Tuesday, February 1, 2011

अस्थीरताबाट उन्मुक्तिको मार्गतर्फ देशलाई कसरी डो-याउने

           


 नेपालको वर्तमान राजनीतिक दृश्यपटल अत्यन्त जटिल, नाजुक र संवेदनशील अवस्थाबाट गुज्रिरहेको छ। थरी-थरी विचार,धारणा,सिध्दान्त,भावना, कुभावना र दुर्भावनाले देशमा जरो गाडेको महसुस जो कोहीले गरेको हुनुपर्छ। त्यसो त  केही वर्षयता नेपाल राजनीतिमय बनेको छ भन्दा फरक पर्दैन। सानादेखि ठूलासम्म, मूर्खदेखि विद्वानसम्म, गाउँलेदेखि शहरीयासम्म, विद्यार्थीदेखि अध्यापकसम्म सबै कुनै न कुनै रूपमा राजनीतिबाट प्रभावित र आकर्षित देखिन्छन्। राजनीतिक सचेतता हुनुलाई  अहिलेको विश्वपरिस्थितिमा खराव भन्न नसकिए पनि यदि त्यसलाई सकारात्मकता र राष्ट्रविकासको अभियानमा ऊर्जाको रूपमा  परिणत गर्न सकिएन भने समग्र उत्थान र विकासको तगारो बन्न सक्छ भन्ने कुराप्रति त्यत्तिकै चनाखो हुनु पर्ने अवस्थालाई पनि नकार्न मिल्दैन । यसको उदाहरण खोज्न कहीँ टाढा जानु पर्दैन अनगिन्ती सम्भावनाहरू हुँदा-हुँदै पनि अस्थीर राजनीतिको कारण अन्योल, अशान्ति, विनास र पतनको बाटोतिर लागेका विश्वका कैयन् मुलुकहरू यसका उदाहरण हुन सक्छन्। हाम्रै  नेपालको पछिल्लो पटकको पन्ध्र-सोह्र वर्षको अवधिलाई  पनि अस्थीर राजनीतिबाट उत्पन्न गतिरोधको ज्वलन्त  उदाहरणको रूपमा लिन सकिन्छ।  यस अवधिको  अस्थीर राजनीतिका कारण लक्ष्यनिष्ठ बनेर देशले प्रगति र विकासको  गन्तव्य प्राप्त गर्न सकेको अनुभूति कसैले गर्न पाएनन्। विगतका अप्ठ्यारा, असहजता, कमी-कमजोरी, गल्ती र झञ्झावातबाट सबैले आफूमा कहाँ के गल्ती भयो र विविध अवस्थाको सृजना चाहदा-नचाहदै पनि के-कसरी हुन गयो त्यसलाई भित्रैदेखि मनन गर्नु अहिलको अवस्थामा उपयुक्त हुन्छजस्तो लाग्छ।
                    अहिले नेपाललाई नयाँ नेपाल बनाउने एकथरिको परिकल्पना छ भने अर्को थरि मौजुदा नेपालको अखण्डता, सार्वभौमता र एकतालाई अक्षुण्ण राख्न आवश्यक पर्ने संविधान निर्माण गर्न दशतिर मुख फर्किएका राजनीतिक दलहरू सक्षम होलान् कि नहोलान् भन्नेसम्मको हतास मनस्थितिमा पुगिसकेको अवस्था छ। दोस्रो किसिमको नाजुक विचार र धारणा बन्नमा जातीयता, क्षेत्रीयता, भाषा-भाषी र धर्मको नाममा केही समययता उर्लेको आँधिबेरीजस्तो वैचारिक तरङ्गले राजनीतिक वृत्तमा पाएको प्रोत्साहन र त्यस्तो विचारलाई निरुत्साहित तुल्याउने किसिमका दूरदर्शी मार्गदर्शन नेतृत्त्वतहका राजनैतिक दलका नेताहरूबाट समयमा नआउँदा वा त्यस्तै विचार र धारणाहरूलाई आत्मसात् गरिदिँदा अझ उत्कर्षमा पु-याउन मद्दत पु-यायो भनिदिए हुन्छ।
