित व्यक्तिहरूलाई आफ्नो हातमा लिइरहेका हुन्छन् जसको कारण विरोधका स्वरहरू एकातिर गुञ्जिरहेको हुन्छ अर्कोतिर यथावत् रूपमा उत्पादन, विक्री-वितरण सहज रूपमा खुलायाम चलिरहेको हुन्छ।अथवा भनौँ शासनसत्तामा हुनेहरू वा विधायकहरूकै संरक्षण वा नेतृत्वमा त्यस्ता उद्योगहरू चलिरहेको भए कुनै आश्चर्य हुनेछैन। नाटक मञ्चनजस्तो लाग्दैन तपाईँलाई कि यसो कहिले-काहीँ केही गरेको जस्तो देखाउन जब कुनै प्रहरी सडकमा बसेर दुइ-चार जनालाई मुख सुँघेर एकाध घण्टा पुलिसको कठघरामा राख्दा! शासन-प्रशासनमा बस्ने वा भनौँ सुरक्षा निकायहरूकै सरकारी वा नीजि भोजभत्तेरमा हेर्नुहोस् त तिनको खोलो बगेको! काम गर्नेलाई स्यावासी दिनैपर्छ। तर त्यसलाई दिगो रूपमा सुदृढ रूपले अगाडि बढाउने हो भने जो अर्काको मुख सुँग्घछ उसको मुखबाट पनि कहिल्यै त्यसको गन्ध नआउने उदारहरणीय कार्य भयो भने विकृति मासिदै गई संस्कृतिको निर्माण हुन थाल्छ। व्यक्ति, परिवार, समाज र राष्ट्रलाई बर्बाद पार्न तिनको हात छ भन्ने लागेपछि के तिनको उत्पादनलाई सदाको लागि बन्द गरिदिए के बिग्रन्छ? कसैको मुख ताकेर बस्नुपर्छ के गर्ने भनेर? उदाहरण आफूबाटै सुरु गर्नुपर्छ अरूको बाटो किन हेर्ने? तँ पिटेको जस्तो गर म रोएकोजस्तो गर्छु भन्ने लुकामारी यहाँमात्रै होइन संसारभरी नै चलिरहेको छ। आदर्शको निर्माण यस्तो ढुलमुले चरित्रले किमार्थ हुन सक्तैन।स्वाइन फ्ल्यू र वर्ड्स फ्ल्यूको आशंकाले एक जना व्यक्ति म-यो भने हाहाकार हुन्छ। निरीह हजारौँ-लाखौँ पशुपक्षीलाई मार्न संसारभरका राष्ट्र तम्तयार हुन्छन् तर जुन दुर्व्यसनले दिनमा हजारौँ होइन लाखौँ मानिसको ज्यान गइरहेको छ, त्यसैको कारण अनेक रोगहरूको शिकार हुनु परेको छ, घर-घरमा अशान्ति छ, समाजमा अनेक किसिमको वैमनस्य र तिक्तता बढाउन सहयोगी भइरहेको छ त्यसलाई हटाउनेतिर कसैको ध्यान जाँदैन वा पुग्दैन भने यो आश्चर्यको विषय होइन? कति विडम्वना छ!
