Sunday, March 27, 2011

समस्याभित्रै हुन्छ समाधान



                                                                                 

मानिसहरू कति यस्ता हुन्छन् कि समस्याको जञ्जालमा फसिन्छ कि भन्ने सम्भावित कारणले कतिपय राम्रा-राम्रा अवसरहरू प्राप्त हुँदा पनि त्यसलाई अजमाउनपट्टि नलागी त्यसबाट भाग्ने प्रवृत्तिले ग्रस्त हुन्छन् जसको कारण उनीहरूको लागि मानौँ अवसरहरू फेरि कहिल्यै पनि आउँदैन कि जस्तो भइदिएको हुन्छ। किनभने प्रत्येक पटक उनीहरू समस्यामा पो अल्झिने हो कि भनी डराएका हुन्छन्, अत्तालिएका हुन्छन्। समस्या नभएको, समस्या नआउने भनी पहिले नै थाहा पाइएको कुनै काम हुन्छ र? यसो हो ता पनि यो गूढ कुरा कत्तिले बुझ्नै पाएका हुँदैनन्।यसैले गर्दा समस्याविनाको अवसरको खोजीमा धेरै मानिसहरू भौतारिरहेका हुन्छन्। जस्तोसुकै समस्या आओस् त्यससँग म जुध्न तयार छु, सामना गर्न तत्पर छु, चुनौतीलाई आत्मसात् गर्न अघि सर्छु  भनी सम्झने हो भने अवसरहरू परिचय नदिई आउँदा पनि अवसरलाई सजिलै छोप्न सकिन्छ।अवसरले कसैलाई खोजेर हिँड्दैन ब्यक्तिले नै चिन्न सक्नुपर्छ। धेरैजसो मानिसको स्वभाव कस्तो हुन्छ भने कुनै अवसर अघिल्तिर आएको छ भने पनि तात्कालिक फाइदालाई हेरेर अस्वीकार गरिदिने बानी परिसकेको हुन्छ। वर्तमानमा आएको अवसरलाई छोपेर त्यसलाई इमान्दारीपूर्वक, जिम्मेवार ढङ्गले सम्पन्न गर्नेतिर लाग्दै जाने हो भने यो निश्चित छ कि भविष्यमा त्यसैले उसलाई पद,प्रतिष्ठा, सम्पत्ति दिलाउन सक्छ वा चाहेको कुरा उपलब्ध गराउन मद्दत गर्न सक्छ तर दूरदृष्टिको कमीका कारण मानिस त्यसलाई बुझ्नै सकिरहेका हुँदैनन्।
कुनै पनि समाजमा अवसरहरू यत्तिविधि छन् कि त्यसलाई खै के भन्ने! चिन्नु पर्नेले नचिनेपछि के लाग्छ? हिजोआज कतिपय, अविकसित एवं अल्प विकसित मुलुकहरूबाट कामको खोजीको सिलसिलामा सात समुद्रपारिका देशहरूमा आफ्नो भएको घरबार, परिवार, कुलकुटुम्ब, समाज एवं देशैलाई छोडेर अनेक किसिमको दु:ख-कष्ट झेल्दै कमाउने नाममा ज्यानै फालेर हिँडेको अवस्था के त्यही अवसरलाई चिन्न नसकेर आएको होइन? आफ्नो थातथलीमा पाइला-पाइलामा असर्फी र हीराका टुक्राहरू छरिएका छन्, यत्रतत्र अवसरै-अवसर छन् तर त्यसलाई अजमाउनेपट्टि थोरै व्यक्तिहरू मात्र लाग्छन्।अरू त अवसरको खोजीमा भौतारिँदा-भौतारिँदै आधा जीवन या पूरै जीवन समाप्त गर्न पुग्छन्। विदेश जानेले पनि त्यत्तिखेर बुझ्छ कि जब समय ढल्किसकेको हुन्छ वा थातथलीमा रहेको आफ्ना कुनै साथी-सङ्गीले उन्नति गरेर चकाचौध गरेको सुनेपछि वा बुझेपछि झल्यास्स हुन पुग्छ कि उसको जीवन व्यर्थैमा बित्यो भन्ने कुरा।
ईश्वरले भन्नु होस् कि प्रकृतिले, जेसुकै भन्नु होस् मानिस अति  भाग्यमानी छ कि पृथ्वीमा जताततै रत्नका खानी, खनिजका खानी, इन्धनको खानी, पानीको स्रोत र अन्यान्य कैयन् किसिमका किमति र अमूल्य भण्डारले भरिदिनुभएको छ। तिनको प्रयोग मानिसबाहेक अरूले गर्न सक्ने अवस्था छैन। त्यसको लागि चाहिने ज्ञान, परखशक्ति र उपयोग मानिसले मात्र गर्न सक्छ। यति हुँदा पनि मानिस ईश्वरलाई गाली गर्न, आफ्नो भाग्यलाई दुत्कार्न पछि पर्दैन कस्तो विडम्वना! किस्मतलाई विश्वासै नगर्ने नराम्रो बानीले मानिसलाई यसरी गाँजेको छ कि खै के भन्ने यथार्थ सत्यलाई पनि ऊ दुत्कारिरहेको हुन्छ।
अल्छी र नकारात्मक सोचाइ भएको ब्यक्तिले जताजतै समस्याको खातैखातमात्र देख्दछ जब कि पौरखी र सकारात्मक सोचाइ भएको ब्यक्तिले समस्याभित्र पनि समाधानको सूत्र फेला पार्दछ।समस्यासँग डराउनु पर्ने कुनै कारणै छैन किनभने हरेक समस्याको गहिराइमा समाधान हुन्छ, हुन्छ। यसो भनेर जे पायो त्यही गरेर हिँड्न वा जे पायो त्यही गर्न छुट रहेछ भन्ने सम्झनुचाहीँ ठूलो गल्ती हुने छ।समस्याभित्रको समाधानलाई पहिल्याउन नसक्दा मानिस अनेक थरी सङ्कटमा फस्न पुग्छ।आफूले समाधान दिन सक्ने कुरालाई आफैमाथि विश्वास नभएर ऊ पराइको खोजीमा हुन्छ। यसलाई विडम्बना नभनेर के भन्ने? यो व्यक्ति, सङ्घसंस्था, राजनीतिक पार्टी, राष्ट्र-राष्ट्रबीच सर्वत्र व्यापक छ भनिदिए हुन्छ।
संसारमा व्यक्ति-व्यक्तिबीच, सङ्घसंस्थाबीच, पार्टी-पार्टीबीच, राष्ट्र-राष्ट्रबीच अनेकौँ पेचिला देखिने समस्या हुन सक्छन्। यस्तो हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहने छ त्यसमा कत्ति शङ्का छैन। तर जिम्मेवार भएर संवाद, वार्ता, छलफल गर्ने हो भने कुनै यस्ता समस्या हुँदैनन् जसको समाधान नहोस्! राजनैतिक, सामाजिक, धार्मिक, आर्थिक आदि जे-जस्ता विषयका पेचिला समस्या किन नहुन् तिनको कहीँ न कहीँ मिलनबिन्दु हुन्छ। समस्यालाई चर्काएर राख्नुभन्दा समयमै मिलनबिन्दुको खोजी गरी समाधानको बाटो पहिल्याउनु बुध्दिमत्तापूर्ण सही कदम हुन्छ।
अवसर भनेको प्रकारान्तरले समयलाई चिन्नु भन्ने पनि हुन्छ। समय बहुमूल्य छ। समयलाई कुनै हालतमा खेर फ्याल्नु हुँदैन। समयलाई सहीरूपले पहिचान गरी उपयोग गर्न जानेनौँ भने पछुताउनुबाहेक केही हात लाग्दैन।बितेको समय गयो, गयो फर्केर आउँदैन।
अवसरलाई कुरेर बस्नेहरू भौतिक उत्कर्षको बाटोलाई मात्र अवसर सम्झेर भूलभुलैयामा अल्मलिरहेका हुन्छन्। साच्चै भन्ने हो भने भौतिक उत्कर्षमात्र विजय होइन न मानिसको जीवनको लक्ष्य नै। अवसर त आफूमाथि आफैलाई जित्नुमा छ। दुर्गुण, कुलत, लालसा, ईर्ष्या, लोभ, अहंता, हिंसामाथि विजय हासिल गर्नुमा हुन्छ। भोगवासना तथा कामवासनाहरूको वशीभूत कतै हुनु छैन।तिनीहरूलाई पूर्ण निग्रहमा राखी सधैँ एउटा उच्च आदर्शलाई अगाडि राखेर निष्ठा, आस्था एवं इमान्दारीसाथ निरन्तर अग्रसर हुन सकियो भने एक दिन निश्चय नै लक्ष प्राप्त हुन्छ त्यो नै वास्तविक विजय हो।
मानिसमा गल्ती कहाँनिर हुन्छ भने समस्या आउँदा त्यो कसरी, किन आयो भन्नेतिर वा त्यसैभित्र समाधान छँदै छ भन्ने कुरामा नलागी अन्यत्र वाह्य कुरा, जहाँ समाधानको किञ्चित पनि सम्भावना छैन, त्यसमा अल्मलिन पुग्छन् जसको परिणती हुन्छ समस्यै समस्याको टुङ्ग्याउनै नसकिने खात।देखिएको  समस्यालाई जतिसक्दो चाँडो समाधान गर्नेतिर लाग्नु बुध्दिमानी हुन्छ। कुनै पनि समस्याले मन हुँदै मुटु र मष्तिस्कका साथै पूरै शरीरलाई समस्याग्रस्त तुल्याउँदै अन्तत: रोगग्रस्त बनाइदिन्छ।चिन्ता यस्तो डरलाग्दो हुन्छ कि यसले मानिसलाई चितामा पु-याइदिन्छ।
समस्या विभिन्न कारणले आउँछ त्यसमा मुख्यत: - (१) वाह्य र (२) आन्तरिक हुन्छन्। दुवै उस्तै खतरनाक हुन्छन् परिणाममा।समस्याको स्वभाव गजबको हुन्छ यसले कसैलाई निहोरा गर्दैन। कुनै धनाढ्य ब्यक्तिको लागि करोड रुपैयाँको आवश्यकताले जस्तो चिन्ताग्रस्त तुल्याएको हुन्छ गरिब ब्यक्तिको लागि पचास रुपैयाँ वा त्योभन्दा पनि सानो रकम-कलमले चिन्ताग्रस्त बनाइदिन्छ। यसैले समस्या सबैको लागि बराबरी बनेर अघिल्तिर आएको हुन्छ।
ज्यादात्तर समस्यालाई मानिस आफैले बनाएको हुन्छ, जन्माएको हुन्छ त्यसमा पाइन लगाइएको हुन्छ लोभ र स्वार्थको। बस अनि के चाहियो! एकैछिनमा तिल पहाड बनेर सामु आउन बेर मान्दैन। हरेक समस्याको पछाडि यही लोभ र स्वार्थले आफ्नो काम गरिरहेको हुन्छ। त्यसमा पछि गएर त के के थपिन्छन् के के तिनको के साधी! त्यसैमा जोडिन आइपुग्छ लालच, ईर्ष्या, स्वार्थ, मोह आदि आदि। एक ब्यक्ति वा एक दल वा एक देशको स्वार्थले कैयौँलाई दु:ख-कष्ट पु-याइरहेको हुन्छ तैपनि त्यसलाई सहिरहनुपरेको विडम्वनापूर्ण अवस्थाको चुरीफुरी तपाईँ सर्वत्र देख्नु हुन्न? यी दुई जुम्ल्याहा स्वार्थ र लोभलाई त्यागिदिने हो भने संसारमा समस्या तीन चौथाइ नै घटेर जानेछ त्यसलाई अरूले भन्दा पनि तपाईँ आफैले व्यवहारमा उतारेर हेर्नुस् त त्यसको परिणाम कुर्न धेरै महिना, वर्ष कुर्नु नै पर्दैन तत्काल भेट्टाइनेछ। ती दुईलाई छोडिदिएको घडीमै अपार आनन्दको अनुभूति पाउन थालिहालिन्छ।विवाद सौहार्दतामा परिवर्तन हुन्छ, समस्या समाधानमा रूपान्तरित हुन पुग्छ, अशान्ति शान्तिमा बदलिन्छ, दु:ख-कष्ट सुखमा परिवर्तन हुन समय नै लाग्दैन। 

