Saturday, November 5, 2011

जीवनसन्दर्भको गूढ रहस्य


                             
                                                      
       जीवनको रहस्य थोरै मानिसले मात्रै बुझेका हुन्छन् र चेष्टा सबैले गरे पनि त्यो निरर्थक बनिरहेको हुन सक्छ। किनभने बुझ्न प्रयासमात्रै के गरेका हुन्छन् अघिल्तिर कुनै समस्या वा अवसरको घडी आयो कि जीवन बुझ्ने चेष्टामा ब्रेक लागिहाल्छ। उनीहरू त्यसतिर प्रवृत्त नै हुँदैनन् र लामो समयपछि जब सम्झन्छन् त्यतिखेर पछुताउनुबाहेक केही रहदैन अनि गुनासो गर्छन् कि समय यसै खेर गयो भनेर। यसलाई त पश्चातापबाहेक के भन्न सकिन्छ? हुन पनि अधिकांश मानिसले जीवनलाई बुझ्नु पर्ने विषय नै मानेका छैनन्। जब कोही व्यक्तिसँग पहुँच छ, सरसुविधा वा भौतिकताको कुनै समस्या छैन, सबै छेलोखेलो पुगेकै छ भने के उसले नसम्झोस् कि जीवन बुझ्ने चेष्टा गर्नु भनेको नहुनेहरूको, काम नपाउनेहरूको समय बिताउने मेलो हो ! यसैले त हो कि जीवन र जीवनदर्शनको विषयमा जे-जति आजसम्म लेखियो त्यो वर्गभन्दा भिन्नबाट अर्थात् अभावको भोगाइ भोग्नेहरूबाटै आएको छ।जीवनदर्शनमात्रै होइन जति पनि जीवनका सार कुराहरू आउँछन् चाहे त्यो सद्‌साहित्य बनेर, काव्य र महाकाव्य बनेर या जीवनदर्शन बनेर आउँछ त्यो भोगाइ बेहोरेकाहरूबाटै आउने हो, दु:ख-कष्ट झेलेकैहरूबाट आउने हो, साधनामा तपिनेहरूबाटै आउने हो।थोरै अपवादमा मात्र त्यसभन्दा भिन्न व्यक्तित्व र चरित्रबाट आएको पाइन्छ। गजब कहाँनिर छ भने विषयवस्तुको छनोट गर्दा आफूभन्दाबाहिर, समाजभन्दा बाहिर, व्यवहारभन्दा बाहिर, विषयभन्दा बाहिर त्यो जानै सक्तैन। कल्पनामा त दन्त्यकथा लेखिन्छ, स्पाइडर म्यानको कथा लेखिएला या मनोरञ्जनका लागि कमिक लेखिन्छन्।
समस्यामा नै मानिस ईश्वर सम्झन्छ, आफन्त सम्झन्छ।मलाई थाहा छैन तपाईँ ईश्वरको नाम लिँनासाथ त्यो लिने व्यक्तिलाई पुरातनवादी सोचाइको मान्नु हुन्छ कि स्वाभाविक रूपमा लिनु हुन्छ ? जे भए पनि ईश्वरलाई ईश्वरकै रूपमा मान्नुस् या सत्यको रूपमा वा परमसत्ताको रूपमा या परमशक्तिको रूपमा त्यसमा त्यत्ति घोत्लिनु पर्ने, आलोचना गर्नु पर्ने विषय मान्दिनँ। जसले जे भनेर प्रेरणा पाउँछन् या खुसी सम्झन्छन् त्यसमा किन टाउको दु:खाउने? दु:ख नपरुञ्जेल हो मबाहेक को छ र भन्ने ! दु:ख, तापको घडीमा कोही छ मलाई उध्दार गर्ने ? भनेर कामना र प्रार्थना गर्न कोही पछि पर्दैन यो यथार्थ सत्य हो।त्यसदेखि बाहेक अरू बखत त उसले कसैलाई देखेकै हुँदैन, सम्झेकै हुँदैन, बुझेकै हुँदैन।
