Tuesday, March 27, 2012

जीवनमा सत्यको खोजी

                            
                                                                
       विश्वको दिगो शान्तिको लागि, मानवताको समुचित सम्वर्ध्दन एवं प्रवर्ध्दनको लागि जति आवश्यकता गतिलो राजनीतिक व्यवस्थाको हुन्छ, जति सामाजिक र आर्थिक व्यवस्थाको सुदृढीकरणको हुन्छ त्यो भन्दा कैयौँ गुणा बढी आत्मिक र मानवीय चेतनाको विकासको हुन्छ भन्ने कुरा अब कुनै बहसको विषय हुन सक्तैन।वाह्य उन्नति, भौतिक प्रगतिको साथसाथै मानवीय चेतनाको विकासमा दृष्टि नदिने हो भने विश्वमा देखिदैगएको, बढ्दैगएको, पलपिदै गएको सन्त्रासपूर्ण परिस्थिति र वातावरणले भयावह रूप ग्रहण गर्दै जाने र यसले रहल-पहल रूपमा रहेको मानवताका आधारहरूलाई पनि छिन्न-भिन्न पार्न सक्नेछ भन्नेमा मानवताको सम्वर्ध्दनमा समर्पित बुध्दिजीवीहरू, दार्शनिकहरू, वैज्ञानिकहरू, सामाजिक वास्तुकारहरू चिन्तित रहेका देखिन्छन्। हुन पनि हो आज जुन रूपले आ-आफ्ना निहित स्वार्थका लागि मानिस अरूको अहित गर्न परे, प्राणै हर्न परे पनि नानाभाँतिका पाशविक प्रवृत्तिलाई चाहे विज्ञानको उपलब्धिको नाममा, चाहे धर्म र धर्मयुध्दको नाममा त्यसलाई चोख्याइ अनेक किसिमका मानवताविहीन कार्यहरू विगतमा गरेको र आज पनि तिनैको पुनरुक्ति चोर बाटोबाट अनेक नीति र नियम वा मान्यतालाई समेटी कुनै न कुनै रूपबाट आत्मसात् गरिरहेको देखिनाले मानवता एकदमै दीनहीन अवस्थामा पुगिरहेको तर्फ थोरै मानिसको मात्र ध्यान जान सकेको छ।मानवताको वर्चस्व र विकासका लागि समवेत स्वर सबैतर्फबाट उठ्नु पर्नेमा यो झिनो हुँदै गएको तथा परम्परा, प्रचलन र मान्यतालाई सर्वत्र प्रोत्साहन दिने परिस्थितिको जोगाडले मानवता भन्ने विषय अब कतै औपचारिकतामा मात्र सीमित भइसकेको त होइन भन्ने आशंका उठ्न लागिसकेको यथार्थतालाई आँखा चिम्लिन हुने बेला छैन। यदि यस्तै स्थिति र वातावरणलाई मानवीय विकास भन्ने सम्झन थाल्यौँ भने त्यो सबैका लागि कष्टकर हुने छ। आउँदा दिनहरूमा यदि बुध्दि र विवेक नपु-याउने हो भने मानवताको परिभाषामा नै विचलन आउने छ जसले भावी कालखण्ड अत्यन्त दुष्कर र भयावह बन्दै जाने कुराको सङ्केत अनेक जल्दा-बल्दा घटना र परिदृश्यहरूले देखाइरहेका छन्।   