                                **********





Tuesday, March 1, 2011

महाशिवरात्रि पर्व : महत्त्व र महिमा


                                                  
                                                           
         नेपालमा महाशिवरात्रि पर्व प्रत्येक वर्ष फाल्गुन कृष्णपक्षको चतुर्दशीमा धुमधामले मनाइन्छ।धार्मिक-आध्यात्मिक जागरणको साथसाथै यसै दिन टुँडिखेलमा बढाइँका साथ सेनादिवसको रूपमा पनि मनाइने गरिएकोले शिवरात्रि पर्वले राष्ट्रिय पर्वको रूप ग्रहण गर्न पुगेको छ।आराध्यदेव भगवान् श्रीपशुपतिनाथप्रतिको यो एक किसिमले आराधना र सम्मान पनि हो भन्दा अत्युक्ति हुँदैन। महाशिवरात्रि पर्व भगवान् शिवको आराधनाको प्रमुख दिन हो। त्यसो त भगवान्‌को पूजा-आराधनालाई खास कुनै दिन कुरेर बस्नु पर्दैन।प्रत्येक पल,प्रत्येक क्षण असल कार्यको लागि शुभमूहुर्त हुन् भनिन्छ र वास्तवमा यो हो पनि। शिवतत्त्वको चर्चा गर्दै जाँदा शास्त्रहरूमा जसमा सारा जगत् शयन गर्दछ, जो विकाररहित छ उही शिव हो अथवा जो अमङ्गलको ह्रास गर्दछ उनै सुखमय, मङ्गलमय भगवान् शिव हुन्; जो सारा जगत्‌लाई आफूमा लीन गर्दछ उनै करुणासागर भगवान् शिव हुनुहुन्छ; जो भगवान् नित्य, सत्य, जगदाधार, विकाररहित, साक्षीस्वरूप छ उनै शिव हो भनेर यत्रतत्र सर्वत्र चर्चा-परिचर्चा गरिएको पाइन्छ।
भगवान् शिवको गुणगान गाइएका अनेक मन्त्र र स्तुतिहरू वेद, उपनिषद्, रामायण, महाभारत, पुराणलगायत   परवर्ति साहित्यहरूमा समेत अत्यधिक मात्रामा पाइन्छ।भगवान् शिवको स्तुतिगानको लागि प्रशिध्द शिवमहिम्नस्तोत्रमा विद्वान् पुष्पदन्तले यसरी श्रध्दा-भक्ति दर्शाएका छन् –
त्रयी साङ्ख्य योग: पशुपतिमतं वैष्णवमिति।
प्रभिन्ने प्रस्थाने परमिदमद: पथ्यमिति च।।
रुचिनां वैचित्र्यादृजुकुटिलनानापथजुषां।
नृणामेको गम्यस्स्तमसि पयसामर्णव इव।।

