Friday, August 26, 2011

आवश्यकताको खोज


                                       
                                                          

         हामीले हे-यौँ भने देख्नेछौँ कि कसैलाई पनि उसको आम्दानीले नथेग्ने गरी आवश्यकताहरू दिनानुदिन क्रमश: बढ्दैगएको ज्यादात्तर देखिन्छ। पैसाले आनन्दलाई किन्न पाउने हो कि भनेजस्तो गरेर भौतिक आवश्यकताहरूको जोरजाम गर्न मानिस रातदिन जोतिएको जोतियै छ। यसैका लागि उसले चाहिने नचाहिने काम गर्न पनि पछि पर्दैन, घूस, भ्रष्टाचार, दुइनम्वरी धन्दा, कालो बजारी जे-जे गरेर हुन्छ भौतिक सुखसुविधा बढाउनैमा मानिस तल्लीन भएको देखिन्छ। कुनै निश्चित समाज या देशका मानिसमा मात्र यो कुरा लागू हुन्छ भन्ने पनि छैन। सर्वत्र, सबै समाज र राष्ट्रका मानिसमा यो लागू हुन्छ। केवल खर्च गराइको तरिका फरक होला, जोर्ने सामानविशेषमा कम-बेसी वा भिन्न होला।कहिले-काहीँ यसो सोचेर हेरौँ त भौतिक सुखसुविधाहरू सङ्ग्रह गरेर कसलाई पुगेको छ? सङ्ग्रह गर्नेहरूले जोरजाम गरिएका सामाग्रीहरूबाट त असाध्यै आनन्द आउँदो रहेछ भनेर को नित्य रमाएको छ ? आखिर जतिसुकै मरिमेटेर सुखप्राप्तिका भौतिक सरसामाग्री जम्मा गरे पनि केही समयका लागि सुख- सन्तोष दिएजस्तो लागे पनि एक दिन वितृष्णा आखिर हुन्छ-हुन्छ।फेरि ती सबैलाई एक दिन छोडेरै जानुपर्छ। यसको अर्थ केही पनि जम्मा गर्नेतिर लाग्नु हुन्न भन्न खोजेको पटक्कै होइन।वस्तुत: आफ्नो विवेकलाई एक पटक सोध्नु होस् र त्यसले निर्देश गर्ने बाटोलाई पछ्याउन नछोड्नुस् भन्न खोजेको मात्र हो।
हाम्रा धर्मशास्त्र, अग्रज, बुध्दिजीवी, आचार्य, गुरु तथा ऋषि-महर्षिहरूले सदैव हामीलाई आयको चिन्ता छोड्ने हो भने आवश्यकताहरूलाई घटाउनेतिर लाग्नुपर्छ भनेर बारम्बार भनेका छन् तर राम्रो कुरालाई सहसा नपत्याउने हाम्रो बानीले गर्दा जीवनभर हामीले दु:ख पाइरहेका छौँ। हामीलाई सधैँ चिन्ता, पीर र दु:खको सागरमा डुबाउने अरू कुनै विषयहरू नभई हाम्रा आफ्नै मनोगत आवश्यकताहरू, चाहानाहरू, महत्त्वाकाङ्क्षाहरू तथा आडम्बरी जीवनशैली नै हो भन्ने कुरा हामीले कहिल्यै सोचेका छौँ? अशिक्षित हुँदा वा नजान्दा जति कम विलास र आरामका वस्तुहरूको ज्ञान हामीलाई थियो पढी-लेखी शिक्षित बनिसकेपछि त्यसको सूची झन्-झन् बढ्दै गइरहेको हुन्छ र यस्तो स्थिति आउँछ कि चौबीस घण्टे दिनको बदला अठ्चालीस घण्टे दिन भए पनि ती सबैलाई जुटाउन यो जीवन छोटो हुन्छ जस्तो लाग्न थाल्छ। हामीलाई खाना स्वादिलै र मीठै चाहिएको छ, लगाउने लुगा, गहना एकभन्दा एक किमती र महङ्गो चाहिएको छ, घर सानोतिनो होइन भव्य महल नै चाहिएको छ, टी.