Saturday, February 18, 2012

जीवनमा रूपान्तरणको समय


                     
                                                                
                   धेरैजसो हामी भ्रममा हुन्छौँ र गल्ती के गरिरहेका हुन्छौँ भने जीवनमा रूपान्तरण नै किन जरुरी छ ? यसका लागि के नै सिक्नुपर्छ र? सबै कुरा समयअनुसार हुँदै जान्छन् यो त आफसेआफ हुने कुरा हो।परेपछि सिकिदै जाने कुरा हो, समयको वर्वादी किन गर्नु भन्ने नै धेरै छन् जस्तो लाग्छ। यो स्थिति अधिकांश मानिसहरूको हो भन्दा फरक पर्दैन।सामान्य रूपले हेर्दा यो ठीकै हो कि जस्तो नलाग्ने होइन तर स्वाभाविक रूपान्तरणको प्रक्रिया लामो समय लाग्ने हुन सक्छ या अझ भनौँ त्यो प्रक्रिया यो जीवनमा प्राप्त हुने हो होइन भन्न सकिने कुरा होइन।
जीवनमा रूपान्तरण सजिलो भइदिएको भए शान्ति, समृध्दि र आनन्दको लगावगी जताततै हुन्थ्यो र कतै चिन्ता लिनु पर्ने विषय नै हुदैन्थ्यो होला। तर परिस्थिति कहाँ त्यस्तो छ र ! एकातिर सङ्गतले, अर्कोतिर खानपान, आहार-बिहारले मानिसको मति र गति पतनको दिशातिर डोरिन कुनै समय नै कुर्नु पर्दैन। यसले व्यक्तिको वैयक्तिक जीवनमा पारेको नकारात्मकता, परिवारमा हुने गरेको अशान्ति, समाजमा बढदैगएको हिंसाजन्य विकृति एवं असहज स्थिति र विभिन्न प्रकारका रोगले गाजेको स्थितिलाई हेर्दा जो कोहीलाई लाग्दो हो कि यसबाट उन्मुक्ति मिल्ने बाटो कुन होला? अवस्था यस्तो नाजुक छ कि के भनौँ! बिग्रने र बिगार्ने चीज यही हो भनेर जान्दा-जान्दै पनि एकपछि अर्को भूल गर्न पछि पर्दैन र मानिसहरू कुलत, कुसंस्कार र निच प्रवृत्तिमा हठात् लहसिरहेको नै पाइन्छ।भनौँ न पुतली बत्तीको आकर्षणमा लागेर जीवन वर्बाद पारेको जस्तो। त्यसको परिणाम के होला अनुमान गर्न गाह्रो पर्दैन। हिंसा, हत्या, लूट, अपहरण, चोरी, डकैती, फटाइ सबका सबको सृजनाको मूल नै त्यही मति र गतिमा आएको ह्रासोन्मुख अवस्था हो भन्न अब पनि हिच्किचायौँ भने ठूलो गल्ती हुने छ।
रूपान्तरण शव्द हिजोआज निकै चलनचल्तीमा आइरहेको शव्द हो। रूपान्तरण के हो ? र यो केका लागि भनी बुझ्ने/नबुझ्ने दुवैथरी यो शव्दको पछि लागिरहेको  सबैतिर देखिन्छ।राजनीतिमा रूपान्तरण, सामाजिक क्षेत्रमा रूपान्तरण, आर्थिक क्षेत्रमा रूपान्तरण, धार्मिक-आध्यात्मिक क्षेत्रमा रूपान्तरण, शैक्षिक क्षेत्रमा रूपान्तरण जताततै रूपान्तरणको चर्चा हुन थालेको छ।यसको भित्री आशय बुझेर प्रयोग हुन गए र व्यवहारमा उत्रन सके असाध्यै राम्रो कुरा हो तर शाव्दिक रूपमा मात्र त्यसलाई हेरिए आशातीत उपलव्धि नहुन सक्ने सम्भावना धेरै छ।रूपान्तरण शव्द जहाँ-जहाँ प्रयोग भए पनि यसको आशयचाहिँ हुन्छ कि यथास्थितिबाट उठेर कुनै नवीन तत्त्वको खोजी, जसबाट  सुख, शान्ति र आनन्दको केही यस्तो सूत्रको प्राप्ति होस् जसले गर्दा तत् तत् क्षेत्रमा दिगो उपलव्धि हासिल हुन सकोस् भन्ने रहेको पाइन्छ। यस दिशामा को कति सफल हुन्छ भन्ने कुरा त्यसलाई व्यवहारमा कति उतारिन्छ त्यसमा भर पर्ने कुरा हो।   