महासमुद्ररूपी शिवजी नै एक अखण्ड पर-तत्त्व हुनुहुन्छ; उहाँ सर्वव्यापक र सर्वशक्तिमान् हुनुहुन्छ, उहाँ व्यक्त-अव्यक्त रूपले क्रमश: सगुण ईश्वर र निर्गुण ब्रह्म कहिनुहुन्छ तथा उहाँ परमात्मा, जगदात्मा, शम्भव, मयोभव, शङ्कर, मयस्कर, शिव, रुद्र, पशुपति आदि अनेकौँ नामले सम्बोधित हुनुहुन्छ। भगवान् शिव वर्णनातीत भएर पनि अनुभवगम्य हुनुहुन्छ। उनै आशुतोष भक्तहरूलाई आफ्नो आश्रयमा लिनु हुन्छ, उनै त्रिविध तापलाई शमन गर्नेवाला हुनुहुन्छ, उनैबाट समस्त विद्या एवं कला निक्लेको छ, उनै वेद तथा प्रणव अर्थात् ‌ओमकारको उद्‌गम हुनुहुन्छ, यसैलाई वेदले “नेति नेति” भनेको छ। उनै नित्याश्रय एवं अनन्ताश्रय हुनुहुन्छ तथा उहाँ नै दयासागर एवं करुणावतार हुनुहुन्छ। शास्त्रहरूसमेत उहाँको महिमाको सम्पूर्ण वर्णन गर्न  असमर्थ छन् त्यस्ता भगवान् शिव वा पशुपतिनाथको मन्दिर युगौँयुगदेखि नेपालमा रहनु नेपालीहरूकै सौभाग्य हो। महाशिवरात्रि पर्वको दिन जहाँ-जहाँ भगवान् शिवको मूर्ति, शिवलिङ्ग तथा मन्दिर छ त्यहाँ-त्यहाँ भव्यरूपले पूजा-आजा सम्पन्न गरिने चलन धार्मिक आस्थावानहरूमा छ।काठमाडौँको देवपत्तनमा रहेको भगवान् श्रीपशुपतिनाथको मन्दिरको दर्शन-पूजनको लागि लाखौँ भक्तजनहरू देश-विदेशबाट आउँछन्। नेपालमा मनाइने महाशिवरात्रिको केन्द्रबिन्दु यही विश्वप्रसिध्द मन्दिर रहने गरेको छ।
शिवरात्रिमा पूजा, उपवास र जागरणलाई महत्त्व दिइएको पाइन्छ। अधिकांश पूजा-आजा दिनमा हुन्छ तर भगवान् शिवको पूजा यस दिन रात्रिको समयमा हुन्छ किन? यो धेरैको मनमा आइरहने जिज्ञासा हो। यो थाहा भएकै कुरा हो कि भगवान् शङ्कर संहारशक्ति तथा तमोगुणका अधिष्ठाता हुनुहुन्छ। अत: तमोमयी रात्रिसँग उहाँको स्नेह रहनु स्वाभाविक हो। रात्रि आनन्ददायीको साथसाथै संहारकालको प्रतिनिधि पनि हो। रात्रिको आगमन हुनासाथै सर्वप्रथम प्रकाशको संहार हुन्छ, जीवहरूको दैनिक कर्मचेष्टाहरूको संहार, इन्द्रियहरूको सामर्थ्यको संहार तथा अन्तमा निद्राद्वारा चेतनताको संहार भएर सम्पूर्ण विश्व संहारिणी रात्रिको काखमा अचेतन भएर लुटपुटाउँछ। यस स्थितिमा प्राकृतिक दृष्टिले शिवलाई रात्रि प्रिय हुनु स्वाभाविक एवं हृदयङ्गम लाग्छ। यसै कारण भगवान् शङ्करको आराधना रात्रिमा मात्र होइन प्रदोष (साँझ पर्दा) मा समेत गर्ने प्रचलन छ। प्रत्येक महिनामा पर्ने कृष्ण चतुर्दशी सबै नै शिवरात्रि हुन् तर फाल्गुन महिनामा पर्ने कृष्ण चतुर्दशीको विशेष महत्त्व भएकोले यस दिनलाई “महा” विशेषण जोडेर महाशिवरात्रि नामले पुकारिन्छ। क्षयपूर्ण तिथि (अमावास्य) को दुष्प्रभावबाट बच्नको लागि त्यसको एक दिन अगाडिको चतुर्दशीको दिन भगवान् शिवको उपासना गरिएजस्तै वर्षको अन्तिम महिना आउनुभन्दा अगाडि नै महाशिवरात्रिको रूपमा पूजा-अर्चना गर्ने विधान शास्त्रमा पाइन्छ। सोझो अर्थमा भन्ने हो भने वर्षको उपान्त्य महिना, त्यसमा पनि त्यस महिनाको उपान्त्य रात्रिमा महाशिवरात्रि पर्व पर्दछ। यसको साथै प्रकृतिमा उजाड र शुष्क बनाउने प्रकृतिको संहारकारी रूप यसै महिना देखिन्छ। कतै शिवको रौद्र रूप देखिएको त होइन जस्तो लाग्दछ जहाँ बन-वृक्षमा पातहरू झरेर नाङ्गो भएको, वनस्पति जगत् नै मुर्झाएको हो कि जस्तो भान पर्दछ।रात्रिपछि बिहानी भएजस्तो महाशिवरात्रिपछि मानौँ प्रकृतिले ऊर्जा प्राप्त गर्छिन्। फलत: बन-कुञ्जहरूको मुहार फेरिन सुरु गर्छ, रूख, विरूवामा फूलका कोपिलाहरू देखिन थाल्छ र भिन्नै महकता दृश्यमान् हुन थाल्छ। शिशिरकालिक शुष्कताले परिवर्तनको काँचुली फेर्छ।शिवको एकादश रुद्रको सङ्ख्यात्मक स्वरूपको पनि प्रतिनिधित्व गरेको छ महाशिवरात्रिले। किनभने फाल्गुन महिना एधारौँ महिना हो।शिवरात्रि व्रतलाई भुक्ति र मुक्ति दुवै मिल्ने व्रतको रूपमा शास्त्रहरूले लिएका छन्।
महाशिवरात्रिको सुरुवात कसरी भयो भन्ने सम्बन्धमा ईशानसंहिताको एक ठाउँमा फाल्गुनकृष्णचतुर्दशीको महानिशामा आदिदेव महादेव कोटि सूर्यको समान दीप्तिसम्पन्न भई शिवलिङ्गको रूपमा आविर्भूत हुनुभएथ्यो। अतएव शिवरात्रि-व्रतमा त्यही महानिशाव्यापिनी चतुर्दशीको ग्रहण गर्नुपर्छ भनी बताइएको छ। यसप्रकार शिवलिङ्ग रूपमा पृथ्वीमा पहिलो पटक आभिर्भूत भएको दिनलाई शास्त्रहरूले महाशिवरात्रिको रूपमा  ग्रहण गरेको पाइन्छ।
व्रतहरूमा शिवरात्रि महाव्रत वा व्रतराजको रूपमा लिने प्रचलन हिन्दु धर्मावलम्बीहरूमा छ। व्रतको अर्थ सर्वसाधारणले अन्नग्रहण गर्ने वा नगर्नेलाई मात्र लिने गरेका छन्। वास्तवमा व्रतको अर्थ आत्मिक उन्नति वा सम्पन्न गरिने कर्मद्वारा ईश्वरानुभूतिको अवसरलाई प्राप्त गर्ने अभूतपूर्व क्षण हुनु पर्ने हो। तर व्यवहारमा कस्तो भइरहेको छ त्यो स्वयं व्यक्ति-व्यक्तिले सम्झने कुरा हो।यस दिन नित्यकर्मबाट निवृत्त भई स्नानपश्चात् भगवान् शिवको ध्यान, जप, उनको गुणगान, श्रवण तथा परहितलायकका सुकर्महरू गरी कालयापन गर्नु नै “उपासना” हो।केवल भोको बसेर, अन्न नखादैमा उपवास हुने होइन।
रात्रिमा जागरण महाशिवरात्रिको अर्को महत्त्वपूर्ण पक्ष हो।श्रीमद्‌भगवत्‍गीतामा भनिएको छ-
या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी।
यस्यां जाग्रति भूतानि सा निशा पश्यतो मुने:।।

