Thursday, September 22, 2011

स्वस्थ्य जीवनको आधार


                 
                                                               
       शाकाहार कि मांसाहार भन्ने विषय अब केवल धर्म-सँस्कृतिसँग मात्र सम्बन्धित छ भन्ने सम्झ्यौँ भने गलत हुन्छ। अब यो मानवता, नैतिकता, स्वास्थ्य र स्वस्थ ब्रह्माण्डसँग पनि त्यत्तिकै सरोकार राख्ने विषय बनिसकेको छ। कुनै बेला यो धर्म र धर्मशास्त्रको विषय थियो होला तर अब ब्रह्माण्डको समग्र बचाउको विषयसँग जोडिएर दिनानुदिन अनेक अध्ययन, अनुसन्धान र खोज भइरहेकोले सबैको ध्यान यसतर्फ गम्भीर रूपले जानु पर्ने देखिन्छ।
शाकाहारा र मांसाहारको विषय युगौँ-युगदेखिको चर्चाको विषय बन्दै आएको छ। जहाँसम्म विभिन्न धर्मका धर्मशास्त्रहरूमा लेखिएका विषयहरू छन् त्यहाँ (१) असल कुरा पनि छन् अर्थात् अमृतवाणी पनि छन् (२) नकारात्मक लाग्ने कुराहरू पनि छन् अर्थात् विष पनि छन्। त्यसमध्ये आजको संसारलाई चाहिने के हो? अमृत हो कि विष? त्यसलाई दृष्टिगत गरी व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्वलाई बनाउनेतिर गयौँ भने सबैभन्दा बढी बुध्दिमानी हुन्छ। विष कोही पनि चाँहदैन।
अर्को कुरा धर्मसँग सम्बन्धित पुराना साहित्य जति छन् तिनले भनेका सबै सत्य हुन् भन्ने सम्झ्यौँ भने हामी घोर अन्धकारमा फस्न पुग्छौँ। ती इतिहासका पाना जरुर हुन् तिनबाट पाठ सिक्नुपर्छ तर समयानुसार आवश्यकता के छ? मनुष्यता केले बढाउँछ, मानवीयताको संरक्षण कसरी गर्न सकिन्छ? जताततै अन्धाधुन्ध बढ्दै गइरहेको हिंसा, अशान्ति र द्वन्द्वलाई कसरी अहिंसा, शान्ति र निर्द्वन्द्वमा रूपान्तरण गर्न सकिन्छ त्यसमा विचार गर्दै वर्तमानलाई महान् बनाउनुका साथै भविष्यलाई पनि कसरी गौरवशाली तुल्याउन सकिन्छ भन्ने विचारले आज हामीले गर्ने गरेका कार्यहरूको अर्थ रहने भएकोले त्यसलाई हेक्का राख्नु आवश्यक छ।
हिंसाले अशान्ति ल्याउँछ त्यसैले हिंसा र अशान्ति दुईबीच अन्योन्याश्रित सम्बन्ध छ। त्यसैगरी अहिंसाले शान्ति ल्याउँछ यो सबैले थाहा पाएकै कुरा हो। तैपनि यो शाश्वत चिन्तनलाई स्वीकार्न मानिस हिच्किचाउँछ।यसैको परिणति हो आजको विश्वको दारुण र सन्त्रस्त अवस्था ! मलाई काटे, पिटे दु:ख्छ त्यसैले अरूलाई पनि दु:ख्छ, पीडा हुन्छ, कष्ट हुन्छ भन्ने भावलाई बिर्सदै जानु नै हिंसा बढ्नुको मूल कारण हो। हिंसा र अहिंसाको कुरा गर्दै जाँदा मानिसहरू आफूले गर्ने गरेको वा खाने गरेको कुराको बचाउ गर्न बोट-विरुवाहरूमा पनि त आखिर चेतनतत्त्व नै छ त्यो किन खाएको नि भनी प्रतिप्रश्न राख्न पनि पछि पर्दैनन्। त्यत्तिखेर उनीहरूले बुझ पचाउँछन् वा बुझ्न कोशिशै गर्दैनन् कि सागपात, वनस्पतिमा चेतनता छ तर इन्द्रिय, हृदय, मस्तिष्कसहितको संवेदना हुँदैन त्यसैले उनीहरूलाई पीडाको अनुभूति हुँदैन, पशुपक्षीमा जस्तो छटपटी हुँदैन, ऐय्या र आत्था हुँदैन। साथै मानिसको शरीर बचाउन तिनको भोजन आवश्यक छ।अर्को शव्दमा भन्नु पर्दा सागसब्जी, फलफूल, अन्न मानिस र प्राणीहरूकै निमित्त हो। यसको विपरीत मांसाहारविना पनि मानिस बाँच्न सक्छ। मानिस मांसाहारी प्राणी होइन उसको लागि मांसाहार प्राकृतिक खाना हुँदै होइन यसैले उसको लागि यो बाध्यकारी छैन। जन्मजात मांसाहार नगरेर वा पछि छोडेर जीवनभर मांसाहार नगरेका कत्ति मानिस विश्वमा थिए र अझै छन्। वंशानुगत रूपमै आजसम्म मांसाहार नगर्ने परिवार, समुदाय पनि विश्वमा मौजुद छन्।वर्षैभरी हिमपात हुने ठाउँ र सामुन्द्रिक क्षेत्रमा बाहेक अन्यत्र अन्न, सागसब्जी, फलफूल नहुने ठाउँ नै छैन भने हुन्छ संसारमा।यातायातको सुविधा विकसित हुँदै गइसकेकोले अब त अन्न, फलफूल, सागसब्जीको प्राप्ति कहीँ पनि दुर्लभ र दुष्कर छैन भने हुने अवस्था छ।
भन्न त मांसाहारका हिमायतिहरू भनिदिने गर्छन् कि पशुपक्षीलाई मारिएदिएपछि पुण्य प्राप्त गर्छन्।कस्तो विडम्वना ? तिनले पुण्य प्राप्त गरेको कुरा कसले देख्यो? के मानिस कसैलाई मारेर पुण्य गराउने क्षमता राख्छ? दु:ख-कष्ट, प्रताडना दिएर पुण्य दिने अधिकारी के मानिस हो? जसले उसको सृष्टि ग-यो उसलाई बाहेक अरूको प्राण हर्ने अधिकार कसैलाई छैन। मानिसको दण्डविधानमा कुनै बेला राखिएको मृत्यदण्डयसैकारण संसारका कैयन् देशहरूमा हट्दै गएको होइन? यदि पशुप्राणीलाई मारेर, काटेर, पुण्यप्राप्ति हुने भए आफू र आफ्ना सन्तानमाथि के त्यस्तो दया, माया, देखाउन कोही तयार हुन्छ होला? असम्भव! यस्तो यथार्थता हुँदा-हुँदै पनि मानिसहरू किन अरूको आँशु र मासुमा आसक्त हुन्छन् बुझ्न सकिँदैन।यस्ता मानिसहरू दया, माया, करुणाजस्ता मानवीय गुणहरूभन्दा भिन्न क्रियाकलापमा रमाइरहेको र त्यस्तो परम्परालाई बढाउन, टिकाउन लालायित भएको देख्दा आश्चर्य लाग्छ। यस्तै करुणाविहीन एवं दयाहीन कृत्यहरूले मानिसको सौन्दर्यलाई समाप्त पार्न लागिरहेको छ भन्ने तपाईँलाई लाग्दैन? यस्तै  हिंसाजन्य व्यवहारका कारण मानिसको मानवीय संवेदनामै ह्रास आएकोले समाजमा अनेक किसिमका आपराधिक गतिविधि, हिंस्रक मानसिक प्रवृत्ति, बर्बरता एवं क्रूरतापूर्ण घटनाक्रमहरू बढदै गइरहेको प्रति विश्व अनभिज्ञ छैन तर यसको मूल जड पत्ता लगाउन उनीहरू असफल छन्। कारण स्पष्ट छ जस्तो आहार उस्तै विचार र चिन्तन भन्ने गूढ रहस्यको भेउ पाउन अझै मानिसले सकिरहेको छैन।
मुखले मात्र शान्ति चाहियो भनेर शान्ति प्राप्त हुने होइन। त्यसको प्राप्तिमा के के काम ग-यौँ त्यसमा भर पर्ने कुरा हो। अशान्ति हुने काम गर्ने अनि शान्ति खोज्ने? के सम्भव होला? अहं कदापि हुँदैन। रोग लाग्ने आहारलाई ग्रहण गर्दै जाने अनि निरोगी हुन खोज्ने? यो कतै सम्भव होला? पटक्कै हुँदैन। वर्तमान विश्वको परिस्थिति यस्तै छ।बिषको फल रोपेर अमृतको चाहना गर्ने आम मानसिकता सर्वत्र हावी हुँदै गइरहेकोले नै यसको बाधक बनेको छ भन्ने लाग्छ। 
मानिसको लागि मांसाहार हुँदै होइन। ऊ त प्राकृतिक रूपले शाकाहारी प्राणी हो। त्यसमा पनि बुध्दि-विवेकले युक्त सर्वोत्कृष्ट प्राणी हो। त्यसको दुरुपयोग भयो भने हिंसा, प्रतिहिंसा, बर्बरता कस्तो हुने होला? अप्राकृतिक आहार-विहारले  रोगव्याधी नबढे केचाहिँ बढ्ला!
