Friday, April 22, 2011

नेतृत्व गर्ने नेताको गुण कस्तो हुनुपर्छ?


                                                                                                                                  
                   यसमा कुनै अत्युक्ति छैन कि समाजमा परिवर्तन ल्याउने वाहक भनेकै समाजले मानेको व्यक्तिविशेष वा नेतृत्वदायी भूमिकामा बस्नेहरू नै हुन्। हिजो यसका संवाहक राजा, महाराजा, गुरु, आचार्य, पण्डित, पूजाहारीहरू तथा सुधारकहरू हुन्थे भने अहिले त्यसमा केही परिवर्तनसाथ नयाँ शव्द, नयाँ शैली, नयाँ व्यक्तित्व र चेहराहरू फेरिएका छन्।वस्तुत: नाम फेरिएको छ; हुन सक्छ केही काम फेरिएको किन नहोस्। यो यसैगरी चल्दै जान्छ र यसको प्रवृत्ति यस्तै हो। कहिलेकाहीँ लाग्न सक्छ कि धार परिवर्तन हुँदा वा नयाँ स्वरूप देखिँदा के-के न हुने हो कि भन्ने नलाग्ने होइन तर समयको गतिसँगै त्यसलाई आत्मसात् गर्नेहरूको जमात बढ्दै जाने स्वाभाविक प्रवृत्तिले कालान्तरमा त्यो नियमित बन्न पुग्छ त्यसमा कुनै शङ्का छैन। कसैको व्यक्तिगत जीवनमा वा रोजी-रोटीलाई वाधा नपरुञ्जेल वा त्यसमा अप्ठेरो नहुने हो भने परिवर्तनको प्रवृत्तिमा खास कसैले चासो पनि लिएका हुँदैनन्। यही प्रवृत्तिले यसैगरी नयाँपनलाई, नवीन आदर्शलाई स्वीकार्दै जान्छ। धर्मलाई नै लिऔँ न! हिजो धर्मको नाममा अनेक क्रियाकलापहरू भए हुनन् जुन आज सम्झदा धर्म विपरीतको कर्म लाग्छ। उदाहरणको लागि हिन्दुधर्मको नाममा हिजो सतीप्रथाले स्थान पाएको थियो। मरेको लोग्नेसँग जिउदै स्त्रीले चितामा भएका गरगहना सबै नजिकको मन्दिरमा चढाइ सामान्य स्वेत वस्त्र धारण गरी लाससँग बाँधिएर जल्नुपर्थ्यो। हजारौँ-हजार वर्षमात्र होइन लाखौँ वर्ष यसैगरी चल्यो, बित्यो। कैयन् हाम्रा मातृशक्तिहरूले त्यस्तो कहरलाई बेहोरे र जीवनलाई उत्सर्गित तुल्याए। उसवेला त्यसको विरोध गर्नुको अर्थ हुन्थ्यो धर्मको विरोध गर्नु। समाजका सबैको मान्यता हुन्थ्यो कि त्यसको विपरीतमा जानै हुन्न त्यसले अप्ठेरो पर्छ। राज्यको कानुन पनि त्यसैगरी बनाइएको हुन्थ्यो। विस्तार-विस्तार चेतना जाग्दै गयो कि यसले त संसारमा नारीको सङ्ख्यामा ह्रास आउँछ। सृष्टीचक्रलाई प्रभाव पार्छ। नारीविनाको संसार चल्न सक्तैन भन्ने जस्ता अनगिन्ती तर्क एवं कसैलाई जिउँदै आगोमा जलाउनु धर्म हुन सक्तैन भन्ने चेतनाले, मान्यताले गलत प्रवृत्तिलाई निरुत्साहित मात्र होइन त्यसलाई उन्मूलनै गर्न सहयोग पु-यायो। हिजो धर्म सम्झिएको त्यही कुरा आज कसैले अवलम्वन ग-यो भने वा सतीप्रथाको पक्षमा बोल्यो भने दिमाग ठीक छ या छैन भनेर सोध्न बेर छैन! चेतनाको स्तरमा परिवर्तन यसैगरी आइरहन्छ, यसै गरी भइरहन्छ। रूपान्तरणको अर्थ मात्र हिजोको विषयमा आज नयाँ प्रवृत्ति आउनु हुन सक्तैन त्यसले मानिसको अन्तर मनमा के सुधार ल्यायो वा त्यसले मानवीयताको विकासमा के सहयोग पु-यायो भन्ने कुरालाई जबसम्म ध्यान दिइदैन तबसम्म त्यो साँचो रूपको रूपान्तरण होइन भनिदिए केही फरक पर्दैन। यस्तै-यस्तै चल्दा-मिल्दा कुराहरू  संसारका विभिन्न धर्म, संस्कृतिको नाममा चलिरहेका होलान् र नजानेर स्वीकारी रहेको अवस्था पनि हुन सक्छ।
नेता वा मार्गदर्शकको भूमिका चाहाने वा त्यस स्थितिमा पुगेकाहरूले समाजबाट खोजी-खोजी विकृतिलाई, कुप्रवृत्तिलाई सबैभन्दा पहिले निरुत्साहित गर्नतिर ध्यान दिन सके संसारमा धेरैभन्दा धेरै यस्ता कार्यहरू गर्न सकिन्छ कि के भनौँ! त्यसले मानवताको जिउँदो-जाग्दो स्वरूप संसारसामु ल्याउन सकिन्छ तर दु:खको कुरा हिजो यसैगरी चल्यो आज पनि त्यसैगरी चल्छ किन टाउको दु:खाउने भन्ने प्रवृत्ति यत्र-तत्र हावी भएको कारण चलाचलीका मेला यसै गरी चल्दै जाला भन्ने जस्तो भइरहेको जुन छ त्यो दुर्भाग्यपूर्ण छ। किन हामी समाजमा देखिएका विकृति, विसङ्गतिहरू हुन् भन्ने जान्दा-जान्दै पनि त्यसलाई सच्याउन र परिस्कार गर्न पछि पर्छौ? यो हरेकले मनन गर्नु पर्ने विषय छ भन्ने तपाईँलाई लाग्दैन?  
मानिसको हरेक क्रियाकलापको प्रवृत्ति मनुष्यताको उचाइलाई छुने, मानवीय संवेदनालाई प्राप्त गर्ने तथा पशुताको स्थितिबाट मुक्ति पाउने हुन सक्नुपर्छ। यसमा हामी सफल भयौँ कि भएनौँ त्यो हेरिएन र मात्र काम चलाउने प्रवृत्ति र भावनाले ग्रस्त भएर सोच्यौँ वा सोच्छौँ भने नेतृत्वमा कमी छ भन्ने कुरालाई मान्नै पर्छ। यो जीवनको हरेक क्षेत्रमा लागू हुन्छ। चाहे हामी सामाजिक, धार्मिक, आध्यात्मिक, राजनीतिक, शैक्षिक, प्रशासनिक  जुनसुकै क्षेत्रको कुरा गरौँ त्यहाँ यो कुरा यहाँ  लागू हुने त्यहाँ  नहुने भन्ने नै छैन। धेरैजसो हामी यस दिशातर्फ ध्यान दिइराखेका हुँदैनौँ जसको कारण हामी अन्धकार, गरिबी, अभाव एवं चेतनाहीनताको अवस्थालाई प्राप्त गर्न वाध्य हुन्छौँ र सधैँ शून्यको स्थितिबाट माथि उठ्न खोज्छौँ। प्राप्त भइसकेको वा प्राप्त हुन सक्ने अवस्थालाई इन्कारेर वा नजरअन्दाज गरेर अन्यत्र दृष्टि दिनुको अर्थ हो लक्ष्यलाई चाँडो प्राप्त गर्न सक्ने अवस्थाबाट बिमुख हुनु।
हिजोआज संसारको कुनै पनि भागमा कुनै पनि क्षेत्रमा नेताहरूको कमी छैन। तर त्यहाँ सबैभन्दा ठूलो कमी छ सत्यताको, इमान्दारी र प्रवृत्तिको। समुदायको हित, समाजको कल्याण, राष्ट्र र विश्वको उपकार वा मानवमात्रको हित-कल्याणभन्दा पनि निजी स्वार्थ, एकदेशीय हितको प्रवृत्तिले व्यापकता पाएको हुन्छ यत्र-तत्र सर्वत्र! उदारता, महानताभन्दा सङ्कीर्णतामा, लघुतामा, सीमिततामा अलमलिन पुगेको देख्नुपर्दा दु:ख लाग्छ। यिनै कारणले गर्दा  कैयौँ महत्त्वपूर्ण अवसरहरू तुहिदै गइरहेका छन् त्यसको पत्तो नै हुँदैन उनीहरूलाई। समय बितिसकेपछि पछुतो गर्ने बानी परिसकेको भान पर्छ। एउटा अवसर गुम्नुको अर्थ हो पट्यारलाग्दा धेरै दिनहरूको प्रतिक्षा गर्नु पर्ने अवस्थाको सूत्रपात स्वयं आफैले गर्नु। फेरि यो पनि छ कि त्यस्तो अवसर पुन: आउने हो कि होइन के पत्तो?
दूरदर्शिता नेतृत्व गर्न चाहनेहरूको गुण हुन सक्नुपर्छ। भावना, आवेश र इच्छामा होइन उदेश्य र लक्ष्यनिर्दिष्ट भएर अगाडि बढ्न सके मात्र सफलता हात पर्न सक्छ भन्ने कुरा बुझ्न उनीहरू पछि परे भने जितबाट उनीहरू कोसौकोस टाढा हुने कुरा घाम जत्तिकै टड्कारो छ। सबैप्रति समान व्यवहारका साथै  मेरो,  उसको, हाम्रो होइन ‘राम्रो र असल भन्ने आत्मीय भावनाको अनुभूति नेतृत्व गर्नेहरूको आस गरेर बस्नेहरूले पाउन सके भने मात्र नेतृत्वको वाहवाहती हुन्छ अन्यथा त्यो केहीछिनको पानीको फोकाजस्तो हुन पुग्छ। नेतृत्व गर्न चाहनेले सधैँ ध्यान दिनु पर्ने कुरा के छ भने उसको कार्यकाल वा समयको साक्षी कोही न कोही निश्चित रूपले हुने भएकोले भविष्यमा उसको नाम कसरी लियूँन भन्ने चाहने? मानिसले स्वीकारून् वा दुत्कारुन् के चाहने? कोही नेता वा नेतृत्व गर्न चाहनेले उसलाई स्वीकारून् भन्ने चाहने हो भने आजैदेखि त्यस्तो कर्म वा सुकर्ममा आफूलाई लगाउन कम्मर कस्नुपर्छ जसले इतिहासमा स्वर्णाक्षरले उसको नाम लेखियोस् र अनेकौँको लागि उदाहरणीय व्यक्तित्व बन्न सकियोस्। असल नेताले, समाजको हित, राष्ट्रको कल्याण र विश्वको वर्चस्व चाहने व्यक्तिले छान्ने नै यही हो। अरू त इतिहासको कालखण्डमा कति आए कति गए तिनको गन्तीको के साधी! यसैले सधैँ आवश्यकता असल नेताको, असल नेतृत्वको हुन्छ कसैले बुझ्नु नबुझ्नु आर्कै कुरा हो।

