Saturday, February 5, 2011

पहिले आवश्यकता घटाऔ


                   
                                                 

जता हे-यो उतै, जता गयो उतै पैसाले मानिसलाई बौलाहाझैँ भौतारिन बाध्य तुल्याएको देखिन्छ। हामीले हे-यौँ भने देख्नेछौँ कि कसैलाई पनि उसको आम्दानीले नथेग्ने गरी आवश्यकताहरू दिनानुदिन क्रमश: बढ्दैगएको ज्यादात्तर देखिन्छ। पैसाले आनन्दलाई किन्न पाउने हो कि भनेजस्तो गरेर भौतिक आवश्यकताहरूको जोरजाम गर्न मानिस रातदिन जोतिएको जोतियै छ। यसैका लागि उसले चाहिने नचाहिने काम गर्न पनि पछि पर्दैन, घूस, भ्रष्टाचार, दुइनम्वरी धन्दा, कालो बजारी जे-जे गरेर हुन्छ भौतिक सुखसुविधा बढाउनैमा मानिस तल्लीन भएको हामी पाउँछौँ। कुनै निश्चित समाज या देशका मानिसमा मात्र यो कुरा लागू हुन्छ भन्ने पनि छैन। सर्वत्र, सबै समाज र राष्ट्रका मानिसमा यो लागू हुन्छ। केवल खर्च गराइको तरिका फरक होला, जोर्ने सामानविशेषमा कम-बेसी होला तर व्यक्तिको चाहना, तिनलाई सङ्ग्रह गर्दा हुनेसम्मको आनन्द पाइन्छ कि भनेजस्तो गरी तँछाड-मछाड गरेको पाउँछौँ। भनेको कुरा पाउन या किन्न आम्दानीले पुगेन भने त अझ उसको व्यग्रता यति बढ्छ कि मानौँ उसले के-के न गुमाउँदैछ, हराउँदैछ भने जस्तो ठान्ने प्रवृत्ति बढ्दै गएको छ। 
कहिले-काहीँ यसो सोचेर हेरौँ त भौतिक सुखसुविधाहरू सङ्ग्रह गरेर कसलाई पुगेको छ? सङ्ग्रह गर्नेहरूले जोरजाम गरिएका सामाग्रीहरूबाट त असाध्यै आनन्द आउँदो रहेछ भनेर को नित्य रमाएको छ त? आखिर जतिसुकै मरिमेटेर सुखप्राप्तिका सरसामाग्री जम्मा गरे पनि ती सबैलाई एक दिन छोडेरै जानुपर्छ। यसको अर्थ केही पनि जम्मा गर्नेतिर लाग्नु हुन्न भन्न खोजेको पटक्कै होइन। आफ्नो विवेकलाई एक पटक सोध्नु होस् र त्यसले निर्देश गर्ने बाटोलाई पछ्याउन नछोड्नुस् भन्न खोजेको मात्र हो। हाम्रा धर्मशास्त्र, अग्रज, बुध्दिजीवी, आचार्य, गुरु तथा ऋषि-महर्षिहरूले सदैव हामीलाई आयको चिन्ता छोड्ने हो भने आवश्यकताहरूलाई घटाउनेतिर लाग्नुपर्छ भनेर बारम्बार भनेका छन् तर राम्रो कुरालाई सहसा नपत्याउने हाम्रो बानीले गर्दा जीवनभर हामीले दु:ख पाइरहेका छौँ।
