Saturday, January 21, 2012

वास्तविक मुक्ति


                      
                                         
             सूचनाको सङ्ग्रहलाई नै हिजोआज हामी ज्ञान भन्न थालेका छौँ। चाहे त्यो इतिहासको होस्, चाहे त्यो भूगोलको होस्, चाहे विज्ञानको होस् या कम्प्युटरको नै किन नहोस्। सामान्य ज्ञानको लागि सूचनासङ्ग्रह पनि जरुरी छ तर त्यसैलाई मात्र ज्ञान भन्न थाल्यौँ, शिक्षा भन्न थाल्यौँ भने त्यो विडम्वनापूर्ण हुन्छ।साक्षरताको कसी त्यो केही रूपमा हुन सक्ला तर त्यही नै साध्य होइन।अमेरिका कहाँ छ? अफ्रिका कहाँ छ त्यसको अवस्थिति जानेर के गर्ने? बोट-बिरुवा कसरी रोप्ने वा बीऊ कसरी छर्ने कुरा वाह्य रूपमा जानेर मात्र पुग्दैन जबसम्म तिनबाट चेतनताको अभिवृध्दिको लागि जीवनमा आवश्यक पर्ने कुरा लिन सक्दैनौँ त्यतिबेलासम्म त्यो मात्र कोरा सिकाइ हुन्छ। त्यसले उव्जनी बढाउन केही काम लाग्ला वा कुनै हाजिरीजवाफ प्रतियोगिताको लागि केही भरथेग होला। तर समग्रमा भन्ने हो भने जीवनदर्शनमा तिनको थोरै उपादेयता रहन्छ।सृष्टिलाई बुझेर मात्र पुग्दैन जबसम्म स्रष्टालाई बुझ्न सकेका हुँदैनौँ।किताबको कुरा पढ्ने, भाषण वा प्रवचनबाट केही सिक्ने-बुझ्ने अनवरत चलिरहने विषय हो।यसबाट पनि केही सिकाइ-बुझाइ हुन्छ। त्यसमा पनि व्यवहारबाट सिक्ने कुरा अव्वल दर्जाको हुन्छ।आफूलाई परेर वा अर्कालाई परेको देखेर सिक्न पनि छोड्नु हुँदैन।यही नजान्दा गल्तीमाथि गल्ती दोहोरिरहेको हुन्छ।
अनुभव सबै कुराको हुनुपर्छ भन्ने भ्रमले वा सतही बुझाइको कारण अमूल्य जीवनलाई राम्ररी बुझ्न नपाउँदै, जान्न नपाउँदै कैयन् व्यक्तिहरू कुलतको, व्यसनको चक्रव्यूहमा फस्न पुग्छन् कि के भन्ने त्यसबाट लाख प्रयत्न गर्दा पनि मुक्ति पाउन गाह्रो बइरहेको हुन्छ र अनमोल जीवनलाई व्यर्थमा गुमाइरहेकै नै धेरै पाउँछौँ।थोरै भाग्यमानी आत्मचेतनाले, आत्मजागरणले, सत्सङ्गतले, सद्साहित्यको स्वाध्ययनले, विवेकको प्रयोगले, साधना र अनवरत प्रयत्नको कारणले अनेक भ्रमबाट उन्मुक्ति पाउन सक्लान् तर सबैमा त्यो अवस्था कहाँ आउँछ!
चुरोट, खैनी, गुड्खा, पराग, पानपराग जे-जे भनौँ ती सबै मानिसको स्वास्थ्यको लागि एकदमै हानीकारक छ, रक्सी त्यत्तिकै विषाक्त छ जीवनको लागि सबैले महसुस गरेका छन् तर सबै कुरा जान्दा-जान्दै पनि त्यसलाई पूर्णरूपले वाइकट गर्न अघि सर्ने संसारमा कुनै राष्ट्र कुनै सरकार नै भेट्टाइदैन किनभने राज्यकोषमा आउने राजस्व र त्यस्ता उद्योग चलाउने उद्योगपतिहरूको दवाव यस्तो छ कि सरकारको कुर्सी हल्लाउने क्षमता राख्छन् उनीहरू।यसको कारण निरीह जनता अनेक कुलत र दुर्व्यसनमा फसिरहेका हुन्छन्। उनीहरूमा भ्रम हुन्छ कि यदि खान नहुने, प्युन नहुने चीज भएको भए यसको उत्पादन नै किन हुन्थ्यो। त्यसमा पनि उपभोक्तावादी वर्तमान संसारको चरित्रले गर्दा अनेक आकर्षक विज्ञापनको लहै-लहैमा मानिस फस्न पुग्छ।  