Sunday, April 22, 2012

सत्यलाई चिन्न नसक्दा


                              
                                                  
               सत्यको कुरा गर्दा कहिले-काहीँ कसैलाई लाग्दो हो कि यो अति सजिलो छ। शिक्षा दियो, दीक्षा दियो,ज्ञान दियो, तालिम दियो भइहाल्छ नि भनेको जस्तो लाग्दो हो। तर यो कार्य किमार्थ सजिलो छैन। त्यसमा पनि कुनै निश्चित राजनीतिक वाद, सम्प्रदाय, समूह, वर्ग र धर्मको नाउँ जोडियो भने त सेतोलाई पनि कालो, कालोलाई पनि सेतो भन्नु पर्ने अवस्थाले मानिसले बुध्दि-विवेकलाई नै बन्धकीमा पारेका एक होइन हजारौँ दृष्टान्त र उदाहरणहरू हाम्रै वरपर घटित छन्।अर्काको अहित चिताएर आफ्नो फलिफाप हुँदै हुँदैन यो ध्रुवसत्य कुरा हो।जसले अरूको हित हुने काम गरिरहेको हुन्छ उसको पनि स्वत: कल्याण भइरहेको हुन्छ। तर समाजमा हेरौँ त चाहे सामाजिक क्षेत्रमा हुन्, चाहे राजनीतिक क्षेत्र हुन्, चाहे धार्मिक-साँस्कृतिक क्षेत्रमा हुन् जताततै नीजि स्वार्थ, समूहको स्वार्थ, वर्गको स्वार्थ, दलको स्वार्थ तथा आ-आफ्नो प्रकारका स्वार्थले गर्दा सबैको हित होस्, सबैले सुख पाऊन् भन्ने विशाल,उदार र विस्तीर्ण चिन्तन र विचारमा ओझेल लाग्दै गएको भान हुन्छ।त्यत्तिमात्रै हो र? स्वार्थ-स्वार्थबीच प्रतिस्पर्ध्दा चलिरहेको छ कसले कसलाई मात खुवाउने भनेर। यसलाई विडम्बना नभनेर के भन्ने? निर्माण गरेर देखाउन, विकास गरेर देखाउन, भत्के-बिग्रेकोलाई सुधार्न, बिग्रेको सम्बन्धलाई मिलाउन कुनै निश्चित कारगर योजनासाथ प्रतिस्पर्ध्दा भए एकदमै राम्रो हुन्थ्यो तर त्यसको विपरीतमा कार्यहरू हुन्छन् पो डरलाग्दो स्थिति, भयावह वातावरण बन्न सघाउ पु-याइरहेको हुन्छ।यो कुनै एक देश वा कुनै निश्चित समूह र वर्गमा मात्र सीमित छ भन्ने होइन विश्वव्यापी आतङ्कको रूप ग्रहण गर्ला भन्नेमा पो सतर्क हुनु पर्ने बेला आएकोप्रति सबै चनाखो हुनुपर्ने बेला आएको छ।
बिगार्न जति सजिलो छ बनाउन हजारौँ होइन लाखौँ गुणा गाह्रो छ भन्ने साधारण कुरालाई नबुझेर भएको सबै ध्वस्त पारेर, शून्यको स्थितिमा ल्याएर वर्ग सङ्घर्षको माध्यमबाट विकासको लहर ल्याउँछौँ भनेर सर्वहाराको कुरा गर्ने मार्क्सवाद,  लेलिनवाद र माओवादको नारा कुनै वेला सर्वसाधारणलाई तत्काल आकर्षित गर्न काम लागे पनि आजको विश्वमा त्यस्तो विचारधारा व्यावहारिक धरातलमा मूल्यविहीन भइसकेको छ।व्यवहारमा नपरुञ्जेलमात्र हो यथार्थ धरातलमा उत्रेर जब त्यस्तो विचार राख्ने नेता वा अभियन्ताहरूलाई नै राज्यको जिम्मेवारी सुम्पे पनि कुनै चमत्कार हुन सक्तैन भन्ने कुराको उदाहरण खोज्न कहीँ टाढा जानु पर्दैन। यस्तो विचारधारा भएको विकासलाई, उभिएको संरचनालाई विगार्न र ध्वस्त पार्न खुबै काम लाग्छ तर जब बनाउनु पर्ने, निर्माण गरेर देखाउनु पर्ने अवस्था आउँछ अनि त्यतिखेर घाम जत्तिकै टड्कारो हुन्छ कि त्यो विचारधारा त सतही र काम नलाग्ने रहेछ भन्ने कुराको।