कत्ति आश्चर्यको कुरा छ! बुध्दि, शक्ति, धन,दौलत, पहुँच नै उसको अगाडि आराध्य बनेर आएको हुन्छ। समस्या नभएको त को हुन्छ?  मात्र आकार र परिणामको कुरा हो यसमा केही फरक हुन सक्छ, भिन्नजस्तो लाग्न सक्छ। समस्या सबैको लागि उस्तै महत्त्व राख्ने हुन्छ। त्यहाँ सानो र ठूलो भन्ने  हुँदैन।सबैको आ-आफ्नै दृश्य-अदृश्य समस्याहरूले गर्दा अरूको समस्यालाई बुझिदिने व्यक्ति भेट्टाउनै कठिन होइन महाकठिन भइसक्यो भन्छु म त। अझ कमसेकम भौतिकताको पराकाष्ठामा नपुगेका देशहरूमा कसैसँग धैर्य होला कसैको समस्या सुन्ने र समाधानको बारेमा उपाय सुझाउने।नत्र समस्या समाधानको लागि पनि विशेषज्ञहरूको कन्सल्टेन्सी र अफिस चहारेर फिस बुझाउनु पर्ने दिन आएको छ, आउँदै छ भने हुन्छ।हेर्नुहोस् त कन्सल्टेन्सीको बाढी कसरी आइरहेको छ? शिक्षा, स्वास्थ्य, विकास, निर्माण जताततै ! बिना पारिश्रमिक कोही केही दिनै चाँहदैन, कोही बोल्नै चाँहदैन, कोही लेख्नै चाँहदैन! पढेलेखेका, बुध्दजीवी, विद्वान् भनिनेहरू पनि पैसाको पछि दौडिरहेका छन् सामान्य मानिसझैँ गरी। महानता कहाँनिर देख्ने सर्वसाधारणले? आदर्श कहाँ स्थापना हुने? कसैलाई लाग्न सक्छ त्यसो भए अहिलेको समाजमा कसरी बाँच्ने ? यो कुनै अवधिसम्म, कुनै हदसम्म, कुनै उमेरसम्म ठीकै पनि होला तर जीवनभर पारिश्रमिक र मेहनता पाउनकै लागि, फि आर्जन गर्नकै लागि कोही मरिमेट्छ भने त्याग कहाँनिर भयो त? बिना त्याग कहीँ पनि केही बन्दै-बन्दैन, निर्माण र विकास हुँदै-हुँदैन। चाहे यो भौतिक संसारमा होस्, चाहे त्यो आध्यात्मिक जगत्‌मा !
संसारमा रहनेहरू  कत्ति स्वार्थी भइसके तपाईँलाई ताजुब लाग्दैन? कसैले मीठो कुरा गरे भने पनि, कोही मुसुक्क हाँस्यो भने पनि, कसैले मद्दत गर्न खोज्यो भने पनि शङ्का लाग्न सुरु भइहाल्छ कि त्यसको मूल्य कसरी चुकाउनु पर्ने होला भनेर ! हुन पनि यस्तै स्थिति छ जताततै।तपाईँलाई कथंकदाचित यस्तो अवस्था आइपरेको छैन भने सम्झनुस् निकै भाग्यमानी हुनुहुन्छ।यो किन भइरहेको छ के कहिल्यै सोच्न भ्याउनु भएको छ? निराशाले जन्माएको आशाको, मनोकाङ्कक्षाको, लोभ- ईर्ष्या सबैको घनीभूत दवावको निष्कासन हो यो।सत्यको महत्त्वलाई चिन्न नसकेकाहरू नै यसमा बढी लहस्सिएका छन् भनी सम्झे हुन्छ। सत्यलाई बुझ्ने, सत्यनिष्ठाप्रति अनुरक्त व्यक्तिहरू कुनै वेला झुक्किएर यस्तो लसपसमा फसे भने मात्रै अन्यथा जानाजान बत्तीमा पुतली होमिएजस्तो गरी नितान्त मरेतुल्यको जिन्दगी बाँच्ने जिजीविषामा अल्मलिदैनन्।