हामीलाई सधैँ चिन्ता, पीर र दु:खको सागरमा डुबाउने अरू कुनै कुरा नभई हाम्रा कृत्रिम आवश्यकताहरू तथा आडम्बरी जीवन नै हो भन्ने कुरा हामीले कहिल्यै सोचेका छौँ? हामीलाई आफूसँग भएको भन्दा ज्यादा देखाउने बानी परिसकेकोले अभावग्रस्त हुँदा पनि सापट गरेर हुन्छ कि ऋण गरेर हुन्छ इच्छापूर्ति गर्नेतिर हामी जोखिम उठाउन छोड्दैनौँ। यसलाई विडम्वना नभनेर के भन्ने ? अशिक्षित हुँदा जति कम विलास र आरामका वस्तुहरूको ज्ञान हामीलाई थियो पढी-लेखी शिक्षित बनिसकेपछि त्यसको सूची झन् झन् बढ्दै जान्छ र यस्तो स्थिति आउँछ कि चौबीस घण्टे दिनको बदला अठ्चालीस घण्टे दिन भए पनि ती सबैलाई जुटाउन यो जीवन छोटो हुन्छ। हामीलाई खाना स्वादिलै र मीठै चाहिएको छ, लगाउने लुगा, गहना एकभन्दा एक किमती र महङ्गो चाहिएको छ, घर सानोतिनो होइन भव्य महल नै चाहिएको छ, टी.भी, मोटर-मोटरसाइकल, बैङ्क ब्यालेन्स, देश-विदेशको सयर के-के चाहिएको छ के-के भनेर साध्य छैन। अर्काको जे-जे देख्छौँ त्यही-त्यही चाहिएको हुन्छ। अर्काले घोडा चढ्यो भन्दैमा धुरी चढ्न हुँदैन भन्ने कुरा हामी बिर्सन्छौँ त्यस्तो बेला।
आवश्यकताहरू भनेको हाम्रो गुण, स्वभाव र परिस्थितिअनुसार घटबढ हुँदै रहने गर्छ, रबडजस्तै। बढाउन खोज्नुस् त्यो तन्किदै, लम्बिदै, बढ्दै जान्छ। त्यसो नगरी त्यसलाई घटाउन खोज्नु होस् त्यो घट्दै, सीमित हुँदै जान्छ। स्मरणीय कुरा के छ भने जति धेरै आवश्यकताहरूको पूर्ति गरेर आनन्द लुट्न चाहनुहुन्छ त्यति धेरै सङ्घर्ष, परिश्रम, भागदौड, असिना-पसिना, खतरा र शक्तिको व्यय हुन्छ। चाहेको आवश्यकताहरू भनेको समयमा या खोजेको बेला पूरा भइदिएनन् भने त्यसले कति कष्ट र वेदना दिन्छ भन्ने कुरा त धेरथोर सबैले अनुभव गरेको हुनुपर्छ।
सामान्यतया हाम्रा आवश्यकताहरू तीन किसिमका छन् – (१) जीवननिर्वाहको लागि नभई नहुने (२) सुखविषयक र (३) विलासविषयक। पहिलो किसिमका आवश्यकताहरू जीवन बाँच्नैका लागि पनि आवश्यक भएकोले तिनको पूर्णतामा मानिस अधिक सन्तोषको सास फेर्ने गर्छ। यो सबैका लागि नभई नहुने भएकोले सबै मानिसको यो न्यूनतम चाहना हो। भला देश, काल, समय, पात्र र ठाउँअनुसार वस्तुको सङ्ख्या, परिमाण, सूची भिन्ना-भिन्नै नहुन सक्ने होइन तापनि यसले न्यूनतम आवश्यकताको परिपूर्तिलाई सङ्केत गर्दछ। दोस्रो र तेस्रो किसिमका आवश्यकताहरूको कुनै सीमाना हुँदैन। यदि तिनीहरूप्रति संवेदनशील नहुने हो भने तिनको ताना-बाना कहिल्यै सकिदैन चाहे जीवन नै त्यसकै लागि कसैले किन नहोमोस्!