परम्परा, प्रचलन र मान्यता जस्तोसुकै हुन् तिनलाई नै प्रमुखता दिनाले तथा त्यसले मात्र जताततै जोडतोडले निरन्तरता पाउनाले मानवताको ह्रास हुँदै गएको त होइन ? के कहिले हामीले त्यसतर्फ सोचेका छौँ? मान्यता अनेक हुन सक्छन्- कुनै राम्रा, कुनै नराम्रा अथवा भनौँ कुनै काम लाग्ने कुनै कामै नलाग्ने।तिनै मान्यताहरूलाई परम्परा, संस्कार र संस्कृति नामले सम्बोधन गर्ने पनि चलन छ।कतिपय विकृतिहरू संस्कृतिभित्र नजानिँदो तरिकाले लुकेर मानवतालाई खिल्ली उडाइरहेको पनि हुन्छ। त्यसलाई चिन्न नसक्दा अन्धाधुन्ध मानवताको उपहास भइरहेको छ। मानवताको सम्वर्ध्दनमा तिनको कत्तिको उपयोगिता छ त्यसलाई हेरेर मात्र प्रश्रय दिइनु पर्नेमा त्यसको विपरीत नै जताततै भइरहेको छ। जे-जस्तो मानवता विपरीतको मान्यता होस् त्यसलाई आँखा चिम्लेर अँगालो हाल्नाले पनि जताततै स्थिति जटिल, झन् कठिन बन्दै गइरहेको छ।
मानवताको कुरा गर्दा यसले  मानिसमा निहित कुन विशेषताहरूलाई वा के-कस्ता गुणहरूलाई बुझाउँछ त्यस विषयमा पनि मानिस रनभुल्लमा परेका छन् जस्तो लाग्छ। मानिसमा मानवता यसो हेर्दा कुनै गाह्रो कुरा हो जस्तो लाग्न नसक्ने होइन। तर कहाँ त्यत्ति सजिलो छ र ! मानिसमा बढ्दै गइरहेको पाशविकतालाई हेर्दा जानी नजानी मानिस कुरूपतातिर अभिमुख हुँदै गइरहेको भान पर्दछ।हरेक मानिसमा मानवता उसको नैसर्गिक गुण हुनु पर्ने हो तापनि आ-आफ्नो कुल, घर, समाजले सृजना गरेको संस्कार, परम्परा र अनेकन् मान्यताहरूका कारण मानिसको प्राकृतिक गुणस्वरूपको मानवता ओझेलमा पर्दै गइरहेको नै ज्यादात्तर देखिदै जानु कम दु:खलाग्दो छैन।
कति मानिसहरू मानिसको स्वधर्म के हुन सक्छ भन्ने विषयमा नै अल्मलिएको पाइन्छ। कुल, घर, परम्पराको नाउँमा जे-जस्तो संस्कार-संस्कृति छन् त्यसलाई नै स्वधर्मले समेटेको छ भन्न पनि पछि पर्दैनन्। वास्तवमा भन्ने हो भने स्वधर्म भनेको अरू केही नभई मानवता हो। मानवता भनेको के हुन सक्छ त्यसलाई बुझ्न नै भुल गर्न थाल्यौँ भने चाहिँ ठूलो गल्ती हुन जान्छ।मानवताले बुध्दि, विवेक र हृदयलाई साक्षी राखी गरिने यावत् मानवीय सद्‌गुणहरू- दया, माया, करुणा, अहिंसा,अनुशासन, न्याय, सद्‌भाव, मैत्री, आत्मीयता, समानता, समरसतालगायतका मानिसमा अपेक्षा गरिने तमाम सद्‌गुणहरूलाई बुझाउँछ।आफूलाई साक्षी राखेर मानिसलगायत सम्पूर्ण जीवजगत्‌प्रति मन, वचन र कर्मद्वारा गरिने व्यवहारबाट नै मानवताको परख गर्न सकिन्छ।यसमा कतै चुकेका त छैनौँ त्यसैबाट तत्काल जाँच्न सकिन्छ  मानवतालाई आफूमा।    
