Sunday, October 16, 2011

मनुष्य जीवनको दिव्यता


                             
                                          

                जस्तोसुकै जीवनप्रति कुनै दृष्टिकोण नै नभएको मानिसको मनमा पनि कहिलेकाहीँ आउँदो होला कि आखिर जीवन भनेको के होला? तपाईँलाई कस्तो लाग्छ? मलाई त बारम्बार यो प्रश्नले सताएको छ। यसको जवाफ मैले सजिलै पाउन सकिनँ। यसको लागि धेरै कुर्नु प-यो, धेरै प्रतिक्षा गर्नु प-यो। यस्तै तपाईँलाई पनि भएको हुनुपर्छ यदि जीवनको बारेमा कहिले सम्झिने अवसर पाउनुभएको छ भने। धेरै मानिसले त जीवनको बारेमा जान्ने, बुझ्ने फुर्सत नै नपाई विचरा उसपार गइसकेका हुन्छन् कहिल्यै नफर्कने गरी।कति मानिसले सोचेका हुन्छन् कि जीवन भनेको  बुझ्नु पर्ने कुरा नै के छ र? हात, खुट्टा, दिमाग सबै सही छन् भने त्यही त हो नि जीवन! त्यत्ति भएपछि पुगिहाल्यो, कमाउन सकिहाल्छ, आफ्नो खुट्टामा उभिइहालिन्छ भन्ने सोचाइ राखेको मैले ज्यादात्तर पाउने गरेको छु।यसको अर्थ त भयो खानु, पिउनु, मोज गर्नु, घरबार जमाउनु, सन्तान जन्माउनु, हुर्काउनु, बढाउनु, पढाउनु नै मानिसको जीवन रहेछ।सामान्य रूपमा हेर्दा कता-कता यही नै जीवन हो भन्ने नलाग्ने होइन। कत्तिले भन्न सक्छन् जीवन भनेको दु:ख, दर्द, सुख, शान्ति, अशान्ति, आनन्दको सङ्गमस्थल हो। ती समग्रको मिश्रण हुन्छ जीवनमा भन्ने कत्तिलाई लाग्दो हो। तर समग्रमा जीवन भन्नु यति मात्र जरुर होइन।यो त सतही परिभाषाको लागि मात्र काम लाग्छ।यति नै मात्र जीवन हो भन्ने सोच्ने हो भने जीवनको दिव्यतातर्फको बाटोको सोधी-खोजी नै नगरे हुन्छ। होइन यसभन्दा माथिको दिव्य जीवनको पहिचान गर्छु र आफ्नो जीवनलाई सेवामय, त्यागमय तुल्याएर परहित र कल्याणको लागि समर्पित निष्ठावान जीवन बनाउन उद्यत हुन्छु भन्ने लाग्छ भने त्यस्तो जीवनको लागि केही न केही सर्वोत्कृष्टताका कसीहरूबाट पार पाउनै पर्ने हुन्छ।
जीवन सबैको उस्तै कहाँ हुन्छ र! कसैको  एकांश, कसैको चौथाइ, कसैको अर्ध, कसैको पूर्ण किसिमले बाँचेको अवस्थालाई इङ्गित गर्ने किसिमको हुन्छ। कतिको जीवन  मात्र बाँचिरहेको अवस्थाको हुन्छ, कति मरेतुल्य बाँचिरहेका हुन्छन् ! कति केवल बाँच्नको खाने नभई खानको लागि बाँचिरहेका हुन्छन्। खान पाए, मोज गर्न पाए जीवन सफल भएको ठान्नेहरूकै जमात यसरी बढ्दै जाँदो छ कि के भन्ने! आफूले आफैलाई यसरी सङ्‌कुचित र सङ्‌कीर्ण पारिरहेका हुन्छन्, जसको कारण उसमा निहित अनन्त सम्भावना र ऊर्जा यसरी खेर गइरहेको छ कि त्यसबाट धेरै यस्ता कार्यहरू गर्न सकिन्थ्यो जसबाट प्राणीमात्रकै हित-कल्याणमा चमत्कारिलो प्रभाव पर्न सक्थ्यो।पल-पलको अमूल्य समय बितिरहेको पर्वाहै छैन अधिकांशलाई !