सत्ता, पद र प्रतिष्ठाको लहडबाजी पो रहेछ भन्ने थाहा पाउँदा साथ दिनेहरू त्यतिबेला कति लज्जित बन्न पुग्छन् होला! आश्चर्य कहाँनिर हुन्छ भने त्यसैको परिचयमा बाँचेकोले अरूले जत्तिसुकै खराब भने पनि सत्यलाई स्वीकार्न सक्तैनन् र असत्यलाई सत्य हो भनेरै जीवन खियाउँछन् र बनाउन खोजेको भनेर बिगारेका यावत् फेहरिस्तमाथि गौरव गर्छन्। यो आजको नियति बनेको छ कैयन् मुलुकहरूका लागि।
कहिँ पूँजिवादको नाउमा, कहीँ समाजवादको नाउँमा, कहीँ साम्यवादको नाउँमा समाज टुक्रिएको छ, विचार खण्डित छ।राष्ट्रका सर्वस्वस्वरूपका सामान्य नागरिकहरू अनेक युध्द, द्वन्द्व र अशान्तिमा जकडेर बसेका छन्।हरेक पल सशङ्कित छन्, घरबाहिर गएको व्यक्ति फर्केर आउने हो, नआउने हो को पीडादायक अवस्थामा जीवन गुज्रिनु पर्दा तथा आफ्नै देश पराइ देशतुल्य भएको अवस्थालाई जन्माउँदा पनि त्यसका वास्तुकारहरू मानौँ कुनै वीरतापूर्ण कार्य गरेको झैँ सम्झन्छन्।  त्यस्तै कृत्यलाई कतिपय व्यावसायिक सञ्चार माध्यमहरूले बढाइ-चढाइ वा डर-धाक-धम्कीको कारण साथ दिँदा परिस्थिति कसरी उत्ताउलिन्छ र त्यसले असत्यको बाटोमा हिँड्नेहरूको जमातलाई कसरी प्रोत्साहित तुल्याउँछ भन्ने कुराको छनकको पूर्वानुमान गर्न नसक्दा समाज अनेक रूपले कुण्ठित बनेको, जनताहरूको जीवन बर्बाद भएको, राष्ट्रको अस्मिता डामाडोल बनेको मूल्याङ्कन र विश्लेषणसमेत हुन नसक्ने परिस्थिति बन्न सक्छ भन्ने अनेक उदाहरणहरू यत्रतत्र छन्।
सत्य सिधा हुन्छ तापनि यसलाई स्वीकार्न कति गाह्रो हुन्छ भन्ने कुरा जो कोहीले भोगी नै रहेको हुनुपर्छ।एक टुक्रा पाउरोटीको लागि छटपटिएका जनता, समयमा औषधि उपचार नपाइ असमयमै मृत्यलाई वरण गर्न पुगेकाहरूको दर्दनाक दिनचर्या, वर्गसङ्घर्षको नाउँमा नयाँ-नयाँ उत्पीडनले ग्रस्त कतिपय देशहरू विगतमा र अहिले पनि दशौँ वर्ष लगाएर लाखौँ-अरवौ डलर खर्च गरेर गर्ने गरेका परमाणु परिक्षणले सर्वहारा वर्गको प्रतिनिधित्व गर्छ? कतै गर्दैन। यसले त उल्टै जनतालाई भोकभोकै मारेर भए पनि विश्वको शक्तिशाली राष्ट्र बन्ने र आफ्नो विचारका अनुयायी राष्ट्रहरूलाई हातहतियार बेचेर संसारलाई त्रस्त तुल्याउने अभिप्राय रहेको स्पष्ट देखिन्छ। बख्तरबन्द एवं खतरनाक हातहतियार आफूसँग हुन सक्यो भने शान्तिलाई बहाल गर्न सकिन्छ भन्ने साम्राज्यवादी नीति कुनै वेला हतियारको राजनीति गर्न उपयुक्त मानिए पनि अब त्यही हतियार विश्वको विनासको लागि लालायित बनेर रहेको छ। तकियामुनि हातहतियार राखेर कसैको लागि अपवादको रूपमा निन्द्रा आउला तर अधिकांशको लागि यो निन्द्राहराम गर्ने माध्यम हो भनेर बुझ्ने दिन कहिले आउने होला? अशान्ति मच्चाउँदैमा शान्ति आउने होइन, शान्तिबाटै शान्ति आउँछ।यसैको लागि नै प्रयास गर्नु सबैको लागि हितकारी हुन्छ।