अलबर्ट आइन्सटाइन जो बीसौँ शताव्दीका सबैभन्दा प्रसिध्द वैज्ञानिक हुन् उनले भनेका छन् कि विश्वब्रह्माण्डलाई बचेको हेर्न चाहने हो भने मानिस मांसाहारीबाट शाकाहारीमा रूपान्तरित हुनै पर्छ।यस भनाइमा केवल आहारको कुरा छैन बरु आहारबाट मानिसमा तरङ्गित र उव्जने भाव, विचार र कर्ममा पनि उनले सङ्केत गरिरहेका छन्। त्यसलाई हामीले बुझ्न सकिरहेका छैनौँ जस्तो लाग्छ। मानिसको आहारअनुसार  विचार र चिन्तन बन्छ। आहारले नै मानिसलाई सज्जनबाट दुर्जन र गुणीबाट अवगुणी एवं असलबाट खराब  बनाउँछ। मद्य-मांसको लागि मानिस के गर्दैन र कहाँ-कहाँ पुग्दैन एकछिन सोचौँ त उदेक लागेर आउँछ। सुर (Rhythm) मा हुनुपर्ने मानिस यसै कारण असुरको तहमा पुगेजस्तो लाग्दैन?
विश्वमा देखिएका असङ्ख्य रोगहरूको उद्‍गम स्रोत मांसाहार भएकोतर्फ शिक्षित, चेतनशील मानिसहरू अनभिज्ञ छैनन् जसको प्रत्यक्ष प्रमाण हो कि यूरोप, अमेरिकाजस्ता देशहरू कुनै बेला मानिस मांसाहारविना बाँच्नै सक्तैन भन्ने विचार राख्ने ठाउँमा अहिले शाकाहारी अझ त्यसमा पनि भेगन (दुग्धजन्य पदार्थसमेत नखाने)हरूको सङ्ख्या यसरी बढ्दै गइरहेको छ कि थाहा पाउँदा ताज्जुब लाग्न सक्छ। अमेरिकामा १७%, बेलायतमा १२% मानिसहरू शाकाहारी बनिसके केही वर्षको अन्तरालमै।ताइवान, सिङ्गापुर, मलेसियाजस्ता देश जहाँ चारखुट्टेमा पलङ्ग, उड्नेमा चङ्गा खाँदैनौँ अरू जे पनि खान्छौँ भन्ने ठाउँमा पनि शाकाहारी चेतना यसरी उत्कर्षमा पुगेको छ कि जो कोहीका लागि आश्चर्य लाग्न सक्छ। विश्वमै यो अझ बढ्दै जाँदो छ।
क्यान्सर, मुटुरोग, पक्षघात, उच्च रक्तचाप, मधुमेह, मोटोपनका विभिन्न कारणहरूमा मांसाहार प्रमुख भएको तर्फ अनेक खोज-अनुसन्धान भइसकेको र भइरहेको स्थितिले मांसाहारबाट बँच्न सबैलाई प्रेरणा दिइरहेको छ। मासुमा कोलोस्ट्रोल र कार्सिनोजिन्स जस्ता तत्त्वको बाहुल्यताले त्यस्ता घातक रोगहरूलाई निम्त्याउँछ। पशुपक्षीबाट सङ्क्रमित हुने रोगहरूले मानवीय स्वास्थ्य र सभ्यतालाई अनेकौँ पटक चुनौति दिइसकेको छ। बर्डफ्लू, स्पेनिस बर्डफ्लू,  एभियन इनफ्लून्जाले लाखौँ मानिसहरूको विगतमा ज्यान लिइसकेको इतिहास छ।यसैगरी सास, म्याडकाउ डिजिज, स्वाइनफ्लू आदिको आतङ्क वर्तमान समयमा कसरी बढेको छ त्यसबारे आजका मानिसहरू अनभिज्ञ छैनन जस्तो लाग्छ। मांसाहारका कारण मानव शरीरमा हुने रासायनिक असन्तुलनले चिन्ता, आत्महत्या, आपराधिक प्रवृत्ति, डिप्रेशनजस्ता मनोविकृतिहरू बढदो क्रममा छन्।  
मांसाहारप्रति अभिमत प्रकट गर्नेहरू भन्ने गर्छन् कि यदि मानिसले उनीहरूलाई नखाइदिने हो भने तिनीहरूको यसरी जनसङ्ख्या बढ्ने छ कि अन्ततोगत्वा त्यसले नै मानिसलाई खाइदिनेछ। यो भनाइमा बिल्कुलै सत्यता छैन। यदि मानिसले मासु नखाइदिने हो भने तिनको पालन हुन छोड्छ र त्यसले मानिसको लागि नभई विश्वब्रह्माण्डकै लागि ठूलो हित गर्नेछ। मांसाहारी मानिसले सामान्यतया नखाने गरेका पशुप्राणीहरू – बिरालो, कुकुर, बाघ, भालु, गैँडा, गिध्द, स्याल, व्वासो, हायना आदिको सङ्ख्या यसरी बढ्नु पर्थ्यो कि तिनीहरूको वृध्दिको कारण विश्वका मानिसहरू तोबा-तोबा हुनुपर्ने होइन? तर उनीहरूको जनसङ्ख्या यसरी घटिरहेको छ कि ती कतिपय जनावरहरूको अस्तित्व नै सङ्कटमा छ। यसो किन भइरहेको छ कहिल्यै विचार गरेका छौँ? यसको प्रमुख कारण हो तिनको व्यावसायिक उत्पादन हुँदैन। यसको व्यवसायमा लाग्नेहरूलाई केही कमाइरहेका छौँ जस्तो लाग्छ होला; मासु खानेहरूलाई बिनसित्तैमा यस विषयमा केको चर्चा गर्नु मानिसका लागि पशुपक्षी सागबराबर भन्ने लाग्दो हो तर यस कर्मभित्र विश्वब्रह्माण्डकै लागि आघात पार्ने अनेक विकृत कुराहरू अन्तर्निहित छन् जुन मानवताकै लागि नसुहाउने कुरा छ।मासु उत्पादनको लागि विश्वमा पालिएका अरवौँ-अरव पशुपक्षीको कारण वातावरणमा कार्वनडाइअक्साइड, मिथेनजस्ता घातक ग्यासहरू वायुमण्डलमा फैलिएर ओजोन तहलाई प्वाल पार्ने काम भइरहेको छ जसको कारण सूर्यबाट अनपेक्षित ताप पृथ्वीमा आउने गरेकोले मानिसलगायत यावत् पशुपक्षी, वनस्पतिहरूमा सङ्कटको अवस्था दिनानु दिन बढ्दै गइरहेको छ।उष्णता बढ्दै गइरहेको छ र ब्रह्माण्ड नै सङ्कटको सङ्घारमा जाँदो छ, विपत्तिको घोर अनधकारमा जाँदैछ। 
हेर्दा मांसाहारको कुरा सानो जस्तो लाग्छ तर यसभित्र विश्वब्रह्माण्डकै अस्तित्वको कुरा समेटिएकोलाई आँखा चिम्लनु हुने अवस्था छैन। जति वेला विश्वमा मानिसहरूका लागि खाद्यान्नको हाहाकार थियो, उब्जाउ कम थियो, अनेक प्रविधिहरूको विकास भइसकेको थिएन, मानवता, स्वास्थ्यप्रतिको चेतनाको अभाव थियो त्यसवेला कतिपय देश, जाति र समूहहरूमा मांसाहार चलेको भए पनि अहिले यस विषयमा अनेक खोज तथा अनुसन्धान भइसकेका छन् जसले मानिसलाई सचेत गराइरहेको छ कि मांसाहार अनेक दृष्टिकोणले प्रत्युपादक छ, अहितकर छ, नोक्सानदायक छ। लाभभन्दा बढी बेफाइदै-बेफाइदा छ।रोगव्याधिको त मुख्य कारक तत्त्व नै हो।
हालसालै नेपालमा डाक्टरहरूलाई बिरामीले खान हुने खानेकुराको विषयमा कत्तिको जानकारी छ भनेर सर्वेक्षण लिइएको थियो त्यसमा केवल पाँच प्रतिशतलाई मात्र कस्ता बिरामीले के खानु हुन्छ, के खान हुन्न भन्ने विषयमा जानकारी भएको अरू पन्चानब्बे प्रतिशतलाई यस विषयमा थाहा नभएको समाचार आएको थियो। यसबाट के देखिन्छ भने नेपालमा कोही व्यक्ति बिरामी भयो वा कमजोर भयो भने डाक्टरहरूले माछा-मासु खानूस् भनेर जुन सल्लाह दिन्छन् त्यो नै बेतुकको भएको तर्फ यसले सङ्केत गर्दछ।विज्ञानको आँखामा माछा-मासुमा अप्राकृतिक केही प्रोटिन छ जब कि मानिसको लागि प्राकृतिक प्रोटिनको जरुरी पर्छ जुन माछा, मासुबाट होइन साग-सब्जी, फलफूल, अन्नलगायतको सन्तुलित आहारबाट मात्र प्राप्त हुन्छ। एक जना शाकाहारी बढ्नु भनेको विश्वब्रह्माण्डलाई जोगाउने एक जना हिस्सेदारको प्रकटीकरण हुनु हो भन्ने सम्झी यसउसले जति शाकाहारीको सङ्ख्या बढ्छ त्यत्ति नै ब्रह्माण्डको आयु लम्बिन्छ भन्ने यथार्थतालाई बुझी यस क्षेत्रमा केही सकारात्मकता ल्याउन सकियो भने नै सबैको हित, कल्याण सम्भव छ।रोगव्याधिबाट आफू पनि बचौँ, विश्वब्रह्माण्डलाई पनि सबै मिलेर बचाऔँ।

