Sunday, June 19, 2011

आनन्दको प्राप्ति कसरी हुन्छ


                             

         आनन्द नचाहने को होला? संसारमा भएका सारा मानिस जे-जति कर्म गर्छन् त्यसको लक्ष्य भनेकै सुख, सन्तोष र आनन्द प्राप्तिको लागि हो। उसले जे गरोस्, जसो गरोस् त्यसको लक्ष्य भन्नु नै आनन्द पाउनु रहेको हुन्छ।लेखाइ-पढाइ, जागीर, कृषि, व्यापार, उद्योग-धन्दा, पण्डित्याइ, पुरोहित्याइ, कन्सल्टेन्सी आदि जे-जति कर्महरूमा मानिस प्रवृत्त हुन्छ अन्ततोगत्वा त्यसको अभीष्ट हुन्छ आनन्द पाउनु।डाक्टर-इन्जिनियर, प्रशासक, मन्त्री, सांसद जति छन् उनीहरूलाई सोध्यो भने उनीहरूको अन्तिम चाहना भनेकै तत्-तत् कार्यको माध्यमबाट आनन्द पाउनु रहेको बताउँछन्। मानिसले विवाह गर्छ आनन्द पाउनकै लागि, छोराछोरीको चाहना हुन्छ आनन्दकै लागि, धन-सम्पत्ति कमाउनको पछाडि दगुर्छ त्यो आनन्दप्राप्तिकै लागि। प्रेमी-प्रेयशीको चाहना हुन्छ उनीहरूको मायाप्रीति सफल भयो भने आनन्द प्राप्ति हुन्छ भन्ने नै रहेको हुन्छ।त्यत्ति मात्र कहाँ हो र? पूजा-आजा, तीर्थ-व्रत, दान, सहयोग आदिको भित्री लक्ष्य आनन्दको परिप्राप्ति नै रहेको हुन्छ। दुव्लो व्यक्ति हृष्टपुष्ट हुन पाए पो आनन्द प्राप्ति हुन्छ कि भनी त्यसको लागि अनेक उपाय  गर्छ। मोटो मानिस दुब्लाउन पाए आनन्द हुन्थ्यो भनी अनेक हकिम,वैद्य, डाक्टरको पछि लागेको हुन्छ। हिजोआजका केटाकेटीहरू कोही डेस्कटपमा आनन्द खोज्छन् कोही ल्यापटप र आइपोडमा पो आनन्द छ कि भनी त्यसको पिछा परिरहेका हुन्छन्। कोही टेलिभिजनको विभिन्न च्यानलमा पो आनन्द फेला पर्छ कि भनी कहाँ बढीभन्दा बढी च्यानलको सुविधा पाइन्छ भनी त्यसको सूचनाको खोजीमा मस्त हुन्छन्।टेलिभिजन हेर्दा एकपछि अर्को च्यानलको खोजीमा रिमोट थिचिइरहेको हुन्छ।तिनमा आनन्दको प्राप्ति हुनु असम्भवप्राय: छ तैपनि यो क्रम रोकिएको छैन।रोकिदैन पनि किनकि मानिसको वरपरको वातावरण, माग, चाहना नै त्यस्तै किसिमले बढाउँदै- बढाउँदै लगिएको छ कि भौतिकताभित्रै सबै छ कि जस्तो भान परेको छ।
कोही मिष्ठान्नमा आनन्द भेट्टाइन्छ कि भनी स्वादको पछाडि लग्गु बनेका हुन्छन् भने कोही नाना थरी भोगवासनामा पो त्यसलाई पाइने हो कि भनी स्पर्शको पछाडि, दृश्यको पछाडि, आकर्षणको पछाडि दौडिरहेका भेट्टाइन्छन्। लुगा फेरेको जस्तो प्रेमी, प्रेमिका वा लोग्ने-स्वास्नी फेर्नेहरूको पनि संसारमा कुनै कमी छैन। ती सबै आनन्दकै लागि हो त्यसमा केही शङ्कै छैन। सामान्यतया मानिसमा के धारणा रहेको हुन्छ भने अभावमा, नहुनुमा दु:ख हुन्छ त्यसभन्दा भिन्न आफूसँग केही चीजको अभाव नहुने हो भने सुख, सन्तोष र आनन्दको प्राप्ति हुन्छ भन्ने मानसिकताको कारणले सबैको चाहना सङ्ग्रह गर्नुमा, जोड्नुमा, थुपार्नुमा, अभाव नहुनुमा हुने भएकोले सारा विश्वका मानिसहरूको बिहानदेखि बेलुकासम्मको क्रियाशीलता फगत तिनै