आधुनिकताको नाउँमा या विकासको नाउँमा जति-जति नयाँ-नयाँ आविष्कार र भौतिकताको विकास हुँदो छ त्यति-त्यति मानवता धराशायी बन्दै जाने क्रम बढ्दो छ यो चाहिँ अत्यास र उदेकलाग्दो छ।लाग्छ आधुनिक मानव मस्तिष्क अस्पष्ट अलौकिक भयहरू एवं कहिल्यै नटुङ्गिने अनन्त आकाङ्क्षाहरूको बीचको सङ्घारमा सङ्घर्षरत छ।भविष्यको रूप कस्तो हुँदै जाने हो भन्ने चिन्ताले मानिसहरू नराम्ररी सताइएका छन्। जति पनि साधन र स्रोतहरू उपलब्ध छन् प्रकृतिको वरदानको रूपमा या परिश्रम र मेहनतको फलस्वरूप तीमध्ये कुनैप्रति पनि निष्ठा नभएकै कारण मानिस असन्तुष्ट छ र राग, द्वेष, कटुतालाई सृजना गराउने कार्यहरूमा तँछाड-मछाड गरी लागिरहेको जस्तो प्रतिक्षणको व्यवहारले देखाइरहेको छ।यद्यपि मानिसमा ज्ञान बढ्दैगइरहेको छ, जानकारीहरू वृध्दि हुँदैगइरहेका छन्। परन्तु विवेक र सद्‌गुणहरू जसले मानिसको साँचो स्वरूपलाई देखाउन सक्ने हो त्यसमा जति प्रगति देखिनु पर्ने हो देखिन सकेको छैन। त्यसकै अभावमा विश्वमा आज मानिसदेखि मानिस डराउनु पर्ने, एउटा धर्मदेखि अर्को धर्म डराउनु पर्ने, एउटा राष्ट्रदेखि अर्को राष्ट्र त्रसित हुनु पर्ने अवस्थाको सूत्रपात हुँदा पनि तैचुप मैचुपको स्थिति उत्ताउलिदै छ।यस स्थितिमा सबैले आस्था प्रकट गर्ने कुनै यस्तो जीवन्त केन्द्र छैन जसको अगुवाइमा देखिदैगएको र बढ्दैगएको नकारात्मकतालाई समन गर्न कारगर रक्षाकवच प्रदान गर्न सकोस् र त्यसलाई सबैले साथ दिन सकून्।
विगतलाई कोट्टयाउँदा विवेक एवं सद्‌गुणहरूको निरन्तरताको लागि केही अपवादलाई छोडेर धर्मले अनुशासनको काम गरिरहेको थियो। अहिले त्यो कमजोर बन्दै गएको एवं धर्म भनेको बाहिरी आडम्बर र अधिकांशत: कर्मकाण्डीय पध्दतिमा नै सीमित बन्न पुग्दा यो केवल औपचारिकतामा, सतहमा अल्मलिन पुगेको छ भन्दा अतिसयोक्ति हुँदैन। गरिबी, अशिक्षा एवं दरिद्रताको फाइदा लिएर विचारमा रूपान्तरण होइन, अशान्तिबाट शान्तिमा परिवर्तन होइन, दु:खबाट सुखमा पु-याउने होइन, अन्ध्यारोबाट उज्यालोमा पु-याउने होइन कि धर्मान्तरणद्वारा धर्मको प्राप्ति हुन्छ भन्ने मनोदशामा विश्वका ठूला मानिने धर्महरू एक महादेशबाट अर्को महादेश, एक राष्ट्रबाट अर्को राष्ट्रमा छलाङ मारिरहेको अवस्थाले विचलन ल्याइरहेको र यही मनस्थितिले कतिपय हदसम्म राजनीतिसमेत परिचालित हुँदा विश्वको नक्सामा फेरबदल ल्याएको इतिहासलाई बिर्सिहाल्नु हुने अवस्था छैन।   
