Friday, August 26, 2011

आवश्यकताको खोज


                                       
                                                          

         हामीले हे-यौँ भने देख्नेछौँ कि कसैलाई पनि उसको आम्दानीले नथेग्ने गरी आवश्यकताहरू दिनानुदिन क्रमश: बढ्दैगएको ज्यादात्तर देखिन्छ। पैसाले आनन्दलाई किन्न पाउने हो कि भनेजस्तो गरेर भौतिक आवश्यकताहरूको जोरजाम गर्न मानिस रातदिन जोतिएको जोतियै छ। यसैका लागि उसले चाहिने नचाहिने काम गर्न पनि पछि पर्दैन, घूस, भ्रष्टाचार, दुइनम्वरी धन्दा, कालो बजारी जे-जे गरेर हुन्छ भौतिक सुखसुविधा बढाउनैमा मानिस तल्लीन भएको देखिन्छ। कुनै निश्चित समाज या देशका मानिसमा मात्र यो कुरा लागू हुन्छ भन्ने पनि छैन। सर्वत्र, सबै समाज र राष्ट्रका मानिसमा यो लागू हुन्छ। केवल खर्च गराइको तरिका फरक होला, जोर्ने सामानविशेषमा कम-बेसी वा भिन्न होला।कहिले-काहीँ यसो सोचेर हेरौँ त भौतिक सुखसुविधाहरू सङ्ग्रह गरेर कसलाई पुगेको छ? सङ्ग्रह गर्नेहरूले जोरजाम गरिएका सामाग्रीहरूबाट त असाध्यै आनन्द आउँदो रहेछ भनेर को नित्य रमाएको छ ? आखिर जतिसुकै मरिमेटेर सुखप्राप्तिका भौतिक सरसामाग्री जम्मा गरे पनि केही समयका लागि सुख- सन्तोष दिएजस्तो लागे पनि एक दिन वितृष्णा आखिर हुन्छ-हुन्छ।फेरि ती सबैलाई एक दिन छोडेरै जानुपर्छ। यसको अर्थ केही पनि जम्मा गर्नेतिर लाग्नु हुन्न भन्न खोजेको पटक्कै होइन।वस्तुत: आफ्नो विवेकलाई एक पटक सोध्नु होस् र त्यसले निर्देश गर्ने बाटोलाई पछ्याउन नछोड्नुस् भन्न खोजेको मात्र हो।
हाम्रा धर्मशास्त्र, अग्रज, बुध्दिजीवी, आचार्य, गुरु तथा ऋषि-महर्षिहरूले सदैव हामीलाई आयको चिन्ता छोड्ने हो भने आवश्यकताहरूलाई घटाउनेतिर लाग्नुपर्छ भनेर बारम्बार भनेका छन् तर राम्रो कुरालाई सहसा नपत्याउने हाम्रो बानीले गर्दा जीवनभर हामीले दु:ख पाइरहेका छौँ। हामीलाई सधैँ चिन्ता, पीर र दु:खको सागरमा डुबाउने अरू कुनै विषयहरू नभई हाम्रा आफ्नै मनोगत आवश्यकताहरू, चाहानाहरू, महत्त्वाकाङ्क्षाहरू तथा आडम्बरी जीवनशैली नै हो भन्ने कुरा हामीले कहिल्यै सोचेका छौँ? अशिक्षित हुँदा वा नजान्दा जति कम विलास र आरामका वस्तुहरूको ज्ञान हामीलाई थियो पढी-लेखी शिक्षित बनिसकेपछि त्यसको सूची झन्-झन् बढ्दै गइरहेको हुन्छ र यस्तो स्थिति आउँछ कि चौबीस घण्टे दिनको बदला अठ्चालीस घण्टे दिन भए पनि ती सबैलाई जुटाउन यो जीवन छोटो हुन्छ जस्तो लाग्न थाल्छ। हामीलाई खाना स्वादिलै र मीठै चाहिएको छ, लगाउने लुगा, गहना एकभन्दा एक किमती र महङ्गो चाहिएको छ, घर सानोतिनो होइन भव्य महल नै चाहिएको छ, टी.भी, कम्प्युटर, मोबाइल फोन, थरी-थरीका अत्याधुनिक साधनहरू, मोटर,मोटरसाइकल, बैङ्क ब्यालेन्स, देश-विदेशको सयर के-के चाहिएको छ के-के भनेर साध्य छैन। एक किसिमले प्रतिस्पर्ध्दा चलेको छ संसारभरी भौतिक सामाग्री कसले कत्ति धेरै जोड्न सक्छ भनेर। त्यसैको लागि दौडधूप र माथापञ्चीसी चलिरहेको छ भन्दा फरक पर्दैन।
