Saturday, June 30, 2012

जे रोप्छौँ त्यही फल्ने हो


                     
                                                         
जानेर होस् वा नजानेर मानिसमा गजब-गजबका आशाहरू पलाइरहेका हुन्छन्, फक्रिरहेका हुन्छन् थाहै नहुने गरी। सामान्य सिध्दान्त छ- जे रोप्छौँ त्यही फल्ने हो। यसमा कुनै बढाइ-चढाइको कुरा छैन। यो शाश्वत सत्य हो, हुने त्यही हो। तर मानिस कहाँ त्यस्तो सम्झिन्छ र ? नरोपेको पनि फल्छ भन्नेजस्तो आशामा जीवनभर तड्पिरहेका हुन्छन्। यही पट्यारलाग्दो जिजीविषामा बाँचिरहेको हुन्छ।मानौँ उसलाई यही नहुने कुरा घट्छ कि भन्ने आशाले नै तानिरहेको हुन्छ, आकर्षित गरिरहेको हुन्छ। आज होला कि भोलि होला कि भनी अनेक स्वप्नवत् कल्पनाहरूले डो-याइ-डो-याइ हिँडाइरहेको हुन्छ। यो कुरा जीवनका सबै फाँट र पक्षमा देखिन्छ। यो राजनीतिमा घट्छ, धार्मिक क्षेत्रमा घट्छ, साँस्कृतिक क्षेत्रमा घट्छ, सामाजिक क्षेत्रमा घट्छ, पारिवारिक जीवनमा घट्छ। भनौँ न सबैतिर घटिरहेको हुन्छ।
वर्तमानको अवस्था भूतकालको क्रिया,कर्म, लगानी र परिश्रमको परिणाम हो। हिजो कसले, कसरी, कस्तो कर्म गरेको थियो, के रोपेको थियो त्यसैबाट वर्तमान निर्माण हुने हो।केही पूर्वजन्ममा रोपिएका, केही यही जन्ममा रोपिएकाबाटै वर्तमान निर्माण हुने हुन्। एकाध अपवादलाई छोडेर रोग,व्याधी, घटना, दुर्घटना, सुख, दु:ख, सम्पन्नता, विपन्नता सबैको घटक हामीले हिजो जानी नजानी गरेका कर्महरूकै प्रतिफलहरू हुन् भन्दा फरक पर्दैन।सबै मानिसहरूले यस कुरालाई बुझेका हुँदैनन् न हेक्का राखेका नै हुन्छन्। थोरै भाग्यमानीहरूले बुझ्ने अवसर पाएका हुन्छन्।त्यसैले उनीहरू कुनै कर्म गर्नुअघि एक पटक होइन दश पटक सोचेर, गर्नु पर्ने हो कि होइन भनी बुध्दीको निर्क्यौलमा अघि बढ्छन्। हतारमा गरेर फुर्सतमा पछुताउने बानीबाट त्यस्ता व्यक्ति टाढा रहेका हुन्छन्।
मानिसको  जीवनको समग्रतालाई बुझ्न प्रयाश गर्ने हो भने पार पाउन सकिन्न। यो यति अद्‌भुत छ कि के भन्ने! जति बुझ्न प्रयत्न ग-यो उति कठिन, जति बुझेँ भनिठान्यो झन् कठिन! यही कारण हो कि मानिसहरू अनेक प्रकारका रनभुल्लमा फस्न पुग्छन्। आज कसैले नमीठोसँग केही भने पनि केही क्षणलाई कटु लाग्छ। समयको अन्तरालमा, लामो कालखण्डमा पुग्दा ती सबै बिर्सिहालिन्छ।अझ भनौँ मेटिइसकेको हुन्छ।बोल्ने मानिसलाई पनि आज बोलेको कुरा पछिसम्मलाई सम्झिरहने हो भने कुण्ठा जन्मन्छ। यसैले त्यसलाई बिर्सनै पर्ने हुन्छ।यदि त्यसलाई सम्झेर बस्ने, मन दु:खाएर बस्ने, खिन्न भएर बस्ने हो भने त जीवन बाँच्नै कठिन भइहाल्छ नि।यही समयले बिर्साउने स्वभावले गर्दा हरेक पल, हरेक क्षण, हरेक दिन नयाँ छ, नौलोझैँ छ, नवीन प्रतीत हुन्छ। एकछिन सम्झौँ त अतीतमा कतिले गाली गरे होलान्, नमीठो बचन बोले होलान्, भन्न हुने नहुने के-के लाञ्छना लगाए होलान्! बोल्नेले, भन्नेले पनि के-के भन्यो होला, बोल्यो होला। त्यसको पछि परेर वा लागेर साध्य होला? जरुर हुँदैन। नकारात्मकतालाई त सकेसम्म मनमा आउनै दिनै हुन्न यदि जीवनमा सुख, शान्ति र आनन्द चाहने हो भने।
मानिसमा गजबको स्वभाव के छ भने सानो छँदा काम, क्रोध, लोभ, मोह, घमण्ड, अहंकारजस्ता अवगुणहरू जति न्यून रूपमा रहेको हुन्छ त्यो उमेर बढ्दै गएपछि झाङ्गिदै जान्छ। यही कारण हो जसले गर्दा अनेक किसिमका मनमुटाव, छलकपट, जालझेल सुरु हुन थालिहाल्छ।त्यो अवस्थामा मानिसलाई पु-याउने अरू केही नभई मन नै हो। यसैले भनिएको हो कि मनले नै मानिसलाई बन्धनमा बाँध्न सक्छ, मुक्ति पनि दिलाउन सक्छ। केटाकेटी अवस्थामा मन हुन्छ तर सुषुप्त अवस्थामा हुन्छ जसले गर्दा मनोमालिन्य त्यहाँ हुन्न। एकछिन अगाडि साथी-साथीमा झगडा वा मनमुटाव भएको हुन्छ तर एकैछिनपछि त्यो बिर्सिएर पुन:सम्बन्ध घनिष्ट भइहाल्छ। यस्तो स्थिति कहाँ उमेरदारहरूमा पाउनु! मानिसलाई जटिलभन्दा जटिल अवस्थामा पु-याउने मनै हो। प्रतिक्षण मनलाई हुर्काउने, बढाउने निर्माणकर्ता अरू कोही नभई स्वयं व्यक्ति नै हो। मनको अवस्थालाई बुझेर त्यसको निग्रहतिर लाग्नेले सुखै-सुख फेला पार्दछ जबकि मनको अनुसार दौड्ने व्यक्ति अनेक कठिनाइ र समस्याले ग्रस्त भएर जीवनको सौन्दर्यलाई मटियामेट तुल्याइरहेको हुन्छ। मनबाट मुक्ति पाउनलाई अनेक योग,ध्यान, पूजा, उपासना, प्रार्थनाका पध्दतिहरू चलेका हुन्।सही रूपबाट तिनको सदुपयोग गर्न सकियो भने जीवनमा आनन्दै-आनन्दको स्थिति हरेक क्षण आउँछ। त्यसको विपरीत भयो भने भ्रम, अन्धविश्वास, रुढिबुढिमा फस्ने पनि ठूलो सम्भावना हुन्छ।हिजोआज धर्मको नाउँमा व्यवसाय, योगको नाउँमा कमाइधन्दा चलेकोले अगाडि-पछाडि धेरै कुराहरूमा ख्याल राख्नु पर्ने अवस्था छ।मनबाट मुक्ति पाउने अवस्थाको खोजी नै अध्यात्म मार्गको सबैभन्दा रुचिको विषय हो। जड मनलाई चेतनताले हटाइ जागरण हुन अभ्यस्त गराउनु नै अध्यात्म मार्गको सबैभन्दा ठूलो सफलता हो।