जीवनभरी केवल आफ्नो मात्रै चिन्तन, आफ्नै परिवार र स्वार्थको मात्र चिन्तन र पोषण, आफ्नैमात्र तुच्छ स्वार्थपूर्तिमा जीवनभरको घोटाइ, परिश्रम, तिकडमबाजी, महत्त्वाकाङ्क्षा, लिप्सा र प्रतिष्ठाको लागि अन्तहीन कालाकर्तूत, षडयन्त्रको जालबिछ्याइ भइरहन्छ भने के त्यसलाई जीवनको सार्थकता भन्न मिल्ला! कदापि सकिन्न। यो सामान्य नागरिकमा लागू हुन्छ, सचेत नागरिक भन्नेहरूमा लागू हुन्छ, नेता, राजनेता जे-जे भनौँ सबैमा लागू हुन्छ, प्रशासक, सुधारक, सामाजिक वास्तुकार, योजनाकार, कलाकार, चित्रकार, पत्रकार सबैमा त्यत्तिकै लागू हुन्छ।राजनैतिक पार्टी र धार्मिक सम्प्रदाय सबैमा यो कुरा त्यत्तिकै लागू हुन्छ। निरर्थक जीवन जिएर समय गुमाउनु भनेको जीवनलाई नबुझ्नु हो भन्ने लाग्दैन तपाईँलाई? यसो त सार्थक जीवन या साँचो जीवनको अर्थ बुझ्नेहरू नै पनि कति होलान्। खोज्दै गयो भने औँलामा गन्न पुग्ने जति भेट्टाउन पनि मुस्किल-मुस्किल पर्ला भन्ने सम्झन्छु।
कसैले तपाईँलाई मलाई एक-दुई जना असल मानिस चाहिएको छ तपाईँसँग कोही होलान् त्यस्ता व्यक्ति भनेर सोध्यो भने या त नामै दिन सक्नु हुन्न या एक-दुई जनाको भन्दा बढीको नामै गनाउन सक्नु हुन्न किन? आफूलाई भन्दा अरूलाई विश्वास गर्न नसक्ने अवस्था साच्चै भन्ने हो भने सबैतिर देखिदै छ।अझ बढ्दै छ।समाजमा यसरी विभाजनका रेखाहरू तेर्साइदिएका छौँ वा त्यसतर्फ नै समाजको ध्यान मोडिएको छ जसबाट एकआपसमा हुनुपर्ने स्नेह, सद्‌भाव, सम्मान र आत्मीयता भन्ने मानवीय गुण नै धराशायी बनिसक्यो वा बन्ने यस्तो दयनीय बिन्दुमा पुगेको छ कि अब त्यसलाई पुनर्स्थापना गर्न सानोतिनो प्रयास र प्रयत्न अपुग हुन्छ।यसो हुनाको मूल कारण भनेकै विश्वास र आदरले होइन, शीष्टता र शालीनताले होइन जताततै शङ्काले हेर्ने प्रवृत्ति नै यसको जड कारण हो भन्दा अत्युक्ति हुँदैन। मानवीय गुणहरूमा स्खलन वा ह्रास के भनौँ त्यसमा नराम्ररी आएको विचलन नै यसको अर्को कारण हो।एकले अर्कोलाई विश्वास गर्नै नसक्ने नजानिँदो किसिमको अन्योलका, असमझदारीका क्षणहरूमै मानिसको दिनहरू बित्दैजाँदा छन्।यसले मानिसलाई एकाङ्की बनाएको छ अर्थात् एक्लाइ रहेको छ हरेक दृष्टिकोणले। विचारमा एकाङ्कीपन, सोचाइमा एकाङ्कीपन, व्यवहारमा एकाङ्कीपन। जता-ततै , देखापर्दैछ। यो भन्ने चिन्तन नै सामूहिकताको शत्रु हो। समूहको, समाजको, राष्ट्रको, विश्वको नैसर्गिक विकासमा यो बाधा बनेर आएको पाइन्छ।