मनुष्यत्व असल गुण र आचरणमा निहित हुन्छ। यसको प्राप्तिको  लागि मानिसमा स्वप्रवृत्ति अन्तर्निहित हुन सके राम्रो हुने भए तापनि समय, परिस्थिति, सङ्गत र वातावरणले मानिसलाई सोचेको जस्तो बन्न नदिने अवस्था नै ज्यादात्तर बनिदिँदा रूपान्तरण भन्ने कुरा पनि शाव्दिक जञ्जालमा अडकिन पुगेको छ।जडवत् बाहिरी रूपान्तरण कि जीवन्त रूपान्तरण के चाहेको ? त्यसको स्पष्ट दिशानिर्देश नहुञ्जेलसम्म जीवनमा रूपान्तरण फलिभूत नहुने परिस्थिति बन्न सक्छ। यसतर्फ मानिसले सोच्ने फुर्सतै पाएको हुँदैन। वाह्य रूपान्तरण हेर्दा के के न जस्तो लागे तापनि चाहिएको त आन्तरिक रूपान्तरण नै हो।वाह्य रूपान्तरण गाह्रो छैन। बाहिरी आवरण परिवर्तन गरिदियो, स्वरूप फेरिदियो बस् त्यो भइहाल्छ।जस्तो हिजोआज देखिइरहेको छ यस्तो वाह्य रूपान्तरणको प्रवृत्ति व्यक्तित्व विकास, नेतृत्व विकास आदि-आदिको नाउँमा।समग्र आधुनिक शिक्षा पनि यसैतिर उन्मुख छ।यही कारण हो कि विकृति, विसङ्गतिको चकाचौँध हुँदो छ। बाहिरबाट हेर्दा, देख्दा के-के न गरिहाल्लान् कि जस्तो लाग्छ तर त्यो सब भइरहेको हुँदैन। आन्तरिक रूपले रूपान्तरित नभई सर्वजन हिताय सर्वजन सुखायको काम कहाँ हुन सक्छ? 
वाह्य रूपान्तरणमा स्वच्छन्दतावादी प्रवृत्ति हावी भएको हुन सक्छ जसको कारण रूपान्तरणको कुरा केवल शव्दमा, भाषामा, प्रवचनमा, भाषणमा, देखावटीमा, आडम्वरमा सीमित हुन पुग्छ। जबकि आन्तरिक रूपान्तरणले अनुशासनलाई, शीष्टतालाई, सदाचारलाई, सद्‌भाव र आत्मीयतालाई प्रोत्साहित तुल्याउँछ भन्ने आशा गरिन्छ। आन्तरिक रूपले रूपान्तरित भएको व्यक्तिमा विनम्रता, शालीनता, शीष्टता, उदारता, विशालता, विराटता, दिव्यताको बेजोड प्रदर्शन उसको यावत् कर्ममा मुखरित भएको अनुभव गर्न पाइन्छ।त्यस्तो व्यक्तिमा सत्यप्रति निष्ठा हुन्छ, विश्वास हुन्छ परन्तु धर्मान्धताको लेशसम्म पनि हुँदैन।यस्ता व्यक्तिहरूलाई त्यो शव्द दिन सुहाउँछ जसलाई धार्मिक भन्न रुचाउँछौँ।या भनौँ यही नै आन्तरिक रूपले रूपान्तरित व्यक्तिको लक्षण हो। कुनै आराधनास्थलमा पुग्दैमा या मठ-मन्दिर, तीर्थयात्रा गर्दैमा या विभिन्न परिधानमा या कुनै विशेष चिह्नमा सजिदैमा या ग्रहण गर्दैमा या कुनै कर्मकाण्डमा अभ्यस्त बन्दैमा रूपान्तरित व्यक्ति भन्न मिल्दैन।रूपान्तरित व्यक्तिको जीवनमा दिव्यताको चहक कुनै पनि कोणबाट देख्न पाइन्छ।
धार्मिक शव्दको दुरुपयोग युगौँ-युगदेखि हुँदैआएको छ जसको कारण भन्नु पर्ने हुन्छ धर्मको साँचो स्वरूप विलुप्त बन्न पुग्यो र आडम्वर, ढोँग, देखावटी कुराहरू धर्मको लक्षण बन्न पुगे। यो कुनै एक धर्मको कुरा होइन संसारमा विद्यमान सबै धर्ममा यही प्रवृत्तिले बोलाबाला पाएको छ जसको कारण एकप्रति अर्कोको विद्वेष र नकारात्मक भावको गन्ध कहिँ न कहिँ अभिव्यक्त भइहाल्छ। विशष्टता कहाँनिर उजागर हुन सक्छ भने विविधता र अनेकताभित्र पनि एकताको सूत्रलाई पहिल्याएर विश्वकल्याणको लागि ती साझा सूत्रलाई सदुपयोग गर्दै मानवीयताको पक्षमा युगान्तकारी कुनै यस्तो चेतना दिन सकियोस् कि जसले अनेकथरी विभाजनका दुर्लङ्घीय पर्खालहरूलाई सदाको लागि मटियामेट पारिदेओस्।