Sunday, May 20, 2012

वर्तमान सङ्कटले कहाँ पु-याउला?


                         
                                            
         कोही अनभिज्ञ छैनन् कि जताततै विभिन्न प्रकारका सङ्कटहरू, अनिष्टकारी समस्याहरू बढ्दै गइरहेका छन्। एउटा समस्याबाट पार पाउन खोज्यो अर्को समस्याले ग्रस्त पारिहाल्छ। समस्यामाथि समस्याको चाङको क्रम घटने होइन झन्-झन् बढ्दैगइरहेका छन् जस्तो लाग्छ। यो व्यक्तिगत रूपमा मात्र सीमित छैन, पारिवारिक, सामाजिक, राजनैतिक, आर्थिक, साँस्कृतिक हरेक क्षेत्रमा उत्ताउलिदै गएको अनुभव जो कोहीले गरेको हुनपर्छ।इतिहासमा समय-समयमा विभिन्न प्रकारको सामाजिक,आर्थिक, राजनीतिक सङ्कटका घडीहरूले राष्ट्रिय तथा अन्ताराष्ट्रिय समस्या बनाएका अनेकौँ उदाहरणहरू नदेखिएका होइनन्।समयको कालखण्डसँगै कैयन् आए कैयन् गए।यद्यपि सङ्कट सधैँ रहने पनि होइनन्। जसरी आउँछन् त्यसैगरी जान्छन् पनि। तर त्यस्ता घटना र परिघटनाहरूले पार्ने असर लामो कालसम्म कष्टकर बन्ने हुन्छ।खराबी नै यही हो।यसैले समयमा बुध्दि पु-याउन सकिएन भने इतिहासले धिकार्छ।
हिजोआज दूरदर्शिता अपेक्षित रहेको व्यक्तिमा, संस्थामा, सङ्गठनमा त्यो हराउँदै जान थालेको तथा संवेदनहीनता बढ्न थालेको अनुभव सबैले गरेको हुनुपर्छ। यसो हुनुमा सबैभन्दा बढी जिम्मेवार छ राजनीतिको नाम र त्यसमा लाग्ने अधिकांश नेता र कार्यकर्ता हुँ भन्नेहरूमा बढ्दै गएको, पलपिदै गएको निहित स्वार्थ। राजनीतिको प्रभाव र असर एकसाथ सामाजिक, आर्थिक, धार्मिक एवं साँस्कृतिक व्यवस्थामा पर्दछ भन्ने कुरालाई सामान्य हेक्कासमेत नराखी आफ्नो र आफ्नो दलको स्वार्थलाई प्रश्रय र प्रोत्साहन दिन थालेको देखिनाले यत्रतत्र विचलन, समस्या, सङ्कट, पीडा र संवेदनहीनताको पराकाष्टा देख्नु-भोग्नु परिरहेको छ भन्दा अत्युक्ति हुँदैन। नीतिहरूमा अब्बल भनेर राजनीतिलाई सम्झने अवस्था अब सामान्य नागरिकहरूबाट टाढिदै जान थालेको, वितृष्णा बढ्दै जान थालेको देखिदै जानु दु:खद छ। जसरी हुन्छ, जे गरेर हुन्छ राज गर्ने नीति पो राजनीति हुन थाल्यो कस्तो विडम्वना !
जति पनि समस्या, सङ्कट अगाडि तेर्सिएर आउँछन् ती अरूले नभई स्वयं आ-आफ्ना स्वार्थका कारण बल्झाइएका हुन्, जन्माइएका हुन्।समस्या आफै बन्ने होइन त्यसलाई बनाइन्छ, जन्माइन्छ।अनुचित साधनले उचित लक्ष्य हालिस गर्न सकिन्छ कि भन्ने गलत सोचाइको कारण पनि स्वार्थ बढ्दै गएको छ, कठोरतामा  वृध्दि हुँदै गइरहेको छ र त्यसले  व्यापकता पाइरहेको छ। जाति, भाषा, सम्प्रदाय र कुनै निश्चित वादको नाराले प्रारम्भमा हरकोहीलाई आकर्षित तुल्याउँछ तर त्यसले निम्त्याउने परिणाम कति दु:खदायी र कष्टकर बन्न सक्छ भन्ने कुरा पछि मात्र थाहा हुन्छ।अपवादस्वरूप कसैमा अलग्गै हुनु अर्को कुरा हो। एउटा झूटलाई दोहो-याइ-तेह-याइ भन्न थालियो, व्यवहारमा ल्याइयो भने सर्वसाधारणलाई लाग्न थाल्छ कि त्यही पो सत्य रहेछ।कैयन् विषयमा अहिले यस्तै अवस्था देखिँदो छ।
