Saturday, June 30, 2012

जे रोप्छौँ त्यही फल्ने हो


                     
                                                         
जानेर होस् वा नजानेर मानिसमा गजब-गजबका आशाहरू पलाइरहेका हुन्छन्, फक्रिरहेका हुन्छन् थाहै नहुने गरी। सामान्य सिध्दान्त छ- जे रोप्छौँ त्यही फल्ने हो। यसमा कुनै बढाइ-चढाइको कुरा छैन। यो शाश्वत सत्य हो, हुने त्यही हो। तर मानिस कहाँ त्यस्तो सम्झिन्छ र ? नरोपेको पनि फल्छ भन्नेजस्तो आशामा जीवनभर तड्पिरहेका हुन्छन्। यही पट्यारलाग्दो जिजीविषामा बाँचिरहेको हुन्छ।मानौँ उसलाई यही नहुने कुरा घट्छ कि भन्ने आशाले नै तानिरहेको हुन्छ, आकर्षित गरिरहेको हुन्छ। आज होला कि भोलि होला कि भनी अनेक स्वप्नवत् कल्पनाहरूले डो-याइ-डो-याइ हिँडाइरहेको हुन्छ। यो कुरा जीवनका सबै फाँट र पक्षमा देखिन्छ। यो राजनीतिमा घट्छ, धार्मिक क्षेत्रमा घट्छ, साँस्कृतिक क्षेत्रमा घट्छ, सामाजिक क्षेत्रमा घट्छ, पारिवारिक जीवनमा घट्छ। भनौँ न सबैतिर घटिरहेको हुन्छ।
वर्तमानको अवस्था भूतकालको क्रिया,कर्म, लगानी र परिश्रमको परिणाम हो। हिजो कसले, कसरी, कस्तो कर्म गरेको थियो, के रोपेको थियो त्यसैबाट वर्तमान निर्माण हुने हो।केही पूर्वजन्ममा रोपिएका, केही यही जन्ममा रोपिएकाबाटै वर्तमान निर्माण हुने हुन्। एकाध अपवादलाई छोडेर रोग,व्याधी, घटना, दुर्घटना, सुख, दु:ख, सम्पन्नता, विपन्नता सबैको घटक हामीले हिजो जानी नजानी गरेका कर्महरूकै प्रतिफलहरू हुन् भन्दा फरक पर्दैन।सबै मानिसहरूले यस कुरालाई बुझेका हुँदैनन् न हेक्का राखेका नै हुन्छन्। थोरै भाग्यमानीहरूले बुझ्ने अवसर पाएका हुन्छन्।त्यसैले उनीहरू कुनै कर्म गर्नुअघि एक पटक होइन दश पटक सोचेर, गर्नु पर्ने हो कि होइन भनी बुध्दीको निर्क्यौलमा अघि बढ्छन्। हतारमा गरेर फुर्सतमा पछुताउने बानीबाट त्यस्ता व्यक्ति टाढा रहेका हुन्छन्।
मानिसको  जीवनको समग्रतालाई बुझ्न प्रयाश गर्ने हो भने पार पाउन सकिन्न। यो यति अद्‌भुत छ कि के भन्ने! जति बुझ्न प्रयत्न ग-यो उति कठिन, जति बुझेँ भनिठान्यो झन् कठिन! यही कारण हो कि मानिसहरू अनेक प्रकारका रनभुल्लमा फस्न पुग्छन्। आज कसैले नमीठोसँग केही भने पनि केही क्षणलाई कटु लाग्छ। समयको अन्तरालमा, लामो कालखण्डमा पुग्दा ती सबै बिर्सिहालिन्छ।अझ भनौँ मेटिइसकेको हुन्छ।बोल्ने मानिसलाई पनि आज बोलेको कुरा पछिसम्मलाई सम्झिरहने हो भने कुण्ठा जन्मन्छ। यसैले त्यसलाई बिर्सनै पर्ने हुन्छ।यदि त्यसलाई सम्झेर बस्ने, मन दु:खाएर बस्ने, खिन्न भएर बस्ने हो भने त जीवन बाँच्नै कठिन भइहाल्छ नि।