Sunday, March 27, 2011

समस्याभित्रै हुन्छ समाधान



                                                                                 

मानिसहरू कति यस्ता हुन्छन् कि समस्याको जञ्जालमा फसिन्छ कि भन्ने सम्भावित कारणले कतिपय राम्रा-राम्रा अवसरहरू प्राप्त हुँदा पनि त्यसलाई अजमाउनपट्टि नलागी त्यसबाट भाग्ने प्रवृत्तिले ग्रस्त हुन्छन् जसको कारण उनीहरूको लागि मानौँ अवसरहरू फेरि कहिल्यै पनि आउँदैन कि जस्तो भइदिएको हुन्छ। किनभने प्रत्येक पटक उनीहरू समस्यामा पो अल्झिने हो कि भनी डराएका हुन्छन्, अत्तालिएका हुन्छन्। समस्या नभएको, समस्या नआउने भनी पहिले नै थाहा पाइएको कुनै काम हुन्छ र? यसो हो ता पनि यो गूढ कुरा कत्तिले बुझ्नै पाएका हुँदैनन्।यसैले गर्दा समस्याविनाको अवसरको खोजीमा धेरै मानिसहरू भौतारिरहेका हुन्छन्। जस्तोसुकै समस्या आओस् त्यससँग म जुध्न तयार छु, सामना गर्न तत्पर छु, चुनौतीलाई आत्मसात् गर्न अघि सर्छु  भनी सम्झने हो भने अवसरहरू परिचय नदिई आउँदा पनि अवसरलाई सजिलै छोप्न सकिन्छ।अवसरले कसैलाई खोजेर हिँड्दैन ब्यक्तिले नै चिन्न सक्नुपर्छ। धेरैजसो मानिसको स्वभाव कस्तो हुन्छ भने कुनै अवसर अघिल्तिर आएको छ भने पनि तात्कालिक फाइदालाई हेरेर अस्वीकार गरिदिने बानी परिसकेको हुन्छ। वर्तमानमा आएको अवसरलाई छोपेर त्यसलाई इमान्दारीपूर्वक, जिम्मेवार ढङ्गले सम्पन्न गर्नेतिर लाग्दै जाने हो भने यो निश्चित छ कि भविष्यमा त्यसैले उसलाई पद,प्रतिष्ठा, सम्पत्ति दिलाउन सक्छ वा चाहेको कुरा उपलब्ध गराउन मद्दत गर्न सक्छ तर दूरदृष्टिको कमीका कारण मानिस त्यसलाई बुझ्नै सकिरहेका हुँदैनन्।
कुनै पनि समाजमा अवसरहरू यत्तिविधि छन् कि त्यसलाई खै के भन्ने! चिन्नु पर्नेले नचिनेपछि के लाग्छ? हिजोआज कतिपय, अविकसित एवं अल्प विकसित मुलुकहरूबाट कामको खोजीको सिलसिलामा सात समुद्रपारिका देशहरूमा आफ्नो भएको घरबार, परिवार, कुलकुटुम्ब, समाज एवं देशैलाई छोडेर अनेक किसिमको दु:ख-कष्ट झेल्दै कमाउने नाममा ज्यानै फालेर हिँडेको अवस्था के त्यही अवसरलाई चिन्न नसकेर आएको होइन? आफ्नो थातथलीमा पाइला-पाइलामा असर्फी र हीराका टुक्राहरू छरिएका छन्, यत्रतत्र अवसरै-अवसर छन् तर त्यसलाई अजमाउनेपट्टि थोरै व्यक्तिहरू मात्र लाग्छन्।अरू त अवसरको खोजीमा भौतारिँदा-भौतारिँदै आधा जीवन या पूरै जीवन समाप्त गर्न पुग्छन्। विदेश जानेले पनि त्यत्तिखेर बुझ्छ कि जब समय ढल्किसकेको हुन्छ वा थातथलीमा रहेको आफ्ना कुनै साथी-सङ्गीले उन्नति गरेर चकाचौध गरेको सुनेपछि वा बुझेपछि झल्यास्स हुन पुग्छ कि उसको जीवन व्यर्थैमा बित्यो भन्ने कुरा।