विश्वलाई सदैव कि धर्मले, कि राजनीतिले नै डो-याएको देखिन्छ।कुनै जमाना थियो धर्मकै एकाधिकार रहेको अवस्था थियो। धर्मको नाउँ लिएपछि गर्न हुने, गर्न नहुने यावत् कार्य गर्न छुट थियो।अपवादस्वरूप कहीँ-कतै यस्तो नहुनु आर्कै कुरा हो। हिरोशिमा, नागासाकीमा परमाणु बमको विध्वंस मच्चाएर लाखौँ मानिसहरूको ज्यान जाने कार्य हुँदा पनि धर्मको बचाउको लागि आवश्यक थियो भन्नेजस्ता कुराहरू त्यतिखेर नआएका होइनन्।अहिले राजनीति हावी छ।देशरक्षा र राष्ट्रवादको नाउँमा अनेक वितण्डा र अमानवीय कार्यहरूले प्रोत्साहन पाइरहेका छन्। धर्म अपौचारिकतामा सीमित हुँदै जादै छ। धर्मको दुहाइ दिएर अनेक अमानवीय एवं विकृतिलाई जीवनचर्या बनाउने अवस्थाको सूत्रपात तीव्र गतिमा बढ्दैगइरहेको तर्फ थोरैको ध्यान जान सकेको छ। धर्म पलायनवादको नमुना भनेर मार्क्स, नित्से आदिले भन्नु  र अहिले करिव-करिव अधिकांशत: त्यस्तै रूपमा देखिनु कुनै संयोग मात्र हो भन्न मिल्दैन। अनेक शिक्षा र विद्याले लेस भएको अहिलेको समयमा त यस्तो कहालिलाग्दो अवस्था छ भने उनीहरूको जमानामा कस्तो रूप थियो होला! त्यसैले मार्क्सले धर्मलाई अफिमसम्म भन्न पुगे। यसमा दु:ख मनाउ गर्नु कुनै कारण छैन। धर्मको नाममा विभेद, छूवाछुत, सानो-ठूलो, उच-नीजजस्ता जातिगत भेद राख्छौँ, मानिस-मानिसबीच ठूल्ठूला पर्खाल उभ्याउँछौँ भने त्यसले मानवताको विकासको लागि कहिल्यै पनि हित गर्न सक्तैन बरु त्यसले त मानिस-मानिसबीच फूट, कलह र रक्तपातलाई जन्म गराउँछ जुन इतिहासका पानाहरूहरूमा प्रशस्त भरिएका छन्। इतिहासबाट पाठ सिक्न जानेनौँ भने इतिहासलाई  नपढे पनि हुन्छ।
धर्मको नाम लिएर केवल बाहिरी रूप र आवरणलाई सजाएर अन्तरहृदयलाई बुध्दि र विवेकसम्मत तुल्याउन सकेनौँ; दया, करुणा, अहिंसा, प्रेम, सद्‌भाव, आत्मीयता सम्पूर्ण प्राणी जगत्‌प्रति देखाउन सकेनौँ भने धर्म भनेको मात्र एक किसिमको व्यसन हो, आ-आफ्ना स्वार्थसिध्दि गर्ने चतुर उपायमात्र हो भनी दिए फरक पर्दैन।धर्मकार्य मानिसले बाहेक अरू पशुप्राणीले गर्न सक्तैन। उनीहरू त स्वाभाविक प्रवृत्ति जे छ त्यही गर्ने हुन्। धर्म भनेको मानिसले धारण गर्नु पर्ने असल गुणहरू हुन्।सद्‌गुणहरूलाई अवलम्बन गरेर जीवनयापन गरिएको छ वा त्यसैलाई जीवनशैली बनाइएको छ भने धर्ममय जीवन बन्यो होइन धर्मको नाउँमा अनेक विकृति, विसङ्गति; परम्परा, संस्कारका नाउँमा अनेक कुडाकङ्कटस्वरूपका जञ्जालहरूमा अलमलिन थाल्यौँ र अझ मानवताको पक्षलाई बिर्स्यौँ भने त धर्म भन्दाभन्दा अधर्मलाई पो बढाइरहेका हुनेछौँ जानी नजानी! अनि धर्मभिरु जमात तयार हुन्छ। अनेक अन्धविश्वास, रुढिबुढी, भूत-प्रेत, बोक्सी, धामीझाक्रीको चक्रव्यूहमा मानिस फस्न पुग्छ / पुगिरहेको छ।
