Sunday, March 27, 2011

समस्याभित्रै हुन्छ समाधान



                                                                                 

मानिसहरू कति यस्ता हुन्छन् कि समस्याको जञ्जालमा फसिन्छ कि भन्ने सम्भावित कारणले कतिपय राम्रा-राम्रा अवसरहरू प्राप्त हुँदा पनि त्यसलाई अजमाउनपट्टि नलागी त्यसबाट भाग्ने प्रवृत्तिले ग्रस्त हुन्छन् जसको कारण उनीहरूको लागि मानौँ अवसरहरू फेरि कहिल्यै पनि आउँदैन कि जस्तो भइदिएको हुन्छ। किनभने प्रत्येक पटक उनीहरू समस्यामा पो अल्झिने हो कि भनी डराएका हुन्छन्, अत्तालिएका हुन्छन्। समस्या नभएको, समस्या नआउने भनी पहिले नै थाहा पाइएको कुनै काम हुन्छ र? यसो हो ता पनि यो गूढ कुरा कत्तिले बुझ्नै पाएका हुँदैनन्।यसैले गर्दा समस्याविनाको अवसरको खोजीमा धेरै मानिसहरू भौतारिरहेका हुन्छन्। जस्तोसुकै समस्या आओस् त्यससँग म जुध्न तयार छु, सामना गर्न तत्पर छु, चुनौतीलाई आत्मसात् गर्न अघि सर्छु  भनी सम्झने हो भने अवसरहरू परिचय नदिई आउँदा पनि अवसरलाई सजिलै छोप्न सकिन्छ।अवसरले कसैलाई खोजेर हिँड्दैन ब्यक्तिले नै चिन्न सक्नुपर्छ। धेरैजसो मानिसको स्वभाव कस्तो हुन्छ भने कुनै अवसर अघिल्तिर आएको छ भने पनि तात्कालिक फाइदालाई हेरेर अस्वीकार गरिदिने बानी परिसकेको हुन्छ। वर्तमानमा आएको अवसरलाई छोपेर त्यसलाई इमान्दारीपूर्वक, जिम्मेवार ढङ्गले सम्पन्न गर्नेतिर लाग्दै जाने हो भने यो निश्चित छ कि भविष्यमा त्यसैले उसलाई पद,प्रतिष्ठा, सम्पत्ति दिलाउन सक्छ वा चाहेको कुरा उपलब्ध गराउन मद्दत गर्न सक्छ तर दूरदृष्टिको कमीका कारण मानिस त्यसलाई बुझ्नै सकिरहेका हुँदैनन्।
कुनै पनि समाजमा अवसरहरू यत्तिविधि छन् कि त्यसलाई खै के भन्ने! चिन्नु पर्नेले नचिनेपछि के लाग्छ? हिजोआज कतिपय, अविकसित एवं अल्प विकसित मुलुकहरूबाट कामको खोजीको सिलसिलामा सात समुद्रपारिका देशहरूमा आफ्नो भएको घरबार, परिवार, कुलकुटुम्ब, समाज एवं देशैलाई छोडेर अनेक किसिमको दु:ख-कष्ट झेल्दै कमाउने नाममा ज्यानै फालेर हिँडेको अवस्था के त्यही अवसरलाई चिन्न नसकेर आएको होइन? आफ्नो थातथलीमा पाइला-पाइलामा असर्फी र हीराका टुक्राहरू छरिएका छन्, यत्रतत्र अवसरै-अवसर छन् तर त्यसलाई अजमाउनेपट्टि थोरै व्यक्तिहरू मात्र लाग्छन्।अरू त अवसरको खोजीमा भौतारिँदा-भौतारिँदै आधा जीवन या पूरै जीवन समाप्त गर्न पुग्छन्। विदेश जानेले पनि त्यत्तिखेर बुझ्छ कि जब समय ढल्किसकेको हुन्छ वा थातथलीमा रहेको आफ्ना कुनै साथी-सङ्गीले उन्नति गरेर चकाचौध गरेको सुनेपछि वा बुझेपछि झल्यास्स हुन पुग्छ कि उसको जीवन व्यर्थैमा बित्यो भन्ने कुरा।
ईश्वरले भन्नु होस् कि प्रकृतिले, जेसुकै भन्नु होस् मानिस अति  भाग्यमानी छ कि पृथ्वीमा जताततै रत्नका खानी, खनिजका खानी, इन्धनको खानी, पानीको स्रोत र अन्यान्य कैयन् किसिमका किमति र अमूल्य भण्डारले भरिदिनुभएको छ। तिनको प्रयोग मानिसबाहेक अरूले गर्न सक्ने अवस्था छैन। त्यसको लागि चाहिने ज्ञान, परखशक्ति र उपयोग मानिसले मात्र गर्न सक्छ। यति हुँदा पनि मानिस ईश्वरलाई गाली गर्न, आफ्नो भाग्यलाई दुत्कार्न पछि पर्दैन कस्तो विडम्वना! किस्मतलाई विश्वासै नगर्ने नराम्रो बानीले मानिसलाई यसरी गाँजेको छ कि खै के भन्ने यथार्थ सत्यलाई पनि ऊ दुत्कारिरहेको हुन्छ।
