Friday, April 6, 2012

प्राणायाम “जीवन ऊर्जा”


                                 
                                                    
                      प्राणायाम शव्दबाट अब कोही अनभिज्ञ होलान् जस्तो लाग्दैन।यो योगलगायत धर्म-अध्यात्मको क्षेत्रमा बराबर आइरहने शव्द हो। यो संस्कृतबाट निसृत शब्द हो। प्राण र ‌आयाम शव्दको संयोजनबाट प्राणायाम शव्द बन्दछ, जसले प्राणलाई व्यवस्थित, अवरोधविहीन,सजिलो तुल्याउँछ त्यही नै प्राणायाम हो भन्ने बुझिन्छ। अर्को शव्दमा भन्ने हो भने प्राणायामले जीवनलाई चाहिने ऊर्जा प्रदान गर्छ। यसैले यो जीवनऊर्जा हो, जीवनशक्ति हो  भनिदिए पनि फरक पर्दैन। प्राणविना कुनै पनि प्राणी एकछिन पनि बाँच्न सक्तैन। यसैले संस्कृत वाङ्मयमा  प्राणलाई नै ब्रह्म अर्थात् जीवनतत्त्व बताइएको पनि छ। हुन पनि प्राण भएन भने प्राणीको जीवनलीला समाप्त हुन्छ। जसरी आकाश सर्वत्र व्याप्त छ त्यसैगरी प्राण शरीरको हरेक अङ्ग-अङ्गमा व्याप्त छ। मन्त्रद्रष्टा ऋषि, महर्षि, योगीहरूले प्राणको बारेमा उहिल्यै यति विशद् अध्ययन गरिसकेका छन् कि प्राण कति किसिमका छन् तिनले के-के काम गर्छन् भनी सूक्ष्मरूपले विश्लेषण गरी थाहा दिइसकेका  छन्। जुन कुरा आजको वैज्ञानिकहरूको लागि समेत आश्चर्य गराउने किसिमका छन्। उनीहरूले गरेको अध्ययनले गर्दा आज हामीहरूले त्यसबाट जीवनलाई ऊर्जावान् तुल्याउने शक्ति प्राप्त गर्न सकेका छौँ।
प्राणायामको पध्दति कुनै धर्म-संस्कृतिको पेवा होइन यो त मानवमात्रका लागि उपयोगी जीवनशक्ति हो। यस्तो जीवनशक्तिलाई अमुक धर्म-संस्कृतिको भनी कसैले पन्छाउँछ भने उसले प्राणायामको महत्त्वलाई बुझेन भनी सम्झनुपर्छ र प्राणायामबाट प्राप्त हुने जीवनशक्तिबाट वञ्चित भयो भन्ने सम्झिए हुन्छ। सूर्य सबैका लागि आवश्यक पर्ने प्रकाश दिन उदाएको हुन्छ तर कोही झ्याल-ढोका थुनेर सूर्यलाई गालिगलौज गरी बस्छ भने दोष सूर्यको होइन व्यक्तिको हुन्छ। यसैगरी प्राणायामको उपादेयता मानवजीवनमा अत्यधिक छ तर त्यसबाट लाभ लिन सक्तैनौँ भने दोष हाम्रै हो, हाम्रै सीमित चिन्तनको हो, हाम्रै दोषयुक्त धारणाको हो भनी ठान्नुपर्छ।
जाग्रत, स्वप्न, सुषुप्ती तीनै कालमा प्राण आफ्नो कार्य गरिरहेको हुन्छ। केही इन्द्रियहरूले आ-आफ्नो प्रकृतिअनुसार विश्राम लिन्छन् तर प्राणले विश्राम लिनु भनेको त जीवको अस्तित्व समाप्त हुनु हो भन्ने हुन्छ। यसैले प्राणले अनवरत रूपमा आफ्नो कार्य गरिरहेको हुन्छ चाहे हामीले प्राणायाम गरौँ वा नगरौँ। प्राण हाम्रो जीवनको जीवनाधार भन्ने बुझिसकेपछि पनि यसको नियमन, व्यवस्थापन तथा शुध्दी के-कसरी गर्न सकिन्छ भनी त्यसतर्फ दृष्टी पु-याएनौँ भने ठूलो गल्ती र भूल हुनेछ यसमा कुनै शङ्का छैन।
पञ्चतत्त्वद्वारा बनेको मानव शरीरमा पृथ्वी, जल, तेज, वायु र अकाशको आ-आफ्नै स्थान छ। वायुको गडबडीले शरीरमा विभिन्न किसिमका रोग एवं कमीकमजोरीहरू आउँछन्। प्राणवायुले प्राणीलाई जीवन्त तुल्याइराखेको हुन्छ। यसो त पञ्चतत्त्वहरूमध्ये अरू बाँकी तत्त्वहरूको पनि त्यत्तिकै महत्त्व छ। हाम्रो शरीरमा (१) प्राण (२) अपान (३) समान  (४) व्यान र (५) उदान गरी पाँच प्रकारका वायुहरू छन् भनी उहिल्यै हाम्रा पूर्वजहरूले पत्ता लगाइसकेका हुन्। मानिसको आयु स्वास-प्रस्वासमा अवलम्बित छ भनी वैज्ञानिक एवं आध्यात्मिक तथ्यहरूले पुष्टि भइसकेको छ।  