                                     *******
  



Monday, April 11, 2011

माथि उठ्न सक्नुपर्छ


                         
                                                     
              धेरैजसो मानिसहरूमा एउटा गलतफहमी छ त्यो हो परम्पराको नाउँमा अनेक कुडाकङ्कडहरूलाई समेटेर त्यसैलाई सर्वोत्तम ठानी जञ्जिरमा जकडिएर बस्ने कामै नलाग्ने बानी। यो संस्कृतिको नाममा पनि हुन सक्छ, धर्मको नाउँमा पनि हुन सक्छ, राजनैतिक वाद वा कुनै पनि दर्शनमा पनि यो लागू हुन सक्छ। केवल घर वा कोठाको चौघेरामा यो सीमित छैन। यो त यस्तो हो कि  जस्तो एकथरी मानिसहरू हुन्छन् घरमा जे-जति वस्तुहरू थुप्रिएर रहेको छ त्यसलाई काम लागे पनि काम नलागे पनि कहीँ न कहीँ थुपारेर राखिराख्ने कुनै वेला जरुर काममा आउँछ भनेर। यो ठीक हो तिनीहरूमध्ये कुनै वस्तु कुनै दिन काममा पनि आउला तर त्यसैको कारणले फोहर स्याहारेर स्याहारिनसक्नु भएको छ वा ठाउँ ओगटिरहेको छ भने बुध्दिमानी ती थुप्रिएर डङ्गुर बनेका सामानहरूमध्ये काम लाग्नेलाई राख्ने र नलाग्नेलाई मिल्काइहाल्ने वा बाँड्नु पर्नेलाई बाँडिदिइहाल्ने। यसो नगर्दा वर्षौ-वर्षदेखिका काम लाग्ने, काम नलाग्ने सामानहरू कुनै कुनामा थुप्रिएर बेकारमा ठाउँ ओगटिरहेका हुन्छन्। काम लाग्ने सामानहरू छन् भने कुनै फोहरको रासमा मिल्काइराख्नु यसै पनि त ठीक होइन। होइन र? धेरै मानिसको जीवनमा यस्तै भएको छ हामी त्यसलाई बुझ्नै प्रयास गरिरहेका हुँदैनौँ । त्यस्तै कुडाकङ्कटलाई नै मानौ सबैथोक हो, सर्वस्व हो भन्ने सम्झी त्यसैमा आसक्त भइरहेका हुन्छौँ मानौँ त्यसविना संसार चल्दैन, जीवनै चल्दैन र त्यसैको अनुसरण नै जीवनको लक्ष्य हो।
करिव-करिव यस्तै हो परम्परा भन्ने कुरा। जबसम्म राम्रोलाई चिनेर जोगाड गर्नेतिर लाग्दैनौँ र कसिङ्गरस्वरूपका विकृतिलाई पनि परम्पराको नाउँमा टिकाइराख्न प्रयत्न गरिरह्यौँ भने संस्कृति धमिलिन थाल्छ। संस्कृति धमिलिनुको अर्थ हुन्छ विकृतिले जरो गाड्दै जानु। विकृतिले स्थान पाउनुको अर्थ हुन्छ मानवीयताको पतन हुनु वा ह्रासोन्मुख स्थितिले टाउको उठाउनु।
धर्म, संस्कृति, परम्पराका नामका जति पनि पर्व-उत्सवहरू छन् के तिनलाई तपाईँले गहिराइपूर्वक कहिल्यै हेर्न प्रयास गर्नुभएको छ? छ भने पनि त्यसको विश्लेषण गर्न कत्तिको भ्याउनुभएको छ थाहा छैन। यदि छैन भने शान्तचित्तले ऊहापोह गर्नु होस् तलदेखि माथिसम्म, सुरुवातदेखि अन्तसम्म। त्यहाँ मात्र मानिसको सुख, सुविधा, मोजमज्जाको विचार गरिएको छ र पशुप्राणीमाथि अत्याचार, अन्याय, पीडा र उनीहरूको आँशु बहाएर मानिसले खुसी लिन खोजेका छन् भने सम्झनु होस् त्यो संस्कृति होइन त्यो त विकृति हो। जबसम्म कुनै पशुप्राणीको आँशु र मासुमा मानिसको जीवन खुसी हुने हो भने मानिसले प्राकृतिक खुसी र आनन्दको रसास्वादन गर्न पाएकै छैन भने हुन्छ। प्राकृतिक खुसीको के वयान गर्ने? मानिसको लागि नभई नहुने खुसी, आनन्द त प्राकृतिक हुनु पर्ने हो कसैलाई दु:ख नदिएर प्राप्त गरिने स्वाभाविक किसिमको। तर त्यसलाई पाउनेतिर मानिस कमैमात्र लागेको देख्छु। किन यस्तो भइरहेको छ देख्दा, सुन्दा अति दु:ख लाग्छ। संसारका सबैजसो धर्म-संस्कृतिमा यस्ता विषयहरूलाई सुरुमा महत्त्व दिइएको थिएन तर विस्तारै-विस्तार त्यहाँ पनि विकृति पसेर सरोबर हुने अवस्था आइरहेको जताततै देखिन्छ। जुन धर्म-संस्कृतिमा दया, माया, करुणा, परोपकार, अहिंसा छैन त्यस्तो धर्म-संस्कृतिलाई कसरी राम्रोको विशेषण दिन सकिएला! कसरी उत्कृष्ट भन्न सकिएला? यही व्यक्ति-व्यक्तिमा लागू हुन्छ।धर्म-संस्कृतिको नाममा पशुपक्षीमाथि हुने घोर अत्याचार, अनाचारप्रति कहीँ बोलिदैन, कहीँ सोचिदैन भने म त भन्छु त्यहाँ केही कमजोरी छ, स्वार्थ छ, मत्स्यन्याय लागू छ।
केहीलाई छोडेर संसारको जुनसुकै ठाउँमा होस् पर्व-उत्सव भन्नासाथ पशुप्राणीको दर्द, पीडा र तिनको मारकाट र उनीहरूको दशालाई नै मनोरञ्जन भनी जबसम्म बुझिरहिन्छ, सम्झिरहिन्छ  तबसम्म संसारमा चाहेको सुख,शान्ति र आनन्द प्राप्त हुँदैन भन्ने मेरो अन्तर्हृदयदेखिकै ठम्याइ छ। पशुहत्या र मारकाटको शैली फरक होला त्यत्ति न हो ! त्यसमा कोही रमून्, त्यसैलाई धर्म सम्झियून् र मोजमज्जा सम्झियून्, त्यसैलाई सुख किन नसम्झियून्। तर कोही ब्यूझिनै पर्छ। मानवताको खिल्ली उडिरहेको छैन? बुध्दि-विवेकसम्पन्न मानिसको लागि के त्यस्ता कार्य सुहाउँदा छन्? जबसम्म जसरी मलाई काट्दा दु:ख्छ भने अरूलाई कत्ति दु:ख्छ होला, पीडा हुन्छ होला भन्ने मनमा भाव आउँदैन र करुणा, दया, मायाको अनुभूति जाग्दैन तबसम्म बुध्दि-विवेकले काम गरिरहेको छ भन्न मिल्ला? तपाईँ के भन्नु हुन्छ? बहाना नबनाउनुस्। आत्मालाई साक्षी राखेर हृदयको आवाज बोल्नु हुन्छ भने तपाईँले भन्नै सक्नु हुन्न कि अर्कालाई दु:ख दिनु ठीक हो, मार्नु ठीक हो। आखिर तपाईँको हृदयको कुनै कुनामा ईश्वरको बास त छ नि!
कत्तिको मनमा परेको होला तिनको जन्म त मानिसको आहाराकै लागि भएको हो। पशुपक्षी मानिसको आहारा हुँदै होइन किनभने मानिस प्राकृतिक रूपले शाकाहारी प्राणी हो भन्ने कुराका अनेक प्रमाणहरू वैज्ञानिकहरूले दिनानुदिन प्रस्तुत गर्दै गइरहेका छन्।तपाईँ स्वयं पनि अनुभूति  गर्न सक्नु हुन्छ आफ्नै-अङ्गप्रत्यङ्ग, पाचनप्रक्रिया, सञ्चो-विसञ्चोका अनेक अनुभवहरूबाट। भोजनको आधारमा मानिस फ्रुगीबोरसभित्र पर्दछ।आउँदा दिनमा यस विषयमा अझ अनेक प्रमाणहरू आउने छन्। मासु खाएकै कारण अनेक किसिमका रोगहरूको शिकार मानिस भइरहेको प्रमाण पनि मानिसको लागि मांसाहार प्राकृतिक खाना होइन भन्ने प्रमाण हुन सक्तैन? कत्ति मानिसमा मासु र सागपात खानुमा के फरक छ भन्ने भ्रम छ। फल खानु र फुल (Egg) खानुमा जे भिन्नता छ त्यत्तिकै भिन्नता ती दुईबीचमा छ। सागपातमा चेतना त छ तर इन्द्रिय, मस्तिष्क र हृदयको अभावमा संवेदना छैन। सागपात नखाए मानिसलाई बाँच्न गाह्रो हुन्छ। बाँच्नकै लागि पनि खानु परेकोले आफूलाई चाहिने मात्राअनुसार स्वास्थ्यलाई हेरेर सागपात, फलफूल, अन्न खानु पाप होइन। फेरि कतिपय वनस्पतिको एक हाँगा छिमले त्यसैबाट अर्को हाँगा पलाउँछ, विरुवा मर्दैन। माछा-मासु खान नपाउँदा कोही मर्दैनन!  यसैले मानिसको लागि ती मूल आहार होइनन्। एकादेशको कथा सुनेर अब काम छैन।