ईश्वरले भन्नु होस् कि प्रकृतिले, जेसुकै भन्नु होस् मानिस अति  भाग्यमानी छ कि पृथ्वीमा जताततै रत्नका खानी, खनिजका खानी, इन्धनको खानी, पानीको स्रोत र अन्यान्य कैयन् किसिमका किमति र अमूल्य भण्डारले भरिदिनुभएको छ। तिनको प्रयोग मानिसबाहेक अरूले गर्न सक्ने अवस्था छैन। त्यसको लागि चाहिने ज्ञान, परखशक्ति र उपयोग मानिसले मात्र गर्न सक्छ। यति हुँदा पनि मानिस ईश्वरलाई गाली गर्न, आफ्नो भाग्यलाई दुत्कार्न पछि पर्दैन कस्तो विडम्वना! किस्मतलाई विश्वासै नगर्ने नराम्रो बानीले मानिसलाई यसरी गाँजेको छ कि खै के भन्ने यथार्थ सत्यलाई पनि ऊ दुत्कारिरहेको हुन्छ।
अल्छी र नकारात्मक सोचाइ भएको ब्यक्तिले जताजतै समस्याको खातैखातमात्र देख्दछ जब कि पौरखी र सकारात्मक सोचाइ भएको ब्यक्तिले समस्याभित्र पनि समाधानको सूत्र फेला पार्दछ।समस्यासँग डराउनु पर्ने कुनै कारणै छैन किनभने हरेक समस्याको गहिराइमा समाधान हुन्छ, हुन्छ। यसो भनेर जे पायो त्यही गरेर हिँड्न वा जे पायो त्यही गर्न छुट रहेछ भन्ने सम्झनुचाहीँ ठूलो गल्ती हुने छ।समस्याभित्रको समाधानलाई पहिल्याउन नसक्दा मानिस अनेक थरी सङ्कटमा फस्न पुग्छ।आफूले समाधान दिन सक्ने कुरालाई आफैमाथि विश्वास नभएर ऊ पराइको खोजीमा हुन्छ। यसलाई विडम्बना नभनेर के भन्ने? यो व्यक्ति, सङ्घसंस्था, राजनीतिक पार्टी, राष्ट्र-राष्ट्रबीच सर्वत्र व्यापक छ भनिदिए हुन्छ।
संसारमा व्यक्ति-व्यक्तिबीच, सङ्घसंस्थाबीच, पार्टी-पार्टीबीच, राष्ट्र-राष्ट्रबीच अनेकौँ पेचिला देखिने समस्या हुन सक्छन्। यस्तो हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहने छ त्यसमा कत्ति शङ्का छैन। तर जिम्मेवार भएर संवाद, वार्ता, छलफल गर्ने हो भने कुनै यस्ता समस्या हुँदैनन् जसको समाधान नहोस्! राजनैतिक, सामाजिक, धार्मिक, आर्थिक आदि जे-जस्ता विषयका पेचिला समस्या किन नहुन् तिनको कहीँ न कहीँ मिलनबिन्दु हुन्छ। समस्यालाई चर्काएर राख्नुभन्दा समयमै मिलनबिन्दुको खोजी गरी समाधानको बाटो पहिल्याउनु बुध्दिमत्तापूर्ण सही कदम हुन्छ।
अवसर भनेको प्रकारान्तरले समयलाई चिन्नु भन्ने पनि हुन्छ। समय बहुमूल्य छ। समयलाई कुनै हालतमा खेर फ्याल्नु हुँदैन। समयलाई सहीरूपले पहिचान गरी उपयोग गर्न जानेनौँ भने पछुताउनुबाहेक केही हात लाग्दैन।बितेको समय गयो, गयो फर्केर आउँदैन।
अवसरलाई कुरेर बस्नेहरू भौतिक उत्कर्षको बाटोलाई मात्र अवसर सम्झेर भूलभुलैयामा अल्मलिरहेका हुन्छन्। साच्चै भन्ने हो भने भौतिक उत्कर्षमात्र विजय होइन न मानिसको जीवनको लक्ष्य नै। अवसर त आफूमाथि आफैलाई जित्नुमा छ। दुर्गुण, कुलत, लालसा, ईर्ष्या, लोभ, अहंता, हिंसामाथि विजय हासिल गर्नुमा हुन्छ। भोगवासना तथा कामवासनाहरूको वशीभूत कतै हुनु छैन।तिनीहरूलाई पूर्ण निग्रहमा राखी सधैँ एउटा उच्च आदर्शलाई अगाडि राखेर निष्ठा, आस्था एवं इमान्दारीसाथ निरन्तर अग्रसर हुन सकियो भने एक दिन निश्चय नै लक्ष प्राप्त हुन्छ त्यो नै वास्तविक विजय हो।