अल्छी र नकारात्मक सोचाइ भएको ब्यक्तिले जताजतै समस्याको खातैखातमात्र देख्दछ जब कि पौरखी र सकारात्मक सोचाइ भएको ब्यक्तिले समस्याभित्र पनि समाधानको सूत्र फेला पार्दछ।समस्यासँग डराउनु पर्ने कुनै कारणै छैन किनभने हरेक समस्याको गहिराइमा समाधान हुन्छ, हुन्छ। यसो भनेर जे पायो त्यही गरेर हिँड्न वा जे पायो त्यही गर्न छुट रहेछ भन्ने सम्झनुचाहीँ ठूलो गल्ती हुने छ।समस्याभित्रको समाधानलाई पहिल्याउन नसक्दा मानिस अनेक थरी सङ्कटमा फस्न पुग्छ।आफूले समाधान दिन सक्ने कुरालाई आफैमाथि विश्वास नभएर ऊ पराइको खोजीमा हुन्छ। यसलाई विडम्बना नभनेर के भन्ने? यो व्यक्ति, सङ्घसंस्था, राजनीतिक पार्टी, राष्ट्र-राष्ट्रबीच सर्वत्र व्यापक छ भनिदिए हुन्छ।
संसारमा व्यक्ति-व्यक्तिबीच, सङ्घसंस्थाबीच, पार्टी-पार्टीबीच, राष्ट्र-राष्ट्रबीच अनेकौँ पेचिला देखिने समस्या हुन सक्छन्। यस्तो हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहने छ त्यसमा कत्ति शङ्का छैन। तर जिम्मेवार भएर संवाद, वार्ता, छलफल गर्ने हो भने कुनै यस्ता समस्या हुँदैनन् जसको समाधान नहोस्! राजनैतिक, सामाजिक, धार्मिक, आर्थिक आदि जे-जस्ता विषयका पेचिला समस्या किन नहुन् तिनको कहीँ न कहीँ मिलनबिन्दु हुन्छ। समस्यालाई चर्काएर राख्नुभन्दा समयमै मिलनबिन्दुको खोजी गरी समाधानको बाटो पहिल्याउनु बुध्दिमत्तापूर्ण सही कदम हुन्छ।
अवसर भनेको प्रकारान्तरले समयलाई चिन्नु भन्ने पनि हुन्छ। समय बहुमूल्य छ। समयलाई कुनै हालतमा खेर फ्याल्नु हुँदैन। समयलाई सहीरूपले पहिचान गरी उपयोग गर्न जानेनौँ भने पछुताउनुबाहेक केही हात लाग्दैन।बितेको समय गयो, गयो फर्केर आउँदैन।
अवसरलाई कुरेर बस्नेहरू भौतिक उत्कर्षको बाटोलाई मात्र अवसर सम्झेर भूलभुलैयामा अल्मलिरहेका हुन्छन्। साच्चै भन्ने हो भने भौतिक उत्कर्षमात्र विजय होइन न मानिसको जीवनको लक्ष्य नै। अवसर त आफूमाथि आफैलाई जित्नुमा छ। दुर्गुण, कुलत, लालसा, ईर्ष्या, लोभ, अहंता, हिंसामाथि विजय हासिल गर्नुमा हुन्छ। भोगवासना तथा कामवासनाहरूको वशीभूत कतै हुनु छैन।तिनीहरूलाई पूर्ण निग्रहमा राखी सधैँ एउटा उच्च आदर्शलाई अगाडि राखेर निष्ठा, आस्था एवं इमान्दारीसाथ निरन्तर अग्रसर हुन सकियो भने एक दिन निश्चय नै लक्ष प्राप्त हुन्छ त्यो नै वास्तविक विजय हो।
मानिसमा गल्ती कहाँनिर हुन्छ भने समस्या आउँदा त्यो कसरी, किन आयो भन्नेतिर वा त्यसैभित्र समाधान छँदै छ भन्ने कुरामा नलागी अन्यत्र वाह्य कुरा, जहाँ समाधानको किञ्चित पनि सम्भावना छैन, त्यसमा अल्मलिन पुग्छन् जसको परिणती हुन्छ समस्यै समस्याको टुङ्ग्याउनै नसकिने खात।देखिएको  समस्यालाई जतिसक्दो चाँडो समाधान गर्नेतिर लाग्नु बुध्दिमानी हुन्छ। कुनै पनि समस्याले मन हुँदै मुटु र मष्तिस्कका साथै पूरै शरीरलाई समस्याग्रस्त तुल्याउँदै अन्तत: रोगग्रस्त बनाइदिन्छ।चिन्ता यस्तो डरलाग्दो हुन्छ कि यसले मानिसलाई चितामा पु-याइदिन्छ।