आफूले आफैलाई चिनेर अर्थात् अनुशासनमा राखेर, अरूको हितले नै मेरो हित र कल्याण हुन सक्छ भनेर निर्माण गर्न सकिने सौन्दर्यपूर्ण, शान्तिपूर्ण र आनन्दमय स्वाभाविक स्वरूपको जीवनलाई कुरूप, कुण्ठित,बेकम्माको तुल्याउन मानिस कसरी व्यामोहित भइरहेको छ। समाजमा देखिदैगएका र बढाइदैगएका व्यसन, दुर्व्यसन, दुराचार, कुण्ठा, विकृति, विसङ्गतिले भित्र्याउँदै गएका अनेक झन्जावातहरूलाई सम्झदा साँचो र जीवन्त जीवनको लागि तथा बोधपूर्वकको जीवनयापनको लागि चाहिने चेतनाको तत्त्व हराउँदै, मानवतालाई कुल्चदै, सत्यको बाटोलाई बिर्सदै विस्मृतिको गर्तमा जान लागेको अनुभूति हुँदैन? सम्झदा पनि डर लाग्ने अवस्था जताततै देखिँदैछ।त्यसबाट उन्मुक्ति पाउन सत्यको मार्गको अवलम्बन गर्दै वसुधैव कुटुम्वकम् अर्थात् विश्वब्रह्माण्डका सबै एउटै ईश्वर, एउटै सत्य, एउटै परमसत्ताका अंश हौँ  भन्ने भावनाका साथ मनमा पवित्रता, कर्ममा निस्वार्थता र सोचाइमा उदारता लिएर व्यावाहारिक रूपमा जीवनमा लागि परे सुख, शान्ति र आनन्द साथ-साथै छ।यसपछि नै सुख, शान्ति र आनन्दको अनन्त धारा नि:सृत  हुन थाल्छ। सत्यलाई चिनिसकेपछि सुख, शान्ति र आनन्दको लागि कतै भड्किनु पर्दैन ती सबै यही छ, नजिक छ, साथैमा छ।
                                      ****************


Friday, April 6, 2012

प्राणायाम “जीवन ऊर्जा”


                                 
                                                    
                      प्राणायाम शव्दबाट अब कोही अनभिज्ञ होलान् जस्तो लाग्दैन।यो योगलगायत धर्म-अध्यात्मको क्षेत्रमा बराबर आइरहने शव्द हो। यो संस्कृतबाट निसृत शब्द हो। प्राण र ‌आयाम शव्दको संयोजनबाट प्राणायाम शव्द बन्दछ, जसले प्राणलाई व्यवस्थित, अवरोधविहीन,सजिलो तुल्याउँछ त्यही नै प्राणायाम हो भन्ने बुझिन्छ। अर्को शव्दमा भन्ने हो भने प्राणायामले जीवनलाई चाहिने ऊर्जा प्रदान गर्छ। यसैले यो जीवनऊर्जा हो, जीवनशक्ति हो  भनिदिए पनि फरक पर्दैन। प्राणविना कुनै पनि प्राणी एकछिन पनि बाँच्न सक्तैन। यसैले संस्कृत वाङ्मयमा  प्राणलाई नै ब्रह्म अर्थात् जीवनतत्त्व बताइएको पनि छ। हुन पनि प्राण भएन भने प्राणीको जीवनलीला समाप्त हुन्छ। जसरी आकाश सर्वत्र व्याप्त छ त्यसैगरी प्राण शरीरको हरेक अङ्ग-अङ्गमा व्याप्त छ। मन्त्रद्रष्टा ऋषि, महर्षि, योगीहरूले प्राणको बारेमा उहिल्यै यति विशद् अध्ययन गरिसकेका छन् कि प्राण कति किसिमका छन् तिनले के-के काम गर्छन् भनी सूक्ष्मरूपले विश्लेषण गरी थाहा दिइसकेका  छन्। जुन कुरा आजको वैज्ञानिकहरूको लागि समेत आश्चर्य गराउने किसिमका छन्। उनीहरूले गरेको अध्ययनले गर्दा आज हामीहरूले त्यसबाट जीवनलाई ऊर्जावान् तुल्याउने शक्ति प्राप्त गर्न सकेका छौँ।