    आवश्यकताहरू भनेको हाम्रो गुण, स्वभाव र परिस्थितिअनुसार घटबढ हुँदै रहने गर्छ। बढाउन खोज्नुस् त्यो तन्किदै, लम्बिदै, बढ्दै जान्छ। त्यसो नगरी त्यसलाई घटाउन खोज्नुहोस् त्यो घट्दै, सीमित हुँदै जान्छ।आफूलाई कस्तो मन परेको देख्न चाहाने हो त्यस्तै बन्छ। स्मरणीय कुरा के छ भने जति धेरै आवश्यकताहरूको पूर्ति गरेर सुख, शान्ति र आनन्द पाउन कसैले खोज्छ भने उसले  त्यति नै धेरै सङ्घर्ष, परिश्रम, भागदौड, असिना-पसिना, खतरा र शक्तिको व्यय गर्नु पर्ने हुन्छ।त्यस अवस्थामा शान्ति भाग्छ, निद्रा तर्सिन्छ, अमनचैन भनेको त एकादेशको कथाजस्तो हुन थाल्छ। चाहेको आवश्यकताहरू भनेको समयमा या खोजेको बेला पूरा भइदिएनन् भने त्यसले कति कष्ट र वेदना दिन्छ भन्ने कुरा त धेरथोर सबैले जीवनमा अनुभव गरेको हुनुपर्छ। जति धेरै उपलब्ध गराउनपट्टि लाग्यो त्यति नै धेरै खोज्ने प्रवृत्ति, माग्ने नियत, कृपणता बढदै जान्छ।जति निग्रह गर्नेतिर लाग्यौँ त्यत्ति नै शान्ति, अमनचैन नजिकिन थाल्छ। 
हाम्रा पूर्ववर्ती दिग्गजहरूले, ऋषिमहर्षि, आचार्य, गुरु, भिक्षु, महापुरुषहरूले नैतिक धरातलको कडीमा आवश्यकताहरूलाई छुट्टयाउने गरेका थिए। उनीहरूले मानिसका लागि त्यस्तै र त्यत्ति मात्र आवश्यकताहरूको परिकल्पना गरेका थिए, जुन सरल, सादा, सीधा र उच्च विचारको परिपोषक हुन्थ्यो। चाहिनेभन्दा बढी सुख र विलासले मानिसको शक्तिलाई कुण्ठित गर्छ भन्ने मान्यता उनीहरूको थियो।त्यत्तिमात्रै होइन यसले बुध्दि र विवेकलाई पनि पङ्गु बनाउँदै जान्छ भन्ने मान्यता थियो र सधैँ सादा जीवन उच्च विचार लाई प्रोत्साहन दिइएको हो।त्यही उच्च विचारको कारण मठ, मन्दिर, गुम्वा, विहार बने; पाटी-पौवा, सत्तल, धर्मशाला बने; ढुङ्गेधारा, पोखरी, जलद्रोणी बने। सदावर्त चले, अन्नभण्डारहरू, पाठशालाहरू अवछिन्न चल्ने व्यवस्था बन्यो, गूठीको परम्परा आयो।सेवाधर्मलाई प्रमुखता दिइयो।
भौतिकताको उत्कर्षले छेलोखेलो भएको समाजमा अब गर्ने के भन्ने थाहा नभएर मानिस अलमलमा छन् र उनीहरूको एकाङ्कीपना र एकाङ्गी सोचाइले विस्मयकारी एवं दु:खद घटना र दुर्घटनाहरू बढ्दै छन्।अकुत धन-सम्पत्ति त छ तर त्यसको सही प्रयोजन जानिएन र सदुपयोग भएन भने त्यसको के अर्थ? ज्ञान छ, सीप छ, बुध्दि छ, विद्या छ तर त्यसको प्रयोग प्राणीमात्रको हितसम्वर्ध्दनमा भएन भने त्यसको के प्रयोजन? यही अन्योलले उनीहरूलाई गाँजिरहेको छ।  