समस्या विभिन्न कारणले आउँछ त्यसमा मुख्यत: - (१) वाह्य र (२) आन्तरिक हुन्छन्। दुवै उस्तै खतरनाक हुन्छन् परिणाममा।समस्याको स्वभाव गजबको हुन्छ यसले कसैलाई निहोरा गर्दैन। कुनै धनाढ्य ब्यक्तिको लागि करोड रुपैयाँको आवश्यकताले जस्तो चिन्ताग्रस्त तुल्याएको हुन्छ गरिब ब्यक्तिको लागि पचास रुपैयाँ वा त्योभन्दा पनि सानो रकम-कलमले चिन्ताग्रस्त बनाइदिन्छ। यसैले समस्या सबैको लागि बराबरी बनेर अघिल्तिर आएको हुन्छ।
ज्यादात्तर समस्यालाई मानिस आफैले बनाएको हुन्छ, जन्माएको हुन्छ त्यसमा पाइन लगाइएको हुन्छ लोभ र स्वार्थको। बस अनि के चाहियो! एकैछिनमा तिल पहाड बनेर सामु आउन बेर मान्दैन। हरेक समस्याको पछाडि यही लोभ र स्वार्थले आफ्नो काम गरिरहेको हुन्छ। त्यसमा पछि गएर त के के थपिन्छन् के के तिनको के साधी! त्यसैमा जोडिन आइपुग्छ लालच, ईर्ष्या, स्वार्थ, मोह आदि आदि। एक ब्यक्ति वा एक दल वा एक देशको स्वार्थले कैयौँलाई दु:ख-कष्ट पु-याइरहेको हुन्छ तैपनि त्यसलाई सहिरहनुपरेको विडम्वनापूर्ण अवस्थाको चुरीफुरी तपाईँ सर्वत्र देख्नु हुन्न? यी दुई जुम्ल्याहा स्वार्थ र लोभलाई त्यागिदिने हो भने संसारमा समस्या तीन चौथाइ नै घटेर जानेछ त्यसलाई अरूले भन्दा पनि तपाईँ आफैले व्यवहारमा उतारेर हेर्नुस् त त्यसको परिणाम कुर्न धेरै महिना, वर्ष कुर्नु नै पर्दैन तत्काल भेट्टाइनेछ। ती दुईलाई छोडिदिएको घडीमै अपार आनन्दको अनुभूति पाउन थालिहालिन्छ।विवाद सौहार्दतामा परिवर्तन हुन्छ, समस्या समाधानमा रूपान्तरित हुन पुग्छ, अशान्ति शान्तिमा बदलिन्छ, दु:ख-कष्ट सुखमा परिवर्तन हुन समय नै लाग्दैन। 

                                **********





Tuesday, March 1, 2011

महाशिवरात्रि पर्व : महत्त्व र महिमा


                                                  
                                                           
         नेपालमा महाशिवरात्रि पर्व प्रत्येक वर्ष फाल्गुन कृष्णपक्षको चतुर्दशीमा धुमधामले मनाइन्छ।धार्मिक-आध्यात्मिक जागरणको साथसाथै यसै दिन टुँडिखेलमा बढाइँका साथ सेनादिवसको रूपमा पनि मनाइने गरिएकोले शिवरात्रि पर्वले राष्ट्रिय पर्वको रूप ग्रहण गर्न पुगेको छ।आराध्यदेव भगवान् श्रीपशुपतिनाथप्रतिको यो एक किसिमले आराधना र सम्मान पनि हो भन्दा अत्युक्ति हुँदैन। महाशिवरात्रि पर्व भगवान् शिवको आराधनाको प्रमुख दिन हो। त्यसो त भगवान्‌को पूजा-आराधनालाई खास कुनै दिन कुरेर बस्नु पर्दैन।प्रत्येक पल,प्रत्येक क्षण असल कार्यको लागि शुभमूहुर्त हुन् भनिन्छ र वास्तवमा यो हो पनि। शिवतत्त्वको चर्चा गर्दै जाँदा शास्त्रहरूमा जसमा सारा जगत् शयन गर्दछ, जो विकाररहित छ उही शिव हो अथवा जो अमङ्गलको ह्रास गर्दछ उनै सुखमय, मङ्गलमय भगवान् शिव हुन्; जो सारा जगत्‌लाई आफूमा लीन गर्दछ उनै करुणासागर भगवान् शिव हुनुहुन्छ; जो भगवान् नित्य, सत्य, जगदाधार, विकाररहित, साक्षीस्वरूप छ उनै शिव हो भनेर यत्रतत्र सर्वत्र चर्चा-परिचर्चा गरिएको पाइन्छ।