वस्तुहरूको जोरजामलमा लागेको छ। मानिसले के कुरा बिर्सेको हुन्छ भने अन्य माध्यमबाट पाइने सुख, आनन्द भनेको टिकाउपूर्ण हुँदै हुँदैन बरु त्यो त अस्थायी हुन्छ। वाह्य वस्तु हुँदा आनन्द पाइने, नहुँदा दु:ख हुने पनि आनन्दको स्रोत हुन सक्छ र ? कदापि हुनै सक्तैन। तर मानिसले यही मुख्य विषयलाई नै बिर्सेको छ र पछि लाग्नु पर्ने विषयको पछि लागेको छैन, पछि लाग्नु नपर्ने विषयको चाहिँ पछि लागेर कतिले आफ्नो जीवनको उर्वर समयलाई नै नष्ट गरिरहेका छन्।
राम्री श्रीमती वा श्रीमान् हुँदा, प्रसिध्द कार कम्पनीको चिल्लो कार हुँदा, आलिसान महल हुँदा, घरमा काम गर्ने सहयोगीहरूको लावालस्कर हुँदा, बैङ्कमा प्रशस्त बैङ्कव्यालेन्स हुँदा, भुइँमा शव्द झरेको हुँदैन निप्टाइहाल्ने सेवक वा शुभेच्छुहरूको सङ्ग्रह हुँदा लाग्दो हो कि म जस्तो संसारमा सुखी मानिस को होला भनेर तर ती सबै केही क्षणका अझ भनौँ वर्षात्‌को पानीको फोकाजस्तो मात्र हुन्। भौतिकताको उत्कर्षले कसैले पनि तृप्ति पाएँ, खुसी पाएँ, आनन्द पाएँ भनी स्थायी आनन्दले चकाचौँध भएको मानिस आजसम्म संसारमा कोही भेटिएको छैन। त्यसरी भेटिनु सम्भव पनि छैन। किनभने यो प्रकृतिको विरुध्दको कुरा हुन जान्छ। अझ धनसम्पत्ति, भोगले आनन्द पाउन खोज्छु भनेर त्यसको पछि आसक्त हुनेले त निद्रा भगाउँछ, रोगलाई निम्त्याउँछ। त्यसकै भयले विश्वका कतिपय एकसेएक अर्वपति, खर्वपतिहरू आफूले कमाएको सम्पत्तिलाई सामाजिक कार्यको लागि, नहुनेहरूका लागि बाँड्न उद्यत हुन्छन् र त्यसैमा बाँधिएर बस्दैनन्। जति बाँधियो त्यत्ति वन्धन हुन्छ, आसक्ति बढ्छ, उम्किने अवसर नै नआउन सक्छ। भौतिकतामा आसक्ति नराखी कमाएको धन-सम्पत्तिको  सही वितरण गर्न जसले जानेको हुन्छ उसैले आनन्दको केही झुल्काझुल्की पाउन सक्छ।तर सबै कहाँ त्यस्ता हुन्छन् र? मानौँ जे-जति छ उनीहरूसँग त्यो साथमै लिएर जानेजस्तो गरी विचारमा छुद्रता, बोलीमा कटुता र दानमा क्रृपणता देखाएरै जीवन समाप्त हुन्छ।कति दु:ख-कष्ट गरेर जोरजामल गरेर थुपारेको, कृपणता देखाएको धन-सम्पत्ति पछि कसैका लागि लुटको धन फुपूको श्राध्द बन्न पुग्छ
आनन्दको प्राप्तिका उपायहरू के हुन सक्छन् यसबारेमा अध्यात्म शास्त्रहरूमा धेरै चर्चा-परिचर्चा पाइन्छ। आनन्द पाउने कारगर उपायहरू खोज्ने हो भने मानिसले निम्नानुसार पाँच कुरालाई हृदयङ्गम गरेकै हुनुपर्छ-
·         भएकोमा सन्तोष गर्ने, नभएकोमा अरूको डाह नगर्ने।
·         सद्कर्ममा सदैव प्रवृत्त रहने।
·         आफूमा नै रमाउने।
·         आनन्द बाहिर होइन आफू भित्रै छ त्यसलाई खोज्ने।
·         सकिन्छ प्रतिकूल परिस्थितिलाई बदल्ने, सकिदैन त्यसैलाई स्वीकार्ने।
·         उदारता, विशालता र विस्तीर्णतालाई विशेषता बनाउने।
·         दया, माया, करुणा, शान्ति, सद्‌भाव, अहिंसा र आत्मीयतालाई अँगाल्ने।