                                    *************


Friday, August 26, 2011

आवश्यकताको खोज


                                       
                                                          

         हामीले हे-यौँ भने देख्नेछौँ कि कसैलाई पनि उसको आम्दानीले नथेग्ने गरी आवश्यकताहरू दिनानुदिन क्रमश: बढ्दैगएको ज्यादात्तर देखिन्छ। पैसाले आनन्दलाई किन्न पाउने हो कि भनेजस्तो गरेर भौतिक आवश्यकताहरूको जोरजाम गर्न मानिस रातदिन जोतिएको जोतियै छ। यसैका लागि उसले चाहिने नचाहिने काम गर्न पनि पछि पर्दैन, घूस, भ्रष्टाचार, दुइनम्वरी धन्दा, कालो बजारी जे-जे गरेर हुन्छ भौतिक सुखसुविधा बढाउनैमा मानिस तल्लीन भएको देखिन्छ। कुनै निश्चित समाज या देशका मानिसमा मात्र यो कुरा लागू हुन्छ भन्ने पनि छैन। सर्वत्र, सबै समाज र राष्ट्रका मानिसमा यो लागू हुन्छ। केवल खर्च गराइको तरिका फरक होला, जोर्ने सामानविशेषमा कम-बेसी वा भिन्न होला।कहिले-काहीँ यसो सोचेर हेरौँ त भौतिक सुखसुविधाहरू सङ्ग्रह गरेर कसलाई पुगेको छ? सङ्ग्रह गर्नेहरूले जोरजाम गरिएका सामाग्रीहरूबाट त असाध्यै आनन्द आउँदो रहेछ भनेर को नित्य रमाएको छ ? आखिर जतिसुकै मरिमेटेर सुखप्राप्तिका भौतिक सरसामाग्री जम्मा गरे पनि केही समयका लागि सुख- सन्तोष दिएजस्तो लागे पनि एक दिन वितृष्णा आखिर हुन्छ-हुन्छ।फेरि ती सबैलाई एक दिन छोडेरै जानुपर्छ। यसको अर्थ केही पनि जम्मा गर्नेतिर लाग्नु हुन्न भन्न खोजेको पटक्कै होइन।वस्तुत: आफ्नो विवेकलाई एक पटक सोध्नु होस् र त्यसले निर्देश गर्ने बाटोलाई पछ्याउन नछोड्नुस् भन्न खोजेको मात्र हो।
हाम्रा धर्मशास्त्र, अग्रज, बुध्दिजीवी, आचार्य, गुरु तथा ऋषि-महर्षिहरूले सदैव हामीलाई आयको चिन्ता छोड्ने हो भने आवश्यकताहरूलाई घटाउनेतिर लाग्नुपर्छ भनेर बारम्बार भनेका छन् तर राम्रो कुरालाई सहसा नपत्याउने हाम्रो बानीले गर्दा जीवनभर हामीले दु:ख पाइरहेका छौँ। हामीलाई सधैँ चिन्ता, पीर र दु:खको सागरमा डुबाउने अरू कुनै विषयहरू नभई हाम्रा आफ्नै मनोगत आवश्यकताहरू, चाहानाहरू, महत्त्वाकाङ्क्षाहरू तथा आडम्बरी जीवनशैली नै हो भन्ने कुरा हामीले कहिल्यै सोचेका छौँ? अशिक्षित हुँदा वा नजान्दा जति कम विलास र आरामका वस्तुहरूको ज्ञान हामीलाई थियो पढी-लेखी शिक्षित बनिसकेपछि त्यसको सूची झन्-झन् बढ्दै गइरहेको हुन्छ र यस्तो स्थिति आउँछ कि चौबीस घण्टे दिनको बदला अठ्चालीस घण्टे दिन भए पनि ती सबैलाई जुटाउन यो जीवन छोटो हुन्छ जस्तो लाग्न थाल्छ। हामीलाई खाना स्वादिलै र मीठै चाहिएको छ, लगाउने लुगा, गहना एकभन्दा एक किमती र महङ्गो चाहिएको छ, घर सानोतिनो होइन भव्य महल नै चाहिएको छ, टी.भी, कम्प्युटर, मोबाइल फोन, थरी-थरीका अत्याधुनिक साधनहरू, मोटर,मोटरसाइकल, बैङ्क ब्यालेन्स, देश-विदेशको सयर के-के चाहिएको छ के-के भनेर साध्य छैन। एक किसिमले प्रतिस्पर्ध्दा चलेको छ संसारभरी भौतिक सामाग्री कसले कत्ति धेरै जोड्न सक्छ भनेर। त्यसैको लागि दौडधूप र माथापञ्चीसी चलिरहेको छ भन्दा फरक पर्दैन।
    आवश्यकताहरू भनेको हाम्रो गुण, स्वभाव र परिस्थितिअनुसार घटबढ हुँदै रहने गर्छ। बढाउन खोज्नुस् त्यो तन्किदै, लम्बिदै, बढ्दै जान्छ। त्यसो नगरी त्यसलाई घटाउन खोज्नुहोस् त्यो घट्दै, सीमित हुँदै जान्छ।आफूलाई कस्तो मन परेको देख्न चाहाने हो त्यस्तै बन्छ। स्मरणीय कुरा के छ भने जति धेरै आवश्यकताहरूको पूर्ति गरेर सुख, शान्ति र आनन्द पाउन कसैले खोज्छ भने उसले  त्यति नै धेरै सङ्घर्ष, परिश्रम, भागदौड, असिना-पसिना, खतरा र शक्तिको व्यय गर्नु पर्ने हुन्छ।त्यस अवस्थामा शान्ति भाग्छ, निद्रा तर्सिन्छ, अमनचैन भनेको त एकादेशको कथाजस्तो हुन थाल्छ। चाहेको आवश्यकताहरू भनेको समयमा या खोजेको बेला पूरा भइदिएनन् भने त्यसले कति कष्ट र वेदना दिन्छ भन्ने कुरा त धेरथोर सबैले जीवनमा अनुभव गरेको हुनुपर्छ। जति धेरै उपलब्ध गराउनपट्टि लाग्यो त्यति नै धेरै खोज्ने प्रवृत्ति, माग्ने नियत, कृपणता बढदै जान्छ।जति निग्रह गर्नेतिर लाग्यौँ त्यत्ति नै शान्ति, अमनचैन नजिकिन थाल्छ। 
हाम्रा पूर्ववर्ती दिग्गजहरूले, ऋषिमहर्षि, आचार्य, गुरु, भिक्षु, महापुरुषहरूले नैतिक धरातलको कडीमा आवश्यकताहरूलाई छुट्टयाउने गरेका थिए। उनीहरूले मानिसका लागि त्यस्तै र त्यत्ति मात्र आवश्यकताहरूको परिकल्पना गरेका थिए, जुन सरल, सादा, सीधा र उच्च विचारको परिपोषक हुन्थ्यो। चाहिनेभन्दा बढी सुख र विलासले मानिसको शक्तिलाई कुण्ठित गर्छ भन्ने मान्यता उनीहरूको थियो।त्यत्तिमात्रै होइन यसले बुध्दि र विवेकलाई पनि पङ्गु बनाउँदै जान्छ भन्ने मान्यता थियो र सधैँ सादा जीवन उच्च विचार लाई प्रोत्साहन दिइएको हो।त्यही उच्च विचारको कारण मठ, मन्दिर, गुम्वा, विहार बने; पाटी-पौवा, सत्तल, धर्मशाला बने; ढुङ्गेधारा, पोखरी, जलद्रोणी बने। सदावर्त चले, अन्नभण्डारहरू, पाठशालाहरू अवछिन्न चल्ने व्यवस्था बन्यो, गूठीको परम्परा आयो।सेवाधर्मलाई प्रमुखता दिइयो।
भौतिकताको उत्कर्षले छेलोखेलो भएको समाजमा अब गर्ने के भन्ने थाहा नभएर मानिस अलमलमा छन् र उनीहरूको एकाङ्कीपना र एकाङ्गी सोचाइले विस्मयकारी एवं दु:खद घटना र दुर्घटनाहरू बढ्दै छन्।अकुत धन-सम्पत्ति त छ तर त्यसको सही प्रयोजन जानिएन र सदुपयोग भएन भने त्यसको के अर्थ? ज्ञान छ, सीप छ, बुध्दि छ, विद्या छ तर त्यसको प्रयोग प्राणीमात्रको हितसम्वर्ध्दनमा भएन भने त्यसको के प्रयोजन? यही अन्योलले उनीहरूलाई गाँजिरहेको छ।  
हामीले जीवनका लागि नभई नहुने तथा सुखकारी एवं विलासका वस्तुहरूको आवश्यकताहरूको पहिचान कसरी गर्ने? जीवनका लागि नभई नहुने आवश्यकताहरू भनेका त्यस्ता वस्तुहरू हुन् जसको विना मानिस जीवित रहन सक्तैन। स्वतन्त्रता, जीवनलाई आवश्यक पर्ने आहार, आफ्नो भन्ने घर वा कोठा या आश्रयस्थल, लुगा, औषधि-उपचार सेवा तथा शिक्षा हुन्। यी यस्तै मौलिक आवश्यकताहरू हुन्, जसले जीवनधारणको अतिरिक्त मानिसको शारीरिक, मानसिक तथा भावनात्मक शक्तिको विकास गर्नमा सघाउ पु-याउँछ। यसैले मानिसले पहिले यिनै आवश्यकताहरूको पूर्तिमा प्रयत्न गर्नुपर्छ। त्यसपछि त्यस्ता आवश्यकताहरूको पूर्ति गर्नमा प्रयास गर्नुपर्छ जुन सामाजिक प्रतिष्ठाको लागि नभई हुँदैन तथा यसका लागि कहिलेकाहीँ आफ्नो जीवनविषयक आवश्यकताहरूबाट पनि सम्भवत: विमुख रहनुपर्ने हुन सक्छ। त्यसो भए पनि यसका लागि तयार रहनुपर्छ। अरूका लागि हित, कल्याण, सेवा एवं परोपकारी भावनाजस्तो महान् कार्य के हुन सक्ला र ! यहाँसम्म त व्यक्ति आफ्नो उदारताअनुसार व्यवहार गर्न सक्छ, किन्तु यसभन्दा अगाडिको मार्ग एकदमै जागरुक भएर सावधानी अपनाउनुपर्ने किसिमको छ। भोग, सुख एवं विलासको क्षेत्र असीमित छ। आजको मानिसहरूको चिन्ताको कारणै वास्तवमा यही बन्न पुगेको छ, जुन दुर्भाग्यपूर्ण छ।