हाम्रा प्राचीन दिग्गजहरूले नैतिक धरातलमा आवश्यकताहरूलाई छुट्टयाउने गरेका थिए। उनीहरूले मानिसका लागि त्यस्तै र त्यत्ति मात्र आवश्यकताहरूको परिकल्पना गरेका थिए, जुन सरल, सादा, सीधा र उच्च विचारको परिपोषक हुन्थ्यो। चाहिनेभन्दा बढी सुख र विलासले मानिसको शक्तिलाई कुण्ठित गर्छ भन्ने मान्यता उनीहरूको थियो।
भौतिक उत्कर्षको आधुनिक युगमा मानिसले विषयजन्य सुख र विलासका आवश्यकताहरूलाई यसरी बढाउँदै-बढाउँदै लगेका छन् कि ईश्वरले दिएको अङ्ग-प्रत्यङ्ग पङ्गु बन्न बेर नलाग्ने भइसक्यो र तिनले गर्नु पर्ने काम नपाउँदा विक्षोभ, मानसिक कष्ट एवं अभावको अग्निज्वालामा जलिरहने मानसिकता बढ्दैछ।भौतिकताले छेलोखेलो भएको समाजमा अब गर्ने के भन्ने थाहा नभएर अलमलमा छन् र उनीहरूको एकाङ्पना र एकाङ्गी सोचाइले विस्मयकारी घटना र दुर्घटनाहरू बढ्दै छन्।  
जीवनको लागि नभई नहुने आवश्यकता भनेको के हो? हामीले जीवनका लागि नभई नहुने तथा सुखकारी एवं विलासका वस्तुहरूको आवश्यकताहरूको पहिचान कसरी गर्ने? यसमा केही विचार-विमर्श हुनु उपयुक्त नै हुने देख्दछु। जीवनका लागि नभई नहुने आवश्यकताहरू भनेका त्यस्ता वस्तुहरू हुन् जसको विना मानिस जीवित रहन सक्तैन। स्वतन्त्रता, जीवनलाई आवश्यक पर्ने  आहार, आफ्नो भन्ने घर वा कोठा या आश्रयस्थल, लुगा, औषधि-उपचार सेवा तथा शिक्षा हुन्। यी यस्तै मौलिक आवश्यकताहरू हुन्, जसले जीवनधारणको अतिरिक्त मानिसको शारीरिक, मानसिक तथा भावनात्मक शक्तिको विकास गर्नमा सघाउ पु-याउँछ। यसैले मानिसले पहिले यिनै आवश्यकताहरूको पूर्तिमा प्रयत्न गर्नुपर्छ। त्यसपछि त्यस्ता आवश्यकताहरूको पूर्ति गर्नमा प्रयास गर्नुपर्छ जुन सामाजिक प्रतिष्ठाको लागि नभई हुँदैन तथा यसका लागि कहिलेकाहीँ आफ्नो जीवनविषयक आवश्यकताहरूबाट पनि सम्भवत: विमुख रहनुपर्ने हुन सक्छ। त्यसो भए पनि यसका लागि तयार रहनुपर्छ। अरूका लागि हित, कल्याण, सेवा एवं परोपकारी भावनाजस्तो महान् कार्य के हुन सक्ला र! यहाँसम्म त तपाईँ आफ्नो उदारताअनुसार व्यवहार गर्न सक्नु हुन्छ, किन्तु यसभन्दा अगाडिको मार्ग एकदमै जागरुक भएर सावधानी अपनाउनुपर्ने किसिमको छ। भोग, सुख एवं विलासको क्षेत्र असीमित छ। आजको मानिसहरूको चिन्ताको कारणै यही बन्न पुगेको छ।
विलास एवं भोगको क्षेत्र साच्चिकै असीमित छ। यसमा राम्रा-राम्रा किमती कपडा, आभूषण, भव्य महल, मनोरञ्जनका किमती साधनहरू, मिष्ठान्न र स्वादिला भोजन, रेष्टुरेण्ट-होटलको खाना, महङ्गा कार, क्लबको रात्रीमय जीवन, सिनेमा, मादक पदार्थहरूको सेवन, दान-दाइजोको तडक-भडक तथा अनावश्यक सामाग्रीहरूको अन्धाधुन्ध सङ्ग्रह आदि यसमै पर्दछन्। यी वस्तुहरूको पूर्ति गरेर कहिल्यै साध्य होला? कहिलेकाहीँ शान्त चित्तले विचार गरेर हेरौँ त । अहं हुँदैन भन्न करै लाग्छ।किनभने यो साध्य हुने कुरै होइन। यही नबुझेर मानिसहरू एकपछि अर्को भूल गर्दा-गर्दै कहिल्यै बाहिर निक्लन नसकिने खाडलमा पर्छन्।