मनको प्रवृत्ति पनि गजबको हुन्छ। आफूसँग भएको यावत् कुराहरू सामान्य लाग्छ, काम नलाग्ने लाग्छ। अरूसँग भएको कुराहरू मूल्यवान् र किमती लाग्छ।यही कारणले गर्दा कत्ति मानिसहरू त्यसको प्राप्ति कसरी गर्ने भनेर विनासित्तीमा होडबाजीमा लागिरहेका हुन्छन्, तडपिरहेका हुन्छन्। आफूभन्दा अरू सुखी, सम्पन्न र आनन्दमा रहेको अनुभूति हुने मनको स्वभावलाई नचिन्दा कत्ति त्यसैको पछि-पछि  अनवरत दौडिरहेका हुन्छन् र फगत समय, परिश्रम र धनलाई अनासुर्तमा सिध्दाइरहेका हुन्छन्। उनीहरू यो बुझ्न पछि परेका हुन्छन् कि यो मेरोलागि  आवश्यकता हो कि सोख । यही नजान्दा नबटुल्नु पर्ने वस्तुलाई बटुल्न अनेक किसिमको दाउपेच, छिनाझप्टी, जालझेलमा अल्मलिइरहेको देखिन्छ। चाहिने कुरालाई छोडेर नचाहिने वस्तुको प्राप्तिमा लाग्नु भनेको समय, श्रम र शक्तिको सरासर दुरुपयोग हो भन्ने कुरालाई बुझ्न चाहने मानिस समाजमा थोरै मात्र पाइन्छन्। अरू त लहै-लहैमा दगुरिरहेका हुन्छन्।
मनमा निहित ऊर्जाशक्तिलाई नदीलाई बाँध बाँधेर चाहेको उपयोगमा ल्याउन सकेजस्तै त्यसलाई चेतनताले जागृत गराएर उर्ध्दरेत अवस्थामा पु-याउन सक्यौँ भने ज्ञान र विद्या, चेतनता र जागरण हुन शुरु भइहाल्छ। मन अधोगतितिर बग्न थाल्यो भने त्यसबाट निक्लने परिणाम भनेको निकृष्टताबाहेक केही हुँदैन।यो गूढ रहस्यलाई थाहा नपाउँदा  मानिस अनेक भ्रम र व्यामोहमा फसिरहेका हुन्छन्। मनलाई गलत प्रवृत्तिबाट असल प्रवृत्तितिर उठाउन थालियो कि सम्झे हुन्छ स्वच्छताको जीवन, मानवताको जीवन, दिव्यताको जीवन अब सुरु हुने अवस्था आयो।यस्तै दिव्यताको जीवनमा सद्‌भाव बढ्छ, आत्मीयता झल्किन्छ, शान्तिप्रति आशा जाग्छ, सत्य, न्याय, करुणा, अहिंसा, प्रेम, सहअस्तित्वप्रति निष्ठा जाग्छ।
जीवनमा जे-जति उपलब्धी गरेका छौँ वा गर्दछौँ ती झाङ्गिएका वृक्ष हुन् भने तिनका लागि गरिएका विचारहरू बीज हुन्। मानिसको यात्रा यिनै बीजरूपी विचारहरूको प्रक्षेपणबाट स्पष्टिदै जाने हुन्। मानिसले रोप्ने बीजरूपी विचार नै कालान्तरमा शव्द बनेर अभिव्यक्त हुन्छ र त्यही शव्द पछि कर्म बनेर व्यवहार जगत्‌मा छरप्रस्ट हुन थाल्छ।यसैले कस्तो विचार आज रोपिरहेका छौँ त्यही भोलि परिणामको रूपमा देखिन पाइने हो। घरमा दिइने र प्राप्त हुने विचार, त्यस्तै विद्यालय, विश्वविद्यालय, तालिम केन्द्र, शैक्षिक केन्द्र, राजनीतिक दल, धार्मिक सङ्घ-संस्था, सामाजिक सङ्घ-संस्थामा दिइने विचार कस्तो छ? त्यसले समाज बन्ने र बिग्रने हो।सकारात्मकतालाई प्रमुखता दिइरहेका छौँ  कि नकारात्मकतालाई।नकारात्मकतालाई बढाएर, चढाएर त्यसबाट सकारात्मक नतिजा पाउँछौँ भन्ने सम्झ्यौँ भने त्यो गलत हुन्छ।
आज हत्या, हिंसा, षडयन्त्र, लूट, अपहरणले जसरी प्रश्रय पाउँदै गएको देखिदैछ त्यसलाई हेर्दा जो कोहीको मनमा सहसा लाग्छ कि अहिले समाजमा असल बीऊ रोपिरहेका छैनौँ। जसको कारण हुनु नपर्ने कुराहरू भइरहेका छन्, घटनु नपर्ने कुराहरू घटिरहेका छन्, सुन्नु नपर्ने कुराहरू सुन्न परिरहेको छ।जति नकारात्मक र विध्वंशात्मक विचारप्रवाहलाई फैलाउँछौँ त्यो व्यक्ति, परिवार र समाज हुँदै देश र विश्वमा त्यसको त्यस्तै असर पर्न सुरु भइहाल्छ।क्रान्ति, युध्द र लडाईँको कुरा गर्न सजिलो छ तर त्यसभित्र समेटिएर रहने नकारात्मक विचार, भावना र धारणालाई हेर्ने हो भने त्यो कसैको हितमा हुँदै हुन्न।फेरि अर्को कुरा त्यसबाट भनेको जस्तो, चाहेको जस्तो शान्ति आउँदै-आउँदैन। क्रान्तिबाट प्राप्त हुने शान्ति श्मसानघाटको सुनसानजस्तो मात्रै हो। क्रान्तिको कुराले हिजो मानवताका पक्षका धेरै कुराहरू ध्वस्त भइसकेको छ।मनुष्यता नष्ट भइसकेको छ। सधैँ त्यही सूत्रको रटानले कुनै उपलब्धी प्राप्त हुन सक्तैन।
विद्यार्थीहरूमा विचाररूपी बीऊ छर्ने शिक्षक, अध्यापक, प्राध्यापक कस्ता छन्? जनताको नाममा राजनीति गरेर अनेक वादको बीऊ छर्दै हिँड्ने नेताहरू कस्ता छन्? विद्वान्-बुध्दिजीवीको नाउँमा अनेक लेख र पुस्तकमा विचार र भावनाको बीऊ छर्नेहरू कस्ता छन्? धर्म-अध्यात्मको नाउँमा बीऊ छर्दै हिँड्ने पण्डित, गुरु, आचार्य, भिक्षु, मौलाना, फादर र पास्टरहरू कस्ता छन्? जनताको हितका लागि प्रशासन चलाउँछौँ भन्दै कसम खाने प्रशासकहरू कस्ता छन्? संसदमा पठाउने र पठाइएका सांसद र सभासदहरू कस्ता छन् ?तिनीहरूबाट नै परिणाम कस्तो हुन्छ थाहा हुने हो। राख्ने बेलामा, छान्ने बेलामा, मनोनयन गर्ने बेलामा वा अवसर प्राप्त हुँदा अनेक स्वार्थको कारण गलत व्यक्तिहरूलाई राखेर, छानेर त्यसबाट असल नतिजा निक्लेन भनेर पछुताउनुको कुनै अर्थ छैन। विषवृक्ष रोपेर त्यसमा अमृत फल्छ भनेर आशा गर्नु जति निरर्थक छ त्यति नै गलत शिक्षा, नकारात्मक विचार, विकृत संस्कृति, भ्रान्त र भ्रष्ट राजनितिबाट कुनै असल परिणामको आशा गर्नु।   
आफू कस्तो बन्ने, समाज वा देशलाई कस्तो बनाउने त्यो अरूको नभई आफ्नै हातमा छ। एक जनाले मात्र पनि सकारात्मकतातिर लाग्ने प्रण गर्ने हो भने, वास्तविक शान्ति, समुन्नति, प्रगति र उत्थानको लागि समर्पित भई जीवनलाई सर्वोत्कृष्टताको मार्गमा हिँडाउने हो भने त्यसको परिणाम नै भिन्न हुन थाल्छ। अझ समाजका अगुवाहरू, राजनीतिमा लागेकाहरू, नेता भन्नेहरू, समाजिक क्षेत्रका अभियन्ताहरूले त आफूले बोल्ने र लेख्ने कुराको शव्द-शव्दको ख्याल गरेर, वाक्य-वाक्यको अर्थ बुझेर समाजमा पर्न सक्ने असर र प्रभावलाई ध्यान नदिने हो भने त्यसले ठूल्ठूला घटना र दुर्घटनालाई निम्त्याएर खति पु-याउन पनि सक्छ। वैचारिक प्रदूषण आजको विश्वको लागि सबैभन्दा घातक बन्दै गएको छ भन्ने कुरालाई बिर्सन सकिन्न।समाज र राष्ट्रलाई कतातिर लग्ने? शान्तितिर कि अशान्तितिर, हिंसातिर कि अहिंसातिर, द्वन्द्व, विद्वेषतिर कि सद्‌भाव, मैत्रीतिर! ध्यान दिऔँ जे रोप्यो फल्ने त्यही हो।
                                      *****************
  