मानिसलाई बाह्य प्रकृति एवं स्वयं आफ्नो साथ सम्झौता गर्नै पर्छ यदि बाँच्न चाहाने हो भने। किनभने जीवनयात्राको यही एउटा शर्त हो। सबै धर्म, सबै राजनीतिक वादले भन्ने गर्छन् कि मानवताको सम्वर्ध्दन एवं प्रवर्ध्दन नै उनीहरूको लक्ष्य हो। यसो हुँदाहुँदै पनि राजनीतिमा लाग्ने नेताहरूको लहै-लहैमा मानवतालाई संकुचनमा लग्ने प्रयास विश्वका हरेक कुनामा हरदम भइरहेको नै देख्न पाइन्छ। कहिले धर्मको नाउँमा, कहिले रङ्ग र जातिको नाउँमा, कहिले भाषा र झण्डाको नाउँमा। तथापि मानवतालाई नजोगाइ विश्वको कल्याण सम्भवै छैन। आजको आवश्यकता के रहेको देखिन्छ भने मानवतालाई साँचो रूपमा बुझेर उदारतापूर्वक आफ्नो मन, मस्तिष्क र हृदयलाई तयारी गर्दै अनेकौँ विभाजन, तीक्तता र कटुताको बीचबाट पनि एक नवीन एकताको लागि हरसम्भव प्रयत्न गर्दै आ-आफ्नो दृष्टिकोणमा उदारता, शालीनता, भद्रता, सौम्यताजस्ता मानवीय गुणहरू के गरेर ल्याउन सकिन्छ भन्ने तर्फ उन्मुख हुन सकेमा नै जीवनको हरेक पक्षमा विजय सम्भव छ अन्यथा समयले बिट मारेर गएको पत्तै नहुन सक्छ। पद, प्रतिष्ठा, धन,सम्पत्तिको उन्मादको आत्मरति धेरै समय टिक्दैन यो ध्रुवसत्य कुरा हो। यसैले समयमै सत्यको खोजीको भोक जगाएर जहाँ रहे पनि जहाँ बसे पनि मानवताको लागि जीवन न्यौछावर गर्ने मार्गको अवलम्बन नै सर्वोत्कृष्टताको कसी हुन सक्छ भन्नेमा दुइमत नहोला।
                                          ****************  

Saturday, March 10, 2012

अध्यात्ममा भौतिक चमत्कारको के अर्थ ?



                                                     
               धर्म-अध्यात्मको क्षेत्रमा चमत्कारको के अर्थ हुन्छ? कतिपय मानिसको जिज्ञासा रहेको पाउँछु म। हुन पनि हो कति जना धार्मिक, आध्यात्मिक क्षेत्रका व्यक्तिहरूको नाम यही चमत्कारको कारणले हल्लाखल्ला भइरहेको हुन्छ र यसैले मानिसको भीडभाड भइरहेको हुन्छ। उहाँ त जमीनमाथि दुई फिटजति उठ्न सक्नु हुन्छ रे, उहाँ त हातबाट हेर्दाहेर्दै विभुति निकाल्नु हुन्छ रे, उहाँ त अझ कहाँ घडी-औँठी निकालेर भक्तजनलाई बाँडनु हुन्छ रे। उहाँले त देवीसँग साक्षात् कुरा गर्नुहुन्थ्यो रे। यसरी रे-रे को भरमा चमत्कारले अध्यात्ममा प्रवेश पाउँदै गयो। अध्यात्ममा चाहिने मूल विषयहरू – दया, माया, करुणा, अहिंसा, त्याग, न्याय, सद्भाव, आत्मीयता, अनुशासन, सौहार्दता, समरसता, मैत्री, उदारता आदि विषयहरू ओझेलमा पर्दै गए। त्यसको विपरीत कुनै साधु-सन्तको वा यस्तै चमत्कार गर्न सक्ने कुनै चमत्कारी व्यक्तिको पछि लाग्यो भने धन, सम्पत्ति, पद, प्रतिष्ठालगायत चाहेको कुराहरू पाइन्छ भन्ने आसमा दगुर्नेहरूको