Saturday, February 18, 2012

जीवनमा रूपान्तरणको समय


                     
                                                                
                   धेरैजसो हामी भ्रममा हुन्छौँ र गल्ती के गरिरहेका हुन्छौँ भने जीवनमा रूपान्तरण नै किन जरुरी छ ? यसका लागि के नै सिक्नुपर्छ र? सबै कुरा समयअनुसार हुँदै जान्छन् यो त आफसेआफ हुने कुरा हो।परेपछि सिकिदै जाने कुरा हो, समयको वर्वादी किन गर्नु भन्ने नै धेरै छन् जस्तो लाग्छ। यो स्थिति अधिकांश मानिसहरूको हो भन्दा फरक पर्दैन।सामान्य रूपले हेर्दा यो ठीकै हो कि जस्तो नलाग्ने होइन तर स्वाभाविक रूपान्तरणको प्रक्रिया लामो समय लाग्ने हुन सक्छ या अझ भनौँ त्यो प्रक्रिया यो जीवनमा प्राप्त हुने हो होइन भन्न सकिने कुरा होइन।
जीवनमा रूपान्तरण सजिलो भइदिएको भए शान्ति, समृध्दि र आनन्दको लगावगी जताततै हुन्थ्यो र कतै चिन्ता लिनु पर्ने विषय नै हुदैन्थ्यो होला। तर परिस्थिति कहाँ त्यस्तो छ र ! एकातिर सङ्गतले, अर्कोतिर खानपान, आहार-बिहारले मानिसको मति र गति पतनको दिशातिर डोरिन कुनै समय नै कुर्नु पर्दैन। यसले व्यक्तिको वैयक्तिक जीवनमा पारेको नकारात्मकता, परिवारमा हुने गरेको अशान्ति, समाजमा बढदैगएको हिंसाजन्य विकृति एवं असहज स्थिति र विभिन्न प्रकारका रोगले गाजेको स्थितिलाई हेर्दा जो कोहीलाई लाग्दो हो कि यसबाट उन्मुक्ति मिल्ने बाटो कुन होला? अवस्था यस्तो नाजुक छ कि के भनौँ! बिग्रने र बिगार्ने चीज यही हो भनेर जान्दा-जान्दै पनि एकपछि अर्को भूल गर्न पछि पर्दैन र मानिसहरू कुलत, कुसंस्कार र निच प्रवृत्तिमा हठात् लहसिरहेको नै पाइन्छ।भनौँ न पुतली बत्तीको आकर्षणमा लागेर जीवन वर्बाद पारेको जस्तो। त्यसको परिणाम के होला अनुमान गर्न गाह्रो पर्दैन। हिंसा, हत्या, लूट, अपहरण, चोरी, डकैती, फटाइ सबका सबको सृजनाको मूल नै त्यही मति र गतिमा आएको ह्रासोन्मुख अवस्था हो भन्न अब पनि हिच्किचायौँ भने ठूलो गल्ती हुने छ।
रूपान्तरण शव्द हिजोआज निकै चलनचल्तीमा आइरहेको शव्द हो। रूपान्तरण के हो ? र यो केका लागि भनी बुझ्ने/नबुझ्ने दुवैथरी यो शव्दको पछि लागिरहेको  सबैतिर देखिन्छ।राजनीतिमा रूपान्तरण, सामाजिक क्षेत्रमा रूपान्तरण, आर्थिक क्षेत्रमा रूपान्तरण, धार्मिक-आध्यात्मिक क्षेत्रमा रूपान्तरण, शैक्षिक क्षेत्रमा रूपान्तरण जताततै रूपान्तरणको चर्चा हुन थालेको छ।यसको भित्री आशय बुझेर प्रयोग हुन गए र व्यवहारमा उत्रन सके असाध्यै राम्रो कुरा हो तर शाव्दिक रूपमा मात्र त्यसलाई हेरिए आशातीत उपलव्धि नहुन सक्ने सम्भावना धेरै छ।रूपान्तरण शव्द जहाँ-जहाँ प्रयोग भए पनि यसको आशयचाहिँ हुन्छ कि यथास्थितिबाट उठेर कुनै नवीन तत्त्वको खोजी, जसबाट  सुख, शान्ति र आनन्दको केही यस्तो सूत्रको प्राप्ति होस् जसले गर्दा तत् तत् क्षेत्रमा दिगो उपलव्धि हासिल हुन सकोस् भन्ने रहेको पाइन्छ। यस दिशामा को कति सफल हुन्छ भन्ने कुरा त्यसलाई व्यवहारमा कति उतारिन्छ त्यसमा भर पर्ने कुरा हो।   
मनुष्यत्व असल गुण र आचरणमा निहित हुन्छ। यसको प्राप्तिको  लागि मानिसमा स्वप्रवृत्ति अन्तर्निहित हुन सके राम्रो हुने भए तापनि समय, परिस्थिति, सङ्गत र वातावरणले मानिसलाई सोचेको जस्तो बन्न नदिने अवस्था नै ज्यादात्तर बनिदिँदा रूपान्तरण भन्ने कुरा पनि शाव्दिक जञ्जालमा अडकिन पुगेको छ।जडवत् बाहिरी रूपान्तरण कि जीवन्त रूपान्तरण के चाहेको ? त्यसको स्पष्ट दिशानिर्देश नहुञ्जेलसम्म जीवनमा रूपान्तरण फलिभूत नहुने परिस्थिति बन्न सक्छ। यसतर्फ मानिसले सोच्ने फुर्सतै पाएको हुँदैन। वाह्य रूपान्तरण हेर्दा के के न जस्तो लागे तापनि चाहिएको त आन्तरिक रूपान्तरण नै हो।वाह्य रूपान्तरण गाह्रो छैन। बाहिरी आवरण परिवर्तन गरिदियो, स्वरूप फेरिदियो बस् त्यो भइहाल्छ।जस्तो हिजोआज देखिइरहेको छ यस्तो वाह्य रूपान्तरणको प्रवृत्ति व्यक्तित्व विकास, नेतृत्व विकास आदि-आदिको नाउँमा।समग्र आधुनिक शिक्षा पनि यसैतिर उन्मुख छ।यही कारण हो कि विकृति, विसङ्गतिको चकाचौँध हुँदो छ। बाहिरबाट हेर्दा, देख्दा के-के न गरिहाल्लान् कि जस्तो लाग्छ तर त्यो सब भइरहेको हुँदैन। आन्तरिक रूपले रूपान्तरित नभई सर्वजन हिताय सर्वजन सुखायको काम कहाँ हुन सक्छ? 
