Friday, February 11, 2011

आवेश घातक हुन्छ


                              

                                              

            मानिसमा कुनै न कुनै रूपमा वातावरण प्रतिकूल हुँदा वा त्यसको आशंकाको अवस्थामा आवेशको क्षण हरेकको जीवनमा आएको हुन सक्छ। यो स्वाभाविक हो। मानिसमा खासगरी तीन किसिमका आवेशहरू  देख्न पाइन्छ – (१) सामान्य (२) देखावटी र (३) नकारात्मक आवेश। सामान्य आवेश जतिञ्जेलसम्म विध्वंसात्मक हुँदैन तबसम्म त्यो कसैको बानी, बेहोरा र स्वभावको रूपमा लिइन्छ र त्यसलाई कसैले त्यत्ति ध्यान दिदैन। त्यसको विपरीत विध्वंसात्मक रूपको बन्न पुग्यो भने त्यो नकारात्मक बन्न जान्छ र घातक बन्न पुग्छ। देखावटी आवेशचाहीँ ज्यादात्तर परिवारमा त्यसमा पनि अभिभावकको सन्तान वा आश्रितहरूप्रति देखिन्छ। हुन सक्छ यो मान्यजनको आफूभन्दा उमेरले कान्छा, साना या ज्ञान, अनुभवले आलाकाचाहरूप्रति पनि हुन सक्छ। यो शिक्षकको विद्यार्थीहरूप्रति वा गुरुको शिष्यहरूप्रति पनि हुन सक्छ। कतिपय अवस्थामा त्यहाँ यही देखावटी आवेशले काम गरी रहेको हुन्छ। यसलाई अर्को शब्दमा भन्न प-यो भने सकारात्मक आवेशको नाम दिए पनि हुन्छ। किनभने यस्तो आवेशमा कसैको हित, कल्याण र भलाइको  उदेश्य अन्तर्निहित भएको हुन्छ। कतिपय मानिसहरू क्रोध र आवेशलाई एकै ठाउँमा राखेर हेर्ने गर्छन् तर त्यो ठीक होइन। क्रोधमा नकारात्मकताले प्रारम्भमै काम गरिरहेको हुन्छ भने आवेशमा नकारात्मकताको मात्रा केही कम हुने हुन्छ। आवेश सुरुवाती अवस्था हो भने क्रोध तत्पश्चातको ववण्डरकारी रूप!
कतिपय आवेश कुरै नबुझी वा लहै-लहैमा पनि व्यक्त भएको हुन्छ। त्यस्तो आवेश कुराको प्रकृति वा विषयमा यथार्थ जानकारी भएपछि स्वत: शान्त भइहाल्छ। समयमै आवेशको कारणलाई बुझ्नतिर नलाग्दा कतिपय अवस्थामा त पछुताउनु पर्ने स्थिति पनि आउन सक्छ। यसैले आवेशमा आउनुभन्दा अघि अवस्थालाई बुझ्ने वा कारणलाई जान्नेतिर लागियो भने पछुताउनु पर्ने अवस्थाबाट मुक्ति पाउन सकिन्छ। अन्धो आवेशको झोँकमा कति मानिसले ज्यान गुमाएका छन्, कतिले अर्काको प्राण हरेका छन्। कतिले आफूलाई र अरूलाई अङ्गभङ्ग तुल्याउने काम पनि गरेका छन्। मैले धेरै त्यस्ता व्यक्तिलाई देखेको छु, भेटेको छु जो आफ्नो विगतको आवेशप्रति पछुताएका छन्।कतिको घर भताभुङ्ग भएको छ आवेशको कारण। कति प्रेमी-प्रेमिकाको कलिलो जीवन स्वाहा भएको छ यही आवेशले गर्दा। कुरै नबुझी आफूलाई छाड्यो वा छाड्न लागिन् प्रेमिकाले भनेर वा धोका दिइन् वा दियो भनेर अर्काको कुरा सुनेर सुन्दर जीवनलाई मटियामेट बनाएका छन् कत्तिले। आवेश डरलाग्दो हुन्छ। यो खतरनाक पनि त्यत्तिकै छ। अझ केटाकेटीहरूमा, अशिक्षित महिलाहरूमा अबुझपनाको कारण  देखिने आवेश विध्वंशात्मक प्रकृतिको ज्यादात्तर पाइन्छ।