जुन वस्तुलाई सधैँभरि राख्ने क्षमता हुँदैन तथा जसले जीवन निर्वाहको मूलभूत आवश्यकतालाई स्थायी रूपले पूरा गर्न सक्तैन, जो केवल मिथ्या प्रदर्शनको लागि मात्र हुन्छ त्यस्तो वस्तुको चाहना राख्नु भनेको हठ हो। त्यस्तो वस्तुलाई नचाहनु नै बुध्दिमानी हुन्छ। जुन खानेकुराले कार्यक्षमता बढ्दैन, रोग र शोकलाई बढाउँदै र कुलतको रूपमा बृध्दि हुँदै गई जीवन नै वर्वाद पार्छ भन्ने निश्चित छ भने त्यस्तो खाने-पिउने कामबाट सदा-सर्वदाको लागि टाढिनु नै बुध्दिमत्ता होइन? पान, सुपारी, चुरोट, सिगार, तमाखु, जर्दा, खैनी, वियर, रक्सी, भाँङ, चरेस जस्ता दुर्व्यसनबाट बँच्न सक्नु पनि आजको विश्वमा पुरुषार्थ नै भन्नु पर्ने स्थिति आउनु दुर्भाग्य होइन? यदि कोही यी दुर्व्यसनबाट मुक्त छ भने साँच्चैको ज्ञानी, अव्वल व्यक्ति रहेछ भन्नु पर्ने अवस्था आएको छ। तिनको चङ्गुलबाट आफू, परिवार, समाजलाई बचाउन सके राष्ट्र र विश्वकै कल्याण हुने कुरामा कुनै शङ्का छैन। खराब कुरा हो भनेर जानेर पनि त्यसलाई बढावा दिने मानसिकता चाहे त्यो व्यक्तिको होस्, कुनै सरकारी निकाय वा अन्ताराष्ट्रिय प्रवृत्ति होस् त्यो कुनै पनि हालतमा त्यो उपयुक्त हो, ठीक हो र असल हो भन्न सकिन्न। कति व्यक्ति त्यसको कुलतमा फँसेर आज व्यक्तिगत जीवन, पारिवारिक जीवन र मानवीय दायित्वलाई बिर्सेर सिल्ली,पङ्गु, बेकम्मा र बौलाहाजस्ता बनेको देखेर पनि त्यसको विरुध्दमा आवाज उठाउन सकिने अवस्था आएको प्रति सचेत कोही हुन चाहन्न भने त्यसमा भित्र-भित्रै समर्थन छ भन्ने कुरालाई के गलत हो भन्न सकिन्छ? त्यसविना बाँच्न सक्दिनँ भन्नु आफैले आफैलाई नबुझ्नु हो। खानेलाई भन्दा पनि देख्नेलाई लाज तथा पिउनेलाई भन्दा पनि त्यसले समाजमा पार्ने मनोवैज्ञानिक असरलाई विचार गर्नु पर्ने आवश्यकता के तपाईँ देख्नु हुन्न?
जसलाई कम आवश्यकतामा रमाउने बानी परेको हुन्छ उसले कुनै पनि वस्तु बढाउनु पर्दा एक पटक राम्ररी सोच्छ। ऊ आफ्नो अमूल्य शक्ति व्यर्थका वस्तुहरूको सङ्ग्रहमा खेर नफाली बचेको समय उच्च लक्ष्य हासिल गरी आत्मिक उन्नतिमा लगाउनु उपयुक्त सम्झन्छ। प्रत्येक आवश्यकताहरूले अनासुर्तमा हाँगाबिँगा फैलाउँदै जान्छन्। त्यसले अन्ततोगत्वा मानिसलाई भड्खालोमा हालेरै छोड्छ। समाज, सङ्गतलाई मात्र दोष दिएर हुँदैन व्यक्ति स्वयं नै त्यसको जनक हो।
बेला-बेलामा हामीले आफ्नो निष्पक्ष निरीक्षण गर्नुपर्छ कतै हाम्रो प्रवृत्ति यस्तै अन्धाधुन्ध आवश्यकता बढाउनेतिर त गएको छैन? चाँहिदो-नचाँहिदो खर्च गरेर, अर्कासँग ऋण काढेर व्यर्थमा किन बन्धनमा आफूलाई पारिरहेका हुन्छौँ? कतै मिथ्या प्रदर्शन, झूठो धाक-रवाफ, दुनियाँलाई अतिरञ्जित रूप देखाउन त त्यसो गरिरहेका छैनौँ? भोगविलास, व्यभिचार, अभक्ष्य वस्तुको खाने-पिउने बानीमा फसेर चित्त चञ्चल भएको त छैन? यदि त्यस्तो बानीबेहोराबाट मुक्त हुने हो भने बढ्दै, हाँगा फैलाउँदै गइरहेका आवश्यकताहरूलाई एक-एक गरी छिमल्दै जानुपर्छ। यसो गर्न सके सुख पाउँछौँ अन्यथा हामी दु:खको सागरमा डुबेर जीवन व्यर्थमा गुमाउन पुग्छौँ।सबैभन्दा पहिलेले त त्यसका खराबीका बारेमा आफैमा चेतना जाग्नुपर्छ। उपभोक्तावादको लहै-लहैमा लाग्नु कतै सुखकारी छैन भन्ने बुझ्नु पनि जरुरी छ। विश्वका केही मुलुकहरू त मानिसलाई सुखसुविधा दिने नाममा यस्तै अनावश्यक सरसामग्रीहरूको निस्फिक्री प्रयोगमा आवश्यक पर्ने रकम जुटाउने, ऋण दिने काममा समेत लागेको देख्न पाइन्छ। यस्तो प्रवृत्तिले मानिसको चेतनाको विकास होइन बरु विनासको बाटोतिर लाग्ने मार्ग प्रशस्त गर्दछ भन्ने निश्चित छ।विकसित मुलुकहरूमा यो प्रवृत्ति ज्यादै छ। सुख-सुविधाका अनगिन्ती पहुँच र सम्भावना हुँदाहुँदै पनि विकसित मुलुकहरूमा किन आत्महत्या गर्नेहरूको सङ्ख्या बढिरहेको छ? पापाचुकेको सङ्ख्या किन शिखर चुम्ने स्थितिको छ? पारिवारिक असन्तोष किन बढिरहेको छ? केटाकेटीहरू आमा-बाबुबिहीन किन बन्दै छन्?  बृध्द-बृध्दाहरूको विचल्ली किन भइरहेछ, प्रेम-सद्‍भाव, आत्मीयता किन जडतातर्फ लम्कदै छ त्यसतर्फ के कसैले ध्यान दिएको छ? त्यसमा जरुर  केही अध्ययन-अनुसन्धानहरू भएका छन् र तिनले भयावह तथ्याङ्क र विश्लेषणहरू प्रस्तुत गरेका छन्।
विस्तारै-विस्तारै अनावश्यक विषयहरू आदत बन्न पुगे भने तिनीहरूबाट मुक्ति पाउनु असम्भवझैँ बन्न पुग्छ। व्यसन, फेसन, व्यभिचारजस्ता विषयहरू हेर्दा सुरुमा सामान्यझैँ लाग्छ तर त्यो जङ्गलको आगोको सानो फिलिङ्गोजस्तै हो, बढ्दैगएपछि सारा जङ्गललाई खरानी नपारुञ्जेल शान्त नहुने ! दुर्व्यसन, कुलत, अनावश्यक आवश्यकताहरू यस्तै स्वभावका हुन्छन्। समयमा नै सचेत हुन सकिएन र समय भड्कियो भने जीवनलाई बर्वाद तुल्याइदिन्छन्।अनमोल जीवन व्यर्थमा समाप्त हुन्छ। इन्द्रियहरूको स्वामी बनेर जीवनरथ हाँक्नुपर्ने मानिस इन्द्रियको दास बनेर बेकारको मरेतुल्यको जीवन जिउन पुग्छ योभन्दा दुर्भाग्य के हुन सक्छ?
मानिसले दृढतापूर्वक मनको चञ्चलता, व्यर्थको लोभलालच आदिबाट मुक्त रहने प्रण ग-यो भने मनको प्रलोभनवृत्तिलाई नियन्त्रित गर्न सक्छ।अथवा भनौँ जसरी पहिले व्यसनलाई सुरुमा अँगाल्दा त्यसको नित्य-निरन्तर चिन्तन गरिएको थियो त्यसको विपरीत अब दिशा बदलेर शुभ र सकारात्मक भावनाहरूको प्रारम्भ गर्न त्यत्तिकै प्रवृत्त हुनु आवश्यक छ। शुभ र सकारात्मक चिन्तनले नै जीवनलाई शान्त र मनमोहक बनाउँछ भन्ने कुरालाई सदा सम्झी सत्य र इमानदारीको मार्गमा अग्रसर भई व्यर्थका आवश्यकताहरूलाई घटाउँदै लग्नासाथ आफैमा अन्तर्द्वन्द्व कम हुन थालेको अनुभव जो कसैले गर्न सक्छ। किनभने यो शाश्वत चिन्तन हो। यस्तो अभ्यास गर्दै जानाले रिस, राग, मद, मात्सर्य, कुलत, दुर्व्यसनजस्ता अवगुणहरू कम हुँदै गएको अनुभव स्वत: हुन थाल्छ। आफैमा भित्रैदेखि बोध नभईकन दुर्व्यसन, कुलत र अज्ञानता मेटिनु गाह्रो हुन्छ।
                                     ********