प्रतिस्पर्धात्मक राजनीतिक परिपाटी भएको लोकतान्त्रिक वा प्रजातान्त्रिक मुलुकमा प्रतिस्पर्धा जाति, भाषा, धर्म, सम्प्रदाय र क्षेत्रीयताको आधारमा नभई सामाजिक, आर्थिक, राजनैतिक, आध्यात्मिक दिशावोध एवं उत्कृष्टता प्राप्तिको दिशामा भयो भने मात्र देश र देशवासीको हित हुन सक्छ नत्र विद्वेष र वितृष्णाले जन्म लिन पुग्छ जुन कुनै पनि सार्वभौम राष्ट्रको लागि कल्याणकारी हुन सक्दैन। विभिन्न जात-जाति, भाषा-भाषी, धर्म-सम्प्रदाय भएको नेपालजस्तो वहुल प्रकृतिको  मुलुकमा यस्ता विषयहरू बढी उचालिए त्यसको परिणाम प्रत्युत्पादक बन्न सक्छ भन्ने कुरालाई बिर्सनु हुने बेला छैन। नेपाल राष्ट्रको उषाकालदेखि आजपर्यन्त जसरी एउटा उद्यानमा बिभिन्न रङगीबिरङगी फूलहरूले शोभा दिएर नै बगैँचाले महत्त्व पाएको हुन्छ त्यसैगरी यहाँका विभिन्न जात-जाति, भाषा-भाषी, धर्म-सम्प्रदायले पाएको छ र भविष्यमा पनि  पाउनुपर्छ। राष्ट्रिय अखण्डता,स्वाभिमान, एकता  र जातीय सद्भावका निम्ति नेपाली-नेपालीलाई टुक्रयाउने, फुटाउने, विखण्डन गर्ने कुनै पनि किसिमको विचार, धारणा र सिध्दान्त वा राजनैतिक वाद हाम्रा लागि स्वीकार्य हुदैनन् भनी एकमतले जवाफ दिने अवस्थाको सूत्रपात नेपाली-नेपालीबीच सद्भाव, आपसी एकता र आत्मीयताको विकास दृढ रूपमा भएपछि नै सम्भव हुन्छ।
राष्ट्र र राष्ट्रियताको सवालमा पहिले हामी नेपाली हौँ त्यसपछिमात्र विभिन्न जात,जाति, भाषा-भाषीसँग सम्बध्द एकाइ। राष्ट्रको एकता, अखण्डता र सार्वभौमिकताको  लागि जे-जति एकाइमा बाँडिए पनि हामी एक छौँ, भविष्यमा पनि रहिरहने छौँ भन्ने किसिमको अटल धारणा र विश्वास प्रत्येक नेपालीको ढुकढुकीमा रहन सके र पु-याउन सके नै नेपाललाई हामी विश्वसामु एक सवल, सक्षम र विकसित राष्ट्रको लहरमा पु-याउन सक्छौँ। त्यसबाट नै नेपाली हुनुको गौरव मुखरित हुन सक्छ भन्ने कुरालाई हरेक नेपालीले आत्मसात् गरे मात्र विखण्डनकारी  जस्तोसुकै आँधिबेरी, हुरीबतास आए पनि  त्यसले डेग हल्लाउन सक्तैन। जातीयता, क्षेत्रीयता र भाषाको कुरा तिनको सन्तुलित विकास र प्रगतिका लागि अपरिहार्य छन् तर ती सवालहरूले राष्ट्रिय एकतालाई खल्वलाउने र विचलित तुल्याउने अवस्था कुनै हालतमा ल्याउन दिनु हुँदैन।