हामीले जीवनका लागि नभई नहुने तथा सुखकारी एवं विलासका वस्तुहरूको आवश्यकताहरूको पहिचान कसरी गर्ने? जीवनका लागि नभई नहुने आवश्यकताहरू भनेका त्यस्ता वस्तुहरू हुन् जसको विना मानिस जीवित रहन सक्तैन। स्वतन्त्रता, जीवनलाई आवश्यक पर्ने आहार, आफ्नो भन्ने घर वा कोठा या आश्रयस्थल, लुगा, औषधि-उपचार सेवा तथा शिक्षा हुन्। यी यस्तै मौलिक आवश्यकताहरू हुन्, जसले जीवनधारणको अतिरिक्त मानिसको शारीरिक, मानसिक तथा भावनात्मक शक्तिको विकास गर्नमा सघाउ पु-याउँछ। यसैले मानिसले पहिले यिनै आवश्यकताहरूको पूर्तिमा प्रयत्न गर्नुपर्छ। त्यसपछि त्यस्ता आवश्यकताहरूको पूर्ति गर्नमा प्रयास गर्नुपर्छ जुन सामाजिक प्रतिष्ठाको लागि नभई हुँदैन तथा यसका लागि कहिलेकाहीँ आफ्नो जीवनविषयक आवश्यकताहरूबाट पनि सम्भवत: विमुख रहनुपर्ने हुन सक्छ। त्यसो भए पनि यसका लागि तयार रहनुपर्छ। अरूका लागि हित, कल्याण, सेवा एवं परोपकारी भावनाजस्तो महान् कार्य के हुन सक्ला र ! यहाँसम्म त व्यक्ति आफ्नो उदारताअनुसार व्यवहार गर्न सक्छ, किन्तु यसभन्दा अगाडिको मार्ग एकदमै जागरुक भएर सावधानी अपनाउनुपर्ने किसिमको छ। भोग, सुख एवं विलासको क्षेत्र असीमित छ। आजको मानिसहरूको चिन्ताको कारणै वास्तवमा यही बन्न पुगेको छ, जुन दुर्भाग्यपूर्ण छ।
जुन वस्तुलाई सधैँभरि राख्ने क्षमता हुँदैन तथा जसले जीवन निर्वाहको मूलभूत आवश्यकतालाई स्थायी रूपले पूरा गर्न सक्तैन, जो केवल मिथ्या प्रदर्शनको लागि मात्र हुन्छ त्यस्तो वस्तुको चाहना राख्नु भनेको हठ हो। त्यस्तो वस्तुलाई नचाहनु नै बुध्दिमानी हुन्छ। जुन खानेकुराले कार्यक्षमता बढ्दैन, रोग र शोकलाई बढाउँदै र कुलतको रूपमा बृध्दि हुँदै गई जीवन नै वर्वाद पार्छ भन्ने निश्चित छ भने त्यस्तो खाने-पिउने कामबाट सदा-सर्वदाको लागि टाढिनु नै बुध्दिमत्ता होइन? पान, सुपारी, चुरोट, सिगार, तमाखु, जर्दा, खैनी, वियर, रक्सी, भाँङ, चरेस जस्ता दुर्व्यसनबाट बँच्न सक्नु पनि आजको विश्वमा पुरुषार्थ नै भन्नु पर्ने स्थिति आउनु दुर्भाग्य होइन? यदि कोही यी दुर्व्यसनबाट मुक्त छ भने साँच्चैको ज्ञानी, अव्वल व्यक्ति रहेछ भन्नु पर्ने अवस्था आएको छ। तिनको चङ्गुलबाट आफू, परिवार, समाजलाई बचाउन सके राष्ट्र र विश्वकै कल्याण हुने कुरामा कुनै शङ्का छैन। खराब कुरा हो भनेर जानेर पनि त्यसलाई बढावा दिने मानसिकता चाहे त्यो व्यक्तिको होस्, कुनै सरकारी निकाय वा अन्ताराष्ट्रिय प्रवृत्ति होस् त्यो कुनै पनि हालतमा त्यो उपयुक्त हो, ठीक हो र असल हो भन्न सकिन्न। कति व्यक्ति त्यसको कुलतमा फँसेर आज व्यक्तिगत जीवन, पारिवारिक जीवन र मानवीय दायित्वलाई बिर्सेर सिल्ली,पङ्गु, बेकम्मा र बौलाहाजस्ता बनेको देखेर पनि त्यसको विरुध्दमा आवाज उठाउन सकिने अवस्था आएको प्रति सचेत कोही हुन चाहन्न भने त्यसमा भित्र-भित्रै समर्थन छ भन्ने कुरालाई के गलत हो भन्न सकिन्छ? त्यसविना बाँच्न सक्दिनँ भन्नु आफैले आफैलाई नबुझ्नु हो। खानेलाई भन्दा पनि देख्नेलाई लाज तथा पिउनेलाई भन्दा पनि त्यसले समाजमा पार्ने मनोवैज्ञानिक असरलाई विचार गर्नु पर्ने आवश्यकता के तपाईँ देख्नु हुन्न?
