Monday, December 19, 2011

भूमण्डलीकृत भावनाको आवश्यकता


                       
                                          
              विश्वपरिस्थिति जटिल झन् जटिल बन्दै गएको देखिन्छ। मानिसमा देखिनु पर्ने, बढ्नु पर्ने मानवीय गुणहरू कतै ह्रासोन्मुख बन्दै गइरहेका त होइनन् भन्ने शङ्का र अन्योल जताततै देखिदैछ।ईर्ष्या, डाह, स्वार्थ एवं अहंकारको खेती भरमार बढ्दो छ।पञ्चशीलका कुराहरू सिध्दान्तमा सीमित छन्।दया, माया, करुणा, स्नेह, प्रेम भन्ने कुरा पनि देखावटी र आडम्वरी रूपमा परिणत भएका हुन् कि जस्ता भएका छन्।व्यक्ति-व्यक्ति स्वार्थमा, समाज स्वार्थमा, राष्ट्र-राष्ट्र स्वार्थमा अल्मलिएका देख्दा अब उदारता, विशालता एवं कल्याणकारी भावना कहाँ देख्न पाइने हो जस्तो भएको अनुभूति के तपाईँ गर्नु हुन्न ! यसमा धर्म, राजनीति, कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, समाजसेवा, सुरक्षानिकाय कुनै पनि क्षेत्र अछुतो रहन सकेनझैँ लाग्छ। यस्तो परिस्थितिमा अब के गर्ने? मानिसमा अन्योल र आशङ्काको जग मजबूत हुँदै गएको छ, जुन हुनु नपर्ने थियो।
सुख, शान्ति र आनन्दको उपाय के होला भनेर मानिस नाना विधि विकल्पहरूको खोजीमा हरतरह जुटिरहेका छन् जस्तो लाग्छ। यसैको परिणति हो कि विविध किसिमका भौतिक सुविधाका साधनहरूको पहुँचमा मानिसहरू नजिकिदै गएका छन्। ढिलो-चाँडो सबैतिर त्यस्ता साधनहरू पुगिराखेको छ पनि। नवसिर्जित साधन र सुविधाको परिप्राप्तिको लागि मानिसहरूमा होडबाजी नै चलिरहेको छ, कुन बेला कसले अमुक साधनको प्राप्ति गर्ने भन्नेमा।कतै पछाडि पो परिने हो कि भन्ने त्रास व्यक्ति-व्यक्तिमा पलपिदो छ। चाहिए पनि नचाहिए पनि भिन्न-भिन्न प्रकारको साधन र प्रविधि प्राप्तिको लागि यति विधि व्यग्रता छ कि के भन्ने? तन, मन, धन नै एक किसिमले भन्ने हो भने त्यसैमा समर्पित छ मानिसहरूको।रुपैयाँ-पैसाले तिनको प्राप्ति हुने यथार्थताले गर्दा मानिसहरूको अधिकांश ऊर्जा, श्रम, शक्ति सबै तिनैको जोरजाममा व्यतीत भइरहेको छ। यस परिस्थितिमा आत्मिक चिन्तनको, सहृदयताको, मानवताको उत्कर्षका विषयहरू कसरी प्रस्फुटित हुन सक्छ? विश्वमा अहिले भएकै यही हो, जसको कारण अमानवीयता पराकाष्टामा पुग्दैछ।
अनेक संसाधनहरूको आविष्कार र सुलभताले विश्वलाई एउटा गाउँजस्तो बनाइसक्यो।भूमण्डलीकरणलाई अब कसैले रोकेर रोक्न सक्ने अवस्था छैन।मात्र कुन विषयलाई कुन परिमाणमा बढ्न दिने या नदिने, विश्वको अस्तित्वको लागि खतरा हुन सक्ने कुरा के छ ? त्यसलाई पहिचान गरी नियन्त्रण गर्न सकियो भने मात्र पनि ठूलो कुरा हुने अवस्था आइसकेको प्रति चनाखो हुनु पर्ने स्थिति देखिदै छ।भूमण्डलीकरणको प्रतिस्पर्ध्दामा चिन्तन र सोचाइहरू पनि त्यही अनुकूल उदार र विशाल हुनु जति जरुरी छ त्यो हुन नसकी सङ्कीर्णता र लघुतामा अल्मलिएको अवस्था विकसित र सभ्य मानिने ठूल्ठूला देशहरूमा समेत देखिँदा आगामी दिनहरू कति सङ्क्रमणकालिक अवस्थाले गुज्रिने हुन् हेर्न बाँकी छ।सङ्क्रमणकाल निकै कष्टकर र पीडादायी हुने हुन्छ यो सबैले जाने-बुझेकै कुरा हो।