आफ्नो पेशा, स्तर तथा वरपरको वातावरण हेरेर यस्ता बेकारका आवश्यकताहरूबाट मुक्ति पाउनेतिर लाग्नुपर्छ। आवश्यकताहरू बढाउदै लगेर कहिल्यै कसैले शान्तिको स्वास फेर्न पाएका छन् जस्तो लाग्छ तपाईँलाई? कदापि छैन। आफ्नो हैसियत, सामाजिक जीवन, आर्थिक शक्ति, परिवारका सदस्य सङ्ख्या, ठाउँ एवं समयलाई पनि हेरौँ। के अनावश्यक आवश्यकतालाई बढाउँदा कुनै त्यस्तो आत्मिक चमत्कार हुने केही छ? पटक्कै छैन, हुँदैन। तडक-भडक र नचाहिँदो आवश्यकतालाई बढाउँदै जाने हो भने जीवन बेकम्माको बन्न पुग्छ भन्ने कुरामा शङ्कै छैन।
जुन वस्तुलाई सधैँभरि राख्ने क्षमता हुँदैन तथा जसले जीवन निर्वाहको मूलभूत आवश्यकतालाई स्थायी रूपले पूरा गर्न सक्तैन, जो केवल मिथ्या प्रदर्शनको लागि मात्र हुन्छ त्यस्तो वस्तुको चाहना राख्नु भनेको हठ हो। त्यस्तो वस्तुलाई नचाहनु नै बुध्दिमानी हुन्छ। जुन खानेकुराले कार्यक्षमता बढ्दैन, रोग र शोकलाई बढाउँदै र कुलतको रूपमा बृध्दि हुँदै गई जीवन नै वर्वाद पार्छ भन्ने निश्चित छ भने त्यस्तो खाने-पिउने कामबाट सदा-सर्वदाको लागि टाढिनु नै बुध्दिमत्ता होइन? पान, सुपारी, चुरोट, सिगार, तमाखु, जर्दा, खैनी, वियर, रक्सी, भाँङ, चरेस जस्ता दुर्व्यसनबाट बँच्न सक्नु पनि आजको विश्वमा पुरुषार्थ नै भन्नु पर्ने स्थिति आउनु दुर्भाग्य होइन? यदि कोही यी दुर्व्यसनबाट मुक्त छ भने साँच्चैको ज्ञानी, अव्वल व्यक्ति रहेछ भन्नु पर्ने अवस्था आएको छ। तिनको चङ्गुलबाट आफू, परिवार, समाजलाई बचाउन सके राष्ट्र र विश्वकै कल्याण हुने कुरामा कुनै शङ्का छैन। खराब कुरा हो भनेर जानेर पनि त्यसलाई बढावा दिने मानसिकता चाहे त्यो व्यक्तिको होस्, कुनै सरकारी निकाय वा अन्ताराष्ट्रिय प्रवृत्ति होस् त्यो कुनै पनि हालतमा असल हो भन्न सकिन्न। कति व्यक्ति त्यसको कुलतमा फँसेर आज आफ्नो जीवन, पारिवारिक जीवन र दायित्वलाई बिर्सेर पङ्गुजस्ता भएको देखेर पनि त्यसको विरुध्दमा आवाज उठाउन सकिने अवस्था आएको प्रति सचेत हुनुहुन्न भने तपाईँको त्यसमा समर्थन छ भन्ने कुरालाई के गलत हो भन्न सकिन्छ? त्यसविना बाँच्न सक्दिनँ भन्नु आफैले आफैलाई नबुझ्नु हो। खानेलाई भन्दा पनि देख्नेलाई लाज तथा पिउनेलाई भन्दा पनि त्यसले समाजमा पार्ने मनोवैज्ञानिक असरलाई विचार गर्नु पर्ने आवश्यकता के तपाईँ देख्नु हुन्न?