आफूलाई चाहिने प्राणवायु चाहिएअनुसार लिन सकिएन भने शरीरका अन्य अङ्गहरू प्रदूषित र कमजोर बन्न पुग्छन्। शरीरमा प्राणवायुको कमी हुनुको अर्थ हुन्छ विषाक्त वायुको प्रभाव शरीरमा बढ्दै जानु। विषाक्त वायु बढ्नु भन्नु रोगहरूको सङ्क्रमणको सम्भावना बढन थाल्नु हो भन्ने कुरालाई आधुनिक चिकित्सा विज्ञानले पनि मानेको छ। आयुर्वेद शास्त्रले त उहिल्यै यस विषयमा धेरै खोज गरेर प्राणायामको महत्त्वको बारेमा निकै सामाग्रीहरू दिएको यथार्थता छ। रक्त शुध्दीको लागि शरीरमा यथेष्ट प्राणवायु हुनु जरुरी छ। साथै शरीरमा भएका कार्वनजस्ता विषाक्त वायुलाई हटाउन पनि प्राणवायुको आवश्यकता पर्दछ।यसैले नियमित रूपले प्राणलाई नियमन गर्नु मानिसको लागि आवश्यक पर्छ।
आफूलाई चाहिए जति प्राणवायु कसरी लिने यो एउटा महत्त्वपूर्ण प्रश्न हो। सामान्य रूपमा मानिसले सास लिइरहेकै हुन्छ। त्यत्तिले मात्र पनि पुग्दैन र? भन्ने जिज्ञासा उठ्न सक्छ। अवस्य हो पुग्छ तर त्यसलाई नियमन गर्ने विधि जान्यौँ भने अनेक प्रकारका रोगव्याधिबाट बच्न सक्छौँ। प्राणवायुको नियमन प्रक्रिया नै प्राणायाम हो। दैनिक गरिने प्राणायामले मानिसमा रोग प्रतिरोधात्मक शक्तिलाई बढाउँछ जसको कारण अनेकौँ किसिमका रोगहरूबाट मानिसले त्राण पाउन सक्छ।
प्राणायाम योगको एउटा मुख्य अङ्ग हो। योग भन्नासाथै मन, वचन र कर्ममा अनुशासन भन्ने बुझिन्छ। योगका विभिन्न परिभाषाहरूमध्ये आफूले आफैमाथि अनुशासन कायम गर्नुको नाम पनि योग भन्ने हुन्छ। पतञ्जलीले आफ्नो योगसूत्र नामको प्रसिध्द ग्रन्थको प्रारम्भमै  स्पष्टरूपले भनिदिएका छन कि अथ योग अनुशासनम् अर्थात् योग भन्नु नै अनुशासन हो।कस्तो अनुशासन प्रश्न उठ्न सक्छ। मन, वचन र कर्ममै अनुशासन। हिजोआज योग भनेको शारीरिक अभ्यासजस्तो मात्र बन्न पुगेको छ मानौँ यसको धर्म-अध्यात्म वा आत्मिक चिन्तन वा विकाससँग कुनै सम्बन्ध छैन। योगलाई मात्र शारीरिक अभ्यास सम्झ्यौँ भने ठूलो गल्ती हुनेछ।जीवात्मालाई परमात्मासँग सम्बन्ध स्थापित गराउन योगले माध्यमको भूमिका निर्वाह गर्न सक्छ।खान-पान, आहार-विहार र व्यवहारलाई सात्विक बनाइ जीवन, जगत्‌, र ईश्वरलाई बुझ्न सक्ने क्षमताको विकास योगलाई अवलम्बन गरेर पनि सकेनौँ भने योगलाई बुझ्न सकेका रहेनछौँ भन्ने सम्झिए हुन्छ।
योगको अन्तर्मनसँग मात्रै होइन कि आत्मासँग पनि त्यत्तिकै सम्बन्ध छ।  योगको अनुशीलनबाट जीवनलाई सर्वोत्कृष्ट बनाउन सकिन्छ। योगका अति प्रसिध्द आठ अङ्गहरू छन् – यम, नियम, आसन, आहार, निदिध्याशन, प्राणायाम र समाधि। योगका सम्पूर्ण अङ्गहरूको पालनबाट मनुष्य जीवनलाई सफल, असल र सर्वोत्कृष्ट तुल्याउन सकिन्छ। विभिन्न अङ्गहरूमध्ये कुनै एक वा त्यसभन्दा बढी अङ्गको परिपालनभन्दा पनि सबै अङ्गको परिपालन हुन सक्यो भने बल्ल योगबाट मानिसहरूले लाभ प्राप्त गर्न सक्छन्। जीवनमा पूर्णता प्राप्त गर्न सकिन्छ। अन्यथा शारीरिक अभ्यास, जसबाट शरीरलाई स्वस्थ र स्फूर्त तुल्याउन मद्दत गर्ने रूपमा मात्र हे-यौँ भने योगबाट पाइन सकिने अनेकौँ लाभहरूबाट बञ्चित हुन पुग्छौँ।
