मानिसमा एउटै विचार, एउटै धारणा, एउटै चिन्तन
हुँदैन। फरक विचार, फरक चिन्तन र फरक धारणाकै कारण विभिन्न धर्म, दर्शन, सम्प्रदाय
र चिन्तनहरूले स्थान पाएका छन। सबैलाई एउटै चिन्तन र धारणामा ल्याउँछु वा ढाल्छु
भनेर कसैले सोच्यो भने त्यो निरर्थकमात्र होइन,कामै लाग्दैन।चाहे त्यो धार्मिक
क्षेत्रमा होस्, चाहे राजनीतिको क्षेत्रमा वा सामाजिक क्षेत्रमा यही कुरा लागू
हुन्छ।अझ स्पष्ट रूपमा भन्ने हो भने त विश्वमा एउटै व्यवस्था, एउटै वाद, एउटै
दर्शनले काम चल्छ भन्ने सोच्न थाल्यौँ भने त्यो मूर्खतापूर्ण कार्य हुन्छ।यही “कुण्ड-कुण्ड पानी,
मुण्ड-मुण्ड विचार” कै कारण विश्व चलेको छ।सकारात्मक, नकारात्मक लाग्ने दुवै
किसिमका विचार र धारणाहरूको व्याप्ति सर्वत्र देखिन्छ।तर महत्त्वपूर्ण कुराचाहिँ
के छ भने सकारात्मकतालाई नकारात्मकताले ढाक्यो, छोप्यो भने संसार बस्नलायक कदापि
हुने छैन।त्यो त घनघोर अन्धकारले ढाकिएझैँ हुनेछ।नकारात्मकतालाई सकारात्मकताले
मार्गदर्शन गरुनञ्जेल, असल सोचाइ र भावनाको व्यावहारिक रूपमा विद्यमानता रहुञ्जेल
यो संसार बस्न योग्य हुनेछ अन्यथा यहीँ नरकभूमि बन्ने कुरामा कुनै शङ्कै नगरे
हुन्छ। जुन परिवार, समाज र राष्ट्रमा नकारात्मक सोच तथा मानवताको विपरीतको
कार्यहरू भइरहेका छन् त्यसैलाई हामी उदाहरण दिन सक्तैनौँ र? कसरी विचारको धरातलबाट
पतनको दिशातिर अग्रसर हुँदैछ भन्ने कुरा।शारीरिक रूपबाट देख्दा बलियो, भौतिक
रूपबाट हेर्दा सम्पन्न देखिएलान् तर मानसिक, बौध्दिक एवं आध्यात्मिक वा आत्मिक
रूपबाट निकम्मा देखिएमा कुनै आश्चर्य हुने छैन।
हिजोआज के देखिदै गएको छ भने धर्म भन्नासाथै टाढिन
खोज्ने एकथरि छन् भने अर्को थरिचाहिँ धर्मको नाउँबाट अनेक थरि धन्दा चलाएर
बस्नेहरू पनि छन्।धर्मकै नाउँमा विकृति र विसङ्गतिहरू यसरी बढ्दै गइरहेका छन् कि यस्तो
पनि धर्मको नाउँमा हुन्छ भन्नु पर्ने लाजमर्दो अवस्था देखिदै गइरहेको छ। यस्तो किन
भइरहेको छ? यसतर्फ थोरै मानिसको मात्र ध्यान जान सकेको छ।स्वधर्म र परधर्मको कुरा
मानिसहरू असाध्दै गर्छन् तर त्यसको साँचो अर्थ नबुझेर आफूलाई निरीह तुल्याइरहेका
छन्।यो सामान्य मानिसमा मात्र होइन ठूलठूला मै हुँ भन्ने जानिफकार, विद्वान्,
पण्डित भन्नेहरूबीचमै अलमल छ।संसारमा भएका जे-जति नामका धर्महरू छन् तीभन्दा पनि
आदिम, सनातन, शाश्वत धर्म मानिसको आफ्नै स्वधर्म हो। स्वधर्म भनेको धेरैले आफू जुन
कुल, परम्परामा छ वा जुन समाज र देशमा छ त्यहाँ जे-जस्तो रीतिस्थिति, परम्परा वा
संस्कार र परम्परा छ त्यसैलाई अवलम्बन गर्नुलाई नै स्वधर्मको पालना गरेको सम्झेर
आज घर, परिवार, समाजमा देख्नु नपर्ने कुराहरू धर्मको नाउँमा देख्नु परिरहेको
छ।यावत् विकृति र कुरीतिलाई धर्मको नाउँ
दिएर वास्तविक धर्म भनेको के हो भन्ने कुरालाई नै मानिस बिर्सदै गइरहेको भान पर्छ।अन्धकारबाट
प्रकाशतिर जानु पर्नेमा अन्धकारबाट झन् झन् अन्धकारतिर जाने काम भइरहेको देख्दा पो अझ दु:ख लाग्छ।हृदयका