जमात बढ्दै गयो। यस्तो स्थिति आएको धेरै भएको छैन। करिव-करिव यस्तो अवस्था आएको विभिन्न योगी, ध्यानी, साधु, महात्मा, अघोरी आदिको परिचय दिने पुस्तकहरूको प्रकाशन सहज भएपछि हुन थालेको हो भन्दा हुन्छ। यसरी हेर्दा डेढसय वर्ष पनि भएको छैन भने हुन्छ। यस्ता पुस्तकहरूले चमत्कारलाई नै प्राथमिकता दिएर लेखे र मानिसहरूको मनमा पनि पर्न थाल्यो कि साधु-सन्त भन्नेले चमत्कार जान्नै पर्छ, चमत्कार गर्नै पर्छ जस्तो सम्झिने प्रवृत्ति बढ्यो। उनीहरूको व्यावसायिकता कमैले बुझे। फलत: साधुको लक्षण भनेको परसेवा, सरलता, असल व्यक्ति भन्ने भाव नै समेत पनि मानिसले बुझ्न छोडे र साधु-सन्त, महात्माको विशेषता विलुप्त बन्न पुग्यो। महात्माको गुण महानता हो भन्ने हरायो त्यसको ठाउँ लियो दाह्रि, जुङ्गा, तिलक, चन्दन, चटक-मटक र आलिसान कुटी र आश्रमहरूले। यी बाहिरी विषय हुन् यसको अध्यात्ममा कुनै स्थान छैन भन्ने कुरालाई मानिसले हेक्कासमेत राख्न बिर्सिदिए भने हुन्छ। अध्यात्ममा लाग्ने वा अध्यात्ममा पहुँच भएको व्यक्ति भनेको सादा जीवन, उच्च विचार, ज्ञान र सद्गुणले भरिएको अर्काको भलाइ, परोपकार र सेवामा निस्वार्थपूर्ण जीवन व्यतीत गरेको सात्विक प्रवृत्तिले ओतप्रोत भएको व्यक्ति भन्ने मानिसले बिर्सदै जान थाले।  अहिले त आश्रम भन्यो कि सौदागिरि हुने एक किसिमको खुला पसलजस्तो बन्न पुगेको छ। भविष्यमा आश्रमहरू पनि होटेलजस्तो तारावाल हुन बेर छैन। यसलाई विडम्बनै भन्नुपर्छ।
             अध्यात्म र भौतिक चमत्कारबीच कुनै किसिमको नाता छैन। यदि कनिकुथी कुनै नाता लगाउन थालियो भने अध्यात्ममा दाग लाग्न जान्छ त्यो फेरि यस्तो दाग हुनेछ जुन कालो धव्वा हुने भएकोले मेटेर मेटिने छैन। धर्मलाई त संस्कृति-विकृतिको जामा पहि-याएर बेअर्थको तुल्याउन नित्यनिरन्तर प्रयत्नहरू भइरहेकै छ र धर्म भन्नासाथ आजका नवयुवकहरू हुन् कि प्रौढ व्यक्तिहरू नै किन नहून् नाक खुम्चाएर हिँडने अवस्थामा पुगिसके। धर्म भनेको कर्मकाण्डले भरिएको संस्कार र परम्पराको नाउँमा संवेदनहीन भएर गरिने कुनै पनि क्रियाकलापलाई नाम दिन थालिएको नाजुक अवस्था छ। धर्म भनेको मानिसको असल जीवनशैली हो, सुकर्ममय जीवन हो, निस्वार्थतामा रम्ने जीवन हो, परसेवामय, त्यागमय जीवन हो भन्ने कुरा मानिसले बिर्सदै जान थालेको र केही रीतिरिवाज अब धर्मको रूपमा परिभाषित हुँदै जान थालेको स्थितिलाई तपाईँहरू कसरी हेरिरहनुभएको छ मलाई थाहा छैन तर यो ग्रहणीयभन्दा अग्रहणीय र नितान्त भिन्न रूपमा देखिँदो छ।