ईश्वर! कस्तो अन्धकार!घोर अन्धकार! कसैलाई मारेर सुख प्राप्त भएको सम्झने कस्तो विचार! अझ कहीँ त त्यसैलाई धर्म सम्झने! यदि कसैलाई मारेर धर्म हुने भए पुण्य के होला? धर्म के होला? के कहिल्यै तपाईँले सोच्नुभएको छ? अरूलाई सोध्नुभन्दा पहिले गम्भीरतापूर्वक आफैले आफैलाई सोध्नु होस्।
हरेक समाजमा यही दशा छ। कुनै वेला कसरी जन्म्यो यस्तो कुपरम्परा थाहा छैन। त्यस्तो कर्म पाप होइन भन्न एउटा न एउटा आधार निकालिहाल्छन्। कर्मकाण्डमा पल्केकाहरू, उनीहरूको आसेपासे तथा व्यवसाय-व्यापार चलाउनेहरूको समूह यस्तो कृत्यलाई चोख्याउन र निरन्तरताको लागि पछि पर्दैपर्दैन। महावीरलाई गाह्रो भयो, गौतम बुध्दलाई गाह्रो भयो। रामानुजाचार्य, मध्वाचार्य, निम्वार्काचार्यलाई गाह्रो भयो। यस्तैगरी अरू धेरैलाई गाह्रो भयो। नसकेपछि एउटा सीमित मत, वाद र दर्शनमा सीमित भइदियो।  त्यस्तो कुपरम्परालाई साथ दिनेहरूले धर्मग्रन्थकै उदाहरण दिन बेर छैन। शास्त्र रच्ने को? मानिसै होइनन्? त्यसवेलाको आवश्यकतालाई हेर्दा त्यो ठीक थियो होला। अज्ञानता र अन्धकारमा अलमल्लिएको समाजमा तथा सत्तास्वार्थको लोभमा मद्य-मांसमा जनतालाई अल्मलाएर आफ्नो शासनसत्तालाई टिकाउन सबैभन्दा भरपर्दो तौरतरिका यही थियो। कुनै बखतका लागि तयार गरिएको व्यवस्था सधैँका लागि त्यही नै हुन्छ भनेर सोच्नु हुन्छ? कदापि हुँदैन। मानिस चलाख मात्र छैन धूर्त पनि छ।  ईश्वरलाई ढाल बनाएर, जसले सृष्टि ग-यो उसैलाई साक्षी राखेर विकृत परम्परालाई संसारभर प्रोत्साहन दिइएको छ। गहनतापूर्वक विचारै नगरी त्यसलाई हुबहु चलिरहेको यदि हेर्न चाहनेहरूको जमात बढिरहन्छ भने सम्झे हुन्छ विकृतिलाई अगाँलो हाल्न हामी लालायीत छौँ। यसरी संसार कति दिन चल्ला? ईश्वर त खान्छन् भने हामी त के भन्दाभन्दै मांसाहारीहरूको जमात बढ्दा विश्वमा द्वन्द्व, हिंसा, काटमार, असहनशीलता बढदैगएको प्रति हामी कत्तिको सचेत छौँ? जस्तो आहार उस्तै व्यवहार र विचार भन्ने कुरामा रहेको वैज्ञानिकतालाई नबुझेजस्तो गर्न हुने वेला छैन। आज विश्वमा देखिदैगएको संवेदनहीनताको  पराकाष्ठा त्यसैको प्रतिफल हो भन्न कत्ति हिच्किचाउनु पर्दैन। कुपरम्परासँग जोडिएको आर्थिक लाभले कुनै पनि सरकार र राष्ट्रलाई लोभको जालमा फसाइदिएको छ। फलत: तैँचुप-मैचुपको स्थिति देखिएको होइन? यही लोभले विश्वब्रह्माण्ड खतरामा पर्न गइरहेको छ। ब्रह्माण्डीय उष्णता त्यसैको परिणति हो। संसारमा देखिदैगएका अनेक थरी घातक रोगहरूको कारक तत्त्व नै माछा-मासु हो भन्ने बताउने कैयन् वैज्ञानिक शोधहरू साक्षीस्वरूप छन्।  
                      ईश्वर कसैको रगतको पिपासु छैनन् न उनी कुनै पशुपक्षीको भागल र वलिले नै खुसी हुने हुन्। ईश्वरलाई  खुसी तुल्याउने हो भने सद्कर्ममय, परसेवामा समर्पित, सात्विक जीवन जत्तिको उपयुक्त जीवन अरू छँदै छैन। सद्कर्म नै ईश्वरको साँचो अर्चना हो, पूजा हो। परसेवा नै यज्ञ हो भन्ने दृष्टिकोणले जीवनलाई अगाडि बढाउन सक्यौँ भने जीवनमा महकता आउन थाल्दछ। जीवनमा प्राप्त हुने प्राकृतिक एवं स्वाभाविक खुसी र आनन्दको रसास्वादन तब खिल्न थाल्दछ। आफ्नो तर्फबाट प्राणीमात्रप्रति मन,वचन, कर्म कुनै पनि दृष्टिकोणले कत्ति पनि दु:ख, कष्ट नपु-याएर आफू पनि बाँचौँ, अरू पनि बाँचून् भन्ने सिध्दान्तलाई आत्मसात् गर्न सकियो भने त्यो जत्तिको सर्वोत्कृष्ट जीवन कुनै हुनै सक्तैन। यही जीवनको पूर्णता हो। सम्पूर्ण सद्शास्त्र, आचार्य, गुरु, साधु, सन्त, महात्मा, असल धार्मिक व्यक्तित्वहरूको जीवनको निष्कर्ष नै त्यही हो तर यसलाई जति समाजमा प्रचार-प्रसार गर्नुपर्थ्यो त्यो हुन नसक्दा संसार अन्धकारमा अलमलिएको छ। साँचो कुरा गर्दा कोही रिसाउँछन् कि भन्ने कसैलाई पीर छ, कसैलाई आउने भेटी अन्यत्र पो जान्छ कि भन्ने डर छ, कसैलाई आफ्नो शिष्यको जमात अरूतिर पो गइदिन्छन् कि भन्ने भय छ। राजनीतिमा लाग्नेहरूमा त अझ आफ्नो भोट काटिएला कि भन्ने चिन्ता पनि हुन्छ जसले गर्दा जीवन यसरी नै चल्ने मेला हो चल्दै जाओस् के फरक पर्छ भन्ने विचारको कारण पनि विश्वमै विकृतिहरू फैलिँदा पनि त्यसप्रति बोल्नेहरूको साहसमा कमी देखिन्छ। तर साँचो जीवनलाई आत्मसात् गर्ने हो, शान्ति, सुख, समृध्दि, अहिंसाको प्रतिष्ठापन गर्ने हो र आनन्दलाई प्राप्त गर्ने हो भने अहिले जहाँ छौँ त्यसबाट माथि उठ्नै पर्छ नउठी त्यो सम्भवै छैन। अझ आश्चर्यको साथै दु:ख त कहाँनिर लाग्छ भने पशुपक्षीको वलि, भागल गर्दै पनि रहने, आहार-विहारमा कुनै शुध्दाशुध्दिको ख्याल पनि नगर्ने अनि मठ-मन्दिर, तीर्थ, व्रत गर्नेहरूको भीड बढ्दा धार्मिक व्यक्तिहरूको बढोत्तरी हुँदैछ भन्ने जस्ता विचार, धारणा र खबरहरू आउँदा यथार्थताभन्दा आजको समाज सतही कुरामा अल्मलिन लागेकोमा चिन्ता लाग्छ। हिंसक पशुपक्षीबाट भन्दा पनि मानिसबाट मानिसै डराउनु पर्ने अवस्थाको सूत्रपातको जड कतै यसैभित्र नजानिदो तवरले छिपेको त छैन खोज्नुपर्ने समय आइसकेको छ। यसैले अन्धकार, अज्ञानता, मोहान्धताबाट माथि उठ्न आजैदेखि प्रयत्न गरौँ सम्भव छ, जरुर सम्भव छ, उठौँ, जागौँ। सबैमा यस्तो ऊर्जाशक्ति छ कि आँटेदेखि सम्भव नहुने कुनै कुरा छैन। अन्धकारबाट प्रकाशतिर अभिमुख होऔँ।
                                 ************