  
  

Sunday, May 20, 2012

वर्तमान सङ्कटले कहाँ पु-याउला?


                         
                                            
         कोही अनभिज्ञ छैनन् कि जताततै विभिन्न प्रकारका सङ्कटहरू, अनिष्टकारी समस्याहरू बढ्दै गइरहेका छन्। एउटा समस्याबाट पार पाउन खोज्यो अर्को समस्याले ग्रस्त पारिहाल्छ। समस्यामाथि समस्याको चाङको क्रम घटने होइन झन्-झन् बढ्दैगइरहेका छन् जस्तो लाग्छ। यो व्यक्तिगत रूपमा मात्र सीमित छैन, पारिवारिक, सामाजिक, राजनैतिक, आर्थिक, साँस्कृतिक हरेक क्षेत्रमा उत्ताउलिदै गएको अनुभव जो कोहीले गरेको हुनपर्छ।इतिहासमा समय-समयमा विभिन्न प्रकारको सामाजिक,आर्थिक, राजनीतिक सङ्कटका घडीहरूले राष्ट्रिय तथा अन्ताराष्ट्रिय समस्या बनाएका अनेकौँ उदाहरणहरू नदेखिएका होइनन्।समयको कालखण्डसँगै कैयन् आए कैयन् गए।यद्यपि सङ्कट सधैँ रहने पनि होइनन्। जसरी आउँछन् त्यसैगरी जान्छन् पनि। तर त्यस्ता घटना र परिघटनाहरूले पार्ने असर लामो कालसम्म कष्टकर बन्ने हुन्छ।खराबी नै यही हो।यसैले समयमा बुध्दि पु-याउन सकिएन भने इतिहासले धिकार्छ।
हिजोआज दूरदर्शिता अपेक्षित रहेको व्यक्तिमा, संस्थामा, सङ्गठनमा त्यो हराउँदै जान थालेको तथा संवेदनहीनता बढ्न थालेको अनुभव सबैले गरेको हुनुपर्छ। यसो हुनुमा सबैभन्दा बढी जिम्मेवार छ राजनीतिको नाम र त्यसमा लाग्ने अधिकांश नेता र कार्यकर्ता हुँ भन्नेहरूमा बढ्दै गएको, पलपिदै गएको निहित स्वार्थ। राजनीतिको प्रभाव र असर एकसाथ सामाजिक, आर्थिक, धार्मिक एवं साँस्कृतिक व्यवस्थामा पर्दछ भन्ने कुरालाई सामान्य हेक्कासमेत नराखी आफ्नो र आफ्नो दलको स्वार्थलाई प्रश्रय र प्रोत्साहन दिन थालेको देखिनाले यत्रतत्र विचलन, समस्या, सङ्कट, पीडा र संवेदनहीनताको पराकाष्टा देख्नु-भोग्नु परिरहेको छ भन्दा अत्युक्ति हुँदैन। नीतिहरूमा अब्बल भनेर राजनीतिलाई सम्झने अवस्था अब सामान्य नागरिकहरूबाट टाढिदै जान थालेको, वितृष्णा बढ्दै जान थालेको देखिदै जानु दु:खद छ। जसरी हुन्छ, जे गरेर हुन्छ राज गर्ने नीति पो राजनीति हुन थाल्यो कस्तो विडम्वना !
जति पनि समस्या, सङ्कट अगाडि तेर्सिएर आउँछन् ती अरूले नभई स्वयं आ-आफ्ना स्वार्थका कारण बल्झाइएका हुन्, जन्माइएका हुन्।समस्या आफै बन्ने होइन त्यसलाई बनाइन्छ, जन्माइन्छ।अनुचित साधनले उचित लक्ष्य हालिस गर्न सकिन्छ कि भन्ने गलत सोचाइको कारण पनि स्वार्थ बढ्दै गएको छ, कठोरतामा  वृध्दि हुँदै गइरहेको छ र त्यसले  व्यापकता पाइरहेको छ। जाति, भाषा, सम्प्रदाय र कुनै निश्चित वादको नाराले प्रारम्भमा हरकोहीलाई आकर्षित तुल्याउँछ तर त्यसले निम्त्याउने परिणाम कति दु:खदायी र कष्टकर बन्न सक्छ भन्ने कुरा पछि मात्र थाहा हुन्छ।अपवादस्वरूप कसैमा अलग्गै हुनु अर्को कुरा हो। एउटा झूटलाई दोहो-याइ-तेह-याइ भन्न थालियो, व्यवहारमा ल्याइयो भने सर्वसाधारणलाई लाग्न थाल्छ कि त्यही पो सत्य रहेछ।कैयन् विषयमा अहिले यस्तै अवस्था देखिँदो छ।
वर्ण, जात, भाषा, संस्कृति, धर्म, वादको कारण कसैलाई काखा, कसैलाई पाखा कुनै हालतमा सुहाउँदैन। सबैभन्दा ठूलो कुरा हो समान अवसरको।यदि कसैले जात, भाषा, भूगोल र प्रदेशकै आधारमा अग्राधिकार, आरक्षण र प्राथमिकता पाउन थाल्यो भने समानताको कुरा कहाँ हुने भयो? हिजोआज प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भनौँ त्यहाँ यस्ता विषयहरूलाई उठाएर, जगाएर सहानुभूति बटुलेर आफ्नो राजनीतिक स्वार्थ सिध्दि गर्ने तर्फ अग्रसर हुने परिपाटिको विकास गर्न खोजिदैछ। सर्वसाधारण नागरिकहरू त्यसभित्रका स्वार्थ नबुझेर उल्टै अमुक दल र सङ्गठनले आफ्नो लागि अनुग्रह गरिदिएको सम्झेर युगौँयुगदेखि रहेको सद्‌भाव, आत्मीयता, भाइचारा, सुसम्बन्धलाई बिर्सेर, एक-अर्काको वैरीझैँ, भएको सम्बन्धलाई समेत धूमिल पार्ने कार्यमा तँछाड-मछाड गरेर एकअर्कालाई उछिन्नमा प्रवृत्त देखिन्छन्।यसले त एकआपसमा प्रतिशोधको भावना, शत्रुताको भावना, आक्रोशको भावनालाई जन्माउने र बढाउने काम गरिरहेको हुन्छ।त्यसतर्फ थोरैको मात्र ध्यान जान सकेको छ।एउटै समाज, एउटै राष्ट्रमा बसेर उन्नति, प्रगति र समृध्दिका लागि सहयात्री बन्न चाहने अनि आपसी सम्बन्धचाहिँ वैरता बढाउने किसिमको तुल्याउने? कसरी हुन्छ समाजको विकास, राष्ट्रको उन्नति, दिगो शान्ति र अमनचैन? यसतर्फ कुनै पनपक्षविना गम्भीर रूपले दृष्टि पु-याउनु आवश्यक छ। 
