Tuesday, March 27, 2012

जीवनमा सत्यको खोजी

                            
                                                                
       विश्वको दिगो शान्तिको लागि, मानवताको समुचित सम्वर्ध्दन एवं प्रवर्ध्दनको लागि जति आवश्यकता गतिलो राजनीतिक व्यवस्थाको हुन्छ, जति सामाजिक र आर्थिक व्यवस्थाको सुदृढीकरणको हुन्छ त्यो भन्दा कैयौँ गुणा बढी आत्मिक र मानवीय चेतनाको विकासको हुन्छ भन्ने कुरा अब कुनै बहसको विषय हुन सक्तैन।वाह्य उन्नति, भौतिक प्रगतिको साथसाथै मानवीय चेतनाको विकासमा दृष्टि नदिने हो भने विश्वमा देखिदैगएको, बढ्दैगएको, पलपिदै गएको सन्त्रासपूर्ण परिस्थिति र वातावरणले भयावह रूप ग्रहण गर्दै जाने र यसले रहल-पहल रूपमा रहेको मानवताका आधारहरूलाई पनि छिन्न-भिन्न पार्न सक्नेछ भन्नेमा मानवताको सम्वर्ध्दनमा समर्पित बुध्दिजीवीहरू, दार्शनिकहरू, वैज्ञानिकहरू, सामाजिक वास्तुकारहरू चिन्तित रहेका देखिन्छन्। हुन पनि हो आज जुन रूपले आ-आफ्ना निहित स्वार्थका लागि मानिस अरूको अहित गर्न परे, प्राणै हर्न परे पनि नानाभाँतिका पाशविक प्रवृत्तिलाई चाहे विज्ञानको उपलब्धिको नाममा, चाहे धर्म र धर्मयुध्दको नाममा त्यसलाई चोख्याइ अनेक किसिमका मानवताविहीन कार्यहरू विगतमा गरेको र आज पनि तिनैको पुनरुक्ति चोर बाटोबाट अनेक नीति र नियम वा मान्यतालाई समेटी कुनै न कुनै रूपबाट आत्मसात् गरिरहेको देखिनाले मानवता एकदमै दीनहीन अवस्थामा पुगिरहेको तर्फ थोरै मानिसको मात्र ध्यान जान सकेको छ।मानवताको वर्चस्व र विकासका लागि समवेत स्वर सबैतर्फबाट उठ्नु पर्नेमा यो झिनो हुँदै गएको तथा परम्परा, प्रचलन र मान्यतालाई सर्वत्र प्रोत्साहन दिने परिस्थितिको जोगाडले मानवता भन्ने विषय अब कतै औपचारिकतामा मात्र सीमित भइसकेको त होइन भन्ने आशंका उठ्न लागिसकेको यथार्थतालाई आँखा चिम्लिन हुने बेला छैन। यदि यस्तै स्थिति र वातावरणलाई मानवीय विकास भन्ने सम्झन थाल्यौँ भने त्यो सबैका लागि कष्टकर हुने छ। आउँदा दिनहरूमा यदि बुध्दि र विवेक नपु-याउने हो भने मानवताको परिभाषामा नै विचलन आउने छ जसले भावी कालखण्ड अत्यन्त दुष्कर र भयावह बन्दै जाने कुराको सङ्केत अनेक जल्दा-बल्दा घटना र परिदृश्यहरूले देखाइरहेका छन्।   
परम्परा, प्रचलन र मान्यता जस्तोसुकै हुन् तिनलाई नै प्रमुखता दिनाले तथा त्यसले मात्र जताततै जोडतोडले निरन्तरता पाउनाले मानवताको ह्रास हुँदै गएको त होइन ? के कहिले हामीले त्यसतर्फ सोचेका छौँ? मान्यता अनेक हुन सक्छन्- कुनै राम्रा, कुनै नराम्रा अथवा भनौँ कुनै काम लाग्ने कुनै कामै नलाग्ने।तिनै मान्यताहरूलाई परम्परा, संस्कार र संस्कृति नामले सम्बोधन गर्ने पनि चलन छ।कतिपय विकृतिहरू संस्कृतिभित्र नजानिँदो तरिकाले लुकेर मानवतालाई खिल्ली उडाइरहेको पनि हुन्छ। त्यसलाई चिन्न नसक्दा अन्धाधुन्ध मानवताको उपहास भइरहेको छ। मानवताको सम्वर्ध्दनमा तिनको कत्तिको उपयोगिता छ त्यसलाई हेरेर मात्र प्रश्रय दिइनु पर्नेमा त्यसको विपरीत नै जताततै भइरहेको छ। जे-जस्तो मानवता विपरीतको मान्यता होस् त्यसलाई आँखा चिम्लेर अँगालो हाल्नाले पनि जताततै स्थिति जटिल, झन् कठिन बन्दै गइरहेको छ।