भगवान् शिवको गुणगान गाइएका अनेक मन्त्र र स्तुतिहरू वेद, उपनिषद्, रामायण, महाभारत, पुराणलगायत   परवर्ति साहित्यहरूमा समेत अत्यधिक मात्रामा पाइन्छ।भगवान् शिवको स्तुतिगानको लागि प्रशिध्द शिवमहिम्नस्तोत्रमा विद्वान् पुष्पदन्तले यसरी श्रध्दा-भक्ति दर्शाएका छन् –
त्रयी साङ्ख्य योग: पशुपतिमतं वैष्णवमिति।
प्रभिन्ने प्रस्थाने परमिदमद: पथ्यमिति च।।
रुचिनां वैचित्र्यादृजुकुटिलनानापथजुषां।
नृणामेको गम्यस्स्तमसि पयसामर्णव इव।।

महासमुद्ररूपी शिवजी नै एक अखण्ड पर-तत्त्व हुनुहुन्छ; उहाँ सर्वव्यापक र सर्वशक्तिमान् हुनुहुन्छ, उहाँ व्यक्त-अव्यक्त रूपले क्रमश: सगुण ईश्वर र निर्गुण ब्रह्म कहिनुहुन्छ तथा उहाँ परमात्मा, जगदात्मा, शम्भव, मयोभव, शङ्कर, मयस्कर, शिव, रुद्र, पशुपति आदि अनेकौँ नामले सम्बोधित हुनुहुन्छ। भगवान् शिव वर्णनातीत भएर पनि अनुभवगम्य हुनुहुन्छ। उनै आशुतोष भक्तहरूलाई आफ्नो आश्रयमा लिनु हुन्छ, उनै त्रिविध तापलाई शमन गर्नेवाला हुनुहुन्छ, उनैबाट समस्त विद्या एवं कला निक्लेको छ, उनै वेद तथा प्रणव अर्थात् ‌ओमकारको उद्‌गम हुनुहुन्छ, यसैलाई वेदले नेति नेति भनेको छ। उनै नित्याश्रय एवं अनन्ताश्रय हुनुहुन्छ तथा उहाँ नै दयासागर एवं करुणावतार हुनुहुन्छ। शास्त्रहरूसमेत उहाँको महिमाको सम्पूर्ण वर्णन गर्न  असमर्थ छन् त्यस्ता भगवान् शिव वा पशुपतिनाथको मन्दिर युगौँयुगदेखि नेपालमा रहनु नेपालीहरूकै सौभाग्य हो। महाशिवरात्रि पर्वको दिन जहाँ-जहाँ भगवान् शिवको मूर्ति, शिवलिङ्ग तथा मन्दिर छ त्यहाँ-त्यहाँ भव्यरूपले पूजा-आजा सम्पन्न गरिने चलन धार्मिक आस्थावानहरूमा छ।काठमाडौँको देवपत्तनमा रहेको भगवान् श्रीपशुपतिनाथको मन्दिरको दर्शन-पूजनको लागि लाखौँ भक्तजनहरू देश-विदेशबाट आउँछन्। नेपालमा मनाइने महाशिवरात्रिको केन्द्रबिन्दु यही विश्वप्रसिध्द मन्दिर रहने गरेको छ।
शिवरात्रिमा पूजा, उपवास र जागरणलाई महत्त्व दिइएको पाइन्छ। अधिकांश पूजा-आजा दिनमा हुन्छ तर भगवान् शिवको पूजा यस दिन रात्रिको समयमा हुन्छ किन? यो धेरैको मनमा आइरहने जिज्ञासा हो। यो थाहा भएकै कुरा हो कि भगवान् शङ्कर संहारशक्ति तथा तमोगुणका अधिष्ठाता हुनुहुन्छ। अत: तमोमयी रात्रिसँग उहाँको स्नेह रहनु स्वाभाविक हो। रात्रि आनन्ददायीको साथसाथै संहारकालको प्रतिनिधि पनि हो। रात्रिको आगमन हुनासाथै सर्वप्रथम प्रकाशको संहार हुन्छ, जीवहरूको दैनिक कर्मचेष्टाहरूको संहार, इन्द्रियहरूको सामर्थ्यको संहार तथा अन्तमा निद्राद्वारा चेतनताको संहार भएर सम्पूर्ण विश्व संहारिणी रात्रिको काखमा अचेतन भएर लुटपुटाउँछ। यस स्थितिमा