वाह्य रूपान्तरणमा स्वच्छन्दतावादी प्रवृत्ति हावी भएको हुन सक्छ जसको कारण रूपान्तरणको कुरा केवल शव्दमा, भाषामा, प्रवचनमा, भाषणमा, देखावटीमा, आडम्वरमा सीमित हुन पुग्छ। जबकि आन्तरिक रूपान्तरणले अनुशासनलाई, शीष्टतालाई, सदाचारलाई, सद्‌भाव र आत्मीयतालाई प्रोत्साहित तुल्याउँछ भन्ने आशा गरिन्छ। आन्तरिक रूपले रूपान्तरित भएको व्यक्तिमा विनम्रता, शालीनता, शीष्टता, उदारता, विशालता, विराटता, दिव्यताको बेजोड प्रदर्शन उसको यावत् कर्ममा मुखरित भएको अनुभव गर्न पाइन्छ।त्यस्तो व्यक्तिमा सत्यप्रति निष्ठा हुन्छ, विश्वास हुन्छ परन्तु धर्मान्धताको लेशसम्म पनि हुँदैन।यस्ता व्यक्तिहरूलाई त्यो शव्द दिन सुहाउँछ जसलाई धार्मिक भन्न रुचाउँछौँ।या भनौँ यही नै आन्तरिक रूपले रूपान्तरित व्यक्तिको लक्षण हो। कुनै आराधनास्थलमा पुग्दैमा या मठ-मन्दिर, तीर्थयात्रा गर्दैमा या विभिन्न परिधानमा या कुनै विशेष चिह्नमा सजिदैमा या ग्रहण गर्दैमा या कुनै कर्मकाण्डमा अभ्यस्त बन्दैमा रूपान्तरित व्यक्ति भन्न मिल्दैन।रूपान्तरित व्यक्तिको जीवनमा दिव्यताको चहक कुनै पनि कोणबाट देख्न पाइन्छ।
धार्मिक शव्दको दुरुपयोग युगौँ-युगदेखि हुँदैआएको छ जसको कारण भन्नु पर्ने हुन्छ धर्मको साँचो स्वरूप विलुप्त बन्न पुग्यो र आडम्वर, ढोँग, देखावटी कुराहरू धर्मको लक्षण बन्न पुगे। यो कुनै एक धर्मको कुरा होइन संसारमा विद्यमान सबै धर्ममा यही प्रवृत्तिले बोलाबाला पाएको छ जसको कारण एकप्रति अर्कोको विद्वेष र नकारात्मक भावको गन्ध कहिँ न कहिँ अभिव्यक्त भइहाल्छ। विशष्टता कहाँनिर उजागर हुन सक्छ भने विविधता र अनेकताभित्र पनि एकताको सूत्रलाई पहिल्याएर विश्वकल्याणको लागि ती साझा सूत्रलाई सदुपयोग गर्दै मानवीयताको पक्षमा युगान्तकारी कुनै यस्तो चेतना दिन सकियोस् कि जसले अनेकथरी विभाजनका दुर्लङ्घीय पर्खालहरूलाई सदाको लागि मटियामेट पारिदेओस्।यसैमा सबैको हित छ न कि प्रतिद्वन्द्वितामा। धर्म-सम्प्रदायबीचको प्रतिद्वन्द्विताले त विद्वेषलाई जन्माउँछ, विखण्डनलाई हुर्काउँछ, कलह र अशान्तिलाई निम्त्याउँछ।
अनेक भौतिक विकास र सम्भावनाहरूको बावजूद पनि व्यक्ति-व्यक्तिको मनमा एउटा सन्त्राशले, चिन्ताले  जरो गाडेर बसेको छ कि भविष्य कस्तो होला? हामीसँग जे जति भौतिक सर-सुविधाहरू छन्, साधन छन्, सम्पन्नता छ, शक्ति छ, ऊर्जा छ तिनको विपरीत पनि शान्ति र आनन्दसँग जीवन व्यतीत गर्नमा  मानिस असमर्थ छ।वाह्य ज्ञान बढ्दै गएको छ, सूचनाप्रविधिको कारण जानकारीहरू यथेष्ट मात्रामा उपलव्ध छ, हाजिरीजवाफको तयारीजस्तो कोही कुनै विषयमा अनभिज्ञ नभएजस्तो प्रतीत लाग्दा-लाग्दै पनि विवेक एवं सद्‌गुणहरूको अभाव द्रुततर गतिले खडकिदै जाँदो छ। त्यसप्रतिको लगाव र चेतना जति बढ्नु पर्ने हो त्यो नहुन सक्नु दुर्भाग्यको कुरा भएको छ। कहाँनिर चुक्यौँ हामी? त्यसको खोजीनीति दिनानुदिन जरुरी हुँदै गएकोतर्फ ध्यान जान नसक्नु अर्को विडम्वना भएको छ भन्दा फरक पर्दैन।निरन्तर आ-आफ्नो पद, प्रतिष्ठा र पैसाको स्वार्थको लागि सङ्घर्ष, द्वन्द्व, खिँचातानी, वैमनस्य बढाउनुलाई नै राजनीतिको जामा पहि-याइदिएर त्यसैलाई राजनीतिक रूपान्तरण भन्ने गलत अर्थ गराइ बढ्दो छ। हिजोभन्दा आज, आजभन्दा भोलि मानिसको जीवन हरेक दृष्टिकोणले उन्नति र उच्चतामा अभिमुख हुन सक्यो भने मात्र त्यसलाई सहि रूपान्तरण भन्न  मिल्छ। अन्यथा बोक्रे र देखावटी रूपान्तरणको कुनै अर्थ छैन।सहि आन्तरिक रूपान्तरण हरेकको लागि हर युगको लागि जरुरी छ।  
आज यस्तो सङ्घारमा मानिस उभिन पुगेको छ कि सर्वत्र हिंसा, प्रतिहिंसा, माराकाट र सङ्घर्षमा नै कोही बाँच्नुको जिजीविषा बन्न पुगेको छ। कति कठिन छ परिस्थिति! जीवनमा सहि रूपान्तरण जति छिटो भयो त्यति राम्रो।यसका लागि उचित समयको प्रतिक्षा गरेर बस्नु समयकै बर्वादी हो भने हुन्छ।सृष्टिलाई परिवर्तन गर्न सकिन्न भने दृष्टिलाई सहि र कामलाग्दो तुल्याउन त सकिन्छ। परिस्थितिलाई वदल्न सकिन्न भने मनस्थितिलाई त सुधार्न सकिन्छ भनी चेतनाको स्तरलाई जति सकिन्छ, जसरी सकिन्छ त्यही किसिमले   दीपशिखालाई झैँ उर्ध्वरेत अवस्थामा पु-याउन सदैव प्रयत्नरत रहनु नै वास्तवमा जीवनलाई रूपान्तरण गर्ने पाइलाको सुरुवात हो भन्ने सम्झी अगाडि बढ्दै जानु नितान्त आवश्यक महसुस हुन्छ।वाह्य रूपान्तरणको लागि त मानिस मरिहत्ते गरिरहेका हुन्छन् भने आन्तरिक रूपान्तरणको अवसर पनि सँग-सँगै उपलव्ध हुने अवस्थाको सूत्रपात गर्न सकिए कति उत्तम हुँदो हो कल्पना गरौँ त!  
                                      *****************  



     

Friday, February 3, 2012

स्वतन्त्रता कि स्वच्छन्दता ?