प्राणायामको पध्दति कुनै धर्म-संस्कृतिको पेवा होइन यो त मानवमात्रका लागि उपयोगी जीवनशक्ति हो। यस्तो जीवनशक्तिलाई अमुक धर्म-संस्कृतिको भनी कसैले पन्छाउँछ भने उसले प्राणायामको महत्त्वलाई बुझेन भनी सम्झनुपर्छ र प्राणायामबाट प्राप्त हुने जीवनशक्तिबाट वञ्चित भयो भन्ने सम्झिए हुन्छ। सूर्य सबैका लागि आवश्यक पर्ने प्रकाश दिन उदाएको हुन्छ तर कोही झ्याल-ढोका थुनेर सूर्यलाई गालिगलौज गरी बस्छ भने दोष सूर्यको होइन व्यक्तिको हुन्छ। यसैगरी प्राणायामको उपादेयता मानवजीवनमा अत्यधिक छ तर त्यसबाट लाभ लिन सक्तैनौँ भने दोष हाम्रै हो, हाम्रै सीमित चिन्तनको हो, हाम्रै दोषयुक्त धारणाको हो भनी ठान्नुपर्छ।
जाग्रत, स्वप्न, सुषुप्ती तीनै कालमा प्राण आफ्नो कार्य गरिरहेको हुन्छ। केही इन्द्रियहरूले आ-आफ्नो प्रकृतिअनुसार विश्राम लिन्छन् तर प्राणले विश्राम लिनु भनेको त जीवको अस्तित्व समाप्त हुनु हो भन्ने हुन्छ। यसैले प्राणले अनवरत रूपमा आफ्नो कार्य गरिरहेको हुन्छ चाहे हामीले प्राणायाम गरौँ वा नगरौँ। प्राण हाम्रो जीवनको जीवनाधार भन्ने बुझिसकेपछि पनि यसको नियमन, व्यवस्थापन तथा शुध्दी के-कसरी गर्न सकिन्छ भनी त्यसतर्फ दृष्टी पु-याएनौँ भने ठूलो गल्ती र भूल हुनेछ यसमा कुनै शङ्का छैन।
पञ्चतत्त्वद्वारा बनेको मानव शरीरमा पृथ्वी, जल, तेज, वायु र अकाशको आ-आफ्नै स्थान छ। वायुको गडबडीले शरीरमा विभिन्न किसिमका रोग एवं कमीकमजोरीहरू आउँछन्। प्राणवायुले प्राणीलाई जीवन्त तुल्याइराखेको हुन्छ। यसो त पञ्चतत्त्वहरूमध्ये अरू बाँकी तत्त्वहरूको पनि त्यत्तिकै महत्त्व छ। हाम्रो शरीरमा (१) प्राण (२) अपान (३) समान  (४) व्यान र (५) उदान गरी पाँच प्रकारका वायुहरू छन् भनी उहिल्यै हाम्रा पूर्वजहरूले पत्ता लगाइसकेका हुन्। मानिसको आयु स्वास-प्रस्वासमा अवलम्बित छ भनी वैज्ञानिक एवं आध्यात्मिक तथ्यहरूले पुष्टि भइसकेको छ।  
आफूलाई चाहिने प्राणवायु चाहिएअनुसार लिन सकिएन भने शरीरका अन्य अङ्गहरू प्रदूषित र कमजोर बन्न पुग्छन्। शरीरमा प्राणवायुको कमी हुनुको अर्थ हुन्छ विषाक्त वायुको प्रभाव शरीरमा बढ्दै जानु। विषाक्त वायु बढ्नु भन्नु रोगहरूको सङ्क्रमणको सम्भावना बढन थाल्नु हो भन्ने कुरालाई आधुनिक चिकित्सा विज्ञानले पनि मानेको छ। आयुर्वेद शास्त्रले त उहिल्यै यस विषयमा धेरै खोज गरेर प्राणायामको महत्त्वको बारेमा निकै सामाग्रीहरू दिएको यथार्थता छ। रक्त शुध्दीको लागि शरीरमा यथेष्ट प्राणवायु हुनु जरुरी छ। साथै शरीरमा भएका कार्वनजस्ता विषाक्त वायुलाई हटाउन पनि प्राणवायुको आवश्यकता पर्दछ।यसैले नियमित रूपले प्राणलाई नियमन गर्नु मानिसको लागि आवश्यक पर्छ।