सके उनीहरूले सरकारी संयन्त्रका सम्बन्धित व्यक्तिहरूलाई आफ्नो हातमा लिइरहेका हुन्छन् जसको कारण विरोधका स्वरहरू एकातिर गुञ्जिरहेको हुन्छ अर्कोतिर यथावत् रूपमा उत्पादन, विक्री-वितरण सहज रूपमा खुलायाम चलिरहेको हुन्छ।अथवा भनौँ शासनसत्तामा हुनेहरू वा विधायकहरूकै संरक्षण वा नेतृत्वमा त्यस्ता उद्योगहरू चलिरहेको भए कुनै आश्चर्य हुनेछैन। नाटक मञ्चनजस्तो लाग्दैन तपाईँलाई कि यसो कहिले-काहीँ केही गरेको जस्तो देखाउन जब कुनै प्रहरी सडकमा बसेर दुइ-चार जनालाई मुख सुँघेर एकाध घण्टा पुलिसको कठघरामा राख्दा! शासन-प्रशासनमा बस्ने वा भनौँ सुरक्षा निकायहरूकै सरकारी वा नीजि भोजभत्तेरमा हेर्नुहोस् त तिनको खोलो बगेको! काम गर्नेलाई स्यावासी दिनैपर्छ। तर त्यसलाई दिगो रूपमा सुदृढ रूपले अगाडि बढाउने हो भने जो अर्काको मुख सुँग्घछ उसको मुखबाट पनि कहिल्यै त्यसको गन्ध नआउने उदारहरणीय कार्य भयो भने विकृति मासिदै गई संस्कृतिको निर्माण हुन थाल्छ। व्यक्ति, परिवार, समाज र राष्ट्रलाई बर्बाद पार्न तिनको हात छ भन्ने लागेपछि के तिनको उत्पादनलाई सदाको लागि बन्द गरिदिए के बिग्रन्छ? कसैको मुख ताकेर बस्नुपर्छ के गर्ने भनेर? उदाहरण आफूबाटै सुरु गर्नुपर्छ अरूको बाटो किन हेर्ने? तँ पिटेको जस्तो गर म रोएकोजस्तो गर्छु भन्ने लुकामारी यहाँमात्रै होइन संसारभरी नै चलिरहेको छ। आदर्शको निर्माण यस्तो ढुलमुले चरित्रले किमार्थ हुन सक्तैन।स्वाइन फ्ल्यू र वर्ड्स फ्ल्यूको आशंकाले एक जना व्यक्ति म-यो भने हाहाकार हुन्छ। निरीह हजारौँ-लाखौँ पशुपक्षीलाई मार्न संसारभरका राष्ट्र तम्तयार हुन्छन् तर जुन दुर्व्यसनले दिनमा हजारौँ होइन लाखौँ मानिसको ज्यान गइरहेको छ, त्यसैको कारण अनेक रोगहरूको शिकार हुनु परेको छ, घर-घरमा अशान्ति छ, समाजमा अनेक किसिमको वैमनस्य र तिक्तता बढाउन सहयोगी भइरहेको छ त्यसलाई हटाउनेतिर कसैको ध्यान जाँदैन वा पुग्दैन भने यो आश्चर्यको विषय होइन? कति विडम्वना छ!
शासनसत्तामा नपुग्दा यो गर्छु र ऊ गर्छु भनेर गुट्टी हाक्नेहरू शासनसत्ताको मोहमा फँसेर पहिलेदेखि जे चलेको छ त्यही नै ठीक रहेछ भन्ने मनोविकारले ग्रस्त हुनु कुनै आश्चर्य होइन। अझ अघिकाले भन्दा त्यस्ता कुरालाई अरू बढी साथ-समर्थन दिएको देखिनु पनि नौलौ कुरा नहुन सक्छ। संसारमा भइरहेकै यही छ। विद्यमान विकृति, विसङ्गति, कुपरम्परा, कुसंस्कारलाई हटाउन उत्प्रेरित गर्दै जीवनको निखारलाई प्राप्त गर्न सहयोगी हुने जीवनोपयोगी योजना र कार्यक्रमहरूलाई जनस्तरदेखि नै प्रभावकारी तुल्याउन आवश्यक पर्ने सम्भव उपायहरूको अवलम्वन गर्दै सबैभन्दा पहिले आफू नै आदर्श बनेर अरूलाई मार्गदर्शन गर्न सक्ने घरमूली, समाजका थकाली, सामाजिक अभियन्ताहरू, राजनेता भनिनेहरू यथार्थतामा अगाडि बढ्ने अवस्था आयो भने बल्ल सम्झे हुन्छ अब केही हुने दिन आयो। नत्र जो आए पनि उही ---- चिरेका भन्ने उखान नै चरितार्थ भइरहन्छ।