मानिसलाई शान्ति त्यति वेला प्राप्त हुन्छ जब उसले कमभन्दा कम बोझ आफ्नो जिम्मामा लिएको हुन्छ र लिएको दायित्वलाई सफलतापूर्वक सम्पन्न गर्छ।जसलाई स-साना भौतिक सुखका वस्तुहरूको पनि मोह हुन्छ र तिनको सहज उपलव्धता नहुँदा निरन्तर विक्षुव्ध बन्छ र अस्थिर मनस्थितिको बन्न पुग्छ। रिस, राग, ईर्ष्या नै यस्ता मानिसहरूको गहना बन्न पुगेको हुन्छ।
जसलाई कम आवश्यकतामा रमाउने बानी परेको हुन्छ उसले कुनै पनि वस्तु बढाउनु पर्दा एक पटक राम्ररी सोच्च। ऊ आफ्नो अमूल्य शक्ति व्यर्थका वस्तुहरूको सङ्ग्रहमा खेर नफाली बचेको समय उच्च लक्ष्य हासिल गरी आत्मिक उन्नतिमा लगाउनु उपयुक्त सम्झन्छ। शरीरमा वासना छ, वासनामा असङ्ख्य इच्छा तथा इच्छाहरूबाट कष्ट उत्पन्न हुन्छन्। जसरी हात्तीको एक पटक बाहिर निक्लेको दाह्रा फेरि भित्र जाँदैन त्यसै गरी एक पटक अभ्यस्त भइसकेको अपेक्षित  आवश्यकता फेरि कम हुँदैन। प्रत्येक आवश्यकताहरू यस्तैगरी हाँगाबिँगा फैलाउँदै जान्छन्। त्यसले अन्ततोगत्वा मानिसलाई भड्खालोमा हालेरै छोड्छ।
वर्तमान जीवनमा जुन समस्याहरू अत्यन्त पेचिलो बन्दै गएका छन्, जसबाट अन्त:करणमा क्षोभ उत्पन्न हुन्छ, ती सबै बढ्दै गएका झूठो तथा कृतिम आवश्यकताहरूबाट उत्पन्न भएका हुन्, त्यसमा शङ्का छैन। हामी स्वयं नै त्यसका जनक हौँ।
बेला-बेलामा हामीले आफ्नो निष्पक्ष निरीक्षण गर्नुपर्छ कतै हाम्रो प्रवृत्ति यस्तै अन्धाधुन्ध आवश्यकता बढाउनेतिर त गएको छैन? चाँहिदो नचाँहिदो खर्च गरेर, अर्कासँग ऋण काढेर व्यर्थमा किन बन्धनमा आफूलाई पारिरहेका हुन्छौँ? कतै मिथ्या प्रदर्शन, झूठो धाक-रवाफ, दुनियाँलाई अतिरञ्जित रूप देखाउन त त्यसो गरिरहेका छैनौँ? भोगविलास, व्यभिचार, अभक्ष्य वस्तुको खाने-पिउने बानीमा फसेर चित्त चञ्चल भएको त छैन? यदि त्यस्तो बानीबेहोराबाट मुक्त हुने हो भने बढ्दै, हाँगा फैलाउँदै गइरहेका आवश्यकताहरूलाई एक-एक गरी कम गर्दै जानुपर्छ। यसो गर्न सके सुख पाउँछौँ अन्यथा हामी दु:खको सागरमा डुबेर जिवन व्यर्थमा गुमाउन पुग्छौँ।सबैभन्दा पहिलेले त त्यसका खराबीका बारेमा आफैमा चेतना जाग्नुपर्छ। यथार्थ यसो हो तापनि उपयोगितावादको सिध्दान्तले मानिसलाई नचाहिने आवश्यकताहरूको जोहोमा अभ्यस्त गराउन सके आफ्ना उत्पादनहरूको, व्यवसायको फलिफाप हुने भएकोले  अनेक वित्तीय संस्था र त्यससँग सम्बन्धित अनेक क्रियाकलापहरू संसारमा यसरी बढ्दै गइरहेका छन् कि त्यसबाट बँच्नै गाह्रो भइरहेको अवस्था छ। विश्वका केही मुलुकहरू त मानिसलाई सुखसुविधा दिने नाममा यस्तै अनावश्यक सरसामग्रीहरूको निस्फिक्री प्रयोगमा आवश्यक पर्ने रकम जुटाउने, ऋण दिने काममा समेत लागेको देख्न पाइन्छ। यस्तो प्रवृत्तिले मानिसको चेतनाको विकास होइन बरु विनासको बाटोतिर लाग्ने मार्ग प्रशस्त गर्दछ भन्ने निश्चित छ।