Tuesday, May 3, 2011

आमाप्रति आदर-सम्मान गर्ने दिन


               
नेपाली संस्कृतिमा विभिन्न चाँडपर्वहरू पर्छन् जुन जीवनको लागि साँच्चै नै उत्साह, ऊर्जा र प्रोत्साहन दिन समर्थ छन् भन्दा कुनै अत्युक्ति हुँदैन। वैशाखकृष्ण अमावश्यामा पर्ने औँसीलाई नेपाली संस्कृतिमा आमाको मुख हेर्ने दिन मानिन्छ । कसै-कसैले यसलाइ मातृऔंसी, मातृदिवस, मातातीर्थ औंसी आदि पनि भनेर पुकार्छन्।वि.सं. २०६८ सालको आमाको मुख हेर्ने पर्व आज वैशाख २० गते परेको छ।आमाको गुणगान के गरेर गाउन सकिएला! किनभने उनी वात्सल्यकी प्रतिमूर्ति नै हुन्। उनी केवल जन्ममात्रै दिन्नन्, हुर्काउँछिन, बढाउँछिन्, सिकाउँछिन, सधाउँछिन् र योग्य बनाउन भरमग्दूर प्रयत्न गर्छिन।आफ्नो सन्तानको भविष्यको लागि उनी सदैव चिन्तित हुन्छिन्। आफू नखाएर सन्तानलाई खुवाउँछिन्। आफू दु:खमा रमेर सन्तानसुखको लागि मरिमेटन तयार हुन्छिन्। उनी विशाल, विराट हृदयकी खानी हुन्। होलान कुनै आमा यस विपरीतका तर आमाको स्वभावै हो कि सन्तानप्रतिको वात्सल्य र प्रेम।
आमा-बाबु वास्तवमा जीवित देवीदेवता हुन्। आमा-बाबुको जसले भक्तिपूर्वक सेवासुश्रुषा गर्छ उसले वास्तवमा देविदेवताकै पूजा गरेको हो भने हुन्छ। वर्षको एक दिन आमाको मुख हेर्दैमा पुग्दैन। आमा त सन्तानबाट माया, प्रेम र आत्मीयता चाहन्छिन। यस दिन टाढा गएका छोराछोरीहरू पनि आएर आमाको मुख हेर्न जाने चलन नेपालमा छ। यो खास गरी हिन्दु धर्मावलम्बी नेपाली त्यसमा पनि पहाड, उपत्यका र तराइका कुनै जातजातिविशेषमा ज्यादा पाइन्छ। आमाको ढोगभेट गरी आ-आफ्नो गच्छेअनुसारका खाद्यपदार्थ आमालाई खुवाउने तथा नयाँ-नयाँ लुगा आमालाई अर्पण गरिन्छ। आमा जननी हुन्। नौ महिनासम्म शिशुलाई गर्भमा धारण गरेर, गर्भको बच्चालाई केही नहोस् भनी सतर्क र हेरचाहमा पूर्ण ध्यान दिएर, बच्चाको जन्मपश्चात् पनि स्याहार-सुसार गरेर हुर्काउने, बढाउने र पढाउने पहिलो शिक्षिका भनौँ कि गुरुआमा उनी आमै हुन्।
 
आमा जगद्धात्री या जगज्जननीको साक्षात् स्वरूप हुन् भनिदिए हुन्छ आमाको महिमा अपार र अपरम्पार, जति गाए पनि, जति लेखे पनि, जति बोले पनि सकिँदैन । आमाको निस्वार्थ ममता, त्याग, तपस्या, समर्पण,  उपकार र वात्सल्यबाट नै जो कोही समर्थवान बन्न पुगेको छ । आमाले आफ्नो सन्तानको लागि जे गरेकी हुन्छिन् त्यसको ऋणबाट कोही उऋण हुन सक्तै-सक्तैन। दूधको भारा कहिले तिरेर तिरी सक्ने? वास्तवमा यो सम्भवै छैन।वर्षको एक पटक होइन आमालाई जीवनभर हृदयमा राखेर उनीप्रति आभार प्रकट गर्न सके उनी प्रफुल्ल हुन्छिन्। उनले के खोज्छिन र? सन्तानहरूबाट मात्र माया, आदर र प्रेम न हो? तर यत्ति पनि दिन नसक्ने कैयन् कुलङ्घार सन्तान पनि हुन्छन्। आफूलाई जन्म दिने आमालाई घरबाट निकाल्ने, वृध्दाश्रममा राख्ने, खानपिनको समेत वास्ता नगर्ने, दुत्कार्ने कैयन् सन्तानहरू संसारमा होलान्। यस्ता व्यक्तिहरूले गम्भीर भएर सोच्नु जरुरी छ कि के उनीहरू आमा-बाबु बन्दैनन्? उनीहरूका सन्तानले पनि आफूले आफ्ना आमा-बाबुलाई गरेजस्तै दुर्व्यवहार गरे भने के होला? यसरी सोच्न सकेमा मात्र सन्ततिहरूबाट आमा-बुबा प्रताडित हुँदैनन्। अन्यथा जन्म दिने आमाहरू सन्तानकै दुर्ववहारको कारण रुनु परेमा कस्तो अवस्था होला विचार गरौँ।  
    