यही समयले बिर्साउने स्वभावले गर्दा हरेक पल, हरेक क्षण, हरेक दिन नयाँ छ, नौलोझैँ छ, नवीन प्रतीत हुन्छ। एकछिन सम्झौँ त अतीतमा कतिले गाली गरे होलान्, नमीठो बचन बोले होलान्, भन्न हुने नहुने के-के लाञ्छना लगाए होलान्! बोल्नेले, भन्नेले पनि के-के भन्यो होला, बोल्यो होला। त्यसको पछि परेर वा लागेर साध्य होला? जरुर हुँदैन। नकारात्मकतालाई त सकेसम्म मनमा आउनै दिनै हुन्न यदि जीवनमा सुख, शान्ति र आनन्द चाहने हो भने।
मानिसमा गजबको स्वभाव के छ भने सानो छँदा काम, क्रोध, लोभ, मोह, घमण्ड, अहंकारजस्ता अवगुणहरू जति न्यून रूपमा रहेको हुन्छ त्यो उमेर बढ्दै गएपछि झाङ्गिदै जान्छ। यही कारण हो जसले गर्दा अनेक किसिमका मनमुटाव, छलकपट, जालझेल सुरु हुन थालिहाल्छ।त्यो अवस्थामा मानिसलाई पु-याउने अरू केही नभई मन नै हो। यसैले भनिएको हो कि मनले नै मानिसलाई बन्धनमा बाँध्न सक्छ, मुक्ति पनि दिलाउन सक्छ। केटाकेटी अवस्थामा मन हुन्छ तर सुषुप्त अवस्थामा हुन्छ जसले गर्दा मनोमालिन्य त्यहाँ हुन्न। एकछिन अगाडि साथी-साथीमा झगडा वा मनमुटाव भएको हुन्छ तर एकैछिनपछि त्यो बिर्सिएर पुन:सम्बन्ध घनिष्ट भइहाल्छ। यस्तो स्थिति कहाँ उमेरदारहरूमा पाउनु! मानिसलाई जटिलभन्दा जटिल अवस्थामा पु-याउने मनै हो। प्रतिक्षण मनलाई हुर्काउने, बढाउने निर्माणकर्ता अरू कोही नभई स्वयं व्यक्ति नै हो। मनको अवस्थालाई बुझेर त्यसको निग्रहतिर लाग्नेले सुखै-सुख फेला पार्दछ जबकि मनको अनुसार दौड्ने व्यक्ति अनेक कठिनाइ र समस्याले ग्रस्त भएर जीवनको सौन्दर्यलाई मटियामेट तुल्याइरहेको हुन्छ। मनबाट मुक्ति पाउनलाई अनेक योग,ध्यान, पूजा, उपासना, प्रार्थनाका पध्दतिहरू चलेका हुन्।सही रूपबाट तिनको सदुपयोग गर्न सकियो भने जीवनमा आनन्दै-आनन्दको स्थिति हरेक क्षण आउँछ। त्यसको विपरीत भयो भने भ्रम, अन्धविश्वास, रुढिबुढिमा फस्ने पनि ठूलो सम्भावना हुन्छ।हिजोआज धर्मको नाउँमा व्यवसाय, योगको नाउँमा कमाइधन्दा चलेकोले अगाडि-पछाडि धेरै कुराहरूमा ख्याल राख्नु पर्ने अवस्था छ।मनबाट मुक्ति पाउने अवस्थाको खोजी नै अध्यात्म मार्गको सबैभन्दा रुचिको विषय हो। जड मनलाई चेतनताले हटाइ जागरण हुन अभ्यस्त गराउनु नै अध्यात्म मार्गको सबैभन्दा ठूलो सफलता हो।
मनको प्रवृत्ति पनि गजबको हुन्छ। आफूसँग भएको यावत् कुराहरू सामान्य लाग्छ, काम नलाग्ने लाग्छ। अरूसँग भएको कुराहरू मूल्यवान् र किमती लाग्छ।