अर्थात्, सबै प्राणीहरूको अर्थात् विषयासक्त संसारी जनहरूको लागि जुन रात हुन्छ त्यसमा संयमी व्यक्ति जागेका हुन्छन्। आत्मदर्शनविमुख प्राणिगण जुन जगदावस्थामा जाग्दछन् मनीषी, आत्मदर्शननिरत योगीको लागि त्यो रात हो। अत: स्पष्ट छ कि विषयासक्त जसमा निद्रित छ त्यस अवस्थामा संयमी प्रबुध्द हुन्छ।यसैले महाशिवरात्रिमा जागा रहनुलाई महत्त्व दिइएको हो।यसर्थ शिवपूजाको वास्तविक अर्थ पुष्पचन्दन, विल्वपत्र श्रध्दासाथ अर्पित गरेर शिव नामको जप-ध्यान गर्नु एवं चित्तवृत्तिलाई निरोध गरेर जीवात्मालाई परमात्मा “शिव” को साथ योग गर्नु हो। जीवात्माको “आवरणविक्षेप” हटाएर परतत्त्व “शिव” को साथ एकीभूत हुनु  नै वास्तविक शिवपूजा हो। यही जीवनको ध्येय हुनुपर्छ भनेर शास्त्रहरूले बताएका छन्।
भगवान् शङ्करलाई पुराणहरूमा सम्पूर्ण विरोधी भावहरूको अनुपम सामञ्जस्य स्थापन गर्ने ईश्वर तत्त्वको रूपमा चित्रित गरिएको पाइन्छ। यस्तो अद्‌भुत समन्वय जसको जीवनमा छ साँच्चै भन्ने हो भने उही व्यक्ति निन्दा-स्तुतिमय हलाहललाई पचाएर अमरत्वको लाभ गर्न सक्छ। शिव नारीश्वर हुनुहुन्छ परन्तु उहाँजस्तो कामविजेता पाउन सकिन्न। उहाँ गृहस्थ भएर पनि गृह-स्थ हुनुहुन्न। श्रीकण्ठ भएर पनि श्रीभन्दा धेरै टाढा हुनहुन्छ, ऋध्दिसिध्दिको स्वामी भएर पनि त्यसबाट पराङ्‌मुख, उग्र भएर पनि सौम्य र अकिञ्चन भएर पनि सर्वेश्वर हुनहुन्छ। भयङ्कर विषधर र सौम्य सुधाकर दुवैले उहाँको शरीरको शोभा बढाएका छन्। मस्तकमा प्रलयकालिक वह्नि र शिरमा हिमशीतल जाह्नवीधारा उनको अनुपम श्रृङ्गार हो। उहाँको घरआगँनमा नन्दी वृषभ र दुर्गावाहन सिंह साथसाथ बस्छन्, पारिवारिक सदस्य मयूर र सर्प वैरलाई बिर्सेर खेल्छन्। न्याय र आदर्शको कत्रो आदर्श चित्र छ यो, जसलाई भगवान् शङ्करले विविध विषमताहरूले त्रस्त एवं विकल विश्वको सामु उदाहरण प्रस्तुत गरिदिनुभएको छ। विभिन्न विचारधारा, वाद, मतबीच प्रतिदिन चल्ने लडाइँ-झगडाले त्रस्त संसारको लागि “सहअस्तित्व” को यो जस्तो उदाहरण के हुन सक्छ? महाशिवरात्रिको अवसरमा लिनु पर्ने, आत्मानुभव गर्ने  नै यस्तै आदर्श र जीवनदायिनी विषयहरू हुन्।     
महाशिवरात्रिको दिन पशुपतिनाथको मन्दिरमा षोडशोपचारसहित भव्यरूपले पूजाअर्चना हुन्छ। साथै रात्रिको प्रथम प्रहरमा दूधद्वारा ईशान मुहारको, द्वितीय प्रहरमा दहीद्वारा अघोर मूर्तिको, तेस्रो प्रहरमा घ्यूद्वारा वामदेव मुहारको तथा चौथो प्रहरमा सद्योजात मुहारको स्नान गरिने प्रचलन छ।यस दिन पशुपतिनाथको दर्शन गर्न स्वदेश तथा विदेशबाट भक्तजनहरूको बिहान सबेरैदेखि भीड लाग्दछ। वैरागी, उदासी, सन्न्यासी, नागा आदि विभिन्न सम्प्रदायका साधु-सन्त, योगी, भेषधारी जोगीहरू पनि महाशिवरात्रिका लागि टाढा-टाढाबाट आइपुग्छन्। महाशिवरात्रिलाई भोग र मोक्ष दिने पुण्यदायक पर्वको रूपमा लिइएको पाइन्छ। शिवपुराणमा भगवान् विष्णुले एक पटक भगवान् शिवलाई कुन व्रतबाट उहाँ भक्तजनहरूलाई भोग र मोक्ष एकसाथ प्रदान गर्नु हुन्छ भनी सोध्दा भगवान् शिवले दश वटा व्रतहरूको नाम लिनुभएकोमा शिवरात्रिलाई अत्यधिक महत्त्व दिँदै भोग र मोक्ष चाहानेले शिवरात्रिको व्रत बस्नु योग्य छ भनी बताएको प्रसङ्गको चर्चा पाइन्छ। त्यहाँ गुरुद्रुह नाम गरेको एक जना ब्याधाले अञ्जानमै भगवान् शिवको पूजा-अर्चना गर्दा उसको जीवनमा आएको परिवर्तनको कुरालाई पनि उल्लेख गरिएको पाइन्छ। अञ्जानमा पूजा गर्दा त दिव्य ज्ञान पाउन सकिन्छ भने जानेर, बुझेर उहाँको पूजा-अर्चना गरियो भने के पाइदैन ? भन्ने कुराको सङ्केत त्यहाँ दिन खोजिएको पाइन्छ।
वि.सं. २००७ साल अघिसम्म नेपाल भारतीयसमेतको लागि जुन पायो त्यही बेला प्रवेश गर्न नपाउने राष्ट्रको रूपमा थियो। शिवरात्रिकै अवसरमा मात्र  सात दिनको लागि उनीहरूलाई प्रवेश सुविधा थियो। आठौँ दिनमा सीमा कटिसक्नु पर्थ्यो। यस कारणले पनि होला महाशिवरात्रिको अवसर पारेर साधु, सन्त तथा राजा, रजौटा, विद्वान्, नटुवा, जोगी, चटके तथा सर्वसाधारणहरू पनि ठूलो सङ्ख्यामा आउँथे। त्यस अवधिमा वेदान्तको चर्चा चल्थ्यो। ठाउँ-ठाउँमा भजन-कीर्तनको आयोजना हुन्थ्यो। महाशिवरात्रि पर्व भनेको राष्ट्रिय प्रतिष्ठासँग जोडिएको पर्व मानिन्थ्यो। श्रध्दालु भक्तजन, दर्शनार्थीहरूको सुविधाका  लागि ठाउँ-ठाउँमा आवास-भोजन, सदावर्तको विशेष व्यवस्था गरिएको हुन्थ्यो।त्यसवेला महाशिवरात्रिको दुइ-तीन दिन अगाडिदेखि नै वीरगञ्ज, अमलेखगञ्ज, भीमफेदी, मार्खु आदि गाउँहरूमा आवासको निमित्त पाल, भरिया र डोलेहरूको व्यवस्था हुन्थ्यो। साथै उनीहरूको निमित्त आवश्यक पर्ने औषधि एवं कम्पनी/भारु सटहीको व्यवस्था पनि हुन्थ्यो। डोले, भरियाहरूले सरकारले तोकेभन्दा बढी  भाडा लिन पाउँदैनथिए। यात्रुहरू नठगियूँन भनी ठाउँ-ठाउँमा त्यसको रेखदेख गर्ने व्यवस्था थियो। साधु-सन्त, महात्मा एवं सर्वसाधारणले कुनै किसिमको दु:ख नपाऊन् भनी सतर्कता अपनाइएको हुन्थ्यो। विभिन्न गूठीहरू- राजगूठी, छुटगूठी, नीजि गूठीहरूको तर्फबाट पनि स्वागत-सत्कारका लागि तथा आवास-भोजनका लागि व्यवस्था मिलाइएको हुन्थ्यो। समग्रमा भन्दा राष्ट्रको पूरै दृष्टि महाशिवरात्रि पर्वलाई कसरी भव्य रूपमा सम्पन्न गर्ने भन्ने हुन्थ्यो। प्रजातन्त्रपछि भारतीयहरूलाई नेपाल आउन महाशिवरात्रि कुरेर बस्नु पर्ने अवस्था रहेन। वि.सं. २०११ मा त्रिभुवन राजपथको निर्माणले यातायातमा केही सुगमता थप्यो।त्यसपछि हवाइ यातायातलगायत अरू बाटो-घाटोहरूको निर्माणले गर्दा महाशिवरात्रिमा हुने भीड केही होलो हुँदै गयो।सरसुविधाका लागि पहिले गरिने व्यसस्था पनि खुकुलो हुँदै गयो।यसो हो तापनि अहिलेसम्म भगवान् श्रीपशुपतिनाथको मन्दिरमा सबैभन्दा भीड वा घुँइचो लाग्ने पर्वहरूमा महाशिवरात्रि नै पर्दछ।यस वेला विभिन्न सामाजिक, धार्मिक सङ्घ-संस्थाहरू सेवाकार्य एवं स्वयंसेवामा जुटेका हुन्छन्।पशुपतिक्षेत्र विकास कोषको स्थापना वि.सं. २०४४मा भएपछि पशुपतिक्षेत्रको संरक्षण, सम्वर्ध्दन एवं प्रवर्ध्दनको जिम्मेवारी कोषमा आएकोले महाशिवरात्रिलगायत यहाँ मनाइने यात्रा-पर्वहरूको व्यवस्थापन गर्ने जिम्मेवारी पाएता पनि जे-जस्ता सुविधा विकास गर्दै जानु पर्ने हो त्यो हुन नसक्नु दु:खद् छ।श्रध्दालु दर्शनार्थी, तीर्थयात्रीहरूको सुविधाको लागि चाहिने आवास, पिउने पानी, दर्शनको उचित व्यवस्था एवं व्यवस्थित शौचालयहरूको सम्म पनि उचित र स्थायी ढङ्गले कोष स्थापना भएको करिब साढे दुई दशक बितिसक्दा पनि गुरुयोजनाअनुसार व्यवस्था हुन सकेका छैनन्। धार्मिक पर्यटनलाई बढावा दिँदै स्थानीय, क्षेत्रिय, राष्ट्रिय एवं अन्ताराष्ट्रिय महत्त्वका धार्मिक, साँस्कृतिक, पुरातात्त्विक सम्पदाहरूलाई प्रवर्ध्दन गर्दै तीर्थयात्री एवं पर्यटकहरूलाई आकर्षित तुल्याउन सके नेपालले पर्यटनको क्षेत्रबाट लाभान्वित बन्न सक्ने प्रचूर सम्भावना छ। मात्र आवश्यक छ स्पष्ट नीति, नियम र राज्यको दृढइच्छाशक्तिको।   
भारतीयहरूमा आफ्नो देशमा रहेका विभिन्न तीर्थस्थलहरूको तीर्थाटनपश्चात् पूर्णाहुतिको लागि नेपालस्थित भगवान् श्रीपशुपतिनाथको दर्शन-पूजन गर्ने तथा त्यस अवसरमा विभिन्न तीर्थस्थलहरूबाट ल्याइएका जल लोटा, घैलामा ल्याई चढाउने चलन छ।त्यसरी नल्याउनेहरूले पनि यहीँको जल चढाउने प्रचलन उनीहरूमा छ। पहिले-पहिले बाग्मतीको जललाई नै प्रयोग गर्थै भने प्रदूषित बनेपछि त्यस प्रचलनमा पनि केही कमी आएको देखिन्छ। नेपाली भक्तजनहरूले चाहीँ दर्शनलाई प्रधानता दिएको पाइन्छ। शिवरात्रिको दिन साँझपख शिवधुनी भनी दोबाटो-चौबाटोमा दाउरा बाल्ने प्रथा छ। भगवान् शिव धुनीप्रिय हुनुहुन्छ भन्ने पौराणिक मान्यताको कारण तथा शिशिरऋतुको ठण्डी अझै नगइसकेको हुनाले गर्मी ठाउँबाट आउने परदेशी यात्रुहरूलाई जाडो नहोस् भन्ने समेत मनोकाङ्क्षा त्यसमा देखिन्छ।
महाशिवरात्रिको दिन पशुपतिक्षेत्रमा केही वर्ष अघिसम्म पनि शिवबुटी भनी गाँजा-भाङको बिगबिगी हुने मात्र नभई सम्बन्धित निकायले बाड्ने चलन थियो। यो गलत परम्परा केही वर्षदेखि हट्दै गएको सुखद् छ। भगवान् शिवसँग जोडेर गाँजा-भाङजस्तो दुर्व्यसन एवं विकृतिलाई प्रश्रय दिन खोज्नु कुनै हालतमा पनि ठीक हो भन्न सकिन्न। कहाँ परात्पर परब्रह्म ईश्वरतत्त्व! कहाँ दुर्व्यसन! महाशिवरात्रिको दिन राजमार्गका ठाउँ-ठाउँमा बस, कार, मोटरसाइकललाई रोकेर जगात माग्ने तथा साँझपख त्यो कमाइले मोजमस्ती गर्ने गलत प्रवृत्तिले प्रश्रय जुन पाइरहेको छ त्यसलाई निरुत्साहित गर्नु जरुरी छ। यस्तो प्रवृत्तिले बढ्ने मौका पायो भने मगन्ते संस्कार हुर्कन-बढ्न थाल्छ जुन कुनै पनि दृष्टिकोणले उपयुक्त मान्न सकिन्न। महाशिवरात्रि पर्वभित्र रहेका जागरणका अनेकौँ उज्याला पक्षहरूलाई आत्मसात् गरी बाहिरी बोक्रा र खोष्टालाई छोड्दै जान सके यसले सबैलाई आत्मिक उन्नतिको प्रकाशमय पथमा पु-याउने छ र त्यसले व्यक्ति-व्यक्तिको जागरणलाई खुराक दिनेछ त्यसमा शङ्कै छैन।
                                      ***************     

Friday, February 11, 2011

आवेश घातक हुन्छ


                              

                                              