जसलाई कम आवश्यकतामा रमाउने बानी परेको हुन्छ उसले कुनै पनि वस्तु बढाउनु पर्दा एक पटक राम्ररी सोच्छ। ऊ आफ्नो अमूल्य शक्ति व्यर्थका वस्तुहरूको सङ्ग्रहमा खेर नफाली बचेको समय उच्च लक्ष्य हासिल गरी आत्मिक उन्नतिमा लगाउनु उपयुक्त सम्झन्छ। प्रत्येक आवश्यकताहरूले अनासुर्तमा हाँगाबिँगा फैलाउँदै जान्छन्। त्यसले अन्ततोगत्वा मानिसलाई भड्खालोमा हालेरै छोड्छ। समाज, सङ्गतलाई मात्र दोष दिएर हुँदैन व्यक्ति स्वयं नै त्यसको जनक हो।
बेला-बेलामा हामीले आफ्नो निष्पक्ष निरीक्षण गर्नुपर्छ कतै हाम्रो प्रवृत्ति यस्तै अन्धाधुन्ध आवश्यकता बढाउनेतिर त गएको छैन? चाँहिदो-नचाँहिदो खर्च गरेर, अर्कासँग ऋण काढेर व्यर्थमा किन बन्धनमा आफूलाई पारिरहेका हुन्छौँ? कतै मिथ्या प्रदर्शन, झूठो धाक-रवाफ, दुनियाँलाई अतिरञ्जित रूप देखाउन त त्यसो गरिरहेका छैनौँ? भोगविलास, व्यभिचार, अभक्ष्य वस्तुको खाने-पिउने बानीमा फसेर चित्त चञ्चल भएको त छैन? यदि त्यस्तो बानीबेहोराबाट मुक्त हुने हो भने बढ्दै, हाँगा फैलाउँदै गइरहेका आवश्यकताहरूलाई एक-एक गरी छिमल्दै जानुपर्छ। यसो गर्न सके सुख पाउँछौँ अन्यथा हामी दु:खको सागरमा डुबेर जीवन व्यर्थमा गुमाउन पुग्छौँ।सबैभन्दा पहिलेले त त्यसका खराबीका बारेमा आफैमा चेतना जाग्नुपर्छ। उपभोक्तावादको लहै-लहैमा लाग्नु कतै सुखकारी छैन भन्ने बुझ्नु पनि जरुरी छ। विश्वका केही मुलुकहरू त मानिसलाई सुखसुविधा दिने नाममा यस्तै अनावश्यक सरसामग्रीहरूको निस्फिक्री प्रयोगमा आवश्यक पर्ने रकम जुटाउने, ऋण दिने काममा समेत लागेको देख्न पाइन्छ। यस्तो प्रवृत्तिले मानिसको चेतनाको विकास होइन बरु विनासको बाटोतिर लाग्ने मार्ग प्रशस्त गर्दछ भन्ने निश्चित छ।विकसित मुलुकहरूमा यो प्रवृत्ति ज्यादै छ। सुख-सुविधाका अनगिन्ती पहुँच र सम्भावना हुँदाहुँदै पनि विकसित मुलुकहरूमा किन आत्महत्या गर्नेहरूको सङ्ख्या बढिरहेको छ? पापाचुकेको सङ्ख्या किन शिखर चुम्ने स्थितिको छ? पारिवारिक असन्तोष किन बढिरहेको छ? केटाकेटीहरू आमा-बाबुबिहीन किन बन्दै छन्?  बृध्द-बृध्दाहरूको विचल्ली किन भइरहेछ, प्रेम-सद्‍भाव, आत्मीयता किन जडतातर्फ लम्कदै छ त्यसतर्फ के कसैले ध्यान दिएको छ? त्यसमा जरुर  केही अध्ययन-अनुसन्धानहरू भएका छन् र तिनले भयावह तथ्याङ्क र विश्लेषणहरू प्रस्तुत गरेका छन्।
विस्तारै-विस्तारै अनावश्यक विषयहरू आदत बन्न पुगे भने तिनीहरूबाट मुक्ति पाउनु असम्भवझैँ बन्न पुग्छ। व्यसन, फेसन, व्यभिचारजस्ता विषयहरू हेर्दा सुरुमा सामान्यझैँ लाग्छ तर त्यो जङ्गलको आगोको सानो फिलिङ्गोजस्तै हो, बढ्दैगएपछि सारा जङ्गललाई खरानी नपारुञ्जेल शान्त नहुने ! दुर्व्यसन, कुलत, अनावश्यक आवश्यकताहरू यस्तै स्वभावका हुन्छन्। समयमा नै सचेत हुन सकिएन र समय भड्कियो भने जीवनलाई बर्वाद तुल्याइदिन्छन्।अनमोल जीवन व्यर्थमा समाप्त हुन्छ। इन्द्रियहरूको स्वामी बनेर जीवनरथ हाँक्नुपर्ने मानिस इन्द्रियको दास बनेर बेकारको मरेतुल्यको जीवन जिउन पुग्छ योभन्दा दुर्भाग्य के हुन सक्छ?