भौतिकताको उत्कर्ष त भयो, विज्ञान र त्यसका अनेक प्रविधिहरूको चमत्कारिलो रूप जनसमक्ष आयो तर त्यसैअनुसारको विचार, चिन्तन र धारणामा उदारता, विशालता र दिव्यता आउन नसक्नाले जीवनलाई अझ कष्टप्रद तुल्याइ रहेछ भनी अनुभूति गर्ने अवस्थामा मानिस कहिले पुग्ने होला उदेक लाग्छ ! भूमण्डलीकरणको महत्त्वलाई बुझेर सदुपयोग गर्ने दिशामा सबै लाग्ने हो भने यसबाट हुन सक्ने फाइदा पनि त्यत्तिकै हुन सक्ने स्थिति छ। तर यसलाई सही मार्गमा दिशानिर्देश गर्न सकिएन भने पछुताउनु पर्ने अवस्था पनि त्यत्तिकै खतरनाक हुन सक्छ।मानवीयतालाई सही ढङ्गले परिभाषित गरेर त्यसमा निखार ल्याउने तुल्याउनु आज सबैभन्दा बढी आवश्यकता देखिएको छ।मानवीयतामा परेको खडेरीकै कारण युध्द, यातना, द्वन्द्व, आतङ्क, वैमनस्य, षड्‌यन्त्र, झैँझगडाजस्ता अस्वस्थकर एवं नकारात्मक घटनाहरू क्रमश: बढ्दै गइरहेका हुन् यसमा दुइमत छैन।
विज्ञानको चमत्कारमा मानवीय संवेदना तथा आध्यात्मिकतामा विज्ञानको चेत रहने गरी प्रविधिको विकास हुने वातावरण बन्न सक्यो भने यसले ब्रह्माण्डकै भलो गर्ने हुन्छ। त्यसको अभावमा विज्ञानको उत्कर्ष त हुन्छ तर चेतनता शून्य हुँदै जाँदा जीवनको सुरक्षाप्रति चासो बढे पनि जीवनको पवित्रता भने घट्दै गई जीवन भनेको खोक्रो, आडम्बरी, देखावटी बन्न पुग्ने खतरा सबैभन्दा घातक हुने हुन्छ यो विचारणीय छ।प्रविधि आफै चल्ने होइन त्यसलाई चेतना भएकोले बनाउने हुन्, चलाउने हुन्, जगाउने हुन्। विश्वलाई हामी के दिन्छौँ त्यही पाउने हो। शान्ति, सद्‌भाव, अनुशासन, अहिंसा, न्याय, सत्य दिन्छौँ भने त्यही पाउँछौँ। त्यसको विपरीत गयौँ भने नकारात्मकतालाई बाहेक केही पाउन सक्ने छेनौँ। यो त त्यस्तै कुरा हो कि जे रोप्छौँ त्यही फल पाउँछौँ। किनभने प्रकृतिको नियमै यस्तो छ। व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्वकै लागि यही नियम लागू हुन्छ। यो नियमले कसैलाई पनपक्ष गर्दै गर्दैन।
सृष्टिकर्ताले सबैका लागि पुग्ने गरी जमिन दिएको छ तर बलियो राष्ट्र होस् कि धनी या गरिव राष्ट्र आफूसँग भएको खालि बन्जर भूमि नै समेत पनि कसैले धावा बोल्ला कि भनी च्यापेर बसिरहेको हुन्छ।कतै खालि जग्गाको रैलोबैलो कतै एक टुक्राको लागि छटपटाहट छ।कतै खानेकुराको छेलोखेलो कतै एक गाँसको लागि तडपाइ छ।साँचो भूमण्डलीकरण त्यत्तिखेर मानिने छ जुन वेला एक देशको मानिस कुनै अपवादबाहेक अर्को देशमा उसको इच्छाअनुसार सजिलै बस्न, डुल्न, हिँडन पाउने अवस्था आउने छ।  जति नै राष्ट्र भए पनि त्यो केवल सामाजिक सङ्घटन र व्यवस्थापनको लागि हो भन्ने भूमण्डलीकृत उदार मानसिकता एक्काइसौँ शताव्दिको सबैभन्दा ठूलो उपलव्धिको रूपमा आउन सक्नुपर्छ। किनभने विश्वै मेरो देश हो भन्ने उदार दृष्टिकोण हरेकको मनमा पल्लवित र पुष्पित हुने र त्यही अनुसारको विश्वनागरिकको चेतनता आउन सक्यो भने बल्ल सही भूमण्डलीकरणको अवस्थाको सृजना हुनेछ जुन मानवमात्रको लागि स्वर्णिम युगको सूत्रपातसरह हुनेछ।