Sunday, August 14, 2011

निहित स्वार्थबाट माथि नउठी हुँदैन


                              

                                                              
धेरैजसो मानिसको आन्तरिक स्वभाव जिम्मेदारी लिनै नचाहने बरु त्यसबाट उम्कन हरदम अनेक तरहबाट प्रयास गरिरहने भनौँ न एक किसिमको गैरजिम्मेवार प्रवृत्तिको हुन्छ। आश्चर्य कहाँनिर लाग्न सक्छ भने फेरि यस्तै व्यक्ति अवसर पाएदेखि के-के न गरेर देखाउँछु भनेर गुट्टी हाँकिरहेको हुन्छ।यस्तो कसरी  हुन सक्छ? यो जो कसैको मनमा स्वाभाविक रूपले उब्जन सक्ने  प्रश्न हुन सक्छ।कि त यस्तो व्यक्तिले आफैलाई चिनेको हुँदैन कि त उसले अवसरको महत्त्व नै बुझेको हुँदैन।यस परिस्थितिमा अनेक बहानाबाजीको परिकल्पना हुनु, अरू कसैको कारण केही गर्न सकिएन भन्नु वा दोष अर्कालाई दिन प्रयास गर्नु यस्तै-यस्तै हुन सक्छ त्यसभित्रको अन्तर्कथा!
गल्ती गर्ने मानिसको स्वभावै पनि यस्तो हुन्छ कि उसले आफ्नोभन्दा अर्काको गल्तीलाई उजिल्याइरहेको हुन्छ मानौँ उसमा कतै कुनै दोषै छैन।यस्तो प्रवृत्ति राख्नेहरूको भीड हिजोभन्दा आज, आजभन्दा भोलि गर्दै बढ्ने वातावरण झन्-झन् सृजना हुँदै गइरहेको छ। यसो हुनुमा अरू कसैको होइन हामीले नै सृजना गरेको मूल्य-मान्यता,विचार, धारणा, संस्कार र परिस्थिति नै धेरै हदसम्म जिम्मेवार छ भन्दा फरक पर्दैन। यसलाई द्रुततररूपले बढाउन राजनैतिक वाद, कुनै निश्चित विचारधाराद्वारा सृजित परिस्थिति, राज्यव्यवस्थाको रवैया पनि कुनै न कुनै रूपले साझेदार भएको छ भन्दा हुन्छ।ल्याकत, क्षमता, प्रतिभा र ज्ञानको होइन, अझ भनौँ असल, गुणी, सज्जन, क्षमतावान् सबै हाम्रा नभई हाम्रा सबै राम्रा भन्ने पलपिँदो संस्कारले नै यस्तो प्रवृत्तिलाई मलजल गरेर हुर्काउन मद्दत गरिरहेको छ। यो यहाँ-उहाँ भन्ने छैन सबैतिर बढ्दै गइरहेको छ।साँच्चै भन्ने हो भने यो जताततै उर्वर बन्दै गइरहेको छ।आ-आफ्नै निहित स्वार्थको खेलले यहाँ काम गरिरहेको हुन्छ जुन सबैले थाहा पाएका हुँदैनन्। 
समानता र समरसताको कुरा भाषणमा हुन्छ, नीतिमा, कार्यक्रममा हुन्छ, ऐनको ढड्डामा हुन्छ यथार्थता र व्यवहारमा त्यो देख्न पाइने अवस्था अत्यन्त दुर्लभ छ सबैतिर।आफ्नाले छुट र सजाय नै भोग्नु नपर्ने वा आँखा चिम्लिदिने वा थाहा पाए पनि थाहा नपाएजस्तो गरी बसिदिने यत्रतत्रको धरातलीय यथार्थलाई हेर्दा कस्तो अनुभूति होला सर्वसाधारणलाई कल्पना गरौँ त! कति डरलाग्दोसँग यस्तो प्रवृत्तिले बढावा पाउँदै गइरहेको छ! यस परिस्थितिमा स्वतन्त्रताको कुरा के सही रूपमा चरितार्थ हुन सक्ला? शङ्कै छ।यस्तै मत्स्यन्यायको बोलाबाला अहिलेदेखि होइन उहिलेदेखि हुनेखानेको, बलियाको, शक्ति हुनेको बलियो हतियार बनेर आएकै हो।यसैले सामन्ती सोच र संस्कारलाई जन्माएको हो, बढाएको हो।समयले शैलीमा केही परिवर्तन गरेको होला या भिन्न रूपमा प्रस्तुत भएको हुन सक्ला तर परिणाम उही कटुताले भरिएको, तिक्तताले पूर्ण हुनाको कारण त्यहाँ कुनै भिन्नता नदेखिन सक्छ। एकाध कुनै यसभन्दा फरक परिणामलाई हेरेर, देखेर वा भोगेर हामीले कहीँ पनि कतै पनि अन्याय हुँदैन वा छैन भन्न सक्ने परिस्थिति पाउन गाह्रो छ।जस्तोसुकै प्रजातान्त्रिक मुलुकै किन नहून् त्यहाँ पनि कुनै भिन्न र स्वतन्त्रतापूर्वक बाँच्न सक्ने वातावरण नबनी सकेको भोगाइ अधिकांशको हुने गरेको अनुभूति देख्न, सुन्न पाइन्छ।
कहाँ के हुने हो कसैलाई थाहा छैन किनभने अहिले मानिसले नै डर, खतरा र भयलाई जानी नजानी सिर्जना गरिरहेको तर्फ तपाईँहरू कत्तिको सजग हुनुहुन्छ ! मानिसकै उर्वर दिमागका अनुसन्धान र आविष्कारका कतिपय वस्तु र इकाइहरूले क्षण-क्षणमा भय सिर्जना गरेको छ।नदी-खोला, समुद्र, हिंस्रक जनावर, भूत-प्रेतको भय त अब पुरानो र एकादेशको कुराजस्तो हुन लागिसक्यो।प्राकृतिक भय-त्रासभन्दा अप्राकृतिक रूपको भय-त्रासले मानिसलाई तर्साइरहेको छ।भयलाई हटाउन निर्भयताको वातावरण निर्माण जरुरी छ। निर्भयताको जगेर्ना कसरी गर्ने? कसले गर्ने? कहिले गर्ने प्रश्नमाथि प्रश्न स्वाभाविक रूपले तेर्सिन्छन् तर समाधानको बाटोको कुरा आउँदा तैँचुप-मैँचुपको स्थितिले के उचित समाधान निक्लेला? सोच्नु पर्ने वेला आइसकेको छ। 
स्वच्छन्दता, उच्छृङ्खलता, विकृति, विसङ्गति र वितण्डालाई जहाँतही प्रश्रय दिने अनि अनुशासन, सुशासन, नैतिकता, जीवनमूल्यका कुरा गरेर केही काम लाग्ला? पहिलो कुरा त विचारमा स्वतन्त्रता, चिन्तनमा मुक्तता, व्यवहारमा अनुशासन हुन सक्यो भने बल्ल स्वतन्त्रताको परिपक्व फूलको साथ निर्भयता खिल्न सक्छ। तर स्वतन्त्र र उन्मुक्त वातावरणमा हुर्कन सक्ने, बढ्न सक्ने परिस्थितिलाई कसरी अतिक्रमण गरेर जानाजान अप्राकृतिक मात्रै नभनौँ भयग्रस्त संसारको निर्माणमा लागिपरिरहेका छौँ शान्त चित्तले एकछिन तटस्थ भएर सम्झौँ त एकपछि अर्को गर्दै अनेकौँ मुटु नै जिरिङ्ग हुने किसिमका डरलाग्दा परिदृश्यहरू जता हे-यो त्यतै आउन सक्छ वा अझ भनौँ देखिन सक्छ। आखिर सबै थरथराएका छन् सर्वत्र सृजना हुँदै गइरहेको भययुक्त परिस्थितिबाट ! यस्तो खतरनाक परिस्थिति जसले स्वतन्त्रतालाई होइन स्वच्छन्दता, उच्छृङ्खलता, वितण्डता, दण्डहीनतालाई बढाइरहेको छ त्यसलाई निमिट्यान्न तुल्याउनेतर्फ स्वतन्त्रताको हनन हुन्छ भनेर भूल गरिरहेकोलाई कहिले बुझ्ने? एउटा आलोकाँचो मानिस वा एउटा दिग्भ्रमित व्यक्तिले सजिलैसँग सैयौँ व्यक्तिलाई गोलीको निसाना बनाउने अवस्थाको निर्माण हुँदै जाँदा पनि या भनौँ परम्पराको नाउँमा चलेका कतिपय विकृतिले व्यक्ति, परिवार र समाजलाई धुजा-धुजा पारे पनि त्यसको मूललाई जरैदेखि  खोजी त्यस्तो परिस्थिति आउन नदिनेतर्फ दृष्टि दिँदा मात्र ऐन-कानून वा सुरक्षाको घेरालाई  बढाएर हुँदैन व्यक्ति-व्यक्तिको विचार र धारणामा सकारात्मक रूपान्तरण ल्याउने तथा मानवीय चेतनाको अभिवृध्दि गर्ने किसिमका आत्मिक विकासको प्रस्फुटन गर्ने, कुनै निश्चित धर्म, वादको परितुष्टि गर्ने होइन बरु ज्ञानलाई कसरी बढाउन सकिन्छ, चेतनाको स्तरलाई कसरी उद्दीपन गर्न सकिन्छ त्यसतिर ध्यान नजाने हो भने विश्वमा एक-दुई होइन अनेकौँ दुर्घटना निम्तिन सक्छ भन्ने कुरामा कुनै शङ्का छैन।मौजुदा परिस्थिति अझ भयावह हुँदै जाने कुरामा कहीँ प्रश्न गर्न सकिने ठाउँ छ र? एकछिन गम्भीर भएर सोचौँ!
