Sunday, November 20, 2011

शाश्वत जीवनदर्शन


                                                                        
              हरेक क्षण पुराना मान्यताहरू, पुराना संस्कार र संस्कृतिहरू बदलिँदा छन्।पुराना र नयाँबीच रिक्तता, तिक्तता र फासला बढदो छ।नयाँ-नयाँ आविष्कार र सरसुविधाहरूको विकासले मानिसको जीवनमा सुगमता थपिदैगइरहेका छन्।अनेक किसिमका भौतिकताका सामग्रीहरूको परिप्राप्तिको लागि होडबाजी चल्दो छ।व्यक्ति-व्यक्तिसँग जे-जति सरसुविधाहरू उपलव्ध छन् वा जति वस्तुहरू छन् ती नपुग्दा ठानिदैँ गइरहेका छन्। अझ कसरी अरू नयाँ-नयाँ सरसुविधाहरूको उपभोग गर्ने, भएका वा नभएका वस्तुहरूको सङ्ग्रह कसरी गर्ने, आर्जन गर्ने भन्ने मानसिकता व्यक्तिमा मात्र सीमित नभई राष्ट्र-राष्ट्रबीच पनि यसरी प्रतिस्पर्ध्दात्मक बन्दैगएको छ कि सबै गुपचुपमै उन्नतिको पराकाष्टा प्राप्त भइहाल्छ कि भन्नेमा तँछाड-मछाड गरेर जुटिरहेका छन्।यी सारा कुराहरू अरू कुनै चीजका लागि नभई तीबाट सुख, शान्ति, समृध्दि र आनन्दको प्राप्ति हुन्छ कि भनेर नै भइरहेको छ।यसो हुँदा-हुँदै पनि समाजमा यस्ता व्यक्तिहरू छन् जो अभावको अवस्था, अपठ्यारो स्थिति, प्रतिकूलताको कठघरामा पनि कोही व्यष्टिगत कोही समष्टिगत रूपबाट समग्रमा कुनै नयाँ सम्भावना, नयाँ चेतना, नयाँ पौरख र नवीन उपलव्धिका लागि समर्पित छन्।तिनै नवीन चेतनाको खोजीले ज्ञान र विज्ञानको क्षेत्रमा नयाँ-नयाँ उपलव्धि र आविष्कारहरू विगतमा भएका र भविष्यमा हुने छन्।अझ भनौँ त्यही अज्ञातको खोजले वेद, उपनिषद्, स्मृति, पुराणहरू आए; गीता, बाइबल, कुरान, जिन्दअवेस्ता, धम्मपद, वितक, गुरुग्रन्थसाहेव, वीजकजस्ता कृतिहरू जन्मिए। विज्ञानको क्षेत्रमा पनि अनेक सिध्दान्त र खोजहरू भए र आउँदै छन्। यसबाहेक पनि अनेक भाषा, रूप र शैलीमा चेतना जगाउन नयाँ-नयाँ शोध, खोज र कृतिहरू आइरहेका छन्। यसको क्रम कहिल्यै रोकिने छैन।रोकिनु पनि हुँदैन।
कुन धर्म ठीक र कुन धर्म बेठीक या कुन सम्प्रदाय उपयुक्त र कुन सम्प्रदाय अनुपयुक्त वा कुन राजनीति ठीक र कुन बेठीक नै भनेर शास्त्रार्थको तरिकाले निर्क्योल गर्न बस्यौँ भने त्यस्ता क्रियाकलापबाट गलतफहमी बढ्ने र तिक्तता बढ्नेबाहेक अरू केही हुने छैन।अशान्ति चाहने हो भने यस्ता विषयमा कोही कम्मर कसेर लागिदिने हो भने विषाक्तताले संसारलाई चुलुर्म्म डुबाइदिन कति समय लाग्दै-लाग्दैन।सम्झनु पर्ने कुरा के छ भने अशान्ति कसैको चाहना हुनै सक्दैन।मात्र नजानेर, नबुझेर, भ्रम र अज्ञानतावश कोही त्यस्ता क्रियाकलापमा लागेका हुन्छन्।तिनलाई शान्ति, समृध्दि र आनन्दको मूलबाटोमा ल्याउने हो भने चेतनाको दीपकलाई हरेकको हृदयमा प्रज्वलित तुल्याउन ज्ञान र सचेतनाको माध्यमद्वारा यसरी प्रेरित गरिदिनुपर्छ कि कुनै हालतमा ऊ अज्ञानताको कालो बादलमा अल्मलिन नपाओस्।यस्तो दिव्यताको प्राप्तिमा स्वयंमेव जाग्ने थोरैमात्र हुन्छन्। अरूलाई त सम्झाउनै पर्ने हुन्छ, झझल्काउनै पर्ने हुन्छ, स्मरण गराउनै पर्ने हुन्छ।