यसको लागि जबसम्म तयार हुन हिच्किचाइरहने छौँ र उही परम्परावादी धेर-थोरको सामन्तवादी संस्कारलाई च्यापेर बस्छौँ तबसम्म विश्वमा देखिएका भोकमरीको समस्या, शरणार्थीको समस्या, गरिबीको समस्या ज्यूँकात्यूँ रहिरहने छ भन्ने कुरामा विमति हुन सकिन्न।धनी राष्ट्रले गरिब राष्ट्रहरूलाई चारा छरेजस्तो किसिमले दिने सहयोग, अनुदान अबका दिनमा औचित्यबिहीन बन्दै नजाला भन्नु छैन।न अल्पकाल न दीर्घकाल यसबाट कुनै पनि देशको दिगो उन्नति र प्रगतिका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सक्दैन भन्ने कुरा विगतको इतिहासले देखाइदिइसकेको छ। 
विश्वराजनीतिको विहङ्गम परिदृश्यपट्टि दृष्टि लगाउँदा राजनीतिको सूत्र नै टुक्र्याउने, फुटाउने, टुटाउने जस्तो बन्दै गएको छ, चाहे त्यो वादको नामले होस्, चाहे त्यो धर्म, सम्प्रदाय, जातजातिको नामले होस्, चाहे भूगोल र संस्कृतिको नामले होस्।फुटाउ र राज गर को सिध्दान्त राजनीतिको हरेक तह र तप्कामा बढ्दै गइरहेको छ जहाँसुकै होस्, जुनसुकै देशमा होस्।यसले गर्दा राजनितिक चेतनता त बढ्यो तर मानवीयता बढ्न सकेन, प्रविधिको विकास र उन्नति त भयो तर सुख, शान्ति र आनन्दको पहुँच टाढिदै गयो, भ्रातृत्व, प्रेम, मैत्री, सद्‌भाव बिलाउँदै गयो।यसलाई विडम्बना नभनेर के भन्ने?
एकातिर भूमण्डलीकरणलाई भित्र्याउँदै जाने अर्कोतिर सीमानाको लागि रखवारी गर्न अरबौँ-अरब मात्र होइन कतिपय देश खरबौँ-खरब रुपैयाँ हातहतियार र सुरक्षाको लागि खर्च गर्छ।मानवताको सम्बर्ध्दन एवं विश्वमा सुख, शान्ति बहाली गर्नका लागि खर्च गर्न सकिने यस्ता ठूल्ठूला रकम बालुवामा पानी हालिएसरी बेफ्वाकमा खर्च भइरहेको छ।एक देशले अर्को देशको सीमाना उल्लङ्घन नगर्ने, सङ्घियतामा रहेका कुनै राज्य अलग हुन चाहेमा विश्वव्यापी नियमअनुसार नयाँ राष्ट्र बन्न सक्ने बाहेक कुनै देशको सीमा अतिक्रमण गरेर आफूमा विलय गर्न नपाउने परिपाटिको सुरुवातमात्रै गर्ने हो भने आज विश्वमा देखिएका अधिकांश समस्या निराकरणको बाटोतर्फ लागेर मानिसमा अमनचैन र शान्तिको बाटो सर्वसुलभ हुने स्थिति छ। यसबाट सीमाको लागि र सीमासुरक्षाको लागि भइरहेको साना-ठूला सबै देशको अनगिन्ती खर्च कटौती भई व्यक्तिनिर्माण, समाजनिर्माण, देशनिर्माण र विश्वनिर्माणको महान् कार्यमा लगाउन सकिने वृहत् मार्ग प्रशस्त हुने प्रवल सम्भावना देखिन्छ।साँचो अर्थमा वसुधैव कुटुम्वकम् अर्थात् सारा विश्व नै एक परिवार हो, आफू पनि बाँचौँ अरूलाई पनि बचाऔँ भन्ने अवस्थाको सूत्रपात उदारता, विशालता र विस्तीर्णताको सही कार्यान्वयनविना कसरी सफल हुन सक्ला? यो विचार र भावनालाई जति फैलाउन सक्छौँ त्यति भूमण्डलीकरणको लागि सही मलजल हुन सक्छ।हरेकको मनमा एक-अर्कोप्रति चाहे त्यो व्यक्ति होस्, चाहे देश शान्तिको कामना, कल्याण र हितको चाहना अन्तर्हृदयदेखि नै उर्लिन सके भूमण्डलीकृत भावनाको विकास हुन गई मानवताको साँचो रूप देख्न पाइने दिन नजिकिने छ।किनभने यो आजको युगको अपरिहार्य आवश्यकता पनि हो।
                                                                     *******
        


No comments:

Post a Comment