वर्ण, जात, भाषा, संस्कृति, धर्म, वादको कारण कसैलाई काखा, कसैलाई पाखा कुनै हालतमा सुहाउँदैन। सबैभन्दा ठूलो कुरा हो समान अवसरको।यदि कसैले जात, भाषा, भूगोल र प्रदेशकै आधारमा अग्राधिकार, आरक्षण र प्राथमिकता पाउन थाल्यो भने समानताको कुरा कहाँ हुने भयो? हिजोआज प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भनौँ त्यहाँ यस्ता विषयहरूलाई उठाएर, जगाएर सहानुभूति बटुलेर आफ्नो राजनीतिक स्वार्थ सिध्दि गर्ने तर्फ अग्रसर हुने परिपाटिको विकास गर्न खोजिदैछ। सर्वसाधारण नागरिकहरू त्यसभित्रका स्वार्थ नबुझेर उल्टै अमुक दल र सङ्गठनले आफ्नो लागि अनुग्रह गरिदिएको सम्झेर युगौँयुगदेखि रहेको सद्‌भाव, आत्मीयता, भाइचारा, सुसम्बन्धलाई बिर्सेर, एक-अर्काको वैरीझैँ, भएको सम्बन्धलाई समेत धूमिल पार्ने कार्यमा तँछाड-मछाड गरेर एकअर्कालाई उछिन्नमा प्रवृत्त देखिन्छन्।यसले त एकआपसमा प्रतिशोधको भावना, शत्रुताको भावना, आक्रोशको भावनालाई जन्माउने र बढाउने काम गरिरहेको हुन्छ।त्यसतर्फ थोरैको मात्र ध्यान जान सकेको छ।एउटै समाज, एउटै राष्ट्रमा बसेर उन्नति, प्रगति र समृध्दिका लागि सहयात्री बन्न चाहने अनि आपसी सम्बन्धचाहिँ वैरता बढाउने किसिमको तुल्याउने? कसरी हुन्छ समाजको विकास, राष्ट्रको उन्नति, दिगो शान्ति र अमनचैन? यसतर्फ कुनै पनपक्षविना गम्भीर रूपले दृष्टि पु-याउनु आवश्यक छ। 
जातीय, भाषिक, क्षेत्रीय, साम्प्रदायिक भावनाको विकास सद्‌भावना नखल्वलिने आधारभूमिमा सीमा ननाघुञ्जेल सम्मका लागि केही बिग्रदैन तर त्यसभन्दा बाहिर गएपछि चाहिँ जङ्गलमा लागेको डढेलोजस्तो हो साम्य पार्न खोजेर साम्य हुने स्थिति हुँदैन। फुटाऊ अनि राज गर को सिध्दान्त मान्ने, सत्ताको स्वाद लिन चाहनेहरूका लागि, अझ भनौँ केही समयका लागि फलदायी जस्तो देखिए पनि यसको दूरगामी परिणाम भने स्वस्थकर हुन सक्तैन।ह्वारह्वार्ती आगो दन्किएको घरमा सुख,शान्तिले बस्न पाइएला? कदापि सम्भव छैन।विचारमा सङ्कीर्णता, चिन्तनमा छुद्रता, हृदयमा कटुता, कर्ममा अभद्रता आउने संस्कारलाई बढाउने कि घटाउने? यसले मनुष्यताको विकासमा सघाउ पु-याउने भए त जति सक्यो बढाउनु नै श्रेयस्कर हुन्थ्यो तर के गर्ने त्यसको विपरीत हुने यसको स्वभावको कारण बढाउनेतिर लाग्नु कुनै हालतमा पनि बुध्दिमानी हुँदै-हुँदैन।