प्राकृतिक दृष्टिले शिवलाई रात्रि प्रिय हुनु स्वाभाविक एवं हृदयङ्गम लाग्छ। यसै कारण भगवान् शङ्करको आराधना रात्रिमा मात्र होइन प्रदोष (साँझ पर्दा) मा समेत गर्ने प्रचलन छ। प्रत्येक महिनामा पर्ने कृष्ण चतुर्दशी सबै नै शिवरात्रि हुन् तर फाल्गुन महिनामा पर्ने कृष्ण चतुर्दशीको विशेष महत्त्व भएकोले यस दिनलाई महा विशेषण जोडेर महाशिवरात्रि नामले पुकारिन्छ। क्षयपूर्ण तिथि (अमावास्य) को दुष्प्रभावबाट बच्नको लागि त्यसको एक दिन अगाडिको चतुर्दशीको दिन भगवान् शिवको उपासना गरिएजस्तै वर्षको अन्तिम महिना आउनुभन्दा अगाडि नै महाशिवरात्रिको रूपमा पूजा-अर्चना गर्ने विधान शास्त्रमा पाइन्छ। सोझो अर्थमा भन्ने हो भने वर्षको उपान्त्य महिना, त्यसमा पनि त्यस महिनाको उपान्त्य रात्रिमा महाशिवरात्रि पर्व पर्दछ। यसको साथै प्रकृतिमा उजाड र शुष्क बनाउने प्रकृतिको संहारकारी रूप यसै महिना देखिन्छ। कतै शिवको रौद्र रूप देखिएको त होइन जस्तो लाग्दछ जहाँ बन-वृक्षमा पातहरू झरेर नाङ्गो भएको, वनस्पति जगत् नै मुर्झाएको हो कि जस्तो भान पर्दछ।रात्रिपछि बिहानी भएजस्तो महाशिवरात्रिपछि मानौँ प्रकृतिले ऊर्जा प्राप्त गर्छिन्। फलत: बन-कुञ्जहरूको मुहार फेरिन सुरु गर्छ, रूख, विरूवामा फूलका कोपिलाहरू देखिन थाल्छ र भिन्नै महकता दृश्यमान् हुन थाल्छ। शिशिरकालिक शुष्कताले परिवर्तनको काँचुली फेर्छ।शिवको एकादश रुद्रको सङ्ख्यात्मक स्वरूपको पनि प्रतिनिधित्व गरेको छ महाशिवरात्रिले। किनभने फाल्गुन महिना एधारौँ महिना हो।शिवरात्रि व्रतलाई भुक्ति र मुक्ति दुवै मिल्ने व्रतको रूपमा शास्त्रहरूले लिएका छन्।
महाशिवरात्रिको सुरुवात कसरी भयो भन्ने सम्बन्धमा ईशानसंहिताको एक ठाउँमा फाल्गुनकृष्णचतुर्दशीको महानिशामा आदिदेव महादेव कोटि सूर्यको समान दीप्तिसम्पन्न भई शिवलिङ्गको रूपमा आविर्भूत हुनुभएथ्यो। अतएव शिवरात्रि-व्रतमा त्यही महानिशाव्यापिनी चतुर्दशीको ग्रहण गर्नुपर्छ भनी बताइएको छ। यसप्रकार शिवलिङ्ग रूपमा पृथ्वीमा पहिलो पटक आभिर्भूत भएको दिनलाई शास्त्रहरूले महाशिवरात्रिको रूपमा  ग्रहण गरेको पाइन्छ।
व्रतहरूमा शिवरात्रि महाव्रत वा व्रतराजको रूपमा लिने प्रचलन हिन्दु धर्मावलम्बीहरूमा छ। व्रतको अर्थ सर्वसाधारणले अन्नग्रहण गर्ने वा नगर्नेलाई मात्र लिने गरेका छन्। वास्तवमा व्रतको अर्थ आत्मिक उन्नति वा सम्पन्न गरिने कर्मद्वारा ईश्वरानुभूतिको अवसरलाई प्राप्त गर्ने अभूतपूर्व क्षण हुनु पर्ने हो। तर व्यवहारमा कस्तो भइरहेको छ त्यो स्वयं व्यक्ति-व्यक्तिले सम्झने कुरा हो।यस दिन नित्यकर्मबाट निवृत्त भई स्नानपश्चात् भगवान् शिवको ध्यान, जप, उनको गुणगान, श्रवण तथा परहितलायकका सुकर्महरू गरी कालयापन गर्नु नै उपासना हो।केवल भोको बसेर, अन्न नखादैमा उपवास हुने होइन।
रात्रिमा जागरण महाशिवरात्रिको अर्को महत्त्वपूर्ण पक्ष हो।श्रीमद्‌भगवत्‍गीतामा भनिएको छ-
या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी।