   बीसभन्दा बढी दलहरू मिलेर बनेको  वर्तमान सरकारका अघिल्तिर अनेकौँ बाधा, अडचन, चुनौती र समस्याहरू नतेर्सिएका होइनन्।  प्रसस्त छन्। सङ्क्रमणकालिक अवस्थामा त्यसो हुनु स्वाभाविक पनि हो। आन्दोलनमा उभार ल्याउन वा जनसहभागिता बढाउनका लागि पनि हुन सक्छ आन्दोलनमा सहभागी सबै राजनीतिक दलहरूले सक्ने-नसक्ने अनेक  स्वर्णिम सपनाहरू बाँडिदिएकाले पनि होला झण्डै चार वर्ष पुग्नलागिसक्दा पनि देशमा अझै उपयुक्त र स्थीर राजनैतिक वातावरण बन्न सकेको छैन। आज एउटा माग छ त भोलि अर्को मागका कारण कहिले काठमाडौँ बन्द, कहिले उपत्यका बन्द त कहिले तराइ र नेपालबन्दबाट आजित भएका नेपालीहरूलाई  त्यसभन्दा भिन्न हालैको एनेकपा माओवादीको अनिश्चितकालिक आम अडतालले अरू सशंकित तुल्याइदिएको  छ। धन्न राष्ट्रिय र अन्ताराष्ट्यि दवाव तथा एनेकपा माओवादीपार्टीको सुझबुझको कारण बन्द स्थगित गरियो। त्यसका लागि एनेकपा माओवादी पार्टीलाई धन्यवाद दिनै पर्छ। ठूलो दुर्घटनाको मुखबाट देशलाई जोगाउने काम भयो। तर विदेशी राष्ट्रहरूको दवावमा आएर वा नआएर जनताको नाममा जनतालाई नै दु:ख पुग्ने गरी बन्द, हडतालको जे-जस्ता कार्यक्रमहरू बेला-बेलामा राजनैतिक दलहरूले तय गर्छन् त्यसले जनताको हितभन्दा अहित हुन्छ भन्ने कुरा नेताहरू र राजनैतिक दलहरूले किन बिर्सेका होलान्? सत्तामा रहे सबै ठीक सत्ताबाहिर रहे जुन कुनै राजनैतिक दल बन्द, हडतालकै कार्यक्रम बनाउन व्यस्त हुन्छन् भने जनताले कुन राजनैतिक पार्टिमाथि विश्वास गर्ने? यस्तो स्थिति आउन नदिन अब सबै राजनीतिक दलहरूले एकै मत एकै स्वरले नेपालमा बन्द सधैँका लागि बन्द भनेर विरोधका अरू सरल र सहज तरिका जसले जनतालाई  कुनै दु:ख नपु-याओस् त्यस्तो विकल्पमा जानु राष्ट्रहितका लागि उपयुक्त हुने देखिन्छ।
राजनीतिक पार्टीहरूले जनताको नाममा आफू र आफ्नो पार्टीलाई फाइदा हुने बन्द, हडतालका कार्यक्रमहरू गर्दा सडकमा आफ्नो व्यानरमा जो आयो त्यसलाई मात्र जनता सम्झेर आफ्नो पार्टिभन्दा बाहिरका कोही पनि जनता होइनन् भन्ने भ्रान्त धारणा जुन फैलाइरहेका छन् त्यो किमार्थ लोकतन्त्रको भविष्यका लागि सकारात्मक कुरा होइन। यस्ता कार्यक्रमहरूले राष्ट्रको उत्पादनशीलता र आर्थिक उन्नतिको दिशामा  त ह्रास पु-याएकै छ; जसको दूरगामी असर आउँदा अनेक वर्षहरूसम्म भोग्नुपर्ने छ। त्यसैगरी सर्वसाधारणको घरव्यवहार, सामाजिक,आर्थिक अवस्था र दैनिक जीवनव्यवहारमा कत्ति नोक्सान पु-याएको छ त्यसको लेखाजोखा कतै भएकै छैन भने हुन्छ।  साथ-साथै नेपाल शान्त, सुन्दर र मनमोहक देश भन्ने छविमाथि नकारात्मक दृष्टिकोण राख्नेहरूको जमातलाई त्यसो होइन त्यहाँ सधैँ अशान्ति छ, राजनैतिक अस्थीरता छ भनी टीकाटीप्पणी गर्ने अवसर उपलव्ध भई विगतमा आर्जिएको  नेपालको साख र गौरवलाई धूमिल तुल्याउने कार्य पनि प्रकारान्तरले भयो र केही अझै भइरहेकै छ भन्दा अत्युक्ति हुँदैन। त्यसलाई मेटाउन सबै  राजनीतिक दलहरूको बुध्दिमत्तापूर्ण कार्य क्षमता, निरन्तरको मेहनत र अक्षुण्ण प्रयास अबका दिनमा जरुरी छ।