जातीय, भाषिक, क्षेत्रीय, साम्प्रदायिक भावनाको विकास सद्‌भावना नखल्वलिने आधारभूमिमा सीमा ननाघुञ्जेल सम्मका लागि केही बिग्रदैन तर त्यसभन्दा बाहिर गएपछि चाहिँ जङ्गलमा लागेको डढेलोजस्तो हो साम्य पार्न खोजेर साम्य हुने स्थिति हुँदैन। फुटाऊ अनि राज गर को सिध्दान्त मान्ने, सत्ताको स्वाद लिन चाहनेहरूका लागि, अझ भनौँ केही समयका लागि फलदायी जस्तो देखिए पनि यसको दूरगामी परिणाम भने स्वस्थकर हुन सक्तैन।ह्वारह्वार्ती आगो दन्किएको घरमा सुख,शान्तिले बस्न पाइएला? कदापि सम्भव छैन।विचारमा सङ्कीर्णता, चिन्तनमा छुद्रता, हृदयमा कटुता, कर्ममा अभद्रता आउने संस्कारलाई बढाउने कि घटाउने? यसले मनुष्यताको विकासमा सघाउ पु-याउने भए त जति सक्यो बढाउनु नै श्रेयस्कर हुन्थ्यो तर के गर्ने त्यसको विपरीत हुने यसको स्वभावको कारण बढाउनेतिर लाग्नु कुनै हालतमा पनि बुध्दिमानी हुँदै-हुँदैन।
समय-समयमा देखिने सङ्कटहरूमा कतिपय यस्ता सङ्कटहरू आवधिक प्रकृतिका हुन्छन्, जुन निश्चित समयपछि स्वत: फिका र मन्थर हुँदै जान्छ। तर वैचारिक प्रदूषण यति दूषित हुन्छ कि के भन्ने त्यसले द्वन्द्व र प्रतिद्वन्द्वलाई जन्माउन पुग्छ।जसको परिणति हुन्छ हिंसा, मनमुटाव, अशान्ति र विनास। मिडियाको शाक्तिबाटै विश्वमा कैयन् विषयहरूमा उथल-पुथल ल्याउन सम्भव भएको वर्तमान परिस्थितिमा मिडियाले कुन विषयलाई कसरी प्रस्तुत गर्छ त्यसमा पनि कतिपय कुराहरू भर पर्छन्।सबै निष्पक्ष र स्वतन्त्रताकै मन्त्र जप्छन् तापनि लगाम कहाँ हुन्छ थाहा नहुने अवस्थामा यावत् विषयहरूमा मेरो पकड छ, मेरो दलको पकड छ भन्ने सम्झदा-सम्झदै स्थिति पराकाष्टामा पुग्ने धरातलीय वस्तुस्थितिको कारण स्थिति जटिल झन् जटिल बन्दै गइरहेको यथार्थता छ।राजनीतिमा मात्र होइन सबै क्षेत्रमा उही सङ्गीन अवस्था छ।
वर्तमानमा देखिने गरेको सङ्कटको अनेकौँ कारणहरूमध्ये प्रमुख कारण नाम, पद, प्रतिष्ठा, धन-सम्पत्तिको लागि मरिहत्ते गर्ने प्रवृत्ति तथा जाति, भाषा, प्रदेशप्रतिको सही र व्यावहारिक कुराभन्दा सतही विषयप्रति चरम अनुराग।बगैँचाको शोभा अनेक थरी फूल ढकमक्क फूलेमा नै हुन्छ न कि एक थरी फूल फूलेर। जोडने, मिलाउने, जुटाउने  कुरालाई बिर्सेर टुटने, फुट्ने, बिथोलिने कुराप्रति अनुरक्त किन तुल्याइदैछ आश्चर्य लाग्छ।आपदाको घडीमा सङ्कटबाट आफू मुक्त हुन् तथा अरूलाई मुक्त तुल्याउन अभूतपूर्व त्याग, उदारता, दूरदर्शिता र विचारमा सन्तुलन अपरिहार्य हुन्छ।अझ नेतृत्वदायी भूमिकामा बस्ने नेता, मार्गदर्शक भनिनेहरूको त जिम्मेवारी गहन हुन्छ।
वर्तमानमा सङ्कट अपरिमेय रूपमा सृजित छ, जताततै अन्धकारै-अन्धकार घनिभूत भएर बढेको त होइन जस्तो अनुभूति नहुने होइन तर विचारमा संयमता, चिन्तनमा महानता, व्यवहारमा सहृदयतालाई स्थान दिँदै जीवनलाई असल प्रवृत्तितिर रूपान्तरित गर्नेतिर उन्मुख हुने बाटोलाई पछ्याउँदै अघि बढ्यौँ भने चेतनशील नवीन समाजको संरचना गर्न गाह्रो पर्ने छैन।अखण्ड आत्मस्वरूप देशलाई मानी शरीरका प्रत्येक अङ्गको इकाइलाई सङ्घियताका सहयोगी रूप सम्झी सबैले आ-आफ्नै गहन जिम्मेवारीलाई कम नआँकी सबैको मूल उदेश्य अखण्ड आत्मालाई उज्वलित गराइराख्नु नै हो र हुनुपर्छ।सङ्घियता देशको विखण्डनको लागि होइन सुदृढीकरणको लागि हो, प्रदेश जातीय पहिचानको लागि होइन सन्तुलित विकासका लागि हो भन्ने कुराको तार्किक निरुपण गर्न सकेमा नै सबैको मन-मस्तिष्कमा रहेको भय र आशङ्का मन्थर हुनेछ। यसो भएमा नै देश र देशवासीले शान्ति, समुन्नति र समृध्दि प्राप्त गर्ने छन् भन्ने आभ्यन्तरिक कामनासाथ वर्तमान सङ्कटको घडीबाट त्राण पाउने उपायहरूको लागि मेरो वस्तुको बाह्रै टक्का नभनी आवश्यक परे एक-दुई पाइला पछि हट्न पनि पछि पर्नु हुने वेला छैन।अनेकतामा एकता नेपालीको विशेषतालाई चरितार्थ तुल्याउन जो चुक्यो उसलाई वर्तमान र भावी सन्ततीले धिकार्ने छन्।  
<drgovinda.tandon@gmail.com>
                                     ***************       