शासनसत्तामा नपुग्दा यो गर्छु र ऊ गर्छु भनेर गुट्टी हाक्नेहरू शासनसत्ताको मोहमा फँसेर पहिलेदेखि जे चलेको छ त्यही नै ठीक रहेछ भन्ने मनोविकारले ग्रस्त हुनु कुनै आश्चर्य होइन। अझ अघिकाले भन्दा त्यस्ता कुरालाई अरू बढी साथ-समर्थन दिएको देखिनु पनि नौलौ कुरा नहुन सक्छ। संसारमा भइरहेकै यही छ। विद्यमान विकृति, विसङ्गति, कुपरम्परा, कुसंस्कारलाई हटाउन उत्प्रेरित गर्दै जीवनको निखारलाई प्राप्त गर्न सहयोगी हुने जीवनोपयोगी योजना र कार्यक्रमहरूलाई जनस्तरदेखि नै प्रभावकारी तुल्याउन आवश्यक पर्ने सम्भव उपायहरूको अवलम्वन गर्दै सबैभन्दा पहिले आफू नै आदर्श बनेर अरूलाई मार्गदर्शन गर्न सक्ने घरमूली, समाजका थकाली, सामाजिक अभियन्ताहरू, राजनेता भनिनेहरू यथार्थतामा अगाडि बढ्ने अवस्था आयो भने बल्ल सम्झे हुन्छ अब केही हुने दिन आयो। नत्र जो आए पनि उही ---- चिरेका भन्ने उखान नै चरितार्थ भइरहन्छ।
धेरै मानिसमा के भ्रम छ भने मुक्ति भनेको मरेपछि मात्रै पाइने कुरा हो जीवनकालमा यो प्राप्त हुन सक्ने कुरै होइन। यहाँनिरै ठूलो भ्रम छ मानिसमा। यस्तै विश्वास (belif) लाई मानिस जानी-नजानी मलजल गरेर बसेको हुन्छ र उसले बिर्सेको हुन्छ कि मुक्ति त उसकै हातमा छ। मुक्ति पाउन मृत्युलाई कुरेर बस्नु नै पर्दैन। जसले मृत्युपछि मुक्ति हुन्छ त्यसैले अहिले धर्म-कर्म गर्नुपर्छ र त्यसबाट मुक्ति पाइन्छ भनेर सिकाइरहन्छन् विचरा उनीहरू नै ठूलो भ्रममा छन्। मरेपछिको मुक्ति कसैले नदेखेको मुक्ति हो। मैले मुक्ति पाए भनेर पुराणका कथाहरूमा बाहेक आजसम्म कोही फर्केर भन्न नआएकोले अनुमानित मुक्तिको पछि लाग्नुभन्दा जीवनकालमै गलत सङ्गत, गलत संस्कार, गलत संस्कृति, गलत विचार, गलत कर्मबाट आफूलाई उन्मुक्त राखेर सफल मात्र होइन असल जीवन, यस्तो जीवन कि जहाँ कुनै बिलौना छैन, पश्चाताप छैन, डर-भय छैन किनभने सत्यनिष्ठालाई आत्मसात् गरेको हुन्छ, समभाव छ, सेवाभाव छ, निस्वार्थता छ, सात्विक जीवन छ, परहितको चेष्टा छ, सुकर्ममय दिनचर्या छ र यी सबैलाई जसले आभूषण बनाउन सकेको छ भने अहिले बाँचेको त्यस्तो जीवनलाई नै मुक्त जीवन भन्न सकिन्छ।यस्तो जीवन बाँच्नेहरूको जति सङ्ख्या बढ्यो त्यत्ति समाज र राष्ट्रको उन्नति, प्रगति र समृध्दि यथार्थ रूपमा हुन सुरु हुन्छ। राष्ट्र-राष्ट्रमा यस्ता दिव्य जीवन बाँच्नेहरूको सङ्ख्या जति गुणात्मक रूपले वृध्दि हुँदै जान्छ त्यति नै विश्वमा शान्ति, समुन्नति र दिगो प्रगतिको ढोका खुल्छ। यस्ता जीवनमुक्त व्यक्तिले गर्ने कार्यहरूमा कहाँ खोट हुने? कहाँ विकृति हुने? कहाँ भष्ट्राचार हुने? कहाँ दुराचार हुने? चाहे पूर्वमा होस् चाहे पश्चिममा क्रान्तदर्शी महापुरुषहरूको खोजाइ यस्तै व्यक्तिहरूको लागि थियो र हो। त्यसलाई बुझ्न नसक्दा अनेक विकृति र विसङ्गतिहरूको सङ्घातमा विश्वका तमाम मुलुकहरू जानी नजानी भाँसिइरहेको छ। एकको विकृतिको पछि अर्को त्यसलाई संस्कृति सम्झी अनाहकमा फँसिरहेको छ।अझ भनौँ त्यसलाई बुझ्न सक्ने सामर्थ्यको अभावमा भूल-माथि भूल बढ्दैगएको र यथार्थतालाई बुझ्ने दृष्टिकोणमै पर्दा लागेको जस्तो भएको छ।