आफूलाई चाहिए जति प्राणवायु कसरी लिने यो एउटा महत्त्वपूर्ण प्रश्न हो। सामान्य रूपमा मानिसले सास लिइरहेकै हुन्छ। त्यत्तिले मात्र पनि पुग्दैन र? भन्ने जिज्ञासा उठ्न सक्छ। अवस्य हो पुग्छ तर त्यसलाई नियमन गर्ने विधि जान्यौँ भने अनेक प्रकारका रोगव्याधिबाट बच्न सक्छौँ। प्राणवायुको नियमन प्रक्रिया नै प्राणायाम हो। दैनिक गरिने प्राणायामले मानिसमा रोग प्रतिरोधात्मक शक्तिलाई बढाउँछ जसको कारण अनेकौँ किसिमका रोगहरूबाट मानिसले त्राण पाउन सक्छ।
प्राणायाम योगको एउटा मुख्य अङ्ग हो। योग भन्नासाथै मन, वचन र कर्ममा अनुशासन भन्ने बुझिन्छ। योगका विभिन्न परिभाषाहरूमध्ये आफूले आफैमाथि अनुशासन कायम गर्नुको नाम पनि योग भन्ने हुन्छ। पतञ्जलीले आफ्नो योगसूत्र नामको प्रसिध्द ग्रन्थको प्रारम्भमै  स्पष्टरूपले भनिदिएका छन कि अथ योग अनुशासनम् अर्थात् योग भन्नु नै अनुशासन हो।कस्तो अनुशासन प्रश्न उठ्न सक्छ। मन, वचन र कर्ममै अनुशासन। हिजोआज योग भनेको शारीरिक अभ्यासजस्तो मात्र बन्न पुगेको छ मानौँ यसको धर्म-अध्यात्म वा आत्मिक चिन्तन वा विकाससँग कुनै सम्बन्ध छैन। योगलाई मात्र शारीरिक अभ्यास सम्झ्यौँ भने ठूलो गल्ती हुनेछ।जीवात्मालाई परमात्मासँग सम्बन्ध स्थापित गराउन योगले माध्यमको भूमिका निर्वाह गर्न सक्छ।खान-पान, आहार-विहार र व्यवहारलाई सात्विक बनाइ जीवन, जगत्‌, र ईश्वरलाई बुझ्न सक्ने क्षमताको विकास योगलाई अवलम्बन गरेर पनि सकेनौँ भने योगलाई बुझ्न सकेका रहेनछौँ भन्ने सम्झिए हुन्छ।
योगको अन्तर्मनसँग मात्रै होइन कि आत्मासँग पनि त्यत्तिकै सम्बन्ध छ।  योगको अनुशीलनबाट जीवनलाई सर्वोत्कृष्ट बनाउन सकिन्छ। योगका अति प्रसिध्द आठ अङ्गहरू छन् – यम, नियम, आसन, आहार, निदिध्याशन, प्राणायाम र समाधि। योगका सम्पूर्ण अङ्गहरूको पालनबाट मनुष्य जीवनलाई सफल, असल र सर्वोत्कृष्ट तुल्याउन सकिन्छ। विभिन्न अङ्गहरूमध्ये कुनै एक वा त्यसभन्दा बढी अङ्गको परिपालनभन्दा पनि सबै अङ्गको परिपालन हुन सक्यो भने बल्ल योगबाट मानिसहरूले लाभ प्राप्त गर्न सक्छन्। जीवनमा पूर्णता प्राप्त गर्न सकिन्छ। अन्यथा शारीरिक अभ्यास, जसबाट शरीरलाई स्वस्थ र स्फूर्त तुल्याउन मद्दत गर्ने रूपमा मात्र हे-यौँ भने योगबाट पाइन सकिने अनेकौँ लाभहरूबाट बञ्चित हुन पुग्छौँ।