             

Saturday, May 5, 2012

स्वधर्मको पहिचान


                               
                                                              
          मानिसमा एउटै विचार, एउटै धारणा, एउटै चिन्तन हुँदैन। फरक विचार, फरक चिन्तन र फरक धारणाकै कारण विभिन्न धर्म, दर्शन, सम्प्रदाय र चिन्तनहरूले स्थान पाएका छन। सबैलाई एउटै चिन्तन र धारणामा ल्याउँछु वा ढाल्छु भनेर कसैले सोच्यो भने त्यो निरर्थकमात्र होइन,कामै लाग्दैन।चाहे त्यो धार्मिक क्षेत्रमा होस्, चाहे राजनीतिको क्षेत्रमा वा सामाजिक क्षेत्रमा यही कुरा लागू हुन्छ।अझ स्पष्ट रूपमा भन्ने हो भने त विश्वमा एउटै व्यवस्था, एउटै वाद, एउटै दर्शनले काम चल्छ भन्ने सोच्न थाल्यौँ भने त्यो मूर्खतापूर्ण कार्य हुन्छ।यही कुण्ड-कुण्ड पानी, मुण्ड-मुण्ड विचार कै कारण विश्व चलेको छ।सकारात्मक, नकारात्मक लाग्ने दुवै किसिमका विचार र धारणाहरूको व्याप्ति सर्वत्र देखिन्छ।तर महत्त्वपूर्ण कुराचाहिँ के छ भने सकारात्मकतालाई नकारात्मकताले ढाक्यो, छोप्यो भने संसार बस्नलायक कदापि हुने छैन।त्यो त घनघोर अन्धकारले ढाकिएझैँ हुनेछ।नकारात्मकतालाई सकारात्मकताले मार्गदर्शन गरुनञ्जेल, असल सोचाइ र भावनाको व्यावहारिक रूपमा विद्यमानता रहुञ्जेल यो संसार बस्न योग्य हुनेछ अन्यथा यहीँ नरकभूमि बन्ने कुरामा कुनै शङ्कै नगरे हुन्छ। जुन परिवार, समाज र राष्ट्रमा नकारात्मक सोच तथा मानवताको विपरीतको कार्यहरू भइरहेका छन् त्यसैलाई हामी उदाहरण दिन सक्तैनौँ र? कसरी विचारको धरातलबाट पतनको दिशातिर अग्रसर हुँदैछ भन्ने कुरा।शारीरिक रूपबाट देख्दा बलियो, भौतिक रूपबाट हेर्दा सम्पन्न देखिएलान् तर मानसिक, बौध्दिक एवं आध्यात्मिक वा आत्मिक रूपबाट निकम्मा देखिएमा कुनै आश्चर्य हुने छैन।
हिजोआज के देखिदै गएको छ भने धर्म भन्नासाथै टाढिन खोज्ने एकथरि छन् भने अर्को थरिचाहिँ धर्मको नाउँबाट अनेक थरि धन्दा चलाएर बस्नेहरू पनि छन्।धर्मकै नाउँमा विकृति र विसङ्गतिहरू यसरी बढ्दै गइरहेका छन् कि यस्तो पनि धर्मको नाउँमा हुन्छ भन्नु पर्ने लाजमर्दो अवस्था देखिदै गइरहेको छ। यस्तो किन भइरहेको छ? यसतर्फ थोरै मानिसको मात्र ध्यान जान सकेको छ।स्वधर्म र परधर्मको कुरा मानिसहरू असाध्दै गर्छन् तर त्यसको साँचो अर्थ नबुझेर आफूलाई निरीह तुल्याइरहेका छन्।यो सामान्य मानिसमा मात्र होइन ठूलठूला मै हुँ भन्ने जानिफकार, विद्वान्, पण्डित भन्नेहरूबीचमै अलमल छ।संसारमा भएका जे-जति नामका धर्महरू छन् तीभन्दा पनि आदिम, सनातन, शाश्वत धर्म मानिसको आफ्नै स्वधर्म हो। स्वधर्म भनेको धेरैले आफू जुन कुल, परम्परामा छ वा जुन समाज र देशमा छ त्यहाँ जे-जस्तो रीतिस्थिति, परम्परा वा संस्कार र परम्परा छ त्यसैलाई अवलम्बन गर्नुलाई नै स्वधर्मको पालना गरेको सम्झेर आज घर, परिवार, समाजमा देख्नु नपर्ने कुराहरू धर्मको नाउँमा देख्नु परिरहेको छ।यावत् विकृति र कुरीतिलाई  धर्मको नाउँ दिएर वास्तविक धर्म भनेको के हो भन्ने कुरालाई नै मानिस बिर्सदै गइरहेको भान पर्छ।अन्धकारबाट प्रकाशतिर जानु पर्नेमा अन्धकारबाट झन् झन् अन्धकारतिर जाने काम  भइरहेको देख्दा पो अझ दु:ख लाग्छ।हृदयका कलूषितहरूलाई धोइपखाली निर्मल र कञ्चन बनाउँदै जीवनमा महकता, दिव्यता र सौन्दर्य ल्याउनु पर्नेमा अनेक किसिमका विधि-विधान, कर्मकाण्डीय परिपाटी, झन्झट र उल्झनमा अल्मलिएर स्वधर्मबाट टाढिदै गइरहेको यत्र-तत्र देखिन्छ।चाहिने वस्तुलाई त्यागेर नचाहिनेलाई थुपार्दै गएकोमा पो अझ आश्चर्य लाग्छ।
यसो किन भइरहेको छ? वा यसको कारक तत्त्व के हो खोज्नपट्टि मानिसलाई फुर्सतै नभएको हो कि वा यसैगरी चल्छ किन टाउको दु:खाउने भन्ने मनोभावनाको कारणले पनि होला कोही त्यतातिर लाग्नै चाहदैन। मानिसको स्वधर्म के हो नबुझ्नाले तथा परम्परा, प्रचलन र मान्यता जस्तोसुकै हुन् तिनलाई नै प्रमुखता दिनाले पनि यस्तो भएको हुनुपर्छ।कति मानिस त कुल, घर, परम्पराको नाउँमा जे-जस्तो संस्कार-संस्कृति चलिरहेका छन् त्यसलाई नै स्वधर्मले समेटेको छ भन्न पनि पछि पर्दैनन्।अझ कति मानिस त स्वकर्मलाई या कर्तव्यकर्मलाई नै स्वधर्म हो भनेर आफू पनि अन्योलमा पर्ने अरूलाई पनि अन्धकारमा पार्ने काम पनि गरिरहेका छन्। कर्तव्यकर्म स्वधर्म हुनै सक्तैन। उदाहरणको लागि विद्यार्थीको काम पढ्नु हो, कर्मचारीको काम निश्चित गरिएको काम गर्नु हो, ती त उनीहरूको कर्तव्यकर्म हुन्। तिनलाई स्वधर्म भन्न सकिन्न।कर्तव्यकर्मलाई नै स्वधर्म भन्न थाल्यौँ भने अनेक विकृतिलाई नै धर्म भनेर बस्नु पर्ने अवस्था आउँछ।वास्तवमा भन्ने हो भने स्वधर्म भनेको मानिसको प्राकृतिक गुण हो, स्वभाव हो।उसमा जन्मजात अपेक्षा गरिएको मानवता हो, मानवीय गुणहरू हुन्।तर जन्मने घरको धर्म,संस्कार, परम्परा, वरपरको वातावरण र सङ्गतको कारण स्वधर्मलाई बिर्सेर विस्तारै अन्यान्य विषयमा अल्मलिन पुग्छ।एक किसिमले भनौँ न आफ्नो मूल स्वरूप र स्वभावलाई नै बिर्सन पुग्छ।