समय भटकिरहेको छ। तर अझै पनि सच्चिने/ सच्च्याउने रेखाको उल्लङ्घनबिन्दुको नजिकसम्म मात्र भएकोले जीवनमा देखिएका विकृत तत्त्वहरूबाट हटेर दिव्यतालाई प्राप्त गर्न सकिने अवस्था हरेकको लागि उपलव्ध छ।आवश्यकता छ आत्मचेतनाको विकासको।मानिस-मानिसमा विभेद ल्याउने जात-जाति, वर्ण, रङ्ग, छुवाछूत, कर्मकाण्डका अनेकभाँति जञ्जिरहरूबाट उम्किदै, दुर्व्यसनमुक्त जीवनलाई अँगाल्दै, हिंसाभावबाट मन, वचन, कर्मैले मुक्त हुँदै वा त्यस्ता घनघोर काला वादलहरूलाई पन्छाएर उदारता, विशालता, विराटता र विस्तृर्णतालाई आत्मसात् गर्दै समभावको स्थितिमा पुग्न सके नै  जीवनको दिव्यता प्राप्त हुन सक्छ।यही  वास्तविक मुक्ति हो, यस्तै जीवनका लागि लालायित बन्नुपर्छ।
                                     *************
                                          

Saturday, January 7, 2012

आत्मज्ञानको रहस्य: जीवनको सौन्दर्य


                         
            विश्वलाई यति कुरूप, वीभत्स, घीनलाग्दो र उदेकलाग्दो कसले बनाइ रहेछ भन्ने कुरा थाहा पाउँदा मानिस स्वयंमाथि प्रश्न गर्न विवश हुन सक्छ कि किन यसो भइरहेको छ? यसको सही जवाफ कहाँ सजिलै पाउन सकिन्छ। कठीन छ बुझ्न, गाह्रो छ पहिल्याउन। किनकि देखिने कुरा एउटा छ, भइरहेको छ अर्को कुरा।विचरा प्राणी जगत्‌का अरू कुनै पशुपक्षीहरूले विश्वलाई निर्लज्ज र कुरूप बनाएकै होइनन्, लुछाचुडी अरू कुनै पशुप्राणीले गरेकै होइनन्। उनीहरू त आफ्नै प्रकृति, स्वभाव र अनुकूलताको विवशतामा बाँची रहेका छन्। प्रकृतिको दोहन भन्ने कि शोषण मानिसले जति अरूले गर्न सक्ने कुरै होइन पनि।पृथ्वीमा जे-जति स्रोतहरू छन्, खानीहरू छन्, सम्पदाहरू छन् तिनको उपभोग गर्ने पनि मानिसबाहेक अरू कुनै पशुप्राणीहरू छैनन्।यसैले भन्नै पर्ने हुन्छ कि अरूलाई गाली गर्नुको, दोष लगाउनुको कुनै तुकै छैन।सम्पदा, सम्पत्ति र अमूल्य स्रोतहरूको उपयोग र उपभोग गर्ने मानिसबाहेक कोही छ? यसो हुँदा पनि मानिस आफ्नो भाग्यलाई सरापेर बसिरहेको हुन्छ कि मैले केही पाइनँ, केही गर्न सकिनँ, केही भएन भनेर। कस्तो दुर्भाग्य छ! यसलाई विडम्बना नभनेर के भन्ने? चाहाने हो र दृढतासाथ लाग्ने हो भने नहुने केही छैन, पाउन नसक्ने कुरा सायदै छैन। यो त ठीक यस्तै भयो कि सूर्य सबैका लागि समान रूपले विना भेदभाव प्रकाश, तेज बाडिरहेका छन् तर कोही-कोही ढ्यामढुम्म ढोका थुनी अध्यारो भयो भनेर सूर्यलाई सत्तोसराप गरेर बसिरहेका हुन्छन्।जति चुनौती छन् अवसरहरू पनि त्यत्तिकै छन्।तिनलाई बेहोरेर अगाडि बढ्नेहरूको कमी नै समस्याको जड हो भने हुन्छ।  