Sunday, March 27, 2011

समस्याभित्रै हुन्छ समाधान



                                                                                 

मानिसहरू कति यस्ता हुन्छन् कि समस्याको जञ्जालमा फसिन्छ कि भन्ने सम्भावित कारणले कतिपय राम्रा-राम्रा अवसरहरू प्राप्त हुँदा पनि त्यसलाई अजमाउनपट्टि नलागी त्यसबाट भाग्ने प्रवृत्तिले ग्रस्त हुन्छन् जसको कारण उनीहरूको लागि मानौँ अवसरहरू फेरि कहिल्यै पनि आउँदैन कि जस्तो भइदिएको हुन्छ। किनभने प्रत्येक पटक उनीहरू समस्यामा पो अल्झिने हो कि भनी डराएका हुन्छन्, अत्तालिएका हुन्छन्। समस्या नभएको, समस्या नआउने भनी पहिले नै थाहा पाइएको कुनै काम हुन्छ र? यसो हो ता पनि यो गूढ कुरा कत्तिले बुझ्नै पाएका हुँदैनन्।यसैले गर्दा समस्याविनाको अवसरको खोजीमा धेरै मानिसहरू भौतारिरहेका हुन्छन्। जस्तोसुकै समस्या आओस् त्यससँग म जुध्न तयार छु, सामना गर्न तत्पर छु, चुनौतीलाई आत्मसात् गर्न अघि सर्छु  भनी सम्झने हो भने अवसरहरू परिचय नदिई आउँदा पनि अवसरलाई सजिलै छोप्न सकिन्छ।अवसरले कसैलाई खोजेर हिँड्दैन ब्यक्तिले नै चिन्न सक्नुपर्छ। धेरैजसो मानिसको स्वभाव कस्तो हुन्छ भने कुनै अवसर अघिल्तिर आएको छ भने पनि तात्कालिक फाइदालाई हेरेर अस्वीकार गरिदिने बानी परिसकेको हुन्छ। वर्तमानमा आएको अवसरलाई छोपेर त्यसलाई इमान्दारीपूर्वक, जिम्मेवार ढङ्गले सम्पन्न गर्नेतिर लाग्दै जाने हो भने यो निश्चित छ कि भविष्यमा त्यसैले उसलाई पद,प्रतिष्ठा, सम्पत्ति दिलाउन सक्छ वा चाहेको कुरा उपलब्ध गराउन मद्दत गर्न सक्छ तर दूरदृष्टिको कमीका कारण मानिस त्यसलाई बुझ्नै सकिरहेका हुँदैनन्।
कुनै पनि समाजमा अवसरहरू यत्तिविधि छन् कि त्यसलाई खै के भन्ने! चिन्नु पर्नेले नचिनेपछि के लाग्छ? हिजोआज कतिपय, अविकसित एवं अल्प विकसित मुलुकहरूबाट कामको खोजीको सिलसिलामा सात समुद्रपारिका देशहरूमा आफ्नो भएको घरबार, परिवार, कुलकुटुम्ब, समाज एवं देशैलाई छोडेर अनेक किसिमको दु:ख-कष्ट झेल्दै कमाउने नाममा ज्यानै फालेर हिँडेको अवस्था के त्यही अवसरलाई चिन्न नसकेर आएको होइन? आफ्नो थातथलीमा पाइला-पाइलामा असर्फी र हीराका टुक्राहरू छरिएका छन्, यत्रतत्र अवसरै-अवसर छन् तर त्यसलाई अजमाउनेपट्टि थोरै व्यक्तिहरू मात्र लाग्छन्।अरू त अवसरको खोजीमा भौतारिँदा-भौतारिँदै आधा जीवन या पूरै जीवन समाप्त गर्न पुग्छन्। विदेश जानेले पनि त्यत्तिखेर बुझ्छ कि जब समय ढल्किसकेको हुन्छ वा थातथलीमा रहेको आफ्ना कुनै साथी-सङ्गीले उन्नति गरेर चकाचौध गरेको सुनेपछि वा बुझेपछि झल्यास्स हुन पुग्छ कि उसको जीवन व्यर्थैमा बित्यो भन्ने कुरा।
ईश्वरले भन्नु होस् कि प्रकृतिले, जेसुकै भन्नु होस् मानिस अति  भाग्यमानी छ कि पृथ्वीमा जताततै रत्नका खानी, खनिजका खानी, इन्धनको खानी, पानीको स्रोत र अन्यान्य कैयन् किसिमका किमति र अमूल्य भण्डारले भरिदिनुभएको छ। तिनको प्रयोग मानिसबाहेक अरूले गर्न सक्ने अवस्था छैन। त्यसको लागि चाहिने ज्ञान, परखशक्ति र उपयोग मानिसले मात्र गर्न सक्छ। यति हुँदा पनि मानिस ईश्वरलाई गाली गर्न, आफ्नो भाग्यलाई दुत्कार्न पछि पर्दैन कस्तो विडम्वना! किस्मतलाई विश्वासै नगर्ने नराम्रो बानीले मानिसलाई यसरी गाँजेको छ कि खै के भन्ने यथार्थ सत्यलाई पनि ऊ दुत्कारिरहेको हुन्छ।
अल्छी र नकारात्मक सोचाइ भएको ब्यक्तिले जताजतै समस्याको खातैखातमात्र देख्दछ जब कि पौरखी र सकारात्मक सोचाइ भएको ब्यक्तिले समस्याभित्र पनि समाधानको सूत्र फेला पार्दछ।समस्यासँग डराउनु पर्ने कुनै कारणै छैन किनभने हरेक समस्याको गहिराइमा समाधान हुन्छ, हुन्छ। यसो भनेर जे पायो त्यही गरेर हिँड्न वा जे पायो त्यही गर्न छुट रहेछ भन्ने सम्झनुचाहीँ ठूलो गल्ती हुने छ।समस्याभित्रको समाधानलाई पहिल्याउन नसक्दा मानिस अनेक थरी सङ्कटमा फस्न पुग्छ।आफूले समाधान दिन सक्ने कुरालाई आफैमाथि विश्वास नभएर ऊ पराइको खोजीमा हुन्छ। यसलाई विडम्बना नभनेर के भन्ने? यो व्यक्ति, सङ्घसंस्था, राजनीतिक पार्टी, राष्ट्र-राष्ट्रबीच सर्वत्र व्यापक छ भनिदिए हुन्छ।