मानिसको अन्तर्चेतनालाई सुस्त पार्ने, धूलित पार्ने वा मानवीय व्यवहारलाई पशुताको कोटिमा पु-याउने खालका आहार, विहार, आनीबानी आजको संसारको सभ्यताको परिसूचकझैँ मानिने स्थितिमा सकारात्मक रूपको परिवर्तन नआउञ्जेलसम्म विकृति, विसङ्गति एवं विध्वंशको परिपाटिले महत्त्व पाइरहनेछ जसको अर्थ हुन्छ मानवीय स्वभाव र संस्कारमा मलीनता वा ग्लानी ! मानिस-मानिसबीच जातको नाममा, वर्णको नाममा, रङ्गको नाममा, धनी-गरिबको नाममा, हुने र नहुनेको नाममा, देश र महादेशको नाममा, धर्म र सम्प्रदायको नाउँमा भेदभाव जहाँसम्म रहिरहन्छ तबसम्म मानवीयताको कुरा केवल कागजमा सीमित हुनेछ भन्नेमा विमति कसैको होला भन्ने लाग्दैन।यस्तै विडम्बनापूर्ण परिस्थितिले द्वन्द्व र अशान्तिलाई नचाँहदा-नचाँहदै पनि अग्रभागमा ल्याएर स्थापित गराइदिएको छ।
द्वन्द्व र अशान्तिको परिवेशको जति बृध्दि हुन्छ त्यति नै मानिसमा रहेको सृजनशीलता, प्रतिभा, सीप र उन्नतिको पवित्र भावनाहरू आफसेआफ मर्दै जान्छन्।यसलाई मर्न नदिने हो र जगाउँदै मानवताको विकास र सम्वर्ध्दनमा सहयोगी तुल्याउने हो भने विद्यमान जति पनि द्वन्द्व र प्रतिद्वन्द्विताको कारक तत्त्व र कसरहरू छन् वा अशान्तिका कालो बादल मडारिरहेका छन् तिनलाई विचार, चिन्तन र धारणाको माध्यमबाट  रूपान्तरण गर्न सक्ने सकारात्मक सोचाइको वातावरण सानै उमेरदेखि दिएर समग्रमा सामाजिक परिवेश यस्तो सृजना गर्नु प-यो कि जहाँ कुनै किसिमको जातीय, धार्मिक, साम्प्रदायिक भेदभावको लेससम्म नहुने परिस्थिति निर्माण गर्दै विश्वव्यापीरूपले जुट्ने अवस्थाको सूत्रपात गरी  सर्वत्र उदारता, व्यापकता र विशालतालाई अभिवृध्दि गर्ने संस्कारलाई प्रवर्ध्दन गर्ने तथा सङ्कीर्णतालाई समाजमा कुनै स्थान नदिई विराट, विशाल र विस्तीर्ण हृदयको महत्त्वलाई आत्मसात् गर्दै शान्ति, समृध्दि र विकासको सम्भावनाको ढोका खोल्नतिर लाग्नु नै मानवीयता हो र यही नै एक्काइसौँ शताव्दीको विशेषता एवं गुणवत्ता आगामी शताव्दीको लागि उपहार दिन सक्ने आत्मीय परिस्थिति निर्माण गर्न सक्यौँ भने साँच्चै नै यो जत्तिको बुध्दिमानी र सकारात्मक कदम अरू कुनै हुन नसक्ने पक्का छ।
युध्दले शान्ति ल्याउँछ वा अशान्तिले एक दिन शान्ति ल्याउँछ भन्ने विश्वास र भ्रममा परुञ्जेल विश्वमा कहिल्यै शान्ति आउन सक्तैन। शान्ति त शान्तिबाट नै आउँछ न कि युध्दबाट! युध्दबाट आएको शान्ति अनेकौँको मृत्युले ल्याएको सुखद् होइन कि दु:खद् शान्ति हो। स्मशानको शान्ति केको शान्ति ? त्यो त मुर्दा शान्ति हो। युध्द अधिकांशको लागि घातक भए पनि कसैको लागि फाइदाको व्यापार वा स्वार्थको परिपूर्ति हुने भएकाले यसलाई बढाउने प्रवृत्तिले आजको संसारमा व्यापकता पाउँदै गएको छ। किनभने ठूलठूला राष्ट्रहरूको आम्दानीको स्रोत वा आर्थिक तरक्की नै यसैभित्र समेटिएको छ।यसैले यसभित्र प्रतिस्पर्धा छ, होडबाजी छ सामान्य नागरिकहरू जेसुकै हुन्, मरून् कि बाँचून त्यससँग यस्ता प्रतिस्पर्ध्दीहरू कुनै सरोकार नै नराख्ने मनोवृत्तिमा पुगेको अवस्थाले मानवतामाथि नै खतराको घण्टी बजेको मौजुदा परिस्थितिमा जायज र वातविक विषय विलखबन्दमा परेको महसुस हुँदैन भने संसारलाई बुझ्न अझ धेरै बाँकी छ भन्ने सम्झे हुने बेला आइसकेको छ।महँगा युध्दकविमानहरू, अनेकौँ किसिमका हातहतियारहरू, युध्दपोतहरू, सुरक्षा र सेनामा ठूलो लगानी भन्नु के संसारलाई रक्तरञ्जित तुल्याइ मानवतामाथि रगतको खोलो बगाउँछु भन्ने मनोवृत्तिकै विकृत रूप होइन? यसैमा प्रतिस्पर्धा छ चाहे विकसित चाहे अविकसित राष्ट्र-राष्ट्रबीच।यसैको प्रत्यक्ष असर व्यक्ति-व्यक्तिमा, समाजमा, राष्ट्र-राष्ट्रमा एवं अन्ताराष्ट्रिय तहमा व्यापक बन्दै गइरहेको अवस्थालाई सुखकरी भन्न हुने स्थिति नै छैन तर सही र वास्तविक तथ्यलाई स्वीकार गर्ने मनस्थितिमा बहुसङ्ख्यक व्यक्ति, समाज र राष्ट्र अझै भएजस्तो लाग्दैन।समग्र विश्वकै प्रतिनिधित्व गर्न सक्ने न कुनै यस्ता पुरुषार्थी राजनेता आजसम्म जन्मिए जसले यी वास्तविक सत्यलाई छर्लङ्ग विश्वसामु उजागर गरिदेओस् । संसारको  विश्वव्यापी दु:खको कारक तत्त्व नै यही भएको छ कि सबै आ-आफ्नो स्वार्थसिध्दिको बन्दी भई त्यसैमा रमाइ-रमाइ आत्मरतीमा लहसिनु।संसारमा जति पनि मानवीय विनाश, ध्वंश, युध्द भएका छन् तिनको मूल तिनै आत्मरती नै हुन्, अहंकार हुन्, स्वार्थ हुन्, लोभ हुन्, षडयन्त्र हुन्। यी निहित स्वार्थबाट माथि नउठीकन, प्राणीमात्रकै हित-कल्याण नचिताईकन, शान्त, सुसमृध्द समाज, राष्ट्र र विश्वको निर्माणको कामना नराखीकन, समझदारी र हरेक समस्यामा हुने मिलनबिन्दुको खोजी नगरीकन किमार्थ मानवीयताको सम्वर्ध्दन, प्रवर्ध्दन र विकास हुन सक्तैन भन्ने कुरा घाम जत्तिकै टड्कारो छ।
<drgovinda.tandon@tandon> 