मानिसलाई भ्रान्ति र अन्धकारमा डो-याइरहेको जस्तो यावत् क्रियाकलापहरूबाट देखिँदो छ।जेसुकै कर्म गर तर भगवान्‌को नाम लेऊ वा कुनै कर्मकाण्ड गरिदेऊ सब ठीक हुन्छ भन्ने विल्कुलै गलत धारणा समाजमा पल्पिदो छ। यो त मुखमा राम-राम बगलीमा छुरा जस्तो भएन र? केही दिन अघिको कुरा हो म एउटा पसलमा घरायशी कुनै सामान किन्न बिहानै पुगेँ। मुख्य साहुजी आएका रहेनछन्। उनको श्रीमतीले भन्नुस् के सामान चाहियो भनिन्। उनी यति व्यस्त देखिन्थिन् कि उनी कुनै कापीमा हतार-हतार केही लेख्दै पनि थिइन्, ग्राहकसँग कुरा गर्दै पनि थिइन्। मलाई लाग्यो कुनै जरुरी हिसाब-किताब गरेको होला। म पनि हतारमा भएकोले उनलाई अलि चाँडो सामान दिन अनुरोध गरेँ। उनी कापी लिए मेरै अघिल्तिरको डेस्कमा आइपुगिन्। के लेख्दै रहिछिन् भनेर यसो हेरेको त एउटा कापीमा रामनाम हतार-हतारमा लेख्दै रहिछिन् भन्ने थाहा भयो। त्यसैको एकछिन पछि उनको श्रीमान् आइपुगे।उनी पसलमा यसो ढोग्दै त्यही कापी समात्न पुगे र हतार-हतार रामनाम लेख्दै पनि छन् कारोबारको कुराकानी गर्न पनि भ्याउँदै छन्।मैले सोधे ओहो तपाईँहरू त पसलमा बस्दा पनि धर्म-कर्ममै हुनहुन्छ। उनले दङ्ग परेर भने के गर्नु अरू बेला सम्झनै पाइन्न त्यसैले यति नाम लेख्यो भने त पुण्य पाइन्छ भनेर गुरुजीले भन्नुभएको छ त्यसैले यो रामनाम लेख्ने काम गर्दै छौँ। मलाई लाग्यो यस्तो धर्मात्मा साहुजीबाट ठगिनु पर्दैन होला।आफूलाई चाहिएको डोरक्लोजर किनेर फर्केँ। मनमा कुन्नि के लाग्यो, जुन सामान मैले किनेको थिएँ त्यही सामान नजिकैको अर्को पसलमा कति पर्ने रहेछ भनेर सोध्दा झण्डै पन्ध्र प्रतिशत सस्तो पर्ने थाहा  पाएँ। यस्तो प्रवृत्तिलाई के भन्ने? रामनामको लेखाइको के अर्थ रह्यो! यही स्थिति धर्मको नाममा जताततै पलपिदो छ।
धर्मलाई यस्तो विकृत रूपमा पु-याउन यसका तथाकथित मार्गदर्शकहरू, धर्मका ठेक्का लिएका ठेकदारहरूको हात छ भन्नुमा कुनै आपत्ति छैन। साथै धर्मको नाउँमा आफ्नो राज जमाउन चाहनेहरूको हात छ चाहे ती शासनसत्तामा आसीन हुन् वा मठाधीशहरू हुन्। आफ्नो स्वार्थसिध्दिको लागि धर्मको अपव्याख्या गरेरै भए पनि भरपूर दुरुपयोग गरे। विचरा सर्वसामान्यहरूले त ठूलाले सिकाएकै अनुसार गर्ने हुन्। उनीहरूको के हैसियत कि यसलाई बिरूप बनाउनमा! अब चाहिँ जाग्ने बेला आएको छ मानवत्वलाई बचाउने हो भने, मनुष्यत्वलाई उजागर तुल्याउने हो भने, प्राणीमात्रको