                               


                                                           

            व्यक्ति जति  बुद्धिमान हुन्छ, जति शिक्षित र पढेलेखेको हुन्छ  उति नै  आफ्नै ढंगबाट, आफ्नै शैली र पहिचानबाट बाँच्न चाहन्छ।भनौँ न स्वतन्त्र किसिमबाट जीवनलाई अगाडि बढाउन नै प्रयत्नशील हुन्छन्।विस्तारै-विस्तारै जब मानिसमा चेतनाको स्तर बढ्दै गयो, शिक्षाको प्रकाश फैलदै गयो तब यत्रतत्र सर्वत्र स्वतन्त्रताको नाममा अनेक किसमका आन्दोलन, क्रान्ति एवं वगावतको आगो सल्किदै गयो।स्वतन्त्रताको परिभाषा आ-आफ्नै ढङ्गबाट गरिदै गयो।यसैको उत्कर्षको परिचायक हो कि पुराना सामाजिक संरचनाहरू, उहिलेका राज्यव्यवस्थाका अवशेषहरू तोडिदै जादै छन्।नयाँ-नयाँ तौरतरिका र व्यवस्थाको प्रयोग र व्याख्या आ-फ्नो किसिमले हुँदै छन्। यो जरुरी पनि छ कि समय, परिस्थिति र परिवर्तित वातावरणले नयाँ आवश्यकताहरूलाई जन्माउँदै जान्छ। 
स्वतन्त्रताको अर्थ स्वच्‍छन्दता होइन।स्वतन्त्रताको ठाउँमा स्वच्छन्दताले ठाउँ लिन खोजे सम्झे हुन्छ कि अब देख्न नपर्नु पर्ने के के विषय देखिने हो, सुन्नु नपर्ने के के कुरा सुनिने हो, भोग्नु नपर्ने के के भोगिने हो।स्वच्छन्दता सच्चा स्वतन्त्रता नभई स्वेच्छाचारिता हो। यसको परिणाम हुन्छ विनाश! जब संयम रहँदैन, अनुशासन हुँदैन त्यसको विपरीत मनोमानी देखिन थालेपछि विशृङ्खलताले ठाउँ लिइहाल्छ। यसैको कारण पहिले नियम-कानुनको सीमामा रहेका अनेकौँ विषयहरू ओझेलमा पर्ने छन्।
स्वतन्त्रताको अर्थ हिजोआज कुन रूपमा बुझ्न थालिएको छ भने आफ्नो व्यक्तित्व विकासका लागि  स्वतन्त्रतापूर्वक निर्णय गरेर आफ्नै किसिमको जीवन बाँच्न चाहन्छु भन्नेलाई नै बुझ्नु पर्ने हुन्छ। यसरी हेर्दा  अनुशासनको  पुरानो सारा परम्पराहरू  आज आएर  सङ्क्रमणकालिक अवस्थामा आइपुगेको भान हुन्छ।पुरानो पुस्ता र नयाँ पुस्ताबीचमा सधैँ हुने असमझदारी नै यहीबाट सुरु हुन्छ।यस्तो स्थिति सधैँ दोहोरिरहेको हुन्छ।हिजो थियो, आज छ र भोलि पनि आउने निश्चित छ। यस अवस्थामा पुरानै रीति-स्थिति, नियम-कानुन र अनुशासनको कुरा गर्न थाल्यौँ र तीमात्रै सबथोक हुन् भन्ने सोचमा रह्यौँ भने ठूलो भूल हुनेछ। मानवीय संवेदनालाई चोट नपु-याउने, अझ भनौँ मानवीयताको अस्तित्वलाई नखल्बलाउने गरी कुनै नयाँ तौरतरिका, कुनै नवीन चेतनाको विकास हुन्छ र त्यसले सर्वतोभावेन मानवीय विकासको लागि केही योगदान पु-याउन सक्छ भन्ने लाग्छ भने त्यसलाई आत्मसात् गर्नपट्टि लाग्नु नै बुध्दिमानी हुन्छ न कि तिनलाई इन्कार गर्नु!

यो हुन्छ र यो हुँदैन भन्ने अनुशासनका कुराहरू, नीतिका कुराहरूलाई घोकाएर पुग्दैन। यस्तो काम विगतमा धेरै भइसक्यो। परिणाम के भयो त? हातमा लाग्यो शून्य भन्नु पर्ने अवस्था छ। अब विवेक, बुध्दि र चेतनाको विकास कसरी गर्ने, जसले गर्दा उसले स्वाभाविक रूपले बुझोस् कि यो ठीक यो बेठीक भन्ने कुरा, त्यतातिर दृष्टि दिई हाल्नु पर्ने बेला आएको छ। जबसम्म भित्रैदेखि बुध्दि, विवेक र चेतनाको प्रकाश देदीप्यमान नभई बाहिरी रूपले गरिने, मानिने  यावत् कार्यहरूमा देखावटी रङ्ग वा चमक-धमक मात्र हुन्छ त्यसले मानवताको विकासमा कुनै किसिमको सहयोग पु-याउँदैन यो निश्चित छ। अहिलेसम्म शुभ के हो, अशुभ के हो, राम्रो के हो, नराम्रो के हो, यी सबै विषयमा मानिस आ-आफ्नो कुल, रीति, परम्पराअनुसारको कार्यलाई अवलम्बन गर्दैआइरहेका थिए। जसले त्यसलाई मान्यो ऊ असल भयो जसले मानेन या तिरस्कार ग-यो त्यसको अर्थ हुन्थ्यो कि उसले इन्कार ग-यो यसैले उसलाई खराब व्यक्ति सम्झियो वा दुत्कारियो! कतिपय हदमा जसले परम्परालाई मान्यो उसलाई सज्जनताको लक्षणसमेत मानिने प्रचलन रह्यो।साँघुरो बन्धनमा, सीमिततालाई  सर्वोपरि र व्यापकताको पहिरन दिन खोज्दा जताततै अस्तव्यस्तताको सूत्रपात भएको हो भन्न अब हिच्किचाउनु हुँदैन। अब यस प्रकारको चिन्तनलाई, धारणालाई सहसा मानिसले स्वीकार गर्न सक्तैन, मान्ने अवस्थै पनि देखिन्न। यसमा आमूल परिवर्तनको जरुरी छ। मानवतालाई जगाउने , बढाउने, हुर्काउने किसिमका कार्यहरूलाई प्रोत्साहन दिई पशुतालाई हटाउने, मेटाउने, धपाउने कार्यलाई चारैतिरबाट साथ दिई निमिट्यान्न नतुल्याई मानवीयतालाई जति नै अग्रगामी दिशातिर लग्न खोजिए पनि त्यसमा सारतत्त्व नरहने हुन्छ।
प्रत्येक व्यक्तिमा यस्तो ऊर्जाशक्ति छ कि उसले चाहेमा त्यसलाई सशक्त किसिमले अगाडि बढाउन सक्छ तर यो कुरा सबैले नबुझ्दा अरूमा त्यो शक्ति छ ममा छैन कि भनेजसो गरी आफ्नो अमूल्य जीवनलाई व्यर्थमा गुमाइरहेका छन्।विवेकको कुरा पनि त्यस्तै हो। सबैसँग विवेक शक्ति छ।जति विवेकलाई जागृत तुल्याउन सकियो त्यति मानवजीवनको सौन्दर्य निखारिन्छ।यस कुरालाई कमै मानिसले मात्र बुझ्न पाएका छन्। विवेकबाट उभारिने अनुशासन यस्तो हुन्छ कि लाख प्रयत्न गरे पनि त्यसबाट विचलित हुने कुरै आउँदैन। त्यो बालुवामा लेखिएजस्तो होइन कि ढुङ्गामा लेखेजस्तो हुन्छ। के गर्नु ठीक, के गर्नु बेठीक, कहाँ जान हुने, कहाँ जान नहुने, के खान हुने, के खान नहुने सबै कुराको चेतना विवेकको जागृतिबाट सम्भव छ। यसैले विवेकलाई जगाउने शिक्षा, साधना, नीति, कार्यक्रमहरू आजको विश्वमा अति नै खाँचो पर्दै गएको अनुभव हुन्छ।यसरी आउने अनुशासन उत्तमकोटिको हुन्छ, अब्बल दर्जाको हुन्छ।यसमा परतन्त्रताको लेशसम्म पनि हुँदैन जसको कारण भित्रैदेखि त्यसप्रति आदर, श्रध्दा र सम्मान हुन्छ।अध्यात्ममा यही विवेकशक्तिको अभिवृध्दिको लागि भरमग्दुर प्रयत्न गरिएको हुन्छ। 