कलूषितहरूलाई धोइपखाली निर्मल र कञ्चन बनाउँदै जीवनमा महकता, दिव्यता र सौन्दर्य ल्याउनु
पर्नेमा अनेक किसिमका विधि-विधान, कर्मकाण्डीय परिपाटी, झन्झट र उल्झनमा अल्मलिएर
स्वधर्मबाट टाढिदै गइरहेको यत्र-तत्र देखिन्छ।चाहिने वस्तुलाई त्यागेर नचाहिनेलाई
थुपार्दै गएकोमा पो अझ आश्चर्य लाग्छ।
यसो किन भइरहेको छ? वा यसको कारक तत्त्व के हो
खोज्नपट्टि मानिसलाई फुर्सतै नभएको हो कि वा यसैगरी चल्छ किन टाउको दु:खाउने भन्ने
मनोभावनाको कारणले पनि होला कोही त्यतातिर लाग्नै चाहदैन। मानिसको स्वधर्म के हो
नबुझ्नाले तथा परम्परा, प्रचलन र मान्यता जस्तोसुकै हुन् तिनलाई नै प्रमुखता
दिनाले पनि यस्तो भएको हुनुपर्छ।कति मानिस त कुल, घर, परम्पराको नाउँमा जे-जस्तो
संस्कार-संस्कृति चलिरहेका छन् त्यसलाई नै स्वधर्मले समेटेको छ भन्न पनि पछि
पर्दैनन्।अझ कति मानिस त स्वकर्मलाई या कर्तव्यकर्मलाई नै स्वधर्म हो भनेर आफू पनि
अन्योलमा पर्ने अरूलाई पनि अन्धकारमा पार्ने काम पनि गरिरहेका छन्। कर्तव्यकर्म
स्वधर्म हुनै सक्तैन। उदाहरणको लागि विद्यार्थीको काम पढ्नु हो, कर्मचारीको काम
निश्चित गरिएको काम गर्नु हो, ती त उनीहरूको कर्तव्यकर्म हुन्। तिनलाई स्वधर्म
भन्न सकिन्न।कर्तव्यकर्मलाई नै स्वधर्म भन्न थाल्यौँ भने अनेक विकृतिलाई नै धर्म
भनेर बस्नु पर्ने अवस्था आउँछ।वास्तवमा भन्ने हो भने स्वधर्म भनेको मानिसको
प्राकृतिक गुण हो, स्वभाव हो।उसमा जन्मजात अपेक्षा गरिएको मानवता हो, मानवीय
गुणहरू हुन्।तर जन्मने घरको धर्म,संस्कार, परम्परा, वरपरको वातावरण र सङ्गतको कारण
स्वधर्मलाई बिर्सेर विस्तारै अन्यान्य विषयमा अल्मलिन पुग्छ।एक किसिमले भनौँ न
आफ्नो मूल स्वरूप र स्वभावलाई नै बिर्सन पुग्छ।
बुध्दि र विवेक भएको मानिने हरेक मानिसमा दया, माया, करुणा, अहिंसा,अनुशासन, न्याय, सद्भाव,
मैत्री, आत्मीयता, समानता, समरसतालगायतका तमाम सद्गुणहरू हुन्छ भन्ने सामान्य
रूपले सम्झिन्छ।वास्तवमा तिनको सही अवलम्बन नै स्वधर्म हो।तर विपरीत परिस्थिति,
वातावरण र गलत बुझाइले धर्म भन्दा-भन्दै अधर्म, अन्धविश्वास, रुढिबुढी, विकृति र
विसङ्गतिको अन्धकारमा यसरी जाकिन पुग्छन् कि उनीहरूलाई नसम्झाउने हो भने पत्तै
पाउँदैनन्। त्यतिमात्र कहाँ हो र ? त्यसैलाई मानिसहरू धर्म सम्झेर आत्मसात् गर्न
पुग्छन्। विश्वमा देखिएको अशान्ति, लडाइँ-झगडा, काटमार,युध्द, हिंसा त्यसैको
परिणति हो।यदि हरेक मानिसले आफ्नो अर्थात् मानिसको स्वधर्मलाई मात्र पनि चिनेर
त्यसअनुसारको व्यवहार गर्ने गराउने र जीवन जिउन प्रयत्नशील बन्ने हो भने विश्वमा
अहिले देखिएका अशान्ति, दु:ख, पीडा, विसङ्गति आधाभन्दा बढी स्वत: घटेर जाने
निश्चित छ।आफूले आफैलाई अनुशासनमा राखेर मानिसलगायत सम्पूर्ण जीवजगत्प्रति मन,
वचन र कर्मद्वारा गरिने व्यवहारबाट नै आफूभित्रको मानवतालाई जाँच्न सकिन्छ।“मलाई अहित हुने कुराले
अरूको पनि अहित गर्छ वा मलाई कसैले नराम्रो व्यवहार गर्दा जस्तो पीडा हुन्छ