प्राणायामलाई सनातन हिन्दुधर्मावलम्बीहरूले प्रत्येक दिनको सन्ध्योपासनामा अवलम्बन गर्नु पर्ने साधनको रूपमा नअपनाएका होइनन्। पछि गएर त्यो केवल औपचारिकतामा मात्र सीमित हुन पुग्यो। एकातिर सन्ध्योपासनामा कमी आइरहेको तथा यसलाई औपचारिकता पूरा गर्ने दृष्टिले मात्र प्राणायाम गरिँदा यसबाट पाउनु पर्ने लाभबाट मानिसहरू वञ्चित छन्। प्राणायाममा पूरक, रेचक र कुम्भकको काम आउँछ। प्राणायाममा  मुख्य तीन तरिका प्रसिध्द छन् – (१) पूरक-रेचक विधि- पूरक भनेको सास इडा वा पिङ्गला नासिकाद्वारबाट सास लिनु, कुम्भक भनेको सास रोक्नु तथा रेचक भनेको तानेको स्वासलाई बाहिर छोडिदिनु भन्ने हुन्छ। (२) अनुलोम-विलोम – इडा नासिकाद्वार बन्द गरी पिङ्गला नासिकाबाट लामो सास लिँदै फेरि इडा नासिकाद्वारबाट लामो स्वास फेर्नु तथा त्यसैगरी पिङ्गला नासिकाद्वार बन्द गरी इडा नासिकाद्वारबाट लामो स्वास  लिई पिङ्गला नासिकाद्वारबाट पूर्णरूपले  स्वास  फ्यालिदिनु। (३) उदगीत प्राणायाम –ओमकार ध्वनीसाथ लामो-लामो स्वास लिदै पुन: स्वास फ्याल्दै करिब २५ पटक जति दोहो-याउने विधिलाई भनिन्छ। प्राणायाममा कुम्भक गर्दा धेरै समयसम्म गर्नु हुन्न। किनभने कुम्भक धेरैबेर गरियो भने मानिसका शरीरमा रहेका कतिपय संवेदनशील तन्तुहरूलाई बाधा पुग्छ। भनौँ तिनीहरूको मृत्यु हुन्छ। सेलहरू असयमै मर्नु वा नास हुनु भनेको बुढ्य्यौली चाँडो आउनु वा रोगहरूबाट चाँडो आक्रान्त बन्नु हो। प्राणायाम हेर्दा सामान्यजस्तो लागे पनि सही ढङ्गले गर्नका लागि सुरु-सुरुमा असल गुरुबाट सिक्नुपर्छ। असल गुरु भन्नासाथै सात्विक गुरु जसमा गुरुत्व छ साथै आधिकारिकता छ त्यस्तो व्यक्ति भन्ने बुझ्नुपर्छ। हिजोआज योगगुरुहरू बजारमा धेरै पाइन्छन्। चाहे युरोप जाऔँ, चाहे अमेरिका, जापान, भारत, चीन, नेपालमै किन नहोस् गुरुहरूको कमी छैन।अनेक स्टूडियो र आश्रम चलाएर धन्दा गरिरहेका व्यावसायिक नामधारी गुरुहरू नपाइने होइन। साच्चैको गुरु बन्नलायक व्यक्तिहरू भने पाउन दुर्लभ छ। पेटको लागि, पैसाको लागि वा व्यवसाय चलाएर बसेका गुरुरूपी प्रशिक्षकहरूबाट योग वा प्राणायामको गूढ रहस्य फेला पार्न कठिन छ। आफ्नो जीवनमा कुनै किसिमको अनुशासन नभएका, आदर्श र लक्ष्य नभएका, जे पायो त्यही खाने, जे पायो त्यही गर्ने, जहाँ पायो त्यही जाने नामधारी गुरुहरूबाट चाहिँ बच्नु नै कल्याणकारी हुन्छ। स्वास्थ्यको साथै आत्मिक विकासमा प्राणायामको अधिक महत्त्व रहेको कुरालाई बिर्सनु हुन्न।साँच्चै भन्ने हो भने मानिसको लागि प्राणायाम जीवन ऊर्जा नै हो भने केही फरक पर्दैन।यसलाई जति नियमित रूपले अवलम्बन गर्छौँ त्यति फाइदा अरूलाई होइन आफैलाई हुने हो।
                              *****-------*****