               जेष्ठ १४ सम्म संविधान बनिसक्नुपर्ने सीमा तोकिए पनि राजनैतिक दलहरूबीच आपसमा बढदै गएको अविश्वास र खिचातानी तथा राजनैतिक पार्टीहरूको आ-आफ्नै दलगत स्वार्थको कारण देश र जनताले अनेकौँ किसिमका पीडावोध खेपिरहनुपरेको छ। संविधानको माध्यमबाट नेपालराष्ट्रको अखण्डता, सार्वभौमता र एकतालाई बल मिल्ने गरी सबै नेपाली अटाउने, सबैको असल भावना समेटिने संविधानको निर्माण भई तदनुकूल शासन-प्रशासन जब चल्न थाल्छ, राजनैतिक स्थिरता हुन्छ, शान्ति, समुन्नति र सुरक्षाको यथार्थ अनुभूति हुन थाल्छ तब राजनैतिक पार्टीहरू र यसका नेताहरू धन्यवादका पात्र मानिने छन्। ।
  नेपालको विगत र वर्तमानको राजनीतिक अस्थीरता, असहज परिस्थिति, द्वन्द्व र हिंसात्मक परिस्थितिले नेपाल र नेपालीमा  नकारात्मक तरङ्ग जताततै छाएको छ। हामीकहाँ  कसैलाई औला नठडाइ, तथानाम गालीगलौच नगरी, सम्भव-असम्भव सपना नबाडी भाषण गर्नै नसक्ने, कुरै गर्न नसक्ने नेता-कार्यकर्ताहरूको जमात बढ्दै गएकोले सम्भवत: त्यसकै असरस्वरूप  जहाँ गयो त्यही नकारात्मक प्रवृत्ति र चिन्तन  बढ्दो छ। जसले वैचारिक प्रदूषणलाई प्रोत्साहन दिइरहेको छ।  नेतामा देखिनुपर्ने उदारता, शालीनता, विशालता, सुझबुझपना र गुणग्राह्यता हाम्रा नेताहरूमा नितान्त अभाव खट्कदो छ।सङ्क्षिप्तमा भन्नुपर्दा स्टेटम्यानसीपको नितान्त अभाव छ। आकाशपट्टि फर्केर थुक्दा अरूलाई होइन आफैलाई पर्छ भन्ने कुरा हाम्रा नेताहरूले बिर्सिरहेको भान हुन्छ। आफूले दिने आदर,सम्मान अरूको लागि होइन आफ्नैलागि हो भन्ने शाश्वत कुरालाई बिर्सिदै जाने प्रवृत्ति समाज र राष्ट्रकै लागि घातक बन्दै गइरहेको छ।
अहिले नेपालको लागि सबैलाई समेटेर सकारात्मक सोचका साथ मार्गदर्शन गर्न सक्ने क्षमता भएका दूरदर्शी नेता, क्रान्तदर्शी योजनाकार तथा राष्ट्रसेवामा निस्वार्थरूपले विविध क्षेत्रमा समर्पित हुने कर्मीहरूको खाँचो टड्कारो महसुस हुँदै गइरहेकोछ। त्यागमय जीवन र निस्वार्थ राष्ट्रसेवाबाट स्वच्छ र आदर्शमय जीवन बनाएका उदार र विशाल हृदय भएका  नेताहरूको नाम कहिले सुन्न र देख्न पाइएला जसको नाम लिनासाथ श्रध्दाले शिर नतमस्तक होस्!