स-साना कुरा वा झिनामसिना विषयमा कत्ति मानिसहरूको समय यसै खेर गइरहेको छ।यस्तैलाई जीवन सम्झिरहेका छन् उनीहरूले। आफूमा भएको अगाध ऊर्जाशक्तिको महत्त्वलाई कहिले बुझ्ने? लत र कुलत, व्यसन र दुर्व्यसनको माझ आफूलाई घनघोर आँधीबेरी वा भनौँ आगोको दन्दन्ती बलेको भुङ्ग्रोमा तेर्स्याएर त्यसैलाई जीवन सम्झनेहरूबाट के आशा गर्ने? उसले त अरूलाई त्यसैमा झोस्नुबाहेक के गर्न सक्छ भन्ने लाग्छ तपाईँलाई? यस्तै स्थिति छ जताततै। यद्यपि आशाको झिनो प्रकाश नभएको होइन, छ । यसैलाई अगाडि राखेर बढ्नुपर्छ।अध्यारोमा जुनकिरीकै धिपधिपे प्रकाश पनि काफी हुन्छ भन्ने व्यावहारिकतालाई आत्मसात् गर्नु नै यथार्थतालाई बुझ्नु हो। उतर्सिनु त छँदै छैन। हिलोमै कमल फुलेको हुन्छ। समाजमा भताभुङ्ग छ, जहाँ हे-यो त्यही अवस्था छ भने पनि जरुरी छैन कि त्यतैतिर लहसिऊ! परालको त्यान्द्रोजस्तै झिनो आड छ भने पनि त्यसैलाई समाएर अगाडि बढ्नु पर्ने स्थिति आएको प्रति जानिफकार हुनु जीवनको यथार्थता भएको छ।सम्भावनाको खोजी गर्न जस्तो विषम परिस्थिति आओस् चुक्नु कदापि हुँदै हुँदैन।
जीवनमा सुफलता खोज्ने हो भने, यसबाट सुख, शान्ति र आनन्दको वर्षा चाहने हो भने मानिसको जीवनमा जेलिएर रहेका यस्ता केही जञ्जिर र कठघराहरू छन् जसलाई नाघ्नु र त्याग्नु आवश्यक छ।सुख, शान्ति र आनन्द प्राप्ति हुने यिनै स-साना तर गूढ रहस्यलाई नजान्दा मानिस अनेक घनचक्करमा फस्दछ र जीवनलाई सत्तोसराप  गरिरहेको हुन्छ। माध्यम, वस्तु, काल र वातावरणलाई दुत्कारिरहेको हुन्छ मानौँ यी सबै हुनाको कारण अरू केही नभई तिनै वस्तुहरू हुन्।आफूलाई नियाल्न नसक्दाको परिणाम हो यो भन्ने कुरा बुझ्न ऊ आफै असमर्थ भएको हुन्छ। जुन कुरा यथार्थमा बुझ्न वर्षौ-वर्ष लाग्न सक्छ। थोरै यस्ता व्यक्ति छन् जसले जीवनलाई, जगत्‌लाई र आफूलाई नजिकबाट नियाल्ने अवसर पाएका हुन्छन्।यो साँच्चिकै गजबको कुरा छ कि मानिसहरू संसारका अनेक देशहरू, विभिन्न ठाउँहरू, दुर्गमभन्दा दुर्गम, कठिनभन्दा कठिन ठाउँको यात्रा गर्न जुर्मुराइरहेको हुन्छ र अनेक कष्टकर जङ्घार एवं कठिनाइहरूलाई छिचोल्दै विविध किसिमको कार्यक्रमहरू जीवनमा बनाउन कत्ति पछि पर्दैन तर के थाहा कि उसले छुटाउनै नहुने, बिर्सनै नहुने, नगई नहुने ठाउँको भने यात्रा गर्न छुटाइरहेको हुन्छ। त्यो हो आफ्नै जीवनको यात्रा जसलाई आत्मिक यात्रा भन्न सकिन्छ या चाहानु हुन्छ भने अन्तर्मनको यात्रा भनिदिए कुनै फरक पर्दैन।