यही कारणले गर्दा कत्ति मानिसहरू त्यसको प्राप्ति कसरी गर्ने भनेर विनासित्तीमा होडबाजीमा लागिरहेका हुन्छन्, तडपिरहेका हुन्छन्। आफूभन्दा अरू सुखी, सम्पन्न र आनन्दमा रहेको अनुभूति हुने मनको स्वभावलाई नचिन्दा कत्ति त्यसैको पछि-पछि  अनवरत दौडिरहेका हुन्छन् र फगत समय, परिश्रम र धनलाई अनासुर्तमा सिध्दाइरहेका हुन्छन्। उनीहरू यो बुझ्न पछि परेका हुन्छन् कि यो मेरोलागि  आवश्यकता हो कि सोख । यही नजान्दा नबटुल्नु पर्ने वस्तुलाई बटुल्न अनेक किसिमको दाउपेच, छिनाझप्टी, जालझेलमा अल्मलिइरहेको देखिन्छ। चाहिने कुरालाई छोडेर नचाहिने वस्तुको प्राप्तिमा लाग्नु भनेको समय, श्रम र शक्तिको सरासर दुरुपयोग हो भन्ने कुरालाई बुझ्न चाहने मानिस समाजमा थोरै मात्र पाइन्छन्। अरू त लहै-लहैमा दगुरिरहेका हुन्छन्।
मनमा निहित ऊर्जाशक्तिलाई नदीलाई बाँध बाँधेर चाहेको उपयोगमा ल्याउन सकेजस्तै त्यसलाई चेतनताले जागृत गराएर उर्ध्दरेत अवस्थामा पु-याउन सक्यौँ भने ज्ञान र विद्या, चेतनता र जागरण हुन शुरु भइहाल्छ। मन अधोगतितिर बग्न थाल्यो भने त्यसबाट निक्लने परिणाम भनेको निकृष्टताबाहेक केही हुँदैन।यो गूढ रहस्यलाई थाहा नपाउँदा  मानिस अनेक भ्रम र व्यामोहमा फसिरहेका हुन्छन्। मनलाई गलत प्रवृत्तिबाट असल प्रवृत्तितिर उठाउन थालियो कि सम्झे हुन्छ स्वच्छताको जीवन, मानवताको जीवन, दिव्यताको जीवन अब सुरु हुने अवस्था आयो।यस्तै दिव्यताको जीवनमा सद्‌भाव बढ्छ, आत्मीयता झल्किन्छ, शान्तिप्रति आशा जाग्छ, सत्य, न्याय, करुणा, अहिंसा, प्रेम, सहअस्तित्वप्रति निष्ठा जाग्छ।
जीवनमा जे-जति उपलब्धी गरेका छौँ वा गर्दछौँ ती झाङ्गिएका वृक्ष हुन् भने तिनका लागि गरिएका विचारहरू बीज हुन्। मानिसको यात्रा यिनै बीजरूपी विचारहरूको प्रक्षेपणबाट स्पष्टिदै जाने हुन्। मानिसले रोप्ने बीजरूपी विचार नै कालान्तरमा शव्द बनेर अभिव्यक्त हुन्छ र त्यही शव्द पछि कर्म बनेर व्यवहार जगत्‌मा छरप्रस्ट हुन थाल्छ।यसैले कस्तो विचार आज रोपिरहेका छौँ त्यही भोलि परिणामको रूपमा देखिन पाइने हो। घरमा दिइने र प्राप्त हुने विचार, त्यस्तै विद्यालय, विश्वविद्यालय, तालिम केन्द्र, शैक्षिक केन्द्र, राजनीतिक दल, धार्मिक सङ्घ-संस्था, सामाजिक सङ्घ-संस्थामा दिइने विचार कस्तो छ? त्यसले समाज बन्ने र बिग्रने हो।सकारात्मकतालाई प्रमुखता दिइरहेका छौँ  कि नकारात्मकतालाई।नकारात्मकतालाई बढाएर, चढाएर त्यसबाट सकारात्मक नतिजा पाउँछौँ भन्ने सम्झ्यौँ भने त्यो गलत हुन्छ।
आज हत्या, हिंसा, षडयन्त्र, लूट, अपहरणले जसरी प्रश्रय पाउँदै गएको देखिदैछ त्यसलाई हेर्दा जो कोहीको मनमा सहसा लाग्छ कि अहिले समाजमा असल बीऊ रोपिरहेका छैनौँ। जसको कारण हुनु नपर्ने कुराहरू भइरहेका छन्, घटनु नपर्ने कुराहरू घटिरहेका छन्, सुन्नु नपर्ने कुराहरू सुन्न परिरहेको छ।जति नकारात्मक र विध्वंशात्मक विचारप्रवाहलाई फैलाउँछौँ त्यो व्यक्ति, परिवार र समाज हुँदै देश र विश्वमा त्यसको त्यस्तै असर पर्न सुरु भइहाल्छ।