आवेशबाट केही हदसम्म बच्ने हो भने संवादलाई नरोकी निरन्तरता दिनु जरुरी हुन्छ। संवाद नै यस्तो छ कि जसको अभावमा मानिसहरू आफ्नोपनलाई बिर्सेर पशुताको कोटीमा पुग्न बेर लाग्दैन। तँ-तँ र म-मको स्थिति ल्याउने नै यही हो संवादहीनता ! संवाद नहुँदा एकछिन अगाडिको माया, प्रेम, स्नेह, आदर, सम्मान सबै चकनाचूर भएर एउटालाई देख्दा पनि अर्को मुण्टो बटार्ने अवस्थामा वा एउटै सडक किनारामा विपरीत दिशाबाट आइरहेको देख्न पाएको छैन मुण्टो बटार्दै अर्को किनारामा पुग्ने गरेको पनि नदेखिने होइन। यस्तो परिस्थितिले एउटै घरमा, एउटै कोठामा भए पनि परचक्री भावको विकास हुन सुरु हुन्छ। यस्तो स्थिति बन्यो भने त्यसले आवेशलाई समन गर्दैन बरु भूसको आगोजस्तो भित्र-भित्र सल्किदै झाँगिन थाल्छ। आवेशलाई रोक्ने अर्को एउटा कारगर उपाय छ त्यो हो एउटाले भनेको अर्कोले शान्त भई सुनिरहने। आवेशमा आएको व्यक्तिको जे-जति भन्नु पर्ने कुराहरू छन् ती सबै ओकलिइसके, अब रित्ते भन्ने लागेपछि विस्तारै सम्झाउने, उसले बुझ्ने गरी उसको कहाँनिर गल्ती छ त्यसलाई सङ्केत गरिदिन सकियो भने आवेश सेलाउँदै जान्छ र भयानक रूप लिएर क्रोधको रूपमा परिणत हुन र विध्वंशकारी बन्न पाउँदैन। एउटा आवेशमा आउँदा अर्को मुरमुरिने वा उसले नबुझ्ने बकबकाउने बानीले धेरैको आवेशमा घ्यू थपेको जस्तो हुन सक्छ। सङ्क्षिप्तमा एउटा आगोको रूपमा प्रस्तुतु भएको छ भने अर्को पानीको रूपमा प्रस्तुत हुन सके आवेशले उग्रता लिदैन। समस्या यहीनिर छ एउटा आगो भयो भने अर्को ज्वालामुखी बनिदिन्छ, पानी बनिदिन वा वर्षात् बनेर साम्य तुल्याउन अघि सर्ने कमै हुन्छन्।  
आवेश कसरी जन्मन्छ त्यसको कारण जान्नु महत्त्वपूर्ण छ। यसका कतिपय कारणहरूमध्ये भनेको कुरा नपुग्नु, आफूले सोचेजस्तो अर्कोले नमान्नु, सम्झेभन्दा भिन्न हुनु वा अर्काले कान भरिदिनु आदि हुन सक्छन्। कारणको पहिचान गरी त्यसको समाधान गर्न सकियो भने उग्र रूप धारण गर्न सक्दैन। आवेश आउनलाई कुनै साइत कुर्नु पर्दैन। आफूले भनेजस्तो सारी वा गगल्स श्रीमतीले लाइनन् वा श्रीमानले भनेको जस्तो जुत्ता किनिदिएनन् भनेर पनि आवेशले रौद्र रूप लिन सक्छ मात्र होइन अझ पश्चिमी संसार र त्यहाँको संस्कृतिले गाँजेको ठाउँहरूमा त पारपाचुकेका नराम्रो नियतिसमेत भोग्नु परेका उदाहरणहरू खोज्दै जाने हो भने एक होइन अनेक पाउन  सकिन्छ। यो दुर्भाग्य होइन त! स-साना विषयमा शङ्का, मनमुटावै पनि काफी हुन्छ आवेशका लागि।
