Friday, February 3, 2012

स्वतन्त्रता कि स्वच्छन्दता ?


                               


                                                           

            व्यक्ति जति  बुद्धिमान हुन्छ, जति शिक्षित र पढेलेखेको हुन्छ  उति नै  आफ्नै ढंगबाट, आफ्नै शैली र पहिचानबाट बाँच्न चाहन्छ।भनौँ न स्वतन्त्र किसिमबाट जीवनलाई अगाडि बढाउन नै प्रयत्नशील हुन्छन्।विस्तारै-विस्तारै जब मानिसमा चेतनाको स्तर बढ्दै गयो, शिक्षाको प्रकाश फैलदै गयो तब यत्रतत्र सर्वत्र स्वतन्त्रताको नाममा अनेक किसमका आन्दोलन, क्रान्ति एवं वगावतको आगो सल्किदै गयो।स्वतन्त्रताको परिभाषा आ-आफ्नै ढङ्गबाट गरिदै गयो।यसैको उत्कर्षको परिचायक हो कि पुराना सामाजिक संरचनाहरू, उहिलेका राज्यव्यवस्थाका अवशेषहरू तोडिदै जादै छन्।नयाँ-नयाँ तौरतरिका र व्यवस्थाको प्रयोग र व्याख्या आ-फ्नो किसिमले हुँदै छन्। यो जरुरी पनि छ कि समय, परिस्थिति र परिवर्तित वातावरणले नयाँ आवश्यकताहरूलाई जन्माउँदै जान्छ। 
स्वतन्त्रताको अर्थ स्वच्‍छन्दता होइन।स्वतन्त्रताको ठाउँमा स्वच्छन्दताले ठाउँ लिन खोजे सम्झे हुन्छ कि अब देख्न नपर्नु पर्ने के के विषय देखिने हो, सुन्नु नपर्ने के के कुरा सुनिने हो, भोग्नु नपर्ने के के भोगिने हो।स्वच्छन्दता सच्चा स्वतन्त्रता नभई स्वेच्छाचारिता हो। यसको परिणाम हुन्छ विनाश! जब संयम रहँदैन, अनुशासन हुँदैन त्यसको विपरीत मनोमानी देखिन थालेपछि विशृङ्खलताले ठाउँ लिइहाल्छ। यसैको कारण पहिले नियम-कानुनको सीमामा रहेका अनेकौँ विषयहरू ओझेलमा पर्ने छन्।
स्वतन्त्रताको अर्थ हिजोआज कुन रूपमा बुझ्न थालिएको छ भने आफ्नो व्यक्तित्व विकासका लागि  स्वतन्त्रतापूर्वक निर्णय गरेर आफ्नै किसिमको जीवन बाँच्न चाहन्छु भन्नेलाई नै बुझ्नु पर्ने हुन्छ। यसरी हेर्दा  अनुशासनको  पुरानो सारा परम्पराहरू  आज आएर  सङ्क्रमणकालिक अवस्थामा आइपुगेको भान हुन्छ।पुरानो पुस्ता र नयाँ पुस्ताबीचमा सधैँ हुने असमझदारी नै यहीबाट सुरु हुन्छ।यस्तो स्थिति सधैँ दोहोरिरहेको हुन्छ।हिजो थियो, आज छ र भोलि पनि आउने निश्चित छ। यस अवस्थामा पुरानै रीति-स्थिति, नियम-कानुन र अनुशासनको कुरा गर्न थाल्यौँ र तीमात्रै सबथोक हुन् भन्ने सोचमा रह्यौँ भने ठूलो भूल हुनेछ। मानवीय संवेदनालाई चोट नपु-याउने, अझ भनौँ मानवीयताको अस्तित्वलाई नखल्बलाउने गरी कुनै नयाँ तौरतरिका, कुनै नवीन चेतनाको विकास हुन्छ र त्यसले सर्वतोभावेन मानवीय विकासको लागि केही योगदान पु-याउन सक्छ भन्ने लाग्छ भने त्यसलाई आत्मसात् गर्नपट्टि लाग्नु नै बुध्दिमानी हुन्छ न कि तिनलाई इन्कार गर्नु!