            मानिसमा कुनै न कुनै रूपमा वातावरण प्रतिकूल हुँदा वा त्यसको आशंकाको अवस्थामा आवेशको क्षण हरेकको जीवनमा आएको हुन सक्छ। यो स्वाभाविक हो। मानिसमा खासगरी तीन किसिमका आवेशहरू  देख्न पाइन्छ – (१) सामान्य (२) देखावटी र (३) नकारात्मक आवेश। सामान्य आवेश जतिञ्जेलसम्म विध्वंसात्मक हुँदैन तबसम्म त्यो कसैको बानी, बेहोरा र स्वभावको रूपमा लिइन्छ र त्यसलाई कसैले त्यत्ति ध्यान दिदैन। त्यसको विपरीत विध्वंसात्मक रूपको बन्न पुग्यो भने त्यो नकारात्मक बन्न जान्छ र घातक बन्न पुग्छ। देखावटी आवेशचाहीँ ज्यादात्तर परिवारमा त्यसमा पनि अभिभावकको सन्तान वा आश्रितहरूप्रति देखिन्छ। हुन सक्छ यो मान्यजनको आफूभन्दा उमेरले कान्छा, साना या ज्ञान, अनुभवले आलाकाचाहरूप्रति पनि हुन सक्छ। यो शिक्षकको विद्यार्थीहरूप्रति वा गुरुको शिष्यहरूप्रति पनि हुन सक्छ। कतिपय अवस्थामा त्यहाँ यही देखावटी आवेशले काम गरी रहेको हुन्छ। यसलाई अर्को शब्दमा भन्न प-यो भने सकारात्मक आवेशको नाम दिए पनि हुन्छ। किनभने यस्तो आवेशमा कसैको हित, कल्याण र भलाइको  उदेश्य अन्तर्निहित भएको हुन्छ। कतिपय मानिसहरू क्रोध र आवेशलाई एकै ठाउँमा राखेर हेर्ने गर्छन् तर त्यो ठीक होइन। क्रोधमा नकारात्मकताले प्रारम्भमै काम गरिरहेको हुन्छ भने आवेशमा नकारात्मकताको मात्रा केही कम हुने हुन्छ। आवेश सुरुवाती अवस्था हो भने क्रोध तत्पश्चातको ववण्डरकारी रूप!
कतिपय आवेश कुरै नबुझी वा लहै-लहैमा पनि व्यक्त भएको हुन्छ। त्यस्तो आवेश कुराको प्रकृति वा विषयमा यथार्थ जानकारी भएपछि स्वत: शान्त भइहाल्छ। समयमै आवेशको कारणलाई बुझ्नतिर नलाग्दा कतिपय अवस्थामा त पछुताउनु पर्ने स्थिति पनि आउन सक्छ। यसैले आवेशमा आउनुभन्दा अघि अवस्थालाई बुझ्ने वा कारणलाई जान्नेतिर लागियो भने पछुताउनु पर्ने अवस्थाबाट मुक्ति पाउन सकिन्छ। अन्धो आवेशको झोँकमा कति मानिसले ज्यान गुमाएका छन्, कतिले अर्काको प्राण हरेका छन्। कतिले आफूलाई र अरूलाई अङ्गभङ्ग तुल्याउने काम पनि गरेका छन्। मैले धेरै त्यस्ता व्यक्तिलाई देखेको छु, भेटेको छु जो आफ्नो विगतको आवेशप्रति पछुताएका छन्।कतिको घर भताभुङ्ग भएको छ आवेशको कारण। कति प्रेमी-प्रेमिकाको कलिलो जीवन स्वाहा भएको छ यही आवेशले गर्दा। कुरै नबुझी आफूलाई छाड्यो वा छाड्न लागिन् प्रेमिकाले भनेर वा धोका दिइन् वा दियो भनेर अर्काको कुरा सुनेर सुन्दर जीवनलाई मटियामेट बनाएका छन् कत्तिले। आवेश डरलाग्दो हुन्छ। यो खतरनाक पनि त्यत्तिकै छ। अझ केटाकेटीहरूमा, अशिक्षित महिलाहरूमा अबुझपनाको कारण  देखिने आवेश विध्वंशात्मक प्रकृतिको ज्यादात्तर पाइन्छ।
आवेशबाट केही हदसम्म बच्ने हो भने संवादलाई नरोकी निरन्तरता दिनु जरुरी हुन्छ। संवाद नै यस्तो छ कि जसको अभावमा मानिसहरू आफ्नोपनलाई बिर्सेर पशुताको कोटीमा पुग्न बेर लाग्दैन। तँ-तँ र म-मको स्थिति ल्याउने नै यही हो संवादहीनता ! संवाद नहुँदा एकछिन अगाडिको माया, प्रेम, स्नेह, आदर, सम्मान सबै चकनाचूर भएर एउटालाई देख्दा पनि अर्को मुण्टो बटार्ने अवस्थामा वा एउटै सडक किनारामा विपरीत दिशाबाट आइरहेको देख्न पाएको छैन मुण्टो बटार्दै अर्को किनारामा पुग्ने गरेको पनि नदेखिने होइन। यस्तो परिस्थितिले एउटै घरमा, एउटै कोठामा भए पनि परचक्री भावको विकास हुन सुरु हुन्छ। यस्तो स्थिति बन्यो भने त्यसले आवेशलाई समन गर्दैन बरु भूसको आगोजस्तो भित्र-भित्र सल्किदै झाँगिन थाल्छ। आवेशलाई रोक्ने अर्को एउटा कारगर उपाय छ त्यो हो एउटाले भनेको अर्कोले शान्त भई सुनिरहने। आवेशमा आएको व्यक्तिको जे-जति भन्नु पर्ने कुराहरू छन् ती सबै ओकलिइसके, अब रित्ते भन्ने लागेपछि विस्तारै सम्झाउने, उसले बुझ्ने गरी उसको कहाँनिर गल्ती छ त्यसलाई सङ्केत गरिदिन सकियो भने आवेश सेलाउँदै जान्छ र भयानक रूप लिएर क्रोधको रूपमा परिणत हुन र विध्वंशकारी बन्न पाउँदैन। एउटा आवेशमा आउँदा अर्को मुरमुरिने वा उसले नबुझ्ने बकबकाउने बानीले धेरैको आवेशमा घ्यू थपेको जस्तो हुन सक्छ। सङ्क्षिप्तमा एउटा आगोको रूपमा प्रस्तुतु भएको छ भने अर्को पानीको रूपमा प्रस्तुत हुन सके आवेशले उग्रता लिदैन। समस्या यहीनिर छ एउटा आगो भयो भने अर्को ज्वालामुखी बनिदिन्छ, पानी बनिदिन वा वर्षात् बनेर साम्य तुल्याउन अघि सर्ने कमै हुन्छन्।  
आवेश कसरी जन्मन्छ त्यसको कारण जान्नु महत्त्वपूर्ण छ। यसका कतिपय कारणहरूमध्ये भनेको कुरा नपुग्नु, आफूले सोचेजस्तो अर्कोले नमान्नु, सम्झेभन्दा भिन्न हुनु वा अर्काले कान भरिदिनु आदि हुन सक्छन्। कारणको पहिचान गरी त्यसको समाधान गर्न सकियो भने उग्र रूप धारण गर्न सक्दैन। आवेश आउनलाई कुनै साइत कुर्नु पर्दैन। आफूले भनेजस्तो सारी वा गगल्स श्रीमतीले लाइनन् वा श्रीमानले भनेको जस्तो जुत्ता किनिदिएनन् भनेर पनि आवेशले रौद्र रूप लिन सक्छ मात्र होइन अझ पश्चिमी संसार र त्यहाँको संस्कृतिले गाँजेको ठाउँहरूमा त पारपाचुकेका नराम्रो नियतिसमेत भोग्नु परेका उदाहरणहरू खोज्दै जाने हो भने एक होइन अनेक पाउन  सकिन्छ। यो दुर्भाग्य होइन त! स-साना विषयमा शङ्का, मनमुटावै पनि काफी हुन्छ आवेशका लागि।
यस्तो आवेश घरगृहस्थीमा बसेकालाई मात्र हुन्छ, घरबार छोडेर हिँडेकालाई हुँदैन भन्ने छैन सबैलाई केही न केही रूपमा आउँछ मात्र हेर्ने र सम्झने दृष्टिकोणको कारण फरक हुन सक्छ। व्यवहार जगत्‌मा विभिन्न परिस्थिति, वातावरण र अवस्था आइपर्छन् त्यस्तो अवस्थामा स्वाभाविक रूपले चेतनाको तह हेरेर क्रोध, रिस आउन सक्छ त्यस्तो वेला सात्विक किसिम या भनौँ अभिनयजस्तो क्रोध, रिस, आवेश आउञ्जेल आत्तिनु पर्दैन तर त्यो तामसिक र राजसिक किसिमको हुनथाल्यो भने त्यस्ता अवगुणहरूबाट टाढिनु र तिनको दुष्प्रभाव आफूकहाँ पर्न नदिन हरतरहको प्रयास जरुरी छ। यस्ता अवगुणहरूले  अरूलाई भन्दा पनि आफैलाई शारीरिक, मानसिक रूपले दु:ख दिने हुनुका साथै आध्यात्मिक चेतनाको विकासको मार्गमा अवरोध ल्याउँछन्। आवेशको सिढी उक्लेर क्रोधको रूपमा परिवर्तित भइदियो भने त्यो विनासकारी बन्न बेर लाग्दैन। किनभने क्रोधले मोह, मोहले स्मृतिविभ्रम तथा स्मृतिविभ्रमबाट बुध्दिनाश अवस्यम्भावी छ। बुध्दिनाशबाट मनुष्यता नै विनष्ट हुन्छ। त्यसैले क्रोध सबै दृष्टिले हानिकारक मानिन्छ। क्रोधलाई विस्तार गर्न, झाँगिन, बढाउन मद्दत गर्ने कारक तत्त्व आवेशलाई त्यसैले मनमा पल्लवित र पुष्पित हुने अवसर दिनु हुँदैन।
अर्काले  दु:ख पाएको सुन्न, हेर्न, देख्न सुन्न चाहाने मनोकाङ्क्षा राख्ने स्वभावका मानिस पनि समाजमा नपाइने होइन। जरुर पाइन्छन्। त्यस्ता मानिसहरु त अझ अरूलाई के गरेर चिढाऊ, के गरेर सताऊ, के गरेर अर्को आवेशमा आउँछ र झगडा गर्न पाइन्छ भन्ने ताक कुरेर बस्ने स्वभाव भएकाहरूलाई चिनेर त्यस्तो अवसर आउनै नदिनेतर्फ सचेत नहुने हो भने घर घर होइन स्मशानघाट जस्तो बन्न पुग्छ। यस्तो स्थितिले शान्ति टाढिन पुग्छ। सुख, शान्ति र आनन्द नै हरेक मानिसको चाहना हुन्छ त्यसलाई प्राप्त गर्न आफू नै सचेत, सतर्क र सावधान हुनु अपरिहार्य छ। मनको शान्त पोखरीलाई तरङ्गित तुल्याउने काम अरूले होइन पहिले आफूबाटै सुरु भएको हुन्छ। यसैले वाह्य वस्तु, विचार र तरङ्गबाट आफूलाई विचलित नतुल्याउनेतर्फ सदैव जागरुक हुनु पर्ने आवश्यकता जीवनको पाइला-पाइलामा छ। यस्ता सुनामी र तुफानबाट बँच्न सक्नेहरूकै जीवनमा आवेश निस्प्रभावी बन्न पुग्छ।
                                    *******