बुध्दि र विवेक भएको मानिने हरेक मानिसमा  दया, माया, करुणा, अहिंसा,अनुशासन, न्याय, सद्‌भाव, मैत्री, आत्मीयता, समानता, समरसतालगायतका तमाम सद्‌गुणहरू हुन्छ भन्ने सामान्य रूपले सम्झिन्छ।वास्तवमा तिनको सही अवलम्बन नै स्वधर्म हो।तर विपरीत परिस्थिति, वातावरण र गलत बुझाइले धर्म भन्दा-भन्दै अधर्म, अन्धविश्वास, रुढिबुढी, विकृति र विसङ्गतिको अन्धकारमा यसरी जाकिन पुग्छन् कि उनीहरूलाई नसम्झाउने हो भने पत्तै पाउँदैनन्। त्यतिमात्र कहाँ हो र ? त्यसैलाई मानिसहरू धर्म सम्झेर आत्मसात् गर्न पुग्छन्। विश्वमा देखिएको अशान्ति, लडाइँ-झगडा, काटमार,युध्द, हिंसा त्यसैको परिणति हो।यदि हरेक मानिसले आफ्नो अर्थात् मानिसको स्वधर्मलाई मात्र पनि चिनेर त्यसअनुसारको व्यवहार गर्ने गराउने र जीवन जिउन प्रयत्नशील बन्ने हो भने विश्वमा अहिले देखिएका अशान्ति, दु:ख, पीडा, विसङ्गति आधाभन्दा बढी स्वत: घटेर जाने निश्चित छ।आफूले आफैलाई अनुशासनमा राखेर मानिसलगायत सम्पूर्ण जीवजगत्‌प्रति मन, वचन र कर्मद्वारा गरिने व्यवहारबाट नै आफूभित्रको मानवतालाई जाँच्न सकिन्छ।मलाई अहित हुने कुराले अरूको पनि अहित गर्छ वा मलाई कसैले नराम्रो व्यवहार गर्दा जस्तो पीडा हुन्छ त्यस्तै अरूलाई पनि हुन्छ भन्ने सामान्य भावको अङ्कुरणमात्र पनि मनमा आइदिन सक्यो भने संसारको अनुहारै फेरिन्छ। मानवता शव्दद्वारा जाँचिने विषय नभई व्यवहारमा देखाउने विषय हो।
मानिसमात्रको कर्तव्य हुन आउँछ कि सबैभन्दा पहिले आफ्नो स्वधर्मलाई जानौँ, त्यसको सही ज्ञान प्राप्त गरौँ, जसबाट मानवजीवन सार्थक हुन सकोस्।स्वधर्मलाई नजानेर पनि बाँच्न नसकिने होइन। कैयन् बाँचिरहेका छन्। हिजो पनि उनीहरू बाँचे, आज पनि बाँचिरहेका छन्, भोलि पनि बाँच्लान्।तर जीवनको सार्थकताचाहिँ स्वधर्मलाई बुझेर त्यहीअनुसारको सुकर्मलाई जीवनशैली बनाउन सकियो भने मात्र हुन सक्छ फरक यत्तिमात्रै हो।जीवनमा सुख, शान्ति, समृध्दि र आनन्दको बहार ल्याउने कि जे छ जस्तो छ त्यही ठीकै छ अरू केही चाहिदैन भन्ने ! यदि पहिलोलाई चाहने हो भने मानिसले आफ्नो स्वधर्मलाई बुझ्नै पर्ने हुन्छ, जान्नै पर्ने हुन्छ, व्यवहारमा लागू गर्नै पर्ने हुन्छ।होइन खाऔँ, पिऔँ, मोज गरौँ, अरूलाई जेसुकै होस् के चासो भन्ने किसिमको जीवनमा रमाउने हो भने स्वधर्म के हो भन्ने जान्नु, बुझ्नु कुनै आवश्यकै छैन।यो स्वतन्त्रता हरेक मानिसलाई छ।
स्वधर्मको नाउँमा कुडाकङ्कट जे-जे छन् ती सबैलाई आफ्नो कुल, परम्पराको धर्म त्यसैले त्यसलाई जसरी हुन्छ अवलम्बन गर्नुपर्छ भन्दै निरन्तरता दियौँ र मानवताको पक्षलाई चाहिँ चटक्कै बिर्सिदियौँ भने त्यस्तो धर्मले रक्षा गर्न सक्तैन।प्रसिध्द उक्ति छ कि धर्मको रक्षा ग-यौँ भने त्यस्तो धर्मले रक्षा गर्छयसको अर्थ के हो भने मानवतालाई अर्थात् दया, माया, करुणा, अहिंसा, सद्‌भाव, आत्मीयता, मैत्री, न्यायजस्ता कुरा नै मानिसको प्राकृतिक स्वभाव हो त्यसको रक्षा गरियो भने प्राणीमात्रको हित हुन्छ र त्यसले विश्वब्रह्माण्डलाई जोगाउँछ, बचाउँछ भनिएको हो।सङ्क्षिप्तमा भन्नुपर्दा मानिसको स्वधर्म भनेको सद्‌गुण, सदाचार, सद्‌चरित्र, नैतिकताको साथसाथै मानवता हो, उदारता हो, विशालता हो।परधर्म भनेको ती विपरीतका कुराहरू- असत्य, हिंसा, अन्याय, बेइमानी, क्रूरता, भ्रष्टता, भ्रष्टाचार,सङ्कीर्णता आदि हुन्। संसारमा जे-जति पुराना-नयाँ धर्म छन् तिनीहरूको उद्‌भव त समयको विभिन्न कालखण्डमा भएको हो।मानिससँगै जन्मजात रहेको प्राकृतिक रूपको धर्म न हिन्दु हो, न बौध्द, न ईसाइ, न बहाइ, न मुस्लिम, न यहुदी ! सही कुरा नबुझेर, स्वधर्मलाई नजानेर विगतमा धर्मको नाउँमा कैयौँ युध्दहरू भए, तिनको अवशेष अझै कहीँ-कहीँ देखिन्छ, सुनिन्छ।यस्तो विषम परिस्थिति आउनबाट जोगाउन तथा व्यक्ति, परिवार, समाज र राष्ट्र-राष्ट्रमा दिगो सुख, शान्ति, आनन्द ल्याउने हो भने परधर्मको वास्तविकता बुझी स्वधर्मको पहिचान गर्ने, गराउने वातावरणको सृजना बाल्यकालदेखि नै शिक्षाको माध्यमबाट गर्न,गराउन सक्यौँ र यसलाई यथार्थमा बुझ्न,बुझाउन सक्यौँ भने विश्वकल्याणको लागि यो जत्तिको कारगर उपाय अर्को हुने छैन।    
                                          **************** 