वाह्य रूपले लादिएको वा अरूद्वारा बलजफ्ती थोपरिएको नीति-नियमप्रति मानिसमा श्रध्दा हुँदैन।यसले परतन्त्रतालाई निम्त्याउँछ। परतन्त्रताको  विरुध्द हाम्रो मनमा विद्रोह पैदा हुन्छ। विद्रोहमा नियम तोडिन्छ, अनुशासन छोडिन्छ। यदि व्यक्ति स्वतन्त्र भयो, आफ्नै ढङ्गले चेतनाको माध्यमबाट अनुशासन  ल्याउन सफल भयो भने जीवनमा विद्रोहको भावना पैदा हुँदैन।विश्वमा जे जति विद्रोह, क्रान्तिको अभिनय भइरहेको छ ती सबै आफूलाई परतन्त्रको महसुस गरेर भइरहेका हुन्।यसलाई दवाउने अरू कुनै उपाय छैन सिवाय चेतनाको विकास ! यसलाई नजानेर सुरक्षा दस्ता बढाएर हुन्छ कि हातहतियार देखाएर पो हुन्छ कि भनी संसारका अनेक राष्ट्रहरू आ-आफ्नै ढङ्गले लागेको पाइन्छ।यो त उल्टो प्रक्रिया भयो। हिंसाबाट त हिंसै पो जन्मिन्छ। कहाँ, कहिले जन्मन सक्छ अहिंसा ? यो हुन सक्ने कुरै होइन। जे रोप्यो त्यही फल्ने हो।अशान्ति रोप्ने अनि शान्तिको आशा गर्ने ? कहाँ सम्भव हुन्छ त्यस्तो कुरा?
  
शिक्षा बढ़ेको छ, संस्कृति बढेको छ, सभ्यता बढ़ेको छ,  वाह्य ज्ञान बढ़ेको  छ। मानिसको विवेकलाई जगाउन पहिलेभन्दा केही सजिलो पनि भएको छ। जानेको खण्डमा अबको बाटो केही सुगम छ भन्नै पर्छ। बाहिरबाट थोपर्ने भन्दा पनि भित्रबाटै चेतनाको प्रकाशलाई बढाउने काम प्रभावकारी हुन्छ यसमा कुनै शङ्कै छैन। सत्य बोल, धर्म गर भनेर पुग्दैन। त्यसबाट व्यक्तिलाई के कस्तो उपलव्धी हुन सक्छ। सत्यको प्रतिष्ठा हुन सक्यो भने के हुन्छ, अहिंसालाई बढाउन सकियो भने जीबनमा के परिवर्तन आउन सक्छ जस्ता कुराहरूको बोध हुनु पनि त्यत्ति नै जरुरी छ। विकृत परम्परा, कुसंस्कार र रीतिस्थितिहरू जे छन् ती हाम्रो धरोहर हुन् भनेर त्यसलाई काखी च्यापेर बस्न थाल्यौँ भने त्यसले उल्टै विकृतिलाई जन्माउन थाल्छ जुन कसैको लागि पनि सुखकरी हुँदैन।गलत परिपाटिहरूलाई अनावश्यक रूपले काँखी च्यापेर त्यसको पक्षमा वकालत गर्नाले, स्वतन्त्रताको गलत व्याख्याका साथै स्वच्छन्दतालाई प्रश्रय दिनाले  आजको  अन्योलको अवस्थाको सूत्रपात भएको हो भन्ने कुरालाई बुझ्नुपर्छ। शिक्षा त दियौँ आचरण दिएनौँ, पढाइ त दियौँ व्यबहार दिएनौँ, सूचनासङ्ग्रह गर्न त सिकायौँ तर उद्यमशीलता दिएनौँ, शालीनता, भद्रता सिकाएनौँ जसको कारण आज अनेक विकृति र विसङ्गतिहरूको थुप्रो मानिसको नामबाट भइरहेको छ।

विवेकसम्मत कामकै अभावले गर्दा मानिसमा जडता बढ्दै गइरहेको छ। बुध्दि र विवेकले सम्पन्न त भनिदियौँ मानिसलाई तर त्यो हो कि होइन भनेर सोच्ने, सम्झने र चिन्तन गर्ने फुर्सत सम्भवत: कसैलाई नभएर होला त्यतापट्टि दृष्टि दिन नै कसैलाई फुर्सतै भएन। यसले गर्दा जसले यसलाई स्वीकारे ती जडवत् बन्न पुगे जसले त्यसलाई विचारै गरेनन् उनीहरू बर्बाद हुन पुगे। दिल, दिमाग, हात, खुट्टा सबै छ तैपनि उनीहरू एक किसिमले भन्ने हो भने पङ्गु छन्, बुध्दिशून्यजस्ता छन। समस्याको जड नै यही हो अहिले संसारमा। जता हे-यो त्यहाँ यही किसिमको समस्याले समाज ग्रस्त छ।सङ्क्षिप्तमा भन्नु पर्दा अरूको अधिकारको सम्मान गर्नु तथा आफ्नो कर्तव्यको इमान्दारीपूर्वक पालना गर्नु सच्चा स्वतन्त्रता हो भने त्यसको विपरीत गर्नुचाहिँ स्वच्छन्दता।दुईमध्ये एक रोज्न मानिस स्वतन्त्र छ तापनि जीवनको मूल्यबोध गर्ने हो भने न राजनीतिमा, न धर्म-संस्कृतिमा, न सामाजिक संस्कारमा न अर्थनीतिमा कतै पनि स्वच्छन्दता ठीक छैन यो कुरा सदासर्वदा स्मरणीय छ।