Saturday, February 5, 2011

पहिले आवश्यकता घटाऔ


                   
                                                 

जता हे-यो उतै, जता गयो उतै पैसाले मानिसलाई बौलाहाझैँ भौतारिन बाध्य तुल्याएको देखिन्छ। हामीले हे-यौँ भने देख्नेछौँ कि कसैलाई पनि उसको आम्दानीले नथेग्ने गरी आवश्यकताहरू दिनानुदिन क्रमश: बढ्दैगएको ज्यादात्तर देखिन्छ। पैसाले आनन्दलाई किन्न पाउने हो कि भनेजस्तो गरेर भौतिक आवश्यकताहरूको जोरजाम गर्न मानिस रातदिन जोतिएको जोतियै छ। यसैका लागि उसले चाहिने नचाहिने काम गर्न पनि पछि पर्दैन, घूस, भ्रष्टाचार, दुइनम्वरी धन्दा, कालो बजारी जे-जे गरेर हुन्छ भौतिक सुखसुविधा बढाउनैमा मानिस तल्लीन भएको हामी पाउँछौँ। कुनै निश्चित समाज या देशका मानिसमा मात्र यो कुरा लागू हुन्छ भन्ने पनि छैन। सर्वत्र, सबै समाज र राष्ट्रका मानिसमा यो लागू हुन्छ। केवल खर्च गराइको तरिका फरक होला, जोर्ने सामानविशेषमा कम-बेसी होला तर व्यक्तिको चाहना, तिनलाई सङ्ग्रह गर्दा हुनेसम्मको आनन्द पाइन्छ कि भनेजस्तो गरी तँछाड-मछाड गरेको पाउँछौँ। भनेको कुरा पाउन या किन्न आम्दानीले पुगेन भने त अझ उसको व्यग्रता यति बढ्छ कि मानौँ उसले के-के न गुमाउँदैछ, हराउँदैछ भने जस्तो ठान्ने प्रवृत्ति बढ्दै गएको छ। 
कहिले-काहीँ यसो सोचेर हेरौँ त भौतिक सुखसुविधाहरू सङ्ग्रह गरेर कसलाई पुगेको छ? सङ्ग्रह गर्नेहरूले जोरजाम गरिएका सामाग्रीहरूबाट त असाध्यै आनन्द आउँदो रहेछ भनेर को नित्य रमाएको छ त? आखिर जतिसुकै मरिमेटेर सुखप्राप्तिका सरसामाग्री जम्मा गरे पनि ती सबैलाई एक दिन छोडेरै जानुपर्छ। यसको अर्थ केही पनि जम्मा गर्नेतिर लाग्नु हुन्न भन्न खोजेको पटक्कै होइन। आफ्नो विवेकलाई एक पटक सोध्नु होस् र त्यसले निर्देश गर्ने बाटोलाई पछ्याउन नछोड्नुस् भन्न खोजेको मात्र हो। हाम्रा धर्मशास्त्र, अग्रज, बुध्दिजीवी, आचार्य, गुरु तथा ऋषि-महर्षिहरूले सदैव हामीलाई आयको चिन्ता छोड्ने हो भने आवश्यकताहरूलाई घटाउनेतिर लाग्नुपर्छ भनेर बारम्बार भनेका छन् तर राम्रो कुरालाई सहसा नपत्याउने हाम्रो बानीले गर्दा जीवनभर हामीले दु:ख पाइरहेका छौँ।
हामीलाई सधैँ चिन्ता, पीर र दु:खको सागरमा डुबाउने अरू कुनै कुरा नभई हाम्रा कृत्रिम आवश्यकताहरू तथा आडम्बरी जीवन नै हो भन्ने कुरा हामीले कहिल्यै सोचेका छौँ? हामीलाई आफूसँग भएको भन्दा ज्यादा देखाउने बानी परिसकेकोले अभावग्रस्त हुँदा पनि सापट गरेर हुन्छ कि ऋण गरेर हुन्छ इच्छापूर्ति गर्नेतिर हामी जोखिम उठाउन छोड्दैनौँ। यसलाई विडम्वना नभनेर के भन्ने ? अशिक्षित हुँदा जति कम विलास र आरामका वस्तुहरूको ज्ञान हामीलाई थियो पढी-लेखी शिक्षित बनिसकेपछि त्यसको सूची झन् झन् बढ्दै जान्छ र यस्तो स्थिति आउँछ कि चौबीस घण्टे दिनको बदला अठ्चालीस घण्टे दिन भए पनि ती सबैलाई जुटाउन यो जीवन छोटो हुन्छ। हामीलाई खाना स्वादिलै र मीठै चाहिएको छ, लगाउने लुगा, गहना एकभन्दा एक किमती र महङ्गो चाहिएको छ, घर सानोतिनो होइन भव्य महल नै चाहिएको छ, टी.भी, मोटर-मोटरसाइकल, बैङ्क ब्यालेन्स, देश-विदेशको सयर के-के चाहिएको छ के-के भनेर साध्य छैन। अर्काको जे-जे देख्छौँ त्यही-त्यही चाहिएको हुन्छ। “अर्काले घोडा चढ्यो भन्दैमा धुरी चढ्न हुँदैन” भन्ने कुरा हामी बिर्सन्छौँ त्यस्तो बेला।
आवश्यकताहरू भनेको हाम्रो गुण, स्वभाव र परिस्थितिअनुसार घटबढ हुँदै रहने गर्छ, रबडजस्तै। बढाउन खोज्नुस् त्यो तन्किदै, लम्बिदै, बढ्दै जान्छ। त्यसो नगरी त्यसलाई घटाउन खोज्नु होस् त्यो घट्दै, सीमित हुँदै जान्छ। स्मरणीय कुरा के छ भने जति धेरै आवश्यकताहरूको पूर्ति गरेर आनन्द लुट्न चाहनुहुन्छ त्यति धेरै सङ्घर्ष, परिश्रम, भागदौड, असिना-पसिना, खतरा र शक्तिको व्यय हुन्छ। चाहेको आवश्यकताहरू भनेको समयमा या खोजेको बेला पूरा भइदिएनन् भने त्यसले कति कष्ट र वेदना दिन्छ भन्ने कुरा त धेरथोर सबैले अनुभव गरेको हुनुपर्छ।
सामान्यतया हाम्रा आवश्यकताहरू तीन किसिमका छन् – (१) जीवननिर्वाहको लागि नभई नहुने (२) सुखविषयक र (३) विलासविषयक। पहिलो किसिमका आवश्यकताहरू जीवन बाँच्नैका लागि पनि आवश्यक भएकोले तिनको पूर्णतामा मानिस अधिक सन्तोषको सास फेर्ने गर्छ। यो सबैका लागि नभई नहुने भएकोले सबै मानिसको यो न्यूनतम चाहना हो। भला देश, काल, समय, पात्र र ठाउँअनुसार वस्तुको सङ्ख्या, परिमाण, सूची भिन्ना-भिन्नै नहुन सक्ने होइन तापनि यसले न्यूनतम आवश्यकताको परिपूर्तिलाई सङ्केत गर्दछ। दोस्रो र तेस्रो किसिमका आवश्यकताहरूको कुनै सीमाना हुँदैन। यदि तिनीहरूप्रति संवेदनशील नहुने हो भने तिनको ताना-बाना कहिल्यै सकिदैन चाहे जीवन नै त्यसकै लागि कसैले किन नहोमोस्!
हाम्रा प्राचीन दिग्गजहरूले नैतिक धरातलमा आवश्यकताहरूलाई छुट्टयाउने गरेका थिए। उनीहरूले मानिसका लागि त्यस्तै र त्यत्ति मात्र आवश्यकताहरूको परिकल्पना गरेका थिए, जुन सरल, सादा, सीधा र उच्च विचारको परिपोषक हुन्थ्यो। चाहिनेभन्दा बढी सुख र विलासले मानिसको शक्तिलाई कुण्ठित गर्छ भन्ने मान्यता उनीहरूको थियो।
भौतिक उत्कर्षको आधुनिक युगमा मानिसले विषयजन्य सुख र विलासका आवश्यकताहरूलाई यसरी बढाउँदै-बढाउँदै लगेका छन् कि ईश्वरले दिएको अङ्ग-प्रत्यङ्ग पङ्गु बन्न बेर नलाग्ने भइसक्यो र तिनले गर्नु पर्ने काम नपाउँदा विक्षोभ, मानसिक कष्ट एवं अभावको अग्निज्वालामा जलिरहने मानसिकता बढ्दैछ।भौतिकताले छेलोखेलो भएको समाजमा अब गर्ने के भन्ने थाहा नभएर अलमलमा छन् र उनीहरूको एकाङ्पना र एकाङ्गी सोचाइले विस्मयकारी घटना र दुर्घटनाहरू बढ्दै छन्।  
