Friday, December 2, 2011

मानवताको लक्षण


                                                   
      पृथ्वीमा मनुष्यसहित अनेक जीव-जन्तु एवं प्राणीहरू छन्।जीवजन्तुलाई हामी पशुजगत्‍ भन्न रुचाउँछौँ। किनभने पशुहरूमा मानिसमा भएका कतिपय गुणहरूमध्ये बुध्दि-विवेकको अभाव छ। रूप-रङ्ग, आनीबानी र व्यवहार तथा चेतनाको स्तरको कमीको कारण पनि पशुहरू मानिसको कोटिमा आउन सक्ने कुरै भएन। जीवहरूमा मनुष्य नै यस्तो प्राणी हो जसले सृष्टि रचनाको सर्वश्रेष्ठ प्राणीको दर्जा पाएको छ।किन मानिसलाई सर्वश्रेष्ठ प्राणी भनियो भन्ने सम्बन्धमा हामीले हे-यौँ भने जति पनि अरू प्राणी छन् र तिनका जति पनि कार्यहरू छन् सबै प्रकृतिको अधीनमा छन् उनीहरूमा आफ्नो विवेक र बुध्दिको कमै प्रयोग हुन्छ वा एउटाले जे गर्छ अर्कोको स्वभाव पनि प्रकृतिवशात् त्यस्तै हुन्छ।त्यसभन्दा बढी उनीहरूले जानेकै हुँदैनन्।जे छ त्यो थोरै बुध्दिको प्रयोग गरेर काम भइरहेको हुन्छ।भनौँ न चुनौतीलाई स्वीकार गरेर अर्कोले भन्दा म फरक गर्छु वा फरक हुन्छु भनेर अगाडि बढ्न सक्ने क्षमतै हुँदैन उनीहरूमा। यसैले तिनमा राम्रो,नराम्रो या अब्बल दर्जाको काम गर्न सक्ने क्षमता हुँदैन तर मानिसले तालिम दियो, सधायो भने लामो समयको प्रयासपछि कुनै जीवजन्तुले केही नौलो कुरा सिक्न सक्छन्। मानिस भने आफूमा निहित ज्ञान,  बुध्दि र विवेकको कारण आदर्श, उत्कृष्ट एवं सर्वोत्कृष्ट पात्र बन्न सक्ने क्षमता राख्छ र मनुष्यमात्रको उदाहरण बन्न पनि सक्छ। अझ ज्ञान र सुकर्मको उच्चतम् कोटिमा पुग्दा त देवत्वको स्थितिमा पुग्ने क्षमतासमेत आर्जन गर्न सक्छ। यसबाट के बुझिन्छ भने मनुष्यताको पहिचान उसको कर्मको गुणवत्ताबाट हुन्छ न कि अन्य प्राणीको जस्तो उसको आकार एवं प्रकृतिको आधारमा। यही कारणले पनि हो कर्मकै आधारमा पृथ्वीलोकमा मानिस मानव, दानव एवं पशुतुल्य बन्न पुग्छ भनिएको।मानिसलाई मानिस बनाउने नै उसको कर्म हो, गुण हो, आचार हो, विचार हो एवं चिन्तन र धारणा हो। उसले गर्ने कर्म कस्तो छ ? उसको आचार, विचार, व्यवहार कस्तो छ ? त्यसमा भर पर्छ मनुष्यत्व।अर्को शव्दमा भन्नु पर्दा मानवीयता नै मनुष्यताको आधारशीला हो।
कसैले स्वर्ग, नरकलाई मान्छ भने मृत्युपश्चात्‍‌को लोकनिर्धारणको कसी नै मानिसले गर्ने कर्म हो। जीवनकालमा कस्तो कर्म गरेको थियो- सुकर्म कि कुकर्म ! त्यहीअनुसार मृत्युपश्चात् जीवन प्राप्त हुन्छ भन्ने आम मान्यता छ। यदि कसैले म नदेखेको स्वर्ग, नरक किन मान्छु भन्छ भने पनि केही छैन कर्मअनुसारको नतिजा यही जीवनकालमा प्रशस्त देख्न पाइन्छ।अरूलाई दु:ख दिने, पीर-पिराउ दिने, भ्रष्टाचार, दुराचार गर्ने, षड्‌यन्त्र गर्ने, अभक्ष्य चीज खाने मानिसहरूको जीवन कष्टकर, दु:खदायी बनेर रोग र शोकले ग्रस्त भएको अनगिन्ती यही देख्न पाइन्छ। मानिसलाई जीवनको यस पक्षको बारेमा लेख्ने, सोच्ने, शोध गर्ने फुर्सत नभएर मात्र हो नत्र यस सम्बन्धमा निकै रोचक, विष्मयकारी अनेक सूचना र जानकारी प्राप्त हुने छ, जसले बाँच्ने मानिसलाई अनेक किसिमका सबक, पाठ र कुनै न कुनै शिक्षा जरुर दिन सक्थ्यो।