·         शत्रु-मित्र सबैप्रति क्षमाशील बन्ने र समभाव राख्ने।
·         रिस-राग, कटुता, बैरभावलाई बालुवामा लेखेजस्तो गर्ने न कि शिलापत्रमा लेखेजस्तो गर्ने।

आत्मिक वा आध्यात्मिक जीवनमा रस बसेको मानिसहरूलाई आनन्दको प्राप्तिको केही ठेगाना थाहा भइसकेको हुन्छ। उनीहरू त्यस ठेगानाको खोजी गर्दै पुग्नु पर्ने ठाउँमा पुग्न धेरै समय लगाउँदैनन् तर त्यसबारेमा अनभिज्ञ व्यक्तिहरूचाहिँ कोही बाटोको पहिचानमै समय लगाएर अल्मलिएका हुन्छन् भने कोहीचाहिँ सोझो बाटो थाहा नहुँदा घुमाउरो बाटोको पछि लाग्दा-लाग्दै जीवन समाप्त गर्न पुग्छन्। आनन्दको प्राप्तिको सबैभन्दा सजिलो उपाय हो त्यसको खोजीको लागि बाहिरी संसारमा नअल्मलिने किनकि आनन्दको ठेगाना बाहिर हुँदै होइन त्यो त भित्रै छ, तपाईँसँगै छ, अझ तपाईँ नै त्यसको स्रोत हुनुहुन्छ। आनन्दलाई पाउन घरगृहस्थ पो छाड्नुपर्छ कि भनी कत्तिलाई लागेको हुन सक्छ त्यसो गर्नु जरुरी छैन। घरमै बसे पनि हुन्छ। आनन्द त्यहीँ पनि पाउन कुनै गाह्रो छँदै छैन। मात्र त्यसमा नअल्मलिने हो, त्यसमा नडुब्ने हो, त्यसमा आसक्त नहुने हो।संसारमा रहने तर सांसारिक नबन्ने, कुनै विषयमा पनि आसक्त नबन्ने हो भने गृहस्थै भए पनि आनन्दको मार्ग पहिल्याउन सकिन्छ।
घरगृहस्थमा भएकोले अतिथि-अभ्यागतको सेवासत्कार गर्न पाइएको छ भन्ने सम्झ्यौँ भने कसैको सत्कारमै आनन्द आउन थाल्छ, कसैको उपचारमा केही सेवा गर्न पाए हुन्थ्यो होला भन्ने लाग्यो भने यहीबाट सहयोगको हात बढाउन सकिन्छ, त्यसमै आनन्द आउन थाल्छ। मनलाई निस्वार्थता, स्वच्छता, पवित्रता, सत्यता, पारदर्शिताको माध्यमबाट जति निर्मल बनायो त्यत्ति आनन्दको वर्षा हुन थाल्छ। अझ त्यसमा उदार, विशाल, विराट र व्यापक भाव आयो भने त जीवनमा सौन्दर्य खिल्न किञ्चित बेरै लाग्दैन।
आजको विश्व, आजका मानिसहरूमा देखिएको समस्या भन्नु नै सङ्कीर्णता हो। सङ्कीर्ण भावना, विचार र कर्मबाट मुक्त हुने हो भने आनन्दको वर्षा हुन् थाल्छ। चित्तमा चञ्चलता र लघुताले मानिसलाई आनन्द प्राप्तिबाट विमुख तुल्याउँछ। शत्रु हुन् कि मित्र सबैप्रति समान भाव, समान दृष्टिकोण, मर्यादापूर्ण व्यवहार गर्न सकिने जब अवस्था जीवनमा सृजना हुन थाल्छ अनि हेर्नुहोस् आनन्दको  वर्षा कसरी हुन्छ! जब तपाईँमा भेदभाव नै छैन समभाव छ, समदृष्टि छ, दया, माया, प्रेम, करुणा , अहिंसा, सत्य, अनुशासन, प्रीति, निस्वार्थता छ भने कोसँग शत्रुता? अनि के चाहियो आनन्दै-आनन्द छ सर्वत्र! यो नजान्दा मानिसहरूले जीवनमा अनेकौँ किसिमका हण्डर र बबण्डरको सामना गर्नु पर्ने हुन्छ।यसलाई सम्झने, बुझ्नेतर्फ थोरै, नितान्त थोरै मानिसहरूको मात्र ध्यान गएको हुन्छ।अर्को शव्दमा भन्ने हो भने आनन्द प्राप्तिको यो मार्ग र रहस्यलाई बुझ्ने चेष्टासम्म नगरी जीवनलाई वर्वाद तुल्याइरहेका हुन्छन्। यो जीवनप्रतिकै अनभिज्ञता होइन?
मानिस सत्, चित, आनन्द स्वरूपको त छ तर विभिन्न किसिमको प्रमाद, अहंकार र मोहको वशमा फसेको कारण उसमा अन्धकार एवं अज्ञानताको कालो बादलले ढाकेको छ। जसरी कुनै ऐनामा आफ्नो मुखलाई सफा, राम्रो देख्न चाहेको हो भने ऐनामा फोहर हुनु भएन। त्यसैगरी कसैले आनन्दको प्राप्ति गर्ने हो भने पनि स्वयंको अन्तर्हृदयलाई सफा र कञ्चन तुल्याइ राख्नु अपरिहार्य छ।त्यसभित्र वर्षौँदेखि थुप्रिएर रहेका फोहर-मैलारूपी स्वार्थलाई, अहंतालाई, वैरलाई, क्रोधलाई धोइपखाली  गर्न सकियो भने आनन्दको प्राप्ति कसैको लागि पनि टाढाको वस्तु छँदै छैन यो त तपाईँसँग साथै छ, तपाईँकै हो। नजानेर पो आपद्-विपद् परिरहेको छ!
मानिसको मनलाई सबैभन्दा विथोल्ने र जीवनलाई नै बेकारको तुल्याउने कुनै विषय छ भने त्यो हो- शङ्कालु मन।शङ्कालु मन कहाँ-कहाँ पुग्दैन? यो जहाँ पनि पुग्छ। यो पढेको मानिसकहाँ पुग्छ, नपढेको मानिसकहाँ पुग्दैन भन्ने छैन। यो धनीकहाँ पुग्छ गरिबकहाँ पुग्दैन भन्ने छैन। यो गृहस्थीकहाँ पुग्छ घरबार त्यागेर आश्रममा बस्नेहरूकहाँ पुग्दैन भन्ने छैन।शङ्काको भेल बेलाबेलामा तपाईँकहाँ पस्न थाल्यो भने सम्झनुहोस् तपाईँकहाँ रहेको-भएको खुसीका क्षणहरू अब धेरै दिन रहनेवाला छैन।शङ्काको लक्षणै यही हो कि जहाँ पनि, जेमा पनि जरुर त्यहाँ केही लुकेको छ, शङ्का छ भन्ने अचम्मको भावको विकास मनमा तत्काल उव्जी हाल्नु।विश्वासको बदला शङ्का हुन थालेपछि अनि के चाहियो! त्यसैको पछि लागेर मानिस चियो-चर्चा गर्न सुरु गर्छ, अनुहार पढ्न सुरु गर्छ, डायरीमा के लेखेको छ भनेर हेर्न सुरु गर्छ, हिजोआजचाहिँ मोवाइलमा के छ भनेर खोज्न सुरु गर्छ, कसको एसएमएस के छ भनेर जाँच्न आरम्भ हुन्छ,  कहाँ-कहाँ जान्छ भनेर पछि लाग्न सुरु गर्छ र मानौँ जासुसको कामको जिम्मेवारी उनीहरूले पाएका छन् जस्तो हुन थाल्छ। यो घरमा श्रीमान्/श्रीमती, गुरु/चेला, नेता/कार्यकर्ता, प्रिय/प्रियशी, बाबु/छोरा, आमा/छोरी, दाजु/भाई, दिदी/बहिनी, साथीभाइ, हाकिम/कर्मचारी सबैमा त्यत्तिकै लागू हुन्छ। मात्र धेर थोरको कुरा हो। मनोवैज्ञानिकहरूको भनाइ छ कि मानिसको शङ्काको करिब ९९ प्रतिशत विषयहरू मिल्दैनन्। तर यो कुरा धेरैको सामु पुग्नै सकेको हुँदैन र शङ्का विकास हुँदा-हुँदा पछि गएर रोगको रूपमा विकास हुन पुग्दछ। मनोविज्ञानको भाषामा यसलाई उनीहरू ओथेलो सिण्ड्रोम भनी पुकार्छन्। शेक्सपियरको ओथेलो उपन्यासको त्यस्तै चरित्र भएको व्यक्तिबाट यो नामाकरणले प्रसिध्दि पाएको हो। चरित्रमाथिको शङ्का नै यसको मुख्य विषयवस्तु हो।