सामूहिक कार्यमा, समूहको संलग्नतामा, मिलेर गरिएको कार्यमा म र मेरोको सट्टा हामी र हाम्रो भन्ने भावना जाग्न सके साँच्चैको तरक्की सर्वत्र देख्नपाइने थियो।तर यो जायज कुरालाई धेरैले बिर्सेका हुन्छन् र समस्या सुरु भइहाल्छ कुनै पनि कार्यको उठानसँगै। मेरो देश, मेरो समाज, मेरो झण्डाको कहिलेकाहीँ केही हदसम्म अर्थ हुन सक्छ राष्ट्रिय भावना जगाउन, देशप्रति माया-ममता बढाउन तर यिनै सबै थोक हुन्, यसबाहेक केही छैन भन्न थाल्यौँ  भने जड राष्ट्रवादको बिगबिगी सुरु हुन्छ, जसको अन्तिम परिणती भनेको अशान्ति, द्वन्द्व र हिंसा हो।यसलाई आफ्नो सीमामा वा परिधिमा राखेर मनमा मानवताको हित, प्राणीमात्रको कल्याणकामना हुन सक्यो भने मात्र बल्ल जीवनमा जीवन्तता सुरु हुन थाल्छ।तब मात्रै आत्मिक ज्ञानको चाह बढ्न सुरु भएछ भन्ने हुन्छ।कहिलेकाहीँ भ्रमवश शिक्षालाई पनि ज्ञान भन्ने गर्छौँ तर शिक्षा र ज्ञानमा धेरै अन्तर छ। शिक्षाले वाह्य कुराको साङ्गोपाङ्ग स्थितिको अवगत गराउन सक्छ, कुनै विषयमा साक्षर गराउन सक्छ जबकि ज्ञान हृदयसँग, आत्मिक चेतना र उद्दीपनसँग सम्बन्ध राख्ने हुन्छ।
चारैतिर जीवनमा चरम भ्रमहरू छन्। कतै धर्मको नाममा, कतै संस्कृति र संस्कारको नाममा, कतै शास्त्र र परम्पराको नाउँमा! यता-उता सर्वत्र क्रूरताको पराकाष्ठा छन्, तर ती सबैलाई क्रूरता हो भन्ने साहसको कमीले कैयौँ विसङ्गति र विकृतिहरू युगौँयुगदेखि चल्दैआइरहेको छ,जन्माइरहेको छ र जीवनको वास्तविक रहस्य बुझ्न झन्-झन् गाह्रो परिरहेको भान हुन्छ।यतिविघ्न विभाजनका रेखाहरू कोरिएका छन् कि के भन्ने? मेरो देश-तेरो देश, मेरो धर्म-तेरो धर्म, मेरो ईश्वर, तेरो ईश्वर ! कालो, गोरो, सानो-ठूलो, मालिक-नोकर आदि-आदि। जताततै रनभुल्लता छ, अन्योलमात्रै होइन महाअन्योल छ। यी सबैबाट पर हुन सकेर आ-आफ्नो निहित स्वार्थ, वाद, सम्प्रदाय, विचार, धारणा र चिन्तनको बन्दी हुनुबाट जोगिएर भनौँ वा माथि उठेर जबसम्म सबैको हित-कल्याण हुने तौर-तरिका, नीति-नियम, दर्शन, कार्यक्रम र सिध्दान्तको माध्यमबाट यथार्थ रूपमा काम गर्न सकिन्न तबसम्म जे-जति कार्य गरिन्छ ती सबै एकाङ्‌की कार्यमात्र हुन जानेछन् भन्नेमा कुनै द्विविधा नलिए हुन्छ। किनभने आफ्नोमात्रै भलो चिताएर अर्काको अहित चिताइन्छ भने त्यसले दिने सन्तुष्टी केवल केही समयको लागि मात्रै हुन्छ; चिरस्थाइ हुँदैन, हुनै सक्दैन। यसैले निहित स्वार्थभन्दा माथि उठेर यदि