त्यस्तै अरूलाई पनि हुन्छ” भन्ने सामान्य भावको अङ्कुरणमात्र पनि मनमा आइदिन सक्यो
भने संसारको अनुहारै फेरिन्छ। मानवता शव्दद्वारा जाँचिने विषय नभई व्यवहारमा
देखाउने विषय हो।
मानिसमात्रको कर्तव्य हुन आउँछ कि सबैभन्दा पहिले
आफ्नो स्वधर्मलाई जानौँ, त्यसको सही ज्ञान प्राप्त गरौँ, जसबाट मानवजीवन सार्थक
हुन सकोस्।स्वधर्मलाई नजानेर पनि बाँच्न नसकिने होइन। कैयन् बाँचिरहेका छन्। हिजो
पनि उनीहरू बाँचे, आज पनि बाँचिरहेका छन्, भोलि पनि बाँच्लान्।तर जीवनको
सार्थकताचाहिँ स्वधर्मलाई बुझेर त्यहीअनुसारको सुकर्मलाई जीवनशैली बनाउन सकियो भने
मात्र हुन सक्छ फरक यत्तिमात्रै हो।जीवनमा सुख, शान्ति, समृध्दि र आनन्दको बहार
ल्याउने कि जे छ जस्तो छ त्यही ठीकै छ अरू केही चाहिदैन भन्ने ! यदि पहिलोलाई
चाहने हो भने मानिसले आफ्नो स्वधर्मलाई बुझ्नै पर्ने हुन्छ, जान्नै पर्ने हुन्छ,
व्यवहारमा लागू गर्नै पर्ने हुन्छ।होइन खाऔँ, पिऔँ, मोज गरौँ, अरूलाई जेसुकै होस्
के चासो भन्ने किसिमको जीवनमा रमाउने हो भने स्वधर्म के हो भन्ने जान्नु, बुझ्नु
कुनै आवश्यकै छैन।यो स्वतन्त्रता हरेक मानिसलाई छ।
स्वधर्मको नाउँमा कुडाकङ्कट जे-जे छन् ती सबैलाई
आफ्नो कुल, परम्पराको धर्म त्यसैले त्यसलाई जसरी हुन्छ अवलम्बन गर्नुपर्छ भन्दै
निरन्तरता दियौँ र मानवताको पक्षलाई चाहिँ चटक्कै बिर्सिदियौँ भने त्यस्तो धर्मले
रक्षा गर्न सक्तैन।प्रसिध्द उक्ति छ कि “धर्मको रक्षा ग-यौँ भने
त्यस्तो धर्मले रक्षा गर्छ।“ यसको अर्थ के हो भने मानवतालाई अर्थात् दया, माया, करुणा,
अहिंसा, सद्भाव, आत्मीयता, मैत्री, न्यायजस्ता कुरा नै मानिसको प्राकृतिक स्वभाव
हो त्यसको रक्षा गरियो भने प्राणीमात्रको हित हुन्छ र त्यसले विश्वब्रह्माण्डलाई
जोगाउँछ, बचाउँछ भनिएको हो।सङ्क्षिप्तमा भन्नुपर्दा मानिसको स्वधर्म भनेको सद्गुण,
सदाचार, सद्चरित्र, नैतिकताको साथसाथै मानवता हो, उदारता हो, विशालता हो।परधर्म
भनेको ती विपरीतका कुराहरू- असत्य, हिंसा, अन्याय, बेइमानी, क्रूरता, भ्रष्टता,
भ्रष्टाचार,सङ्कीर्णता आदि हुन्। संसारमा जे-जति पुराना-नयाँ धर्म छन् तिनीहरूको
उद्भव त समयको विभिन्न कालखण्डमा भएको हो।मानिससँगै जन्मजात रहेको प्राकृतिक
रूपको धर्म न हिन्दु हो, न बौध्द, न ईसाइ, न बहाइ, न मुस्लिम, न यहुदी ! सही कुरा
नबुझेर, स्वधर्मलाई नजानेर विगतमा धर्मको नाउँमा कैयौँ युध्दहरू भए, तिनको अवशेष
अझै कहीँ-कहीँ देखिन्छ, सुनिन्छ।यस्तो विषम परिस्थिति आउनबाट जोगाउन तथा व्यक्ति,
परिवार, समाज र राष्ट्र-राष्ट्रमा दिगो सुख, शान्ति, आनन्द ल्याउने हो भने
परधर्मको वास्तविकता बुझी स्वधर्मको पहिचान गर्ने, गराउने वातावरणको सृजना
बाल्यकालदेखि नै शिक्षाको माध्यमबाट गर्न,गराउन सक्यौँ र यसलाई यथार्थमा
बुझ्न,बुझाउन सक्यौँ भने विश्वकल्याणको लागि यो जत्तिको कारगर उपाय अर्को हुने छैन।
****************
No comments:
Post a Comment