Sunday, April 22, 2012

सत्यलाई चिन्न नसक्दा


                              
                                                  
               सत्यको कुरा गर्दा कहिले-काहीँ कसैलाई लाग्दो हो कि यो अति सजिलो छ। शिक्षा दियो, दीक्षा दियो,ज्ञान दियो, तालिम दियो भइहाल्छ नि भनेको जस्तो लाग्दो हो। तर यो कार्य किमार्थ सजिलो छैन। त्यसमा पनि कुनै निश्चित राजनीतिक वाद, सम्प्रदाय, समूह, वर्ग र धर्मको नाउँ जोडियो भने त सेतोलाई पनि कालो, कालोलाई पनि सेतो भन्नु पर्ने अवस्थाले मानिसले बुध्दि-विवेकलाई नै बन्धकीमा पारेका एक होइन हजारौँ दृष्टान्त र उदाहरणहरू हाम्रै वरपर घटित छन्।अर्काको अहित चिताएर आफ्नो फलिफाप हुँदै हुँदैन यो ध्रुवसत्य कुरा हो।जसले अरूको हित हुने काम गरिरहेको हुन्छ उसको पनि स्वत: कल्याण भइरहेको हुन्छ। तर समाजमा हेरौँ त चाहे सामाजिक क्षेत्रमा हुन्, चाहे राजनीतिक क्षेत्र हुन्, चाहे धार्मिक-साँस्कृतिक क्षेत्रमा हुन् जताततै नीजि स्वार्थ, समूहको स्वार्थ, वर्गको स्वार्थ, दलको स्वार्थ तथा आ-आफ्नो प्रकारका स्वार्थले गर्दा सबैको हित होस्, सबैले सुख पाऊन् भन्ने विशाल,उदार र विस्तीर्ण चिन्तन र विचारमा ओझेल लाग्दै गएको भान हुन्छ।त्यत्तिमात्रै हो र? स्वार्थ-स्वार्थबीच प्रतिस्पर्ध्दा चलिरहेको छ कसले कसलाई मात खुवाउने भनेर। यसलाई विडम्बना नभनेर के भन्ने? निर्माण गरेर देखाउन, विकास गरेर देखाउन, भत्के-बिग्रेकोलाई सुधार्न, बिग्रेको सम्बन्धलाई मिलाउन कुनै निश्चित कारगर योजनासाथ प्रतिस्पर्ध्दा भए एकदमै राम्रो हुन्थ्यो तर त्यसको विपरीतमा कार्यहरू हुन्छन् पो डरलाग्दो स्थिति, भयावह वातावरण बन्न सघाउ पु-याइरहेको हुन्छ।यो कुनै एक देश वा कुनै निश्चित समूह र वर्गमा मात्र सीमित छ भन्ने होइन विश्वव्यापी आतङ्कको रूप ग्रहण गर्ला भन्नेमा पो सतर्क हुनु पर्ने बेला आएकोप्रति सबै चनाखो हुनुपर्ने बेला आएको छ।
बिगार्न जति सजिलो छ बनाउन हजारौँ होइन लाखौँ गुणा गाह्रो छ भन्ने साधारण कुरालाई नबुझेर भएको सबै ध्वस्त पारेर, शून्यको स्थितिमा ल्याएर वर्ग सङ्घर्षको माध्यमबाट विकासको लहर ल्याउँछौँ भनेर सर्वहाराको कुरा गर्ने मार्क्सवाद,  लेलिनवाद र माओवादको नारा कुनै वेला सर्वसाधारणलाई तत्काल आकर्षित गर्न काम लागे पनि आजको विश्वमा त्यस्तो विचारधारा व्यावहारिक धरातलमा मूल्यविहीन भइसकेको छ।व्यवहारमा नपरुञ्जेलमात्र हो यथार्थ धरातलमा उत्रेर जब त्यस्तो विचार राख्ने नेता वा अभियन्ताहरूलाई नै राज्यको जिम्मेवारी सुम्पे पनि कुनै चमत्कार हुन सक्तैन भन्ने कुराको उदाहरण खोज्न कहीँ टाढा जानु पर्दैन। यस्तो विचारधारा भएको विकासलाई, उभिएको संरचनालाई विगार्न र ध्वस्त पार्न खुबै काम लाग्छ तर जब बनाउनु पर्ने, निर्माण गरेर देखाउनु पर्ने अवस्था आउँछ अनि त्यतिखेर घाम जत्तिकै टड्कारो हुन्छ कि त्यो विचारधारा त सतही र काम नलाग्ने रहेछ भन्ने कुराको।सत्ता, पद र प्रतिष्ठाको लहडबाजी पो रहेछ भन्ने थाहा पाउँदा साथ दिनेहरू त्यतिबेला कति लज्जित बन्न पुग्छन् होला! आश्चर्य कहाँनिर हुन्छ भने त्यसैको परिचयमा बाँचेकोले अरूले जत्तिसुकै खराब भने पनि सत्यलाई स्वीकार्न सक्तैनन् र असत्यलाई सत्य हो भनेरै जीवन खियाउँछन् र बनाउन खोजेको भनेर बिगारेका यावत् फेहरिस्तमाथि गौरव गर्छन्। यो आजको नियति बनेको छ कैयन् मुलुकहरूका लागि।
कहिँ पूँजिवादको नाउमा, कहीँ समाजवादको नाउँमा, कहीँ साम्यवादको नाउँमा समाज टुक्रिएको छ, विचार खण्डित छ।राष्ट्रका सर्वस्वस्वरूपका सामान्य नागरिकहरू अनेक युध्द, द्वन्द्व र अशान्तिमा जकडेर बसेका छन्।हरेक पल सशङ्कित छन्, घरबाहिर गएको व्यक्ति फर्केर आउने हो, नआउने हो को पीडादायक अवस्थामा जीवन गुज्रिनु पर्दा तथा आफ्नै देश पराइ देशतुल्य भएको अवस्थालाई जन्माउँदा पनि त्यसका वास्तुकारहरू मानौँ कुनै वीरतापूर्ण कार्य गरेको झैँ सम्झन्छन्।  त्यस्तै कृत्यलाई कतिपय व्यावसायिक सञ्चार माध्यमहरूले बढाइ-चढाइ वा डर-धाक-धम्कीको कारण साथ दिँदा परिस्थिति कसरी उत्ताउलिन्छ र त्यसले असत्यको बाटोमा हिँड्नेहरूको जमातलाई कसरी प्रोत्साहित तुल्याउँछ भन्ने कुराको छनकको पूर्वानुमान गर्न नसक्दा समाज अनेक रूपले कुण्ठित बनेको, जनताहरूको जीवन बर्बाद भएको, राष्ट्रको अस्मिता डामाडोल बनेको मूल्याङ्कन र विश्लेषणसमेत हुन नसक्ने परिस्थिति बन्न सक्छ भन्ने अनेक उदाहरणहरू यत्रतत्र छन्।