जीवन, जगत्‌ र परायालाई हेर्न सकियो भने बल्ल जीवनको मूल्य र अस्तित्वको ख्याल हुन सक्छ र अझ त्यसमा देश, काल, समय, परिस्थितिभन्दा पनि माथि उठेर व्यापकता, सौहार्दता, उदारता, विशालताको परिवेशलाई आत्मसात् गरी जीवनलाई बुझ्न प्रयास गरियो भने त के चाहियो! दिव्य जीवनको महकतालाई प्राप्त गर्न कुनै समय लाग्दै-लाग्दैन।धेरैजसो मात्र होइन अधिकांश मानिसहरूले यहीनिर भूल गर्छन् जसको फलस्वरूप सङ्कीर्णता, लघुता र निहित स्वार्थमा रमाउन पुग्छन्।जसले गर्दा दिव्यताको महकतालाई बुझ्ने क्षमता नै गुमाउन पुग्छन्। सङ्कीर्णतामा कहीँ पनि कतै पनि महानताको लेससम्म पनि हुँदैन यो गम्भीर कुरा छ, बुझ्नु पर्ने विषय छ। यसभन्दा माथि उठेर जब दृष्टिलाई दिव्य, विचार र चिन्तनलाई महान् र उदात्त, कण-कण र घट-घट सबैतिर जब परमसत्य भनौँ वा ईश्वर वा परमशक्ति जे भनौँ उनको शक्तिको अनुभूत गर्न थाल्छौँ र सबैमा उनैको दर्शन गर्न सक्ने सामर्थ्य पाउन थालिन्छ अनि त के चाहियो जीवनमा कहाँ ताप र सन्ताप? कहाँ दु:ख र अशान्ति ? कहाँ द्वन्द्व र प्रतिद्वन्द्व ? कहाँ रिस र राग, कहाँ इर्ष्या र द्वेष? ऊ नै आफू, आफू नै ऊको स्थितिमा पुग्ने अवस्था सृजना हुन्छ। सायद यसैलाई वेदान्त भन्छ- आत्मसाक्षात्कार, भक्तियोग भन्छ- भगवद्‌दर्शन, कर्मयोग भन्छ – ईश्वरदर्शन, भौतिक वाद भन्छ सत्यको दर्शन!
आफूलाई मात्रै बुझेर आत्मदर्शन हुनै सक्तैन जबसम्म यावत् प्राणी छन्, जीवात्मा छन् ती सबैमा आफूमा रहेजस्तै कुनै परमसत्ता छ, आत्मा छ, ईश्वर छ  र त्यसको पनि आफ्नै अस्तित्व छ भन्ने कुरालाई नबुझेसम्म संसारलाई जति बुझेको छु, शास्त्रमा जत्ति पारङ्गत भएको छु, पूजा-आजा, योग-ध्यानमा जत्ति लागेको छु, मठ-मन्दिर जत्ति धाएको छु, तीर्थ-व्रत जत्ति गरेको छु, जति नै शास्त्रमा पारङ्गत छु, जति नै मन्त्रहरूमा निष्णात छु भने पनि त्यो महत्त्वविहीन बन्छ भन्ने कुरा बुझ्नु जरुरी छ। भला संसारमा रहेका जे-जति दर्शन छन् तिनले जे भने पनि आखिर संसारलाई साँच्चै नै सुख, शान्त र परमानन्दको स्थल वा भूस्वर्ग बनाउने हो भने सङ्‌कीर्णता, लघुता, सीमितताको बन्दी आफूलाई बनाएर राखेर कहाँ जीवनको दिव्यतालाई बुझ्न सकिन्छ? उदारता, विशालता, विराटता र विस्तीर्णताको पछ्याइबाट मात्र लघुता, सङ्कीर्णतालाई त्याग्न सकिने सामर्थ्य प्राप्त हुन्छ।   
                                  **************



No comments:

Post a Comment