विकसित मुलुकहरूमा यो प्रवृत्ति ज्यादै छ। सुख-सुविधाका अनगिन्ती पहुँच र सम्भावना हुँदाहुँदै पनि विकसित मुलुकहरूमा किन आत्महत्या गर्नेहरूको सङ्ख्या बढिरहेको छ? पापाचुकेको सङ्ख्या किन शिखर चुम्ने स्थितिको छ? पारिवारिक असन्तोष किन बढिरहेको छ? केटाकेटीहरू आमा-बाबुबिहीन किन बन्दै छन्?  बृध्द-बृध्दाहरूको विचल्ली किन भइरहेछ, प्रेम-सद्‍भाव, आत्मीयता किन जडतातर्फ लम्कदै छ त्यसतर्फ के कसैले ध्यान दिएको छ? त्यसमा जरुर  केही अध्ययन-अनुसन्धानहरू भएका छन् र तिनले भयावह तथ्याङ्क र विश्लेषणहरू प्रस्तुत गरेका छन्।
हाम्रो सुख हाम्रा आवश्यकताहरूको अनुपातमा रहने हुन्छ। ज्यादा आवश्यकता भएको व्यक्ति ज्यादै कठिनताले सुख-समृध्दि प्राप्त गर्छन्। किनभने उनीहरूको अन्तिम आवश्यकता पूरा हुँदा-हुँदै सुख भोग्ने शक्ति विल्कुलै क्षीण भइसकेको हुन्छ।प्रत्येक आवश्यकता साँच्चै भन्ने हो भने एउटा मानसिक बन्धन सिवाय केही पनि होइन। यसैले जो यस बन्धनमा ज्यादाभन्दा ज्यादा बाँधिन्छ उसका सुखका अनुभूतिहरूमा त्यत्ति नै अनेक बाधा-व्यवधानहरू तेर्सिन आइपुग्छन् र जीवनलाई निस्सार सम्झन पुग्ने अवस्थाको सूत्रपात हुँदै जान्छ यो कुरा थोरै व्यक्तिले मात्र बुझ्न सफल भएका हुन्छन्।
अधिक आवश्यकता भएको व्यक्ति एक प्रकारको मानसिक रोगले पीडित भएको हुन्छ त्यो हो मनमा बढी चञ्चलता, मन वशमा नहुनु, बढी स्वच्छन्दता, इन्द्रियहरूलाई वशमा राख्न नसक्नु, लोभ बढ्नु आदि आदि। यदि यस्तो व्यक्तिले केही मात्र भए पनि चित्तवृत्ति निरोध गर्ने अभ्यासमा लाग्यो भने बढ्दैगइरहेका आवश्यकताहरूबाट मुक्ति पाउन सक्छ। मानिसले मनका वृत्तिहरूलाई फुकाउन थाल्यो भने त्यसले उसलाई चञ्चल, उन्मत्त र उजण्ड बनाइदिन्छ। विस्तारै-विस्तारै तिनै विषयहरू आदत बन्न पुगे भने तिनीहरूबाट मुक्ति पाउनु असम्भवझैँ बन्न पुग्छ। व्यसन, फेसन, व्यभिचारजस्ता विषयहरू हेर्दा सुरुमा सामान्यझैँ लाग्छ तर त्यो जङ्गलको आगोको सानो फिलिङ्गोजस्तै हो, बढ्दैगएपछि सारा जङ्गललाई खरानी नपारुञ्जेल शान्त नहुने। दुर्व्यसन, कुलत, अनावश्यक आवश्यकताहरू यस्तै स्वभावका हुन्छन्। समयमा नै सचेत हुन सकिएन र समय भड्कियो भने जीवनलाई बर्वाद तुल्याइदिन्छन्।अनमोल जीवन व्यर्थमा समाप्त हुन्छ। इन्द्रियहरूको स्वामी बनेर जीवनरथ हाँक्नुपर्ने मानिस इन्द्रियको दास बनेर बेकारको मरेतुल्यको जीवन जिउन पुग्छ योभन्दा दुर्भाग्य के हुन सक्छ?