संसारमा व्यक्ति-व्यक्तिबीच, सङ्घसंस्थाबीच, पार्टी-पार्टीबीच, राष्ट्र-राष्ट्रबीच अनेकौँ पेचिला देखिने समस्या हुन सक्छन्। यस्तो हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहने छ त्यसमा कत्ति शङ्का छैन। तर जिम्मेवार भएर संवाद, वार्ता, छलफल गर्ने हो भने कुनै यस्ता समस्या हुँदैनन् जसको समाधान नहोस्! राजनैतिक, सामाजिक, धार्मिक, आर्थिक आदि जे-जस्ता विषयका पेचिला समस्या किन नहुन् तिनको कहीँ न कहीँ मिलनबिन्दु हुन्छ। समस्यालाई चर्काएर राख्नुभन्दा समयमै मिलनबिन्दुको खोजी गरी समाधानको बाटो पहिल्याउनु बुध्दिमत्तापूर्ण सही कदम हुन्छ।
अवसर भनेको प्रकारान्तरले समयलाई चिन्नु भन्ने पनि हुन्छ। समय बहुमूल्य छ। समयलाई कुनै हालतमा खेर फ्याल्नु हुँदैन। समयलाई सहीरूपले पहिचान गरी उपयोग गर्न जानेनौँ भने पछुताउनुबाहेक केही हात लाग्दैन।बितेको समय गयो, गयो फर्केर आउँदैन।
अवसरलाई कुरेर बस्नेहरू भौतिक उत्कर्षको बाटोलाई मात्र अवसर सम्झेर भूलभुलैयामा अल्मलिरहेका हुन्छन्। साच्चै भन्ने हो भने भौतिक उत्कर्षमात्र विजय होइन न मानिसको जीवनको लक्ष्य नै। अवसर त आफूमाथि आफैलाई जित्नुमा छ। दुर्गुण, कुलत, लालसा, ईर्ष्या, लोभ, अहंता, हिंसामाथि विजय हासिल गर्नुमा हुन्छ। भोगवासना तथा कामवासनाहरूको वशीभूत कतै हुनु छैन।तिनीहरूलाई पूर्ण निग्रहमा राखी सधैँ एउटा उच्च आदर्शलाई अगाडि राखेर निष्ठा, आस्था एवं इमान्दारीसाथ निरन्तर अग्रसर हुन सकियो भने एक दिन निश्चय नै लक्ष प्राप्त हुन्छ त्यो नै वास्तविक विजय हो।
मानिसमा गल्ती कहाँनिर हुन्छ भने समस्या आउँदा त्यो कसरी, किन आयो भन्नेतिर वा त्यसैभित्र समाधान छँदै छ भन्ने कुरामा नलागी अन्यत्र वाह्य कुरा, जहाँ समाधानको किञ्चित पनि सम्भावना छैन, त्यसमा अल्मलिन पुग्छन् जसको परिणती हुन्छ समस्यै समस्याको टुङ्ग्याउनै नसकिने खात।देखिएको  समस्यालाई जतिसक्दो चाँडो समाधान गर्नेतिर लाग्नु बुध्दिमानी हुन्छ। कुनै पनि समस्याले मन हुँदै मुटु र मष्तिस्कका साथै पूरै शरीरलाई समस्याग्रस्त तुल्याउँदै अन्तत: रोगग्रस्त बनाइदिन्छ।चिन्ता यस्तो डरलाग्दो हुन्छ कि यसले मानिसलाई चितामा पु-याइदिन्छ।
समस्या विभिन्न कारणले आउँछ त्यसमा मुख्यत: - (१) वाह्य र (२) आन्तरिक हुन्छन्। दुवै उस्तै खतरनाक हुन्छन् परिणाममा।समस्याको स्वभाव गजबको हुन्छ यसले कसैलाई निहोरा गर्दैन। कुनै धनाढ्य ब्यक्तिको लागि करोड रुपैयाँको आवश्यकताले जस्तो चिन्ताग्रस्त तुल्याएको हुन्छ गरिब ब्यक्तिको लागि पचास रुपैयाँ वा त्योभन्दा पनि सानो रकम-कलमले चिन्ताग्रस्त बनाइदिन्छ। यसैले समस्या सबैको लागि बराबरी बनेर अघिल्तिर आएको हुन्छ।
ज्यादात्तर समस्यालाई मानिस आफैले बनाएको हुन्छ, जन्माएको हुन्छ त्यसमा पाइन लगाइएको हुन्छ लोभ र स्वार्थको। बस अनि के चाहियो! एकैछिनमा तिल पहाड बनेर सामु आउन बेर मान्दैन। हरेक समस्याको पछाडि यही लोभ र स्वार्थले आफ्नो काम गरिरहेको हुन्छ। त्यसमा पछि गएर त के के थपिन्छन् के के तिनको के साधी! त्यसैमा जोडिन आइपुग्छ लालच, ईर्ष्या, स्वार्थ, मोह आदि आदि। एक ब्यक्ति वा एक दल वा एक देशको स्वार्थले कैयौँलाई दु:ख-कष्ट पु-याइरहेको हुन्छ तैपनि त्यसलाई सहिरहनुपरेको विडम्वनापूर्ण अवस्थाको चुरीफुरी तपाईँ सर्वत्र देख्नु हुन्न? यी दुई जुम्ल्याहा स्वार्थ र लोभलाई त्यागिदिने हो भने संसारमा समस्या तीन चौथाइ नै घटेर जानेछ त्यसलाई अरूले भन्दा पनि तपाईँ आफैले व्यवहारमा उतारेर हेर्नुस् त त्यसको परिणाम कुर्न धेरै महिना, वर्ष कुर्नु नै पर्दैन तत्काल भेट्टाइनेछ। ती दुईलाई छोडिदिएको घडीमै अपार आनन्दको अनुभूति पाउन थालिहालिन्छ।विवाद सौहार्दतामा परिवर्तन हुन्छ, समस्या समाधानमा रूपान्तरित हुन पुग्छ, अशान्ति शान्तिमा बदलिन्छ, दु:ख-कष्ट सुखमा परिवर्तन हुन समय नै लाग्दैन। 

                                **********





Tuesday, March 1, 2011

महाशिवरात्रि पर्व : महत्त्व र महिमा


                                                  
                                                           