भी, कम्प्युटर, मोबाइल फोन, थरी-थरीका अत्याधुनिक साधनहरू, मोटर,मोटरसाइकल, बैङ्क ब्यालेन्स, देश-विदेशको सयर के-के चाहिएको छ के-के भनेर साध्य छैन। एक किसिमले प्रतिस्पर्ध्दा चलेको छ संसारभरी भौतिक सामाग्री कसले कत्ति धेरै जोड्न सक्छ भनेर। त्यसैको लागि दौडधूप र माथापञ्चीसी चलिरहेको छ भन्दा फरक पर्दैन।
    आवश्यकताहरू भनेको हाम्रो गुण, स्वभाव र परिस्थितिअनुसार घटबढ हुँदै रहने गर्छ। बढाउन खोज्नुस् त्यो तन्किदै, लम्बिदै, बढ्दै जान्छ। त्यसो नगरी त्यसलाई घटाउन खोज्नुहोस् त्यो घट्दै, सीमित हुँदै जान्छ।आफूलाई कस्तो मन परेको देख्न चाहाने हो त्यस्तै बन्छ। स्मरणीय कुरा के छ भने जति धेरै आवश्यकताहरूको पूर्ति गरेर सुख, शान्ति र आनन्द पाउन कसैले खोज्छ भने उसले  त्यति नै धेरै सङ्घर्ष, परिश्रम, भागदौड, असिना-पसिना, खतरा र शक्तिको व्यय गर्नु पर्ने हुन्छ।त्यस अवस्थामा शान्ति भाग्छ, निद्रा तर्सिन्छ, अमनचैन भनेको त एकादेशको कथाजस्तो हुन थाल्छ। चाहेको आवश्यकताहरू भनेको समयमा या खोजेको बेला पूरा भइदिएनन् भने त्यसले कति कष्ट र वेदना दिन्छ भन्ने कुरा त धेरथोर सबैले जीवनमा अनुभव गरेको हुनुपर्छ। जति धेरै उपलब्ध गराउनपट्टि लाग्यो त्यति नै धेरै खोज्ने प्रवृत्ति, माग्ने नियत, कृपणता बढदै जान्छ।जति निग्रह गर्नेतिर लाग्यौँ त्यत्ति नै शान्ति, अमनचैन नजिकिन थाल्छ। 
हाम्रा पूर्ववर्ती दिग्गजहरूले, ऋषिमहर्षि, आचार्य, गुरु, भिक्षु, महापुरुषहरूले नैतिक धरातलको कडीमा आवश्यकताहरूलाई छुट्टयाउने गरेका थिए। उनीहरूले मानिसका लागि त्यस्तै र त्यत्ति मात्र आवश्यकताहरूको परिकल्पना गरेका थिए, जुन सरल, सादा, सीधा र उच्च विचारको परिपोषक हुन्थ्यो। चाहिनेभन्दा बढी सुख र विलासले मानिसको शक्तिलाई कुण्ठित गर्छ भन्ने मान्यता उनीहरूको थियो।त्यत्तिमात्रै होइन यसले बुध्दि र विवेकलाई पनि पङ्गु बनाउँदै जान्छ भन्ने मान्यता थियो र सधैँ सादा जीवन उच्च विचार लाई प्रोत्साहन दिइएको हो।त्यही उच्च विचारको कारण मठ, मन्दिर, गुम्वा, विहार बने; पाटी-पौवा, सत्तल, धर्मशाला बने; ढुङ्गेधारा, पोखरी, जलद्रोणी बने। सदावर्त चले, अन्नभण्डारहरू, पाठशालाहरू अवछिन्न चल्ने व्यवस्था बन्यो, गूठीको परम्परा आयो।सेवाधर्मलाई प्रमुखता दिइयो।