यस्यां जाग्रति भूतानि सा निशा पश्यतो मुने:।।

अर्थात्, सबै प्राणीहरूको अर्थात् विषयासक्त संसारी जनहरूको लागि जुन रात हुन्छ त्यसमा संयमी व्यक्ति जागेका हुन्छन्। आत्मदर्शनविमुख प्राणिगण जुन जगदावस्थामा जाग्दछन् मनीषी, आत्मदर्शननिरत योगीको लागि त्यो रात हो। अत: स्पष्ट छ कि विषयासक्त जसमा निद्रित छ त्यस अवस्थामा संयमी प्रबुध्द हुन्छ।यसैले महाशिवरात्रिमा जागा रहनुलाई महत्त्व दिइएको हो।यसर्थ शिवपूजाको वास्तविक अर्थ पुष्पचन्दन, विल्वपत्र श्रध्दासाथ अर्पित गरेर शिव नामको जप-ध्यान गर्नु एवं चित्तवृत्तिलाई निरोध गरेर जीवात्मालाई परमात्मा शिव को साथ योग गर्नु हो। जीवात्माको आवरणविक्षेप हटाएर परतत्त्व शिव को साथ एकीभूत हुनु  नै वास्तविक शिवपूजा हो। यही जीवनको ध्येय हुनुपर्छ भनेर शास्त्रहरूले बताएका छन्।
भगवान् शङ्करलाई पुराणहरूमा सम्पूर्ण विरोधी भावहरूको अनुपम सामञ्जस्य स्थापन गर्ने ईश्वर तत्त्वको रूपमा चित्रित गरिएको पाइन्छ। यस्तो अद्‌भुत समन्वय जसको जीवनमा छ साँच्चै भन्ने हो भने उही व्यक्ति निन्दा-स्तुतिमय हलाहललाई पचाएर अमरत्वको लाभ गर्न सक्छ। शिव नारीश्वर हुनुहुन्छ परन्तु उहाँजस्तो कामविजेता पाउन सकिन्न। उहाँ गृहस्थ भएर पनि गृह-स्थ हुनुहुन्न। श्रीकण्ठ भएर पनि श्रीभन्दा धेरै टाढा हुनहुन्छ, ऋध्दिसिध्दिको स्वामी भएर पनि त्यसबाट पराङ्‌मुख, उग्र भएर पनि सौम्य र अकिञ्चन भएर पनि सर्वेश्वर हुनहुन्छ। भयङ्कर विषधर र सौम्य सुधाकर दुवैले उहाँको शरीरको शोभा बढाएका छन्। मस्तकमा प्रलयकालिक वह्नि र शिरमा हिमशीतल जाह्नवीधारा उनको अनुपम श्रृङ्गार हो। उहाँको घरआगँनमा नन्दी वृषभ र दुर्गावाहन सिंह साथसाथ बस्छन्, पारिवारिक सदस्य मयूर र सर्प वैरलाई बिर्सेर खेल्छन्। न्याय र आदर्शको कत्रो आदर्श चित्र छ यो, जसलाई भगवान् शङ्करले विविध विषमताहरूले त्रस्त एवं विकल विश्वको सामु उदाहरण प्रस्तुत गरिदिनुभएको छ। विभिन्न विचारधारा, वाद, मतबीच प्रतिदिन चल्ने लडाइँ-झगडाले त्रस्त संसारको लागि सहअस्तित्व को यो जस्तो उदाहरण के हुन सक्छ? महाशिवरात्रिको अवसरमा लिनु पर्ने, आत्मानुभव गर्ने  नै यस्तै आदर्श र जीवनदायिनी विषयहरू हुन्।     
महाशिवरात्रिको दिन पशुपतिनाथको मन्दिरमा षोडशोपचारसहित भव्यरूपले पूजाअर्चना हुन्छ। साथै रात्रिको प्रथम प्रहरमा दूधद्वारा ईशान मुहारको, द्वितीय प्रहरमा दहीद्वारा अघोर मूर्तिको, तेस्रो प्रहरमा घ्यूद्वारा वामदेव मुहारको तथा चौथो प्रहरमा सद्योजात मुहारको स्नान गरिने प्रचलन छ।