हिजोआज मानिसको जीवनसम्वध्द कतिपय पक्षमा विज्ञानका विविध क्षेत्रहरूबाट खोजीनीति भएर नयाँ-नयाँ तथ्य र विश्लेषणहरू नआएका होइनन्। तर उपभोक्तावादी युगको कारण त्यसको मूलमा आफ्नै उत्पादन र वस्तुको प्रचार-प्रसार वा विक्रीका लागि परिणामहरूको उपयोग हुने जस्ता सम्भावनाले पनि कुन कुरा पत्याउन हुने कुन नपत्याउने जस्ता द्विविधाले मानिसलाई सताइरहेको यत्रतत्र देख्न पाइन्छ।झट्ट हेर्दा जसले बदमासी गरेको छ, जसले कुकर्म गरेर आर्जन गरेको छ, जो दुष्प्रवृत्तिमा लागेको छ उनीहरूको वाह्य जीवन हेर्दा भव्य, चकाचौधजस्तो लाग्न नसक्ने होइन। तर त्यसको गहिराइमा जाने हो र हेर्ने हो भने उनीहरूको जीवन यत्ति कष्टकर भएको हुन्छ कि के वयान गर्ने? बाहिर जेजस्तो भव्य, सम्पन्नता देखिए पनि आन्तरिक रूपले खोक्रो, बेकम्मा र छटपटाहटपूर्ण जिन्दगीमा बाँचेका हुन्छन्।
प्रारव्धवशात् रोगलाई प्राप्त गर्नु एउटा कुरा हो तर आजकाल मुख्यत: वैचारिक प्रदूषण एवं खानपानकै कारण मानिसहरूले अनेक नयाँ-नयाँ रोगहरूलाई निम्त्याइरहेका छन्। चुरोट, पान, गुट्खा, जाँड-वियर-रक्सी एवं अनेकौँ प्रकारका कुलतको कारण कोही अस्पतालको शैय्यामा छट्पटाइरहेका छन् कोही त्यसलाई पाउँदा के-के न तलतल मेटियो भनेर खुसी मनाइरहेका छन्।अनेक बहाना बनाएर जिब्रोको स्वाद र इन्द्रियको फन्दामा मानिस अल्मलिरहेको छ।यही अप्राकृतिक खानपान र रहनसहनकै कारण विकृतिहरू दिनानुदिन बढ्दो छ।
धार्मिक-आध्यात्मिक हुँ भन्ने व्यक्तिको लागि त त्यस्ता वस्तुहरू उपभोगका चीजै होइनन्। कोही मानिस म धार्मिक हुँ, अध्यात्ममा विश्वास गर्छु, पूजा-आजा गर्छु, व्रत बस्छु, योग-ध्यान गर्छु पनि भन्छ अर्कोतिर यस्ता अप्राकृतिक जीवनलाई ग्रहण गर्न पनि पछि पर्दैन भने सम्झनुपर्छ उसले धर्म-अध्यात्म भन्ने विषय नै बुझेको छैन।धर्म-अध्यात्म वाहिरी आवरणको सजावट हुँदै होइन। बाहिर जत्तिसुकै टीका-चन्दन, भेष-भूषा, दाह्री-कपालको माध्यमबाट सजाओस् वा अहिलेको भाषामा भन्नु पर्दा डेन्टिङ-पेन्टिङ गरेको होस्, जत्ति नै व्रत,पूजा गरोस् त्यसले मानिसभित्रको कलुषिता मेटिने होइन।सबैभन्दा ठूलो कुरा आचरण हो।स्वभाव राजसी छ, खानपान तामसी छ, बाहिरी आवरण डेन्टिङ-पेङ्टिङयुक्त छ भने कोही कसैलाई झुक्याउन जरुर काम लाग्ला तर त्यसले आत्मिक उन्नति हुँदै हुँदैन।आजको समाज एकातिर भेषधारीहरू, आडम्वरी पण्डित, मुल्ला, पादरी र पुरोहितहरूको कारण धर्मान्धताको गर्तमा पुगिरहेको छ भने अर्कोतिर आवरण सजाएका, राजसी र तामसी चरित्रका व्यक्तिहरूको कारण अन्योल छाएको छ। जीवनको गूढ रहस्यलाई बुझ्ने नितान्त थोरै हुन्छन्।अरू त विचरा लहै-लहैमा लागेर भवसागरको बन्धनबाट तारिदिने उनीहरूबाहेक को हुन् सक्छ झैँ सम्झेर मूल्यवान् समय अनायाश बिताइरहेको देखिन्छ।कस्तो विडम्वना छ? मानिसमा निहित ऊर्जाको नै अपव्यय होइन यो !