यो हुन्छ र यो हुँदैन भन्ने अनुशासनका कुराहरू, नीतिका कुराहरूलाई घोकाएर पुग्दैन। यस्तो काम विगतमा धेरै भइसक्यो। परिणाम के भयो त? हातमा लाग्यो शून्य भन्नु पर्ने अवस्था छ। अब विवेक, बुध्दि र चेतनाको विकास कसरी गर्ने, जसले गर्दा उसले स्वाभाविक रूपले बुझोस् कि यो ठीक यो बेठीक भन्ने कुरा, त्यतातिर दृष्टि दिई हाल्नु पर्ने बेला आएको छ। जबसम्म भित्रैदेखि बुध्दि, विवेक र चेतनाको प्रकाश देदीप्यमान नभई बाहिरी रूपले गरिने, मानिने  यावत् कार्यहरूमा देखावटी रङ्ग वा चमक-धमक मात्र हुन्छ त्यसले मानवताको विकासमा कुनै किसिमको सहयोग पु-याउँदैन यो निश्चित छ। अहिलेसम्म शुभ के हो, अशुभ के हो, राम्रो के हो, नराम्रो के हो, यी सबै विषयमा मानिस आ-आफ्नो कुल, रीति, परम्पराअनुसारको कार्यलाई अवलम्बन गर्दैआइरहेका थिए। जसले त्यसलाई मान्यो ऊ असल भयो जसले मानेन या तिरस्कार ग-यो त्यसको अर्थ हुन्थ्यो कि उसले इन्कार ग-यो यसैले उसलाई खराब व्यक्ति सम्झियो वा दुत्कारियो! कतिपय हदमा जसले परम्परालाई मान्यो उसलाई सज्जनताको लक्षणसमेत मानिने प्रचलन रह्यो।साँघुरो बन्धनमा, सीमिततालाई  सर्वोपरि र व्यापकताको पहिरन दिन खोज्दा जताततै अस्तव्यस्तताको सूत्रपात भएको हो भन्न अब हिच्किचाउनु हुँदैन। अब यस प्रकारको चिन्तनलाई, धारणालाई सहसा मानिसले स्वीकार गर्न सक्तैन, मान्ने अवस्थै पनि देखिन्न। यसमा आमूल परिवर्तनको जरुरी छ। मानवतालाई जगाउने , बढाउने, हुर्काउने किसिमका कार्यहरूलाई प्रोत्साहन दिई पशुतालाई हटाउने, मेटाउने, धपाउने कार्यलाई चारैतिरबाट साथ दिई निमिट्यान्न नतुल्याई मानवीयतालाई जति नै अग्रगामी दिशातिर लग्न खोजिए पनि त्यसमा सारतत्त्व नरहने हुन्छ।
प्रत्येक व्यक्तिमा यस्तो ऊर्जाशक्ति छ कि उसले चाहेमा त्यसलाई सशक्त किसिमले अगाडि बढाउन सक्छ तर यो कुरा सबैले नबुझ्दा अरूमा त्यो शक्ति छ ममा छैन कि भनेजसो गरी आफ्नो अमूल्य जीवनलाई व्यर्थमा गुमाइरहेका छन्।विवेकको कुरा पनि त्यस्तै हो। सबैसँग विवेक शक्ति छ।जति विवेकलाई जागृत तुल्याउन सकियो त्यति मानवजीवनको सौन्दर्य निखारिन्छ।यस कुरालाई कमै मानिसले मात्र बुझ्न पाएका छन्। विवेकबाट उभारिने अनुशासन यस्तो हुन्छ कि लाख प्रयत्न गरे पनि त्यसबाट विचलित हुने कुरै आउँदैन। त्यो बालुवामा लेखिएजस्तो होइन कि ढुङ्गामा लेखेजस्तो हुन्छ। के गर्नु ठीक, के गर्नु बेठीक, कहाँ जान हुने, कहाँ जान नहुने, के खान हुने, के खान नहुने सबै कुराको चेतना विवेकको जागृतिबाट सम्भव छ। यसैले विवेकलाई जगाउने शिक्षा, साधना, नीति, कार्यक्रमहरू आजको विश्वमा अति नै खाँचो पर्दै गएको अनुभव हुन्छ।यसरी आउने अनुशासन उत्तमकोटिको हुन्छ, अब्बल दर्जाको हुन्छ।यसमा परतन्त्रताको लेशसम्म पनि हुँदैन जसको कारण भित्रैदेखि त्यसप्रति आदर, श्रध्दा र सम्मान हुन्छ।अध्यात्ममा यही विवेकशक्तिको अभिवृध्दिको लागि भरमग्दुर प्रयत्न गरिएको हुन्छ। 

वाह्य रूपले लादिएको वा अरूद्वारा बलजफ्ती थोपरिएको नीति-नियमप्रति मानिसमा श्रध्दा हुँदैन।यसले परतन्त्रतालाई निम्त्याउँछ। परतन्त्रताको  विरुध्द हाम्रो मनमा विद्रोह पैदा हुन्छ। विद्रोहमा नियम तोडिन्छ, अनुशासन छोडिन्छ। यदि व्यक्ति स्वतन्त्र भयो, आफ्नै ढङ्गले चेतनाको माध्यमबाट अनुशासन  ल्याउन सफल भयो भने जीवनमा विद्रोहको भावना पैदा हुँदैन।विश्वमा जे जति विद्रोह, क्रान्तिको अभिनय भइरहेको छ ती सबै आफूलाई परतन्त्रको महसुस गरेर भइरहेका हुन्।यसलाई दवाउने अरू कुनै उपाय छैन सिवाय चेतनाको विकास ! यसलाई नजानेर सुरक्षा दस्ता बढाएर हुन्छ कि हातहतियार देखाएर पो हुन्छ कि भनी संसारका अनेक राष्ट्रहरू आ-आफ्नै ढङ्गले लागेको पाइन्छ।यो त उल्टो प्रक्रिया भयो। हिंसाबाट त हिंसै पो जन्मिन्छ। कहाँ, कहिले जन्मन सक्छ अहिंसा ? यो हुन सक्ने कुरै होइन। जे रोप्यो त्यही फल्ने हो।अशान्ति रोप्ने अनि शान्तिको आशा गर्ने ? कहाँ सम्भव हुन्छ त्यस्तो कुरा?
  