मानिसले दृढतापूर्वक मनको चञ्चलता, व्यर्थको लोभलालच आदिबाट मुक्त रहने प्रण ग-यो भने मनको प्रलोभनवृत्तिलाई नियन्त्रित गर्न सक्छ।अथवा भनौँ जसरी पहिले व्यसनलाई सुरुमा अँगाल्दा त्यसको नित्य-निरन्तर चिन्तन गरिएको थियो त्यसको विपरीत अब दिशा बदलेर शुभ र सकारात्मक भावनाहरूको प्रारम्भ गर्न त्यत्तिकै प्रवृत्त हुनु आवश्यक छ। शुभ र सकारात्मक चिन्तनले नै जीवनलाई शान्त र मनमोहक बनाउँछ भन्ने कुरालाई सदा सम्झी सत्य र इमानदारीको मार्गमा अग्रसर भई व्यर्थका आवश्यकताहरूलाई घटाउँदै लग्नासाथ आफैमा अन्तर्द्वन्द्व कम हुन थालेको अनुभव जो कसैले गर्न सक्छ। किनभने यो शाश्वत चिन्तन हो। यस्तो अभ्यास गर्दै जानाले रिस, राग, मद, मात्सर्य, कुलत, दुर्व्यसनजस्ता अवगुणहरू कम हुँदै गएको अनुभव स्वत: हुन थाल्छ। आफैमा भित्रैदेखि बोध नभईकन दुर्व्यसन, कुलत र अज्ञानता मेटिनु गाह्रो हुन्छ।
                                     ********





Sunday, August 14, 2011

निहित स्वार्थबाट माथि नउठी हुँदैन


                              

                                                              
धेरैजसो मानिसको आन्तरिक स्वभाव जिम्मेदारी लिनै नचाहने बरु त्यसबाट उम्कन हरदम अनेक तरहबाट प्रयास गरिरहने भनौँ न एक किसिमको गैरजिम्मेवार प्रवृत्तिको हुन्छ। आश्चर्य कहाँनिर लाग्न सक्छ भने फेरि यस्तै व्यक्ति अवसर पाएदेखि के-के न गरेर देखाउँछु भनेर गुट्टी हाँकिरहेको हुन्छ।यस्तो कसरी  हुन सक्छ? यो जो कसैको मनमा स्वाभाविक रूपले उब्जन सक्ने  प्रश्न हुन सक्छ।कि त यस्तो व्यक्तिले आफैलाई चिनेको हुँदैन कि त उसले अवसरको महत्त्व नै बुझेको हुँदैन।यस परिस्थितिमा अनेक बहानाबाजीको परिकल्पना हुनु, अरू कसैको कारण केही गर्न सकिएन भन्नु वा दोष अर्कालाई दिन प्रयास गर्नु यस्तै-यस्तै हुन सक्छ त्यसभित्रको अन्तर्कथा!
गल्ती गर्ने मानिसको स्वभावै पनि यस्तो हुन्छ कि उसले आफ्नोभन्दा अर्काको गल्तीलाई उजिल्याइरहेको हुन्छ मानौँ उसमा कतै कुनै दोषै छैन।यस्तो प्रवृत्ति राख्नेहरूको भीड हिजोभन्दा आज, आजभन्दा भोलि गर्दै बढ्ने वातावरण झन्-झन् सृजना हुँदै गइरहेको छ। यसो हुनुमा अरू कसैको होइन हामीले नै सृजना गरेको मूल्य-मान्यता,विचार, धारणा, संस्कार र परिस्थिति नै धेरै हदसम्म जिम्मेवार छ भन्दा फरक पर्दैन। यसलाई द्रुततररूपले बढाउन राजनैतिक वाद, कुनै निश्चित विचारधाराद्वारा सृजित परिस्थिति, राज्यव्यवस्थाको रवैया पनि कुनै न कुनै रूपले साझेदार भएको छ भन्दा हुन्छ।ल्याकत, क्षमता, प्रतिभा र ज्ञानको होइन, अझ भनौँ असल, गुणी, सज्जन, क्षमतावान् सबै हाम्रा नभई हाम्रा सबै राम्रा भन्ने पलपिँदो संस्कारले नै यस्तो प्रवृत्तिलाई मलजल गरेर हुर्काउन मद्दत गरिरहेको छ। यो यहाँ-उहाँ भन्ने छैन सबैतिर बढ्दै गइरहेको छ।साँच्चै भन्ने हो भने यो जताततै उर्वर बन्दै गइरहेको छ।आ-आफ्नै निहित स्वार्थको खेलले यहाँ काम गरिरहेको हुन्छ जुन सबैले थाहा पाएका हुँदैनन्। 