प्राणायामलाई सनातन हिन्दुधर्मावलम्बीहरूले प्रत्येक दिनको सन्ध्योपासनामा अवलम्बन गर्नु पर्ने साधनको रूपमा नअपनाएका होइनन्। पछि गएर त्यो केवल औपचारिकतामा मात्र सीमित हुन पुग्यो। एकातिर सन्ध्योपासनामा कमी आइरहेको तथा यसलाई औपचारिकता पूरा गर्ने दृष्टिले मात्र प्राणायाम गरिँदा यसबाट पाउनु पर्ने लाभबाट मानिसहरू वञ्चित छन्। प्राणायाममा पूरक, रेचक र कुम्भकको काम आउँछ। प्राणायाममा  मुख्य तीन तरिका प्रसिध्द छन् – (१) पूरक-रेचक विधि- पूरक भनेको सास इडा वा पिङ्गला नासिकाद्वारबाट सास लिनु, कुम्भक भनेको सास रोक्नु तथा रेचक भनेको तानेको स्वासलाई बाहिर छोडिदिनु भन्ने हुन्छ। (२) अनुलोम-विलोम – इडा नासिकाद्वार बन्द गरी पिङ्गला नासिकाबाट लामो सास लिँदै फेरि इडा नासिकाद्वारबाट लामो स्वास फेर्नु तथा त्यसैगरी पिङ्गला नासिकाद्वार बन्द गरी इडा नासिकाद्वारबाट लामो स्वास  लिई पिङ्गला नासिकाद्वारबाट पूर्णरूपले  स्वास  फ्यालिदिनु। (३) उदगीत प्राणायाम –ओमकार ध्वनीसाथ लामो-लामो स्वास लिदै पुन: स्वास फ्याल्दै करिब २५ पटक जति दोहो-याउने विधिलाई भनिन्छ। प्राणायाममा कुम्भक गर्दा धेरै समयसम्म गर्नु हुन्न। किनभने कुम्भक धेरैबेर गरियो भने मानिसका शरीरमा रहेका कतिपय संवेदनशील तन्तुहरूलाई बाधा पुग्छ। भनौँ तिनीहरूको मृत्यु हुन्छ। सेलहरू असयमै मर्नु वा नास हुनु भनेको बुढ्य्यौली चाँडो आउनु वा रोगहरूबाट चाँडो आक्रान्त बन्नु हो। प्राणायाम हेर्दा सामान्यजस्तो लागे पनि सही ढङ्गले गर्नका लागि सुरु-सुरुमा असल गुरुबाट सिक्नुपर्छ। असल गुरु भन्नासाथै सात्विक गुरु जसमा गुरुत्व छ साथै आधिकारिकता छ त्यस्तो व्यक्ति भन्ने बुझ्नुपर्छ। हिजोआज योगगुरुहरू बजारमा धेरै पाइन्छन्। चाहे युरोप जाऔँ, चाहे अमेरिका, जापान, भारत, चीन, नेपालमै किन नहोस् गुरुहरूको कमी छैन।अनेक स्टूडियो र आश्रम चलाएर धन्दा गरिरहेका व्यावसायिक नामधारी गुरुहरू नपाइने होइन। साच्चैको गुरु बन्नलायक व्यक्तिहरू भने पाउन दुर्लभ छ। पेटको लागि, पैसाको लागि वा व्यवसाय चलाएर बसेका गुरुरूपी प्रशिक्षकहरूबाट योग वा प्राणायामको गूढ रहस्य फेला पार्न कठिन छ। आफ्नो जीवनमा कुनै किसिमको अनुशासन नभएका, आदर्श र लक्ष्य नभएका, जे पायो त्यही खाने, जे पायो त्यही गर्ने, जहाँ पायो त्यही जाने नामधारी गुरुहरूबाट चाहिँ बच्नु नै कल्याणकारी हुन्छ। स्वास्थ्यको साथै आत्मिक विकासमा प्राणायामको अधिक महत्त्व रहेको कुरालाई बिर्सनु हुन्न।साँच्चै भन्ने हो भने मानिसको लागि प्राणायाम जीवन ऊर्जा नै हो भने केही फरक पर्दैन।यसलाई जति नियमित रूपले अवलम्बन गर्छौँ त्यति फाइदा अरूलाई होइन आफैलाई हुने हो।
                              *****-------*****




1 comment:

  1. साह्रै राम्रो लग्यो डा. साहेबको सरल भाषामा लेखिएको लेख। धन्यवाद!

    ReplyDelete