यसैमा सबैको हित छ न कि प्रतिद्वन्द्वितामा। धर्म-सम्प्रदायबीचको प्रतिद्वन्द्विताले त विद्वेषलाई जन्माउँछ, विखण्डनलाई हुर्काउँछ, कलह र अशान्तिलाई निम्त्याउँछ।
अनेक भौतिक विकास र सम्भावनाहरूको बावजूद पनि व्यक्ति-व्यक्तिको मनमा एउटा सन्त्राशले, चिन्ताले  जरो गाडेर बसेको छ कि भविष्य कस्तो होला? हामीसँग जे जति भौतिक सर-सुविधाहरू छन्, साधन छन्, सम्पन्नता छ, शक्ति छ, ऊर्जा छ तिनको विपरीत पनि शान्ति र आनन्दसँग जीवन व्यतीत गर्नमा  मानिस असमर्थ छ।वाह्य ज्ञान बढ्दै गएको छ, सूचनाप्रविधिको कारण जानकारीहरू यथेष्ट मात्रामा उपलव्ध छ, हाजिरीजवाफको तयारीजस्तो कोही कुनै विषयमा अनभिज्ञ नभएजस्तो प्रतीत लाग्दा-लाग्दै पनि विवेक एवं सद्‌गुणहरूको अभाव द्रुततर गतिले खडकिदै जाँदो छ। त्यसप्रतिको लगाव र चेतना जति बढ्नु पर्ने हो त्यो नहुन सक्नु दुर्भाग्यको कुरा भएको छ। कहाँनिर चुक्यौँ हामी? त्यसको खोजीनीति दिनानुदिन जरुरी हुँदै गएकोतर्फ ध्यान जान नसक्नु अर्को विडम्वना भएको छ भन्दा फरक पर्दैन।निरन्तर आ-आफ्नो पद, प्रतिष्ठा र पैसाको स्वार्थको लागि सङ्घर्ष, द्वन्द्व, खिँचातानी, वैमनस्य बढाउनुलाई नै राजनीतिको जामा पहि-याइदिएर त्यसैलाई राजनीतिक रूपान्तरण भन्ने गलत अर्थ गराइ बढ्दो छ। हिजोभन्दा आज, आजभन्दा भोलि मानिसको जीवन हरेक दृष्टिकोणले उन्नति र उच्चतामा अभिमुख हुन सक्यो भने मात्र त्यसलाई सहि रूपान्तरण भन्न  मिल्छ। अन्यथा बोक्रे र देखावटी रूपान्तरणको कुनै अर्थ छैन।सहि आन्तरिक रूपान्तरण हरेकको लागि हर युगको लागि जरुरी छ।  
आज यस्तो सङ्घारमा मानिस उभिन पुगेको छ कि सर्वत्र हिंसा, प्रतिहिंसा, माराकाट र सङ्घर्षमा नै कोही बाँच्नुको जिजीविषा बन्न पुगेको छ। कति कठिन छ परिस्थिति! जीवनमा सहि रूपान्तरण जति छिटो भयो त्यति राम्रो।यसका लागि उचित समयको प्रतिक्षा गरेर बस्नु समयकै बर्वादी हो भने हुन्छ।सृष्टिलाई परिवर्तन गर्न सकिन्न भने दृष्टिलाई सहि र कामलाग्दो तुल्याउन त सकिन्छ। परिस्थितिलाई वदल्न सकिन्न भने मनस्थितिलाई त सुधार्न सकिन्छ भनी चेतनाको स्तरलाई जति सकिन्छ, जसरी सकिन्छ त्यही किसिमले   दीपशिखालाई झैँ उर्ध्वरेत अवस्थामा पु-याउन सदैव प्रयत्नरत रहनु नै वास्तवमा जीवनलाई रूपान्तरण गर्ने पाइलाको सुरुवात हो भन्ने सम्झी अगाडि बढ्दै जानु नितान्त आवश्यक महसुस हुन्छ।वाह्य रूपान्तरणको लागि त मानिस मरिहत्ते गरिरहेका हुन्छन् भने आन्तरिक रूपान्तरणको अवसर पनि सँग-सँगै उपलव्ध हुने अवस्थाको सूत्रपात गर्न सकिए कति उत्तम हुँदो हो कल्पना गरौँ त!  
                                      *****************  



     

No comments:

Post a Comment