अधिकांश मानिसले बुझ्नै सकेको हुँदैन कि वास्तविक जीवन भनेको के हो? उही गोरखधन्दा, उही बिहान-बेलुकाको हात-जोडाइको लागि असिना-पसिना, उही छिनाझप्टी, उही ईर्ष्या, उही पाखण्डी, उही उदासीनता, उही निराशता, उही स्वार्थ र जीजिविषा नै पो जीवन हो कि भन्ने भ्रम परेको छ।यही सीमित सेरोफेरोमै जीवन चलिरहेको छ युगौँयुगदेखि मानिसहरूको।जीवनभित्रको रहस्य खोज्नपट्टिलाग्दा कि मानिस दर्शन र वेदान्तशास्त्रको गहिराइमा कि मनोविज्ञानको मनष्चक्रमा, कि धर्मान्धताको कठघरामा ठडिन पुगेको हुन्छ तर त्यसको छनक उसले पाउनै सकेको हुँदैन कि कहाँ उभिन पुगेँ भन्ने कुराको। जीवनलाई बाँच्न जानेको खण्डमा यति सौन्दर्यपूर्ण, यति रसिलो, यति भरिलो र यति आनन्ददायक छ कि के भन्ने! यसका लागि धन-सम्पत्ति, भौतिक समृध्दि, प्रशस्त विद्या-शिक्षा, प्रतिष्ठा चाहिन्छ भन्ने पनि छैन।कसैका लागि केही बेरका लागि यी आधार र माध्यमजस्तो बन्न पुगे पनि ती नभई नहुने जरुरी कुरा भने होइन। नहुँदामा कुनै रोकावट छैन, हुँदामा पनि कुनै हानी छैन।ती सबै भएर अझ सदुपयोग गर्न पाइयो भने त के चाहियो ! यसैलाई भन्छन् सुनमा सुगन्ध ! हुनेहरू थोरैले मात्र आफूसँग भएको स्रोत-साधनको सदुपयोग गर्न जानेका हुन्छन्। धेरैले त मन फुकाउन, हात फुकाउन, हृदय फुकाउन जानेकै हुँदैनन्। दियो कि सकियो, बाड्यो कि रित्यो भन्ने गलत बुझाइमा अल्मलिरहेका हुन्छन्।
जीवनलाई सर्वाङ्ग रूपले बुझ्न नसक्दा मानिसले नपाउनु दु:ख पाइरहेको छ, अनेक कष्ट झेलिरहेको छ, पीडाको कहालिलाग्दो यातना भोग गर्न बाध्य छ।जीवन बनाउने कुरा कहाँ सिक्ने मानिसलाई भ्रम पनि छ।सबै विद्यालय, कलेज, विश्वविद्यालयमा यो पाइने कुरा पनि होइन। किनभने आधुनिक शिक्षाको लक्ष्य अर्थकरी बन्न जाँदा विद्यालय, कलेज एवं विश्वविद्यालय त साक्षरता अभियानका केन्द्र वा कुनै चाँहि सूचनाको स्रोत सङ्ग्रह केन्द्रजस्ता बन्न पुगेका छन्।प्राविधिक तथा विज्ञानसँग सम्बन्धित शिक्षा जोडतोडसँग अगाडि बढिरहेको छ तर त्यहाँ जीवनलाई चाहिने कतिपय जीवनदायिनी विषयहरूको अभावको कारण निरसता झाँगिदै गइरहेको तर्फ सोच्नुपर्ने बेला आइसकेको छ।
समयको मागअनुसार जीवनलाई चलाउन समयसापेक्ष शिक्षा एवं विद्याको अपरिहार्यतालाई बिर्सन सकिन्न। बिर्सियो कि समयअनुसार पछि पर्दै गई अन्ततोगत्वा जीवन नै बोझझैँ बन्न पुग्छ। विश्वका कतिपय देशहरूमा यस्तो स्थिति नभएको होइन।जसको कारण देश र जनताको न जीवनस्तर न चेतनाको स्तरलाई नै जागृत गर्न सकिएको छ। समयानुकूल शिक्षाको आवश्यकताको साथै आत्मज्ञानलाई जगाउन सक्ने लक्ष्य, विचार र धारणा भएको एवं चेतनाको स्तर बढाइ मानिसलाई मनुष्यताको सिढीमा उकास्ने आत्मिक ज्ञानको आवश्यकतालाई जहिलेसम्म बुझ्न सकिन्न तबसम्म मानवताको साँचो विकास हुन सक्ने अवस्थै रहन्न।आत्मिक ज्ञानलाई कुनै धर्म, सम्प्रदायको बिल्ला भिराइदिएर गल्ती गरिरहेका छौँ। यसको कुनै धर्मविशेष वा सम्प्रदायविशेषसँग साइनो नै छैन भनिदिए हुन्छ।आत्मिक ज्ञान वा अध्यात्म ज्ञान जे भनौँ त्यो भनेको अरू केही नभई सबैको अस्तित्वको स्वीकारोक्ति वा आफू भएर संसारका यावत् वस्तुहरूको निरीक्षण गरेर बुझ्न प्रयत्न गर्नु भन्ने हो। यसलाई नबुझेर मानिसहरू अनेक किसिमका दर्शनमा अल्मलिन पुगेका हुन्छन्। बुझ्नु पर्ने गूढ कुरालाई पाखामा थन्काइ बाहिरी कुराहरूमा, विधिका कुराहरूमा, कर्मकाण्डका अनेक विधि तानाबानामा जेलिरहेका हुन्छन् र जीवनलाई निस्सारता र उल्झनतर्फ लग्न जानी-नजानी अभिप्रेरित भइरहेको नै देखिन्छ।