क्रान्ति, युध्द र लडाईँको कुरा गर्न सजिलो छ तर त्यसभित्र समेटिएर रहने नकारात्मक विचार, भावना र धारणालाई हेर्ने हो भने त्यो कसैको हितमा हुँदै हुन्न।फेरि अर्को कुरा त्यसबाट भनेको जस्तो, चाहेको जस्तो शान्ति आउँदै-आउँदैन। क्रान्तिबाट प्राप्त हुने शान्ति श्मसानघाटको सुनसानजस्तो मात्रै हो। क्रान्तिको कुराले हिजो मानवताका पक्षका धेरै कुराहरू ध्वस्त भइसकेको छ।मनुष्यता नष्ट भइसकेको छ। सधैँ त्यही सूत्रको रटानले कुनै उपलब्धी प्राप्त हुन सक्तैन।
विद्यार्थीहरूमा विचाररूपी बीऊ छर्ने शिक्षक, अध्यापक, प्राध्यापक कस्ता छन्? जनताको नाममा राजनीति गरेर अनेक वादको बीऊ छर्दै हिँड्ने नेताहरू कस्ता छन्? विद्वान्-बुध्दिजीवीको नाउँमा अनेक लेख र पुस्तकमा विचार र भावनाको बीऊ छर्नेहरू कस्ता छन्? धर्म-अध्यात्मको नाउँमा बीऊ छर्दै हिँड्ने पण्डित, गुरु, आचार्य, भिक्षु, मौलाना, फादर र पास्टरहरू कस्ता छन्? जनताको हितका लागि प्रशासन चलाउँछौँ भन्दै कसम खाने प्रशासकहरू कस्ता छन्? संसदमा पठाउने र पठाइएका सांसद र सभासदहरू कस्ता छन् ?तिनीहरूबाट नै परिणाम कस्तो हुन्छ थाहा हुने हो। राख्ने बेलामा, छान्ने बेलामा, मनोनयन गर्ने बेलामा वा अवसर प्राप्त हुँदा अनेक स्वार्थको कारण गलत व्यक्तिहरूलाई राखेर, छानेर त्यसबाट असल नतिजा निक्लेन भनेर पछुताउनुको कुनै अर्थ छैन। विषवृक्ष रोपेर त्यसमा अमृत फल्छ भनेर आशा गर्नु जति निरर्थक छ त्यति नै गलत शिक्षा, नकारात्मक विचार, विकृत संस्कृति, भ्रान्त र भ्रष्ट राजनितिबाट कुनै असल परिणामको आशा गर्नु।   
आफू कस्तो बन्ने, समाज वा देशलाई कस्तो बनाउने त्यो अरूको नभई आफ्नै हातमा छ। एक जनाले मात्र पनि सकारात्मकतातिर लाग्ने प्रण गर्ने हो भने, वास्तविक शान्ति, समुन्नति, प्रगति र उत्थानको लागि समर्पित भई जीवनलाई सर्वोत्कृष्टताको मार्गमा हिँडाउने हो भने त्यसको परिणाम नै भिन्न हुन थाल्छ। अझ समाजका अगुवाहरू, राजनीतिमा लागेकाहरू, नेता भन्नेहरू, समाजिक क्षेत्रका अभियन्ताहरूले त आफूले बोल्ने र लेख्ने कुराको शव्द-शव्दको ख्याल गरेर, वाक्य-वाक्यको अर्थ बुझेर समाजमा पर्न सक्ने असर र प्रभावलाई ध्यान नदिने हो भने त्यसले ठूल्ठूला घटना र दुर्घटनालाई निम्त्याएर खति पु-याउन पनि सक्छ। वैचारिक प्रदूषण आजको विश्वको लागि सबैभन्दा घातक बन्दै गएको छ भन्ने कुरालाई बिर्सन सकिन्न।समाज र राष्ट्रलाई कतातिर लग्ने? शान्तितिर कि अशान्तितिर, हिंसातिर कि अहिंसातिर, द्वन्द्व, विद्वेषतिर कि सद्‌भाव, मैत्रीतिर! ध्यान दिऔँ जे रोप्यो फल्ने त्यही हो।
                                      *****************