समानता र समरसताको कुरा भाषणमा हुन्छ, नीतिमा, कार्यक्रममा हुन्छ, ऐनको ढड्डामा हुन्छ यथार्थता र व्यवहारमा त्यो देख्न पाइने अवस्था अत्यन्त दुर्लभ छ सबैतिर।आफ्नाले छुट र सजाय नै भोग्नु नपर्ने वा आँखा चिम्लिदिने वा थाहा पाए पनि थाहा नपाएजस्तो गरी बसिदिने यत्रतत्रको धरातलीय यथार्थलाई हेर्दा कस्तो अनुभूति होला सर्वसाधारणलाई कल्पना गरौँ त! कति डरलाग्दोसँग यस्तो प्रवृत्तिले बढावा पाउँदै गइरहेको छ! यस परिस्थितिमा स्वतन्त्रताको कुरा के सही रूपमा चरितार्थ हुन सक्ला? शङ्कै छ।यस्तै मत्स्यन्यायको बोलाबाला अहिलेदेखि होइन उहिलेदेखि हुनेखानेको, बलियाको, शक्ति हुनेको बलियो हतियार बनेर आएकै हो।यसैले सामन्ती सोच र संस्कारलाई जन्माएको हो, बढाएको हो।समयले शैलीमा केही परिवर्तन गरेको होला या भिन्न रूपमा प्रस्तुत भएको हुन सक्ला तर परिणाम उही कटुताले भरिएको, तिक्तताले पूर्ण हुनाको कारण त्यहाँ कुनै भिन्नता नदेखिन सक्छ। एकाध कुनै यसभन्दा फरक परिणामलाई हेरेर, देखेर वा भोगेर हामीले कहीँ पनि कतै पनि अन्याय हुँदैन वा छैन भन्न सक्ने परिस्थिति पाउन गाह्रो छ।जस्तोसुकै प्रजातान्त्रिक मुलुकै किन नहून् त्यहाँ पनि कुनै भिन्न र स्वतन्त्रतापूर्वक बाँच्न सक्ने वातावरण नबनी सकेको भोगाइ अधिकांशको हुने गरेको अनुभूति देख्न, सुन्न पाइन्छ।
कहाँ के हुने हो कसैलाई थाहा छैन किनभने अहिले मानिसले नै डर, खतरा र भयलाई जानी नजानी सिर्जना गरिरहेको तर्फ तपाईँहरू कत्तिको सजग हुनुहुन्छ ! मानिसकै उर्वर दिमागका अनुसन्धान र आविष्कारका कतिपय वस्तु र इकाइहरूले क्षण-क्षणमा भय सिर्जना गरेको छ।नदी-खोला, समुद्र, हिंस्रक जनावर, भूत-प्रेतको भय त अब पुरानो र एकादेशको कुराजस्तो हुन लागिसक्यो।प्राकृतिक भय-त्रासभन्दा अप्राकृतिक रूपको भय-त्रासले मानिसलाई तर्साइरहेको छ।भयलाई हटाउन निर्भयताको वातावरण निर्माण जरुरी छ। निर्भयताको जगेर्ना कसरी गर्ने? कसले गर्ने? कहिले गर्ने प्रश्नमाथि प्रश्न स्वाभाविक रूपले तेर्सिन्छन् तर समाधानको बाटोको कुरा आउँदा तैँचुप-मैँचुपको स्थितिले के उचित समाधान निक्लेला? सोच्नु पर्ने वेला आइसकेको छ। 
स्वच्छन्दता, उच्छृङ्खलता, विकृति, विसङ्गति र वितण्डालाई जहाँतही प्रश्रय दिने अनि अनुशासन, सुशासन, नैतिकता, जीवनमूल्यका कुरा गरेर केही काम लाग्ला? पहिलो कुरा त विचारमा स्वतन्त्रता, चिन्तनमा मुक्तता, व्यवहारमा अनुशासन हुन सक्यो भने बल्ल स्वतन्त्रताको परिपक्व फूलको साथ निर्भयता खिल्न सक्छ। तर स्वतन्त्र र उन्मुक्त वातावरणमा हुर्कन सक्ने, बढ्न सक्ने परिस्थितिलाई कसरी अतिक्रमण गरेर जानाजान अप्राकृतिक मात्रै नभनौँ भयग्रस्त संसारको निर्माणमा लागिपरिरहेका छौँ शान्त चित्तले एकछिन तटस्थ भएर सम्झौँ त एकपछि अर्को गर्दै अनेकौँ मुटु नै जिरिङ्ग हुने किसिमका डरलाग्दा परिदृश्यहरू जता हे-यो त्यतै आउन सक्छ वा अझ भनौँ देखिन सक्छ। आखिर सबै थरथराएका छन् सर्वत्र सृजना हुँदै गइरहेको भययुक्त