शिक्षा बढ़ेको छ, संस्कृति बढेको छ, सभ्यता बढ़ेको छ,  वाह्य ज्ञान बढ़ेको  छ। मानिसको विवेकलाई जगाउन पहिलेभन्दा केही सजिलो पनि भएको छ। जानेको खण्डमा अबको बाटो केही सुगम छ भन्नै पर्छ। बाहिरबाट थोपर्ने भन्दा पनि भित्रबाटै चेतनाको प्रकाशलाई बढाउने काम प्रभावकारी हुन्छ यसमा कुनै शङ्कै छैन। सत्य बोल, धर्म गर भनेर पुग्दैन। त्यसबाट व्यक्तिलाई के कस्तो उपलव्धी हुन सक्छ। सत्यको प्रतिष्ठा हुन सक्यो भने के हुन्छ, अहिंसालाई बढाउन सकियो भने जीबनमा के परिवर्तन आउन सक्छ जस्ता कुराहरूको बोध हुनु पनि त्यत्ति नै जरुरी छ। विकृत परम्परा, कुसंस्कार र रीतिस्थितिहरू जे छन् ती हाम्रो धरोहर हुन् भनेर त्यसलाई काखी च्यापेर बस्न थाल्यौँ भने त्यसले उल्टै विकृतिलाई जन्माउन थाल्छ जुन कसैको लागि पनि सुखकरी हुँदैन।गलत परिपाटिहरूलाई अनावश्यक रूपले काँखी च्यापेर त्यसको पक्षमा वकालत गर्नाले, स्वतन्त्रताको गलत व्याख्याका साथै स्वच्छन्दतालाई प्रश्रय दिनाले  आजको  अन्योलको अवस्थाको सूत्रपात भएको हो भन्ने कुरालाई बुझ्नुपर्छ। शिक्षा त दियौँ आचरण दिएनौँ, पढाइ त दियौँ व्यबहार दिएनौँ, सूचनासङ्ग्रह गर्न त सिकायौँ तर उद्यमशीलता दिएनौँ, शालीनता, भद्रता सिकाएनौँ जसको कारण आज अनेक विकृति र विसङ्गतिहरूको थुप्रो मानिसको नामबाट भइरहेको छ।

विवेकसम्मत कामकै अभावले गर्दा मानिसमा जडता बढ्दै गइरहेको छ। बुध्दि र विवेकले सम्पन्न त भनिदियौँ मानिसलाई तर त्यो हो कि होइन भनेर सोच्ने, सम्झने र चिन्तन गर्ने फुर्सत सम्भवत: कसैलाई नभएर होला त्यतापट्टि दृष्टि दिन नै कसैलाई फुर्सतै भएन। यसले गर्दा जसले यसलाई स्वीकारे ती जडवत् बन्न पुगे जसले त्यसलाई विचारै गरेनन् उनीहरू बर्बाद हुन पुगे। दिल, दिमाग, हात, खुट्टा सबै छ तैपनि उनीहरू एक किसिमले भन्ने हो भने पङ्गु छन्, बुध्दिशून्यजस्ता छन। समस्याको जड नै यही हो अहिले संसारमा। जता हे-यो त्यहाँ यही किसिमको समस्याले समाज ग्रस्त छ।सङ्क्षिप्तमा भन्नु पर्दा अरूको अधिकारको सम्मान गर्नु तथा आफ्नो कर्तव्यको इमान्दारीपूर्वक पालना गर्नु सच्चा स्वतन्त्रता हो भने त्यसको विपरीत गर्नुचाहिँ स्वच्छन्दता।दुईमध्ये एक रोज्न मानिस स्वतन्त्र छ तापनि जीवनको मूल्यबोध गर्ने हो भने न राजनीतिमा, न धर्म-संस्कृतिमा, न सामाजिक संस्कारमा न अर्थनीतिमा कतै पनि स्वच्छन्दता ठीक छैन यो कुरा सदासर्वदा स्मरणीय छ।

                                    ***************   





No comments:

Post a Comment