सत्य सिधा हुन्छ तापनि यसलाई स्वीकार्न कति गाह्रो हुन्छ भन्ने कुरा जो कोहीले भोगी नै रहेको हुनुपर्छ।एक टुक्रा पाउरोटीको लागि छटपटिएका जनता, समयमा औषधि उपचार नपाइ असमयमै मृत्यलाई वरण गर्न पुगेकाहरूको दर्दनाक दिनचर्या, वर्गसङ्घर्षको नाउँमा नयाँ-नयाँ उत्पीडनले ग्रस्त कतिपय देशहरू विगतमा र अहिले पनि दशौँ वर्ष लगाएर लाखौँ-अरवौ डलर खर्च गरेर गर्ने गरेका परमाणु परिक्षणले सर्वहारा वर्गको प्रतिनिधित्व गर्छ? कतै गर्दैन। यसले त उल्टै जनतालाई भोकभोकै मारेर भए पनि विश्वको शक्तिशाली राष्ट्र बन्ने र आफ्नो विचारका अनुयायी राष्ट्रहरूलाई हातहतियार बेचेर संसारलाई त्रस्त तुल्याउने अभिप्राय रहेको स्पष्ट देखिन्छ। बख्तरबन्द एवं खतरनाक हातहतियार आफूसँग हुन सक्यो भने शान्तिलाई बहाल गर्न सकिन्छ भन्ने साम्राज्यवादी नीति कुनै वेला हतियारको राजनीति गर्न उपयुक्त मानिए पनि अब त्यही हतियार विश्वको विनासको लागि लालायित बनेर रहेको छ। तकियामुनि हातहतियार राखेर कसैको लागि अपवादको रूपमा निन्द्रा आउला तर अधिकांशको लागि यो निन्द्राहराम गर्ने माध्यम हो भनेर बुझ्ने दिन कहिले आउने होला? अशान्ति मच्चाउँदैमा शान्ति आउने होइन, शान्तिबाटै शान्ति आउँछ।यसैको लागि नै प्रयास गर्नु सबैको लागि हितकारी हुन्छ।
विश्वलाई सदैव कि धर्मले, कि राजनीतिले नै डो-याएको देखिन्छ।कुनै जमाना थियो धर्मकै एकाधिकार रहेको अवस्था थियो। धर्मको नाउँ लिएपछि गर्न हुने, गर्न नहुने यावत् कार्य गर्न छुट थियो।अपवादस्वरूप कहीँ-कतै यस्तो नहुनु आर्कै कुरा हो। हिरोशिमा, नागासाकीमा परमाणु बमको विध्वंस मच्चाएर लाखौँ मानिसहरूको ज्यान जाने कार्य हुँदा पनि धर्मको बचाउको लागि आवश्यक थियो भन्नेजस्ता कुराहरू त्यतिखेर नआएका होइनन्।अहिले राजनीति हावी छ।देशरक्षा र राष्ट्रवादको नाउँमा अनेक वितण्डा र अमानवीय कार्यहरूले प्रोत्साहन पाइरहेका छन्। धर्म अपौचारिकतामा सीमित हुँदै जादै छ। धर्मको दुहाइ दिएर अनेक अमानवीय एवं विकृतिलाई जीवनचर्या बनाउने अवस्थाको सूत्रपात तीव्र गतिमा बढ्दैगइरहेको तर्फ थोरैको ध्यान जान सकेको छ। धर्म पलायनवादको नमुना भनेर मार्क्स, नित्से आदिले भन्नु  र अहिले करिव-करिव अधिकांशत: त्यस्तै रूपमा देखिनु कुनै संयोग मात्र हो भन्न मिल्दैन। अनेक शिक्षा र विद्याले लेस भएको अहिलेको समयमा त यस्तो कहालिलाग्दो अवस्था छ भने उनीहरूको जमानामा कस्तो रूप थियो होला! त्यसैले मार्क्सले धर्मलाई अफिमसम्म भन्न पुगे। यसमा दु:ख मनाउ गर्नु कुनै कारण छैन। धर्मको नाममा विभेद, छूवाछुत, सानो-ठूलो, उच-नीजजस्ता जातिगत भेद राख्छौँ, मानिस-मानिसबीच ठूल्ठूला पर्खाल उभ्याउँछौँ भने त्यसले मानवताको विकासको लागि कहिल्यै पनि हित गर्न सक्तैन बरु त्यसले त मानिस-मानिसबीच फूट, कलह र रक्तपातलाई जन्म गराउँछ जुन इतिहासका पानाहरूहरूमा प्रशस्त भरिएका छन्। इतिहासबाट पाठ सिक्न जानेनौँ भने इतिहासलाई  नपढे पनि हुन्छ।
धर्मको नाम लिएर केवल बाहिरी रूप र आवरणलाई सजाएर अन्तरहृदयलाई बुध्दि र विवेकसम्मत तुल्याउन सकेनौँ; दया, करुणा, अहिंसा, प्रेम, सद्‌भाव, आत्मीयता सम्पूर्ण प्राणी जगत्‌प्रति देखाउन सकेनौँ भने धर्म भनेको मात्र एक किसिमको व्यसन हो, आ-आफ्ना स्वार्थसिध्दि गर्ने चतुर उपायमात्र हो भनी दिए फरक पर्दैन।धर्मकार्य मानिसले बाहेक अरू पशुप्राणीले गर्न सक्तैन। उनीहरू त स्वाभाविक प्रवृत्ति जे छ त्यही गर्ने हुन्। धर्म भनेको मानिसले धारण गर्नु पर्ने असल गुणहरू हुन्।सद्‌गुणहरूलाई अवलम्बन गरेर जीवनयापन गरिएको छ वा त्यसैलाई जीवनशैली बनाइएको छ भने धर्ममय जीवन बन्यो होइन धर्मको नाउँमा अनेक विकृति, विसङ्गति; परम्परा, संस्कारका नाउँमा अनेक कुडाकङ्कटस्वरूपका जञ्जालहरूमा अलमलिन थाल्यौँ र अझ मानवताको पक्षलाई बिर्स्यौँ भने त धर्म भन्दाभन्दा अधर्मलाई पो बढाइरहेका हुनेछौँ जानी नजानी! अनि धर्मभिरु जमात तयार हुन्छ। अनेक अन्धविश्वास, रुढिबुढी, भूत-प्रेत, बोक्सी, धामीझाक्रीको चक्रव्यूहमा मानिस फस्न पुग्छ / पुगिरहेको छ।
आफूले आफैलाई चिनेर अर्थात् अनुशासनमा राखेर, अरूको हितले नै मेरो हित र कल्याण हुन सक्छ भनेर निर्माण गर्न सकिने सौन्दर्यपूर्ण, शान्तिपूर्ण र आनन्दमय स्वाभाविक स्वरूपको जीवनलाई कुरूप, कुण्ठित,बेकम्माको तुल्याउन मानिस कसरी व्यामोहित भइरहेको छ। समाजमा देखिदैगएका र बढाइदैगएका व्यसन, दुर्व्यसन, दुराचार, कुण्ठा, विकृति, विसङ्गतिले भित्र्याउँदै गएका अनेक झन्जावातहरूलाई सम्झदा साँचो र जीवन्त जीवनको लागि तथा बोधपूर्वकको जीवनयापनको लागि चाहिने चेतनाको तत्त्व हराउँदै, मानवतालाई कुल्चदै, सत्यको बाटोलाई बिर्सदै विस्मृतिको गर्तमा जान लागेको अनुभूति हुँदैन? सम्झदा पनि डर लाग्ने अवस्था जताततै देखिँदैछ।त्यसबाट उन्मुक्ति पाउन सत्यको मार्गको अवलम्बन गर्दै वसुधैव कुटुम्वकम् अर्थात् विश्वब्रह्माण्डका सबै एउटै ईश्वर, एउटै सत्य, एउटै परमसत्ताका अंश हौँ  भन्ने भावनाका साथ मनमा पवित्रता, कर्ममा निस्वार्थता र सोचाइमा उदारता लिएर व्यावाहारिक रूपमा जीवनमा लागि परे सुख, शान्ति र आनन्द साथ-साथै छ।यसपछि नै सुख, शान्ति र आनन्दको अनन्त धारा नि:सृत  हुन थाल्छ। सत्यलाई चिनिसकेपछि सुख, शान्ति र आनन्दको लागि कतै भड्किनु पर्दैन ती सबै यही छ, नजिक छ, साथैमा छ।
                                      ****************