जीवनको लागि नभई नहुने आवश्यकता भनेको के हो? हामीले जीवनका लागि नभई नहुने तथा सुखकारी एवं विलासका वस्तुहरूको आवश्यकताहरूको पहिचान कसरी गर्ने? यसमा केही विचार-विमर्श हुनु उपयुक्त नै हुने देख्दछु। जीवनका लागि नभई नहुने आवश्यकताहरू भनेका त्यस्ता वस्तुहरू हुन् जसको विना मानिस जीवित रहन सक्तैन। स्वतन्त्रता, जीवनलाई आवश्यक पर्ने  आहार, आफ्नो भन्ने घर वा कोठा या आश्रयस्थल, लुगा, औषधि-उपचार सेवा तथा शिक्षा हुन्। यी यस्तै मौलिक आवश्यकताहरू हुन्, जसले जीवनधारणको अतिरिक्त मानिसको शारीरिक, मानसिक तथा भावनात्मक शक्तिको विकास गर्नमा सघाउ पु-याउँछ। यसैले मानिसले पहिले यिनै आवश्यकताहरूको पूर्तिमा प्रयत्न गर्नुपर्छ। त्यसपछि त्यस्ता आवश्यकताहरूको पूर्ति गर्नमा प्रयास गर्नुपर्छ जुन सामाजिक प्रतिष्ठाको लागि नभई हुँदैन तथा यसका लागि कहिलेकाहीँ आफ्नो जीवनविषयक आवश्यकताहरूबाट पनि सम्भवत: विमुख रहनुपर्ने हुन सक्छ। त्यसो भए पनि यसका लागि तयार रहनुपर्छ। अरूका लागि हित, कल्याण, सेवा एवं परोपकारी भावनाजस्तो महान् कार्य के हुन सक्ला र! यहाँसम्म त तपाईँ आफ्नो उदारताअनुसार व्यवहार गर्न सक्नु हुन्छ, किन्तु यसभन्दा अगाडिको मार्ग एकदमै जागरुक भएर सावधानी अपनाउनुपर्ने किसिमको छ। भोग, सुख एवं विलासको क्षेत्र असीमित छ। आजको मानिसहरूको चिन्ताको कारणै यही बन्न पुगेको छ।
विलास एवं भोगको क्षेत्र साच्चिकै असीमित छ। यसमा राम्रा-राम्रा किमती कपडा, आभूषण, भव्य महल, मनोरञ्जनका किमती साधनहरू, मिष्ठान्न र स्वादिला भोजन, रेष्टुरेण्ट-होटलको खाना, महङ्गा कार, क्लबको रात्रीमय जीवन, सिनेमा, मादक पदार्थहरूको सेवन, दान-दाइजोको तडक-भडक तथा अनावश्यक सामाग्रीहरूको अन्धाधुन्ध सङ्ग्रह आदि यसमै पर्दछन्। यी वस्तुहरूको पूर्ति गरेर कहिल्यै साध्य होला? कहिलेकाहीँ शान्त चित्तले विचार गरेर हेरौँ त । अहं हुँदैन भन्न करै लाग्छ।किनभने यो साध्य हुने कुरै होइन। यही नबुझेर मानिसहरू एकपछि अर्को भूल गर्दा-गर्दै कहिल्यै बाहिर निक्लन नसकिने खाडलमा पर्छन्।
आफ्नो पेशा, स्तर तथा वरपरको वातावरण हेरेर यस्ता बेकारका आवश्यकताहरूबाट मुक्ति पाउनेतिर लाग्नुपर्छ। आवश्यकताहरू बढाउदै लगेर कहिल्यै कसैले शान्तिको स्वास फेर्न पाएका छन् जस्तो लाग्छ तपाईँलाई? कदापि छैन। आफ्नो हैसियत, सामाजिक जीवन, आर्थिक शक्ति, परिवारका सदस्य सङ्ख्या, ठाउँ एवं समयलाई पनि हेरौँ। के अनावश्यक आवश्यकतालाई बढाउँदा कुनै त्यस्तो आत्मिक चमत्कार हुने केही छ? पटक्कै छैन, हुँदैन। तडक-भडक र नचाहिँदो आवश्यकतालाई बढाउँदै जाने हो भने जीवन बेकम्माको बन्न पुग्छ भन्ने कुरामा शङ्कै छैन।
जुन वस्तुलाई सधैँभरि राख्ने क्षमता हुँदैन तथा जसले जीवन निर्वाहको मूलभूत आवश्यकतालाई स्थायी रूपले पूरा गर्न सक्तैन, जो केवल मिथ्या प्रदर्शनको लागि मात्र हुन्छ त्यस्तो वस्तुको चाहना राख्नु भनेको हठ हो। त्यस्तो वस्तुलाई नचाहनु नै बुध्दिमानी हुन्छ। जुन खानेकुराले कार्यक्षमता बढ्दैन, रोग र शोकलाई बढाउँदै र कुलतको रूपमा बृध्दि हुँदै गई जीवन नै वर्वाद पार्छ भन्ने निश्चित छ भने त्यस्तो खाने-पिउने कामबाट सदा-सर्वदाको लागि टाढिनु नै बुध्दिमत्ता होइन? पान, सुपारी, चुरोट, सिगार, तमाखु, जर्दा, खैनी, वियर, रक्सी, भाँङ, चरेस जस्ता दुर्व्यसनबाट बँच्न सक्नु पनि आजको विश्वमा पुरुषार्थ नै भन्नु पर्ने स्थिति आउनु दुर्भाग्य होइन? यदि कोही यी दुर्व्यसनबाट मुक्त छ भने साँच्चैको ज्ञानी, अव्वल व्यक्ति रहेछ भन्नु पर्ने अवस्था आएको छ। तिनको चङ्गुलबाट आफू, परिवार, समाजलाई बचाउन सके राष्ट्र र विश्वकै कल्याण हुने कुरामा कुनै शङ्का छैन। खराब कुरा हो भनेर जानेर पनि त्यसलाई बढावा दिने मानसिकता चाहे त्यो व्यक्तिको होस्, कुनै सरकारी निकाय वा अन्ताराष्ट्रिय प्रवृत्ति होस् त्यो कुनै पनि हालतमा असल हो भन्न सकिन्न। कति व्यक्ति त्यसको कुलतमा फँसेर आज आफ्नो जीवन, पारिवारिक जीवन र दायित्वलाई बिर्सेर पङ्गुजस्ता भएको देखेर पनि त्यसको विरुध्दमा आवाज उठाउन सकिने अवस्था आएको प्रति सचेत हुनुहुन्न भने तपाईँको त्यसमा समर्थन छ भन्ने कुरालाई के गलत हो भन्न सकिन्छ? त्यसविना बाँच्न सक्दिनँ भन्नु आफैले आफैलाई नबुझ्नु हो। खानेलाई भन्दा पनि देख्नेलाई लाज तथा पिउनेलाई भन्दा पनि त्यसले समाजमा पार्ने मनोवैज्ञानिक असरलाई विचार गर्नु पर्ने आवश्यकता के तपाईँ देख्नु हुन्न?
मानिसलाई शान्ति त्यति वेला प्राप्त हुन्छ जब उसले कमभन्दा कम बोझ आफ्नो जिम्मामा लिएको हुन्छ र लिएको दायित्वलाई सफलतापूर्वक सम्पन्न गर्छ।जसलाई स-साना भौतिक सुखका वस्तुहरूको पनि मोह हुन्छ र तिनको सहज उपलव्धता नहुँदा निरन्तर विक्षुव्ध बन्छ र अस्थिर मनस्थितिको बन्न पुग्छ। रिस, राग, ईर्ष्या नै यस्ता मानिसहरूको गहना बन्न पुगेको हुन्छ।
जसलाई कम आवश्यकतामा रमाउने बानी परेको हुन्छ उसले कुनै पनि वस्तु बढाउनु पर्दा एक पटक राम्ररी सोच्च। ऊ आफ्नो अमूल्य शक्ति व्यर्थका वस्तुहरूको सङ्ग्रहमा खेर नफाली बचेको समय उच्च लक्ष्य हासिल गरी आत्मिक उन्नतिमा लगाउनु उपयुक्त सम्झन्छ। शरीरमा वासना छ, वासनामा असङ्ख्य इच्छा तथा इच्छाहरूबाट कष्ट उत्पन्न हुन्छन्। जसरी हात्तीको एक पटक बाहिर निक्लेको दाह्रा फेरि भित्र जाँदैन त्यसै गरी एक पटक अभ्यस्त भइसकेको अपेक्षित  आवश्यकता फेरि कम हुँदैन। प्रत्येक आवश्यकताहरू यस्तैगरी हाँगाबिँगा फैलाउँदै जान्छन्। त्यसले अन्ततोगत्वा मानिसलाई भड्खालोमा हालेरै छोड्छ।
वर्तमान जीवनमा जुन समस्याहरू अत्यन्त पेचिलो बन्दै गएका छन्, जसबाट अन्त:करणमा क्षोभ उत्पन्न हुन्छ, ती सबै बढ्दै गएका झूठो तथा कृतिम आवश्यकताहरूबाट उत्पन्न भएका हुन्, त्यसमा शङ्का छैन। हामी स्वयं नै त्यसका जनक हौँ।