भौतिकताको उत्कर्षले छेलोखेलो भएको समाजमा अब गर्ने के भन्ने थाहा नभएर मानिस अलमलमा छन् र उनीहरूको एकाङ्कीपना र एकाङ्गी सोचाइले विस्मयकारी एवं दु:खद घटना र दुर्घटनाहरू बढ्दै छन्।अकुत धन-सम्पत्ति त छ तर त्यसको सही प्रयोजन जानिएन र सदुपयोग भएन भने त्यसको के अर्थ? ज्ञान छ, सीप छ, बुध्दि छ, विद्या छ तर त्यसको प्रयोग प्राणीमात्रको हितसम्वर्ध्दनमा भएन भने त्यसको के प्रयोजन? यही अन्योलले उनीहरूलाई गाँजिरहेको छ।  
हामीले जीवनका लागि नभई नहुने तथा सुखकारी एवं विलासका वस्तुहरूको आवश्यकताहरूको पहिचान कसरी गर्ने? जीवनका लागि नभई नहुने आवश्यकताहरू भनेका त्यस्ता वस्तुहरू हुन् जसको विना मानिस जीवित रहन सक्तैन। स्वतन्त्रता, जीवनलाई आवश्यक पर्ने आहार, आफ्नो भन्ने घर वा कोठा या आश्रयस्थल, लुगा, औषधि-उपचार सेवा तथा शिक्षा हुन्। यी यस्तै मौलिक आवश्यकताहरू हुन्, जसले जीवनधारणको अतिरिक्त मानिसको शारीरिक, मानसिक तथा भावनात्मक शक्तिको विकास गर्नमा सघाउ पु-याउँछ। यसैले मानिसले पहिले यिनै आवश्यकताहरूको पूर्तिमा प्रयत्न गर्नुपर्छ। त्यसपछि त्यस्ता आवश्यकताहरूको पूर्ति गर्नमा प्रयास गर्नुपर्छ जुन सामाजिक प्रतिष्ठाको लागि नभई हुँदैन तथा यसका लागि कहिलेकाहीँ आफ्नो जीवनविषयक आवश्यकताहरूबाट पनि सम्भवत: विमुख रहनुपर्ने हुन सक्छ। त्यसो भए पनि यसका लागि तयार रहनुपर्छ। अरूका लागि हित, कल्याण, सेवा एवं परोपकारी भावनाजस्तो महान् कार्य के हुन सक्ला र ! यहाँसम्म त व्यक्ति आफ्नो उदारताअनुसार व्यवहार गर्न सक्छ, किन्तु यसभन्दा अगाडिको मार्ग एकदमै जागरुक भएर सावधानी अपनाउनुपर्ने किसिमको छ। भोग, सुख एवं विलासको क्षेत्र असीमित छ। आजको मानिसहरूको चिन्ताको कारणै वास्तवमा यही बन्न पुगेको छ, जुन दुर्भाग्यपूर्ण छ।
जुन वस्तुलाई सधैँभरि राख्ने क्षमता हुँदैन तथा जसले जीवन निर्वाहको मूलभूत आवश्यकतालाई स्थायी रूपले पूरा गर्न सक्तैन, जो केवल मिथ्या प्रदर्शनको लागि मात्र हुन्छ त्यस्तो वस्तुको चाहना राख्नु भनेको हठ हो। त्यस्तो वस्तुलाई नचाहनु नै बुध्दिमानी हुन्छ। जुन खानेकुराले कार्यक्षमता बढ्दैन, रोग र शोकलाई बढाउँदै र कुलतको रूपमा बृध्दि हुँदै गई जीवन नै वर्वाद पार्छ भन्ने निश्चित छ भने त्यस्तो खाने-पिउने कामबाट सदा-सर्वदाको लागि टाढिनु नै बुध्दिमत्ता होइन? पान, सुपारी, चुरोट, सिगार, तमाखु, जर्दा, खैनी, वियर, रक्सी, भाँङ, चरेस जस्ता दुर्व्यसनबाट बँच्न सक्नु पनि आजको विश्वमा पुरुषार्थ नै भन्नु पर्ने स्थिति आउनु दुर्भाग्य होइन? यदि कोही यी दुर्व्यसनबाट मुक्त छ भने साँच्चैको ज्ञानी, अव्वल व्यक्ति रहेछ भन्नु पर्ने अवस्था आएको छ। तिनको चङ्गुलबाट आफू, परिवार, समाजलाई बचाउन सके राष्ट्र र विश्वकै कल्याण हुने कुरामा कुनै शङ्का छैन। खराब कुरा हो भनेर जानेर पनि त्यसलाई बढावा दिने मानसिकता चाहे त्यो व्यक्तिको होस्, कुनै सरकारी निकाय वा अन्ताराष्ट्रिय प्रवृत्ति होस् त्यो कुनै पनि हालतमा त्यो उपयुक्त हो, ठीक हो र असल हो भन्न सकिन्न। कति व्यक्ति त्यसको कुलतमा फँसेर आज व्यक्तिगत जीवन, पारिवारिक जीवन र मानवीय दायित्वलाई बिर्सेर सिल्ली,पङ्गु, बेकम्मा र बौलाहाजस्ता बनेको देखेर पनि त्यसको विरुध्दमा आवाज उठाउन सकिने अवस्था आएको प्रति सचेत कोही हुन चाहन्न भने त्यसमा भित्र-भित्रै समर्थन छ भन्ने कुरालाई के गलत हो भन्न सकिन्छ? त्यसविना बाँच्न सक्दिनँ भन्नु आफैले आफैलाई नबुझ्नु हो। खानेलाई भन्दा पनि देख्नेलाई लाज तथा पिउनेलाई भन्दा पनि त्यसले समाजमा पार्ने मनोवैज्ञानिक असरलाई विचार गर्नु पर्ने आवश्यकता के तपाईँ देख्नु हुन्न?
जसलाई कम आवश्यकतामा रमाउने बानी परेको हुन्छ उसले कुनै पनि वस्तु बढाउनु पर्दा एक पटक राम्ररी सोच्छ। ऊ आफ्नो अमूल्य शक्ति व्यर्थका वस्तुहरूको सङ्ग्रहमा खेर नफाली बचेको समय उच्च लक्ष्य हासिल गरी आत्मिक उन्नतिमा लगाउनु उपयुक्त सम्झन्छ। प्रत्येक आवश्यकताहरूले अनासुर्तमा हाँगाबिँगा फैलाउँदै जान्छन्। त्यसले अन्ततोगत्वा मानिसलाई भड्खालोमा हालेरै छोड्छ। समाज, सङ्गतलाई मात्र दोष दिएर हुँदैन व्यक्ति स्वयं नै त्यसको जनक हो।
बेला-बेलामा हामीले आफ्नो निष्पक्ष निरीक्षण गर्नुपर्छ कतै हाम्रो प्रवृत्ति यस्तै अन्धाधुन्ध आवश्यकता बढाउनेतिर त गएको छैन? चाँहिदो-नचाँहिदो खर्च गरेर, अर्कासँग ऋण काढेर व्यर्थमा किन बन्धनमा आफूलाई पारिरहेका हुन्छौँ? कतै मिथ्या प्रदर्शन, झूठो धाक-रवाफ, दुनियाँलाई अतिरञ्जित रूप देखाउन त त्यसो गरिरहेका छैनौँ? भोगविलास, व्यभिचार, अभक्ष्य वस्तुको खाने-पिउने बानीमा फसेर चित्त चञ्चल भएको त छैन? यदि त्यस्तो बानीबेहोराबाट मुक्त हुने हो भने बढ्दै, हाँगा फैलाउँदै गइरहेका आवश्यकताहरूलाई एक-एक गरी छिमल्दै जानुपर्छ। यसो गर्न सके सुख पाउँछौँ अन्यथा हामी दु:खको सागरमा डुबेर जीवन व्यर्थमा गुमाउन पुग्छौँ।सबैभन्दा पहिलेले त त्यसका खराबीका बारेमा आफैमा चेतना जाग्नुपर्छ। उपभोक्तावादको लहै-लहैमा लाग्नु कतै सुखकारी छैन भन्ने बुझ्नु पनि जरुरी छ। विश्वका केही मुलुकहरू त मानिसलाई सुखसुविधा दिने नाममा यस्तै अनावश्यक सरसामग्रीहरूको निस्फिक्री प्रयोगमा आवश्यक पर्ने रकम जुटाउने, ऋण दिने काममा समेत लागेको देख्न पाइन्छ। यस्तो प्रवृत्तिले मानिसको चेतनाको विकास होइन बरु विनासको बाटोतिर लाग्ने मार्ग प्रशस्त गर्दछ भन्ने निश्चित छ।