शङ्काको सानो विषयबाट सुरु भएर अन्ततोगत्वा ठूल्ठूला रोगको कारक तत्त्व बन्न पुग्छ यस्तो शङ्कालु मानिसको प्रवृत्ति।त्यसकै कारण छँदा-खाँदाको खुसी टाढिन्छ, शान्ति अशान्तिमा परिणत हुन्छ।आनन्दको प्राप्ति टाढाको कुरा हुन थाल्छ।जीवनै वर्वाद हुन बेर छैन। 
मानिसको जन्म नै खुसी, सन्तोष, शान्ति र आनन्द प्राप्तिका लागि हो। सबैभन्दा चनाखो हुनु पर्ने नै स-साना विषयवस्तुले ती लक्ष्यको प्राप्तिमा कतै अवरोध नल्याओस्। आनन्द परमान्दस्वरूप छ, परमात्मस्वरूप छ। त्यस्तो सुख, शान्तिको स्रोतलाई स्वागत गर्न छोडेर जीवनका स-साना तीता-मीठा या कटुतामा अल्मलिनु कतै योग्य काम हुँदै होइन।यसलाई प्राप्त गर्ने हो भने झिनामसिना कुरामा समय वर्वादी गर्नुको कुनै औचित्य छैन। समयको दुरुपयोग गर्नतिर नलागी समयको सदुपयोग कसरी हुन्छ बढीभन्दा बढी गर्नेतिर नै लाग्नु सबैभन्दा बुध्दिमानी हुन्छ।आनन्दको अज्रस स्रोत तपाईँभित्रै छ, मात्र अन्तर्मुखी भएर त्यसलाई पाउनेतिर अभिमुख हुनु आवश्यक छ।तपाईँमा के छैन? सबै विशेषताले ओतप्रोत छ। त्यसलाई पाउन किन प्रयास नगर्ने? आनन्द तपाईँलाई पाउन लालायित छ तर तपाईँ उसलाई आत्मसात् गर्नेतिर प्रवृत्त हुनु हुँदैन भने दोष तपाईँकै हुन्छ। विचार गर्नुहोस् आनन्दको प्राप्तिमा कतै तपाईँ पछाडि त पर्नु भएको छैन? आनन्दको प्राप्तिलाई तपाईँ अभीष्ट बनाउन चाहनु हुन्छ भने आनन्दलाई भगाउने विषयवस्तुबाट टाढा रहन सक्नुपर्छ। त्यो भनेको जति पनि नकारात्मक सोचाइ, धारणा, चिन्तन र कर्म जसले मनलाई विचलित तुल्याउँछन् तिनबाट मुक्ति पाउन सक्नुपर्छ। नकारात्मकतालाई, बेमानीलाई, भ्रष्टतालाई, अशान्तिलाई, हिंसालाई, अहंकारलाई अपनाउँदै पनि रहने अनि आनन्द पनि चाहने त्यो त हुनै सक्तैन।यी सबैबाट बाहिर उत्रन सक्नुपर्छ तब न आनन्दको प्राप्ति यसरी हुन थाल्छ त्यसको कसरी वयान गर्ने? यो अरूबाट भन्दा पनि स्वयंले थाहा पाउनु पर्ने विषय भएकोले आजैदेखि, अहिलेदेखि, तत्कालैदेखि खोज्न प्रारम्भ गरौँ आनन्दको प्राप्ति टाढाको कुरा पटक्कै छैन।  

                                    **********