मानिसमा गल्ती कहाँनिर हुन्छ भने समस्या आउँदा त्यो कसरी, किन आयो भन्नेतिर वा त्यसैभित्र समाधान छँदै छ भन्ने कुरामा नलागी अन्यत्र वाह्य कुरा, जहाँ समाधानको किञ्चित पनि सम्भावना छैन, त्यसमा अल्मलिन पुग्छन् जसको परिणती हुन्छ समस्यै समस्याको टुङ्ग्याउनै नसकिने खात।देखिएको  समस्यालाई जतिसक्दो चाँडो समाधान गर्नेतिर लाग्नु बुध्दिमानी हुन्छ। कुनै पनि समस्याले मन हुँदै मुटु र मष्तिस्कका साथै पूरै शरीरलाई समस्याग्रस्त तुल्याउँदै अन्तत: रोगग्रस्त बनाइदिन्छ।चिन्ता यस्तो डरलाग्दो हुन्छ कि यसले मानिसलाई चितामा पु-याइदिन्छ।
समस्या विभिन्न कारणले आउँछ त्यसमा मुख्यत: - (१) वाह्य र (२) आन्तरिक हुन्छन्। दुवै उस्तै खतरनाक हुन्छन् परिणाममा।समस्याको स्वभाव गजबको हुन्छ यसले कसैलाई निहोरा गर्दैन। कुनै धनाढ्य ब्यक्तिको लागि करोड रुपैयाँको आवश्यकताले जस्तो चिन्ताग्रस्त तुल्याएको हुन्छ गरिब ब्यक्तिको लागि पचास रुपैयाँ वा त्योभन्दा पनि सानो रकम-कलमले चिन्ताग्रस्त बनाइदिन्छ। यसैले समस्या सबैको लागि बराबरी बनेर अघिल्तिर आएको हुन्छ।
ज्यादात्तर समस्यालाई मानिस आफैले बनाएको हुन्छ, जन्माएको हुन्छ त्यसमा पाइन लगाइएको हुन्छ लोभ र स्वार्थको। बस अनि के चाहियो! एकैछिनमा तिल पहाड बनेर सामु आउन बेर मान्दैन। हरेक समस्याको पछाडि यही लोभ र स्वार्थले आफ्नो काम गरिरहेको हुन्छ। त्यसमा पछि गएर त के के थपिन्छन् के के तिनको के साधी! त्यसैमा जोडिन आइपुग्छ लालच, ईर्ष्या, स्वार्थ, मोह आदि आदि। एक ब्यक्ति वा एक दल वा एक देशको स्वार्थले कैयौँलाई दु:ख-कष्ट पु-याइरहेको हुन्छ तैपनि त्यसलाई सहिरहनुपरेको विडम्वनापूर्ण अवस्थाको चुरीफुरी तपाईँ सर्वत्र देख्नु हुन्न? यी दुई जुम्ल्याहा स्वार्थ र लोभलाई त्यागिदिने हो भने संसारमा समस्या तीन चौथाइ नै घटेर जानेछ त्यसलाई अरूले भन्दा पनि तपाईँ आफैले व्यवहारमा उतारेर हेर्नुस् त त्यसको परिणाम कुर्न धेरै महिना, वर्ष कुर्नु नै पर्दैन तत्काल भेट्टाइनेछ। ती दुईलाई छोडिदिएको घडीमै अपार आनन्दको अनुभूति पाउन थालिहालिन्छ।विवाद सौहार्दतामा परिवर्तन हुन्छ, समस्या समाधानमा रूपान्तरित हुन पुग्छ, अशान्ति शान्तिमा बदलिन्छ, दु:ख-कष्ट सुखमा परिवर्तन हुन समय नै लाग्दैन। 

                                **********





No comments:

Post a Comment