बेला-बेलामा हामीले आफ्नो निष्पक्ष निरीक्षण गर्नुपर्छ कतै हाम्रो प्रवृत्ति यस्तै अन्धाधुन्ध आवश्यकता बढाउनेतिर त गएको छैन? चाँहिदो नचाँहिदो खर्च गरेर, अर्कासँग ऋण काढेर व्यर्थमा किन बन्धनमा आफूलाई पारिरहेका हुन्छौँ? कतै मिथ्या प्रदर्शन, झूठो धाक-रवाफ, दुनियाँलाई अतिरञ्जित रूप देखाउन त त्यसो गरिरहेका छैनौँ? भोगविलास, व्यभिचार, अभक्ष्य वस्तुको खाने-पिउने बानीमा फसेर चित्त चञ्चल भएको त छैन? यदि त्यस्तो बानीबेहोराबाट मुक्त हुने हो भने बढ्दै, हाँगा फैलाउँदै गइरहेका आवश्यकताहरूलाई एक-एक गरी कम गर्दै जानुपर्छ। यसो गर्न सके सुख पाउँछौँ अन्यथा हामी दु:खको सागरमा डुबेर जिवन व्यर्थमा गुमाउन पुग्छौँ।सबैभन्दा पहिलेले त त्यसका खराबीका बारेमा आफैमा चेतना जाग्नुपर्छ। यथार्थ यसो हो तापनि उपयोगितावादको सिध्दान्तले मानिसलाई नचाहिने आवश्यकताहरूको जोहोमा अभ्यस्त गराउन सके आफ्ना उत्पादनहरूको, व्यवसायको फलिफाप हुने भएकोले  अनेक वित्तीय संस्था र त्यससँग सम्बन्धित अनेक क्रियाकलापहरू संसारमा यसरी बढ्दै गइरहेका छन् कि त्यसबाट बँच्नै गाह्रो भइरहेको अवस्था छ। विश्वका केही मुलुकहरू त मानिसलाई सुखसुविधा दिने नाममा यस्तै अनावश्यक सरसामग्रीहरूको निस्फिक्री प्रयोगमा आवश्यक पर्ने रकम जुटाउने, ऋण दिने काममा समेत लागेको देख्न पाइन्छ। यस्तो प्रवृत्तिले मानिसको चेतनाको विकास होइन बरु विनासको बाटोतिर लाग्ने मार्ग प्रशस्त गर्दछ भन्ने निश्चित छ।विकसित मुलुकहरूमा यो प्रवृत्ति ज्यादै छ। सुख-सुविधाका अनगिन्ती पहुँच र सम्भावना हुँदाहुँदै पनि विकसित मुलुकहरूमा किन आत्महत्या गर्नेहरूको सङ्ख्या बढिरहेको छ? पापाचुकेको सङ्ख्या किन शिखर चुम्ने स्थितिको छ? पारिवारिक असन्तोष किन बढिरहेको छ? केटाकेटीहरू आमा-बाबुबिहीन किन बन्दै छन्?  बृध्द-बृध्दाहरूको विचल्ली किन भइरहेछ, प्रेम-सद्‍भाव, आत्मीयता किन जडतातर्फ लम्कदै छ त्यसतर्फ के कसैले ध्यान दिएको छ? त्यसमा जरुर  केही अध्ययन-अनुसन्धानहरू भएका छन् र तिनले भयावह तथ्याङ्क र विश्लेषणहरू प्रस्तुत गरेका छन्।
हाम्रो सुख हाम्रा आवश्यकताहरूको अनुपातमा रहने हुन्छ। ज्यादा आवश्यकता भएको व्यक्ति ज्यादै कठिनताले सुख-समृध्दि प्राप्त गर्छन्। किनभने उनीहरूको अन्तिम आवश्यकता पूरा हुँदा-हुँदै सुख भोग्ने शक्ति विल्कुलै क्षीण भइसकेको हुन्छ।प्रत्येक आवश्यकता साँच्चै भन्ने हो भने एउटा मानसिक बन्धन सिवाय केही पनि होइन। यसैले जो यस बन्धनमा ज्यादाभन्दा ज्यादा बाँधिन्छ उसका सुखका अनुभूतिहरूमा त्यत्ति नै अनेक बाधा-व्यवधानहरू तेर्सिन आइपुग्छन् र जीवनलाई निस्सार सम्झन पुग्ने अवस्थाको सूत्रपात हुँदै जान्छ यो कुरा थोरै व्यक्तिले मात्र बुझ्न सफल भएका हुन्छन्।
अधिक आवश्यकता भएको व्यक्ति एक प्रकारको मानसिक रोगले पीडित भएको हुन्छ त्यो हो मनमा बढी चञ्चलता, मन वशमा नहुनु, बढी स्वच्छन्दता, इन्द्रियहरूलाई वशमा राख्न नसक्नु, लोभ बढ्नु आदि आदि। यदि यस्तो व्यक्तिले केही मात्र भए पनि चित्तवृत्ति निरोध गर्ने अभ्यासमा लाग्यो भने बढ्दैगइरहेका आवश्यकताहरूबाट मुक्ति पाउन सक्छ। मानिसले मनका वृत्तिहरूलाई फुकाउन थाल्यो भने त्यसले उसलाई चञ्चल, उन्मत्त र उजण्ड बनाइदिन्छ। विस्तारै-विस्तारै तिनै विषयहरू आदत बन्न पुगे भने तिनीहरूबाट मुक्ति पाउनु असम्भवझैँ बन्न पुग्छ। व्यसन, फेसन, व्यभिचारजस्ता विषयहरू हेर्दा सुरुमा सामान्यझैँ लाग्छ तर त्यो जङ्गलको आगोको सानो फिलिङ्गोजस्तै हो, बढ्दैगएपछि सारा जङ्गललाई खरानी नपारुञ्जेल शान्त नहुने। दुर्व्यसन, कुलत, अनावश्यक आवश्यकताहरू यस्तै स्वभावका हुन्छन्। समयमा नै सचेत हुन सकिएन र समय भड्कियो भने जीवनलाई बर्वाद तुल्याइदिन्छन्।अनमोल जीवन व्यर्थमा समाप्त हुन्छ। इन्द्रियहरूको स्वामी बनेर जीवनरथ हाँक्नुपर्ने मानिस इन्द्रियको दास बनेर बेकारको मरेतुल्यको जीवन जिउन पुग्छ योभन्दा दुर्भाग्य के हुन सक्छ?
मानिसले दृढतापूर्वक मनको चञ्चलता, व्यर्थको लोभलालच आदिबाट मुक्त रहने प्रण ग-यो भने मनको प्रलोभनवृत्तिलाई नियन्त्रित गर्न सक्छ। यो सजिलो नभए पनि असम्भव मार्ग भने पटक्कै होइन।दृढनिश्चयपूर्वक लागि परे सफल नहुने कुरा कमै हुन्छ।
जसरी पहिले व्यसनलाई सुरुमा अँगाल्दा त्यसको नित्य-निरन्तर चिन्तन गरिएको तियो त्यसैगरी अब दिशा बदलेर शुभ र सकारात्मक भावनाहरूको प्रारम्भ गर्न त्यत्तिकै प्रवृत्त हुनु आवश्यक छ। शुभ र सकारात्मक चिन्तनले नै जीवनलाई शान्त र मनमोहक बनाउँछ भन्ने कुरालाई सदा सम्झी सत्य र इमानदारीको मार्गमा अग्रसर भई व्यर्थका आवश्यकताहरूलाई घटाउँदै लग्नासाथ आफैमा अन्तर्द्वन्द्व कम हुन थालेको अनुभव जो कसैले गर्न सक्छ। किनभने यो शाश्वत चिन्तन हो। यस्तो अभ्यास गर्दै जानाले रिस, राग, मद, मात्सर्य, कुलत, दुर्व्यसनजस्ता अवगुणहरू कम हुँदै गएको अनुभव स्वत: हुन थाल्छ।
आफूमा पूर्णताको भावना, आत्मशान्तिको भावना तथा अन्तर्मुखी निश्चयात्मकताको भावनामा दृढतापूर्वक रमण गर्नाले चित्तवृत्तिको निरोध हुन जान्छ। देखिए जति, सम्झिए जति, कल्पना गरिए जति आवश्यकताको पूर्ति गर्दै जाने हो भने यस्तो हजारौँ-हजार मनुष्य जीवन पाए पनि त्यस अवधिमा पूरा गर्न खोजिए पनि सम्भव छैन। एउटा आवश्यकता पूरा हुन पाएको छैन अर्को आवश्यकता अघिल्तिर खडा भइहाल्छ। त्यस्तै यो पूरा हुन पाएको छैन अर्को आइहाल्छ। यसैले आवश्यकताहरूको मायाजालमा फसेर जीवनलाई बर्वाद तुल्याउनुभन्दा श्रेयस्करचाहीँ आवश्यकताहरूलाई घटाउनु, न्यूनतम सीमामा राख्नु त्यसलाई विस्तार र फैलन नदिनु हुन्छ।संसारका ठूला, असल भनिने व्यक्तित्वहरूको, साधु, सन्त, महात्मा, दार्शनिक, ज्ञानी, विचारवान्, सामाजिक वास्तुकार, समाज सुधारकहरूको जीवनलाई सूक्ष्मरूपले निरीक्षण ग-यौँ भने उनीहरूले आवश्यकताहरूलाई निश्चित सीमामा राखेर आफ्नो जीवनलाई उच्च गन्तव्यमा पु-याउन नै अग्रसर भएको देखिन्छ।
                                     ********