गल्ती कहाँनिर भइरहेको छ भने दिव्य जीवनको खोजीलाई या त धार्मिक कुरा भनेर छोडिदियौँ या त्यसलाई साम्प्रदायिक रङ्गमा रङ्गमङ्गाइदियौँ, जसको कारण जान्नु पर्ने विषयको खोजी नै भएन, चाहना राख्नु पर्ने विषयको चाहनै भएन, जानु पर्ने ठाउँको चर्चै भएन।परिणामस्वरूप सर्वत्र अन्योल छाएको छ, अन्धविश्वास र रुढिबादलाई, कैयन् गलत परम्परा र संस्कारलाई जीवनको सर्वस्व भनेर हिँडनु पर्ने वाध्यताले अधिकांशलाई बाँधेको छ।कमै मानिसले मात्र बुझेका हुन्छन् कि बन्धनस्वतन्त्रता भनेको केही हुँदै होइन सजिलो भाषामा भन्नु प-यो भने बिना डोरीको गाँठो र फुकाइमात्र जस्ता हुन्। यथार्थ यस्तो हो तापनि मानिसले  यसलाई नबुझेर आफ्नो जीवनलाई अनेक कुत्सित परम्परा र रुढीवादको भड्खारोमा जानाजान हालिरहेका हुन्छन्। त्यसकै लागि मर्नमिट्न तयार हुन पनि बेर मान्दैनन्।
शान्तिको लागि, समुन्नतिको लागि, समृध्दिको लागि, सद्‌भावको लागि, आत्मीयताको लागि, मिलाउनको लागि भनेर मार्गदर्शन गर्ने अगुवाहरूको समाजमा, राष्ट्रमा सधैँ खडेरी परेको हुन्छ।कुनै एकाध व्यक्ति पैदा हुन्छन् यस्ता तर तिनलाई चिन्न सक्ने चेतनाको विकास नहुनाले भिल्लको देशमा मणि फ्यालिएसरी मिल्किन्छन् त्यस्ता व्यक्तिहरू।मानिसको स्वभाव चमत्कारपट्टि आकर्षित हुने हुन्छ जसको कारण वाह्य चमत्कारको पछि लागेर चाहे धार्मिक क्षेत्र होस् चाहे सामाजिक, राजनीतिक क्षेत्र त्यहाँ यस्तै जाँदुको छडीको खोज हुन्छ जसले गर्दा सही मार्गदर्शकको पहिचानै गर्न नसकी भीडभाडमा मानिस हराउन पुग्छ।कैयन्‌का जीवनको उर्वर समय यसैगरी खेर गएको हुन्छ।
आफूलाई, परिवारलाई, समाजलाई, राष्ट्र र विश्वलाई कस्तो भएको देख्न चाहने? यो प्रश्न हरेकले आफूसँग सोध्नुपर्छ यदि जीवनलाई सफल, सुफल र आनन्दको कोटिमा पु-याउने हो भने। यसभन्दा विपरीत जाने हो भने अर्थात् विना लक्ष्य लगामविनाको घोडाजस्तो अघि बढ्ने हो भने कहाँ पुगिन्छ थाहा हुँदैन। यस्ता मानिसले जीवनको बारेमा त्यत्ति सोच्नु पनि जरुरी छैन।होइन त्यो भीडबाट अगाडि आएर कुनै इतिहास रच्ने हो भने, आदर्शको स्थापना गर्ने हो भने सङ्कीर्णता, लघुता, छुद्रता, निर्दयता, स्वार्थता, दुष्टता, ह्रिंसताबाट हटेर उदारता, विशालता र महानताको शिखरमा पुग्ने सपना नदेखी हुँदै हुँदैन। त्यसलाई व्यवहारमा नउतारी सुखै छैन।यो सूत्र हरेक क्षेत्रमा लागू हुन्छ।यो ऊ भन्ने नै छैन। विपरीतपनाबाट आएको तुष्टी र नाम त क्षणिक हुन्छ, अस्थायी हुन्छ। 
आश्चर्य कहाँनिर हुन्छ भने आफ्नो जीवनलाई चिहाउन भ्याउदा-नभ्याउँदै कति मानिसहरू जीवनलाई चटक्कै छोडेर गइसकेका हुन्छन्।कहाँ जान्छन्, त्यसपछि के हुन्छ, कुन लोक छ भन्ने विषयमा रुचि र संस्कारअनुसार अलग-अलग अनुमान र अडकलबाजी लगाउन मानिसहरू उद्यत रहन्छन् तर भन्नै पर्छ यस विषयको उल्झनमा फसेर कोहीले पनि पार पाउन सक्दैन।न पहिले न अहिले न भविष्यमा नै कसैले पार पाउने छ। जुन विषयमा लागेर कुनै नवीन परिणति आउदैन, नयाँ उद्‌घोष हुन सक्दैन भने आखिर त्यस्तो विषयमा फस्ने नै पनि किन ? यसैले सबैभन्दा बुध्दिमत्तापूर्ण कार्य त बाँचेको जीवनलाई कसरी उल्लासमय, शान्तिमय, सुखमय र आनन्दमय बनाउन सकिन्छ भन्ने कुरा नै पो श्रेयस्कर रहेछ भन्ने सामान्य ख्यालमात्रै पनि मानिसले गरिदिने हो भने जीवनभर ऊर्जै-ऊर्जाको शक्तिपात हुन थाल्छ जुन हरकोहीका लागि चेतनाको रूपमा जगाउन, उठाउन, बढाउन काम लाग्छ यो महत्त्वपूर्ण कुरा छ।