         नेपालमा महाशिवरात्रि पर्व प्रत्येक वर्ष फाल्गुन कृष्णपक्षको चतुर्दशीमा धुमधामले मनाइन्छ।धार्मिक-आध्यात्मिक जागरणको साथसाथै यसै दिन टुँडिखेलमा बढाइँका साथ सेनादिवसको रूपमा पनि मनाइने गरिएकोले शिवरात्रि पर्वले राष्ट्रिय पर्वको रूप ग्रहण गर्न पुगेको छ।आराध्यदेव भगवान् श्रीपशुपतिनाथप्रतिको यो एक किसिमले आराधना र सम्मान पनि हो भन्दा अत्युक्ति हुँदैन। महाशिवरात्रि पर्व भगवान् शिवको आराधनाको प्रमुख दिन हो। त्यसो त भगवान्‌को पूजा-आराधनालाई खास कुनै दिन कुरेर बस्नु पर्दैन।प्रत्येक पल,प्रत्येक क्षण असल कार्यको लागि शुभमूहुर्त हुन् भनिन्छ र वास्तवमा यो हो पनि। शिवतत्त्वको चर्चा गर्दै जाँदा शास्त्रहरूमा जसमा सारा जगत् शयन गर्दछ, जो विकाररहित छ उही शिव हो अथवा जो अमङ्गलको ह्रास गर्दछ उनै सुखमय, मङ्गलमय भगवान् शिव हुन्; जो सारा जगत्‌लाई आफूमा लीन गर्दछ उनै करुणासागर भगवान् शिव हुनुहुन्छ; जो भगवान् नित्य, सत्य, जगदाधार, विकाररहित, साक्षीस्वरूप छ उनै शिव हो भनेर यत्रतत्र सर्वत्र चर्चा-परिचर्चा गरिएको पाइन्छ।
भगवान् शिवको गुणगान गाइएका अनेक मन्त्र र स्तुतिहरू वेद, उपनिषद्, रामायण, महाभारत, पुराणलगायत   परवर्ति साहित्यहरूमा समेत अत्यधिक मात्रामा पाइन्छ।भगवान् शिवको स्तुतिगानको लागि प्रशिध्द शिवमहिम्नस्तोत्रमा विद्वान् पुष्पदन्तले यसरी श्रध्दा-भक्ति दर्शाएका छन् –
त्रयी साङ्ख्य योग: पशुपतिमतं वैष्णवमिति।
प्रभिन्ने प्रस्थाने परमिदमद: पथ्यमिति च।।
रुचिनां वैचित्र्यादृजुकुटिलनानापथजुषां।
नृणामेको गम्यस्स्तमसि पयसामर्णव इव।।

महासमुद्ररूपी शिवजी नै एक अखण्ड पर-तत्त्व हुनुहुन्छ; उहाँ सर्वव्यापक र सर्वशक्तिमान् हुनुहुन्छ, उहाँ व्यक्त-अव्यक्त रूपले क्रमश: सगुण ईश्वर र निर्गुण ब्रह्म कहिनुहुन्छ तथा उहाँ परमात्मा, जगदात्मा, शम्भव, मयोभव, शङ्कर, मयस्कर, शिव, रुद्र, पशुपति आदि अनेकौँ नामले सम्बोधित हुनुहुन्छ। भगवान् शिव वर्णनातीत भएर पनि अनुभवगम्य हुनुहुन्छ। उनै आशुतोष भक्तहरूलाई आफ्नो आश्रयमा लिनु हुन्छ, उनै त्रिविध तापलाई शमन गर्नेवाला हुनुहुन्छ, उनैबाट समस्त विद्या एवं कला निक्लेको छ, उनै वेद तथा प्रणव अर्थात् ‌ओमकारको उद्‌गम हुनुहुन्छ, यसैलाई वेदले नेति नेति भनेको छ। उनै नित्याश्रय एवं अनन्ताश्रय हुनुहुन्छ तथा उहाँ नै दयासागर एवं करुणावतार हुनुहुन्छ। शास्त्रहरूसमेत उहाँको महिमाको सम्पूर्ण वर्णन गर्न  असमर्थ छन् त्यस्ता भगवान् शिव वा पशुपतिनाथको मन्दिर युगौँयुगदेखि नेपालमा रहनु नेपालीहरूकै सौभाग्य हो। महाशिवरात्रि पर्वको दिन जहाँ-जहाँ भगवान् शिवको मूर्ति, शिवलिङ्ग तथा मन्दिर छ त्यहाँ-त्यहाँ भव्यरूपले पूजा-आजा सम्पन्न गरिने चलन धार्मिक आस्थावानहरूमा छ।काठमाडौँको देवपत्तनमा रहेको भगवान् श्रीपशुपतिनाथको मन्दिरको दर्शन-पूजनको लागि लाखौँ भक्तजनहरू देश-विदेशबाट आउँछन्। नेपालमा मनाइने महाशिवरात्रिको केन्द्रबिन्दु यही विश्वप्रसिध्द मन्दिर रहने गरेको छ।
शिवरात्रिमा पूजा, उपवास र जागरणलाई महत्त्व दिइएको पाइन्छ। अधिकांश पूजा-आजा दिनमा हुन्छ तर भगवान् शिवको पूजा यस दिन रात्रिको समयमा हुन्छ किन? यो धेरैको मनमा आइरहने जिज्ञासा हो। यो थाहा भएकै कुरा हो कि भगवान् शङ्कर संहारशक्ति तथा तमोगुणका अधिष्ठाता हुनुहुन्छ। अत: तमोमयी रात्रिसँग उहाँको स्नेह रहनु स्वाभाविक हो। रात्रि आनन्ददायीको साथसाथै संहारकालको प्रतिनिधि पनि हो। रात्रिको आगमन हुनासाथै सर्वप्रथम प्रकाशको संहार हुन्छ, जीवहरूको दैनिक कर्मचेष्टाहरूको संहार, इन्द्रियहरूको सामर्थ्यको संहार तथा अन्तमा निद्राद्वारा चेतनताको संहार भएर सम्पूर्ण विश्व संहारिणी रात्रिको काखमा अचेतन भएर लुटपुटाउँछ। यस स्थितिमा प्राकृतिक दृष्टिले शिवलाई रात्रि प्रिय हुनु स्वाभाविक एवं हृदयङ्गम लाग्छ। यसै कारण भगवान् शङ्करको आराधना रात्रिमा मात्र होइन प्रदोष (साँझ पर्दा) मा समेत गर्ने प्रचलन छ। प्रत्येक महिनामा पर्ने कृष्ण चतुर्दशी सबै नै शिवरात्रि हुन् तर फाल्गुन महिनामा पर्ने कृष्ण चतुर्दशीको विशेष महत्त्व भएकोले यस दिनलाई महा विशेषण जोडेर महाशिवरात्रि नामले पुकारिन्छ। क्षयपूर्ण तिथि (अमावास्य) को दुष्प्रभावबाट बच्नको लागि त्यसको एक दिन अगाडिको चतुर्दशीको दिन भगवान् शिवको उपासना गरिएजस्तै वर्षको अन्तिम महिना आउनुभन्दा अगाडि नै महाशिवरात्रिको रूपमा पूजा-अर्चना गर्ने विधान शास्त्रमा पाइन्छ। सोझो अर्थमा भन्ने हो भने वर्षको उपान्त्य महिना, त्यसमा पनि त्यस महिनाको उपान्त्य रात्रिमा महाशिवरात्रि पर्व पर्दछ। यसको साथै प्रकृतिमा उजाड र शुष्क बनाउने प्रकृतिको संहारकारी रूप यसै महिना देखिन्छ। कतै शिवको रौद्र रूप देखिएको त होइन जस्तो लाग्दछ जहाँ बन-वृक्षमा पातहरू झरेर नाङ्गो भएको, वनस्पति जगत् नै मुर्झाएको हो कि जस्तो भान पर्दछ।रात्रिपछि बिहानी भएजस्तो महाशिवरात्रिपछि मानौँ प्रकृतिले ऊर्जा प्राप्त गर्छिन्। फलत: बन-कुञ्जहरूको मुहार फेरिन सुरु गर्छ, रूख, विरूवामा फूलका कोपिलाहरू देखिन थाल्छ र भिन्नै महकता दृश्यमान् हुन थाल्छ। शिशिरकालिक शुष्कताले परिवर्तनको काँचुली फेर्छ।शिवको एकादश रुद्रको सङ्ख्यात्मक स्वरूपको पनि प्रतिनिधित्व गरेको छ महाशिवरात्रिले। किनभने फाल्गुन महिना एधारौँ महिना हो।शिवरात्रि व्रतलाई भुक्ति र मुक्ति दुवै मिल्ने व्रतको रूपमा शास्त्रहरूले लिएका छन्।
महाशिवरात्रिको सुरुवात कसरी भयो भन्ने सम्बन्धमा ईशानसंहिताको एक ठाउँमा फाल्गुनकृष्णचतुर्दशीको महानिशामा आदिदेव महादेव कोटि सूर्यको समान दीप्तिसम्पन्न भई शिवलिङ्गको रूपमा आविर्भूत हुनुभएथ्यो। अतएव शिवरात्रि-व्रतमा त्यही महानिशाव्यापिनी चतुर्दशीको ग्रहण गर्नुपर्छ भनी बताइएको छ। यसप्रकार शिवलिङ्ग रूपमा पृथ्वीमा पहिलो पटक आभिर्भूत भएको दिनलाई शास्त्रहरूले महाशिवरात्रिको रूपमा  ग्रहण गरेको पाइन्छ।
व्रतहरूमा शिवरात्रि महाव्रत वा व्रतराजको रूपमा लिने प्रचलन हिन्दु धर्मावलम्बीहरूमा छ। व्रतको अर्थ सर्वसाधारणले अन्नग्रहण गर्ने वा नगर्नेलाई मात्र लिने गरेका छन्। वास्तवमा व्रतको अर्थ आत्मिक उन्नति वा सम्पन्न गरिने कर्मद्वारा ईश्वरानुभूतिको अवसरलाई प्राप्त गर्ने अभूतपूर्व क्षण हुनु पर्ने हो। तर व्यवहारमा कस्तो भइरहेको छ त्यो स्वयं व्यक्ति-व्यक्तिले सम्झने कुरा हो।यस दिन नित्यकर्मबाट निवृत्त भई स्नानपश्चात् भगवान् शिवको ध्यान, जप, उनको गुणगान, श्रवण तथा परहितलायकका सुकर्महरू गरी कालयापन गर्नु नै उपासना हो।केवल भोको बसेर, अन्न नखादैमा उपवास हुने होइन।
रात्रिमा जागरण महाशिवरात्रिको अर्को महत्त्वपूर्ण पक्ष हो।श्रीमद्‌भगवत्‍गीतामा भनिएको छ-
या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी।
यस्यां जाग्रति भूतानि सा निशा पश्यतो मुने:।।