जबसम्म सकारात्मक चिन्तन, धारणा र विचारलाई प्रोत्साहित तुल्याइन्न तबसम्म नकारात्मक तरङ्गले विध्वंस मच्चाउन छोडदैन। यसको गलत प्रतिफल राजनीतिमा मात्र नभई शासन, प्रशासनदेखि सर्वत्र गुणनात्मक हिसाबले बढ्ने भएकोले यथासमय सकारात्मक तरङ्गलाई प्रोत्साहन दिनु जरुरी छ। यसको सुरुवात देशलाई हाक्न सक्छु भनेर हिँड्ने नेताहरू र नेतृत्त्वतहबाटै सुरु भए प्रभावकारी हुने देखिन्छ। यसमा जसले वा जुन राजनैतिक दलले पहिले यसतर्फ योजनाबध्द कार्यहरूको  पहल वा सुरुवात गर्छ उसैले सबैतिरबाट जनताको मन जित्न सफल हुनेछ यसमा शङ्कै छैन। 
       आर्थिक उन्नतिको प्रवल सम्भावनाहरूले ओतप्रोत नेपालमा राजनीतिक दलहरूबीच समझदारीको वातावरण तयार गरेर  देशमा दिगो शान्ति, सुरक्षा र प्रगतिको अपरिहार्यतालाई प्रत्याभूति गर्दै तिनलाई  मूर्तरूप दिने क्रममा  देशमा विद्यमान प्राकृतिक, साँस्कृतिक, आर्थिक, पर्यटकीय सम्भावना र स्रोतहरूलाई के-कसरी अत्यधिक रूपले जनता र देशको हितमा हुने गरी  लाभप्राप्त गर्न सकिन्छ त्यसका लागि  परम्परागत सोचभन्दा भिन्न किसिमले योजना र कार्यक्रमहरू बनाइ सफलरूपले कार्यान्वयन गर्ने अनुकूलको वातावरण जरूरी भइसकेकोछ। हाम्रो बुध्दि-बर्कत, क्षमता, योजना, बजेट र रकमले भ्याउदैन, सक्दैनौँ भने पनि भूमण्डीकरणको आजको युगमा सक्षम व्यक्ति, कम्पनी वा निकायहरूको विज्ञतालाई उपयोग गरेर उनीहरूलाई लगानीको अवसर जुटाइ हाम्रो आफ्नो स्रोतहरूबाट बढीभन्दा बढी लाभ लिन सक्ने अवस्था तयार पार्न पछि पर्नु हुने वेला छैन। विदेशीको ऋण र अनुदानमा कत्ति दिन देशलाई निर्भर गराउने?