मानिसले दृढतापूर्वक मनको चञ्चलता, व्यर्थको लोभलालच आदिबाट मुक्त रहने प्रण ग-यो भने मनको प्रलोभनवृत्तिलाई नियन्त्रित गर्न सक्छ। यो सजिलो नभए पनि असम्भव मार्ग भने पटक्कै होइन।दृढनिश्चयपूर्वक लागि परे सफल नहुने कुरा कमै हुन्छ।
जसरी पहिले व्यसनलाई सुरुमा अँगाल्दा त्यसको नित्य-निरन्तर चिन्तन गरिएको तियो त्यसैगरी अब दिशा बदलेर शुभ र सकारात्मक भावनाहरूको प्रारम्भ गर्न त्यत्तिकै प्रवृत्त हुनु आवश्यक छ। शुभ र सकारात्मक चिन्तनले नै जीवनलाई शान्त र मनमोहक बनाउँछ भन्ने कुरालाई सदा सम्झी सत्य र इमानदारीको मार्गमा अग्रसर भई व्यर्थका आवश्यकताहरूलाई घटाउँदै लग्नासाथ आफैमा अन्तर्द्वन्द्व कम हुन थालेको अनुभव जो कसैले गर्न सक्छ। किनभने यो शाश्वत चिन्तन हो। यस्तो अभ्यास गर्दै जानाले रिस, राग, मद, मात्सर्य, कुलत, दुर्व्यसनजस्ता अवगुणहरू कम हुँदै गएको अनुभव स्वत: हुन थाल्छ।
आफूमा पूर्णताको भावना, आत्मशान्तिको भावना तथा अन्तर्मुखी निश्चयात्मकताको भावनामा दृढतापूर्वक रमण गर्नाले चित्तवृत्तिको निरोध हुन जान्छ। देखिए जति, सम्झिए जति, कल्पना गरिए जति आवश्यकताको पूर्ति गर्दै जाने हो भने यस्तो हजारौँ-हजार मनुष्य जीवन पाए पनि त्यस अवधिमा पूरा गर्न खोजिए पनि सम्भव छैन। एउटा आवश्यकता पूरा हुन पाएको छैन अर्को आवश्यकता अघिल्तिर खडा भइहाल्छ। त्यस्तै यो पूरा हुन पाएको छैन अर्को आइहाल्छ। यसैले आवश्यकताहरूको मायाजालमा फसेर जीवनलाई बर्वाद तुल्याउनुभन्दा श्रेयस्करचाहीँ आवश्यकताहरूलाई घटाउनु, न्यूनतम सीमामा राख्नु त्यसलाई विस्तार र फैलन नदिनु हुन्छ।संसारका ठूला, असल भनिने व्यक्तित्वहरूको, साधु, सन्त, महात्मा, दार्शनिक, ज्ञानी, विचारवान्, सामाजिक वास्तुकार, समाज सुधारकहरूको जीवनलाई सूक्ष्मरूपले निरीक्षण ग-यौँ भने उनीहरूले आवश्यकताहरूलाई निश्चित सीमामा राखेर आफ्नो जीवनलाई उच्च गन्तव्यमा पु-याउन नै अग्रसर भएको देखिन्छ।
                                     ********



No comments:

Post a Comment