अर्थात्, सबै प्राणीहरूको अर्थात् विषयासक्त संसारी जनहरूको लागि जुन रात हुन्छ त्यसमा संयमी व्यक्ति जागेका हुन्छन्। आत्मदर्शनविमुख प्राणिगण जुन जगदावस्थामा जाग्दछन् मनीषी, आत्मदर्शननिरत योगीको लागि त्यो रात हो। अत: स्पष्ट छ कि विषयासक्त जसमा निद्रित छ त्यस अवस्थामा संयमी प्रबुध्द हुन्छ।यसैले महाशिवरात्रिमा जागा रहनुलाई महत्त्व दिइएको हो।यसर्थ शिवपूजाको वास्तविक अर्थ पुष्पचन्दन, विल्वपत्र श्रध्दासाथ अर्पित गरेर शिव नामको जप-ध्यान गर्नु एवं चित्तवृत्तिलाई निरोध गरेर जीवात्मालाई परमात्मा शिव को साथ योग गर्नु हो। जीवात्माको आवरणविक्षेप हटाएर परतत्त्व शिव को साथ एकीभूत हुनु  नै वास्तविक शिवपूजा हो। यही जीवनको ध्येय हुनुपर्छ भनेर शास्त्रहरूले बताएका छन्।
भगवान् शङ्करलाई पुराणहरूमा सम्पूर्ण विरोधी भावहरूको अनुपम सामञ्जस्य स्थापन गर्ने ईश्वर तत्त्वको रूपमा चित्रित गरिएको पाइन्छ। यस्तो अद्‌भुत समन्वय जसको जीवनमा छ साँच्चै भन्ने हो भने उही व्यक्ति निन्दा-स्तुतिमय हलाहललाई पचाएर अमरत्वको लाभ गर्न सक्छ। शिव नारीश्वर हुनुहुन्छ परन्तु उहाँजस्तो कामविजेता पाउन सकिन्न। उहाँ गृहस्थ भएर पनि गृह-स्थ हुनुहुन्न। श्रीकण्ठ भएर पनि श्रीभन्दा धेरै टाढा हुनहुन्छ, ऋध्दिसिध्दिको स्वामी भएर पनि त्यसबाट पराङ्‌मुख, उग्र भएर पनि सौम्य र अकिञ्चन भएर पनि सर्वेश्वर हुनहुन्छ। भयङ्कर विषधर र सौम्य सुधाकर दुवैले उहाँको शरीरको शोभा बढाएका छन्। मस्तकमा प्रलयकालिक वह्नि र शिरमा हिमशीतल जाह्नवीधारा उनको अनुपम श्रृङ्गार हो। उहाँको घरआगँनमा नन्दी वृषभ र दुर्गावाहन सिंह साथसाथ बस्छन्, पारिवारिक सदस्य मयूर र सर्प वैरलाई बिर्सेर खेल्छन्। न्याय र आदर्शको कत्रो आदर्श चित्र छ यो, जसलाई भगवान् शङ्करले विविध विषमताहरूले त्रस्त एवं विकल विश्वको सामु उदाहरण प्रस्तुत गरिदिनुभएको छ। विभिन्न विचारधारा, वाद, मतबीच प्रतिदिन चल्ने लडाइँ-झगडाले त्रस्त संसारको लागि सहअस्तित्व को यो जस्तो उदाहरण के हुन सक्छ? महाशिवरात्रिको अवसरमा लिनु पर्ने, आत्मानुभव गर्ने  नै यस्तै आदर्श र जीवनदायिनी विषयहरू हुन्।     
महाशिवरात्रिको दिन पशुपतिनाथको मन्दिरमा षोडशोपचारसहित भव्यरूपले पूजाअर्चना हुन्छ। साथै रात्रिको प्रथम प्रहरमा दूधद्वारा ईशान मुहारको, द्वितीय प्रहरमा दहीद्वारा अघोर मूर्तिको, तेस्रो प्रहरमा घ्यूद्वारा वामदेव मुहारको तथा चौथो प्रहरमा सद्योजात मुहारको स्नान गरिने प्रचलन छ।यस दिन पशुपतिनाथको दर्शन गर्न स्वदेश तथा विदेशबाट भक्तजनहरूको बिहान सबेरैदेखि भीड लाग्दछ। वैरागी, उदासी, सन्न्यासी, नागा आदि विभिन्न सम्प्रदायका साधु-सन्त, योगी, भेषधारी जोगीहरू पनि महाशिवरात्रिका लागि टाढा-टाढाबाट आइपुग्छन्। महाशिवरात्रिलाई भोग र मोक्ष दिने पुण्यदायक पर्वको रूपमा लिइएको पाइन्छ। शिवपुराणमा भगवान् विष्णुले एक पटक भगवान् शिवलाई कुन व्रतबाट उहाँ भक्तजनहरूलाई भोग र मोक्ष एकसाथ प्रदान गर्नु हुन्छ भनी सोध्दा भगवान् शिवले दश वटा व्रतहरूको नाम लिनुभएकोमा शिवरात्रिलाई अत्यधिक महत्त्व दिँदै भोग र मोक्ष चाहानेले शिवरात्रिको व्रत बस्नु योग्य छ भनी बताएको प्रसङ्गको चर्चा पाइन्छ। त्यहाँ गुरुद्रुह नाम गरेको एक जना ब्याधाले अञ्जानमै भगवान् शिवको पूजा-अर्चना गर्दा उसको जीवनमा आएको परिवर्तनको कुरालाई पनि उल्लेख गरिएको पाइन्छ। अञ्जानमा पूजा गर्दा त दिव्य ज्ञान पाउन सकिन्छ भने जानेर, बुझेर उहाँको पूजा-अर्चना गरियो भने के पाइदैन ? भन्ने कुराको सङ्केत त्यहाँ दिन खोजिएको पाइन्छ।
वि.सं. २००७ साल अघिसम्म नेपाल भारतीयसमेतको लागि जुन पायो त्यही बेला प्रवेश गर्न नपाउने राष्ट्रको रूपमा थियो। शिवरात्रिकै अवसरमा मात्र  सात दिनको लागि उनीहरूलाई प्रवेश सुविधा थियो। आठौँ दिनमा सीमा कटिसक्नु पर्थ्यो। यस कारणले पनि होला महाशिवरात्रिको अवसर पारेर साधु, सन्त तथा राजा, रजौटा, विद्वान्, नटुवा, जोगी, चटके तथा सर्वसाधारणहरू पनि ठूलो सङ्ख्यामा आउँथे। त्यस अवधिमा वेदान्तको चर्चा चल्थ्यो। ठाउँ-ठाउँमा भजन-कीर्तनको आयोजना हुन्थ्यो। महाशिवरात्रि पर्व भनेको राष्ट्रिय प्रतिष्ठासँग जोडिएको पर्व मानिन्थ्यो। श्रध्दालु भक्तजन, दर्शनार्थीहरूको सुविधाका  लागि ठाउँ-ठाउँमा आवास-भोजन, सदावर्तको विशेष व्यवस्था गरिएको हुन्थ्यो।