सत्य सजिलो छ, सिधा छ, सुगम छ तर मानिसले यसलाई नबुझिदिँदा नै भन्नुपर्छ यति पेचिलो, यति कठीन यति दुष्कर बनाइदिएका छन् कि के भन्ने यो कतै टाढाको, पाउनै नसक्ने अप्राप्य वस्तुझैँ ठानिरहेका छन्।सत्य नै धर्मको अर्को नाउँ हो। सत्यलाई मान्छु तर धर्मलाई मान्दिनँ भनी कसैले भन्छ भने या त उसले सत्यलाई बुझेको छैन या त धर्मलाई बुझेको छैन भनी सम्झनु कुनै गलत हुँदैन।सत्य र धर्म एकआपसमा अन्योन्याश्रित सम्बन्ध राख्छन्।सत्य नै धर्म हो, धर्म नै सत्य हो।धर्मको कुरा गर्दा चाहिँ भन्नै पर्ने हुन्छ हिजोआज धर्म भनेको मठ-मन्दिर, गुम्बा-विहार, चर्च, मस्जिद, साधनाश्रमसँग सरोकार राख्ने वा भनौँ त्यहाँ जाने-आउने वा त्यससँग सम्बन्धित मानिएका केही क्रियाकलाप वा विधिविधानलाई व्यक्तिगत वा सामूहिक रूपमा सम्पन्न गरिने कार्यहरूलाई नै अधिकांशले सम्झिन थालेका छन्। तर ती त  क ख रा सिक्ने वेलाका साँवाअक्षरजस्ता मात्र हुन्।प्रारम्भमा नसिकी-नजानी पनि नहुने जानी सकेपछि तिनको उपयोगिता पनि त्यत्ति नआउने! त्यसमै अल्मलिएर कोही बस्छ भने अगाडिको यात्रा अधुरोमात्र होइन निस्फलतुल्य हुन्छ।
आजको समाजमा बढ्दै गइरहेको हिंसापूर्ण एवं पशुतापूर्ण जीवन, भोगविलास र विलासिताले भरिएको ऐय्यासी जीवन, संवेदनहीनता, पशुवत् आचरण, भड्किला भेषभूषा, अशिष्ट बोलीचाली, नकारात्मक सोचाइ, आफूमात्र बाँचौँ अरू निर्धाहरू जेसुकै हुन् भन्ने एकलकाट्टे सङ्कीर्ण सोचाइको वाहुल्यताले के देखाउँछ भने मानिसहरू मनुष्यताको मार्गबाट विचलित बन्दै छन्।मानवीय गुणहरू हराउँदै छन्।यसको अर्थ हुन्छ दानवीयता,पाशविकताको चुरीफुरी बढ्दैछ। मनुष्यता पतनको दिशातिर पलायन हुँदैछ।यो विश्वकै लागि दुर्भाग्यको दिनको सङ्केत हो। यस्ता वैचारिक प्रदूषणबाट बँच्ने निश्चित पनि केही न केही मार्ग छ त्यो हो ज्ञानी, असल चिन्तक, अध्यात्मवादी, ज्ञान र विज्ञानलाई आत्मसात् गर्ने असल व्यक्तिहरूको विचार र आचरणबाट आफूलाई चाहिने लिनु र त्यसलाई जीवनव्यवहारमा ल्याउनु।मनुष्य जीवनको महत्त्वलाई बुझेर हुनेसम्मको असल कार्य गर्दै, अरूको अस्तित्वलाई सहसा स्वीकार्दै, प्राणीमात्रको हित, शान्ति, समृध्दि र समुन्नतिको लागि जीवनलाई न्यौछावर गर्नु नै समग्रमा शाश्वत जीवन दर्शन हो।हरेक सोचाइ शव्दको रूपमा अभिव्यक्त हुन्छ, शव्द विचार बन्छ, त्यही विचार कर्मको रूपमा उजागर हुने भएकोले जीवनमा शाश्वत चिन्तन र सुकर्मको कति महत्त्व छ त्यसको के कुरा गर्ने? यसैबाट शाश्वत जीवनदर्शन व्यक्तिन पुग्छ।
                                        *****************
  



 
      
       

No comments:

Post a Comment