यस दिन पशुपतिनाथको दर्शन गर्न स्वदेश तथा विदेशबाट भक्तजनहरूको बिहान सबेरैदेखि भीड लाग्दछ। वैरागी, उदासी, सन्न्यासी, नागा आदि विभिन्न सम्प्रदायका साधु-सन्त, योगी, भेषधारी जोगीहरू पनि महाशिवरात्रिका लागि टाढा-टाढाबाट आइपुग्छन्। महाशिवरात्रिलाई भोग र मोक्ष दिने पुण्यदायक पर्वको रूपमा लिइएको पाइन्छ। शिवपुराणमा भगवान् विष्णुले एक पटक भगवान् शिवलाई कुन व्रतबाट उहाँ भक्तजनहरूलाई भोग र मोक्ष एकसाथ प्रदान गर्नु हुन्छ भनी सोध्दा भगवान् शिवले दश वटा व्रतहरूको नाम लिनुभएकोमा शिवरात्रिलाई अत्यधिक महत्त्व दिँदै भोग र मोक्ष चाहानेले शिवरात्रिको व्रत बस्नु योग्य छ भनी बताएको प्रसङ्गको चर्चा पाइन्छ। त्यहाँ गुरुद्रुह नाम गरेको एक जना ब्याधाले अञ्जानमै भगवान् शिवको पूजा-अर्चना गर्दा उसको जीवनमा आएको परिवर्तनको कुरालाई पनि उल्लेख गरिएको पाइन्छ। अञ्जानमा पूजा गर्दा त दिव्य ज्ञान पाउन सकिन्छ भने जानेर, बुझेर उहाँको पूजा-अर्चना गरियो भने के पाइदैन ? भन्ने कुराको सङ्केत त्यहाँ दिन खोजिएको पाइन्छ।
वि.सं. २००७ साल अघिसम्म नेपाल भारतीयसमेतको लागि जुन पायो त्यही बेला प्रवेश गर्न नपाउने राष्ट्रको रूपमा थियो। शिवरात्रिकै अवसरमा मात्र  सात दिनको लागि उनीहरूलाई प्रवेश सुविधा थियो। आठौँ दिनमा सीमा कटिसक्नु पर्थ्यो। यस कारणले पनि होला महाशिवरात्रिको अवसर पारेर साधु, सन्त तथा राजा, रजौटा, विद्वान्, नटुवा, जोगी, चटके तथा सर्वसाधारणहरू पनि ठूलो सङ्ख्यामा आउँथे। त्यस अवधिमा वेदान्तको चर्चा चल्थ्यो। ठाउँ-ठाउँमा भजन-कीर्तनको आयोजना हुन्थ्यो। महाशिवरात्रि पर्व भनेको राष्ट्रिय प्रतिष्ठासँग जोडिएको पर्व मानिन्थ्यो। श्रध्दालु भक्तजन, दर्शनार्थीहरूको सुविधाका  लागि ठाउँ-ठाउँमा आवास-भोजन, सदावर्तको विशेष व्यवस्था गरिएको हुन्थ्यो।त्यसवेला महाशिवरात्रिको दुइ-तीन दिन अगाडिदेखि नै वीरगञ्ज, अमलेखगञ्ज, भीमफेदी, मार्खु आदि गाउँहरूमा आवासको निमित्त पाल, भरिया र डोलेहरूको व्यवस्था हुन्थ्यो। साथै उनीहरूको निमित्त आवश्यक पर्ने औषधि एवं कम्पनी/भारु सटहीको व्यवस्था पनि हुन्थ्यो। डोले, भरियाहरूले सरकारले तोकेभन्दा बढी  भाडा लिन पाउँदैनथिए। यात्रुहरू नठगियूँन भनी ठाउँ-ठाउँमा त्यसको रेखदेख गर्ने व्यवस्था थियो। साधु-सन्त, महात्मा एवं सर्वसाधारणले कुनै किसिमको दु:ख नपाऊन् भनी सतर्कता अपनाइएको हुन्थ्यो। विभिन्न गूठीहरू- राजगूठी, छुटगूठी, नीजि गूठीहरूको तर्फबाट पनि स्वागत-सत्कारका लागि तथा आवास-भोजनका लागि व्यवस्था मिलाइएको हुन्थ्यो। समग्रमा भन्दा राष्ट्रको पूरै दृष्टि महाशिवरात्रि पर्वलाई कसरी भव्य रूपमा सम्पन्न गर्ने भन्ने हुन्थ्यो। प्रजातन्त्रपछि भारतीयहरूलाई नेपाल आउन महाशिवरात्रि कुरेर बस्नु पर्ने अवस्था रहेन। वि.सं. २०११ मा त्रिभुवन राजपथको निर्माणले यातायातमा केही सुगमता थप्यो।त्यसपछि हवाइ यातायातलगायत अरू बाटो-घाटोहरूको निर्माणले गर्दा महाशिवरात्रिमा हुने भीड केही होलो हुँदै गयो।सरसुविधाका लागि पहिले गरिने व्यसस्था पनि खुकुलो हुँदै गयो।यसो हो तापनि अहिलेसम्म भगवान् श्रीपशुपतिनाथको मन्दिरमा सबैभन्दा भीड वा घुँइचो लाग्ने पर्वहरूमा महाशिवरात्रि नै पर्दछ।यस वेला विभिन्न सामाजिक, धार्मिक सङ्घ-संस्थाहरू सेवाकार्य एवं स्वयंसेवामा जुटेका हुन्छन्।पशुपतिक्षेत्र विकास कोषको स्थापना वि.