समय-समयमा देखिने सङ्कटहरूमा कतिपय यस्ता सङ्कटहरू आवधिक प्रकृतिका हुन्छन्, जुन निश्चित समयपछि स्वत: फिका र मन्थर हुँदै जान्छ। तर वैचारिक प्रदूषण यति दूषित हुन्छ कि के भन्ने त्यसले द्वन्द्व र प्रतिद्वन्द्वलाई जन्माउन पुग्छ।जसको परिणति हुन्छ हिंसा, मनमुटाव, अशान्ति र विनास। मिडियाको शाक्तिबाटै विश्वमा कैयन् विषयहरूमा उथल-पुथल ल्याउन सम्भव भएको वर्तमान परिस्थितिमा मिडियाले कुन विषयलाई कसरी प्रस्तुत गर्छ त्यसमा पनि कतिपय कुराहरू भर पर्छन्।सबै निष्पक्ष र स्वतन्त्रताकै मन्त्र जप्छन् तापनि लगाम कहाँ हुन्छ थाहा नहुने अवस्थामा यावत् विषयहरूमा मेरो पकड छ, मेरो दलको पकड छ भन्ने सम्झदा-सम्झदै स्थिति पराकाष्टामा पुग्ने धरातलीय वस्तुस्थितिको कारण स्थिति जटिल झन् जटिल बन्दै गइरहेको यथार्थता छ।राजनीतिमा मात्र होइन सबै क्षेत्रमा उही सङ्गीन अवस्था छ।
वर्तमानमा देखिने गरेको सङ्कटको अनेकौँ कारणहरूमध्ये प्रमुख कारण नाम, पद, प्रतिष्ठा, धन-सम्पत्तिको लागि मरिहत्ते गर्ने प्रवृत्ति तथा जाति, भाषा, प्रदेशप्रतिको सही र व्यावहारिक कुराभन्दा सतही विषयप्रति चरम अनुराग।बगैँचाको शोभा अनेक थरी फूल ढकमक्क फूलेमा नै हुन्छ न कि एक थरी फूल फूलेर। जोडने, मिलाउने, जुटाउने  कुरालाई बिर्सेर टुटने, फुट्ने, बिथोलिने कुराप्रति अनुरक्त किन तुल्याइदैछ आश्चर्य लाग्छ।आपदाको घडीमा सङ्कटबाट आफू मुक्त हुन् तथा अरूलाई मुक्त तुल्याउन अभूतपूर्व त्याग, उदारता, दूरदर्शिता र विचारमा सन्तुलन अपरिहार्य हुन्छ।अझ नेतृत्वदायी भूमिकामा बस्ने नेता, मार्गदर्शक भनिनेहरूको त जिम्मेवारी गहन हुन्छ।
वर्तमानमा सङ्कट अपरिमेय रूपमा सृजित छ, जताततै अन्धकारै-अन्धकार घनिभूत भएर बढेको त होइन जस्तो अनुभूति नहुने होइन तर विचारमा संयमता, चिन्तनमा महानता, व्यवहारमा सहृदयतालाई स्थान दिँदै जीवनलाई असल प्रवृत्तितिर रूपान्तरित गर्नेतिर उन्मुख हुने बाटोलाई पछ्याउँदै अघि बढ्यौँ भने चेतनशील नवीन समाजको संरचना गर्न गाह्रो पर्ने छैन।अखण्ड आत्मस्वरूप देशलाई मानी शरीरका प्रत्येक अङ्गको इकाइलाई सङ्घियताका सहयोगी रूप सम्झी सबैले आ-आफ्नै गहन जिम्मेवारीलाई कम नआँकी सबैको मूल उदेश्य अखण्ड आत्मालाई उज्वलित गराइराख्नु नै हो र हुनुपर्छ।सङ्घियता देशको विखण्डनको लागि होइन सुदृढीकरणको लागि हो, प्रदेश जातीय पहिचानको लागि होइन सन्तुलित विकासका लागि हो भन्ने कुराको तार्किक निरुपण गर्न सकेमा नै सबैको मन-मस्तिष्कमा रहेको भय र आशङ्का मन्थर हुनेछ। यसो भएमा नै देश र देशवासीले शान्ति, समुन्नति र समृध्दि प्राप्त गर्ने छन् भन्ने आभ्यन्तरिक कामनासाथ वर्तमान सङ्कटको घडीबाट त्राण पाउने उपायहरूको लागि मेरो वस्तुको बाह्रै टक्का नभनी आवश्यक परे एक-दुई पाइला पछि हट्न पनि पछि पर्नु हुने वेला छैन।अनेकतामा एकता नेपालीको विशेषतालाई चरितार्थ तुल्याउन जो चुक्यो उसलाई वर्तमान र भावी सन्ततीले धिकार्ने छन्।  
<drgovinda.tandon@gmail.com>
                                     ***************       

             

No comments:

Post a Comment