आमाको मुख हेर्ने दिन आफ्ना आमा हुनेहरू आमालाई मन पर्ने भोजन ख्वाएर एवं उपहारहरू दिएर यो पर्व मनाउँछन् । आमा नहुनेहरू भने यस दिन जलाशय वा पवित्र स्थलमा स्नान गर्छन् र मठ, मन्दिरको दर्शन-पूजन गर्न जान्छन्।  काठमाडौंमा चाहिँ मत्स्यगाउँको पश्चिमतर्फ रहेको मातातीर्थ कुण्डमा कपाल मुण्डन एवं स्नानशुद्धिपश्चात् आफ्नी आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् छोराहरूलेछोरीहरूचाहिँ त्यहाँ भएको कुण्डमा  स्नान गर्छन्। यो भनाइ छ कि यदि यस दिन सच्चा हृदयले शुद्ध भएर कुण्डमा हेरेको खण्डमा आफ्नी मृत आमाको अनुहार देख्न पनि सकिन्छ।देहावसान भएकी आमाको मुख हेर्न लालायित हुनुभन्दा बाचुञ्जेल आमाको श्रध्दा-भक्तिपूर्वक सेवा, सुश्रूषा गर्नु कता हो कता पुण्यमय यज्ञ हो।आज जसले यो यज्ञ गर्छ उसको सन्ततीले उसलाई त्यसैगरी श्रध्दा-भक्तिपूर्वक सेवासुश्रूषा गर्छन्। आमा-बाबुको सेवा नगर्ने अनि आफ्नो छोराछोरीले चाहिँ गरून् भन्ने चाहना राख्ने हो भने त्यो कदापि सम्भव हुँदैन। 

आमा माता हुन्, , जननी हुन्, , महतारी हुन्। कुनै दुःख-कष्ट आइपर्दा पहिले हे आमा ! भन्ने शव्द नै पुकार्दछौँ।  आफ्नै अङ्गको कुनै ठाउँमा चोट लाग्यो वा ठेस लाग्यो भने पनि 'ऐया आमा !' शब्द निकाल्न पुग्छौं । यसरी आमा जीवनको हरेक क्षणमा हामीसँग हुन्छिन्। जन्म दिने आमा र जन्म प्राप्त गरेको देश स्वर्गभन्दा पनि ठूलो हुन्छिन्। मर्यादापुरुषोत्तम भगवान् रामले आफ्ना भाइ लक्ष्मणलाई आफ्नो देशको महत्त्वगान गर्ने क्रममा भनेको प्रसङ्ग अति प्रसिध्द छ- जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी अर्थात् आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूली छिन्।