धेरै मानिसमा के भ्रम छ भने मुक्ति भनेको मरेपछि मात्रै पाइने कुरा हो जीवनकालमा यो प्राप्त हुन सक्ने कुरै होइन। यहाँनिरै ठूलो भ्रम छ मानिसमा। यस्तै विश्वास (belif) लाई मानिस जानी-नजानी मलजल गरेर बसेको हुन्छ र उसले बिर्सेको हुन्छ कि मुक्ति त उसकै हातमा छ। मुक्ति पाउन मृत्युलाई कुरेर बस्नु नै पर्दैन। जसले मृत्युपछि मुक्ति हुन्छ त्यसैले अहिले धर्म-कर्म गर्नुपर्छ र त्यसबाट मुक्ति पाइन्छ भनेर सिकाइरहन्छन् विचरा उनीहरू नै ठूलो भ्रममा छन्। मरेपछिको मुक्ति कसैले नदेखेको मुक्ति हो। मैले मुक्ति पाए भनेर पुराणका कथाहरूमा बाहेक आजसम्म कोही फर्केर भन्न नआएकोले अनुमानित मुक्तिको पछि लाग्नुभन्दा जीवनकालमै गलत सङ्गत, गलत संस्कार, गलत संस्कृति, गलत विचार, गलत कर्मबाट आफूलाई उन्मुक्त राखेर सफल मात्र होइन असल जीवन, यस्तो जीवन कि जहाँ कुनै बिलौना छैन, पश्चाताप छैन, डर-भय छैन किनभने सत्यनिष्ठालाई आत्मसात् गरेको हुन्छ, समभाव छ, सेवाभाव छ, निस्वार्थता छ, सात्विक जीवन छ, परहितको चेष्टा छ, सुकर्ममय दिनचर्या छ र यी सबैलाई जसले आभूषण बनाउन सकेको छ भने अहिले बाँचेको त्यस्तो जीवनलाई नै मुक्त जीवन भन्न सकिन्छ।यस्तो जीवन बाँच्नेहरूको जति सङ्ख्या बढ्यो त्यत्ति समाज र राष्ट्रको उन्नति, प्रगति र समृध्दि यथार्थ रूपमा हुन सुरु हुन्छ। राष्ट्र-राष्ट्रमा यस्ता दिव्य जीवन बाँच्नेहरूको सङ्ख्या जति गुणात्मक रूपले वृध्दि हुँदै जान्छ त्यति नै विश्वमा शान्ति, समुन्नति र दिगो प्रगतिको ढोका खुल्छ। यस्ता जीवनमुक्त व्यक्तिले गर्ने कार्यहरूमा कहाँ खोट हुने? कहाँ विकृति हुने? कहाँ भष्ट्राचार हुने? कहाँ दुराचार हुने? चाहे पूर्वमा होस् चाहे पश्चिममा क्रान्तदर्शी महापुरुषहरूको खोजाइ यस्तै व्यक्तिहरूको लागि थियो र हो। त्यसलाई बुझ्न नसक्दा अनेक विकृति र विसङ्गतिहरूको सङ्घातमा विश्वका तमाम मुलुकहरू जानी नजानी भाँसिइरहेको छ। एकको विकृतिको पछि अर्को त्यसलाई संस्कृति सम्झी अनाहकमा फँसिरहेको छ।अझ भनौँ त्यसलाई बुझ्न सक्ने सामर्थ्यको अभावमा भूल-माथि भूल बढ्दैगएको र यथार्थतालाई बुझ्ने दृष्टिकोणमै पर्दा लागेको जस्तो भएको छ।
समय भटकिरहेको छ। तर अझै पनि सच्चिने/ सच्च्याउने रेखाको उल्लङ्घनबिन्दुको नजिकसम्म मात्र भएकोले जीवनमा देखिएका विकृत तत्त्वहरूबाट हटेर दिव्यतालाई प्राप्त गर्न सकिने अवस्था हरेकको लागि उपलव्ध छ।आवश्यकता छ आत्मचेतनाको विकासको।मानिस-मानिसमा विभेद ल्याउने जात-जाति, वर्ण, रङ्ग, छुवाछूत, कर्मकाण्डका अनेकभाँति जञ्जिरहरूबाट उम्किदै, दुर्व्यसनमुक्त जीवनलाई अँगाल्दै, हिंसाभावबाट मन, वचन, कर्मैले मुक्त हुँदै वा त्यस्ता घनघोर काला वादलहरूलाई पन्छाएर उदारता, विशालता, विराटता र विस्तृर्णतालाई आत्मसात् गर्दै समभावको स्थितिमा पुग्न सके नै  जीवनको दिव्यता प्राप्त हुन सक्छ।यही  वास्तविक मुक्ति हो, यस्तै जीवनका लागि लालायित बन्नुपर्छ।
                                     *************
                                          

No comments:

Post a Comment