मानवता र पशुताको कसौटी के हुन सक्छ? धेरैजसो मानिसले यस विषयमा कहिल्यै केही सोचेजस्तो लाग्दैन। अधिकांश मानिसले सोचेका हुन्छन् कि म मानिसको रूपमा जन्मेको छु, अन्य प्राणीभन्दा बुध्दिवान् छु, साम, दाम, दण्ड, भेदले जीवन बाँच्न सक्छु। कतिले सम्झेका हुन्छन् मसँग धन, सम्पत्ति, विद्या, सीप छ त्यसैले सबै भइहाल्छ। आहार, निद्रा, भय, मैथुन आदि चार कुराहरू पशु र मानिसमा केही फरक छैन। तिनमा धर्म (बुध्दि-विवेकयुक्त असल कर्म) नै यस्तो छ जसको अभावमा मानिस पनि पशुतुल्य हुन्छ। यहाँनिर प्रश्न उठ्न सक्छ धर्म भनेको के? यसको उत्तर सहजै पाउन सकिन्छ- जसबाट यस लोकमा आत्मोन्नति, शान्ति र आनन्दको प्राप्ति हुन्छ त्यही हो धर्म।जो मानिस जुवा, हिंसा, मद्यपान, दुर्व्यसन, व्यभिचार, भ्रष्ट्राचार आदिमा फस्छ उसको लागि न यो जीवन न त्यो जीवन दुवै नरकतुल्य हुन्छ। यस्तो अवस्था सृजना गरेर कहाँ सुख, शान्ति र आनन्दको अनुभव प्राप्त हुन पाउनु? राजसी र तामसी प्रवृत्तिको परिणति नै हो  कि दु:ख, अशान्ति र पीर-ताप। यस्तो अवस्थामा तामसतालाई बाहेक के पाउन सकिन्छ विचार गरौँ त ! स्वाभाविक रूपले प्रश्न उठ्न सक्छ कि असल मानिसको स्वभाव कस्तो हुन्छ? खराब वा तामसी प्रवृत्तिको मानिसको स्वभाव कस्तो हुन्छ? नीतिशास्त्रहरूले, ऋषिमहर्षिहरूले उहिल्यैदेखि भन्दै आएका छन् कि दुर्जन वा तामसी प्रवृत्तिको मानिसको विद्या विवादको लागि, धन धमण्डको लागि, बल-शक्ति अर्कालाई पीडा दिनको लागि हुन्छ जबकि असल मानिसको चाहिँ त्यसको विपरीतको हुन्छ जस्तो- विद्या अरूलाई ज्ञान दिन, प्रकाश दिन हुन्छ, धन दान र सेवाको लागि हुन्छ, शक्तिचाहिँ कमजोरहरूको रक्षाको लागि हुन्छ।
हिजोआज समाजमा बढ्दै गइरहेको हिंसापूर्ण एवं पशुतापूर्ण जीवन, भोगविलास र विलासिताले भरिएको ऐय्यासी जीवन, संवेदनहीनता, पशुवत् आचरण, निर्लज्ज भेषभूषा, अशिष्ट बोलीचाली, नकारात्मक सोचाइ, आफूमात्र बाँचौँ अरू निर्धाहरू जेसुकै हुन् भन्ने एकलकाट्टे सङ्कीर्णताको वाहुल्यताले के देखाउँछ भने मानिसहरू मनुष्यताको मार्गबाट विचलित बन्दै छन्।मानवीय गुणहरू हराउँदै छ।यसको अर्थ हुन्छ दानवीयता एवं पाशविकताको चुरीफुरी बढ्दैछ। मनुष्यता पतनको दिशातिर जादैछ।यो विश्वकै लागि दुर्भाग्यको दिनको सङ्केत हो। यस्ता वैचारिक प्रदूषणहरूबाट बँच्ने निश्चित पनि केही न केही मार्ग छ त्यो हो ज्ञानी, असल चिन्तक, अध्यात्मवादी, ज्ञान र विज्ञानलाई आत्मसात् गर्ने असल व्यक्तिहरूको विचार र आचरण तथा सद्‌साहित्यहरूबाट आफूलाई चाहिने असल चीजहरू लिनु र त्यसलाई जीवनव्यवहारमा ल्याउनु।मनुष्य जीवनको महत्त्वलाई बुझेर हुनेसम्मको असल कार्य गर्दै, अरूको अस्तित्वलाई सहसा स्वीकार्दै, प्राणीमात्रको हित, शान्ति, समृध्दि र समुन्नतिको लागि जीवनलाई न्यौछावर गर्नु नै समग्रमा मनुष्यताको लक्षण हो।
                                        *****************
  



No comments:

Post a Comment