     

Saturday, July 2, 2011

आफू नै शत्रु आफू नै मित्रु


                              
                                                        
                 संसारमा शान्ति नखोज्ने को होला? सुख नचाहने को होला? आनन्दको लागि नभड्किने को होला? त्यत्ति मात्र कहाँ हो र ! पशुपक्षी, कीरा-फट्याङ्ग्रा, हुँदा-हुँदा वनस्पति जगत्‌समेत सुख र आनन्दकै लागि तडपिरहेका हुन्छन्। यसैगरी मानिस शान्तिप्राप्तिको लागि पनि अत्यन्त प्यासा रहेको पाइन्छ। पशुपक्षी पनि सुख र शान्तिकै लागि यताउता भौतारिएको पाइन्छ। सुख, शान्ति, आनन्दको प्राप्ति यसर्थ सबैको अभीष्ट हो। यसो हो तापनि सबैका लागि यो सम्भव हुँदैन। आहार, निद्रा, भय, सन्तानोपत्ति पशु र मानवमा उस्तै भए पनि मानिसमा बुध्दि र विवेकसहित धर्ममा अभिमुख हुन सक्ने क्षमता छ। सामान्य पशुले जुन गर्न सक्तैन मानिसले गर्न र प्राप्त गर्न सक्छ। यसो भएता पनि सुख, शान्ति र आनन्द प्राप्तिका लागि  जेजस्तो प्रयास आवश्यक हुन्छ त्यसलाई पाउनको लागि दृढता र धैर्यताको अभावका  साथै मार्गदर्शन गर्ने गुरु, आचार्य र असल सङ्गतको अभाव यसमा खटकिएको सर्वत्र देखिन्छ। स्मरणीय कुरा के छ भने ईश्वरले सबैलाई समान अवसर प्रदान गर्नुभएको छ सुख, शान्ति र आनन्दप्राप्तिमा। तर नजानेर कता अलमलिन्छौँ कता! पत्तै नपाई जीवन बितिसकेको हुन्छ। जति बेला थाहा पाउँछौँ त्यत्तिखेर अबेला भइसकेको हुन्छ। ईश्वरको कृपामा पटक्कै पनपक्ष छैन मानिसको व्यवहारमा जस्तो। ईश्वरलाई नमान्नेहरूले ईश्वर छैन भने पनि केही छैन। कसैले ढोका थुनेर सधैँ अध्यारोमात्र पारि दे भनेर सूर्यलाई गाल गरे जस्तै हो यो कुरा। त्यसको कुनै अर्थ छैन। ढोका खोलेर सूर्यको अस्तित्वलाई स्वीकारे तत्काल सूर्यको प्रकाश पाउन सकिहाल्छ। तर के गर्ने प्राप्त अवसरहरूलाई जानी नजानी गुमाइरहेका हुन्छौँ र तथानाम गालिगलौज गर्छौँ गजब छैन त मानिस, मानिसका कल्पनाहरू र उसका ढिपीहरू!
कुनै स्थानविशेषले पो सुख, शान्ति र आनन्दको प्राप्ति हुन्छ कि भनी मानिस जन्मेको ठाउँ छोडेर बसाइँ सरिरहेको हुन्छ।कहाँ त्यत्तिमात्र हो र ? कता हो कताको पराइ मुलुक वा परदेशमा पुगिरहेको हुन्छ। कोही पद-प्रतिष्ठाले पो पाइने हो कि भनी त्यसको पछि दौडिरहेका हुन्छन्।  कोही व्यक्तिको सम्पर्कले पो सुख-शान्ति पाइने हो कि भनी अनेक व्यक्तिहरूसँग सम्बन्ध विस्तार र सम्पर्क बढाइरहेको हुन्छ। कोही समयले पो ती वस्तु पाइने हुन् कि भनी समयको पट्यारलाग्दो प्रतिक्षामा बसिरहेका हुन्छन्। स्थान , व्यक्ति, सम्बन्ध, समयको पर्खाइमा भलै जिन्दगी बितोस् तापनि गणितमा २+ = भएजस्तो व्यावहारिक जीवनमा कहिल्यै पनि गणितीय सूत्र मिल्न जाँदैन । कहिले त्यो दुई मात्र हुन्छ, कहिले तीन मात्र ! चार त विरलै मात्रको हातमा लाग्छ।
जीवनयात्राको दौडमा कहिलेकाहीँ सुखका आभास या भनौँ आनन्दको झिल्काझिल्कीजस्तो नपाइने होइन, पाइन्छ। तर के गर्ने त्यसको बसाइ हामीमा लामो समयसम्म हुँदै हुँदैन। अत्यन्त क्षणिक, अति छोटो समयका लागि भइदिन्छ। चाहेको जस्तो वस्तुको प्राप्ति हुँदा, खोजेको जस्तो कुरा पाउँदा, चिताएको जस्तो सामाग्री भेटिँदा यदाकदा सुखानुभूति जरुर हुन्छ। त्यत्ति वेला लाग्छ म जस्तो भाग्यमानी को छ र ! मैलेजस्तो सबैले पाउन सकेका होलान र! भनेजस्तो नहुने होइन, हुन्छ। गर्मीको बेला पानी नपाउञ्जेल कतिखेर तिर्खा मेटाऊजस्तो हुन्छ। एक-दुई गिलास पानी पिउँदा के-के न पाएजस्तो हुन्छ। तेस्रो-चौथो गिलासको प्रयास गरे पहिले पिएकै पानी बाहिर आउन बेर छैन। पाकेको आँप देख्दा खाऊ-खाऊ लाग्छ। खायो, एक-दुइटा खान पाएको छैन वाक्क लागि हाल्छ। अर्थशास्त्रको यो डिमिनिसिङ रिटर्न सूत्र जीवनव्यवहारका सबैतिर लागू हुन्छ। पहिलो पटक खाएको जस्तो दोस्रो पटक खाएको हुँदैन, दोस्रो पटकजस्तो तेस्रो पटकको हुँदैन। आफूसँग नहुँदा जुन वस्तु के-के जस्तो लाग्छ त्यही वस्तु प्राप्त भएपछि अर्को वस्तुको प्राप्तिमा मन दौडन सुरु गरिहाल्छ। भएको वस्तुको अवमूल्यन हुन थाल्छ र मूल्यहीन बन्न बेर छैन। एकैछिनका लागि भरिएका जस्तो, टन्न भएका जस्तो, अघाएको जस्तो लाग्छ तर एकैछिनपछि भोकाएका जस्ता, रित्तिएका जस्ता हुन थालिहाल्छौँ। एक वस्तुको प्राप्तिपछि अर्को वस्तुमा, अर्को विकल्पमा कामना हुन थाल्छ। यस प्रकार सदैव हामी नपुगेका, नअघाएका, नभरिएका वा भनौँ न अपूर्णतामा जीवन व्यतीत गर्न पुगेका हुन्छौँ। यो स्थिति अधिकांश मानिसहरूको दैनन्दिनी हो भन्दा फरक पर्दैन। मात्र वस्तु फरक होला, प्राप्ति फरक होला, सामाग्री भिन्न-भिन्न होला तर कामनाको शैलीमा त्यत्तिविधि भिन्नता हुँदैन।
थोरैले मात्र यस्तो परिस्थिति किन आउँछ, यसबाट कसरी त्राण पाउने हो, कसरी परिस्थितिलाई कावुमा लिने हो भन्ने विषयमा चिन्तन गरेका हुन्छन् अन्यथा भीडमा आफूअगाडिकोले जे गरेको छ त्यहीअनुसार पछाडिकोले कदम चालिरहेको हुन्छ त्यसमा खास कुनै फरकपन पाइन्न। भनौँ न भेँडाको हुलमा अगाडिको भेँडा भीरबाट हाम फाल्यो भने पछाडिकाले पनि भकाभक हामफालेजस्तै हामी पनि त्यसैगरी पिछा गरिरहेका हुन्छौँ। यस्तो किन हुन्छ भने हामीले आफूभित्रको क्षमतालाई वा भनौँ न आफूलाई नै चिनेका हुँदैनौँ जसको कारण जीवनमा अल्मलमा पर्छौँ। यसैगरी आजसम्म संसार चलिरहेको छ त के गर्ने? भन्ने प्रश्न र जिज्ञासा बराबर आउँछन्, जान्छन् सबैको मनमा तर यसको रहस्यको पत्ता लगाइ गोता खान थोरै मात्र तम्सिन्छन्, कमैमात्र लागेका हुन्छन्।