त्यसवेला महाशिवरात्रिको दुइ-तीन दिन अगाडिदेखि नै वीरगञ्ज, अमलेखगञ्ज, भीमफेदी, मार्खु आदि गाउँहरूमा आवासको निमित्त पाल, भरिया र डोलेहरूको व्यवस्था हुन्थ्यो। साथै उनीहरूको निमित्त आवश्यक पर्ने औषधि एवं कम्पनी/भारु सटहीको व्यवस्था पनि हुन्थ्यो। डोले, भरियाहरूले सरकारले तोकेभन्दा बढी  भाडा लिन पाउँदैनथिए। यात्रुहरू नठगियूँन भनी ठाउँ-ठाउँमा त्यसको रेखदेख गर्ने व्यवस्था थियो। साधु-सन्त, महात्मा एवं सर्वसाधारणले कुनै किसिमको दु:ख नपाऊन् भनी सतर्कता अपनाइएको हुन्थ्यो। विभिन्न गूठीहरू- राजगूठी, छुटगूठी, नीजि गूठीहरूको तर्फबाट पनि स्वागत-सत्कारका लागि तथा आवास-भोजनका लागि व्यवस्था मिलाइएको हुन्थ्यो। समग्रमा भन्दा राष्ट्रको पूरै दृष्टि महाशिवरात्रि पर्वलाई कसरी भव्य रूपमा सम्पन्न गर्ने भन्ने हुन्थ्यो। प्रजातन्त्रपछि भारतीयहरूलाई नेपाल आउन महाशिवरात्रि कुरेर बस्नु पर्ने अवस्था रहेन। वि.सं. २०११ मा त्रिभुवन राजपथको निर्माणले यातायातमा केही सुगमता थप्यो।त्यसपछि हवाइ यातायातलगायत अरू बाटो-घाटोहरूको निर्माणले गर्दा महाशिवरात्रिमा हुने भीड केही होलो हुँदै गयो।सरसुविधाका लागि पहिले गरिने व्यसस्था पनि खुकुलो हुँदै गयो।यसो हो तापनि अहिलेसम्म भगवान् श्रीपशुपतिनाथको मन्दिरमा सबैभन्दा भीड वा घुँइचो लाग्ने पर्वहरूमा महाशिवरात्रि नै पर्दछ।यस वेला विभिन्न सामाजिक, धार्मिक सङ्घ-संस्थाहरू सेवाकार्य एवं स्वयंसेवामा जुटेका हुन्छन्।पशुपतिक्षेत्र विकास कोषको स्थापना वि.सं. २०४४मा भएपछि पशुपतिक्षेत्रको संरक्षण, सम्वर्ध्दन एवं प्रवर्ध्दनको जिम्मेवारी कोषमा आएकोले महाशिवरात्रिलगायत यहाँ मनाइने यात्रा-पर्वहरूको व्यवस्थापन गर्ने जिम्मेवारी पाएता पनि जे-जस्ता सुविधा विकास गर्दै जानु पर्ने हो त्यो हुन नसक्नु दु:खद् छ।श्रध्दालु दर्शनार्थी, तीर्थयात्रीहरूको सुविधाको लागि चाहिने आवास, पिउने पानी, दर्शनको उचित व्यवस्था एवं व्यवस्थित शौचालयहरूको सम्म पनि उचित र स्थायी ढङ्गले कोष स्थापना भएको करिब साढे दुई दशक बितिसक्दा पनि गुरुयोजनाअनुसार व्यवस्था हुन सकेका छैनन्। धार्मिक पर्यटनलाई बढावा दिँदै स्थानीय, क्षेत्रिय, राष्ट्रिय एवं अन्ताराष्ट्रिय महत्त्वका धार्मिक, साँस्कृतिक, पुरातात्त्विक सम्पदाहरूलाई प्रवर्ध्दन गर्दै तीर्थयात्री एवं पर्यटकहरूलाई आकर्षित तुल्याउन सके नेपालले पर्यटनको क्षेत्रबाट लाभान्वित बन्न सक्ने प्रचूर सम्भावना छ। मात्र आवश्यक छ स्पष्ट नीति, नियम र राज्यको दृढइच्छाशक्तिको।   
भारतीयहरूमा आफ्नो देशमा रहेका विभिन्न तीर्थस्थलहरूको तीर्थाटनपश्चात् पूर्णाहुतिको लागि नेपालस्थित भगवान् श्रीपशुपतिनाथको दर्शन-पूजन गर्ने तथा त्यस अवसरमा विभिन्न तीर्थस्थलहरूबाट ल्याइएका जल लोटा, घैलामा ल्याई चढाउने चलन छ।त्यसरी नल्याउनेहरूले पनि यहीँको जल चढाउने प्रचलन उनीहरूमा छ। पहिले-पहिले बाग्मतीको जललाई नै प्रयोग गर्थै भने प्रदूषित बनेपछि त्यस प्रचलनमा पनि केही कमी आएको देखिन्छ। नेपाली भक्तजनहरूले चाहीँ दर्शनलाई प्रधानता दिएको पाइन्छ। शिवरात्रिको दिन साँझपख शिवधुनी भनी दोबाटो-चौबाटोमा दाउरा बाल्ने प्रथा छ। भगवान् शिव धुनीप्रिय हुनुहुन्छ भन्ने पौराणिक मान्यताको कारण तथा शिशिरऋतुको ठण्डी अझै नगइसकेको हुनाले गर्मी ठाउँबाट आउने परदेशी यात्रुहरूलाई जाडो नहोस् भन्ने समेत मनोकाङ्क्षा त्यसमा देखिन्छ।
महाशिवरात्रिको दिन पशुपतिक्षेत्रमा केही वर्ष अघिसम्म पनि शिवबुटी भनी गाँजा-भाङको बिगबिगी हुने मात्र नभई सम्बन्धित निकायले बाड्ने चलन थियो। यो गलत परम्परा केही वर्षदेखि हट्दै गएको सुखद् छ। भगवान् शिवसँग जोडेर गाँजा-भाङजस्तो दुर्व्यसन एवं विकृतिलाई प्रश्रय दिन खोज्नु कुनै हालतमा पनि ठीक हो भन्न सकिन्न। कहाँ परात्पर परब्रह्म ईश्वरतत्त्व! कहाँ दुर्व्यसन! महाशिवरात्रिको दिन राजमार्गका ठाउँ-ठाउँमा बस, कार, मोटरसाइकललाई रोकेर जगात माग्ने तथा साँझपख त्यो कमाइले मोजमस्ती गर्ने गलत प्रवृत्तिले प्रश्रय जुन पाइरहेको छ त्यसलाई निरुत्साहित गर्नु जरुरी छ। यस्तो प्रवृत्तिले बढ्ने मौका पायो भने मगन्ते संस्कार हुर्कन-बढ्न थाल्छ जुन कुनै पनि दृष्टिकोणले उपयुक्त मान्न सकिन्न। महाशिवरात्रि पर्वभित्र रहेका जागरणका अनेकौँ उज्याला पक्षहरूलाई आत्मसात् गरी बाहिरी बोक्रा र खोष्टालाई छोड्दै जान सके यसले सबैलाई आत्मिक उन्नतिको प्रकाशमय पथमा पु-याउने छ र त्यसले व्यक्ति-व्यक्तिको जागरणलाई खुराक दिनेछ त्यसमा शङ्कै छैन।
                                      ***************