मानवताको कुरा गर्दा यसले  मानिसमा निहित कुन विशेषताहरूलाई वा के-कस्ता गुणहरूलाई बुझाउँछ त्यस विषयमा पनि मानिस रनभुल्लमा परेका छन् जस्तो लाग्छ। मानिसमा मानवता यसो हेर्दा कुनै गाह्रो कुरा हो जस्तो लाग्न नसक्ने होइन। तर कहाँ त्यत्ति सजिलो छ र ! मानिसमा बढ्दै गइरहेको पाशविकतालाई हेर्दा जानी नजानी मानिस कुरूपतातिर अभिमुख हुँदै गइरहेको भान पर्दछ।हरेक मानिसमा मानवता उसको नैसर्गिक गुण हुनु पर्ने हो तापनि आ-आफ्नो कुल, घर, समाजले सृजना गरेको संस्कार, परम्परा र अनेकन् मान्यताहरूका कारण मानिसको प्राकृतिक गुणस्वरूपको मानवता ओझेलमा पर्दै गइरहेको नै ज्यादात्तर देखिदै जानु कम दु:खलाग्दो छैन।
कति मानिसहरू मानिसको स्वधर्म के हुन सक्छ भन्ने विषयमा नै अल्मलिएको पाइन्छ। कुल, घर, परम्पराको नाउँमा जे-जस्तो संस्कार-संस्कृति छन् त्यसलाई नै स्वधर्मले समेटेको छ भन्न पनि पछि पर्दैनन्। वास्तवमा भन्ने हो भने स्वधर्म भनेको अरू केही नभई मानवता हो। मानवता भनेको के हुन सक्छ त्यसलाई बुझ्न नै भुल गर्न थाल्यौँ भने चाहिँ ठूलो गल्ती हुन जान्छ।मानवताले बुध्दि, विवेक र हृदयलाई साक्षी राखी गरिने यावत् मानवीय सद्‌गुणहरू- दया, माया, करुणा, अहिंसा,अनुशासन, न्याय, सद्‌भाव, मैत्री, आत्मीयता, समानता, समरसतालगायतका मानिसमा अपेक्षा गरिने तमाम सद्‌गुणहरूलाई बुझाउँछ।आफूलाई साक्षी राखेर मानिसलगायत सम्पूर्ण जीवजगत्‌प्रति मन, वचन र कर्मद्वारा गरिने व्यवहारबाट नै मानवताको परख गर्न सकिन्छ।यसमा कतै चुकेका त छैनौँ त्यसैबाट तत्काल जाँच्न सकिन्छ  मानवतालाई आफूमा।    
आधुनिकताको नाउँमा या विकासको नाउँमा जति-जति नयाँ-नयाँ आविष्कार र भौतिकताको विकास हुँदो छ त्यति-त्यति मानवता धराशायी बन्दै जाने क्रम बढ्दो छ यो चाहिँ अत्यास र उदेकलाग्दो छ।लाग्छ आधुनिक मानव मस्तिष्क अस्पष्ट अलौकिक भयहरू एवं कहिल्यै नटुङ्गिने अनन्त आकाङ्क्षाहरूको बीचको सङ्घारमा सङ्घर्षरत छ।भविष्यको रूप कस्तो हुँदै जाने हो भन्ने चिन्ताले मानिसहरू नराम्ररी सताइएका छन्। जति पनि साधन र स्रोतहरू उपलब्ध छन् प्रकृतिको वरदानको रूपमा या परिश्रम र मेहनतको फलस्वरूप तीमध्ये कुनैप्रति पनि निष्ठा नभएकै कारण मानिस असन्तुष्ट छ र राग, द्वेष, कटुतालाई सृजना गराउने कार्यहरूमा तँछाड-मछाड गरी लागिरहेको जस्तो प्रतिक्षणको व्यवहारले देखाइरहेको छ।यद्यपि मानिसमा ज्ञान बढ्दैगइरहेको छ, जानकारीहरू वृध्दि हुँदैगइरहेका छन्। परन्तु विवेक र सद्‌गुणहरू जसले मानिसको साँचो स्वरूपलाई देखाउन सक्ने हो त्यसमा जति प्रगति देखिनु पर्ने हो देखिन सकेको छैन। त्यसकै अभावमा विश्वमा आज मानिसदेखि मानिस डराउनु पर्ने, एउटा धर्मदेखि अर्को धर्म डराउनु पर्ने, एउटा राष्ट्रदेखि अर्को राष्ट्र त्रसित हुनु पर्ने अवस्थाको सूत्रपात हुँदा पनि तैचुप मैचुपको स्थिति उत्ताउलिदै छ।