सं. २०४४मा भएपछि पशुपतिक्षेत्रको संरक्षण, सम्वर्ध्दन एवं प्रवर्ध्दनको जिम्मेवारी कोषमा आएकोले महाशिवरात्रिलगायत यहाँ मनाइने यात्रा-पर्वहरूको व्यवस्थापन गर्ने जिम्मेवारी पाएता पनि जे-जस्ता सुविधा विकास गर्दै जानु पर्ने हो त्यो हुन नसक्नु दु:खद् छ।श्रध्दालु दर्शनार्थी, तीर्थयात्रीहरूको सुविधाको लागि चाहिने आवास, पिउने पानी, दर्शनको उचित व्यवस्था एवं व्यवस्थित शौचालयहरूको सम्म पनि उचित र स्थायी ढङ्गले कोष स्थापना भएको करिब साढे दुई दशक बितिसक्दा पनि गुरुयोजनाअनुसार व्यवस्था हुन सकेका छैनन्। धार्मिक पर्यटनलाई बढावा दिँदै स्थानीय, क्षेत्रिय, राष्ट्रिय एवं अन्ताराष्ट्रिय महत्त्वका धार्मिक, साँस्कृतिक, पुरातात्त्विक सम्पदाहरूलाई प्रवर्ध्दन गर्दै तीर्थयात्री एवं पर्यटकहरूलाई आकर्षित तुल्याउन सके नेपालले पर्यटनको क्षेत्रबाट लाभान्वित बन्न सक्ने प्रचूर सम्भावना छ। मात्र आवश्यक छ स्पष्ट नीति, नियम र राज्यको दृढइच्छाशक्तिको।   
भारतीयहरूमा आफ्नो देशमा रहेका विभिन्न तीर्थस्थलहरूको तीर्थाटनपश्चात् पूर्णाहुतिको लागि नेपालस्थित भगवान् श्रीपशुपतिनाथको दर्शन-पूजन गर्ने तथा त्यस अवसरमा विभिन्न तीर्थस्थलहरूबाट ल्याइएका जल लोटा, घैलामा ल्याई चढाउने चलन छ।त्यसरी नल्याउनेहरूले पनि यहीँको जल चढाउने प्रचलन उनीहरूमा छ। पहिले-पहिले बाग्मतीको जललाई नै प्रयोग गर्थै भने प्रदूषित बनेपछि त्यस प्रचलनमा पनि केही कमी आएको देखिन्छ। नेपाली भक्तजनहरूले चाहीँ दर्शनलाई प्रधानता दिएको पाइन्छ। शिवरात्रिको दिन साँझपख शिवधुनी भनी दोबाटो-चौबाटोमा दाउरा बाल्ने प्रथा छ। भगवान् शिव धुनीप्रिय हुनुहुन्छ भन्ने पौराणिक मान्यताको कारण तथा शिशिरऋतुको ठण्डी अझै नगइसकेको हुनाले गर्मी ठाउँबाट आउने परदेशी यात्रुहरूलाई जाडो नहोस् भन्ने समेत मनोकाङ्क्षा त्यसमा देखिन्छ।
महाशिवरात्रिको दिन पशुपतिक्षेत्रमा केही वर्ष अघिसम्म पनि शिवबुटी भनी गाँजा-भाङको बिगबिगी हुने मात्र नभई सम्बन्धित निकायले बाड्ने चलन थियो। यो गलत परम्परा केही वर्षदेखि हट्दै गएको सुखद् छ। भगवान् शिवसँग जोडेर गाँजा-भाङजस्तो दुर्व्यसन एवं विकृतिलाई प्रश्रय दिन खोज्नु कुनै हालतमा पनि ठीक हो भन्न सकिन्न। कहाँ परात्पर परब्रह्म ईश्वरतत्त्व! कहाँ दुर्व्यसन! महाशिवरात्रिको दिन राजमार्गका ठाउँ-ठाउँमा बस, कार, मोटरसाइकललाई रोकेर जगात माग्ने तथा साँझपख त्यो कमाइले मोजमस्ती गर्ने गलत प्रवृत्तिले प्रश्रय जुन पाइरहेको छ त्यसलाई निरुत्साहित गर्नु जरुरी छ। यस्तो प्रवृत्तिले बढ्ने मौका पायो भने मगन्ते संस्कार हुर्कन-बढ्न थाल्छ जुन कुनै पनि दृष्टिकोणले उपयुक्त मान्न सकिन्न। महाशिवरात्रि पर्वभित्र रहेका जागरणका अनेकौँ उज्याला पक्षहरूलाई आत्मसात् गरी बाहिरी बोक्रा र खोष्टालाई छोड्दै जान सके यसले सबैलाई आत्मिक उन्नतिको प्रकाशमय पथमा पु-याउने छ र त्यसले व्यक्ति-व्यक्तिको जागरणलाई खुराक दिनेछ त्यसमा शङ्कै छैन।
                                      ***************