यस्तो आवेश घरगृहस्थीमा बसेकालाई मात्र हुन्छ, घरबार छोडेर हिँडेकालाई हुँदैन भन्ने छैन सबैलाई केही न केही रूपमा आउँछ मात्र हेर्ने र सम्झने दृष्टिकोणको कारण फरक हुन सक्छ। व्यवहार जगत्‌मा विभिन्न परिस्थिति, वातावरण र अवस्था आइपर्छन् त्यस्तो अवस्थामा स्वाभाविक रूपले चेतनाको तह हेरेर क्रोध, रिस आउन सक्छ त्यस्तो वेला सात्विक किसिम या भनौँ अभिनयजस्तो क्रोध, रिस, आवेश आउञ्जेल आत्तिनु पर्दैन तर त्यो तामसिक र राजसिक किसिमको हुनथाल्यो भने त्यस्ता अवगुणहरूबाट टाढिनु र तिनको दुष्प्रभाव आफूकहाँ पर्न नदिन हरतरहको प्रयास जरुरी छ। यस्ता अवगुणहरूले  अरूलाई भन्दा पनि आफैलाई शारीरिक, मानसिक रूपले दु:ख दिने हुनुका साथै आध्यात्मिक चेतनाको विकासको मार्गमा अवरोध ल्याउँछन्। आवेशको सिढी उक्लेर क्रोधको रूपमा परिवर्तित भइदियो भने त्यो विनासकारी बन्न बेर लाग्दैन। किनभने क्रोधले मोह, मोहले स्मृतिविभ्रम तथा स्मृतिविभ्रमबाट बुध्दिनाश अवस्यम्भावी छ। बुध्दिनाशबाट मनुष्यता नै विनष्ट हुन्छ। त्यसैले क्रोध सबै दृष्टिले हानिकारक मानिन्छ। क्रोधलाई विस्तार गर्न, झाँगिन, बढाउन मद्दत गर्ने कारक तत्त्व आवेशलाई त्यसैले मनमा पल्लवित र पुष्पित हुने अवसर दिनु हुँदैन।
अर्काले  दु:ख पाएको सुन्न, हेर्न, देख्न सुन्न चाहाने मनोकाङ्क्षा राख्ने स्वभावका मानिस पनि समाजमा नपाइने होइन। जरुर पाइन्छन्। त्यस्ता मानिसहरु त अझ अरूलाई के गरेर चिढाऊ, के गरेर सताऊ, के गरेर अर्को आवेशमा आउँछ र झगडा गर्न पाइन्छ भन्ने ताक कुरेर बस्ने स्वभाव भएकाहरूलाई चिनेर त्यस्तो अवसर आउनै नदिनेतर्फ सचेत नहुने हो भने घर घर होइन स्मशानघाट जस्तो बन्न पुग्छ। यस्तो स्थितिले शान्ति टाढिन पुग्छ। सुख, शान्ति र आनन्द नै हरेक मानिसको चाहना हुन्छ त्यसलाई प्राप्त गर्न आफू नै सचेत, सतर्क र सावधान हुनु अपरिहार्य छ। मनको शान्त पोखरीलाई तरङ्गित तुल्याउने काम अरूले होइन पहिले आफूबाटै सुरु भएको हुन्छ। यसैले वाह्य वस्तु, विचार र तरङ्गबाट आफूलाई विचलित नतुल्याउनेतर्फ सदैव जागरुक हुनु पर्ने आवश्यकता जीवनको पाइला-पाइलामा छ। यस्ता सुनामी र तुफानबाट बँच्न सक्नेहरूकै जीवनमा आवेश निस्प्रभावी बन्न पुग्छ।
                                    *******

No comments:

Post a Comment