आफ्नो जीवनलाई चिहाउन भ्याउदा-नभ्याउँदै कति मानिसहरू जीवनलाई छोडेर गइसकेका हुन्छन्।कहाँ जान्छन्, त्यसपछि के हुन्छ, कुन लोक छ भन्ने विषयमा रुचि र संस्कारअनुसार अझ भनौँ धर्म र संस्कृतिअनुसार अलग-अलग अनुमान र अडकलबाजी लगाउन मानिसहरू उद्यत रहन्छन् तर भन्नै पर्छ यस विषयको उल्झनमा फसेर कोहीले पनि पार पाउन सक्दैन।न पहिले, न अहिले, न भविष्यमा नै कसैले पार पाउने छ। जुन विषयमा लागेर कुनै नवीन परिणति आउदैन, नयाँ उद्‌घोष हुन सक्दैन भने आखिर त्यस्तो विषयमा फस्ने नै पनि किन ? यसैले सबैभन्दा बुध्दिमत्तापूर्ण कार्य त बाँचेको जीवनलाई कसरी उल्लासमय, शान्तिमय, सुखमय र आनन्दमय बनाउन सकिन्छ भन्ने कुरा नै पो श्रेयस्कर रहेछ भन्ने सामान्य ख्यालमात्रै पनि मानिसले गरिदिने हो भने जीवनभर ऊर्जै-ऊर्जाको शक्तिपात हुन थाल्छ जुन हरकोहीका लागि चेतनाको रूपमा जगाउन, उठाउन, बढाउन काम लाग्छ यो महत्त्वपूर्ण कुरा छ।
सत्य सजिलो छ, सिधा छ, सुगम छ तर मानिसले यसलाई नबुझिदिँदा नै भन्नुपर्छ यति पेचिलो, यति कठिन यति दुष्कर बनाइदिएका छन् कि के भन्ने यो कतै टाढाको, पाउनै नसक्ने अप्राप्य वस्तुझैँ ठानिरहेका छन्।सत्य नै धर्मको अर्को नाउँ हो। सत्यलाई मान्छु तर धर्मलाई मान्दिनँ भनी कसैले भन्छ भने या त उसले सत्यलाई बुझेको छैन या त धर्मलाई बुझेको छैन भनी सम्झनु कुनै गलत हुँदैन।सत्य र धर्म एकआपसमा अन्योन्याश्रित सम्बन्ध राख्छन्।सत्य नै धर्म हो, धर्म नै सत्य हो।धर्मको कुरा गर्दा चाहिँ भन्नै पर्ने हुन्छ हिजोआज धर्म भनेको मठ-मन्दिर, गुम्बा-विहार, चर्च, मस्जिद, साधनाश्रमसँग सरोकार राख्ने वा भनौँ त्यहाँ जाने-आउने वा त्यससँग सम्बन्धित मानिएका केही क्रियाकलाप वा विधिविधानलाई व्यक्तिगत वा सामूहिक रूपमा सम्पन्न गरिने कुराहरूलाई मात्र सम्झिने गरेको देखिन्छ। धर्म कहाँ त्यत्तिमा सीमित हुन सक्छ? धर्म भनेको असल जीवनशैली हो, सद्‌भाव हो, अनुशासन हो, आत्मीयता हो, मैत्रीभाव हो, करुणा हो, अहिंसा हो, न्याय हो, सत्यनिष्ठा हो, उदारता हो, विशालता हो, साम्प्रदायिकता होइन भनेर बुझ्न प्रयास गर्ने हो र यसैअनुसार जीवनलाई बनाउने हो भने धर्म भनेको कुनै सीमित मानिसको पेवा नबनी यो मानवमात्रको आभूषण बन्न पुग्छ जुन कुनै पनि व्यक्ति, समूह, संस्था, राजनैतिक वादको लागि पनि सर्वमान्य विशेषता बन्न पुग्छ। यसरी परिभाषित गरिएको धर्म कसको लागि अफिम बन्ने? कसको लागि नाक चेप्राउनु पर्ने विषय बन्ने ? सोचौँ समय आएको छ जीवनलाई विहङ्गम दृष्टिकोणले हेरी मानवदर्शनको परिभाषाको कसीमा राखी परिभाषित गर्ने।जाति, भाषा, वर्ण, रङ्गको पर्खाल उभ्याएर जति बारबन्देज गर्न प्रयास गरिन्छ त्यति मानवता सङ्कुचित र सीमित बन्दै अनेक कोणबाट संस्कृति र सभ्यतामाथि नै धावा बोल्ने परिस्थिति आफसेआफ पैदा हुँदै जाने प्रवृत्तिले बढावा पाउने कुरालाई नकार्न मिल्दैन भन्ने कुरा घाम जत्तिकै टडकारो छ।

 


No comments:

Post a Comment