परिस्थितिबाट ! यस्तो खतरनाक परिस्थिति जसले स्वतन्त्रतालाई होइन स्वच्छन्दता, उच्छृङ्खलता, वितण्डता, दण्डहीनतालाई बढाइरहेको छ त्यसलाई निमिट्यान्न तुल्याउनेतर्फ स्वतन्त्रताको हनन हुन्छ भनेर भूल गरिरहेकोलाई कहिले बुझ्ने? एउटा आलोकाँचो मानिस वा एउटा दिग्भ्रमित व्यक्तिले सजिलैसँग सैयौँ व्यक्तिलाई गोलीको निसाना बनाउने अवस्थाको निर्माण हुँदै जाँदा पनि या भनौँ परम्पराको नाउँमा चलेका कतिपय विकृतिले व्यक्ति, परिवार र समाजलाई धुजा-धुजा पारे पनि त्यसको मूललाई जरैदेखि  खोजी त्यस्तो परिस्थिति आउन नदिनेतर्फ दृष्टि दिँदा मात्र ऐन-कानून वा सुरक्षाको घेरालाई  बढाएर हुँदैन व्यक्ति-व्यक्तिको विचार र धारणामा सकारात्मक रूपान्तरण ल्याउने तथा मानवीय चेतनाको अभिवृध्दि गर्ने किसिमका आत्मिक विकासको प्रस्फुटन गर्ने, कुनै निश्चित धर्म, वादको परितुष्टि गर्ने होइन बरु ज्ञानलाई कसरी बढाउन सकिन्छ, चेतनाको स्तरलाई कसरी उद्दीपन गर्न सकिन्छ त्यसतिर ध्यान नजाने हो भने विश्वमा एक-दुई होइन अनेकौँ दुर्घटना निम्तिन सक्छ भन्ने कुरामा कुनै शङ्का छैन।मौजुदा परिस्थिति अझ भयावह हुँदै जाने कुरामा कहीँ प्रश्न गर्न सकिने ठाउँ छ र? एकछिन गम्भीर भएर सोचौँ!
मानिसको अन्तर्चेतनालाई सुस्त पार्ने, धूलित पार्ने वा मानवीय व्यवहारलाई पशुताको कोटिमा पु-याउने खालका आहार, विहार, आनीबानी आजको संसारको सभ्यताको परिसूचकझैँ मानिने स्थितिमा सकारात्मक रूपको परिवर्तन नआउञ्जेलसम्म विकृति, विसङ्गति एवं विध्वंशको परिपाटिले महत्त्व पाइरहनेछ जसको अर्थ हुन्छ मानवीय स्वभाव र संस्कारमा मलीनता वा ग्लानी ! मानिस-मानिसबीच जातको नाममा, वर्णको नाममा, रङ्गको नाममा, धनी-गरिबको नाममा, हुने र नहुनेको नाममा, देश र महादेशको नाममा, धर्म र सम्प्रदायको नाउँमा भेदभाव जहाँसम्म रहिरहन्छ तबसम्म मानवीयताको कुरा केवल कागजमा सीमित हुनेछ भन्नेमा विमति कसैको होला भन्ने लाग्दैन।यस्तै विडम्बनापूर्ण परिस्थितिले द्वन्द्व र अशान्तिलाई नचाँहदा-नचाँहदै पनि अग्रभागमा ल्याएर स्थापित गराइदिएको छ।
द्वन्द्व र अशान्तिको परिवेशको जति बृध्दि हुन्छ त्यति नै मानिसमा रहेको सृजनशीलता, प्रतिभा, सीप र उन्नतिको पवित्र भावनाहरू आफसेआफ मर्दै जान्छन्।यसलाई मर्न नदिने हो र जगाउँदै मानवताको विकास र सम्वर्ध्दनमा सहयोगी तुल्याउने हो भने विद्यमान जति पनि द्वन्द्व र प्रतिद्वन्द्विताको कारक तत्त्व र कसरहरू छन् वा अशान्तिका कालो बादल मडारिरहेका छन् तिनलाई विचार, चिन्तन र धारणाको माध्यमबाट  रूपान्तरण गर्न सक्ने सकारात्मक सोचाइको वातावरण सानै उमेरदेखि दिएर समग्रमा सामाजिक परिवेश यस्तो सृजना गर्नु प-यो कि जहाँ कुनै किसिमको जातीय, धार्मिक, साम्प्रदायिक भेदभावको लेससम्म नहुने परिस्थिति निर्माण गर्दै विश्वव्यापीरूपले जुट्ने अवस्थाको सूत्रपात गरी  सर्वत्र उदारता, व्यापकता र विशालतालाई अभिवृध्दि गर्ने संस्कारलाई प्रवर्ध्दन गर्ने तथा सङ्कीर्णतालाई समाजमा कुनै स्थान नदिई विराट, विशाल र विस्तीर्ण हृदयको महत्त्वलाई आत्मसात् गर्दै शान्ति, समृध्दि र विकासको सम्भावनाको ढोका खोल्नतिर लाग्नु नै मानवीयता हो र यही नै एक्काइसौँ शताव्दीको विशेषता एवं गुणवत्ता आगामी शताव्दीको लागि उपहार दिन सक्ने आत्मीय परिस्थिति निर्माण गर्न सक्यौँ भने साँच्चै नै यो जत्तिको बुध्दिमानी र सकारात्मक कदम अरू कुनै हुन नसक्ने पक्का छ।