                    स्वदेशीको साथै विदेशी पूँजीलाई आकर्षित गर्ने, उद्योग-व्यवसायमा उनीहरूको लागि अनुकूल हुने तथा  नेपालीहरूको विज्ञता र रोजगारीको समेत सुनिश्चतता हुने गरी उद्योग-व्यवसाय मैत्री देशको रूपमा नेपाललाई विकसित गर्न के-कस्ता नियम-कानुन, शर्तहरू आवश्यक पर्छन् तिनको पहिचान एवं सफल कार्यान्वयन  गरी नेपाललाई १० वर्षभित्र विश्वको प्रगतिन्नोन्मुख देशको लहरमा पु-याउने सत्सङ्कल्पसाथ नेपाल र नेपाली लाग्न सक्ने उपयुक्त वातावरणको सृजना आजको टड्कारो आवश्यकता बनिसकेको छ। विश्वका कैयन् मुलुकहरूसँग नभएका स्रोत र अनुपम सम्पदाहरू नेपालमा छन्। शोधनान्तर घाटाको स्थितिलाई न्यून तुल्याउँदै देशलाई आर्थिक रूपले समृध्द तुल्याउन यो बाहेक अर्को उपाय छैन।
                    नेपालको प्रजातन्त्रप्राप्तिको हाराहारीमा भनेजसो स्वतन्त्रता,  स्वाधीनता र प्रजातन्त्र पाएका विश्वका कैयन् मुलुकहरूको विकासको गतिलाई हेर्दा हाम्रो अवस्था नाजुक र लाजमर्दो छ। आज नेपालका शिक्षित, अशिक्षित एवं सुयोग्य जनशक्तिको गन्तव्य विदेश पलायन भइरहेको अवस्थामा नेपालको यस्तो कल्पना गरौँ जहाँ भोलि गएर सबै नेपालीले यही रोजगारी पाउने मात्र नभई विश्वका सबै मानिसहरूका लागि जीवनमा एक पटक नघुमी नहुने, नहेरी नहुने, नगई नहुने साँच्चैको  अकल्पनीय मनमोहक देशको रूपमा नेपाललाई स्थापित गर्न सकेमात्र वास्तविक रूपमा  नयाँ नेपालको सपना साकार हुनेछ। कुरा र भाषणले नयाँ नेपाल बन्ने होइन। असल सोच, असल विचार, भ्रष्टाचारमुक्त नेता, कार्यकर्ता, कर्मचारी  र नागरिक समाज तथा  यथार्थ र वास्तविक योजनाहरूको सफल कार्यान्वयनबाट मात्र नयाँ नेपालको परिकल्पना साकार हुन गई बल्ल अस्थीरताबाट उन्मुक्तितर्फ नेपाललाई डो-याउन सम्भव हुनेछ। सबै मिलेर नेपाललाई भूस्वर्ग बनाउन आजैदेखि सकारात्मक सोचसाथ विभिन्न योजना, विभिन्न कार्यक्रम, विभिन्न सद्‌सङ्कल्पहरू जो जहाँ छौँ त्यहीँबाट सुरु गरौँ त्यसको सकारात्मक तरङ्गहरू सबैतिर फैलिन गई एक दिन उज्वल नेपाल देख्ने सपना जरुर पूरा हुनेछ।
राजनीतिक दलका नेताहरूले आफू र आफ्नो दलको स्वार्थलाई भन्दा पनि देश र देशबासीको उन्नति, कल्याण र विकासका लागि ध्यान दिनु पर्ने तथा त्यसका लागि एक कदम पछाडि हट्नुपर्छ भने पनि हट्नु दूरदर्शीतापूर्ण कार्य हुन जानेछ। सत्तामोहका अनेकथरी नाटकको मञ्चन हेर्दा-हेर्दा जनताको आँखा टट्टाइसकेको अनुभूति सबैले गरेको हुनुपर्छ। आपसी सहमती, समझदारी र मिलेर देश विकासको प्रण गर्नुबाहेक अर्को विकल्प छैन।सधैँ सत्ताप्राप्ति, लेनदेन र भागबण्डामा नै राजनीतिलाई बिटुल्याउँदा नेता र राजनीतिप्रति जनताको घृणा बढ्ने  र वितृष्णा जाग्ने निश्चित छ। यसको असर तत्काल पर्दै जाने त छँदै छ साथै आउँदा कैयन् वर्षहरूसम्म तिनलाई मेटन सकिने अवस्था हुँदैन। यो अत्यन्त संवेदनशील र विचारणीय कुरा छ राजनीति गर्नेहरूले विचार पु-याउनु आवश्यक छ।
                                  ****************      
   


     

No comments:

Post a Comment