विकसित मुलुकहरूमा यो प्रवृत्ति ज्यादै छ। सुख-सुविधाका अनगिन्ती पहुँच र सम्भावना हुँदाहुँदै पनि विकसित मुलुकहरूमा किन आत्महत्या गर्नेहरूको सङ्ख्या बढिरहेको छ? पापाचुकेको सङ्ख्या किन शिखर चुम्ने स्थितिको छ? पारिवारिक असन्तोष किन बढिरहेको छ? केटाकेटीहरू आमा-बाबुबिहीन किन बन्दै छन्?  बृध्द-बृध्दाहरूको विचल्ली किन भइरहेछ, प्रेम-सद्‍भाव, आत्मीयता किन जडतातर्फ लम्कदै छ त्यसतर्फ के कसैले ध्यान दिएको छ? त्यसमा जरुर  केही अध्ययन-अनुसन्धानहरू भएका छन् र तिनले भयावह तथ्याङ्क र विश्लेषणहरू प्रस्तुत गरेका छन्।
विस्तारै-विस्तारै अनावश्यक विषयहरू आदत बन्न पुगे भने तिनीहरूबाट मुक्ति पाउनु असम्भवझैँ बन्न पुग्छ। व्यसन, फेसन, व्यभिचारजस्ता विषयहरू हेर्दा सुरुमा सामान्यझैँ लाग्छ तर त्यो जङ्गलको आगोको सानो फिलिङ्गोजस्तै हो, बढ्दैगएपछि सारा जङ्गललाई खरानी नपारुञ्जेल शान्त नहुने ! दुर्व्यसन, कुलत, अनावश्यक आवश्यकताहरू यस्तै स्वभावका हुन्छन्। समयमा नै सचेत हुन सकिएन र समय भड्कियो भने जीवनलाई बर्वाद तुल्याइदिन्छन्।अनमोल जीवन व्यर्थमा समाप्त हुन्छ। इन्द्रियहरूको स्वामी बनेर जीवनरथ हाँक्नुपर्ने मानिस इन्द्रियको दास बनेर बेकारको मरेतुल्यको जीवन जिउन पुग्छ योभन्दा दुर्भाग्य के हुन सक्छ?
मानिसले दृढतापूर्वक मनको चञ्चलता, व्यर्थको लोभलालच आदिबाट मुक्त रहने प्रण ग-यो भने मनको प्रलोभनवृत्तिलाई नियन्त्रित गर्न सक्छ।अथवा भनौँ जसरी पहिले व्यसनलाई सुरुमा अँगाल्दा त्यसको नित्य-निरन्तर चिन्तन गरिएको थियो त्यसको विपरीत अब दिशा बदलेर शुभ र सकारात्मक भावनाहरूको प्रारम्भ गर्न त्यत्तिकै प्रवृत्त हुनु आवश्यक छ। शुभ र सकारात्मक चिन्तनले नै जीवनलाई शान्त र मनमोहक बनाउँछ भन्ने कुरालाई सदा सम्झी सत्य र इमानदारीको मार्गमा अग्रसर भई व्यर्थका आवश्यकताहरूलाई घटाउँदै लग्नासाथ आफैमा अन्तर्द्वन्द्व कम हुन थालेको अनुभव जो कसैले गर्न सक्छ। किनभने यो शाश्वत चिन्तन हो। यस्तो अभ्यास गर्दै जानाले रिस, राग, मद, मात्सर्य, कुलत, दुर्व्यसनजस्ता अवगुणहरू कम हुँदै गएको अनुभव स्वत: हुन थाल्छ। आफैमा भित्रैदेखि बोध नभईकन दुर्व्यसन, कुलत र अज्ञानता मेटिनु गाह्रो हुन्छ।
                                     ********





No comments:

Post a Comment