                                    ***************   





Saturday, January 21, 2012

वास्तविक मुक्ति


                      
                                         
             सूचनाको सङ्ग्रहलाई नै हिजोआज हामी ज्ञान भन्न थालेका छौँ। चाहे त्यो इतिहासको होस्, चाहे त्यो भूगोलको होस्, चाहे विज्ञानको होस् या कम्प्युटरको नै किन नहोस्। सामान्य ज्ञानको लागि सूचनासङ्ग्रह पनि जरुरी छ तर त्यसैलाई मात्र ज्ञान भन्न थाल्यौँ, शिक्षा भन्न थाल्यौँ भने त्यो विडम्वनापूर्ण हुन्छ।साक्षरताको कसी त्यो केही रूपमा हुन सक्ला तर त्यही नै साध्य होइन।अमेरिका कहाँ छ? अफ्रिका कहाँ छ त्यसको अवस्थिति जानेर के गर्ने? बोट-बिरुवा कसरी रोप्ने वा बीऊ कसरी छर्ने कुरा वाह्य रूपमा जानेर मात्र पुग्दैन जबसम्म तिनबाट चेतनताको अभिवृध्दिको लागि जीवनमा आवश्यक पर्ने कुरा लिन सक्दैनौँ त्यतिबेलासम्म त्यो मात्र कोरा सिकाइ हुन्छ। त्यसले उव्जनी बढाउन केही काम लाग्ला वा कुनै हाजिरीजवाफ प्रतियोगिताको लागि केही भरथेग होला। तर समग्रमा भन्ने हो भने जीवनदर्शनमा तिनको थोरै उपादेयता रहन्छ।सृष्टिलाई बुझेर मात्र पुग्दैन जबसम्म स्रष्टालाई बुझ्न सकेका हुँदैनौँ।किताबको कुरा पढ्ने, भाषण वा प्रवचनबाट केही सिक्ने-बुझ्ने अनवरत चलिरहने विषय हो।यसबाट पनि केही सिकाइ-बुझाइ हुन्छ। त्यसमा पनि व्यवहारबाट सिक्ने कुरा अव्वल दर्जाको हुन्छ।आफूलाई परेर वा अर्कालाई परेको देखेर सिक्न पनि छोड्नु हुँदैन।यही नजान्दा गल्तीमाथि गल्ती दोहोरिरहेको हुन्छ।
अनुभव सबै कुराको हुनुपर्छ भन्ने भ्रमले वा सतही बुझाइको कारण अमूल्य जीवनलाई राम्ररी बुझ्न नपाउँदै, जान्न नपाउँदै कैयन् व्यक्तिहरू कुलतको, व्यसनको चक्रव्यूहमा फस्न पुग्छन् कि के भन्ने त्यसबाट लाख प्रयत्न गर्दा पनि मुक्ति पाउन गाह्रो बइरहेको हुन्छ र अनमोल जीवनलाई व्यर्थमा गुमाइरहेकै नै धेरै पाउँछौँ।थोरै भाग्यमानी आत्मचेतनाले, आत्मजागरणले, सत्सङ्गतले, सद्साहित्यको स्वाध्ययनले, विवेकको प्रयोगले, साधना र अनवरत प्रयत्नको कारणले अनेक भ्रमबाट उन्मुक्ति पाउन सक्लान् तर सबैमा त्यो अवस्था कहाँ आउँछ!
चुरोट, खैनी, गुड्खा, पराग, पानपराग जे-जे भनौँ ती सबै मानिसको स्वास्थ्यको लागि एकदमै हानीकारक छ, रक्सी त्यत्तिकै विषाक्त छ जीवनको लागि सबैले महसुस गरेका छन् तर सबै कुरा जान्दा-जान्दै पनि त्यसलाई पूर्णरूपले वाइकट गर्न अघि सर्ने संसारमा कुनै राष्ट्र कुनै सरकार नै भेट्टाइदैन किनभने राज्यकोषमा आउने राजस्व र त्यस्ता उद्योग चलाउने उद्योगपतिहरूको दवाव यस्तो छ कि सरकारको कुर्सी हल्लाउने क्षमता राख्छन् उनीहरू।यसको कारण निरीह जनता अनेक कुलत र दुर्व्यसनमा फसिरहेका हुन्छन्। उनीहरूमा भ्रम हुन्छ कि यदि खान नहुने, प्युन नहुने चीज भएको भए यसको उत्पादन नै किन हुन्थ्यो। त्यसमा पनि उपभोक्तावादी वर्तमान संसारको चरित्रले गर्दा अनेक आकर्षक विज्ञापनको लहै-लहैमा मानिस फस्न पुग्छ।  सके उनीहरूले सरकारी संयन्त्रका सम्बन्धित व्यक्तिहरूलाई आफ्नो हातमा लिइरहेका हुन्छन् जसको कारण विरोधका स्वरहरू एकातिर गुञ्जिरहेको हुन्छ अर्कोतिर यथावत् रूपमा उत्पादन, विक्री-वितरण सहज रूपमा खुलायाम चलिरहेको हुन्छ।अथवा भनौँ शासनसत्तामा हुनेहरू वा विधायकहरूकै संरक्षण वा नेतृत्वमा त्यस्ता उद्योगहरू चलिरहेको भए कुनै आश्चर्य हुनेछैन। नाटक मञ्चनजस्तो लाग्दैन तपाईँलाई कि यसो कहिले-काहीँ केही गरेको जस्तो देखाउन जब कुनै प्रहरी सडकमा बसेर दुइ-चार जनालाई मुख सुँघेर एकाध घण्टा पुलिसको कठघरामा राख्दा! शासन-प्रशासनमा बस्ने वा भनौँ सुरक्षा निकायहरूकै सरकारी वा नीजि भोजभत्तेरमा हेर्नुहोस् त तिनको खोलो बगेको! काम गर्नेलाई स्यावासी दिनैपर्छ। तर त्यसलाई दिगो रूपमा सुदृढ रूपले अगाडि बढाउने हो भने जो अर्काको मुख सुँग्घछ उसको मुखबाट पनि कहिल्यै त्यसको गन्ध नआउने उदारहरणीय कार्य भयो भने विकृति मासिदै गई संस्कृतिको निर्माण हुन थाल्छ। व्यक्ति, परिवार, समाज र राष्ट्रलाई बर्बाद पार्न तिनको हात छ भन्ने लागेपछि के तिनको उत्पादनलाई सदाको लागि बन्द गरिदिए के बिग्रन्छ? कसैको मुख ताकेर बस्नुपर्छ के गर्ने भनेर? उदाहरण आफूबाटै सुरु गर्नुपर्छ अरूको बाटो किन हेर्ने? तँ पिटेको जस्तो गर म रोएकोजस्तो गर्छु भन्ने लुकामारी यहाँमात्रै होइन संसारभरी नै चलिरहेको छ। आदर्शको निर्माण यस्तो ढुलमुले चरित्रले किमार्थ हुन सक्तैन।स्वाइन फ्ल्यू र वर्ड्स फ्ल्यूको आशंकाले एक जना व्यक्ति म-यो भने हाहाकार हुन्छ। निरीह हजारौँ-लाखौँ पशुपक्षीलाई मार्न संसारभरका राष्ट्र तम्तयार हुन्छन् तर जुन दुर्व्यसनले दिनमा हजारौँ होइन लाखौँ मानिसको ज्यान गइरहेको छ, त्यसैको कारण अनेक रोगहरूको शिकार हुनु परेको छ, घर-घरमा अशान्ति छ, समाजमा अनेक किसिमको वैमनस्य र तिक्तता बढाउन सहयोगी भइरहेको छ त्यसलाई हटाउनेतिर कसैको ध्यान जाँदैन वा पुग्दैन भने यो आश्चर्यको विषय होइन? कति विडम्वना छ!