यस स्थितिमा सबैले आस्था प्रकट गर्ने कुनै यस्तो जीवन्त केन्द्र छैन जसको अगुवाइमा देखिदैगएको र बढ्दैगएको नकारात्मकतालाई समन गर्न कारगर रक्षाकवच प्रदान गर्न सकोस् र त्यसलाई सबैले साथ दिन सकून्।
विगतलाई कोट्टयाउँदा विवेक एवं सद्‌गुणहरूको निरन्तरताको लागि केही अपवादलाई छोडेर धर्मले अनुशासनको काम गरिरहेको थियो। अहिले त्यो कमजोर बन्दै गएको एवं धर्म भनेको बाहिरी आडम्बर र अधिकांशत: कर्मकाण्डीय पध्दतिमा नै सीमित बन्न पुग्दा यो केवल औपचारिकतामा, सतहमा अल्मलिन पुगेको छ भन्दा अतिसयोक्ति हुँदैन। गरिबी, अशिक्षा एवं दरिद्रताको फाइदा लिएर विचारमा रूपान्तरण होइन, अशान्तिबाट शान्तिमा परिवर्तन होइन, दु:खबाट सुखमा पु-याउने होइन, अन्ध्यारोबाट उज्यालोमा पु-याउने होइन कि धर्मान्तरणद्वारा धर्मको प्राप्ति हुन्छ भन्ने मनोदशामा विश्वका ठूला मानिने धर्महरू एक महादेशबाट अर्को महादेश, एक राष्ट्रबाट अर्को राष्ट्रमा छलाङ मारिरहेको अवस्थाले विचलन ल्याइरहेको र यही मनस्थितिले कतिपय हदसम्म राजनीतिसमेत परिचालित हुँदा विश्वको नक्सामा फेरबदल ल्याएको इतिहासलाई बिर्सिहाल्नु हुने अवस्था छैन।   
मानिसलाई बाह्य प्रकृति एवं स्वयं आफ्नो साथ सम्झौता गर्नै पर्छ यदि बाँच्न चाहाने हो भने। किनभने जीवनयात्राको यही एउटा शर्त हो। सबै धर्म, सबै राजनीतिक वादले भन्ने गर्छन् कि मानवताको सम्वर्ध्दन एवं प्रवर्ध्दन नै उनीहरूको लक्ष्य हो। यसो हुँदाहुँदै पनि राजनीतिमा लाग्ने नेताहरूको लहै-लहैमा मानवतालाई संकुचनमा लग्ने प्रयास विश्वका हरेक कुनामा हरदम भइरहेको नै देख्न पाइन्छ। कहिले धर्मको नाउँमा, कहिले रङ्ग र जातिको नाउँमा, कहिले भाषा र झण्डाको नाउँमा। तथापि मानवतालाई नजोगाइ विश्वको कल्याण सम्भवै छैन। आजको आवश्यकता के रहेको देखिन्छ भने मानवतालाई साँचो रूपमा बुझेर उदारतापूर्वक आफ्नो मन, मस्तिष्क र हृदयलाई तयारी गर्दै अनेकौँ विभाजन, तीक्तता र कटुताको बीचबाट पनि एक नवीन एकताको लागि हरसम्भव प्रयत्न गर्दै आ-आफ्नो दृष्टिकोणमा उदारता, शालीनता, भद्रता, सौम्यताजस्ता मानवीय गुणहरू के गरेर ल्याउन सकिन्छ भन्ने तर्फ उन्मुख हुन सकेमा नै जीवनको हरेक पक्षमा विजय सम्भव छ अन्यथा समयले बिट मारेर गएको पत्तै नहुन सक्छ। पद, प्रतिष्ठा, धन,सम्पत्तिको उन्मादको आत्मरति धेरै समय टिक्दैन यो ध्रुवसत्य कुरा हो। यसैले समयमै सत्यको खोजीको भोक जगाएर जहाँ रहे पनि जहाँ बसे पनि मानवताको लागि जीवन न्यौछावर गर्ने मार्गको अवलम्बन नै सर्वोत्कृष्टताको कसी हुन सक्छ भन्नेमा दुइमत नहोला।
                                          ****************  

No comments:

Post a Comment