युध्दले शान्ति ल्याउँछ वा अशान्तिले एक दिन शान्ति ल्याउँछ भन्ने विश्वास र भ्रममा परुञ्जेल विश्वमा कहिल्यै शान्ति आउन सक्तैन। शान्ति त शान्तिबाट नै आउँछ न कि युध्दबाट! युध्दबाट आएको शान्ति अनेकौँको मृत्युले ल्याएको सुखद् होइन कि दु:खद् शान्ति हो। स्मशानको शान्ति केको शान्ति ? त्यो त मुर्दा शान्ति हो। युध्द अधिकांशको लागि घातक भए पनि कसैको लागि फाइदाको व्यापार वा स्वार्थको परिपूर्ति हुने भएकाले यसलाई बढाउने प्रवृत्तिले आजको संसारमा व्यापकता पाउँदै गएको छ। किनभने ठूलठूला राष्ट्रहरूको आम्दानीको स्रोत वा आर्थिक तरक्की नै यसैभित्र समेटिएको छ।यसैले यसभित्र प्रतिस्पर्धा छ, होडबाजी छ सामान्य नागरिकहरू जेसुकै हुन्, मरून् कि बाँचून त्यससँग यस्ता प्रतिस्पर्ध्दीहरू कुनै सरोकार नै नराख्ने मनोवृत्तिमा पुगेको अवस्थाले मानवतामाथि नै खतराको घण्टी बजेको मौजुदा परिस्थितिमा जायज र वातविक विषय विलखबन्दमा परेको महसुस हुँदैन भने संसारलाई बुझ्न अझ धेरै बाँकी छ भन्ने सम्झे हुने बेला आइसकेको छ।महँगा युध्दकविमानहरू, अनेकौँ किसिमका हातहतियारहरू, युध्दपोतहरू, सुरक्षा र सेनामा ठूलो लगानी भन्नु के संसारलाई रक्तरञ्जित तुल्याइ मानवतामाथि रगतको खोलो बगाउँछु भन्ने मनोवृत्तिकै विकृत रूप होइन? यसैमा प्रतिस्पर्धा छ चाहे विकसित चाहे अविकसित राष्ट्र-राष्ट्रबीच।यसैको प्रत्यक्ष असर व्यक्ति-व्यक्तिमा, समाजमा, राष्ट्र-राष्ट्रमा एवं अन्ताराष्ट्रिय तहमा व्यापक बन्दै गइरहेको अवस्थालाई सुखकरी भन्न हुने स्थिति नै छैन तर सही र वास्तविक तथ्यलाई स्वीकार गर्ने मनस्थितिमा बहुसङ्ख्यक व्यक्ति, समाज र राष्ट्र अझै भएजस्तो लाग्दैन।समग्र विश्वकै प्रतिनिधित्व गर्न सक्ने न कुनै यस्ता पुरुषार्थी राजनेता आजसम्म जन्मिए जसले यी वास्तविक सत्यलाई छर्लङ्ग विश्वसामु उजागर गरिदेओस् । संसारको  विश्वव्यापी दु:खको कारक तत्त्व नै यही भएको छ कि सबै आ-आफ्नो स्वार्थसिध्दिको बन्दी भई त्यसैमा रमाइ-रमाइ आत्मरतीमा लहसिनु।संसारमा जति पनि मानवीय विनाश, ध्वंश, युध्द भएका छन् तिनको मूल तिनै आत्मरती नै हुन्, अहंकार हुन्, स्वार्थ हुन्, लोभ हुन्, षडयन्त्र हुन्। यी निहित स्वार्थबाट माथि नउठीकन, प्राणीमात्रकै हित-कल्याण नचिताईकन, शान्त, सुसमृध्द समाज, राष्ट्र र विश्वको निर्माणको कामना नराखीकन, समझदारी र हरेक समस्यामा हुने मिलनबिन्दुको खोजी नगरीकन किमार्थ मानवीयताको सम्वर्ध्दन, प्रवर्ध्दन र विकास हुन सक्तैन भन्ने कुरा घाम जत्तिकै टड्कारो छ।
<drgovinda.tandon@tandon>