शासनसत्तामा नपुग्दा यो गर्छु र ऊ गर्छु भनेर गुट्टी हाक्नेहरू शासनसत्ताको मोहमा फँसेर पहिलेदेखि जे चलेको छ त्यही नै ठीक रहेछ भन्ने मनोविकारले ग्रस्त हुनु कुनै आश्चर्य होइन। अझ अघिकाले भन्दा त्यस्ता कुरालाई अरू बढी साथ-समर्थन दिएको देखिनु पनि नौलौ कुरा नहुन सक्छ। संसारमा भइरहेकै यही छ। विद्यमान विकृति, विसङ्गति, कुपरम्परा, कुसंस्कारलाई हटाउन उत्प्रेरित गर्दै जीवनको निखारलाई प्राप्त गर्न सहयोगी हुने जीवनोपयोगी योजना र कार्यक्रमहरूलाई जनस्तरदेखि नै प्रभावकारी तुल्याउन आवश्यक पर्ने सम्भव उपायहरूको अवलम्वन गर्दै सबैभन्दा पहिले आफू नै आदर्श बनेर अरूलाई मार्गदर्शन गर्न सक्ने घरमूली, समाजका थकाली, सामाजिक अभियन्ताहरू, राजनेता भनिनेहरू यथार्थतामा अगाडि बढ्ने अवस्था आयो भने बल्ल सम्झे हुन्छ अब केही हुने दिन आयो। नत्र जो आए पनि उही ---- चिरेका भन्ने उखान नै चरितार्थ भइरहन्छ।
धेरै मानिसमा के भ्रम छ भने मुक्ति भनेको मरेपछि मात्रै पाइने कुरा हो जीवनकालमा यो प्राप्त हुन सक्ने कुरै होइन। यहाँनिरै ठूलो भ्रम छ मानिसमा। यस्तै विश्वास (belif) लाई मानिस जानी-नजानी मलजल गरेर बसेको हुन्छ र उसले बिर्सेको हुन्छ कि मुक्ति त उसकै हातमा छ। मुक्ति पाउन मृत्युलाई कुरेर बस्नु नै पर्दैन। जसले मृत्युपछि मुक्ति हुन्छ त्यसैले अहिले धर्म-कर्म गर्नुपर्छ र त्यसबाट मुक्ति पाइन्छ भनेर सिकाइरहन्छन् विचरा उनीहरू नै ठूलो भ्रममा छन्। मरेपछिको मुक्ति कसैले नदेखेको मुक्ति हो। मैले मुक्ति पाए भनेर पुराणका कथाहरूमा बाहेक आजसम्म कोही फर्केर भन्न नआएकोले अनुमानित मुक्तिको पछि लाग्नुभन्दा जीवनकालमै गलत सङ्गत, गलत संस्कार, गलत संस्कृति, गलत विचार, गलत कर्मबाट आफूलाई उन्मुक्त राखेर सफल मात्र होइन असल जीवन, यस्तो जीवन कि जहाँ कुनै बिलौना छैन, पश्चाताप छैन, डर-भय छैन किनभने सत्यनिष्ठालाई आत्मसात् गरेको हुन्छ, समभाव छ, सेवाभाव छ, निस्वार्थता छ, सात्विक जीवन छ, परहितको चेष्टा छ, सुकर्ममय दिनचर्या छ र यी सबैलाई जसले आभूषण बनाउन सकेको छ भने अहिले बाँचेको त्यस्तो जीवनलाई नै मुक्त जीवन भन्न सकिन्छ।यस्तो जीवन बाँच्नेहरूको जति सङ्ख्या बढ्यो त्यत्ति समाज र राष्ट्रको उन्नति, प्रगति र समृध्दि यथार्थ रूपमा हुन सुरु हुन्छ। राष्ट्र-राष्ट्रमा यस्ता दिव्य जीवन बाँच्नेहरूको सङ्ख्या जति गुणात्मक रूपले वृध्दि हुँदै जान्छ त्यति नै विश्वमा शान्ति, समुन्नति र दिगो प्रगतिको ढोका खुल्छ। यस्ता जीवनमुक्त व्यक्तिले गर्ने कार्यहरूमा कहाँ खोट हुने? कहाँ विकृति हुने? कहाँ भष्ट्राचार हुने? कहाँ दुराचार हुने? चाहे पूर्वमा होस् चाहे पश्चिममा क्रान्तदर्शी महापुरुषहरूको खोजाइ यस्तै व्यक्तिहरूको लागि थियो र हो। त्यसलाई बुझ्न नसक्दा अनेक विकृति र विसङ्गतिहरूको सङ्घातमा विश्वका तमाम मुलुकहरू जानी नजानी भाँसिइरहेको छ। एकको विकृतिको पछि अर्को त्यसलाई संस्कृति सम्झी अनाहकमा फँसिरहेको छ।अझ भनौँ त्यसलाई बुझ्न सक्ने सामर्थ्यको अभावमा भूल-माथि भूल बढ्दैगएको र यथार्थतालाई बुझ्ने दृष्टिकोणमै पर्दा लागेको जस्तो भएको छ।
समय भटकिरहेको छ। तर अझै पनि सच्चिने/ सच्च्याउने रेखाको उल्लङ्घनबिन्दुको नजिकसम्म मात्र भएकोले जीवनमा देखिएका विकृत तत्त्वहरूबाट हटेर दिव्यतालाई प्राप्त गर्न सकिने अवस्था हरेकको लागि उपलव्ध छ।आवश्यकता छ आत्मचेतनाको विकासको।मानिस-मानिसमा विभेद ल्याउने जात-जाति, वर्ण, रङ्ग, छुवाछूत, कर्मकाण्डका अनेकभाँति जञ्जिरहरूबाट उम्किदै, दुर्व्यसनमुक्त जीवनलाई अँगाल्दै, हिंसाभावबाट मन, वचन, कर्मैले मुक्त हुँदै वा त्यस्ता घनघोर काला वादलहरूलाई पन्छाएर उदारता, विशालता, विराटता र विस्तृर्णतालाई आत्मसात् गर्दै समभावको स्थितिमा पुग्न सके नै  जीवनको दिव्यता प्राप्त हुन सक्छ।यही  वास्तविक मुक्ति हो, यस्तै जीवनका लागि लालायित बन्नुपर्छ।
                                     *************
                                          