थोरै यस्ता भाग्यमानी हुन्छन् जसलाई यस मार्गको पथिक बन्न कसैले सिकाइरहनु पर्दैन तर अधिकांश मानिसहरूको प्रवृत्ति यस्तो हुन्छ कि उनीहरूलाई कि कुनै आधिकारिक व्यक्तिले कि कुनै घटना या दुर्घटनाले कि कुनै पुस्तक र शास्त्रको माध्यमले उनीहरूको अवचेतनमा रहेको सुषुप्तावस्थालाई झङ्कृत तुल्याइदिनु पर्ने हुन्छ। कतिपय विचारकहरूले कहाँनिर गल्ती गरिरहेका हुन्छन् भने कसैलाई सिकाएर कोही असल बन्नेवाला छैन जबसम्म ऊ स्वयं प्रवृत्त हुँदैन। केही हदसम्म यो सत्यको निकट रहे पनि सोह्रै आना सत्य भने यो छैन। जीवनमा जरुर केही यस्ता कुराहरू छन् जसलाई सिक्नु र सिकाउनु जरुरत पर्दैन तर धेरै यस्ता पक्ष छन् जसलाई कसैले नसम्झाइदिइ हुँदैन, कसैले झङ्कृत नतुल्याइदिई हुँदै हुँदैन।
जीवन र जगत्‌प्रति यथार्थ भावले आत्मनिरीक्षण गर्न जब मानिसले सुरु गर्छ अनि सम्झे हुन्छ कि आत्मिक ज्ञानको मार्गको पथिक हुने क्रमको  प्रारम्भ हुन थाल्यो।यस्तो भोक र खोजप्रति अहंता र घमण्ड बढ्न थाल्यो भने चाँहि सम्झनु पर्ने हुन्छ निराशाका दिनहरू आफू सामुन्ने तम्तयार भएर बसेका छन्। जसरी यात्रालाई सजिलो पार्नु छ भने आफूसँग झिटिगुण्टाहरू जति थोरै भयो त्यति सुगम हुन्छ। त्यसैगरी हिंसा,राग, द्वेष, ईर्ष्या, अहंता, घमण्डको भारी आफूसँग जति राख्यो त्यति जीवन कष्टकर हुन थाल्छ।त्यसैले सके जति दुर्गुण र दुर्व्यसनका भारीलाई समयमै हलुका पार्न सकियो भने जीवन सुखदायक, शान्तिप्रदायक र आनन्ददायक हुन पुग्छ।यो कुरा महत्त्वपूर्ण छ कि आत्मज्ञान र आत्म निरीक्षणैबाट जीवन, जगत् र ईश्वरप्रति या सत्यप्रतिको अनुसन्धान र बोधक्षमताको उद्‌गम हुन्छ।
तपाईँ छर-छिमेकप्रति कस्तो व्यवहार गर्नु हुन्छ? पशुपक्षी, वनस्पति र प्रकृतिप्रति के भाव राख्नु हुन्छ? आचरण, बानी, बेहोरा, आहार, विहार कस्तो बनाएको छ? सङ्गत कस्तो छ? जीवन, जगत्‌प्रति कस्तो धारणा र भावना बनाएको छ? हेर्दा यी विषयहरू सामान्यझैँ लाग्छ तर तिनको जीवनमा यति महत्त्व छ कि के भन्ने आश्चर्य लाग्छ।महत्त्वपूर्ण विषयलाई सामान्य सम्झिदिएकोले सर्वत्र भूलमाथि भूल थपिदै गएको छ।जीवन आत्मलाभको बाटोमा छ कि आत्मघातको गोरेटोमा छ थाहा पाउने कसीलाई नै छायामा पारेर जीवनको सही पहिचान गर्न सकिएला? यो हुन सक्ने कुरै होइन। पल-पलमा होशमा रहन सकिए, क्षण-क्षणमा आत्मनिरीक्षण गर्न सकिए जीवनका हरेक मोडमा नवीनता, मनमोहकता र आनन्दको परिदर्शन गर्न कुनै गाह्रो पर्दैन।कर्ममा कुशलता, सोचाइमा वृहदता, चिन्तनमा पूर्णताको स्थिति आत्मिक ज्ञानको परितुष्टीबाटै सम्भव हुन सक्छ, जीवनको सौन्दर्य यसैमा लुकेको छ यसलाई जसले उघार्न जान्यो उसैले दिव्यतालाई भेट्टाउँछ, परम तत्त्वलाई फेला पार्दछ।
                                   ***************