आमाको उदारतासम्बन्धी एउटा कथा अति नै प्रसिध्द छ- कुनै गाउँमा एक जना व्यक्ति थिए। पहिले ऊ गरिब परिबारको भए पनि उसको पढाइ-लेखाइ एवं सीपको कारण पछि निकै धनाढ्य बन्न पुग्यो। उमेर पुगेपछि उसले विवाह ग-यो। सन्तानहरू जन्मे। ऊ गाउँ छोडेर सहरको सम्पन्नतामा रमाउन पुग्यो। एक दिन आमाको मनमा लाग्यो कि धेरै भयो छोरासँग भेटघाट भएको छैन। भेट्न जानु प-यो भनी दु:खसुख गरी बल्ल सहरमा पुगिन्। सहरको घर बल्ल-बल्ल पत्ता लगाइन। घरमा पुग्दा नातिनातिना भइसकेका रहेछन्। नातिनातिनाले ढोकैबाट किन आएको? कसलाई खोजेको जस्तो प्रश्नमाथि प्रश्न गर्न सुरु गरे। उनी अलमल्ल परिन्। उनको एउटामात्रै आँखा थियो। अब त नातिनातिना जिस्क्याउँदै एकआँखे बूढी यहाँबाट गइहाल भन्न थाले। त्यत्तिकैमा केही बेरपछि छोरो पनि आइपुग्यो। धेरै वर्षपछिको भेट भए पनि आमाले चिनिहालिन आफ्नो छोरा। अँगालोमा बाँध्न चाहन्थिन् उनी तर छोराले भन्न थाल्यो कि खबरै नगरी कसले आउनुभनेको थियो? तिमी अहिले नै गइहाल भनेर ढोकाबाटै घचेट्न थाल्यो। त्यत्तिकैमा बुहारी, नाति सबै मिलेर एकआँखे बूढी गइहाल भनी घोक्र्याइदिए। वर्षौपश्चात् आएकी आमालाई पनि स्वीकार गर्न सकेनन् उनीहरूले। आमा त हुन् पृथ्वीजस्ती सबै सहन सक्ने क्षमता उनीमा हुन्छ। आमा त गइन तर त्यस प्रकारको हरकत आफूले गरेकोले छोराको मन एक किसिमले उद्ववेलित भयो।
अरू आमाजस्तै उनी आफ्नो छोरालाई असाध्यै माया गर्थिन् ।सहरको नयाँ परिवेशमा कहाँ बस्ने, कहाँ खाने चिन्ता उनलाई भयो तर संयोग नै भन्नुपर्छ कि उनलाई चिन्ने एक जना बालसङ्गाति भेट भयो र उनैले घरमा लिएर गइन्। छोरालाई पछुतो लागि नै रहेको थियो कि उसले आमाप्रति गरेको अरकतले पछुतो लागि नै रहेको थियो। उसले यता उता आमालाई खोज्यो र पत्ता लगायो र आफूले गरेको गल्तीमा क्षमा माग्ने विचारले पुग्यो।तर त्यहाँ पुग्दा आमाको देहवसान भइसकेको रहेछ। ऊ आफूले गरेको कार्यप्रति पछुताउन थाल्यो। लासको नजिकै एक पत्र पनि छोडेको रहेछ। उसले खोलेर हे-यो। त्यहाँ लेखिएको रहेछ- प्यारो छोरा लामो समयपछि तिमीलाई भेट्न आएकी थिए। तिमीलाई सोधेर आउन सकिनँ। मैले गल्ती गरे। मैले मेरो त्यही छोरा सम्झेको थिए जुन बेला तिमी ज्यादै मलाई माया गर्थ्यौँ। मविना तिमी एकछिन बस्न सक्तैन्थ्यौँ।तिम्रा छोरा-छोरीले मलाई एकआँखे भनी गिजाए। मलाई त्यही कारणले सायद मन नपराएका होलान्। तिमीलाई थाहा थिएन होला बाबु कि तिमी एक दिन ठूलो दुर्घटनामा प-यौँ। तिम्रो एक आँखा गुम्यो। म कसरी तिमीलाई एक आँखा नभएको भनी दाग लागेको देख्न चाहान्थे। त्यही देख्न नचाहेर मैले आफ्नो एक आँखा तिमीलाई दिएँ। मेरो प्यारो छोरा तिमी पहिलेजस्तै सवुद भयौँ। म त आखिर डाँडापारीको घाम थिएँ। मैले एकआँखे हुन स्वीकारे।तिम्रो खुसी नै मेरो खुसी थियो। तिम्रो र तिम्रो परिवार एवं सन्ततिको भलो होस्, तिम्रो सुस्वास्थ्य र उत्तरोत्तर उन्नतिको कामना गर्दछु। तिम्रो एकआँखे मन नपरेकी आमा भनी पत्र टुङ्ग्याइएको थियो। त्यस पत्रले छोरोको आँखा खुल्यो तर के गर्ने? अबेला भइसकेको थियो आमाप्रति आदर दर्शाउन।यस कथाले आमा कस्ती हुन्छिन र सन्तान कस्तासम्म हुन सक्छन् भन्ने देखाउँछ।संस्कृतमा एउटा प्रसिध्द उक्ति छ आमाको सन्दर्भमा - 'कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति' अर्थात् सन्तान कुपुत्र हुन सक्छ तर आमा कहिल्यै कुमाता हुन सक्दिनन्।आजको दिन आमाबाट आशीर्वाद लिन कोही चुक्न हुँदैन। आमा जननी हुन्, आमा वात्सल्यकी प्रतिमूर्ति हुन्, आमा पृथ्वीजस्तै सहनशील महतारी हुन्।