Saturday, January 7, 2012

आत्मज्ञानको रहस्य: जीवनको सौन्दर्य


                         
            विश्वलाई यति कुरूप, वीभत्स, घीनलाग्दो र उदेकलाग्दो कसले बनाइ रहेछ भन्ने कुरा थाहा पाउँदा मानिस स्वयंमाथि प्रश्न गर्न विवश हुन सक्छ कि किन यसो भइरहेको छ? यसको सही जवाफ कहाँ सजिलै पाउन सकिन्छ। कठीन छ बुझ्न, गाह्रो छ पहिल्याउन। किनकि देखिने कुरा एउटा छ, भइरहेको छ अर्को कुरा।विचरा प्राणी जगत्‌का अरू कुनै पशुपक्षीहरूले विश्वलाई निर्लज्ज र कुरूप बनाएकै होइनन्, लुछाचुडी अरू कुनै पशुप्राणीले गरेकै होइनन्। उनीहरू त आफ्नै प्रकृति, स्वभाव र अनुकूलताको विवशतामा बाँची रहेका छन्। प्रकृतिको दोहन भन्ने कि शोषण मानिसले जति अरूले गर्न सक्ने कुरै होइन पनि।पृथ्वीमा जे-जति स्रोतहरू छन्, खानीहरू छन्, सम्पदाहरू छन् तिनको उपभोग गर्ने पनि मानिसबाहेक अरू कुनै पशुप्राणीहरू छैनन्।यसैले भन्नै पर्ने हुन्छ कि अरूलाई गाली गर्नुको, दोष लगाउनुको कुनै तुकै छैन।सम्पदा, सम्पत्ति र अमूल्य स्रोतहरूको उपयोग र उपभोग गर्ने मानिसबाहेक कोही छ? यसो हुँदा पनि मानिस आफ्नो भाग्यलाई सरापेर बसिरहेको हुन्छ कि मैले केही पाइनँ, केही गर्न सकिनँ, केही भएन भनेर। कस्तो दुर्भाग्य छ! यसलाई विडम्बना नभनेर के भन्ने? चाहाने हो र दृढतासाथ लाग्ने हो भने नहुने केही छैन, पाउन नसक्ने कुरा सायदै छैन। यो त ठीक यस्तै भयो कि सूर्य सबैका लागि समान रूपले विना भेदभाव प्रकाश, तेज बाडिरहेका छन् तर कोही-कोही ढ्यामढुम्म ढोका थुनी अध्यारो भयो भनेर सूर्यलाई सत्तोसराप गरेर बसिरहेका हुन्छन्।जति चुनौती छन् अवसरहरू पनि त्यत्तिकै छन्।तिनलाई बेहोरेर अगाडि बढ्नेहरूको कमी नै समस्याको जड हो भने हुन्छ।  
अधिकांश मानिसले बुझ्नै सकेको हुँदैन कि वास्तविक जीवन भनेको के हो? उही गोरखधन्दा, उही बिहान-बेलुकाको हात-जोडाइको लागि असिना-पसिना, उही छिनाझप्टी, उही ईर्ष्या, उही पाखण्डी, उही उदासीनता, उही निराशता, उही स्वार्थ र जीजिविषा नै पो जीवन हो कि भन्ने भ्रम परेको छ।यही सीमित सेरोफेरोमै जीवन चलिरहेको छ युगौँयुगदेखि मानिसहरूको।जीवनभित्रको रहस्य खोज्नपट्टिलाग्दा कि मानिस दर्शन र वेदान्तशास्त्रको गहिराइमा कि मनोविज्ञानको मनष्चक्रमा, कि धर्मान्धताको कठघरामा ठडिन पुगेको हुन्छ तर त्यसको छनक उसले पाउनै सकेको हुँदैन कि कहाँ उभिन पुगेँ भन्ने कुराको। जीवनलाई बाँच्न जानेको खण्डमा यति सौन्दर्यपूर्ण, यति रसिलो, यति भरिलो र यति आनन्ददायक छ कि के भन्ने! यसका लागि धन-सम्पत्ति, भौतिक समृध्दि, प्रशस्त विद्या-शिक्षा, प्रतिष्ठा चाहिन्छ भन्ने पनि छैन।कसैका लागि केही बेरका लागि यी आधार र माध्यमजस्तो बन्न पुगे पनि ती नभई नहुने जरुरी कुरा भने होइन। नहुँदामा कुनै रोकावट छैन, हुँदामा पनि कुनै हानी छैन।ती सबै भएर अझ सदुपयोग गर्न पाइयो भने त के चाहियो ! यसैलाई भन्छन् सुनमा सुगन्ध ! हुनेहरू थोरैले मात्र आफूसँग भएको स्रोत-साधनको सदुपयोग गर्न जानेका हुन्छन्। धेरैले त मन फुकाउन, हात फुकाउन, हृदय फुकाउन जानेकै हुँदैनन्। दियो कि सकियो, बाड्यो कि रित्यो भन्ने गलत बुझाइमा अल्मलिरहेका हुन्छन्।
जीवनलाई सर्वाङ्ग रूपले बुझ्न नसक्दा मानिसले नपाउनु दु:ख पाइरहेको छ, अनेक कष्ट झेलिरहेको छ, पीडाको कहालिलाग्दो यातना भोग गर्न बाध्य छ।जीवन बनाउने कुरा कहाँ सिक्ने मानिसलाई भ्रम पनि छ।सबै विद्यालय, कलेज, विश्वविद्यालयमा यो पाइने कुरा पनि होइन। किनभने आधुनिक शिक्षाको लक्ष्य अर्थकरी बन्न जाँदा विद्यालय, कलेज एवं विश्वविद्यालय त साक्षरता अभियानका केन्द्र वा कुनै चाँहि सूचनाको स्रोत सङ्ग्रह केन्द्रजस्ता बन्न पुगेका छन्।प्राविधिक तथा विज्ञानसँग सम्बन्धित शिक्षा जोडतोडसँग अगाडि बढिरहेको छ तर त्यहाँ जीवनलाई चाहिने कतिपय जीवनदायिनी विषयहरूको अभावको कारण निरसता झाँगिदै गइरहेको तर्फ सोच्नुपर्ने बेला आइसकेको छ।