हित-कल्याण चाहने हो भने। धर्म-अध्यात्मको साँचो स्वरूपलाई अघि बढाएर विश्वब्रह्माण्डलाई अध्यात्ममय तुल्याउन सक्यौँ भने विश्वको अनुहारै शान्ति, समुन्नति र सुख-समृध्दिले देदीप्यमान हुने छ। यो सजिलो छैन तर गाह्रो पनि छैन। अरूले साथसहयोग देलान् र? भनेर सोच्नुभन्दा स्वयं तपाईँ यसमा कत्तिको सहयोगी हुन सक्नु हुन्छ त्यो महत्त्वपूर्ण कुरा छ। तपाईँ एक जना रूपान्तरित भइदिनोस् सारा विश्वलाई अहिलेको स्थितिभन्दा भिन्न रूपमा रूपान्तरण गर्न सकिनेछ। नकारात्मक प्रवृत्तिबाट सकारात्मकतातिर र धर्मान्धता, रुढिबुढी, अन्धविश्वासबाट साँचो धर्म-अध्यात्मतिर मात्रै पनि फर्किन सहयोग गरिदिने हो भने विश्वमा चमत्कार देखाउन गाह्रो पर्ने छैन। हामीले खोजेको चमत्कार भौतिकताको नभई अन्तरहृदयको छ। भौतिक वस्तुको चमत्कार त दिन दुई गुना रात चौगुना हुँदै जान्छ त्यसमा कुनै शङ्कै छैन। किनभने मानिसले आफ्नो लक्ष्य धन-सम्पत्तिको प्राप्ति सम्झिएकोले त्यसको लागि हरेकले परिश्रम गरिरहेकै छ र संसारमा सारा वस्तुहरू छन् मात्र तिनको संयोजनको जरुरी हो त्यसैले नयाँ-नयाँ आविष्कारहरू रातारात चमत्कार भएको जस्तो भइरहेको छ। कुनै दिन मानिसले घरबाहिरै या कार्यालयमै बसेर घरमा खानेकुरा पकाएको, झ्यालढोका लगाएको, लुगा धोएको, बत्ती निभाएको, मोटरलाई बाहिर निकालेको कुरा कुनै दन्त्यकथा होइन यथार्थतामा परिणत भएको सुनिए कुनै नवीन विषय हुने छैन। यस्ता चमत्कारले गर्दा धार्मिक-आध्यात्मिक क्षेत्रको सानो-तिनो भौतिक चमत्कारको के भाउ? यसो हो तापनि सर्वसामान्यलाई ती सारा कुरा थाहा नहुने भएकोले स-साना चमत्कारका कुराले अल्मल्याउने प्रवृत्ति पहिलेभन्दा झन बढ्ने छ त्यसमा कुनै शङ्का छैन।
साँचो आध्यात्मिक व्यक्ति कहिल्यै पनि अध्यात्ममा भौतिक चमत्कारको पछि लाग्दैन। यदि कुनै व्यक्ति अध्यात्ममा पनि विश्वास गर्छु र जादु, टुना, मोहनी, तन्त्र-मन्त्र, मारण, मोहन तथा चमत्कारको पछि पनि त्यत्तिकै लाग्छु भन्छ भने उसले न धर्मलाई बुझ्न सकेको छ न अध्यात्मलाई।वाह्य चमत्कारको होइन आन्तरिक चमत्कार जीवनमा के घटन सकेको छ त्यसको नै महत्त्व हुन्छ। अरू कुरा त सामान्य हो आउँछ, जान्छ। जीवनमा जब आन्तरिक चमत्कार हुन थाल्छ तब बोध हुन थाल्छ, अध्यात्मको चेतना व्यूझिन थाल्छ, दया, माया, करुणा, अहिंसा, अनुशासन, आत्मसंयम जाग्न थाल्छ। भनौँ जीवनको सौन्दर्यको अनुभव हुन थाल्छ।
                                   *******************