                    सुख,शान्ति, आनन्दको स्रोत हामी आफूसँगै छ भन्ने कुरा थोरैलाई मात्र थाहा छ। साच्चै भन्ने हो भने कस्तुरीमृगको जस्तै स्थिति छ। आफैसँग सुगन्धको स्रोत छ तर ऊ भडकिरहेको हुन्छ त्यसको परिप्राप्तिमा जङ्गल-जङ्गल र कुना-कन्दरामा! अन्तमा गलित भएर शिकारीको फन्दामा पर्छ। यसैगरी मानिस पनि आफैसँग भएको सुख, शान्ति र आनन्दको स्रोतलाई नजान्दा पल-पल छटपटिएको हुन्छ। आफूमा भएको अहिंसा, प्रेम, स्नेह, आत्मीयता, सहानुभूति, सौहार्द्र, सदभाव, विनय, इमानदारी, सत्य, न्याय, निष्ठाको भण्डारलाई फुकाउने हो भने यति धेरै सुख, शान्ति र आनन्दको स्रोतलाई आफ्नो बनाउन पुग्छौँ कि के भन्ने यत्रतत्र सर्वत्र त्यसको महक फैलन सुरु हुन्छ। गल्ती कहाँनिर हुन्छ भने आफूसँग भएका ती अमूल्य गुणहरूलाई प्रकट हुन कञ्जुसाइ गर्दा हामी उदार, विशाल र विराट हुनुबाट वञ्चित हुन पुग्छौँ। जसको अभावमा सङ्कीर्णताको घेरामा अझ भनौँ सानो पोखरीलाई नै महासागर सम्झेर पौरख गरेको सम्झने पोखरीको भ्यागुतोको जस्तो लघुतामा जीवन बिताइरहेका हुन्छौँ।
                    यस्तो किन भइरहेको छ? यसको प्रमुख कारण हो मानिस वाह्य संसारको भ्रमणमा अत्यन्त रुचि राखेर विभिन्न ठाउँमा पुग्न आतुर हुन्छ तर आफ्नै आत्माको अन्तर यात्रामा भने कहिल्यै ध्यान दिँदैन जसको कारण बराबर गल्ती भइरहेको हुन्छ मात्र होइन गल्तीमाथि गल्ती गरिरहेका हुन्छौँ। म संसारमा किन आएँ? यहाँ आउनुको सार्थकता के? यहाँ के गर्दा सर्वोत्कृष्ट बन्न पाइन्छ? अहिले जे जीवन बाँचिरहेको छु के त्यहीमात्र जीवन हो कि त्यसभन्दा अर्को कुनै आनन्ददायी जीवन छ? आफ्नै सुख-शान्तिका लागि मात्रै जीवन हो कि परहितको लागि, प्राणीमात्रको लागि पनि जीवन हो जस्ता विषयमा जबसम्म उसले ध्यानकेन्द्रित गरेको हुँदैन तबसम्म जीवनको लक्ष्य र गन्तव्यलाई बुझ्यौँ भन्न मिल्दैन।
संसारमा रहेर सांसारिक नबनी सुखीभन्दा सुखी, आनन्दभन्दा आनन्द, शान्तभन्दा शान्त जीवन व्यतीत गर्न चाहेमा मानिसको लागि पूरा सम्भव छ। तर एउटा कुरा छ चाहानेले चाहानु प-यो। तिर्खा लागेको छैन भने नजिकबाट हिरहेको पानी जत्ति नै स्वच्छ, कञ्चन र पवित्र होस् त्यो गिरहन्छ, गिरहन्छ त्यसैगरी युगयुगान्तरसम्म गिरहन्छ जसरी आजसम्म गिरहेको छ।
वाह्य वस्तुमा, भौतिकतामा क्षणिक सुख, शान्ति, आनन्दको झलक पाइन सकिन्छ। तर त्यो चिरस्थायी हुन सक्तैन। साँचो सुख, शान्ति र आनन्द त जीवनको गन्तव्यलाई चिनेर अनासक्त भई जीवनलाई सुकर्ममा लगाउनुमा हुन्छ; मन, वचन, कर्मले कुनै पनि अवस्थामा कसैलाई दु:ख, पीर-पिराउ, प्रताडना नगर्नुमा छ। हिंसा नगर्नुमा छ। विशाल, विराट, बृहत् बन्नुमा छ। संकीर्णताबाट मुक्त हुनुमा छ। वाह्य वस्तुमा होइन सुख, शान्ति, आनन्द निर्भर गर्दछ अन्तरको  विशालतामा। त्यो कुरा नजान्दा, नबुझ्दा अलमलिइरहेका छौ बाहिर-बाहिर र खोजिरहेका छौँ नखोज्नु पर्ने ठाउँमा, गइरहेका छौ जानु नपर्ने ठाउँमा। जानु पर्ने ठाउँमा चाहिँ गइरहेका छैनौँ, ग्रहण गर्नु पर्ने विषयलाई चाहिँ त्यागी रहेका छौँ। भनौँ न उल्टो बाटो हिँडेर गन्त्व्यमा पुग्न खोजिरहेका छौँ। अनि कसरी सम्भव हुन्छ लक्ष्यको प्राप्ति?  
जो आफैमा रम्न सक्छ, जो अन्तरको यात्रा गर्न सक्छ, जो आत्मसंयममा रमाउन सक्छ, जो इन्द्रियनिग्रहमा खुल्न सक्छ, जो भक्ष्याभक्षको विचार पु-याउन सक्छ, जो गन्तव्यागन्तव्यको ख्याल गर्न सक्छ उसैलाई नै सुख, शान्ति र आनन्दको प्राप्ति हुन्छ। हरेक मनुष्यको अस्तित्व बाहिर होइन भित्र छ। अझ भनौँ अन्तरहृदयमा प्रस्फुटित हुन्छ। नबिराउनु नडराउनु मा पनि धेरै शक्ति लुकेको हुन्छ। जो आन्तरिकरूपले आफैमा रमाउन सक्छ ऊ वाह्य संसारमा स्वत: रम्न सक्छ, शान्ति प्राप्त गर्न सक्छ र आनन्दको अनुभूति गर्न सक्छ।
भनिन्छ, मानिसको शत्रु पनि आफै हो मित्र पनि आफै हो। आफैमा विरोधाभाषजस्तो लाग्ने भनाइ भएता पनि यो यथार्थ कुरा हो। सत्य हो। यसको विरोध गर्नुको कुनै तुकै छैन भन्छु म।  यसको सोझो, सिधा अर्थ छ मनको लहै-लहेमा लागेर कुकर्म र दुष्कर्म  गर्नेले आफूले आफैलाई शत्रु बनाइरहेको हुन्छ भने बुध्दि र विवेकले युक्त भएर सुकर्म गर्नेले आफूले आफैलाई मित्र बनाइरहेको हुन्छ। अशान्ति अरूको कारणले भन्दा पनि ज्यादात्तर आफ्नै कारणले, दु:खी अरूको कारणले भन्दा पनि आफ्नै कारणले गर्दा हुन पुगिरहेको हुन्छ जसको ख्याल कमैले गर्न भ्याउँछन्। कस्तो दुर्भाग्य ! हुँदा-हुँदा म किन दु:खी भएमा त्यत्ति चिन्ता लिँदैन मानिस तर अर्कोले कसरी सुख पायो, कसरी सम्पत्ति आर्जन ग-यो भन्नेमा बढी दु:खित, बढी चिन्तित बन्न थाल्यो र पो अनर्थ हुने स्थिति देखिदै छ जताततै। यस्तै प्रकारको ईर्ष्या, जलन, डाह, रिसले मानिस स्वयंमा भित्र-भित्रै जलिरहेको भान पर्दछ जसलाई हेरे पनि। साधु, महात्मा भन्नेहरूमा रिसराग, विद्वान्-विदुषी भन्नेहरूमा रिसराग, सन्न्यस्त भन्नेहरूमा होडबाजी, सम्पन्न-सम्पन्न भन्नेहरूमा खिचातानी  हुने अवस्था जहाँ गयो त्यही देखिन्छ भने सिक्नेले के सिक्ने? आदर्श केलाई बनाउने? परिस्थिति जटिल बन्दैगएको जस्तो के तपाईँ महसुस गर्नु हुन्न?
साराशंमा जोसँग जे छ सामान्यत: उसले त्यही दिने हो। यसैले हामी स्वयं पहिले आफै सुखी, शान्त र आनन्दको अनुभूति नगरीकन अरूलाई दिन सक्दैनौँ। यहाँ सुखी, शान्त र आनन्द भन्ने कुरा बाहिरी भौतिकतासँग त्यत्ति सरोकार राख्दैन। स्वयं सुखी बन्ने, आनन्दित बन्ने कुराको महामन्त्र हो पहिले त्यो कुरा स्वयं आफैमा लागू गर्ने अर्थात् बुध्दि, विवेक र बोधपूर्वकको जीवनलाई आत्मसात् गर्ने अनि हेरौँ सर्वत्र आनन्दै-आनन्द, शान्ति नै शान्ति।  
drgovinda.tandon@gmail.com

                                  -*********-