समयको मागअनुसार जीवनलाई चलाउन समयसापेक्ष शिक्षा एवं विद्याको अपरिहार्यतालाई बिर्सन सकिन्न। बिर्सियो कि समयअनुसार पछि पर्दै गई अन्ततोगत्वा जीवन नै बोझझैँ बन्न पुग्छ। विश्वका कतिपय देशहरूमा यस्तो स्थिति नभएको होइन।जसको कारण देश र जनताको न जीवनस्तर न चेतनाको स्तरलाई नै जागृत गर्न सकिएको छ। समयानुकूल शिक्षाको आवश्यकताको साथै आत्मज्ञानलाई जगाउन सक्ने लक्ष्य, विचार र धारणा भएको एवं चेतनाको स्तर बढाइ मानिसलाई मनुष्यताको सिढीमा उकास्ने आत्मिक ज्ञानको आवश्यकतालाई जहिलेसम्म बुझ्न सकिन्न तबसम्म मानवताको साँचो विकास हुन सक्ने अवस्थै रहन्न।आत्मिक ज्ञानलाई कुनै धर्म, सम्प्रदायको बिल्ला भिराइदिएर गल्ती गरिरहेका छौँ। यसको कुनै धर्मविशेष वा सम्प्रदायविशेषसँग साइनो नै छैन भनिदिए हुन्छ।आत्मिक ज्ञान वा अध्यात्म ज्ञान जे भनौँ त्यो भनेको अरू केही नभई सबैको अस्तित्वको स्वीकारोक्ति वा आफू भएर संसारका यावत् वस्तुहरूको निरीक्षण गरेर बुझ्न प्रयत्न गर्नु भन्ने हो। यसलाई नबुझेर मानिसहरू अनेक किसिमका दर्शनमा अल्मलिन पुगेका हुन्छन्। बुझ्नु पर्ने गूढ कुरालाई पाखामा थन्काइ बाहिरी कुराहरूमा, विधिका कुराहरूमा, कर्मकाण्डका अनेक विधि तानाबानामा जेलिरहेका हुन्छन् र जीवनलाई निस्सारता र उल्झनतर्फ लग्न जानी-नजानी अभिप्रेरित भइरहेको नै देखिन्छ।
थोरै यस्ता भाग्यमानी हुन्छन् जसलाई यस मार्गको पथिक बन्न कसैले सिकाइरहनु पर्दैन तर अधिकांश मानिसहरूको प्रवृत्ति यस्तो हुन्छ कि उनीहरूलाई कि कुनै आधिकारिक व्यक्तिले कि कुनै घटना या दुर्घटनाले कि कुनै पुस्तक र शास्त्रको माध्यमले उनीहरूको अवचेतनमा रहेको सुषुप्तावस्थालाई झङ्कृत तुल्याइदिनु पर्ने हुन्छ। कतिपय विचारकहरूले कहाँनिर गल्ती गरिरहेका हुन्छन् भने कसैलाई सिकाएर कोही असल बन्नेवाला छैन जबसम्म ऊ स्वयं प्रवृत्त हुँदैन। केही हदसम्म यो सत्यको निकट रहे पनि सोह्रै आना सत्य भने यो छैन। जीवनमा जरुर केही यस्ता कुराहरू छन् जसलाई सिक्नु र सिकाउनु जरुरत पर्दैन तर धेरै यस्ता पक्ष छन् जसलाई कसैले नसम्झाइदिइ हुँदैन, कसैले झङ्कृत नतुल्याइदिई हुँदै हुँदैन।
जीवन र जगत्‌प्रति यथार्थ भावले आत्मनिरीक्षण गर्न जब मानिसले सुरु गर्छ अनि सम्झे हुन्छ कि आत्मिक ज्ञानको मार्गको पथिक हुने क्रमको  प्रारम्भ हुन थाल्यो।यस्तो भोक र खोजप्रति अहंता र घमण्ड बढ्न थाल्यो भने चाँहि सम्झनु पर्ने हुन्छ निराशाका दिनहरू आफू सामुन्ने तम्तयार भएर बसेका छन्। जसरी यात्रालाई सजिलो पार्नु छ भने आफूसँग झिटिगुण्टाहरू जति थोरै भयो त्यति सुगम हुन्छ। त्यसैगरी हिंसा,राग, द्वेष, ईर्ष्या, अहंता, घमण्डको भारी आफूसँग जति राख्यो त्यति जीवन कष्टकर हुन थाल्छ।त्यसैले सके जति दुर्गुण र दुर्व्यसनका भारीलाई समयमै हलुका पार्न सकियो भने जीवन सुखदायक, शान्तिप्रदायक र आनन्ददायक हुन पुग्छ।यो कुरा महत्त्वपूर्ण छ कि आत्मज्ञान र आत्म निरीक्षणैबाट जीवन, जगत् र ईश्वरप्रति या सत्यप्रतिको अनुसन्धान र बोधक्षमताको उद्‌गम हुन्छ।
तपाईँ छर-छिमेकप्रति कस्तो व्यवहार गर्नु हुन्छ? पशुपक्षी, वनस्पति र प्रकृतिप्रति के भाव राख्नु हुन्छ? आचरण, बानी, बेहोरा, आहार, विहार कस्तो बनाएको छ? सङ्गत कस्तो छ? जीवन, जगत्‌प्रति कस्तो धारणा र भावना बनाएको छ? हेर्दा यी विषयहरू सामान्यझैँ लाग्छ तर तिनको जीवनमा यति महत्त्व छ कि के भन्ने आश्चर्य लाग्छ।महत्त्वपूर्ण विषयलाई सामान्य सम्झिदिएकोले सर्वत्र भूलमाथि भूल थपिदै गएको छ।जीवन आत्मलाभको बाटोमा छ कि आत्मघातको गोरेटोमा छ थाहा पाउने कसीलाई नै छायामा पारेर जीवनको सही पहिचान गर्न सकिएला? यो हुन सक्ने कुरै होइन। पल-पलमा होशमा रहन सकिए, क्षण-क्षणमा आत्मनिरीक्षण गर्न सकिए जीवनका हरेक मोडमा नवीनता, मनमोहकता र आनन्दको परिदर्शन गर्न कुनै गाह्रो पर्दैन।कर्ममा कुशलता, सोचाइमा वृहदता, चिन्तनमा पूर्णताको स्थिति आत्मिक ज्ञानको परितुष्टीबाटै सम्भव हुन सक्छ, जीवनको सौन्दर्य यसैमा लुकेको छ यसलाई जसले उघार्न जान्यो उसैले दिव्यतालाई भेट्टाउँछ, परम तत्त्वलाई फेला पार्दछ।
                                   ***************